धोती*

तपाईंलाई गीतहरू मन पर्छन् ? एकचोटि सम्झिनुस् त ! नेपालका थरीथरी पोसाकको बयानले भरिएका राष्ट्रिय गीतहरू थिए ! भुँडीभरि तीनै राष्ट्रिय गीतहरू भरिएका राष्ट्रिय रेडियो र टेलिभिजन थिए ! तर, धोतीमाथि गर्व गरेर लेखिएको कुनै देशभक्तिले भरिएको गीत किन बज्दैनथ्यो ?
नवराज पराजुली

 
ब्रालगाएकी मोडल केटीलाई ‘ओइ ब्रा !’ भनेर बोलायो भने उसलाई कति रिस उठ्दो होला ?

धोती*

त्यै ब्राको इलास्टिकले त्यो सोध्नेको घाँटी कसिदिऊँजस्तो लाग्छ होला नि ?
पेन्टीमात्र लगाएको मोडल केटालाई ‘ओइ पेन्टी !’ भनेर बोलायो भने उसलाई कति रिस उठ्दो होला ? त्यै पेन्टी पोको पारेर सोध्नेको मुखमा बुजो लगाइदिउँजस्तो लाग्छ होला है ?
बोडी झुन्डिएजस्तो तुनैतुना भएको दौरा–सुरुवाल लगाएको मान्छेलाई ‘ओइ तुने !’ भन्यो भने कति रिस उठ्छ होला ? मुक्कैमुक्का हानेर तुनामा जतिवटा गाँठो पारेको छ त्यो सोध्नेको मुखमा त्योभन्दा बढी गाँठो बनाइदिन मन लाग्छ होला नि !
घाँटी कसेर टाई लगाएकोलाई ‘ओइ टाईटुई’ भन्यो भने उसले आफ्नो टाई फुकालेर त्यो सोध्ने मान्छेको कस्न मिल्ने नमिल्ने सबै कसिदिन्छ होला है ?
त्यसो भए धोती लगाउनेलाई धोतीभन्दा चाहिँ ?
कैलेकाहीँ मात्रै हैन वर्षौंदेखि पटकपटक ‘धोती ! धोती !!
धोती !!!’ भन्दा चाहिँ ?
स्कुल जाँदा फेल भए ‘धोती त हो पढेर खाँदैन’, धेरै राम्रो अंक ल्याए ‘धोती त हो पढेर के गर्नु !’
फलफूल बेच्दा दाम बढी भए– ठग्छ । दाम कम भए– कम क्वालिटीको बेच्छ !
अरू विषय पढाउन जाँदा ‘धोतीले विज्ञान र गणित मात्रै राम्रो पढाउँछन् ।’ विज्ञान र गणित मात्रै पढाउन जाँदा ‘धोतीले विज्ञान र गणित मात्रै त राम्रो पढाउँछन् !’
रिस उठ्दैन हजुर ? कि रिसाउनु अगाडि अनुमति लिनु हँ ?
तर आज धोती लगाउने सबैसँग रिसाउने आँट पनि छैन । करले किनेको श्रीपेच टाउकोमा लगाउनेहरूले टाउकोको फेटा र कम्मरमा धोती लगाउनेहरूको आँट नै खोसिरहे । सुरुमै उनीहरूको स्कुलबाट उनीहरूकै भाषा खोसिदिए ।
खोस्नेले जहिल्यै पहिले भाषा खोस्छन् !
प्रेम गर्ने भाषा !
पेट भर्ने भाषा !
अनि त न रह्यो बाँस न बज्यो आफ्नो भाषामा समाचार ।अब हिँजो आँट खोस्नेको आँटमाथि आज धोती लगाउनेहरू रिसाउन पाउने कि नपाउने ?
आँट गरेर आज कुनै धोती लगाएको पेट रिसाएर केही बोल्यो भने यहाँ कसैकसैको टाउको रिसाउँछ । र त्यो टाउकोले उखान वा चुट्किला गर्दै भन्छ, ‘धोतीमा सररर हावा छिर्ने त्यत्रो एअर कन्डिसनिङ छ त ! रिस उठ्नासाथ शीतल हावा खाएर शीतल भए भैगयो त !’ अब फेरि हाँसिदिनुपर्ने होला !
तपाईंलाई गीतहरू मन पर्छन् ? एकचोटि सम्झिनुस् त ! नेपालका थरीथरी पोसाकको बयानले भरिएका राष्ट्रिय गीतहरू थिए ! भुँडीभरि तीनै राष्ट्रिय गीतहरू भरिएका राष्ट्रिय रेडियो र टेलिभिजन थिए ! तर, धोतीमाथि गर्व गरेर लेखिएको कुनै देशभक्तिले भरिएको गीत किन बज्दैनथ्यो ?
