कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जो उड्न सिकाउँछिन्...

उपेन्द्र पौडेल

आत्मकथा पढ्दा पाठकले सबैभन्दा बढी अपेक्षा गर्ने कुरा हो लेखकको इमानदारी  । लेखकले चतुराइँपूर्वक सबैभन्दा बढी झूट पस्कने विधा पनि आत्मकथा नै हो  ।

जो उड्न सिकाउँछिन्...

नेपाली साहित्यको बजारमा आएका अधिकांश आत्मकथा पढ्दा ‘नार्सिसिस्ट–कथा’ पढेजस्तो लाग्छ । नार्सिसिस्ट–कथा अर्थात् आफूले आफैंलाई श्रेष्ठ मान्ने चरम आत्मानुरागीहरूको कथा । अब प्रश्न उठ्छ– भर्खरै बजारमा आइपुगेको सामाजिक अभियन्ता पुष्पा बस्नेतको आत्मकथा ‘पुतलीको घर’ पनि ‘नार्सिसिस्ट–कथा’ मात्र हो वा त्योभन्दा बढी केही हो ?


सम्पन्न परिवारिक पृष्ठभूमिमा जन्मेका अधिकांश युवतीहरूझैं २१ वर्षको उमेरमा पुष्पा बस्नेतसामु थुप्रै बाटाहरू थिए । आमाबाबुले किनिदिएको स्कुटरमा हुइकिँदै सिनेमाहल वा सपिङमल चहारिसकेर, टोफेल वा आईएल गरेर विदेशमा पढ्नका लागि भिसा प्रोसेसिङ गर्न सक्थिन् । कुनै युवकसँग प्रेमलीन हुँदै नगरकोट वा पोखरा घुम्ने सपना देख्ने छुट पनि हुँदो हो । करिअरलाई महत्त्व दिंदै राम्रा कम्पनी र फर्ममा जागिर गर्नु वा पिताजीको व्यवसाय सम्हाल्ने विकल्पहरू पनि हुँदा हुन् । यी सबैखाले सजिला र चिप्ला बाटाहरूलाई थाँती राखेर जेलमा विभिन्न अपराध गरेर वा परिबन्दमा परेर कारावासको सजाय भोगिरहेका आमाबाबुका ती सन्ततिहरू जसले आफूले नगरेको अपराधको सजाय पाइरहेका थिए, तिनलाई खुला हावामा ल्याएर शिक्षा–दीक्षा दिलाउने दुस्साहसपूर्ण काम पुष्पाले रोजिन् । त्यही दुस्साहसको फेहरिस्त हो ‘पुतलीको घर’ ।


पुस्तकको आवरणमा सीएनएन हिरो र सीएनएन सुपरहिरोको लोगो अंकित भए पनि यो फगत सीएनएन हिरो वा सुपरहिरो हुँदाको अनभुव मात्र होइन । यो त एक लद्दू विद्यार्थीको असफलताले निर्माण गरेको सफलताको कथा हो । स्कुल वा क्याम्पसको मार्कसिटमा उच्च अंक ल्याउनेहरू कहिलेकाहीं जीवनको परीक्षामा अनुत्तीर्ण हुन्छन् । फेरि यस्तो पनि देखिन्छ कि स्कुल वा क्याम्पसमा अत्यन्त न्यून अंक ल्याउनेहरू जीवनमा उच्चतम अंकका साथ उल्लेख्य उपलब्धि हासिल गर्छन् । शैक्षिक सूचकांकमा सधैं औसत वा कम अंक ल्याए पनि जीवनमा उपलब्धिको दृष्टिकोणले अब्बल दर्जामा उत्तीर्ण पुष्पा बस्नेतको जीवनकथा हरऔसत र औसतभन्दा मुनिका विद्यार्थीको निम्ति ऊर्जाको टनिक हो ।


