किन गर्ने योग ?

दीपक भेटवाल

हामी बाँचेको युग तनाव उत्पादन गर्ने विशाल कारखानाजस्तै बनेको छ  । तनावले तपाईंको स्वास्थ्य, सिर्जनशीलता, आत्मविश्वास तथा व्यक्तिगत सम्बन्ध सबैलाई ध्वस्त पार्छ  ।

तनावले तपाईंको सम्पर्ण जीवनलाई खान थाल्छ । मानिसहरू यति धेरै तनावग्रस्त कहिल्यै थिएनन् । यतिबेला संसारभरका मानिसहरूको क्याराभान तनावको चुचुरोतिर लम्किरहेको जस्तो भान हुन्छ । तनावकै कारण आज संसारभर एक अर्बभन्दा बढी मानिस उच्च रक्तचापबाट पीडित छन् । चालीस करोडभन्दा बढी मानिस मधुमेहपीडित छन् । थाइराइड, युरिक एसिड, मुटुरोग, पाचन प्रणालीसम्बन्धी कम्तीमा एउटा रोगले पीडित नभएको घर फेला पार्नै मुस्किल छ ।


योग विज्ञानले यी सबै रोगको मूल कारण तनावलाई मान्छ । योग अभ्यासलाई तनाव व्यवस्थापनको सबैभन्दा उत्तम र वैज्ञानिक मार्ग मानिएको पनि छ । मानिसको खप्परभित्र दायाँ र बायाँ गरी दुई मस्तिष्क हुन्छन् । यी दुवैको काम फरक–फरक हुन्छ तर दुवैको उत्तिकै महत्त्व हुन्छ । बायाँ मस्तिष्कले, तर्क, गणित, विचार–विश्लेषण आदिको काम गर्छ । दायाँ मस्तिष्कले प्रेम, भावाना, करुणा आदिको काम गर्छ । यी दुवै मस्तिष्कले सन्तुलित ढंगले काम गरिरहँदा मात्र हाम्रो जीवनको सन्तुलन रहन्छ । हामी बाँचेको समय बेइमान छ । यसले हरपल देब्रे मस्तिष्कलाई अत्यधिक सक्रिय र दाहिने मस्तिष्कलाई अत्यधिक निष्क्रिय बनाइराख्छ । यी दुईमध्ये एउटा निकै बढी र अर्को कम सक्रिय हुन थालेपछि मस्तिष्कको सन्तुलन बिग्रन थाल्छ ।


एक्काइसौं शताब्दीको दैलो उघार्नेबित्तिकै मानव समाज सूचना प्रविधिको घनघोर जंगलभित्र प्रवेश गर्न थाल्यो । प्रविधि तथा सामाजिक सञ्जालमा मानिसको पहुँच यति सस्तो हुन थाल्यो जसले मानिसलाई सूचनाको पहुँच निकै सहज, द्रुत बनाइदियो । हजारौं कोस पर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले सीएनएनका पत्रकारलाई झपारेको खबर पाँच मिनेटभित्र तपाईंको मोबाइलको पर्दामा ध्वनिसहित आइपुग्छ । इथियोपियामा भएको जाहाज दुर्घटनाको ब्रेकिक न्युजको भिडियो एक निमेषमा भाइरल भएर मानिसको हातहातै पुग्न थाल्छ । साउदी काम गर्न गएको नेपाली कामदारको मृत्युदण्ड, नरेन्द्र मोदीले गरेको चुनावी गुफाको तपस्या, निर्मला हत्याकाण्ड, काठमाडौंको सडकमा मान्छेको सिकार गर्दै कुद्ने टिपरको आतंक, केपी ओलीलाई खिस्याउन बनाएको कागजको पानीजहाज सबै सूचना तत्काल तपाईंको आँखाअगाडि चित्र मात्र होइन चलचित्रका रूपमा आइपुग्छन् ।


