कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिभन्दा उताको आख्यान

टीका भाइ

गतांकको ‘कोसेली’ मा ‘फातसुङको राजनीति’ शीर्षकमा कवि मनोज बोगटीको लेख प्रकाशित भयो  । कवि मनोजले ‘फातसुङ’ माथि आफ्नो धारणा प्रकाशित गरेर केही सवालहरू उठाएका छन्  ।

राजनीतिभन्दा उताको आख्यान

एउटा उपन्यास पढेपछि सबैमा उत्पन्न हुने धारणा एकै हुन्छन् भन्ने होइन । कवि मनोजले लेखेका विचार पनि उनको वैयक्तिक ‘विचार’ हुन सक्छ ।


‘फातसुङ गोर्खाल्यान्डको कथा होइन’ बाट सुरु भएको उनको लेखनीमा दार्जिलिङ क्षेत्रको केही राजनीतिक ‘विषयवस्तु अनि गोर्खाल्यान्ड’ लाई लिएर निर्मित संवेदना र आक्रोश रहेछ । यो स्वाभाविक हो कि आफ्नो विश्वास, विचार वा राजनीतिक धारविरुद्ध कुनै अप्रिय मत आए हामी उद्वेलित भइहाल्छौं । प्रामाणिकता, न्यायिक विचार अनि युक्तिगत कुराहरू षड्यन्त्रसरह लाग्न थाल्छ । दार्जिलिङका गोर्खे विज्ञ, सर्जक अनि आमजनतासम्मका निम्ति ‘गोर्खा संघर्ष’ विरुद्ध आफ्नो विचार पोख्ने ‘किरण देसाई’ कुनै खतरनाक शत्रु, अर्कोतिर गोर्खा जातिको संघर्ष र मर्मलाई बुझिदिने बङ्ग प्रतिभा अन्जन दत्त, सौमेन नाग आदि ‘नायक’ हुन्छन् ।


मनोजको उक्त लेखनीभित्रको ‘राजनीति’ जे–जस्तै होस्, उनको एउटा स्वीकृति कि ‘साहित्यको कुनै पनि विधा राजनीतिमुक्त छैन’ लाई भने स्वीकार गर्नैपर्छ । साहित्य, इतिहास लेखन, समाजशास्त्र, अहिले पत्रकारिता जम्मैमा राजनीति, प्रोपगान्डा अनि कुनै न कुनै थरीको राजनीति विद्यमान छँदै छ । यद्यपि मनोजले खुलाएर भन्न हिच्किचाएकै लाग्छ कि छुदेनको उपन्यास ‘फातसुङ’ को राजनीतिचाहिँ कस्तो राजनीति हो ? राज्यसत्ता पोषित लेप्चा गोष्ठीय राजनीति ? एकथरीका जातिप्रेमीहरूका निम्ति गोर्खा केवल ‘गोर्खा’ हो । त्यो विशुद्ध ‘गोर्खा’ को रक्षा गर्न गोर्खाभित्रका विभिन्न जात–गोष्ठी, नजिकका जातिको संकथनहरू के गोर्खे साहित्यमा निषेधित हो ? के ‘गोर्खाल्यान्डको संघर्ष’ मा घटित ‘अपुग, अभाव, गल्ती अस्पष्टताको कथानक’ लेख्नु त्यो गोर्खे आस्थामा रहेको ‘गोर्खाल्यान्ड’ भित्र वर्जित छ ?


दुर्गुण खोजेर जेको पनि आलोचना गर्ने आदत बसेपछि ‘निन्दा’ प्यारो लाग्न थाल्छ । कतै हामी लेख्न थालेपछि आफ्नो ‘प्यारो’ हरूको प्रशंसा र आफ्नो ‘सर्जकीय सत्ता’ विरोधीहरूलाई आलोचना गर्नकै निम्ति आलोचना गर्ने राजनीति नै गरिरहेका लेखन्ते भइरहेका होइनौं ? आत्मसजगता अहिले झन् बढी हामी सबै शब्दवाहकहरूलाई जरुरी रहेछ । अब हामी ‘फातसुङ’ यदि ‘गोर्खाल्यान्ड’ को कथा होइन भने ‘कसको, कहाँको’ कथा रहेछतिर हेरौं ।


