१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेयमर नाम–बदनाम

ब्राजिली फुटबलर नेयमरलाई लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको दाँजोमा पुग्ने अनुमान गरिएको थियो । तर, अचेल नेयमरको खेलभन्दा काण्डैकाण्डको चर्चा बढी हुन थालेको छ ।
राजु घिसिङ

ब्राजिली क्लब सान्तोसबाट प्रभावशाली प्रदर्शन गरिरहेका ठिटो नेयमरलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबहरूबीच खुबै होड चलेको थियो  । सन् २०१३ मेको त्यो प्रतिस्पर्धामा बाजी मारेको थियो बार्सिलोनाले  ।

नेयमर नाम–बदनाम

उनका लागि क्याटलन क्लबले ५ करोड ७१ लाख युरो तिरेको थियो । स्पेनी ला लिगामा बार्सिलोनाको चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडले ६ करोड बढी तिर्ने प्रस्ताव गरे पनि नेयमरले क्याम्प नु रोजे । त्यसको मुख्य कारण थिए— लियोनल मेसी । किनभने नेयमर मेसीलाई आदर्श मान्थे र उनीसँगै खेल्न चाहन्थे, जुन उनको सपना थियो । पाँचवर्षे सम्झौता भएपछि उनले भनेका थिए, ‘व्यावसायिक खेलाडीको सपना बार्सिलोनामा पूरा गर्नेछु ।’


बार्सिलोनामा उनको आगमनपछि स्पेनी गोल मेसिन डेबिड भिया (पहिले नै क्लब छाड्ने घोषणा गरेका) अमेरिका लागे । चिलीका एलेक्सिस सान्चेजले इंग्ल्यान्डलाई गन्तव्य बनाए । स्पेनी पेड्रो र क्रिस्टियन टेलो संकटमा परे । फरवार्ड, विंगर र आक्रमक मिडफिल्डरको भूमिकामा मजाले खेल्न सक्ने नेयमर र मेसीको जोडी जम्न थाल्यो । उरुग्वेली फरवार्ड लुइस स्वारेज पनि २०१४ मा बार्सिलोना पुगे । त्यसपछि त मेसी, स्वारेज र नेयमरको अग्रपंक्ति विश्व फुटबलकै सबभन्दा उत्कृष्ट बन्यो । यी तीनलाई ‘एमएसएन’ पनि भनिन्छ । एमएसएनले पहिलो सिजन २०१४–१५ मा १२२ गोल गर्दै बार्सिलोनालाई ऐतिहासिक रूपमा ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि दिलाए । त्यसमा सुधार गर्दै २०१५–१६ मा १३१ गोल गरेर लिग, कोपा डेल रे, क्लब विश्वकप र यूईएफए सुपरकप जिताए । यो अग्रपंक्तिले २०१६–१७ मा १११ गोल गरे र यो सिजन बार्सिलोनाले कोपा डेल रे मात्रै जित्यो ।


एमएसएनको आक्रामक खेलले विश्व फुटबलमा तहल्का मच्चाइरहेको बेला नेयमरले बार्सिलोना छाड्ने समाचार आए । सुरुमा यो समाचार हल्लाजस्तै थियो, फैलियो । बार्सिलोनामा नेयमरकै सहकर्मीहरूले पनि त्यसलाई हल्ला नै माने । केही दिनमै यो सत्य सावित भयो । नेयमर कीर्तिमानी २२ करोड २० लाख युरोमा कतारी स्वामित्वको फ्रान्सेली क्लब पीएसजी (पेरिस सेन्ट जर्मेन) मा सन् २०१७ मा अनुबन्धित भए । वास्तवमा उनको त्यो स्थानान्तरण आश्चर्य नै थियो । किनभने विश्व फुटबलमा फ्रान्सेली लिग वानलाई शीर्ष प्रतियोगिता मानिदैन । इंग्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा, जर्मन बुन्डेस लिगा र इटालीको सिरि ‘ए’ पछि मात्रै फ्रान्सको लिग वानलाई हेरिन्छ । नेयमरले बार्सिलोना छाड्न चाहे उनलाई अनुबन्ध गर्न इंग्ल्यान्डलगायत अरू ठूला लिगका धनाढ्य क्लबहरूबीच प्रतिस्पर्धा चल्ने अवस्था थियो ।