तपाईं अत्यधिक समय सूचनाको जंगलमा हराउनुहुन्छ भने तपाईंको बायाँ मस्तिष्क निरन्तर सक्रिय भइरहन्छ । किनकि प्रत्येक सूचनामा तपाईंको बायाँ मस्तिष्कले तर्क, विचार, विश्लेषण गर्न थाल्छ । यसले बायाँ मस्तिष्कलाई अत्यधिक सक्रिय बनाइराख्छ । हामी अधिकांश सयम बायाँ मस्तिष्क सक्रिय बनाउने धन्दामा आफूलाई घोटिरहेका हुन्छौं । मस्तिष्कको बायाँ भाग मात्र अत्यधिक सक्रिय भइरहनु भनेको तनावको कुण्डमा डुबिरहनु हो भन्ने बिर्सन्छौं । तनावको उत्पादनको गाँठी कुरा यहींबाट सुरु हुन्छ । हामीले दिनभरि ग्रहण गर्ने अधिकांश सूचना, समाचार नकारात्मक हुने गर्छन् । मस्तिष्कको पर्दामा प्रत्येक सेकेन्ड ठोक्किरहने बाईसथरीका नकारात्मक सूचनाले के फरक पार्छ ? तपाईं एक छिन सोच्नुस् त तपाईंको छिमेकमा बच्चा जन्मेको खबर सुन्दा वा सोही घरमा कोही मान्छे मरेको खबर सुन्दा तपाईंको मनमा उत्पन्न हुने भाव कति फरक हुन्छ ? तपाईंको मनको फरक भाव तपाईंको शरीरभित्र रहेका फरक हर्मोनहरूले पैदा गर्छन् । बच्चा जन्मेको खबर सुन्दा तपाईंको शरीरमा एकखाले हर्मोन उत्पन्न हुन्छ भने मान्छे मरेको खबर सुन्दा फरक । हरेकचोटि मस्तिष्कमा नकारात्मक सूचना ठोक्किँदा शरीरले नकारात्मक हर्मोन उत्पादन गर्छ, जसले बिस्तारै तपाईंकै स्वास्थ्यलाई खान थाल्छ ।


त्यति मात्र होइन, कुरा अर्को पनि छ ।
मानिसको आम मनोविज्ञानले अरूको कुभलो नचाहे पनि मभन्दा अरू राम्रो नहोस् भन्ने जब्बर चेतनाले भने थिचेर राखेको हुन्छ । मभन्दा राम्रो नहोस्, मभन्दा धनी नहोस्, मभन्दा असल नहोस् भन्ने मानिसको आम मनोवृत्ति हो । यो मनोवृत्तिले मानिसको चेतना हरेक पल नजानिदो किसिमले प्रतिस्पर्धाको घोडेदौडमा कुदिरहेको हुन्छ । यो प्रतिस्पर्धा एउटै उमेर समूह, विचार समूह, पेसा समूह वा एउटै समुदायका मानिसबीच झन् बढी हुन्छ । यो व्यक्तिवादी प्रतिस्पर्धा तपाईंको छिमेकी, नातेदार तथा साथीभाइसँग तपाईंभन्दा बढी हुन सक्छ । चरम व्यक्तिवादी प्रतिस्पर्धा तनावको ठूलो खानी हो । आजको युग फुसबुके युग पनि हो । मानिसहरू फेसबुक, ट्विटरमार्फत देश, समाज, राजनीति, छिमेकी, साथीभाइ, इष्टमित्र एकअर्कासँग जोडिएका हुन्छन् । यसले मान्छे मान्छेबीचको प्रतिस्पर्धालाई झन् सूक्ष्म र घनीभूत बनाइदिएको छ ।
प्रतिस्पर्धा मानव समाजमा भर्खरै जन्मिएको नयाँ चीज होइन, फेसबुके युगमा यो चरम व्यक्तिवादी, सूक्ष्म र घनीभूत हुँदै गएको मात्रै हो । सामाजिक सञ्जालमा तपाईंको छिमेकीले तपाईंको भन्दा ठूलो घर बनाएर वा तला थप्दै मुसुक्क हाँसेको फोटो पोस्ट गर्नुको अर्थ तपाईं बुझ्नुहुन्छ ? एक छिन अनुमान गर्नुस् त π त्यसको सीधा र एउटै अर्थ हुन्छ, मैले त बनाएँ तैँलेकहिले बनाउँछस् ?