नेपाली उपन्यास लेखनलाई उर्बर तुल्याउने थलो एक समय भारत थियो । भारतीय नेपाली साहित्यमा पछिल्लो काल उपन्यास विधा नै लगभग संकटमा थियो । युवा सर्जक छुदेन काविमोको ‘फातसुङ’ बजारमा आएपछि सामाजिक सञ्जाल पाठकहरूको प्रशंसा र चर्चाको केन्द्र नै बन्यो । बीचबीचमा गाइँगुइँ आलोचना होइन, फासफुस अनि सुटुक्क तरिकाको निन्दाहरू पनि उठे । एउटा लेप्चा गोष्ठीका युवा सर्जकले ‘नेपाली उपन्यास’ लेखेकोमा चाहिँ निन्दा पक्कै होइन तर लेप्चा गोष्ठीका सर्जकले भारत वर्षमा ‘गोर्खा’ ले बाँचेको–भोगेको कथाको नकारात्मकता नै धेरै देखाएछ भन्ने कुरा थियो । यो लेखक अलिक ‘लेप्चा’ जातिवादको सिकार छ भन्ने थरीको निन्दा पनि भए । उनले शीर्षक नै फातसुङ (लेप्चा भाषाबाट) किन लेख्यो ? गोर्खाल्यान्ड आन्दोलनको सकारात्मक पाटा पनि त छन् ! यस किसिमका केही धारणाहरू केही थोरैमा देखिए । धेरैजसोले उपन्यासको कथावस्तु–विषयवस्तु, यसको शैलीलाई प्रशंसा नै गरे । शीर्षक ‘फातसुङ’ किन ?– यो सवाल वा सन्देह आफैंमा कत्ति मायालाग्दो छ ! भारतीय गोर्खा विविध जात–समूहहरूको एकता हो । यो जातिसित दाज्यु मात्र भन्नलाई आग्या, बोबो, जोजो, आनुम, आम्बोइ, आदि धेरै शब्दहरू छन् । नेपाली उपन्यासमा हाल धेरै नेपाली जातगोष्ठीका ‘मिथक अथवा शब्द’ हरूको प्रयोग सामान्य कुरो हो । उपन्यासको शीर्षकमा ‘फातसुङ’ (माटोको कथा) एउटा लेप्चा शब्दको प्रयोग लिएर नै सन्देह भनेको एउटा जाति–गोष्ठीमाथिको सन्देह हो । भारतीय गोर्खाहरूको राजनीतिक संघर्षको एक संकटपूर्ण समय सन् १९८६ को आन्दोलनबीचका केही कथाहरू बुनिएको ‘फातसुङ’ एक साहित्य हो । यसलाई पढ्न इतिहासदृष्टि अवश्य अनिवार्य होला यद्यपि इतिहास र उपन्यासबीचको भेद नबिर्सीकन यसको मूल्याकंन गरिनुपर्छ । ‘फातसुङ’ इतिहासको मसी र आख्यान टिपेर नै बुनिएको उपन्यास भए तापनि यसको जादूमय अनि झर्को नलाग्ने शैली र कथाको मार्मिकता बेजोडको छ ।


उपन्यासमा पाठकलाई आन्दोलनको क्षण भएको ‘बीभत्सता– हत्या, हिंसा र रगत’ देखि लेखकले टाढै राख्न रुचाएका छन् । त्यस्ता घटनाहरू पार्श्वमा राखेर, छनक मात्र दिएका छन् । सन् १९८६ को आन्दोलनको कहालीलाग्दो वास्तविकताबाट एक मुठ्ठी कथा टिपेर छुदेनले देखाइदिएका मात्र छन् ‘फातसुङ’ मा । उपन्यासको कथन कुनै ‘लेख अथवा इतिहास’ जस्तो प्रामाणिक हुनैपर्छ भन्ने हुँदैन । कथामा रोचकता थप्न पात्रहरू, पात्रहरूमाझ अन्तर्विरोध अनि कथाको अन्त लेखकीय स्वाधीनताका कुराहरू हुन् ।


