२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वर्किङ भिसा

निकै खुसियाली छ, छोरीको भिसा लागेको घरमा  । हर्षको वर्षा  ।

वर्किङ भिसा

भिसाका लागि निकै पूर्वतयारी गर्नुपरेको थियो । व्यक्तिगत तयारीमाथि थुप्रै तालिमहरू । त्यो पनि अति अनुभवी प्रशिक्षकबाट ।
‘अन्तरवार्ताको निम्ति पाइला राख्नासाथ सर्वप्रथम सबैलाई झुकेर अभिवादन गर्नू, बस्ने बेलामा अनुशासित भै बस्नू ! उपरखुट्टी लाउने भूल त गर्दै नगर्नू, अति बिस्तारै बोल्नू ! नुन–बेसार अड्कलेर तरकारीमा हालेझै ! ठिक्क– चर्को हुनुभएन । बिलुनो भए केही फरक पर्दैन । सोधेको मात्र जवाफ दिनू, त्यो पनि अति छोटकरीमा । बरु मुखले नबोली टाउको मात्र हल्लाए पनि हुन्छ, केही फरक पर्दैन ।’ तालिमकै क्रममा प्रशिक्षकबाट सिकाइएका कुरा थिए यावत् ।


‘कति गाह्रो रहेछ । भो, म त कहिले नदिने त्यस्तो अन्तरवार्ता ।’ अघिदेखि कुरा सुनेर बसेको भदा पर्नेले भनेको थियो ।
‘जाऊ उता, छोरामान्छे भएर यसरी आइमाई कुरा सुनिबस्नु हुन्न । तिमीले त अन्तरवार्ता दिने होइन, लिने हो नि ! तिमी त अरूबाट भिसा लिने होइन, अरूलाई भिसा दिने मान्छे पो हो त !’ भाउजू पर्नेचाहिँले भनेकी थिइन्, हाँस्दै प्याट्ट पिटेर ।
अगाडि बढेको थियो प्रशिक्षण, ‘सीता, तिमी अलि लजाएजस्तो पनि गर्नू । चञ्चल हुने, यताउता पल्याकपुलुक हेर्ने त गर्दै नगर्नू, सुधी हुनू । घरको के–के काम गर्न आउँछ भनी सोध्नेछन् । सबै काम आउँछ भन्नू । विशेष ख्याल हिँडाइमा राख्नू । बिस्तारै– सबै कुरा बिस्तारै हुनुपर्छ, अति बिस्तारै ।’


योभन्दा अघि निवेदन दिएकोमा दुई पटक भिसा रिजेक्सन भएको थियो । पहिलो पटक अन्तरवार्ता दिएपछि नै राहदानी पक्कै खाली आउन्न भन्नेमा विश्वस्त थिए । तर त्यसबेला कुन मापदण्डमा नम्बर पुगेन भन्ने सन्दर्भमा थाहा नै भएन । एक्कासि अनुत्तीर्ण भएको नतिजा आएको थियो । दोस्रो पटक अझ मिहिनेत गरेको पनि हो, तर त्यस पटक पनि नतिजा नकारात्मक नै आयो ।
दोस्रो पटकको आवेदन पनि अस्वीकृत हुनुको कारण पनि किटेरै थाहा पाउन नसके पनि घुइरो–घुइरो सुनेको कुरा– ‘रूपले अलि धोका दियो रे ! रङले । उम्मेदवार अलि कन्सौली भई रे । अनि कोही भन्थे– वजनले पनि मार खायो । तौल बेसी । केटीको हाइट पाँच फिट दुई इन्च, वजन १६० पाउन्ड । शरीरजस्तै शिक्षामा पनि मालिकको भन्दा बेसी भो रे !’ सुन्नमा आयो– ‘मालिकभन्दा बढी पढेका नोकरले टाउकामा टेक्छन् ।’