छिनछिनमा मस्तिष्कमा ठोक्किरहने नकारात्मक सूचना, चरम व्यक्तिवादी प्रतिस्पर्धा, जीवन र सम्बन्धहरूलाई तर्क र गणितमा तौलने तुलोको निर्माणमा हामी जीवनको अधिकांश समय खर्चिरहेका हुन्छौं । यसको सीधा अर्थ हामी प्रत्येक क्षण हाम्रो जीवनमा तनावलाई आमन्त्रण गरिरहेका हुन्छौं । किनकि यी अवस्थामा तपाईंको देब्रे मस्तिष्क अत्यधिक चलायमान भइरहेको हुन्छ । चरम समाजिक बेथिति, देशको जर्जर राजनीति, विलासी र भोगवादी आदर्श, मानिसबीचको यान्त्रिक सम्बन्धले यसमा दनदनी बलिरहेको आगोमा घिउको जस्तै काम गरिरहेको हुन्छ । यसरी हामी प्रत्येक क्षण तनावको तावामा सेकिँदै गइरहेका छौ ।


अनि दायाँ मस्तिष्क नि ?
निःस्वार्थ भावले कसैको सेवा गरेको बेला, घरका नानीहरूसँग बालसुलभ बातचितमा भुलेको बेला, आफूलाई मन पर्ने सिनेमा हेरेको वा साहित्य पढ्दै गरेको बेला, प्रेमिकासँग प्रेमिल भावमा चुर्लुम्म डुबेको बेला, वृद्ध बाआमाको समीपमा बसेर बाल्यकालका आफ्ना चाखलाख्दा किस्सा सुनिरहेको बेला तपाईंको दायाँ मस्तिष्क सक्रिय हुन्छ । प्रतिस्पर्धाको दौडमा अभ्यस्त भइसकेको तपाईंको जीवनमा यी कुराका लागि समय नै कहाँ पुग्छ र ? समय यतातिर दिन थाल्नुभयो भने प्रतिस्पर्धाको घोडा छुटिसक्छ !


अब अनुमान गर्नुस्– दिनभरिी कति समय तपार्इंको बायाँ मस्तिष्क बढी सक्रिय हुन्छ ? र, कति समय दायाँ मस्तिष्क ? दुई मस्तिष्क सन्तुलनको तराजुको आकृति कस्तो बन्छ ?
नारायणगोपालको एउटा गीत छ– ‘यो हिसाब भुलेर मैले बेहिसाब मन पराएँ ।’ यो एउटा भावानात्मक अभिव्यक्ति हो । त्यसैले यो दायाँ मस्तिष्कको अभिव्यक्ति हो । के तपाईं कसैलाई बेहिसाब मन पराउन सक्नुहुन्छ ? मुस्किल छ । किनकि तपाईंको मस्तिष्क भावनामा होइन तर्क र गणितमा अभ्यस्त भइसकेको छ । तपाईं एउटा मस्तिष्कले मात्र
चल्न थाल्नुभएको छ । तपाईंको जीवन एकांकी भइसकेको छ !


योग अभ्यासले तपाईंको जीवनमा गुम्दै जान थालेको सन्तुलन फिर्ता ल्याउनु मद्दत गर्दछ ।
योग दर्शनले मानव शरीरमा ७२ हजारभन्दा बढी नाडीको परिकल्पना गरेको छ । यीमध्ये दुई मुख्य नाडी ईडा र पिंगला हुन् । हठयोग दर्शनअनुसार यी दुई मुख्य नाडीको सन्तुलन गर्नु नै योगको उद्देश्य हो । एउटा नाडीको सम्बन्ध दाहिने मस्तिष्कसँग हुन्छ, अर्को मस्तिष्कको देब्रेसँग । ईडा र पिंगला नाडीको सन्तुलन गर्नु भनेको दुई मस्तिष्कको सन्तुलन गर्नु भनेको हो । यी दुई मस्तिष्कको सन्तुलन गर्नु नै तनावरहित, स्वस्थ्य, सिर्जनशील, आत्मविश्वासी हुनु हो ।
योगका धेरै मार्गहरू छन् । अष्टांग योग, कुण्डलिनी योग, कर्मयोग, ज्ञानयोग, भक्तियोग र हठयोग । नेपाली समाजमा योग र पतञ्जली पर्यायवाची शब्दका रूपमा स्थापित भएका छन् । भारतीय बाबा रामदेवले
आफ्नो कर्पोरेट कम्पनी नै ऋषि पतञ्जलीको नाममा स्थापित गरेर हजारौंको संख्यामा चौरमा योग सिकाउँदै हिँडेपछि योग र पतञ्जली पर्यायवाचीजस्ता बन्न पुगे । ऋषि पतञ्जली अष्टांग योगका सूत्राधार हुन् । तर, आज आमरूपमा गरिने योग आसन पतञ्जलीको देन होइन । वाल्मीकि कलेजका योग दर्शनका प्राध्यापक महेश पराजुलीका अनुसार योग आसनमा पतञ्जलीको खासै योगदान छैन । आसनबारे पतञ्जलीले खासै केही भनेका छैनन्, विधि र लाभबारे पनि खास व्याख्या गरेका छैनन् ।


