पाइडलमा जीवन- कोसेली - कान्तिपुर समाचार

पाइडलमा जीवन

अनिश रेग्मी

साइकलको पाइडल जति घुम्यो त्यति फाइदा  । जसरी डाइनामोको गतिमा बिजुलीको निर्भर हुन्छ, जीवनरुपी साइकल पनि पाइडलको गतिमा  ।

कसैका लागि जति धेरै पाइडल घुम्यो त्यति धेरै स्वास्थ्य राम्रो । कसैका लागि जति धेरै पाइडल ठेल्यो, त्यति धेरै यात्रा, त्यति नै धेरै व्यापार । उद्देश्य आआफ्नै, फाइदा आआफ्नै । तस्बिरमा देखिएका यी दुई ‘साइक्लिस्ट’ का कथा बेग्लै लाग्छन् । तर, यिनलाई जोडेको छ— बाटो, यात्रा र साइकलले ।

प्रकाशित : असार २८, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

लाहुरे–संसारको सेरोफेरो

प्रगति राई

एक वृद्ध मानिस आफ्नो छोराको सालिकमा फूल चढाउँदै भन्छन्, ‘तिम्लाई सबले पुजो आज  । किन पुजेको ? म बुझ्दैना  ।

सबैले माहान भन्छ, तर आधा उमेरमै मर्ने मान्छे कसरी माहान हुन्छ ? बाउआमा, श्रीमती छोराछोरी सबैको सहारा आफू बीचबाटैबाट भाग्ने मान्छे कसरी ठूलो हुन्छ ?’
माथिका यी वाक्यहरू ‘एघार नोभेम्बर’ कथासंग्रहभित्रको शीर्ष कथाका हुन् । काङमाङ नरेशले लडाइँमा वीरगति पाएका, वृद्धावस्थामा पुनः बेलायत गएर दुःख पाएका र पहिलो विश्वयुद्ध लड्ने गोर्खालीहरूको दर्दनाक कथा यसभित्र संगृहीत छन् । लेखक स्वयं पनि एक योद्धा हुन् । उनी भाग्यले बाँचे र मरेकाहरूको हुबहु कथा लेख्न भ्याएका छन् । त्यसो त ‘युद्ध साहित्य’ नामक साहित्यिक आन्दोलनमा पनि निरन्तर छन् । गोरा सैनिकसँग गोर्खा सैनिकको हैसियत समान हुनुपर्छ भन्ने आन्दोलनमा छन् ।
कथाअनुसार, शक्तिशाली राष्ट्रहरू विभाजित भएपछि पहिलो विश्वयुद्ध बेल्जियमको दक्षिण र फ्रान्सको उत्तर–पश्चिममा रहेको फ्रेन्डस् फिल्ड्समा पर्न गयो । जसमा नौ दशमलव सात मिलियन आर्मीको मृत्यु भयो भने दस मिलियन सर्वसाधारणले ज्यान गुमाए । पछि आएर सन् १९१८ मा युद्ध समाप्त भएको घोषणा भयो । कति गोर्खालीले वीरगति पाए, कति हजारको अंगभंग भयो त्यो त बेलायतसँग पनि तथ्यांक छैन । तर सन् १९१४ अक्टोबरमा लाहोरबाट करिब आठ सय गोर्खा सैनिक युद्धका लागि बेल्जियम पुर्‍याइएको थियो । लाहोरबाट लगिएको हुनाले गोर्खा सैनिकलाई बेल्जियमको मेनिनगेटमा इन्डियन सेना भनेर उल्लेख गरिएको छ ।
युद्ध सकिएपछि बेल्जियमको त्यो भूमिलाई ढाकेर नयाँ जातको रातो फूल फुल्यो । त्यो फूल युद्धमा ज्यान गुमाएका मानिसहरूको रगतबाट उम्रिएको हो भन्ने विश्वास गरिन्छ । यसैले युद्धमा मारिएकाहरूको सायद प्रेम सम्झेर यसलाई मानिसहरूले चुम्बन ‘पप्पी’ नाम दिए । सहादतप्राप्त योद्धाहरूको सम्झनामा त्यो पप्पी फूल सो ठाउँमा आजभोलि हजारौं मानिस जम्मा भएर युद्धवीरहरूको सम्झनामा पप्पी फूल चढाएर मौन धारण गर्ने चलन छ ।