कुल २ सय ६७ पेजको ‘पुतलीको घर’ लाई पुष्पाको वैयक्तिक जीवनको भोगाइको कथा मात्र मान्नु गलत हुनेछ । यो त बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थालाई अझ नजिकबाट हेर्ने तिलस्मी लेन्स पनि हो भन्ने कुरा उनको पुस्तकको ‘तस्करी’ शीर्षक पढेपछि थाहा लाग्छ । झट्ट हेर्दा सरकारबाट सञ्चालित बालमन्दिर बच्चाहरूलाई हुर्काउने पढाउने केन्द्रजस्तो देखिए पनि कुनै बेला भित्रभित्रै मोटो रकम लिएर विदेशीहरूलाई बच्चा तस्करी गर्ने जघन्य अपराधको थलोसमेत रहेको खुलासा गरेकी छन् । अस्पतालका नर्सहरू मर्दै नमरेको बच्चा बाउआमालाई मर्‍यो भनिदिएर सामान्य रकमका लागि बालमन्दिरमा बच्चाहरू बेच्ने अझ भनौँ बालमन्दिरलाई बालमन्दिर होइन, बालबच्चा किनबेचको केन्द्र बनाइएको सत्य थाहा पाउँदा आङै सिरिङ्ग हुन्छ । सँगसँगै यस्तो पाशविकताको विरोधमा सानैदेखि हक्की पुष्पा बस्नेतले किन केही कदम चालिनन् भन्न प्रश्न पनि उब्जिन्छ । सीएनएन हिरोको उत्कृष्ट २५ मा पुगेपछि सीएनएनले समाजकल्याण मन्त्रालयमा फोन गरेर पुष्पा बस्नेतका बारेमा सोधखोज गर्दा आफूहरूले पुष्पा बस्नेतलाई नचिन्ने बताएकाले ‘फूलको वासना वरिपरि, मानिसको वासना डाँडापारि’ भन्ने उखान स्मरण गराउँछ ।


पुष्पाको जीवनको इतिवृत्ति मात्रै होइन ‘पुतलीको घर’ । यो त पुतलीको घरमा झुसिल्किराका रूपमा छिरेर पुष्पा बस्नेतको हेरचाहले पुतली बनेका कला, निरमाया, मीना, आत्माञ्जलीजस्ता कैयौँ केटाकेटीको जीवनकथाको सुन्दर कोलाज पनि हो । पुष्पाको जीवन बुझ्न उनका बारेमा बनेका कैयौँ डकुमेन्ट्री भेटिएलान् युट्युबमा तर यी केटाकेटीलाई मनैदेखि बुझ्न पुस्तकले सहयोग गर्छ । विभिन्न अपराधले जेलमा सजाय पाइरहे पनि आफ्ना आमाबाबुप्रति नकारात्मक भावनाको विकास नहोस् भनेर पुष्पाले गरेको प्रयास किताबमा पढिरहँदा पुष्पा बस्नेत र उनको पुतलीको घरप्रतिको सम्मान चुलिन्छ । दुःखले हुर्काएका केटाकेटी कमाउन सक्ने भएपछि गोरु बेचेको साइनो लगाउँदै हक देखाउँदै उनीहरूलाई फिर्ता मान्न आउने मौसमी आफन्तहरूलाई पुष्पाले गरेको केरकार र खोजखबरले पुष्पा पुतलीको घरमा बस्ने केटाकेटीको वर्तमान मात्रै होइन, भविष्यप्रति पनि उत्तिकै सजग छन् भन्ने कुराले ढुक्कसमेत बनाउँछ ।


जेल सजाय दिने ठाउँभन्दा पनि सुधारगृह हो भनेर जतिसुकै भने पनि हाम्रो समाज र मानसिकताले जेलजीवन बिताएर खुला हावामा निस्केका व्यक्तिलाई त हेयभावले हेर्ने गर्छ भने जेलभित्र सजाय भोगिरहेका व्यक्तिलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणको हामी सबैले राम्ररी बुझेका छौँ । ‘बीउ गुनाको बाला, दूध गुनाको बुद्धि’ भन्दै सन्तानमा अभिभावकको गुण र दोषको प्रत्यक्ष प्रभाव केलाउने चलन छ । अपराधीका बालबच्चा पनि आपराधिक मानसिकता लिएर जन्मन्छन् वा त्यस्तै कर्म अंगीकार गर्छन् भन्ने धारणा हाम्रो समाजमा व्याप्त पाइन्छ । पश्चिमाहरूसमेत यो मानेमा लगभग उस्तै छन् भन्नेचैँ उनीहरूले भीसा आवेदनमा तीन पुस्ताको फौजदारी विवरणको खोजीनिती गरेकोबाट थाहा लाग्छ । हामी चोरको छोराछोरी चोरै भएर निस्कन्छन् भन्ने मानसिकताले ग्रस्त छौँ । यी सबै विषम परिस्थितिका बीचमा ती निर्दोष बालबालिकालाई बन्दीगृहको अँध्यारा पर्खालहरूबाट बाहिरी दुनियाँमा ल्याई सपनाको प्वाँख हाल्न र उड्न सिकाउनका लागि पुष्पाले देखाएको आँट र उत्साह, सुरुआती दिनहरूमा पुष्पाले भोग्नुपरेको कठिनाइ र पुष्पादेखि पुष्पा मामुसम्मको कठिन यात्रा पुतलीको घरको आत्मा हो ।


