१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीनमा योग खोज्दा

लक्ष्मी लम्साल

सन् २०१२ को मार्चमा बेइजिङ उत्रिनेबित्तिकै योग शिविरको खोजीमा भौतारिन थालें  । मेरा लागि योग एउटा नशाजस्तै बनिसकेको थियो  ।

चीनमा योग खोज्दा

काठमाडौं सिंहदरबारको पूर्वपट्टि अनामनगरको बासिन्दा छँदा करिब ३–४ वर्षदेखि योग शिविर धाउने आदत बसिसकेको थियो । बेइजिङमा पनि उही योगको तलतल लाग्न थालेपछि मैले सहकर्मीलाई गुहार्न थालें ।


सचिङ्सान जिल्लाको पापाओसान भन्ने ठाउँमा हौसा नाम गरेको एउटा फिटनेस सेन्टरमा मैले पहिलो पटक चिनियाँ योग अनुभव गर्न पाएँ । यम, नियम, आसन, प्रणायाम, लामो लामो श्वासप्रश्वास, आँखा चिम्लने, अन्तर्मनमा हराउने, ओम् उच्चारण गर्ने इत्यादि योगका तत्त्वहरूको प्रतीक्षा गर्दागर्दै शिविर सकियो । उति उत्साहित हुन सकिनँ र मनमनै सोचें, ‘कुनै दिन मैले यिनीहरूलाई वास्तविक आध्यात्मिक योग सिकाइदिनेछु ।’


युवावस्थामा मेरो अन्तर्मनको तिर्खा नै योग, ध्यान, ब्रह्मचर्य थियो । यी कुराहरू तेर्स्याउँदै मैले वैवाहिक जीवनबाट उन्मुक्ति खोजिरहेको हुन्थें । पारिवारिक रूपमा विवाहका लागि दबाब दिनेहरूको मुखमा बुजो लगाउन यही एउटा बाटो बाँकी थियो । परदेश हुँदा पनि योगसम्बन्धी सामग्रीहरू, संस्कृत मन्त्रहरू इन्टरनेटबाट सर्च गरी गरी घोक्नु, जीवनसूत्र, प्रवचनकला इत्यादि सिक्दै जाने बानी परेको थियो । घरपरिवारले चाहिँ एक न एक दिन मैले पाणीग्रहण गर्ने सोचिरहेको थियो । मैले परिहासका लागि ब्रह्मचर्यको कुरा उठाएको थिइनँ । मैले आश्रम किनेको प्रमाण पनि पेस गर्थें । ‘जतिसुकै जोगी बने पनि यो स्वार्थी दुनियाँमा आफ्ना लागि हेरिदिने मान्छे कोही न कोही अवश्य चाहिन्छ । त्यो आफ्नै जीवनसाथीबाहेक अरू कोही हुन सक्दैन,’ सामुदायिक रेडियो प्रसारक संघमा कार्यरत मेरा पूर्वसहकर्मी दीपक आचार्यको भनाइले कता–कता छोयो । आखिर विवाह गरे पनि ब्रह्मचर्य त अपनाउन सकिने भन्ने सुनें । योगले मात्रै ब्रह्मचारी होइन्न कि भन्ने अर्धज्ञानले मेरो मथिंगल झन् झन् रन्थनिन थाल्यो ।


म योगध्यान प्रवचनमार्फत प्रवचक र प्रव्रजक हुने ध्याउन्नमा थिएँ । योगलाई मानव धर्मको रूपमा लिइने भएकाले भारत, नेपालमा यस्ता शिविरहरू निःशुल्क हुन्थे । बेइजिङमा त शुल्क तिर्नुपर्ने र भनेजस्तो योगको स्वाद नपाएपछि मैले दोहोर्‍याएर उही योगकेन्द्र जाने बाटो बन्द भयो ।

कालान्तरमा एक जना चिनियाँ महिलासँग परिचय भयो । उनी बेइजिङमा घर भएकी, छोरो जापानमा अध्ययनरत र श्रीमान् डिभोर्स दिएर अर्कै प्रान्त बसेका रहेछन् । ती अन्टीले मलाई छोरा भन्न थालेपछि आत्मीयता बढाउन गाह्रो भएन । मात्रै भाषाको जटिलता रह्यो । मैले कनीकुथी केही चिनियाँ शब्द सिक्न थालें । जीवनप्रतिको सादगीका कारण ती अन्टीले मप्रति धेरै हेरचाहको भावना राख्दै ध्यानस्थलको खोजी गरिदिइन् । उनले पनि कसैका मुखबाट सुनेको एउटा नामी युआन नामक गुरुकोमा लगिन् । गुरुसँग परामर्श गर्नका लागि गएका थियौं । आफ्नो कुर्सीको अघिल्तिर बसालेर झन्डै आधा घण्टाको पट्यारलाग्दो एकोहोरो भाषण दिएपछि मैले अन्टीलाई भनें, ‘अब फर्किने होइन ?’