समुद्रपार गएर आउनेहरूलाई रूपन्देही पक्लिहवामा ब्राह्मणले पानीपतिया (चोख्याउने कार्य) गर्थे । केही कम्पनी मोहर राखेर ब्राह्मणको गोडामा शिर राखेपछि चोखिइन्छ भन्ने चलन थियो । सन् १९२५ तिर चन्द्रशमशेरले यो प्रथा हटाए पनि केही मानिसले १९६५/७० तिर पनि निरन्तरता दिइरहेकै थिए, जसरी अहिले छुवाछूत प्रथाको अन्त्य हुन सकेको छैन । युद्ध सकिएपछि नाम कटुवामा परेका धर्मध्वज राईले भने पानीपतिया नगरेर एक प्रकारको विद्रोह गरेको कुरा कथाभित्र विस्तृत रूपमा पढ्न पाइन्छ ।
‘एक सेकेन्ड’ संग्रहभित्रकै सबैभन्दा चुँडान्त कथा हो भन्ने लाग्छ । रुकुमको मिरुल गाउँमा जन्मिएका एक बालक (म पात्र) आमाको लुंगी ओढ्दै हुर्किन्छ । गाउँमै पाँच कक्षा पास गरे हाइस्कुल हुँदै लिबाङको कलेज पढ्ने उमेरको हुन्छ । त्यसैबेला देशमा माओवादी द्वन्द्व चर्किन थाल्छ । द्वन्द्वबाट भाग्न गाउँका हुने–खानेहरू गाउँ छाडेर सहर पसे । गरिब निमुखा कहीँ जान सकेनन् । आफूलाई माओवादी नै बनाएर युद्धमा लगाइए । कथामा म पात्रलाई युद्धमा जान परिवारले दिएन, कलेज पढ्न क्रान्तिकारीले दिएन । उनी जबरजस्ती बेलायती सेनामा भर्ती भए । उनी त्यहाँ पनि सकुशल रहेनन् । बम निष्क्रिय पार्ने क्रममा दुवै गोडा गुमाए । गर्भिणी श्रीमती छाडेर हिँडेका पात्र घर फर्किंदा छोरो दुई वर्षको भइसकेको थियो । गोडाले नाघेर निस्केको मूलढोका फर्कंदा त्यही ढोका नाघ्न सकेनन् । छोरो काखमा बस्न आयो तर उनीसँग काख थिएन ।
‘एघार नोभेम्बर’ मा सातवटा कथा छन् । जसमा केही मात्र नेपालका कथा छन् भने धेरै युद्धमै कथा केन्द्रित छ । युद्धमा जानु अघिल्लो दिन, श्रीमान् श्रीमतीबीच संवाद हुन्छ, ‘तपाईं जस्तो जानुभएको छ, त्यस्तै फर्कनुहोस् । तपाईंलाई केही नहोस् !’ यो संवादमा श्रीमतीले आफ्नो श्रीमान्लाई लगभग माया मारिसकेको अवस्थामा देखाउँछ । ‘तक्मा’ शीर्षकमा रहेको यो कथामा लडाइँलाई सचित्र रूपमा नियाल्न पाइन्छ । तालिवानका बीच अफगानिस्तानमा खटिएको यसको मुख्य पात्रले पटक–पटक कामना गर्छ— एकै गोलीमा मर्न पाऊँ । गोली टाउकोमा लागोस्, गोली मुटुमा लागोस् । त्यही ठाउँमा बाह्र जना नेपालीको बीभत्स हत्याजस्तो छटपटाएर मर्न नपरोस् । यसमा गोराहरूले गोर्खालीलाई कसरी विभेदमा पारे भन्ने कथा सुन्दर ढंगले बुनिएको छ ।