शिक्षा घटाउन त मिल्ने कुरा भएन, तर शरीरको तौल घटाउनका लागि व्यायाम गरी र खानाको कडा पाबन्दीमा बसी सीता । उत्तीर्ण हुनको निम्ति योग्यता बढाउनुपर्ने बुँदामा अरू थप तालिम पनि दिइएको थियो । उठ्न, बस्न, हाँस्न, बोल्न । सुन्दरता बढाउन निकै पटक ब्युटिपार्लर पनि धाएकी थिई सीता ।
यो पटक पनि रिजेक्सन हुने हो कि भनी बढी चिन्तित र सतर्क थिए घरका सदस्य र शुभचिन्तक । सिकेको कुरा अक्षरशः पालना गरेर अन्तरवार्ता दिएकी थिई सीताले । पक्कै प्रयोगात्मक प्रश्नको पनि प्राप्ताङ्क जोडियो । मौखिक र प्रयोगात्मक गरी कुल मिलाएर ऊ उत्तीर्ण भई । तात्पर्य, स्वीकृति भयो ।
लाग्यो भिसा ड्याम्मै ! आयो खुसी झ्याम्मै !
सीताको भिसा लाग्यो भन्ने थाहा पाएपछि आफन्तीको जिज्ञासा ह्वात्तै बढेको छ ।
– ‘कहाँ ?’ अर्थात् सम्पन्नता ।
– ‘कहिले ?’ अर्थात् उडान दिन समय ।
– मालिकको योग्यताप्रतिको चासो अर्थात् पाउने सुविधाको अड्कलबाजी ।
– ‘जम्मा सदस्य ?’ अर्थात् भिसा पाएकीले सेवा पुर्‍याउनुपर्ने व्यक्ति सङ्ख्या ।
बिदाइको दिन नजिकै जाँदा, दैलोमा नातेदार, आफन्तका जुत्ता–चप्पलको भीड हुन लाग्यो । सीतालाई बीचमा पारेर गोलबद्ध बसेका हुन्छन् जिज्ञासुहरू कोठाभरि ।
प्रत्यक्ष भएर प्रश्न गर्छन्, उत्तर खोज्छन् । सुरुसुरुमा प्रशिक्षकबाट पाइरहेका हुन्छन् जवाफ ।
‘तलब ?’ प्रथम प्रश्न ।
‘तलबको के कुरा भो र ? मीठो खान, राम्रो लाउन पाइन्छ । त्यति मात्र हो र ? चलसम्पत्तिको तालाचाबी मात्र होइन, मालिकको घरघडेरी पनि आफ्नो नाममा राख्न पाइन्छ । सुन–हीराका गरगहना लाउन पाइन्छ । उत्तरदायित्वमा केवल इमानदार भएर संरक्षण गरिदिनुपर्छ,’ जवाफ ।
‘डिउटी आवर ?’ दोस्रो प्रश्न ।
‘त्यो त, बिहान आँखा खुले झिसमिसेदेखि साँझ साहेब ननिदाउँदासम्म ।’ उत्तर ।
‘काम के–के होला ?’ तेस्रो प्रश्न ।
‘घरायसी सप्पै । दैलो–भान्सा । मानमनितो । सप्पै–सप्पै,’ उत्तर ।
‘मानमनितो को–कसको ?’ थप प्रश्न ।
‘कसको गर्न पर्छ मनितो, त्यति पनि थाहा छैन र ? मालिकसँग जोडिएका सबैको,’ लामो केश भएकी एक आगन्तुकको जवाफ प्वाक्क ।
‘तिमीलाई कसले सोधेको छ र ? जुग जमानाअनुसार फरक भयो कि भनेर पो सोधेकी,’ अलि रिसाउादै प्रश्नकर्ता ।
‘संस्कार किन फेरिनु ? सप्पैको । वृद्ध–वृद्धा, आमा–बुबाको त स्वाभाविक नै भो, गन्ती गर्नुपरेन । साहेबका दाजुभाइ, दिदीबहिनी, भाञ्जाभाञ्जी । यसरी एकमुष्टमा भनूँ न, उताका नातेदारजति जम्मै ।’
‘छरछिमेकी, साथीभाइ पनि, होइन त ?’ प्रशिक्षकले नै जवाफ दिइरहनुपर्ने अनिवार्यता रहँदैन । फेरि पनि जवाफ एक सहभागी आफन्तबाट नै ।
‘मान–सम्मान आफूले गर्ने मात्र हो कि आफूले पनि पाइन्छ कोहीबाट ?’ सानी छोरी काखमा लिएकीबाट प्रश्न ।
‘अनुभवी आफैँ छौ, होइन ? आजसम्म तिमीले पाएकी छौ ?’ उल्टै प्रश्न ।
‘काम सघाउन अरू सहयोगी पनि छन् ?’ अझ थपमाथि थप प्रश्न छोरीकी आमाको ।
‘त्यो हुन पनि सक्छ, नहुन पनि । स्थायी कामदार पाएपछि पहिला कोही भए त्यसको बिदा हुन पनि सक्छ । यसै भन्न सकिन्नँ ।’ सीताको छेउमै बसेकीबाट जवाफ ।
‘स्थायी हो ?’ प्रश्न दराजसामुन्ने बसेकीबाट ।
‘अहिलेसम्मलाई स्थायी नै भनिएको हो । तर के भन्न सकिन्छ ! अब रिझाउन सक्छिन्–सक्दिनन्, हाम्री सीतामैयाँको कुरा । सबैमा लागू हुने त्यही होइन र ?’ प्रश्नसहितको यो उत्तर प्रशिक्षक दिदीबाट ।