सन् १९७९ देखि १९८२ सम्म अर्थात् अलग राज्यको माग ‘प्रान्त परिषद्’ को नेतृत्वमा अघि बढेको समयसम्म दार्जिलिङवासीहरूले ‘अलग राज्य’ मात्र मागिरहेका थिए । त्यतिखेरसम्म ‘गोर्खाल्यान्ड’ यो नामको न्वारन भएको थिएन । नाम के राख्ने तय नगरी इन्द्रबहादुर राईसरह सर्जक नेत्रित्वाधीन ‘प्रान्त परिषद्’ ले ‘अलग राज्य’ मागे ।
यता साहित्यमा ‘गोर्खा जातीय मुक्ति चेतना’ हरिभक्त कटुवाल, अगमसिंह गिरीसरह सर्जकका रचनाहरूबाट सन् १९७० कै दशकदेखि तीव्र बनिरहेको थियो । तथापि भारतवर्षमा विकास हुँदै गएको गोर्खा जातीय मुक्ति चेतको प्रारम्भिक स्वरूप बढी रोमान्टिक थियो । फलस्वरूप यसले स्वस्थ राष्ट्रवादको साटो उग्रराष्ट्रवादी चेतलाई मलजल गर्‍यो । उत्पीडित जातिको उग्रराष्ट्रवाद (सुडो नेस्नलिज्म अफ अप्रेस्ड नेसनालिटी) ले आफ्नोबाहेक अरूको राष्ट्रवाद, भाषा, संस्कृति आदिप्रति अनादर पाल्छ अनि अप्रजातान्त्रिक बन्छ । आफ्नो जातिविरोधी मत राख्नेहरूप्रति असहिष्णुता, राज्यसत्ताको साटो बंगाली अथवा मधेसी मूलका जनता र जातिप्रति घृणा, जाति मुक्तिको गणतान्त्रिक महत्त्व र मूल्यको अनभिज्ञता आदिसित हिंसात्मक रूप लिएको गोर्खाल्यान्ड आन्दोलनको आत्मसमीक्षण वा आत्ममन्थन कहिल्यै भएन, भएको थिएन ।


‘ज्ञात–अज्ञात’ गोर्खाल्यान्ड प्राप्तिलाई लक्ष्य मानेर सुरु गरिएको या त राज्य–सत्ताले ‘प्रोभोक’ गरेको सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलनको त्यही अचेत अनि उग्रजातीय संवेगको अन्धो यात्रा ‘फातसुङ’ ले सुन्दर रूपमा चित्रित गर्न सकेको छ । आन्दोलनभित्र शत्रु को ? मित्र को ? को असमञ्जस्यता, राजनीतिक प्रशिक्षण अनि चेतनाको अभाव, युद्धलिप्साजस्ता कहिले प्रकट हुन नसकेका अपुग अनि अभावहरू आलोचना नगरी आलोचित छन् यस आख्यानमा । कुनै सवाल नउठाई आजका जागरुक समाजअघि धेरै सवाल उठाएको पनि छ । सन् १९८६ देखि सन् २०१७ लगभग ३१ वर्षको अन्तरालमा पनि आत्ममन्थन नगरिएका र पुरानै गलत बाटो हिँडिरहेको अथवा हिँडाइएको ‘गोर्खा राष्ट्रवाद’ निश्चय पनि यस आख्यानको कठघरामा छ । तर, न्यायाधीश यो आख्यान नभएर आमपाठक हुने हुन् । ‘रेडिमेड’ निष्कर्ष अथवा कुनै एजेन्डा, कुनै राजनीतिक अन्तर्दृष्टि दिन खोज्ने आख्यान ‘फातसुङ’ होइन । यसभित्र भारतीय गोर्खाहरूले भोगेका–बाँचेका राजनीतिक संघर्ष अनि सत्ताको षड्यन्त्रहरूका ताप र रापमाझबाट हुर्किएको जटिल ‘सवाल’ हरू छन्, जसलाई अनदेखा गरेर वा जसको जवाफ नखोजी भारतीय गोर्खा राजनीतिलाई धर छैन ।


