कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

शिक्षामन्त्रीलाई पत्र

कविता
उषाकिरण तिम्सेना

प्रिय नेता
प्रिय कमरेड, महान कमरेड । 
लालसलाम ।
क्रान्तिकारी लालसलाम ।


 

समाचार पढ्नुभयो ?
विश्वविद्यालयमा फेल भएकाले
घूस ख्वाएर
गोल्ड मेडल लिएको र
घूस खाएर गोल्ड मेडल दिएको ?
नम्बर घटाएको र
पैसा लिएर नम्बर थपिदिएको ?

माननीय शिक्षामन्त्रीज्यू
के तपाईं अक्षर चिन्नुहुन्छ ?
समाचार पढ्नुहुन्छ ?
साँच्चि तपाईं होसमै हुनुहुन्छ ?

अँ तपाईं बोलेको सुनेको थिएँ
गत वर्ष
तपाईं चर्कंदै हुनुहुन्थ्यो
निजी मेडिकल मालिकको पक्षमा
हो त्यतिबेलै चिनेको हुँ
तपाईंको इमानलाई
तपाईंको विद्वता, विचार र लगाबलाई !
तपाईं चर्को सुनिनुभएको थियो
उही व्यापारीको पक्षमा ।।

आदरणीय शिक्षामन्त्रीज्यू
तपाईंले समाचार नपढे पनि
नसुने पनि
समाचार नबुझे पनि
नबुझेजस्तो गरे पनि
मलाई एक–एक कण्ठ छ
को तपाईंको ढोका ढकढकाएर
प्राज्ञको फुली लाउँछ
र, लखर–लखर हिँड्छ नेताको
दैलो दैलो !
जसरी हिँड्छन पाले दाइ
घडी भवनको कोठाहरुका ताल्चा खोल्न
(त्रिविको ठूलो मानविकी भवन) ।

महोदय
बेथितिको लामो विवरण जान्न
हेर्नुस् आफ्नै अनुहार
नियाल्नुस् आफ्नै दिनचर्या ।
अन्त्यमा
शिक्षामन्त्रीज्यू
साँच्चै तपाईं समाचार पढ्न जान्नुहुन्छ भने
अक्षर चिन्नुहुन्छ भने
होस सम्हालिरहनुभएको छ भने
दुनियाँलाई देखाइदिनु
अलिकति भने पनि नैतिकता रहेको
सन्देश दिनुस्,
‘जागिर’ बाट राजीनामा दिएर !

उषाकिरण तिम्सेना

प्रकाशित : असार २८, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?