‘तर अरूको हेर्दा पनि ढुक्क भैहाल्न कहाँ सकिन्छ र ? भिसा लाग्यो भन्दैमा स्थायी नै कसरी भन्नू ? मैयाँले वर्क परमिट पाइन्, यसरी बुझ्नू
अहिलेलाई !’ थप उत्तर उनैबाट ।
‘यसरी नेगेटिभ सोचिहाल्न मिल्दैन,’ प्रतिक्रिया, उपस्थित सीताको काकी पर्नेको ।
‘कसरी सोच्नू, त तिमी नै भन । तिमी के भन्छौ, तिमी सहनशीला सुशीलाले ? तिम्रो एक जीवन त आफ्नो मालिकको मदिरापानको पछि लाग्दैमा सकिने भो । अँ बिर्सिएको अर्को काम, त्यही मदिरापानको रखवाली पनि एक हो । सुधार्ने जिम्मा जो पाएपछि गर्नु त पर्‍यो । त्यसै कारण भनिएको होला काम यही र यति भन्ने छैन ।’ बहसको बीउ खाटमा आडेस लाएर बसेकी हरियो साडी लाएकीबाट ।
‘मेरो विचारमा यसमा सधैँ मालिकको मात्र दोष रहन्न । कामदारकै कारण पनि त करार भङ्ग हुन सक्छ,’ अघिको करार सम्बन्धमा एक विचार, कुनापट्टि कुर्ता लाएर बसेकीबाट ।
‘यस्ता अपवादको कुरा बीचमा लिएर नआऊ । हाम्री सीतामैयाँको स्थायी होस् भन्ने कामना पो गर्ने हो यतिबेला । के अपशकुन बोलेको होला यस्तो खुसीको बेला प्वाक्क ?’ कन्चटतिर केश पालेकी अलि पाकी महिलाबाट ।
‘अँ, म अपशकुन भएँ अब । तिम्रै सानिमाको अघिल्लो वर्ष भिसा लागेर धुमधाम बिदा भै गाको होइन । छ महिनामै भिसा रद्द भएर फर्किनुपरेको बिर्सियो ?’ क्रोधित आवाज कुर्तावालीबाट ।
‘उसको कुरा बेग्लै हो । त्यसको मालिकलाई अर्कै कामदार मन परेको रैछ । घरकाले करकाप गरेर उनलाई भिसा स्पोन्सर गरेर लगे । मनको कुरा परेछ त्यहाँ भनूँ न,’ जवाफ सीताछेउमै बसेकीबाट ।
‘जब कुरा आफ्नोको पर्छ त्यहाँ मनको हुन जान्छ, होइन ?’ टी–टेबलमा कुइनो टेकी खुट्टा पसारेर बसेकीबाट ।
‘यस्तै हो, कहीँ मनका कुरा, कहीँ कुरा तनका,’ जीउ तानेर छन छन चुरा बजाउँदै सहमति–असहमतिमा अर्की सहभागी महिलाबाट ।
‘अनि ती भाञ्जीको ? तिनको पनि त स्थायी भएन त । प्रोभिजनलमै फालिएको होइनन् ?’ उही चर्को आवाज कुनापट्टितिरबाट नै ।
‘कम्ता अल्छी थिई । घरको काम सिन्को नभाँच्ने । घाम लाग्दासम्म सुत्ने । उठेर काममा जाने । बाहिर जागिर गरेर थुप्रो कमाउँछु भन्ने घमण्ड । बेडमा चिया चाहिन्थ्यो रे । बिहानको अखबार हेर्दै चिया पिउनुपर्ने । लुगा इस्त्री गरेर राखिएको हुनुपर्ने । साँझ पनि समयमा घर नआउने । मिटिङ रे । कहिले अफिसको टुर रे । कहिले त अलिअलि पिएर आउने रे ! यस्तालाई को राख्छ स्थायी ?’ मालिकको पक्षमा सफाइ पेस कोही एकबाट ।
‘मेरो मालिकको जस्तो बानी पो रै छ,’ हाँस्दै फेरि जीउ तान्दै उठेर अघिकै उही चुराको छन छनवाली ।
‘घरमालिकले भित्र्याउने आम्दानीभन्दा ऊ आफूले बाहिर काम गरेर पाउने तलब बढी भन्ने घमण्ड । पढाइमा पनि तेज थिई । केटीको त के कुरा, क्लासका केटाहरू सप्पैलाई जित्थी । हक्की निडर केटाजस्तो बानी पनि क्या,’ मालिककै पक्षमा थप सफाइ ।
‘केटालाई जित्ने के आश्चर्यको कुरा हो र ? जित्न हुन्न र ? स्वभाव हक्की हुनु हुन्न र ?’ यतिञ्जेल नबोली पलेँटी कसेर बसेकी निकै पातलो स्वर भएकी महिला बोलेपछि सबैको ध्यान आकर्षण उसैप्रति ।
त्यस कोठामा फेरि केही महिला थपिए । अनि एक छिनको समय अभिवादनको लेनदेनले लियो । दुई मुठा सालको पात र पात गाँस्ने सिन्का पनि भित्रियो ।


