१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महिला फुटबलको पर्याय

पवन आचार्य

पुरुष फुटबलमा अवस्था जेजस्तो भए पनि अमेरिकाले महिला फुटबलमा भने आफू विश्वको महाशक्ति राष्ट्र भएको थप कुनै प्रमाण पेस गर्नु पर्दैन  । आयोजनाको आठौं संस्करणसम्म आइपुग्दा अमेरिकी महिला टिमले ४ पटक विश्वकप उचालिसकेको छ  ।

महिला फुटबलको पर्याय

र, एकपटक उपविजेता भइसकेको छ । २०११ मा जर्मनीमा भएको विश्वकप जापानलाई सुम्पेयता अमेरिकाले अरूलाई विश्वकप वरपर ढिम्किन पनि दिएको छैन । यसपटकको फाइनलमा अमेरिकाले युरोपेली च्याम्पियन नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्‍यो ।
यसपालीको विश्वकप महिला खेलाडीलाई समान पारिश्रमिकको नारालाई लिएर चर्चित बन्यो । फाइनल खेल भएको फ्रान्सेली सहर लियोँको स्टे डी लियोँको उत्तरी स्ट्यान्डबाट मलिन स्वरमा सुरु भएको ‘पारिश्रमिकमा बराबरी’ को नारा स्टेडियमबाहिर मात्रै गुन्जिएन विश्वभर फैलिएको छ । केही सीमित खेलले मात्रै समानताको लडाइँको नेतृत्व गर्ने सौभाग्य प्राप्त गर्छन् । अमेरिकी महिला टिमको हकमा उनीहरूले यसको नेतृत्व मात्रै गरेका छैनन्, यसलाई काँधमै उचालेका छन् । कप्तान मेगन रापिनो र स्ट्राइकर रोज लाभेलले फाइनलको दोस्रो हाफको १० मिनेटको अन्तरमा गोल गर्दै अमेरिकालाई विश्वकप मात्रै दिलाएनन् आफ्नो मुद्दालाई स्थापित गरिदिए । रापेनले प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै पाएको गोल्डन बुट त बोनस मात्रै थियो ।
विश्वकप विजेता अमेरिकी टोलीका सदस्यले जनही २ लाख डलर प्राप्त गर्नेछन् । जबकि विश्वपक विजेता पुरुष टोलीका सदस्यले ११ लाख १४ हजार ४ सय २९ डलर पाउँछन् । गार्जियनका अनुसार विश्वकप जित्ने पुरुष टोलीलाई फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले ९३ लाख ७५ हजार डलर उपलब्ध गराउँछ र त्यो २३ जना सदस्यहरूबीच बाँडफाँड गरिन्छ । महिलाको हकमा अघिल्ला संस्करणभन्दा पुरस्कार रकममा वृद्धि गरिए पनि त्यो पर्याप्त छैन ।
चर्चाको हिसाबले पनि महिला विश्वकप अलि पछि छ । विश्वकपमा सहभागिता जनाउने मुलुकबाहेक अन्यत्र यसको राप र ताप संसारभर फैलिन बाँकी छ । फुटबलको प्रसिद्ध वेबसाइट गोलडटकमका अनुसार फ्रान्समा भएको महिला विश्वकपको फाइनलअघि ८५ करोड दर्शकले सो प्रतियोगिता विभिन्न माध्यमबाट अवलोकन गरेका थिए । समग्रमा १ अर्बभन्दा बढीले महिला विश्वकप हेरेको गोलडटकमले जनाएको छ । जबकि रुसमा सम्पन्न पुरुष विश्वकप साढे ३ अर्ब दर्शकले हेरेका थिए ।