आज संसारभरका मान्छेहरूले गर्ने योगआसन हठयोग वा यसको परिस्कृत रूप हो । अरू योगका मार्गहरूमा आसनको खासै महत्त्व हुँदैन । योग अभ्यासमा आसनहरूको व्यापक प्रयोग र महत्त्व हठयोगले स्थापित गरेको हो । यसलाई विकास र परिष्कृत योगी गोरखनाथले गरेका हुन् । उसो त कतिपयले मात्र आसनलाई नै सम्पूर्ण योगका बुझ्ने गरेका छन् । आसनलाई मात्र योग ठान्नु रूखको एउटा पातलाई सिंगो रूख ठान्नुसरह हो । अझ सयौंको संख्यामा चौरमा भेला भएर उफ्रिनुलाई पनि योगको रूपमा बुझ्ने गरिएको छ । अबेरसम्म हाई काढेर ओछ्यानमा सुत्नुभन्दा, बिहान उठेर शारीरिक व्यायाम गर्नु आफैंमा राम्रो कुरा हो तर त्यो योग होइन ।
के उसो भए हात तन्काउने, खुट्टा बटार्ने, उफ्रिने, कम्मर मर्काउने विशुद्ध शारीरिक क्रियाकलाप योग होइन त ?
होइन । बिल्कुल होइन ।


उसो भए योग के हो त ?
योग एकाग्रता हो । अनुभूति हो, रूपान्तरण हो । योगको उद्देश्य जोड्नु हो । तपाईंले गरेको आसनको अभ्यास योग अभ्यास हुनका लागि तपार्इंको शरीर, मन र श्वासप्रश्वाससँगै जोडिएको हुनुपर्छ । तपाईंका शरीरको हरेक चाल र श्वासको लयको अनुभूति तपाईंको मनको गहिराइसम्म पुग्नुपर्छ । तपाईंको शरीर र मन दुवै वर्तमानमा स्थिर हुनुपर्छ । तपाईंको सम्पूर्ण ध्यान आत्मकेन्द्रित भएको हुनुपर्छ । तपाईंले गरेको हरेक अभ्यासमा तपाईंको आत्मस्वीकृति, आत्मअनुभव जोड्न पनि उत्तिकै जरुरी हुन्छ । विधिपूर्वक गरेको योग अभ्यासले बिस्तारै तपाईंभित्र आन्तरिक जागरणको मार्ग खोतल्न थाल्छ । आत्मजागरणको क्रमिक विकासले तपाईंलाई भावनात्मक रूपले रूपान्तरण गर्छ । यी सबै प्रक्रियाहरूमा तपार्इंको दाहिने मस्तिष्क सक्रिय हुँदै जान थाल्छ । दुवै मस्तिष्कको सन्तुलन व्यवस्थित हुँदै जान थाल्छ । र, तपाईंको तनाव कम हुन थाल्छ । अनि बल्ल तपाईंले स्थायी रूपमा तनावबाट मुक्ति पाउनुहुन्छ । शारीरिक र मानसिक स्वास्थ्य हासिल गर्न सक्नुहुन्छ । यी सबै चीज हासिल गर्नका लागि तपाईंले योगअभ्यास गर्ने स्थल, समय, योग अभ्यासप्रति तपाईंको विश्वास सबैको उत्तिकै महत्त्व हुन्छ । तपाईंको योग प्रशिक्षक योग विज्ञानको ज्ञान र अनुभवले खारिएको हुनु पनि महत्त्वपूर्ण हुन्छ ।


सबै मानिसहरूले एकै–एकैखाले योग आसन वा प्रणायमहरूको अभ्यास गर्नु पनि घातक हुन्छ । आसन र प्रणायमका विभिन्न समूहहरू छन् । फरक मानिसका लागि फरक समूहका आसन र प्रणायमहरू लभदायक हुन्छन् । स्वास्थ्य समस्या, उमेर, स्वभाव, मनोविज्ञानअनुसार फरक–फरक किसिमको समूहका योग अभ्यास गराउनुपर्छ । तपाईंको शरीरको आवश्यकता र अभ्यास बाझिएमा तपाईंलाई झन् गम्भीर समस्या आउन सक्छ । तसर्थ सबैखाले मानिसलाई एउटै समूहमा राखेर योग अभ्यास गराउनु हुँदैन । पेटसम्बन्धी रोग भएकाहरूका लागि एकखालको अभ्यास आवश्यक हुन्छ भने निद्रा नलाग्ने समस्या भएकाहरूका लागि अर्कै । मधुमेह, उच्च रक्तचाप भएकाहरूका लागि एकखाले आसन र प्रणायमको अभ्यास गराइन्छ भने डिप्रेसन भएकाहरूका लागि अर्कै खालको । योग अभ्यास निकै ठूलो समूहमा गरिने अभ्यास नै होइन ।