‘घरायसी कामदार भनेको कामदार नै हो । बाहिर अर्को ओभरटाइम गर्न छ भने पहिला घरको काम निब्टाउनु पर्दैन ? आफ्नो नियुक्ति केमा छ, पहिला त्यो हेर्नुपर्‍यो नि ! भित्रको काम नसकी बाहिर–बाहिर हिँड्ने हो भने कुन कामदारको हुन्छ र स्थायी जागिर ?’ केही पछि रोकिएको कुरोको मेलापातको मुठा फुकाउँदै एक जनाबाट जोडियो ।
‘तिमीहरू जेसुकै भन, स्थायी भन्ने त कहिले हुन्न । न अनुभवले खारेर हुन्छ, न त त्याग–सम्झौताले नै । जति हाड घोटेर पीठो गराए पनि सधैँ करार सकिने त्रास मात्र । स्थायी हुनु त कता हो, करार हुँदै हप्ता, दिन, घण्टाको गन्तीमा जान कत्तिबेर लाउन्न । करार सकिन केही निहुँ नै चाहिन्न । हजुरआमा बनिसकेकाहरू त जागिरबाट निकालिएको यही आँखाले देखेको छ,’ थपियो नङमा पालिस लाउँदै गरेकीबाट ।
‘फेरि अपवादको कुरा गर्नुभो मैयाँ । त्यो बुढियाको पनि गल्ती थियो भो । कम्ता मुखाले थिइन !’ प्रतिक्रिया, पालिस लाउनेकी भाउजूबाट ।
‘कति सहनु तिनले ? हजुरआमा हुँदासम्म पनि बोल्न नसके कहिले बोल्ने ?’ पालिस लाउनेकै तर्कको पक्षमा ।
‘त्यत्रो जीवनभरि त सहेकी थिइन्, अब के न्याय चाहिएको नि ? मर्ने बेला हरियो काँक्रो ! देखिन् नि तमासा । तरुनी कामदार ल्याए रे,’ सहानुभूतिसँगै एउटी ढोकानिरबाट ।
‘ती हिजोका अर्काका कुरा छाड, अहिलेको कुरा गरौँ ! घरमूली कस्तो छ ?’ अर्को प्रश्न कुर्ता लाएकीबाट प्रशिक्षार्थीसँग ।
‘कसको ? हाम्रो सीतामैयाँको ?’ प्रतिप्रश्न ।
‘हो । सीताको ।’