प्रसंग ः लेप्चा अनि गोर्खा जातिमाझको अन्तर्विरोध र सन्देहमाझ ‘गोर्खा जाति जात–जातमा टुक्रिन्छ’ भन्ने भयको पनि छ । जात–जातमा टुक्रिनु हुँदैन भनेर नलेख्ने लेखक–सर्जक सायद भारतीय नेपाली साहित्यमा कोही पनि छैन । गोर्खा अथवा नेपाली जातीयताको गठन विभिन्न जातिक समूहहरूको एकत्वबाट निर्मित छ । भारतवर्षमा गोर्खा जातिभित्रका विभिन्न जातगोष्ठीमाझ एकत्व निर्माणको काम ‘नेपाली भाषा’ ले गरेको हो । यद्यपि एउटा जाति अथवा राष्ट्र हुनुको निम्ति अनिवार्य तत्त्व– भाषा, भूगोल, जीवनशैलीको एकता, सांस्कृतिक एकता आदि विभिन्न थोकहरूलाई मानिन्छ । भारतवर्षमा गोर्खा जातीय भावनालाई एक सूत्रमा गाँस्ने भनेको नेपाली भाषा अनि साझा राजनीतिक असुरक्षाबोधले मात्र हो । राई–लिम्बू–मगर–नेवार अनि सबै जात–समूहका आ–आफ्नै भाषा परम्पराहरू हुँदाहुँदै पनि ‘नेपाली भाषा’ सबैको साझा भाषा भएको हुँदा भाषाले मात्र गाँसेको जाति भयो गोर्खा । कुनै पनि एकता चाहे त्यो परिवारको होस् अथवा समाज अथवा जातिको, एकता साझा स्वार्थहरूको एकता नै हुन्छ । जबर्जस्ती कायम गरिएको एकता यान्त्रिक हुन्छ ।


भारतमा गोर्खा जातिलाई पश्चिम बंगाल राज्य अधीनमा राख्ने कार्य यान्त्रिक एकताकै नमुना थियो । भारत स्वाधीन हुनुभन्दा अघिदेखि नै दार्जिलिङ क्षेत्रका भोटिया–लेप्चा–गोर्खा जातिले बंगालदेखि अलग राखिनुपर्ने चेतना हुर्काएर आएका थिए तर त्यसो गरिएन । भारतीय संघीय गणतन्त्रले आफैंलाई एकतर्फ गणतान्त्रिक देखाउन संसारकै बृहत्तर संविधान दियो तर भारतमा यति धेरै राष्ट्रियता सम्मिलित थियो कि संयुक्त राष्ट्रसंघले नै स्वीकृत गरेको ‘जातिहरूको आत्मनिर्णयको अधिकार’ स्वीकार गरेजस्तो गरी बहुसंख्यक र विकसित जातिले मात्र त्यो अधिकार प्रयोग गर्न मिल्ने व्यवस्था कायम गरियो । अलग राज्य प्राप्तिको निम्ति बहुसंख्यक जाति, धेरै सांसद भएको राजनीतिक दल अथवा सरकारमै भर पर्नुपर्ने बाध्यताका कारण उत्तरपूर्वका धेरै राज्यदेखि भारतका विभिन्न राज्यहरूमा विभिन्न जातिहरूले अहिलेसम्म ‘अलग
राज्य’ प्राप्तिको निम्ति संघर्ष गरिरहेका छन् । र, बारम्बार असफलता प्राप्त गरिरहनुपरिरहेको छ ।