अलि अघिसम्म मानिसहरू सामान्य व्यायाम मात्र गरेर स्वस्थ रहन सक्थे । साँझ–बिहान हिँड्ने, एरोबिकको अभ्यास गर्ने, जुम्बा नाच्ने, जिमखानामा पसिना निकाल्ने आदि शारीरिक व्यायाम काफी हुन्थ्यो । जमाना बदलियो । अब शारीरिक व्यायामले मात्र तपाईंको स्वास्थ्यलाई भरिपूर्ण टेवा नदिन सक्छ । अझ उच्चरक्तचाप, तनाव, अनिद्राबाट पीडितहरूले शरीरका कोषहरू उत्तेजित गर्ने कुनै व्यायाम गर्नु भनेको काशी जानु कुतीको बाटो भनेजस्तै हो । उनीहरूले कोषको थकान मेटाउने, कोषमा ताजगी ल्याउने अभ्यास गर्नुपर्छ । जुन योग अभ्यास नै हो ।


तपाईंको जीवनका यावत् समस्याहरू तपाईंको गर्धनमा अडिएको खप्परभित्र छन् । तपार्इंले गरेका शारीरिक व्यायामले मूलतः टाउको तलको भागमा मात्र प्रभाव पार्छ । योग शरीरको मात्र होइन, शरीर र मन दुवैको अभ्यास हो । योग मात्र त्यस्तो अभ्यास हो जसले बाहिरी शरीरको टाउकोदेखि पैतालासम्म प्रभाव पार्ने मात्र होइन शरीरभित्र रहेको, भित्री शरीरमा पनि उत्तिकै प्रभाव पार्दछ । योग विज्ञानले हाम्रो शरीरभित्र पाँचवटा शरीर हुन्छ भनेर परिकल्पना गरेको छ ।


कुनै बेला हिन्दु धर्मसँग नजिकजस्तो देखिने योग अब कुनै धर्मको पेवा रहेन । योग अब अरब जगत्का इस्लाम समाजमा मात्र होइन, धर्म नै नमान्ने चिनियाँ समाजमा समेत उत्तिकै फैलिइसकेको छ । कलाकार, खेलाडी, कर्पोरेट मालिक, सीईओ, आदि पेसाकर्मीहरूले क्षमतालाई तिखार्नका लागि पनि योगअभ्यासको सहायता लिन थालेका छन् ।


योग दर्शन पूर्वीय समाजले संसारलाई दिएको सबभन्दा सुन्दर उपहार हो । अबका सयौं वर्ष मानिसहरूको जीवन योगदर्शनको मियोवरिपरि घुम्ने अनुमान छ । मानिस चाहेर वा नचाहेर, बुझेर वा नबुझेर आफ्नो जीवनलाई योगसँग जोड्न बाध्य हुनेछन् । अहिले नै मानिसले अब्बल विद्यार्थी बन्न योगाभ्यास गर्न थालेका छन् । प्रतिस्पर्धामा सबैलाई उछिन्न योग गर्न थालेका छन् । स्वस्थ्य रहन, आत्मविश्वासी बन्न, सफल व्यवसायी बन्न, धन कमाउन, प्रतिभा प्रस्फुटन गर्न, तनाव व्यवस्थापन गर्न, दैनिक जीवनका झमेलाहरूको व्यवस्थापन गर्न, सम्बन्धहरूलाई सन्तुलित गर्न योगले सहयोग गर्न सक्छ ।

twitter: @ deepakbhetwal

प्रकाशित : असार ७, २०७६ १०:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जो उड्न सिकाउँछिन्...