‘कुनचाहिँ घरमूलीको कुरा गरेको ? धेरै पो हुन्छन् घरमुली,’ प्रतिप्रश्न नै चुरा छनछनवालीको ।
‘सोधाइ नै गलत छ । उनी एक जनाका लागि मात्र हो र ? फरक–फरक धेरै भूमिकामा धेरैवटा हात बनेर पो जाँदै छन्,’ नङपालिस लाउँदै गरेकीबाट ।
‘त्यसमा पनि मुख्य, जसका लागि उनी जाँदै छन् ऊचाहिँ कस्ता छन् भन्या ?’ सुरुमा जसको जिज्ञासा उसैबाट फेरि प्रश्न ।
‘कस्तो हुनु ? आजभोलि दारीजुँगा राख्ने चलन त्यति हुन्न क्यारे । चिल्लो, गोरो हुनुपर्छ अनुहार ।’ उत्तरमा सबै हाँसे गलल ।
सीता भने बिल्कुल मौन ।
‘ह्या के कुरा गरेको, त्यो त हामीलाई पनि थाहा भएकै कुरा हो नि,’ जवाफदेखि अझ थप असन्तुष्टि ।
‘जे–जस्तो भए पनि के फरक पर्छ ? आखिर घरमूली भनेको मूली नै हो । ठीक छन् होला । हाम्री मैयाँभन्दा पढेको, धनीमानी होलान् । उमेरले पनि सीतामैयाँभन्दा पक्का नै होलान्,’ चुरा छनछनवालीबाट ।
‘कतिलाई त गँजेडी, रक्स्या अझ स्त्रीलम्पट परेर हैरान हुन्छ । यिनका मालिकको पिउने बानी छ छैन ?’ टपरी गाँस्दै गरेकीबाट ।


‘छैन छैन,’ अलि अकमकिँदै प्रशिक्षक ।
‘अरू केही त्यस्तो आनीबानी ?’
‘के कुरा गरेका यतिबेला ? केही छैन, सबै राम्रो छ । केही त्यस्तो छ भने पनि सुधार गर्नुपर्छ । सुधार्ने जिम्मा पाएकाले सुधार्ने हो । जागिर केका लागि त नत्र !’ पाकी महिलाबाट ।
‘छुट के छ उनलाई ? अधिकार के ?’ पाउजु छमछम गर्दै नवप्रवेशीबाट नयाँ प्रश्न ।
‘सबै छुट छ, सर्वाधिकार । आफूलाई आफ्नो अधिकारबाहेक सबै छुट । होइन त आन्टी ?’ प्रशिक्षकतर्फ हेरेर, त्यहाँ भएका मध्य उचाइको हिसाबले पनि सबैभन्दा फुच्चीचाहिँबाट ।
प्रशिक्षकले पनि टाउको हल्लाई, फुच्चीको कुरामा सहमत भएको सङ्केतमा ।
‘लौ त सुखी हुनू, सधैँ खुसी हुनू,’ आशिषवचन बोलेर उठ्न खोज्दै एउटी वृद्धा ।
‘हुनुपर्छ । अँध्यारो मुख लाउने अधिकार भए पो खुशी नहुनु । खुशी हुनै पर्छ । आफ्नो हृदयमा पीडा भए पनि अरू खुसी छन् भने आफ्नो पीडा दबाएर हाँसिदिनुपर्छ । खुसी भैदिनुपर्छ । आफू दुःखी नै भए पनि खुसी भएझैँ गरिदिनुपर्छ ।’ प्रतिक्रिया, बसेकै स्थानबाट अघि पातमुठा बोकी आएकीबाट ।
‘वास्तवमा कुरा नबुझेर हो । कामदार लगेर कम्ता अधिकार दिएका हुन्छन् ! सर्वस्वसहित, कुल थाम्ने जिम्मासमेत दिन्छन् । सदुपयोग गर्न सक्नुपर्‍यो नि । कुल सार्ने जिम्मा, श्रीसम्पत्तिको चाबी । खिया लाग्न दिनु हुन्न बाबै । श्रीवृद्धि गरिदिनुपर्छ,’ पात गाँस्ने सिन्का लिँदै गालामा कालो पोतो बसेकीबाट ।