यता दार्जिलिङमा ‘गोर्खा’ जातीय स्वत्व अनि राजनीतिक पहिचानको मुद्दा उठेपछि यस मुद्दासित सुरुमा सबै एकाकार हुँदै गए । भोटिया, लेप्चा, पहाडमा बसोबास गर्ने मधेसी मूलकाहरू, हिन्दू, मुस्लिम, इसाई सबै नै दार्जिलिङलाई बंगालदेखि मुक्त गराउन एकमत थिए । तर गोर्खा मुक्तिको सवाल लिएर अघि बढ्ने राजनीतिक दलहरूमा दूरदर्शिताको अभाव, सबै समूह, श्रेणी, जातिको हकहितलाई बुझ्न अनि सम्बोधन गर्न नसक्ने कमजोरीका कारण सन् १९९० को दशकदेखि दार्जिलिङमा एउटा पृथक् मोड देखा पर्न थाल्यो । गोर्खाका धेरै जात–समूहहरू आ–आफ्नो संस्कृति–भाषा, जनजातिक सुरक्षा आदिको मुद्दा लिएर गम्भीर हुन थाले । गोर्खाकै एक जात मान्न थालिएका लेप्चाहरू तर वास्तवमै गोर्खाको मूल जातहरूभन्दा फरक, इतिहासले नै सिक्किम–दार्जिलिङका मूल बासिन्दा मानिलिएका । उनीहरूभित्र आफ्नो जाति, भाषा, संस्कृतिप्रतिको चासो र भय निर्माण हुनु स्वाभाविकै थियो । त्यो उनीहरूभित्र बिस्तारै विकास हुँदै गएको जातीय चेतना अनि असुरक्षाबोध शून्यबाट निर्माण गरेर राज्यसत्ताले ‘गोर्खा मुक्ति संघर्ष’ बिथोल्न प्लान्ट गरिदिएको चेतना थिएन ।


धेरै लेप्चाहरूले आफैंलाई गोर्खा नै स्वीकार गरे, गोर्खाले पनि गोर्खा स्वीकार गर्‍यो लेप्चाहरूलाई । भारतीय सेनामा लेप्चा युवाहरू ‘गोर्खा प्रमाणपत्र’ लिएर नै जानेहरू धेरै छन् । ‘गोर्खाल्यान्ड’ को आन्दोलनमा आँखा चिम्लेर लड्ने लेप्चाहरू पनि धेरै छन् । समस्या यो होइन । ठूलो जातिलाई सानो जाति तबसम्म समस्या हुँदैन जबसम्म त्यो सानो जात–गोष्ठीले आफ्नो भाषा, संस्कृति अनि मौलिकताबारे चिन्ता लिँदैन । लेप्चा गोष्ठी वा जाति– ‘नेसन इन मेकिङ’ मा विकास हुँदै गएको भय– हाम्रो भाषा मर्ने रहेछ, हाम्रो संस्कृति लोप हुने रहेछ, हाम्रो मौलिकता नरहने रहेछ । यस्ता भयहरूलाई गोर्खा नेतृत्वले दमन गर्नुको साटो सकारात्मक रूपमा सम्बोधन गर्न सकेको भए हुने थिएन ? तर त्यसो भएन । त्यो खाली ठाउँमा, हुनै सक्छ ‘गोर्खा मुक्तिको आख्यान’ शेष गर्नलाई राज्यसत्ताले मौका लियो । दार्जिलिङमा अलग राज्य प्राप्तिको हल्लीखल्लीमाझ लेप्चा जातिले बंगाल सरकारले दिएको ‘लेप्चा बोर्ड’ थाप्यो ! कतिपय गोर्खाहरू गर्जिए, कोही मनमनै रिसाए । ‘स्टेटसकार’ हरू धेरैले लेप्चाहरूलाई गाली पनि गरे । बंगालले हामीलाई छुट्टायो, कतिले सम्झिए । त्यसको अलिक पछि खाँटी गोर्खे राई, लिम्बू, तामाङ, कामी, दमाई, अनि अरू–अरू सबैले त्यस्तै सपनाको बोर्ड थाप्दै–थाप्दै गए । अरू कुनै पनि जात अगोर्खा, माटोविरोधी, जातिविरोधी... केही भएन ।