उपेन्द्र पौडेल

आत्मकथा पढ्दा पाठकले सबैभन्दा बढी अपेक्षा गर्ने कुरा हो लेखकको इमानदारी  । लेखकले चतुराइँपूर्वक सबैभन्दा बढी झूट पस्कने विधा पनि आत्मकथा नै हो  ।

नेपाली साहित्यको बजारमा आएका अधिकांश आत्मकथा पढ्दा ‘नार्सिसिस्ट–कथा’ पढेजस्तो लाग्छ । नार्सिसिस्ट–कथा अर्थात् आफूले आफैंलाई श्रेष्ठ मान्ने चरम आत्मानुरागीहरूको कथा । अब प्रश्न उठ्छ– भर्खरै बजारमा आइपुगेको सामाजिक अभियन्ता पुष्पा बस्नेतको आत्मकथा ‘पुतलीको घर’ पनि ‘नार्सिसिस्ट–कथा’ मात्र हो वा त्योभन्दा बढी केही हो ?


सम्पन्न परिवारिक पृष्ठभूमिमा जन्मेका अधिकांश युवतीहरूझैं २१ वर्षको उमेरमा पुष्पा बस्नेतसामु थुप्रै बाटाहरू थिए । आमाबाबुले किनिदिएको स्कुटरमा हुइकिँदै सिनेमाहल वा सपिङमल चहारिसकेर, टोफेल वा आईएल गरेर विदेशमा पढ्नका लागि भिसा प्रोसेसिङ गर्न सक्थिन् । कुनै युवकसँग प्रेमलीन हुँदै नगरकोट वा पोखरा घुम्ने सपना देख्ने छुट पनि हुँदो हो । करिअरलाई महत्त्व दिंदै राम्रा कम्पनी र फर्ममा जागिर गर्नु वा पिताजीको व्यवसाय सम्हाल्ने विकल्पहरू पनि हुँदा हुन् । यी सबैखाले सजिला र चिप्ला बाटाहरूलाई थाँती राखेर जेलमा विभिन्न अपराध गरेर वा परिबन्दमा परेर कारावासको सजाय भोगिरहेका आमाबाबुका ती सन्ततिहरू जसले आफूले नगरेको अपराधको सजाय पाइरहेका थिए, तिनलाई खुला हावामा ल्याएर शिक्षा–दीक्षा दिलाउने दुस्साहसपूर्ण काम पुष्पाले रोजिन् । त्यही दुस्साहसको फेहरिस्त हो ‘पुतलीको घर’ ।


पुस्तकको आवरणमा सीएनएन हिरो र सीएनएन सुपरहिरोको लोगो अंकित भए पनि यो फगत सीएनएन हिरो वा सुपरहिरो हुँदाको अनभुव मात्र होइन । यो त एक लद्दू विद्यार्थीको असफलताले निर्माण गरेको सफलताको कथा हो । स्कुल वा क्याम्पसको मार्कसिटमा उच्च अंक ल्याउनेहरू कहिलेकाहीं जीवनको परीक्षामा अनुत्तीर्ण हुन्छन् । फेरि यस्तो पनि देखिन्छ कि स्कुल वा क्याम्पसमा अत्यन्त न्यून अंक ल्याउनेहरू जीवनमा उच्चतम अंकका साथ उल्लेख्य उपलब्धि हासिल गर्छन् । शैक्षिक सूचकांकमा सधैं औसत वा कम अंक ल्याए पनि जीवनमा उपलब्धिको दृष्टिकोणले अब्बल दर्जामा उत्तीर्ण पुष्पा बस्नेतको जीवनकथा हरऔसत र औसतभन्दा मुनिका विद्यार्थीको निम्ति ऊर्जाको टनिक हो ।