नेयमरको पेरिस सर्ने सम्झौता बार्सिलोनाका लागि भूकम्पजस्तै भयो । विशेषतः उनको व्यवहारलाई लिएर बार्सिलोनाका पदाधिकारी र समर्थकले चित्त दुखाए । नेयमरले क्लब छाड्ने जानकारी पहिल्यै गराएको भए बार्सिलोनाले त्यहीअनुसार तयारी गर्ने अवसर पाउँथ्यो, जुन भएन । त्यसैले बार्साले फिलिप काउटिन्होलाई १२ करोड र ओसमान डेम्बेलेलाई १० करोड ५० लाख युरो लगानी गर्नुपर्‍यो, जुन फुटबल बजारअनुसार अत्यधिक मूल्य हो । यी दुवैले बार्सामा नेयमरको स्थान लिए पनि त्यसअनुसारको स्तर देखाउन सकेका छैनन् । नेयमर पेरिसतर्फ लागेयता बार्सा युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि पुगेको छैन । उसले अग्रपंक्तिमा मेसी र स्वारेजमा निर्भर हुनुपरेको छ । ३२ वर्षीय मेसीको उत्तराधिकारी पनि पाएको छैन । नेयमरले स्पेन छाड्नु ला लिगाका लागि पनि घाटा थियो । कारण त्यसबेला मेसी र क्रिस्टियनो रोनाल्डोपछिका स्टार खेलाडी नेयमर नै थिए । गत वर्षमात्रै रोनाल्डोले रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस् रोजे । त्यसअघि म्याड्रिडमा छँदा रोनाल्डो र बार्साका मेसीको प्रतिस्पर्धाले स्पेनी लिगलाई रोमाञ्चक बनाउने गरेको थियो । नेयमर स्टार खेलाडी हुन् । तर उनी मेसी र रोनाल्डोको दाँजोमा उभिएका थिएनन्, छैनन् पनि । त्यसैले
‘एक–क्लासिको’ मा सधैं चर्चा मेसी र रोनाल्डोकै हुन्थ्यो ।


खेल र चर्चाको हिसाबले बार्सामा मेसीको छायामा परेका थिए, नेयमर । त्यो छायाबाट उम्किँदै सुपरस्टार बन्नका लागि उनले बार्सा छाडेका थिए । उनको पीएसजी रोजाइ सही निर्णय थिएन । पीएसजीले च्याम्पियन्स लिग जित्नका लागि नेयमरलाई आबद्ध गरेको थिए । तर, पीएसजी अन्तिम आठमै रोकिँदै आएको छ । कतार स्पोर्ट्स इन्भेस्टमेन्टले सन् २०११ मा स्वामित्द खरिद गरेयता पीएसजी स्टार खेलाडीले भरिएको क्लब बनेको छ । त्यसयता नै घरेलु लिग र कपमा पीएसजीले राज गरिरहेको छ ।
पेरिस पुगेयता नेयमरलाई चोटले पनि सतायो । पीएसजीको अग्रपंक्तिमा किलियन एम्बाप्पे र एडिन्सन कभानीको प्रभाव उनको भन्दा कम छैन । त्यसैले हुन सक्छ, नेयमरले बार्सिलोना फर्कन चाहेका छन् । पीएसजीका अध्यक्ष नासेर अल–खेलाफीले स्टार होइन, टिमको कार्यक्रमप्रति बफादार खेलाडीलाई मात्रै क्लबमा बस्न भनेका छन् । अझै तीन वर्ष सम्झौता बाँकी रहेका नेयमरले पीसजीमा वार्षिक ३ करोड ६० लाख युरो तलब पाउँछन् । उनी बार्सा फर्किनका लागि १ करोड २० लाख युरो तलब घटाउन र पीएसजी सर्दा क्याटलन क्लबविरुद्ध २ करोड ६० लाख युरोको अदालतमा चलेको मुद्दा फिर्ता लिन सहमत भएको खबर केही दिनयता भइरल भएको छ । यसलाई नेयमर, बार्सा, पीएसजी कसैले पनि सार्वजनिक रूपमा केही भनेका छैनन् ।