धोतीमाथि गर्व गरेर कसैले लेख्दैनथ्यो हो ?
कि लेख्न लगाइन्नथ्यो ? कि लेख्नै दिइन्नथ्यो ? यस्तो किन भयो होला ? तपाईंलाई थाहा छ ? मलाई बताएर मद्दत
गरिदिनुस् न !
तपाईंलाई धोती सम्झिँदै रोमान्टिक लाग्दैन ?
खुला छ । सजिलो छ । लगाउन छिटो हुन्छ । के एउटा पहिरन रोमान्टिक हुन यति काफी छैन ? यही देशको यस्तो रोमान्टिक पोषाकको किन ब्रान्डिङ हुँदैन ? हाम्रा टीभीमा ब्रान्ड ब्रान्डका धोतीहरूको विज्ञापन किन बज्दैनन् ?
सेक्सी केटाहरू धोती लगाएर हाम्रा सडकहरूका होर्डिङबोर्डहरूमा किन उभिँदैनन् ? फेयर एन्ड लभ्लीको विज्ञापनकी गोरी मोडल कुनै पर्फ्युमको विज्ञापनमा एउटा धोती लगाएको मोडल देखेर किन लठ्ठ पर्दिनन् ?
क्यामेराको लेन्सको रोजाइमा धोती किन पर्दैन ? लौ न त यसो समावेशी बनिदिऊँ न त भनेर खिचिने सरकारी फोटोबाहेक, निजी स्कुलहरूले प्यारेन्ट्स डेमा बच्चाहरूको कम्मरमा झुन्ड्याइदिनेबाहेक ?
‘रामलीला’ फिल्मको ‘अंग लगाले...’ भन्ने गीतमा दीपिकासँग रणवीर सिंहले धोती लगाएर गरेको रोमान्स हेर्दा त नेपालका सबै जिब्रोबाट मूल फुट्यो होला ! यसको मतलब राम्रो देखाउन खोज्दा त राम्रै देखिँदो रैछ त !
आज म अघिदेखि तपाईंलाई प्रश्न मात्रै सोधिरहेको छु नि ? वास्तवमा मसँग नै उत्तरहरू नभएर हो ! आफूसँग नभएकोसँग पनि सँगै बाँचिदिने मान्छे हुन्छन् ।
तपाईं पनि त्यस्तै हुनुहुन्छ होला भन्ने आसले यो सबै सुनारहेछु । ‘नभएका’ हरू सँगै भए भने ‘हुन्छ’ नि त ।
िि
ि
खै के भयो के भयो मलाई धोती अत्ति मन पर्‍यो । कृपया कारण नसोध्नुस् । अत्ति मन पर्नुको कारण हुँदैन । मैले जति पनि धोती लगाउनेहरू भेटें उहाँहरू अत्ति मन पर्‍यो । कृपया कारण नसोध्नुस् । अत्ति मन पर्नुको कारण हुँदैन । तर धोती लगाउनेहरूलाई धोती भन्दै गलल्ल हाँस्दै गिज्याएको अत्ति मन परेन । कृपया कारण सोध्नुस् । अत्ति मन नपर्नुको कारण हुन्छ ।
भनुम् ?
२०६२/६३ को आन्दोलनपछि विराटनगरमा तत्कालीन नेकपा माओवादीको पहिलो ठूलो आमसभा हुँदै थियो । काठमाडौंबाट माओवादीका ठूला नेता आउँदै थिए । ‘माओवादीका ठूला
नेता !’ ती आज न ‘माओवादी’ रहे न ‘ठूला’ रहेछन् न ‘नेता’ जस्ता लाग्छन् ।
त्यो आमसभामा जानका लागि दुईवटा गाडीहरू इटहरीबाट विराटनगरतिर लागे । एउटा गाडी इटहरीभन्दा पूर्वबाट आएको । बिर्तामोड दमक हुँदै । अर्को कोसीभन्दा पश्चिमबाट । जनकपुर, सिरहा, सप्तरी हुँदै । यी दुइटा गाडी लगभग जोडिएका थिए ।
पूर्वबाट आएको गाडीको छतमा उभिएर नाच्ने हामी थियौँ (ट्राफिक नियमको पालना गरौं) ।
पश्चिमबाट आएको गाडीको छतमा बसेर गीत गाउनेहरू उनीहरू थिए । (ट्राफिक नियमको पालना गरौं ।)
हाम्रो छतका तुलनात्मक गोरो छाला भएकाहरूले अर्को छतका तुलनात्मक कालो छाला भएकाहरूलाई हेप्न थाले ।