कथाभरि पातलो तर रोचक तरिकाका विम्बहरू यदाकदा प्रयोग गरिएको छ । ‘आमाको गुन्युलाई ज्याकेटजस्तो ओढेको’ वाक्यले महिलाहरूमा सम्मानको भावना रहेको देखाउँछ । हिन्दू संस्कारमा प्रायः महिलाका वस्त्रलाई अपमानित गर्ने चलन छ । जस्तो कि कुनै पुरुषले नराम्रो काम गरे उसलाई सिन्दूरपोते र गुन्युचोली लगाइदिएर सजाय दिइएको देखाउने गरिन्छ । प्रायः पुरुष नेताहरूको फोटोलाई विपक्षी दलका जनताले यसो गर्ने गरेका छन्/थिए । यो पंक्तिकारले फेसबुक स्टाटसमा सात वर्षपहिले त्यस्तो फोटोलाई इंगित गर्दै लेखेको थियो, ‘यही गुन्युमा तपाईंको बाल्यकाल न्यानो बित्यो, यही सिन्दूरपोते आफ्नी श्रीमतीको सिउँदोमा, गलामा देख्नुभएन भने आफू ज्युँदो नरहेको महसुस गर्नुहुन्छ । तर यही सिन्दूरपोते र गुन्यु मन नपरेका पुरुषलाई लगाइदिँदा सजाय/बेइज्जती गरेको ठहरिन्छ ?’ लेखक काङमाङले यही गुन्युलाई कति सम्मानका साथ छोराले ज्याकेट मानेर ओढेको कुरा लेखेका छन् ।
कथामा वास्तविक दुःखको लाइनभित्र पनि हँस्यौली कुरा प्रशस्तै राखिएको छ ।
ढङ्लङ बोजूले घरबाट हङकङ र बेलायत जाँदाको कहानी अनि गुन्युदेखि प्यान्ट लगाउने हुँदासम्मको कहानीले खुब हसाउँछ । अर्को मज्जाको कुरा त झन् पात्रले विमिकभित्र छिरेको गोलीपछि खल्तीमा हालेर नेपाल घरसम्मै पुर्‍याउँछ र आमाले छोरा मार्न आएको त्यो गोलीलाई पित्रृकोठामा सजाएर राख्छिन् । यसरी गोली सजाएर राख्नुको मनोविज्ञान बुझ्दा आमाहरूले पनि युद्धमा गएको छोराको हंसमात्र आउँछ र त्यो हंसलाई पित्रृमा राख्नुपर्छ भन्ने अगाडि नै मनस्थिति बनाएका हुन्छन् वा बाजेपुर्खादेखि नै युद्धमा शहादत पाउने क्रम चलेकाले मृत्युलाई सहज लिएका हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।
यो संग्रहभित्र छुटाउनै नहुने अर्को कथा हो ‘ढङ्लङ बोजू’ जब बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले सन् ३० नोभेम्बर २००४ मा बेलायतबाट अवकाश पाएर नेपाल फर्केका भूपू ब्रिटिस गोर्खालीहरूलाई बेलायतमा पुनः वैधानिक रूपले बसोबास गर्ने घोषणा गरे, तब भूपू सैनिकहरू बेलायत (लेखककै भाषामा) खँदारिन थाले । तर बुढेसकालमा सहाराविहीन अर्काको देशमा कति भुक्त खेप्नुपर्छ भन्ने ज्वलन्त उदाहरण यस कथामा पढ्न पाइन्छ । सबैभन्दा ठूलो त्रास त परदेशमै मरिएला कि भन्ने पिरले हरसमय लखेटिरहन्छ, उनीहरूलाई । छेउछाउमै कति दौंतेरीहरूका लास चन्दा उठाएर नेपाल पठाइएको कुराले झनै मुटु खाइरहन्छ । सम्झिँदा लाग्छ, अहिल्यै नेपाल फर्किहालूँ तर नेपालमा छोरा–नातिको बेरोजगारी समस्याले उतै अचेटिरहेको हुन्छ । कति बेला फुस्सै प्राण जाला र आत्माले आफन्तको ऋण बोकेर घर जाला भन्ने त्रासमै दिन बित्छ । भाषाको समस्या हुनु, बेसहारा हुनु त छँदै छ ।