कुल २ सय ६७ पेजको ‘पुतलीको घर’ लाई पुष्पाको वैयक्तिक जीवनको भोगाइको कथा मात्र मान्नु गलत हुनेछ । यो त बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थालाई अझ नजिकबाट हेर्ने तिलस्मी लेन्स पनि हो भन्ने कुरा उनको पुस्तकको ‘तस्करी’ शीर्षक पढेपछि थाहा लाग्छ । झट्ट हेर्दा सरकारबाट सञ्चालित बालमन्दिर बच्चाहरूलाई हुर्काउने पढाउने केन्द्रजस्तो देखिए पनि कुनै बेला भित्रभित्रै मोटो रकम लिएर विदेशीहरूलाई बच्चा तस्करी गर्ने जघन्य अपराधको थलोसमेत रहेको खुलासा गरेकी छन् । अस्पतालका नर्सहरू मर्दै नमरेको बच्चा बाउआमालाई मर्‍यो भनिदिएर सामान्य रकमका लागि बालमन्दिरमा बच्चाहरू बेच्ने अझ भनौँ बालमन्दिरलाई बालमन्दिर होइन, बालबच्चा किनबेचको केन्द्र बनाइएको सत्य थाहा पाउँदा आङै सिरिङ्ग हुन्छ । सँगसँगै यस्तो पाशविकताको विरोधमा सानैदेखि हक्की पुष्पा बस्नेतले किन केही कदम चालिनन् भन्न प्रश्न पनि उब्जिन्छ । सीएनएन हिरोको उत्कृष्ट २५ मा पुगेपछि सीएनएनले समाजकल्याण मन्त्रालयमा फोन गरेर पुष्पा बस्नेतका बारेमा सोधखोज गर्दा आफूहरूले पुष्पा बस्नेतलाई नचिन्ने बताएकाले ‘फूलको वासना वरिपरि, मानिसको वासना डाँडापारि’ भन्ने उखान स्मरण गराउँछ ।


पुष्पाको जीवनको इतिवृत्ति मात्रै होइन ‘पुतलीको घर’ । यो त पुतलीको घरमा झुसिल्किराका रूपमा छिरेर पुष्पा बस्नेतको हेरचाहले पुतली बनेका कला, निरमाया, मीना, आत्माञ्जलीजस्ता कैयौँ केटाकेटीको जीवनकथाको सुन्दर कोलाज पनि हो । पुष्पाको जीवन बुझ्न उनका बारेमा बनेका कैयौँ डकुमेन्ट्री भेटिएलान् युट्युबमा तर यी केटाकेटीलाई मनैदेखि बुझ्न पुस्तकले सहयोग गर्छ । विभिन्न अपराधले जेलमा सजाय पाइरहे पनि आफ्ना आमाबाबुप्रति नकारात्मक भावनाको विकास नहोस् भनेर पुष्पाले गरेको प्रयास किताबमा पढिरहँदा पुष्पा बस्नेत र उनको पुतलीको घरप्रतिको सम्मान चुलिन्छ । दुःखले हुर्काएका केटाकेटी कमाउन सक्ने भएपछि गोरु बेचेको साइनो लगाउँदै हक देखाउँदै उनीहरूलाई फिर्ता मान्न आउने मौसमी आफन्तहरूलाई पुष्पाले गरेको केरकार र खोजखबरले पुष्पा पुतलीको घरमा बस्ने केटाकेटीको वर्तमान मात्रै होइन, भविष्यप्रति पनि उत्तिकै सजग छन् भन्ने कुराले ढुक्कसमेत बनाउँछ ।


जेल सजाय दिने ठाउँभन्दा पनि सुधारगृह हो भनेर जतिसुकै भने पनि हाम्रो समाज र मानसिकताले जेलजीवन बिताएर खुला हावामा निस्केका व्यक्तिलाई त हेयभावले हेर्ने गर्छ भने जेलभित्र सजाय भोगिरहेका व्यक्तिलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणको हामी सबैले राम्ररी बुझेका छौँ । ‘बीउ गुनाको बाला, दूध गुनाको बुद्धि’ भन्दै सन्तानमा अभिभावकको गुण र दोषको प्रत्यक्ष प्रभाव केलाउने चलन छ । अपराधीका बालबच्चा पनि आपराधिक मानसिकता लिएर जन्मन्छन् वा त्यस्तै कर्म अंगीकार गर्छन् भन्ने धारणा हाम्रो समाजमा व्याप्त पाइन्छ । पश्चिमाहरूसमेत यो मानेमा लगभग उस्तै छन् भन्नेचैँ उनीहरूले भीसा आवेदनमा तीन पुस्ताको फौजदारी विवरणको खोजीनिती गरेकोबाट थाहा लाग्छ । हामी चोरको छोराछोरी चोरै भएर निस्कन्छन् भन्ने मानसिकताले ग्रस्त छौँ । यी सबै विषम परिस्थितिका बीचमा ती निर्दोष बालबालिकालाई बन्दीगृहको अँध्यारा पर्खालहरूबाट बाहिरी दुनियाँमा ल्याई सपनाको प्वाँख हाल्न र उड्न सिकाउनका लागि पुष्पाले देखाएको आँट र उत्साह, सुरुआती दिनहरूमा पुष्पाले भोग्नुपरेको कठिनाइ र पुष्पादेखि पुष्पा मामुसम्मको कठिन यात्रा पुतलीको घरको आत्मा हो ।