कति पुरस्कार पाउँछन् विश्वकप जित्नेले ?
पारिश्रमिकको कुरा गर्दा गत वर्षको अक्टोबरमा अमेरिका महिला विश्वकपमा छनोट हुँदा सबै सदस्यले ३७ हजार ५ सय डलर बोनस प्राप्त गरेका थिए । त्यस्तै विश्वकपको टोलीमा अटाउने सदस्यले थप ३७ हजार ५ सय प्राप्त गर्दा फ्रान्स जानुअघि नै टोलीका सदस्यले ७५ हजार डलर प्राप्त गरिसकेका थिए । त्यसबाहेक विश्वकप विजेता टोलीलाई फिफाले ४० लाख डलर उपलब्ध गराउँछ । महिला विश्वकपको उपविजेताले भने २६ लाख डलर पाउँछ । पुरस्कार रकम फिफाले विजेता देशको फुटबल संघलाई पठाउने र संघले खेलाडीलाई दामासाहीले वितरण गर्ने हुँदा प्रत्येक खेलाडीले ११ देखि १२ लाख डलर पाउँछन् । त्यसबाहेक विश्वकप विजेता टोलीले गर्ने टुरमा पनि पारिश्रमिक वृद्धि गरिन्छ । ४ खेलसम्मका लागि प्रत्येक खेलाडीले कम्तीमा ६० हजार डलर पाउँछन् । यदि खेल संख्या वृद्धि भएको खण्डमा खेलाडीले प्रतिखेल थप १५ हजार डलर प्राप्त गर्छन् ।
विश्वकपअघि बराबरी पारिश्रमिकको मुद्दा उठाएको अमेरिकी टोलीले आइतबार विश्वकप उपाधि उचालेपछि कप्तान मेगन रापिनोले भनिन्, ‘हामीले आफूलाई प्रमणित गरेर देखाइसकेका छौं । अब हामीले बराबरी पारिश्रमिकका बारेमा थप केही बोल्नपर्छजस्तो पनि लाग्दैन । महिला फुटबलमा लगानी बढाउनेबारे अब सबैले सोच्नेभन्दा पनि काम गर्ने बेला आइसकेको छ ।’
अहिले अमेरिकामा महिला फुटबलको लोकप्रियता नाप्न यो वर्ष नाइकीले बेचेको जर्सीको संख्या हेरे पुग्छ । विश्वप्रसिद्ध ब्रान्ड नाइकीले अनलाइनबाट बेच्ने जर्सीमा अमेरिकी महिला टोलीको सबैभन्दा बढी बेचेको छ । पुनर्प्रयोग गरिएको पोलिस्टर र फ्याब्रिक मिसिएको जर्सीमा अब ४ वटा तारा अंकित हुनेछन् जसको मूल्य ९० डलर तोकिएको छ ।
विश्वकपमा गरेको प्रदर्शन मात्रै हैन, पुरुष फुटबल महिलाको तुलनामा निकै पछाडि छ । सन् २०१६ देखि १८ सम्मको आँकडा हेर्ने हो भने पनि महिला फुटबलले गर्ने आम्दानी बढी छ । अमेरिकी फुटबल संघको तथ्यांकअनुसार महिला टोलीले ५ करोड ८० लाख डलर आम्दानी गर्दा पुरुष टोलीले ४ करोड ९९ लाख डलर मात्र कमाउन सक्यो । वालस्ट्रिट जर्नलको पछिल्लो रिपोर्टअनुसार सन् २०१६ मा अमेरिकी महिला फुटबल टोलीले पुरुषको तुलनामा १९ लाख डलर बढी कमाएका थिए । यो वर्ष आँकडा अझै बढ्ने प्रक्षेपण फुटबल संघको छ ।