वास्तविकता त के भने धेरै लेप्चाहरू आज पनि ‘गोर्खाल्यान्ड’ माया गरेर बसेका छन् । धेरै लेप्चाहरू त मनभरि बंगालप्रति घृणा पालेर बसेका छन् । धेरै लेप्चाको परिवार बाहुन–छेत्री, तामाङ, राई–लिम्बूसित जोडिएको छ । धेरै लेप्चाहरू नेपाली साहित्य लेख्न–पढ्न अनि नेपाली साहित्यबारे चिन्ता लिएर बाँचेका छन् । छुदेन काबिमो, एक लेप्चा युवा सर्जक नेपाली भाषाका निम्ति साहित्य अकादमी युवा पुरस्कार प्राप्त गर्छन् । नेपाली भाषामै उनले अनुभूत गरेको ‘गोर्खे कथा’ आफ्नै पारामा लेख्छन् । राति चिहानघारी पुगेको डरछेरुवा मान्छेको चेतनालाई ‘कालो जति जम्मै भूत’ लाग्छ रे ! दार्जिलिङले सन् १९५०–६० को दशकमा जत्ति राजनीतिक अभ्यास गर्‍यो, जति समाज र संसार बुझ्न कसरत गर्‍यो, त्यो बिर्सियो । अनि, बिस्तारै आफ्नो मौलिक चिन्तन र राजनीतिक संस्कृति पच्छाउने होइन तर ‘दिल्ली र कलकत्ता’ निर्मित आख्यान सुन्ने र बुझ्ने भयो । आफ्नो मनोगत अन्दाज र संशयलाई सत्य मान्ने भयो । त्यही संशय र डरका कारण आफ्नै भाइलाई भूत मानेर झटारो हानी पठायो ।


‘गोर्खा जाति’, ‘गोर्खा मुक्ति’, ‘गोर्खा स्वाभिमान’ सबैले स्याहार गर्दै आएको फूलबारी हो । त्यही फूलबारीमा अलिकति दलित फूलहरू, अलिकति जनजाति फूलहरू छन् । समाजको वास्तविक व्यवहार र यी गोष्ठीहरूले ‘बृहत्तर गोर्खा एकता’ भित्र अनुभूत गरिरहेका कुराहरू के थिए ? के मन दुखाइ छ ? खासै साहित्यमा देखा परेन । ‘त्यस्तो लेख्नु गोर्खाविरोधी’, ‘त्यस्तो लेख्नु जातवादी’– यसथरीको मूल्यांकन भनेको एउटा जातिभित्र विद्यमान अन्तर्विरोधहरूको निषेध मात्र हो । बाउको सत्य मात्र सत्य, आमाको सत्य अलिक कम्तीको सत्य, छोरा–छोरीको सत्यचाहिँ असत्य !’ यसथरीको मानक भएको एकताले एउटा परिवार त बाँच्दैन, एउटा जाति कसरी बाँच्न सक्छ ?
‘गोर्खाल्यान्ड आन्दोलन’ को कथा माझबाट कहीँ कतै उपन्यासकार छुदेनबाट ठाउँठाउँमा लेप्चा संकथन आयो होलान् । लेप्चा जगत्ले आज महसुस गरिरहेको कुरा पनि आए होला । ‘त्यो कुरा’, ‘त्यो आख्यान’ नै गोर्खा आख्यान होइन भन्नु एकप्रकार गोर्खा संघर्ष र मुक्ति लिएर ‘लेप्चा जाति’ ले सोचेका कुरा ‘गोर्खा सोच’ नै होइन भन्ने किटान भएन त ? उसो भए आज दार्जिलिङमा लेप्चा जातिमाझ निहित विचार, असुरक्षाबोध आदि गोर्खाविरुद्ध ‘राज्यसत्ता’ द्वारा पोषित विचार मान्ने त ? यस्तो विचारको स्वीकृति अन्धजातिवादी चेतनाबाहेक अरू केही होइन ।


सन् १९८६ को आन्दोलनको घोषणा दार्जिलिङबाट भयो । आन्दोलन हिंसात्मक थियो । हतियार उठाउन, अनि लड्नका निम्ति चियाबारी उपर्युक्त ठाउँ थिएन । दार्जिलिङका चिया बगानहरूमा हातहतियार उठाएर लडे धेरै तर धेरै क्षति बेहोर्नुपर्ने स्थिति थियो । कालेबुङ क्षेत्रमा आन्दोलन अत्यन्त तेज भएर गएको थियो । पछि नेतृत्व अहंका कारण एकै लक्ष्य, एकै उद्देश्य लिएका आन्दोलनकारीहरू विभाजित भए । सुरुमा ‘गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) बनाम मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) माझ संघर्ष चलिरहेथ्यो । पछि ‘गोरामुमो बनाम गोरामुमो’ नै भिड्न थाले । त्यो अवधिको एकै दलमाझको फाटो र अन्तर्विरोधको कथानक उपन्यास ‘फातसुङ’ भित्र छ ।