नेयमरले बार्सिलोनालाई घर पनि भन्ने गरेका छन् । र, उनले घर फर्किन चाहेको र फर्किन लागेको बार्साका साथीहरूलाई म्यासेजमा भनेको समाचार पनि आइरहेको छ । उनी कुशल फुटबलर हुन् नै । सँगै बजार प्रवर्द्धनका लागि प्रभावशाली व्यक्ति पनि । त्यसैले उनले चाहे पनि पेरिसबाट बार्सिलोना फर्कने बाटो सहज छैन । असम्भव भने होइन । बार्सिलोनाका अध्यक्ष जोसेफ मारियो बार्तोमेऊ आफैं पनि नेयमरलाई क्याम्प नु फर्काउन चाहन्छन् । आखिर उनी पनि बार्सालाई युरोपेली च्याम्पियन बनाउन चाहन्छन् र त्यसका लागि नेयमर उपयुक्त रोजाइ हुन सक्छन् । घर फर्कियो भने मात्रै नेयमरको पनि युरोपमा सफलता हात पार्ने र सुपरस्टार बन्ने चाहना पूरा हुन सक्छ ।
हुन त उनलाई बार्साबाहेक अरू ठूला क्लबहरू पनि अनबुन्ध गर्न चाहन्छन् । किशोर उमेरमै सनसनी मच्चाएका नेयमरले सान्तोसमा दक्षिण अमेरिकी च्याम्पियनसहित ६ उपाधि जितेका थिए । पीएसजीमा अनुबन्ध भएपछि नै नेयमरको खराब दिन सुरु भयो । दुईपल्ट चोट लागेपछि महिनौं मैदानबाहिरै रहे । उनी चोटमुक्त भएर लयमै फर्किएका थिए ब्राजिली टिममा । त्यसैले ब्राजिललाई विश्वकप २०१८ मा सबभन्दा बलियो टिमको रूपमा लिइएको थियो तर क्वाटरफाइनलबाटै बाहिरियो । रुसको मैदानमा नेयमरको खेलभन्दा बढी लडीबुडी गर्ने नाटक हिट भयो । मैत्रीपूर्ण खेलमा चोट लागेपछि उनले अहिले ब्राजिलमै भइरहेको कोपा अमेरिका खेल्ने अवसर पनि गुमाए ।


गत सिजन च्याम्पियन्स लिगमा अफिसियललाई दुर्व्यवहार गरेपछि तीन खेलमा निलम्बनमा परे । उनले फ्रान्समा लिग कपको फाइनल हारेपछि दर्शकलाई मुक्का प्रहार गरे । पेरिसमा बलात्कार गरेको आरोपमा मुद्दा पनि पर्‍यो । त्यसमा उनलाई केटीले थप्पड हानेको भिडियो भाइरल नै भयो । विवादित भएपछि उनलाई केही ठूला व्यावसायिक कम्पनीले पनि छाडेका छन् । बलात्कार गरेको प्रमाणित भएमा उनको करिअर र कमाइ दुवै चौपट हुन सक्छ । नेयमर पीएसजी पुगेयता राम्रोभन्दा पनि बढी गलत कार्यले चर्चामा आइरहेका छन् । त्यसैले पनि उनी घर (बार्सिलोना) फर्कन चाहेको हुन सक्छ ।

प्रकाशित : असार १४, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?