महिला फुटबलमा अमेरिकाको दबदबा
सन् १९९१ मा पहिलोपटक आयोजना भएको महिला विश्वकप फुटबलमा अमेरिका मात्रै यस्तो टोली हो जसले हरेक संस्करणको फाइनल चरणमा स्थान पक्का गरेको छ । अमेरिकी महिला टोलीले यतिधेरै कीर्तिमान आफ्नो नाममा गरेको छ कि महिला फुटबल र अमेरिका पर्यायवाचीजस्तै लाग्छन् । सर्वाधिक ४ पटक विश्वकप जित्ने एक्लो टोली हो अमेरिका । अमेरिकाबाहेक जर्मनीले मात्र दुई महिला विश्वकप जितेको छ । पाँचपटक महिला विश्वकपको फाइनल खेलेको अमेरिका मात्रै एउटामा पराजित भएको छ । सन् २०११ को संस्करणमा उसलाई जापानले हराएको थियो । सन् २०१५ मा क्यानडामा भएको विश्वकपमा अमेरिकाले जापानलाई ५–२ ले हराउँदै अघिल्लो हारको बदला लिएको थियो । अमेरिकाले यो संस्करणको विश्वकपमा कुनै पनि खेल गुमाएन । फाइनलअघि खेलेका ११ खेलमा नतिजा आफ्नो पक्षमा पारेर अमेरिकाले नेदरल्यान्ड्सलाई मानसिक दबाबमा पारेको थियो । यति लामो समयसम्म अपराजित रहेको अमेरिका एक्लो टोली हो ।

नयाँ र पुरानाको सन्तुलन
अमेरिकी महिला टोलीको सफलताका पछाडि थुप्रै रहस्यहरू होलान् । मिहिनेतका कथाहरू पनि टन्नै होलान् । तर, नयाँ र पुराना खेलाडीको उपस्थिति तथा उनीहरूबीचको तालमेल अमेरिकालाई सफलताको स्वाद लगातार चखाउन पर्याप्त बन्यो । सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध गोल गरेकी एलेक्स मोर्गनले यो संस्करणमा सर्वाधिक ६ गोल गरिन् । अनुभवी मोर्गन र युवा रोज लाभेलजस्ता खेलाडीको साथले अमेरिकी फुटबलले सफलताको नयाँ अध्याय लेखेको छ । रोज यस्ती खेलाडी हुन् जो क्यानडामा अमेरिकाले तेस्रोपटक विश्वकप उचाल्दाको दृश्य पिज्जा पसलमा बसेर हेरिकी थिइन् । गज्जबको संयोग त के भने ४ वर्षअघि उपाधि जित्दा दर्शक रहेकी रोजले यो संस्करण अमेरिकालाई कीर्तिमानी जित दिलाउन फाइनलमा नेदरल्यान्ड्सविरुद्ध निर्णायक गोलसमेत गरिन् । त्यतिबेला एमेच्योर फुटबलमा रहेकी रोजले ४ वर्षमा जुन फड्को व्यावसायिक फुटबलमा मारिन् त्योभन्दा बढी छलाङ अमेरिकी फुटबलले मारेको छ । अमेरिकाका लागि विश्वकप फुटबल ४ वर्षका लागि सकियो होला तर २४ वर्षीय रोजका लागि सुनौलो भविष्यको ढोका बल्ल उघ्रिएको छ ।
अमेरिकी टोलीका प्रशिक्षक जिल एलिसको भनाइ मान्ने हो भने मैदानमा शरीर र आत्मा दुवैले फुटबल खेलेका कारण जित सम्भव भएको हो । ‘खेलाडीलाई कुन शब्दले धन्यवाद दिने मसँग शब्द नै छैनन् । कहिलेकाहीं शब्दहरू नै पूर्ण नभएजस्ता लाग्दा रहेछन्,’ जितपछि उनले भनेकी थिइन् । एलिस यस्तो प्रशिक्षक हुन् जसको नाममा २ वटा विश्वकप लेखिइसकेको छ । सन् २०११ यता उनको प्रशिक्षणमा रहेको अमेरिकी टोली हारेको छैन । लगातार दोस्रो विश्वकप उचालेकी उनको अबको सपना भनेको जापानको टोकियोमा हुने ओलम्पिकमा अमेरिकालाई उपाधि दिलाउने छ ।

प्रकाशित : असार २८, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?