२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सेल्फी

नवराज पराजुली

मेरो देशले किनेका सबै क्यामेराहरु मेरो हिमालतिर फर्किए  ।

अनि,
‘स्याम्पु’ को सेतो फिँजले लपक्क भएको चिसो कपाललाई
देब्रे हातले मिलाउँदै
हिमाल मुस्कुरायो ।

खिचिक् !

मेरो देशले किनेका सबै क्यामेराहरु
मेरो पहाडतिर फर्किए ।

अनि,
हरियो ‘सिल्की’ कपाललाई
बीचमा सिउँदो काटेर दुईतिर फर्काउँदै
पहाड मुस्कुरायो ।

खिचिक् !

खै कुन्नि किन हो
मेरो देशले किनेको कुनै पनि क्यामेरा
फर्किएन मेरो तराईतिर ।

सायद त्यसैले होला
अँध्यारो अनुहार लगाएर
तराई सधैं ठुस्किरहृयो ।

आजभोलि म
एउटा गज्जबको खबर सुन्दै छु–
मेरो तराईले
सेल्फी खिच्न सिकिसकेछ !

प्रकाशित : असार १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?