मैले बल्लतल्ल बोलेको यति मान्डारिनले उनलाई ठूलो राहत मिल्यो । जुरुक्क उठिन् र गुरुसँग बिदा मागिन् । ती गुरु लिफ्टसम्म पुर्‍याउन आए । तल पुगेपछि अन्टीले हल्का महसुस गर्दै भनिन्, ‘गुरु त गुरु, कति पतरपतर बोल्न सकेको ? धन्न तिमीले जाने हतारो देखाएर ठीक गर्‍यौं ।’


कुनै महापुरुषको संगतका लागि भौतारिरहेका हाम्रा लागि यस्ता गफाडी गुरु साक्षात्कार भए । त्यहाँबाट उछिट्टिएर हामी कताकता एउटा ध्यान केन्द्रमा पुग्यौं । बल्ल चिनियाँ योगध्यानको भोक मेटिने गन्तव्यमा पुगेजस्तै भयो ।
साँघुरो हलजस्तो एउटा कोठाका वरिपरि चकटी र अघिल्तिर होचा होचा टेबुलमा हरियो चियाका कपहरू थिए । लहरै बसेका मानिसहरू शान्त भावमा थिए । हल्ला वा चर्को आवाज नगरीकन, शिष्टताका साथ बसिरहेका थिए । उसैगरी बस्दै हामीले पनि ध्यानको भाव मनमा राख्यौं । गुरुजीले के के हो के के भनिरहे । फेरि आँखा चिम्लिने, फेरि अनुभव सुनाउने, फेरि आँखा चिम्लिने गर्दागर्दै कक्षा सकियो । ढिलो पुगेकाले हाम्रा लागि खासै पर्याप्त भएन यो ध्यान ।


सीसीटीभीमा काम गर्ने एक जना पत्रकारसँगै अर्को एक युवा पनि अन्टीको गाडी चढेर हामी गएतर्फ जाने भए । दुई जना ध्यानार्थीसँग मित्रता भयो । टाढा भएकाले उनीहरू पनि प्रायः जान नसक्ने रहेछन् । अन्टी मेरो क्षेत्रदेखि केही टाढा बस्ने र प्रायः बुद्धिज्मसम्बन्धी सामाजिक कार्यका लागि प्रान्त प्रान्त दौडिरहने भएकाले भेटघाट पातलो हुन्थ्यो । मेरो अफिसको समय त्यति खुकुलो हुन्नथ्यो । एक दिन पत्रकार वाङ साइकल चढेर मेरो अपार्टमेन्टमा आइपुगिन् । योग ध्यानका कुरा गरिन् । तिनी पनि अर्को ठाउँमा कोठा सर्ने भएकाले यो मित्रता झन् टाढिने भयो । अर्को ध्यानार्थी चाहिं वीच्याटमा कहिलेकाहीं गफिन्थे तर प्रायशः उस्तै प्रश्न गर्थे, ‘नि सिह्वान नान रन् मा ?’ अर्थात् के तिमी केटा मान्छे मन पराउँछौ ?

चीनमा क्यू क्यू सामाजिक सञ्जालपछि टेन्सेन्टले वीच्याटको विकास गरेको थियो । यस्सो हल्लाउँदा पनि वरिपरि केही किलोमिटरका मान्छेहरूसँग वीच्याट जोड्न सकिन्थ्यो । यसैगरी एक जना योगप्रेमी जोडिइन् जो मेरो अपार्टमेन्टको नजिकै आइन् । भारतीय योगबारे जिज्ञासा राखिन् । भारतीय योगअनुसार हरेक पुरुषले स्त्रीप्रति आमा वा दिदीबहिनीको भावना राख्नुपर्ने हुन्छ । त्यसैले हरेक योगी त परिवारकै सदस्य नै हुने मैले बताएँ । उनले सँगै योग गरेर भारतीय योगशैलीबारे जानकारी लिने इच्छा राखिन् । तर त्यो दिन कहिले भनेर यकिन थिएन । केही समयपछि उनले बेइजिङ छोडेर अर्को प्रान्त गएको र योग केन्द्र खोलेर कक्षा चलाइरहेको फोटोहरू वीच्याटमा देखियो ।


उनले भनिन्, ‘त्यति नजिक भएर पनि सँगै योग गर्न नपाएकोमा दुःख लाग्यो । तर म परम्परागत परिवारकी केटी हुँ । कुनै केटाले कोठामा बोलाउँदा कसरी आउन सक्थें र ?’ एवं रीतले मेरा योगसम्बन्धी सञ्जालहरू धमाधम तोडिँदै गए । चाइना रेडियो इन्टरनेसनल (सीआरआई) ले व्यवस्थापन गरेको एउटा योग कक्षा साप्ताहिक रूपमा २ दिन चल्थ्यो । गुरुआमाहरू कडा शारीरिक श्रम गराउँथे । बेलाबेलामा संस्कृत मन्त्रसहित कक्षा थाल्ने र नमस्ते भनेर कक्षा समापन गर्ने कलाले मलाई आकर्षित गर्थ्यो ।