हेपाइ एक
हाम्रो छतका केटाहरू बाँडीबाँडी चुरोट खाँदै त्यो अर्को छततिर धूवाँ फाल्न थाले (धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ) । उनीहरू केही बोलेनन् । गीत गाइरहे । हावाले पनि धूवाँ फाल्नेकै साथ दियो ।

हेपाइ दुई
यताको एउटाले आफ्नो हातको चुरोटको ठुटो तेता तेर्स्यायो । अनि चिच्यायो ‘ओइ धोती !’
यताको छत हाँसोले हल्लियो । यताकाले ताली पड्काए । गीत गाउँदागाउँदैको उताको छत एक्कासि मलामी बोकेर हिँडेको गाडीजस्तै भयो । त्यो देखेर यताको छत झन् हौसियो । कीर्तिपुरमा कुनै देशसँग नेपालले क्रिकेट खेलेको बेला दर्शकले ‘नेपाल ! नेपाल !!’ भनेजस्तै यो छतकाहरू ‘धोती ! धोति !!’ चिच्याउन थाले । सुरुमा जसले धोती भनेको थियो उसको सम्मानमा विशेष ताली बज्यो । छतमा उभिएर ऊ सबैलाई हँसाइरहेको थियो । ऊ ‘छते स्ट्यान्ड अप कमेडियन’ थियो । उसले मुखमा कालो मोसो दलेको
चाहिँ थिएन ।