‘नेता हुनलाई राजनीतिक चेतना, राजनीतिक अनुभव र शिक्षा होइन । राजनीति गर्नु इमान र जनताप्रेम होइन, आँट भए पुग्छ ।’ यस्तै सोच अनि चेतना सन् १९८६ को अलग राज्यको आन्दोलनले गोर्खा जनताभित्र प्रसारित गर्न सकेको चेतना थियो । सन् १९८० अघिसम्म चिन्तक, सर्जक, शिक्षक, समाजसेवी, आदि दार्जिलिङको राजनीतिका मेरूहरू थिए । पक्ष–प्रतिपक्षकाहरू बसेर समाज जातिका निम्ति हितकर उपाय सोच्थे अनि त्यस्ता मुद्दामा एक हुन्थे । त्यो सबै सकिदिने आन्दोलन थियो सन् १९८६ । गोरामुमो नेता सुवास घिसिङ सर्वेसर्वा । उनले जे भने त्यही हुन्थ्यो जातिमुक्तिको मन्त्र । उनले भनिदिए ज्ञानी अनि विद्वान्हरू काम लाग्दैन । उनको दलमा हतियार उठाउन सक्नेहरू मात्र नेता हुने भए । मध्यवित्तीय ‘ज्ञानी अनि विद्वान्’ हरू काँतर हुन्छन् होला, यसको अर्थ यो होइन कि समाज र जातिको निम्ति उनीहरू काम नलाग्नेहरू हुन् । तर ज्ञानी अनि विद्वान्हरूको नाममा ज्ञान, तर्क, बहस सबैसबै निषेधित हुँदै गयो दार्जिलिङमा । खुकुरी उठाउने, बन्दुक चलाउने, नेताले भनेको मान्ने यति भए पुग्यो । यस्तो राजनीतिक भ्रम सिर्जित गरियो मात्र होइन तर ‘राजनीति’ आफूभन्दा शक्तिशाली सत्ताको निम्ति र सहयोगमा गर्ने हो भन्ने थरीको समर्पणको राजनिति र विश्वास कायम गरियो । ‘फातसुङ’ ले थोरै बोलेर, धेरै भन्न खोजेको राजनीति यही नै थियो ।


‘फातसुङ’ ले सोधिरहेको सवालहरू, फातसुङका कथाका पात्रहरूले भनिरहेका अनुभूतिहरू गोर्खाल्यान्डभित्रकै धेरै मानिसको अनुभूति हो भने, के गोर्खाल्यान्डभित्र
केही विशेष विचार अथवा अनुभूतिले मात्र प्रवेश पाउँछ ? यदि होइन र गोर्खाल्यान्ड गणतान्त्रिक पनि छ भने, ‘फातसुङ’ गोर्खाल्यान्ड नामको आस्थाको सबैभन्दा उन्नत अनुहार हो । छुदेनको ‘फातसुङ’ भाग १ मात्र होजस्तो लागिरहेछ यतिखेर मलाई । यो उपन्यास त सिरिज ‘उपन्यास’ हुनुपर्ने । हामीले रुनुसहित हाँस्नुपर्ने जीवित पात्रहरू अरू धेरै छन् । यस अर्थमै फातसुङ मेरा निम्ति हाम्रो कथा, गोर्खाल्यान्डको कथा हो । अनि गोर्खाल्यान्ड संघर्षको कथानक लिएर अहिलेसम्म लेखिएका धेरै कथाहरूभन्दा अलग र सुन्दर ढंगमा लेखिएको एक श्रेष्ठ कृति हो । यदि यो ‘गोर्खाल्यान्डको कथा’ होइन भने कुन कथा हुन सक्छ गोर्खाल्यान्डको ?

प्रकाशित : असार १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?