यो कथा उनीहरूले पढ्नुपर्छ, जो छोराछोरी नेपालमा छन् र जसका आमाबुबा बेलायतमा छन् । जसका सन्तानले मातापितालाई पैसाको आसमा हेर्नुभन्दा पनि उहाँहरूको सहज असहजतालाई बुझून् ? बेलायतमै बस्ने छोराबुहारीहरूले पनि जीवनको अन्तिम पृष्ठलाई आमाबाले कसरी बिताउन चाहेका होलान् ? त्यो बुझून् । बेलायतमा कार्यरत धेरैजसो छोराहरू आफू जन्मेको ठाउँलाई अलिकति उमेर लगिदिऊँ भन्दाभन्दै बुहारीहरू नेपाल फर्कन नमानेपछि आफू बेसहारा भएर एक्लै नेपाल फर्कन आँट गर्दैनन् । बमबारुदको भरिया भएर बितेको जवानी फेरि मात्रृसत्ताको निरंकुश शासनले परदेशमै जागिर गर्दै बस्नुपर्ने बाध्यतामा गराउँछ । बुहारीहरूले आफ्ना श्रीमान्को चाहना थोरै बुझिदिऊन् । छोराका लागि बाउ, बाउका लागि बाजेहरू कति बेचैन बाँचिरहेछन्, त्यसको पनि सुनुवाइ होस् । कथाले यस्तै बोल्छ ।
यस्तै कथाहरूले भरिभराउ काङमाङका संग्रह ‘एघार नोभेम्बर’ विशेषतः जातीय पहिचान र जनजातिले बोल्ने शैली, रहनसहन, राज्यले गरेको उपेक्षा र गोराले दोस्रो दर्जाको व्यवहार गरेको दुःखलाई दर्साउँछ । कथाले भन्छ— २०२० सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेको हितकुमार राईले मालपोतमा जागिरका लागि दरखास्त गर्दा उनलाई अन्तर्वार्तामा फालेर तेस्रो श्रेणीमा पास भएका पुण्डरिक अधिकारीलाई पास गराइयो । किनभने त्यो जमानामा राई सरकारी अफिसमा देख्न अनौठो मानिन्थ्यो । हितकुमार बाध्यतावश लाहुरे हुनुपर्‍यो । लाहुरबाट फर्केपछि पनि उनले बेलायत बस्ने सबै लाहुरेहरूलाई नेपाल फर्कन आह्वान गरे तर आफैं राज्यद्वारा उपेक्षित भएर बुढेसकाल रिक्सा चलाएर गुजारा गर्नुपरेको अवस्था देखाउँछ ।
‘उर्जाहाङ राई लाहुरे नभई यलाखोम (मुन्दुम) पढ्न गयो । मुन्धमको उपप्राध्यापक भयो’ भन्ने कथा लेखेर कथाकारले मुन्दमी चेतनालाई पनि उठाएका छन् । हो, पुस्तक, सिनेमा, नाटकहरूद्वारा नै यथास्थिति चेतनामा परिवर्तन ल्याउने हो ।
नजानिदो पाराले कथाको बजार दुई धारमा बाँडिन लागेको छ । कुनै जमाना थियो विम्ब र प्रतीकहरू प्रशस्त नखेलाई कथा उपन्यास बन्दैन भनिन्थ्यो । पछिल्लो चरणमा आएर फेरि बियस राईको ‘हिउँमाझी’ र यही संग्रह ‘एघार नोभेम्बर’ थोरै विम्बमा ठेट कथाहरू लेखेर पाठकलाई रिझाएको छ । अब ‘विम्ब बुझ्दिनँ यसैले साहित्य पढ्दिनँ’ भन्नेहरूले पनि मीठो कथाहरू पढ्न पाउनेछन् । हिजोआज झन् वास्तविक कथालाई नै थोरै औपन्यासिक बनाएर लेख्ने चलनले कथाहरू झन्झन् अर्गानिक हुँदै गएका छन् । तर यस्ता कथाहरूले भएको दुःख मात्र बकिरहेका छन् । मानिस आफैं दुःखको भकारी हो । लेखक भएको नाताले यस्ता दुःखको बयान मात्र नगरेर दुःखबाट पार हुने केही तरिकाहरू पनि निर्माण गर्नुपर्छ । तब न आख्यानकार हुनुको धर्म पूरा हुनेछ । नत्र रिपोर्टर होइन्छ ।

एघार नोभेम्बर
लेखक : काङमाङ नरेश राई
प्रकाशक : फिनिक्स बुक्स
मूल्य : रू. २५०/–

प्रकाशित : असार २८, २०७६ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×