हेपाइ तीन
यतिखेरचाहिँ यी दुई गाडीहरू यसरी रोकिएका थिए कि हाम्रो छतका दाहिनेपट्टि खुट्टा झुन्ड्याएर बसेकाहरूले उनीहरूका छतका देब्रेपट्टि खुट्टा झुन्ड्याएकाहरूलाई हातले छुन नै सक्थे । आमनेसामने । हेप्नेहरूले हेपिनेहरूलाई यति नजिकबाट पहिले कहिल्यै देखेका थिएनन् । नजिक हुँदैमा हेपाइ हराएन । नजिक हुँदैमा आफ्नो हुन्न । अब त झन् सबैले आफू अगाडि जो छ उसैलाई हेर्दै चिच्याउन थाले ।
हौसिएर मैले पनि भनेँ– ‘धोती !’
तर मैले बोलिसक्दा नसक्दै अर्को छतमा मेरै आँखाअगाडि मैले उसलाई देखें । उसका गालाको छाला कालो थियो । कम्मरको धोती सेतो थियो । निधारमास्तिरको कपाल कालो लामो थियो । निधारमुन्तिरका आँखा राता थिए, अजय देवगनका जस्ता । ती आँखाहरू मेरा आँखामा आँखा जुधाएर हेरिरहेका थिए । ती आँखाले मैले भर्खरै ‘धोती’ भनेर गिज्याएको सुनेका थिएँ । ऊ र म यति नजिक थियौँ कि उसले चाहँदा मेरा गाला सुम्सुम्याउन पनि सक्थ्यो वा मेरा आँखा थुतेर फ्याँकिदिन पनि सक्थ्यो । तर ऊ हल्लिएन । त्यतिखेरसम्ममा उसको छतका अरू सबैले टाउको अर्कोतिर फर्काइसकेका थिए । कि त सहन नसकेर कि त बुद्धिहीनलाई माफ गरिदिएर । ऊ एक्लो थियो जो सहिरहेथ्यो ।
अब ऊ एक्लो थियो जसलाई हेरेर सारा छत ‘धोती धोती’ भनिरहेथ्यो । ऊ भने नहल्लिईकन मेरा आँखामा हेरिरहेको थियो । उसको कपाल हल्लियो र उसको भाग्य लेखिएको निधार छोप्यो । उसका आँखा देखेर अलिअलि डराए पनि म उसका कपाल हल्लिँदा रोमाञ्चित भएँ किनकि मेरो कपाल पनि लामो नै थियो । मेरो कपाल पनि हल्लिन थालेको थियो ।
त्यतिखेर म एउटी केटीलाई मन पराउँथें । अत्ति मन पराउनुको मात्रै कारण नहुने हो, मन पराउनुको कारण हुन्छ । त्यो केटी मेरो कपाल खुब मन पराउँथी । उसैलाइ मन पर्छ भनेर म तोरीको तेल हालेर कपाल सिलिक्क बनाइरहन्थेँ । आफूलाई मन पर्ने मान्छेलाई मन पर्ने काम गर्न पाउनुजस्तो मन पर्ने कुरा अरू केही हुन्न । जबजब हावाले मेरो कपाल हल्लाउँथ्यो म जहाँ भए पनि उसले देखिरहेकी हुन्छेजस्तो लाग्थ्यो । जब आफूलाई मन पराउने मान्छेले आफूलाई जहाँ हुँदा पनि देख्छजस्तो लाग्न थाल्छ तब मान्छे जतिखेरै आफूलाई राम्रो बनाइराख्छ । त्यसैले त प्रेम सुरु भएसँगै मान्छेहरू अलिअलि शृंगार सुरु गर्छन् ।
त्यो छतमा ऊ पनि मैसँग मेरै छेउमा छेजस्तो लाग्यो । मेरो हल्लिरहेको कपाल छुन खोजिरहेकी छे जस्तै लाग्यो ।
तर म एक्कासि डरले हल्लिएँ किनकि मेरो आँखाअघिको त्यो मान्छेको कपाल हल्लिँदा म उसलाई मैजस्तो देख्न थालेँ । ऊ मलाई त्यसरी हेरिरहेको थियो, मानौँ ऊ ऐना हेरिरहेछ । म आत्तिइसकेको थिएँ । मैले सोचेँ कि ऊ जहाँबाट आएको हो, त्यहाँ उसकी पनि त मेरीजस्तै उसलाई मन पराउने केटी होली । त्यो केटी पनि त उसको कपाल खुब मन पराउँछे होली । उसैलाई मन पर्छ भनेर ऊ पनि त तोरीको तेल हालेर कपाल सिलिक्क बनाइरहन्छ होला । जबजब हावाले उसको कपाल हल्लाउँछ, तब ऊ जहाँ भए पनि उसलाई पनि उसकीले देखिरहेकी हुन्छेजस्तो लाग्छ होला । त्यो छतमा उसलाई पनि उसकी केटी ऊसँग उसकै छेउमा छेजस्तो लाग्यो होला । उसको हल्लिरहेको कपाल छुन खोजिरहेकी छेजस्तै लाग्यो होला ।
हे भगवान् उसले मन पराएकी केटी यदि यही छतमा छे भने त यो सारा छतले उसलाई यत्रोबेरदेखि ‘धोती इन्डियन !’ भनेर गिज्याइरहेको पनि त देखिरहेकी होली । आफ्नीले यो सब देखेको देखेर उसलाई कति पोल्यो होला ?
बल्ल बुझेँ ऊ मलाई ऐनामा हेरेजसरी किन हेरिरहेथ्यो ।
यति सोच्नेबित्तिकै पछुतोले भतभती पोल्न थाल्यो । त्यतिखेर माफी माग्ने आँट पनि आएन ।
तर, आज आँट छ ।
मैजस्तो देखिने मेरो साथी !
त्यो दिनदेखि आजसम्म म तिमीसँग माफी माग्न नसकेको पछुतो बोकेर बूढो भइरहेको छु । पछुतोले झन् छिटो बूढो बनाउँदो रैछ, यार । त्यतिखेर थाहा नपाएर गल्ती गरेँ । आज थाहा पाएर माफी माग्दै छु । माफी देऊ यार । गल्तीले पोलेर माफी माग्नेलाई सजाय हैन माफी दिनुपर्छ ।
टोपी क्या नै सुन्दर छ ! हाकुपटासी क्या नै सुन्दर छ ! दौरा–सुरुवाल, बख्खु, सुट–पाइन्ट सबै आफ्नो ठाउँमा खुब सुन्दर छन् । तर,
भत्भती पोल्ने गर्मीमा पोखरीको पानीमा दौरा–सुरुवाल लगाएर को पस्न सक्छ हँ ?
भत्भती पोल्ने गर्मीमा पोखरीको पानीमा बख्खु लगाएर को पस्न सक्छ हँ ?
भत्भती पोल्ने गर्मीमा पोखरीको पानीमा सुट–पाइन्ट लगाएर को पस्न सक्छ हँ ?
भत्भती पोल्ने गर्मीमा पोखरीको पानीमा ... लगाएर को पस्न सक्छ हँ ?
साथी अब मिलेर बुझाउनुपर्छ :
भत्भती पोल्ने गर्मीमा पोखरीको पानीमा वास्तवमा के लगाएर पस्नुपर्छ !