किताबमा उनले पुतलीको घरमा ल्याएका नानीबाबुको जिन्दगीको नालीबेली पनि पाइन्छ । मानौं, पुष्पा धागो हुन् र केटाकेटी मोती हुन् । बिस्तारै जब धागोमा अनेक मोती उनिदै जान्छन्, मोतीको साथले धागो पनि मूल्यवान हुन्छ । सतही रूपमा हेर्दा लाग्छ, पुष्पाले सीएनएन हिरो अवार्ड जितिन् तर गहिरिएर हेर्दा त्यो अवार्ड पुष्पाजत्तिकै उनको पुतलीको घरमा बाँचेका प्रत्येक केटाकेटीले पनि जितेका हुन् । त्यसैले त अवार्ड हातमा लिएपछि पुष्पाले भनिन्– दिस इज फर माई चिल्ड्रेन ।


पुष्पा बस्नेतको नायकत्वलाई किताबले स्थापित गरेको त देखिन्छ । यसका बाबजुद उनका कतिपय कमी कमजारी पनि छताछुल्ल पोखिएका छन् किताबभरि । डकुमेन्ट्री छायाङ्कनका क्रममा निद्राले आकुलव्याकुल भएका केटाकेटीको पहिलो पटक घर आएको भाव उतार्न उनीहरूलाई निदाउनसमेत नदिई भिडियो खिचिंदाको प्रसंगले पुष्पा बस्नेत मानवीय हुँदाहुँदै पनि निर्मम लाग्छिन् । अघिल्लो जन्ममा मैले केटाकेटीहरूको के ऋण खाएकी रहिछु र अहिले यिनीहरूको सेवा गरिरहेछु भन्ने उनको कथनले उनी बढी नै रुढीवादी लाग्छिन् । समाजसेवाप्रतिको पुष्पाको प्यासन हेर्दा उनी नयाँ युग हाँक्न सक्ने आँटिली युवती लाग्छिन् । ठीक त्यही बेला भूतप्रेत र पिचासप्रतिको उनको विश्वासलाई हेर्दा उनी परम्परागत् र अन्धविश्वासी चरित्रकी नमुना लाग्छिन् । एउटै ऐनामा देखिने उनको दुइटा रूप पत्याउन र पचाउन पाठकहरूलाई हम्मेहम्मे पर्छ ।


सन् २००५ मा सात हजार घरभाडा तिर्न हम्मे परेकी पुष्पाको पुस्तक पढ्दै जाँदा समाजसेवामा उनको आर्थिक
छलाङ हजारबाट लाख हुँदै करोडौंमा पुगेको देखिन्छ । समाजसेवाबाट सुरु भएको उनको कथाको अन्त्य कतै सम्पत्तिको मोहमा परेर अधिकांशले रोजेको दोहोरो चरित्रवाला संवेदनाको व्यापारमा पो टुंगिने हो कि भन्ने शंका पनि पाठकको मनमा उब्जन्छ ।


पुष्पाको जीवनका घटना र तथ्यहरू रोमाञ्चक छन् । तथ्य र कथ्यलाई सम्प्रेषण गर्न प्रयोग भएको भाषा काव्यिक छ । घनश्याम खड्कासँगको सहकार्यमा लेखिएको भनेर पुस्तकमा सुरुमै उल्लेख गरिएको पनि छ । पुष्पाको कथालाई घनश्यामका शब्दशिल्पले पाठक तानिराख्न मद्दत गरेको भए पनि पनि कतिपय ठाउँमा पुष्पाका कथाभन्दा घनश्यामको भावुकता हावी भैदिंदा पाठक दोधारमा पर्छ– पुष्पा बस्नेतलाई पढिरहेको छु या घनश्याम खड्कालाई भनेर !


यी सबका बाबजुद मेकअपबिना नै हिँड्न रुचाउने पुष्पाको स्वभावजस्तै छ उनको आत्मकथाको किताब पनि । उनले आफ्नो कथालाई टल्काएर प्रस्तुत गरेकी छैनन् । मपाइँत्व र आडम्बरका डकारहरू छैनन् । पटकपटक हन्डर खाँदै लड्दै उठ्दाका तीतामीठा खस्रा भोगाइलाई तीतो, टर्रो अनि पिरो स्वादमै पस्केकी छन् ।

उपेन्द्र पौडेल

प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?