‘जति कुरा गरे पनि यथार्थमा अब हाम्री सीताको प्रोभिजनल समय आरम्भ हुँदै छ । नियुक्ति त पाएकी छौ । अब जति सक्यो खुबी देखाउनू, दिन–रात एक गरेर रिझाउनू, यहाँको नाम राख्नू ! तिम्रो भिसासँगै अरूको पनि भविष्य जोडिएको छ । यो गाउँ–ठाउँको, यो खानदानको समेत मूल्याङ्कन हुनेछ तिम्रो कामबाट । हाम्री सीतामैयाँले राम्रो नाम कमाए आफ्नो ठाउँको, खानदानको अरूको पनि भिसा लाग्न सजिलो हुन्छ ।’ पालिस लगाइसकेर सुकाउँदै गरेकीबाट हाँस्दै ।
‘स्थायी हुनलाई प्रोभिजलनको मूल्याङ्कनमा खरो उत्रिनु नै पर्छ है !’ थप चुरा छनछनवाली ।
‘अहिलेसम्म कति एकै कुरा समाएर गनगन गरेको ? करार नै भए पनि रिन्यू भैहाल्छ नि । मालिक रिझाउने आफ्नै कला त हो ।’ पाउजु छमछमवाली ।


‘सम्झौता गर्नुपर्छ । आफूलाई बिर्सनुपर्छ । आफूलाई मन पर्नु– नपर्ने भन्ने केही रहन्न । अरूलाई के मन पर्छ, के मन पर्दैन, त्यहाँबाट सुरु हुनुपर्छ बिहान । रात त्यहाँबाट अन्त्य हुनुपर्छ । आफूलाई आफ्ना आकाङ्क्षालाई त ठ्याक्कै पूर्णविराम लाउनुपर्छ । म होइन, हामी पनि होइन, तिमी–उनी–तिनीहरू अर्थात् उहाँहरू मात्र । उहाँ नै प्रमुख हो । सर्वेसर्वा । मेरो अस्तित्व, मेरो अहम् मेरो शिक्षा, मेरो विज्ञता अर्थात् आफूलाई सम्पूर्ण भुल्नुपर्छ । स्वअस्तित्व खोजी कहिले नगरे !’ अघिसम्म एकशब्द नबोली गम्भीर बसेकी मोटीघाटी खाइलाग्दीबाट ।
‘एक सुन्दर पक्ष छ,’ हँसिलो अनुहारमा एक अविवाहित ।
‘के हो त्यो ?’ जिज्ञासा सबैको ।
‘आमा बन्न पाइन्छ,’ भनिरहँदा धपक्क बलेको मुहार ।
‘के नौलो कुरा हो र !’ तत्काल रिसाउँदै एक ।
‘यो पनि थाहा छ, आफूले गर्भ बोकेर, जन्म दिएर पनि आफू सरोगेट मात्र भइन पनि सक्छ । पूर्ण मातृत्व बन्न पाउने–नपाउने, पूर्णआमा बन्न पाउने–नपाउने आशङ्का पनि सधैँ रहन्छ । त्यो भविष्यले देखाउँछ । या भाग्यले तय गर्छ,’ साडीको फेरो मिलाउँदै उनै ।
‘सबै कुरा भाग्यले नै तय गर्ने हो त ?’ जिज्ञासा उमेर र उचाइ दुवैले अलि फुच्चीबाट ।
‘सम्पूर्ण मान्छेको त नहोला । होला, आइमाईमान्छेको भने भाग्यले नै तय गर्ने पक्का हो,’ पात गाँस्दै गरेकीबाट ।
‘यसको कुरा नसुन, यसै भाँड्न खोज्छे अर्काको मन,’ पात गाँस्दै गरेकी अर्कीचाहिँ ।
‘सुविधा के–के छ ?’ प्रसङ्ग फेरिएर प्रश्न ।
‘दिन–दिन सेवासुविधा बढ्नेछ । हिजो र आजमै फरक पर्दै छ । हजुरआमाको भन्दा आमाको पालामा फरक । आमाकोमा भन्दा छोरीकोमा फरक । आजभन्दा भोलि झन् फरक । परिवर्तन एकै पटक कहाँ होला र ? हिजो मालिकसँगै सती जाने दिन थियो । नीति–नियम फरक पर्दै छ । सुविधा थपिँदै छ, पहिचान बढ्दै त छ ।’ अब अलि नरम भएर ।
‘अरू सुविधा ?’ थप प्रश्न छमछमबाट ।
‘आफू पनि मालिककै सम्पत्ति भनिन पाइन्छ । मालिकलाई निम्त्याइएको सभा–पार्टीमा जान पाइन्छ । उसको एकै ओछ्यानमा सुत्न पाइन्छ । उसले खाएको थालीमा खान पाइन्छ । उसको मानसँगै आफ्नो मान बढ्छ । कति ठाउँमा मालिकसँगै नमस्कार पनि पाइन्छ, होइन त आन्टी ?’ अघि सरेर प्रश्नको जवाफ दिँदै दोस्री फुच्चीचाहिँ ।
उनीहरू रहेको त्यस कोठामा थपिए सीताका तीन सखीहरू । दाहिने हात माथि उठाएर सीतालाई ‘हाई’ गरेपछि पलेँटी कसेर बसे गलैँचामाथि ।
सुपोमाथि कागजको दुनामा अचार र सेल लिएर आए दुईवटी । एक–एक भाग बाँडे सबैलाई । एक निस्की खाली सुपो लिएर, एउटी बसी त्यहीँ नै ।
‘कला पनि त सिक्नुपर्छ,’ केही सम्झिएर अघिकै प्रश्नकर्ता पाउजुको छमछमले भलाकुसारीलाई निरन्तरता दिइन् ।
‘कस्तो कला ?’ जिज्ञासा छनछनको ।
‘अभिनय,’ उत्तर छमछमको ।
‘कस्तो अभिनय ?’ अब जिज्ञासा अन्यबाट ।
‘जतिसुकै ठूलो क्रोधमा पनि रिस नउठेजस्तो । जटिल काममा गाह्रो नभएजस्तो । भोक लागे पनि अघाएजस्तो । बिरामी भए पनि स्वस्थजस्तो । सबै जस्तो ! जस्तो !! जस्तो !!! माया नलागे पनि माया लागेजस्तो ।’ आँखा झिम्क्याउँदै छमछम ।
‘कला त अरू पनि त चाहिन्छ,’ थप कुरा टी–टेबलनिर रहेकीबाट ।
‘अझ अरू कस्ता कला ?’ थप कुरामा जिज्ञासा पलङनिरकीको ।
‘सबै कलामा निपुण हुनुपर्छ ।’
‘कस्तो, सबै भनेको ? के के ?’
‘पाककला । शिल्पकला । बिहानदेखि । दिवाकला । रात्रिकला ।’ जवाफ, टेबलमा तबलाझैँ बजाउँदै ।
‘के हो यो बिहान, दिवा र रात्रिकला ?’ च्यातिएको सालको पात अझ च्यात्दै ।
‘बिहान गर्ने धन्दा बिहानकला, दिनमा गर्ने जति दिवाकला । रातको काम रात्रिकला । बुझ्नेले बुझेकी छ, भैहाल्यो नि,’ सीतातर्फ हेर्दै मुस्कुराएर छमछम ।
‘अब सीताले थप पढ्न पाउँछिन् ?’ नाताले फुपू तर सहपाठी ।
‘त्यो पनि हुन पनि सक्छ, नहुन पनि । मालिकको रुचि, आदेश र आफ्नो समयको कुरा हो । समय भनेको आफ्नो त्यही बिहान, त्यही दिवा, रात्रिबाट घटाउने या बचाउने हो । बस्, त्यो समयको जोड–घटाउमा आफूबाहेक अरू कोहीलाई हानि हुन भएन,’ प्रशिक्षक दिदी ।