गुरुआमासँगै वीच्याट संवाद बढाउनुको आशयचाहिँ तिनले ध्यान, प्राणायाममा चासो दिन्थिन् कि भनेर हो । उनले शरीरै भाँचिने गरी गराएको व्यायामले मेरो आध्यात्मिक योगको प्यास मेटिरहेको थिएन । मैले नेपालबाट झिकाएका योगसम्बन्धी किताबहरू देखाएँ । उनले चित्र हेर्नेबाहेक अक्षर चिन्न सक्दिन थिइन्, मैले अनुवाद गर्न सक्दिन थिएँ । एक दिन उनी मेरो निम्तो स्विकार्दै कोठासम्म आइन् । समयभावका कारण सह‘योग’ चाहिं हुन सकेन । तर अर्को दिन पनि फर्किएर आइनन् । मसँग एकचोटि कक्षा लिएको भए उनलाई ध्यानप्राणायामको बारेमा जानकारी हुन्थ्यो र योग कक्षा अर्थपूर्ण हुन्थ्यो । दुई जना गुरुआमा आलोपालो गरेर कक्षा लिन आउँथे । बिस्तारै मैले साथी बनाइसकेकी ती गुरुआमा कक्षामा आउन छोडिन् । केही समयपछि योगीहरूको ‘ग्रुप वीच्याट’ मा उनको म्यासेज देखियो । ‘अबदेखि म तपाईंहरूलाई कक्षा दिन आउँदिन, त्यसैले यस ग्रुपबाट आफूलाई रिमुभ (हटाएँ) गरें ।’



सन् २०१७ को जुन २१ तारिख, पेकिङ विश्वविद्यालयसँग मिलेर चीनस्थित भारतीय दूतावासले योग शिविरको भव्य कार्यक्रम गर्‍यो । पहिलो पटक चिनियाँहरू यति धेरै संख्यामा योग गरिरहेको देख्न पाइयो । उनीहरूले अलि अलि प्राचीन भारतीय योगबारे जानकारी पाए होलान् । तर अधिकांशले निःशुल्क बाँडिएको म्याट हत्याउनेमै ध्यान दिइरहेको प्रस्टिन्थ्यो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा, नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा संयुक्त राष्ट्रसंघले जुन २१ तारिखलाई विश्व योग दिवसको रूपमा निश्चित भएको थियो । चीनस्थित भारतीय संघसंस्थाहरू अझै पनि निकै उत्साहका साथ योगका गतिविधि गरिरहेका हुन्छन् ।


योगकला कताकति फेसन बन्दै छ । बेलाबेलामा सञ्चारमाध्यममा भाइरल भएका केही तस्बिरहरू देख्दा अध्यात्मभन्दा फेसन बढी प्रतीत हुन्छ । योग वा अन्य कुनै बहानामा शारीरिक व्यायाम हुनु त राम्रै हो । त्यसो त चिनियाँहरूले मौलिक ‘थाइची’ लाई नै आध्यात्मिक र योगकै उपमा दिन्छन् । चिनियाँहरूले योग गर्दा मानसिकभन्दा शारीरिक लचकतालाई धेरै ध्यान दिने झल्किन्छ । सन् २०१५ मा चीनको भ्रमण गर्न आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई योगमय बनाइदिए । अहिले चीनमा योग सिकेकाहरू वा योगका गतिविधिमा संलग्नहरूको एकचोटि पुग्नैपर्ने गन्तव्यको रूपमा भारत हुन थालेको छ ।
अहिले चिनियाँ थाइची र भारतीय योगलाई एकीकृत गर्न खोजिँदै छ । शाकाहार र योग अध्यात्मको पाटोमा पनि उनीहरू रुचि राख्दै छन् । धेरै भारतीयहरू चीनमा योग प्रशिक्षकका रूपमा रोजगार छन् । सन् २०१८ मा युननान जातीय विश्वविद्यालयमा चाइना–इन्डिया थाइची कलेज स्थापना गरिएपछि योग र थाइची अभ्यास फराकिलो हुँदै गएको छ ।


सन् २०१५ को मध्यमेतिर बेइजिङको टेम्पल अफ हेभनमा थाइची योग कक्षा सञ्चालन हुँदा भारतीय प्रधानमन्त्री मोदी सहभागी भए । कुल ४०० भन्दा बढी अभ्यासीका साथ मोदीले चिनियाँ समकक्षी ली खछ्याङका अघिल्तिर योगकला देखाए । धेरै मानिसले जीवनमा पहिलो पटक यस्तो दृश्य देखे ।
[email protected]

प्रकाशित : असार ७, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?