किताबमा उनले पुतलीको घरमा ल्याएका नानीबाबुको जिन्दगीको नालीबेली पनि पाइन्छ । मानौं, पुष्पा धागो हुन् र केटाकेटी मोती हुन् । बिस्तारै जब धागोमा अनेक मोती उनिदै जान्छन्, मोतीको साथले धागो पनि मूल्यवान हुन्छ । सतही रूपमा हेर्दा लाग्छ, पुष्पाले सीएनएन हिरो अवार्ड जितिन् तर गहिरिएर हेर्दा त्यो अवार्ड पुष्पाजत्तिकै उनको पुतलीको घरमा बाँचेका प्रत्येक केटाकेटीले पनि जितेका हुन् । त्यसैले त अवार्ड हातमा लिएपछि पुष्पाले भनिन्– दिस इज फर माई चिल्ड्रेन ।


पुष्पा बस्नेतको नायकत्वलाई किताबले स्थापित गरेको त देखिन्छ । यसका बाबजुद उनका कतिपय कमी कमजारी पनि छताछुल्ल पोखिएका छन् किताबभरि । डकुमेन्ट्री छायाङ्कनका क्रममा निद्राले आकुलव्याकुल भएका केटाकेटीको पहिलो पटक घर आएको भाव उतार्न उनीहरूलाई निदाउनसमेत नदिई भिडियो खिचिंदाको प्रसंगले पुष्पा बस्नेत मानवीय हुँदाहुँदै पनि निर्मम लाग्छिन् । अघिल्लो जन्ममा मैले केटाकेटीहरूको के ऋण खाएकी रहिछु र अहिले यिनीहरूको सेवा गरिरहेछु भन्ने उनको कथनले उनी बढी नै रुढीवादी लाग्छिन् । समाजसेवाप्रतिको पुष्पाको प्यासन हेर्दा उनी नयाँ युग हाँक्न सक्ने आँटिली युवती लाग्छिन् । ठीक त्यही बेला भूतप्रेत र पिचासप्रतिको उनको विश्वासलाई हेर्दा उनी परम्परागत् र अन्धविश्वासी चरित्रकी नमुना लाग्छिन् । एउटै ऐनामा देखिने उनको दुइटा रूप पत्याउन र पचाउन पाठकहरूलाई हम्मेहम्मे पर्छ ।


सन् २००५ मा सात हजार घरभाडा तिर्न हम्मे परेकी पुष्पाको पुस्तक पढ्दै जाँदा समाजसेवामा उनको आर्थिक
छलाङ हजारबाट लाख हुँदै करोडौंमा पुगेको देखिन्छ । समाजसेवाबाट सुरु भएको उनको कथाको अन्त्य कतै सम्पत्तिको मोहमा परेर अधिकांशले रोजेको दोहोरो चरित्रवाला संवेदनाको व्यापारमा पो टुंगिने हो कि भन्ने शंका पनि पाठकको मनमा उब्जन्छ ।


पुष्पाको जीवनका घटना र तथ्यहरू रोमाञ्चक छन् । तथ्य र कथ्यलाई सम्प्रेषण गर्न प्रयोग भएको भाषा काव्यिक छ । घनश्याम खड्कासँगको सहकार्यमा लेखिएको भनेर पुस्तकमा सुरुमै उल्लेख गरिएको पनि छ । पुष्पाको कथालाई घनश्यामका शब्दशिल्पले पाठक तानिराख्न मद्दत गरेको भए पनि पनि कतिपय ठाउँमा पुष्पाका कथाभन्दा घनश्यामको भावुकता हावी भैदिंदा पाठक दोधारमा पर्छ– पुष्पा बस्नेतलाई पढिरहेको छु या घनश्याम खड्कालाई भनेर !


यी सबका बाबजुद मेकअपबिना नै हिँड्न रुचाउने पुष्पाको स्वभावजस्तै छ उनको आत्मकथाको किताब पनि । उनले आफ्नो कथालाई टल्काएर प्रस्तुत गरेकी छैनन् । मपाइँत्व र आडम्बरका डकारहरू छैनन् । पटकपटक हन्डर खाँदै लड्दै उठ्दाका तीतामीठा खस्रा भोगाइलाई तीतो, टर्रो अनि पिरो स्वादमै पस्केकी छन् ।

उपेन्द्र पौडेल

प्रकाशित : असार ७, २०७६ १०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×