‘अनि त्यहाँभन्दा बाहिर अर्को काम गर्न पाइन्छ ? आफ्नो योग्याताअनुसार केही थप आर्थिक आर्जन या आफ्नो स्वाभिमानको,’ फेरि उनै फुपू सहपाठी ।
‘त्यो पनि पछि नै तय हुन्छ,’ फेरि उनै प्रशिक्षक ।
‘सीता मैयाँले यतिसम्म विद्यालय, विश्वविद्यालयमा लिएका प्रमाणपत्रहरूको यो रोजगारसँग अब कुनै सरोकार राख्दैन,’ सीताको घरमा लिएर आएकी नयाँ कामदारबाट ।
‘विद्यालयमा पढाउने जागिर त सुरु भैसकेको थियो । विद्यार्थीबाट पनि मन पराइएकी गुरुआमा हो सीता मैयाँ । तर त्यो अनुभवले यो जागिरसँग कुनै साइनो राख्दैन । नहुनु पनि स्वाभाविक हो । किताबी ज्ञान र अरू भिन्न कुरा हुन्,’ फेरि दाजुले ल्याएकी एमए पास घरेलु कामदारले नै थपिन् ।
‘अँ, कोरी–बाटी चिटिक्क, लाली पाउडर, सबै चाहिन्छ । सधैँ फ्रेस सुन्दर हुनुपर्छ । देख्दै दिक्कलाग्दी हुन हुन्न । यो पनि एक लच्छिन हो,’ एक आफन्ती उठ्दै । तीन सखीहरू कुलोको फेरो समाउन नसकेर अलमलमा छन् ।
‘के नौलो हो र ? हामीले पाएको जस्तो नै हो रछ सीता मैयाँले पाएको भिसा पनि । के–के न नौलो होला भनी सुन्न, हेर्न भनी आकी म । मालिक भनेका मालिक नै हुँदा रहेछन्, कामदार भनेको कामदार !’ अघिदेखि सुनी मात्र बसेकी पल्लो घरकी कामदार महिला बोली ।
कुराकानीमा सक्रिय सहभागी भएका या नभएर श्रोता मात्र बनी सुनिबसेका आफन्तहरूको उपस्थिति पातलिन लाग्यो । कारण आ–आफ्ना घर फर्किने बेला भयो । कोहीले भने– छोराछोरी स्कूलबाट आउने समय भो रे ! कोहीका श्रीमान् कामबाट आउँदा स्वास्नी घरमा हुनैपर्ने रे ! कोहीको, घरमा चियाखाजा दिने बेला भो रे ! यस्तै–यस्तै थिए उनीहरू जानुको कारण ।
छमछम, छनछन ढोकामा पुगेरसमेत अलमल गरिरहनुबाट प्रस्ट हुन्थ्यो– उनीहरूलाई अझ बसिरहन मन भने अवश्य थियो । कोठामा बाँकी रहे छ–सात आफन्ती, भेट्न थपिएका तीन सखीहरू र प्रशिक्षक लमी दिदी मात्र ।
सीतालाई बिदा गरी पठाउँदासँगै दिइने सर–समान बोकी आएको मिनी ट्रक घर सामुन्ने रोकिन्छ । त्यहाँ रहेका सबैको आँखा त्यसतर्फ पर्छ ।
‘घरको सहायक, घरायसी कामदारमा नियुक्ति भएको भए पनि जाने ठाउँ नयाँ हो । सबै सरसमान नयाँ–नयाँ चाहियो । सकेसम्म किमती पनि,’ झर्दै गरेको पलंग हेर्दै एक आफन्ती ।
‘सिङ्गो मान्छे नै लाने हुन्, मान्छे दिएपछि पनि अरू केही दिनुपर्छ ?’ झ्यालबाट बाहिर हेर्दै एक सखी । बस्दाबस्दै सखीहरू पनि विषय–प्रसङ्गसँग परिचित भइसकेका थिए ।
‘त्यसो भनेर कहाँ होला ?’ अर्की सखी ।


‘त्यहाँ यो जाने ठाउँमा खाने थाल, सुत्ने ओछ्यान, बस्ने सोफा केही छैन र ?’ अझ अर्की सखी ।
‘हुनु या नहुनु एक ठाउँमा तर लिएर जानु आफ्नै सुविधाका लागि भनुम् । चाहिने समान दिएर पठाएपछि ढुक्क भो । दिन पाउँदा एक पटकलाई हात माथि पनि पर्ने भो । त्यसपछि सधैँ केही थाप्न नपरे पनि यतापट्टिको हात तल त हो । एक पटक हात माथि पार्न पाउँदा के कन्जुसाइँ गर्ने ? होइन त हजुर ?’ सखीहरूतर्फ हेरेर हाँस्दै पात गाँसिरहेकी एक आफन्त ।
‘राज गर्छिन् मैयाँले राज, चिन्ता गर्नु पर्दैन,’ सीताको मलिन अनुहार हेरेर प्रशिक्षक दिदी ।
‘काम गर्नू ! काम गरेर मरिन्न । केही परे सहनू, सहेर मरिन्न । सबैको मान–मर्यादा गर्नू ! आफूले त्यहाँबाट, माया–सम्मान भने पाउन सकिन्छ सकिन्न, भाग्य आफ्नो–आफ्नो । कर्तव्य कहिले नछाड्नू !’ त्यहाँमध्ये उमेरले सबैभन्दा पाकीचाहिँबाट ।
उनीहरू एकपछि अर्को बोल्दै जान्छन्– ‘भोजन पाइन्छ । भोक रहन्छ–रहन्न, भन्न सकिन्न । भोक र भोजनको तालमेल रहन पनि सक्छ, नरहन पनि । भाग्यकै कुरा हो । ओछ्यान नरम मिल्छ, तर निद र ओछ्यानको तालमेल मिल्छ–मिल्दैन, सबै–सबै भाग्यकै कुरा,’ सखी ।
‘भाग्यमा लेखी लिएर आएको कुरा नभोगी सुख ?’
‘चिठ्ठा थाहा छ । राफल चिठ्ठा । भाग्य चिठ्ठा क्या ! यो भिसा लाग्नु पनि एकहिसाबले त्यही हो भन्छु म त ।’
‘आहा ! किमती पहिरन । महँगा गहना । हाय हाय ! मेरी सखी यी पनि सबै भाग्यकै कुरा ।’ निधारमा उल्टो हात राख्दै एक ।
एक छिन मौनता ।
‘वैराग्यको पोखरी पनि जम्नुपर्ने हो कि या अथाह उमङ्ग–उल्लासको नदी बनी बग्न कसले जानेको छ र ? सबै कर्मकै खेलो !’
पात गाँस्न सकियो । कुराको पनि बिट मारे, कर्मको भरोसामा ।