केही वर्षअघि एक दिन तिमीलाई फेरि खुब सम्झेथेँ । कीर्तिपुरमा मास्टर्स डिग्री पढ्दा मैले अशोककुमार यादव भन्ने भाइलाई भेटेँ । ऊसँग आफ्नो कोठाभाडा तिर्ने पैसासमेत पुर्‍याउन धौधौ हुन्थ्यो तर त्रिभुवन विश्वविद्यालयमा कसैलाई साह्रो गाह्रो पर्‍यो भने, अर्काको मोटरसाइकल मागेर आफ्नो गोजीबाट पैसाले तेल हालेर त्यो अप्ठ्यारोमा परेको मान्छेलाई उद्धार गर्थ्यो । उसको जति उज्याला आँखा मैले कसैको देखेको थिइनँ । मेरा लागि मधेसी भनेको अशोककुमार यादव थियो । तिमी ऐले अशोकजस्तै भयौ होलाजस्तो लागिरह्यो ।

केही वर्षअघि एक दिन तिमीलाई फेरि खुब सम्झेथेँ । नयाँ बुट्टे मफलर लगाएर अफिस गएको थिएँ । कपाल अजय देवगनको जस्तो कोरेको थिएँ । कसैले मफलरको तारिफ गर्ला भन्ने आसले मख्ख पर्दै अफिस पुगें । तर अफिसको एक उच्च पदको मान्छेले मेरो मन चुँडिने गरी भन्नुभयो—
‘छ्या ! तपाईंलाई त मदिसेजस्तै देखियो !’
‘छ्या तपाईंलाई सुहाएन’ भनेको भए ठीक थियो ।
‘छ्या मलाई मन परेन’ भनेको भए पनि ठीकै थियो ।
तर, उहाँले भन्नुभयो– ‘छ्या तपाईंलाई त मदिसेजस्तै
देखियो !’
साथी, मैले उहाँको आँखामा ऐनामा हेरेजसरी हेरेँ । तिमीलाई सम्झिएँ । अशोक भाइलाई सम्झिएँ । र, घरमा पुगेर लेखेँ—

सेल्फी

मेरो देशले किनेका सबै क्यामेराहरु मेरो हिमालतिर फर्किए  ।

अनि,
‘स्याम्पु’ को सेतो फिँजले लपक्क भएको चिसो कपाललाई
देब्रे हातले मिलाउँदै
हिमाल मुस्कुरायो ।

खिचिक् !

मेरो देशले किनेका सबै क्यामेराहरु
मेरो पहाडतिर फर्किए ।

अनि,
हरियो ‘सिल्की’ कपाललाई
बीचमा सिउँदो काटेर दुईतिर फर्काउँदै
पहाड मुस्कुरायो ।

खिचिक् !

खै कुन्नि किन हो
मेरो देशले किनेको कुनै पनि क्यामेरा
फर्किएन मेरो तराईतिर ।

सायद त्यसैले होला
अँध्यारो अनुहार लगाएर
तराई सधैं ठुस्किरहृयो ।

आजभोलि म
एउटा गज्जबको खबर सुन्दै छु–
मेरो तराईले
सेल्फी खिच्न सिकिसकेछ !

प्रकाशित : असार १४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?