उडानका लागि साइत जुराउने जिम्मा पाएका मूल पण्डितले राम्रो दिन–लग्न ठहर्‍याएर आफ्नो कम फत्ते गरिसकेका हुन्छन् ।
अब उडान भर्न बाँकी छ ।
सीताको भिसा लागेपश्चात् असीम खुसी छाएको घरमा, चिन्ता पनि हुन्छ । र, त्यो चिन्ता परेको हुन्छ बाबु–आमाको भागमा ।
करण– टिकट सस्तो छैन । त्यसमाथि बिदाइको खर्च बेग्लै । त्यो त समाधान गरे । बिदा गरी पठाउने दिन सङ्घारमा आइपुग्दा फेरि पिरचिन्ता आकासिएको छ बाबु–आमामा ।
कारण– बन्दोबस्त गर्नेले छोरी जाने ठाउँ अति उत्तम छ त भनेका थिए तर भोगाइमा कस्तो पर्ने हो ? कस्तो हुने हो व्यवहार त्यहाँ ? दुःख नदेखाइएकी–नदेखेकी छोरीले अब काम गरिखान सक्ने हो होइन ?
हुन त एकसरो चित बुझाएर नै भिसा दरखास्त हालिएको हो । भिसा नलाग्दासम्म लागोस् भनेर छटपटाएको पनि हो । देवीदेवता भाकेको पनि हो । बिदा गरी पठाउन त छ, तर सहज कत्ति छैन ।
आमा–बाबु एक–अर्काको अनुहारमा हेर्छन् । दुवैको टिलपिल आँखा बोल्छ मनग्गे । छातीको पीडा लामो सुसेल्छन् । छोरीको आमा–बाबु हुनुमा दुःखद अनुभव पनि गर्छन् यतिबेला ।
‘अब बाँकी छोरी सीताकै भाग्य !’ फेरि त्यस्तै लामो सुस्केरासँगै मन दह्रो पारेर दर्द बिसाउँछ ।
घरकै अनुभवीबाट फेरि छुटपुट शीर्षकमा सिकाउने काम हुन्छ ।
हजुरआमा– ‘सबेरै उठ्नू, सबैभन्दा पहिला !’
सीता– ‘निदले छाडेन, बिउँझिना भने ?’
आमा– ‘आम्मै, त्यसरी कहाँ चल्छ ? हुँदैन । चनाखो भएर कुकुर निद्रा सुत्नुपर्छ ।’
आमाको कुरा चित्त नपरे पनि सीताले जवाफ दिइन, चुपचाप सुनिरही ।
आमाबाट थप– ‘शिर निहुर्‍याएर हिँड्न पर्छ ।’


सीताले सुनिरही । हजुरआमा– ‘यताका हाम्रा कुरा केही गर्नुहुन्न । राम्रा पनि नराम्रा पनि । धेरै जान्ने हुनुहुन्न । तँबाट गल्ती भए, हामी यताको खलकलाई छोएर गाली गर्न पनि सक्छन् उनीहरूले । नबोली सुनिरहनुपर्छ । घरकाले कुरा गरेको बखत जान्ने भएर अघि सरेर बोल्न पनि हुन्न । एउटा मन्त्र जप्नू– गालीले कोही मर्दैन ।’
‘हो, मेरी हजुरआमा, यहाँले सोह्रैआना ठीक भन्नुभो । तथानाम गालीले कोहीलाई सिध्याउने भए मेरी आमा यतिबेला मेरोसामु हुने थिइनन् होला !’ हजुरआमा बोलिरहँदा सीताले आफ्नी आमाको अनुहारतर्फ हेर्छे अनि आफ्नो मनसँग बोल्छे ।
हजुरआमा निरन्तर बोलिरहँदा सीता स्वयम्सँगको भलाकुसारीमा मस्त हुन्छे, ‘मालिकलाई मन पर्‍यो भने सीता, तेरो भिसा लम्बिन सक्छ । स्थायी हुन्छ । होइन भने होस गर्नू सीता, होस ।’


हजुरआमा– ‘तर सहनु ओखती हो । अलिकति सहिदिनुपर्छ । जति सहन सक्यो उति सुमधुर हुन्छ सम्बन्ध । अनि सबै ठीकठाक चल्छ । आफ्नै आमालाई हेर्, आजसम्म चर्को बोलेकी छ कि, हामी कसैलाई मुख फर्काएकी छ कि, कसैको मानमनितोमा कम गरेकी छ कि ? जस्तोसुकै परे पनि मेरी बुहारीको अनुहारमा रिस कहिले देखेकी छस् ? अँध्यारो अनुहार लाएर बसेको भेटेकी छस् ? आज मेरो ज्यानले सकेन भनेको सुनेकी छस् कि ? हो, यस्तै भए हुन्छ, आफ्नी आमाजस्तै हुनू !’
खराब सपनाबाट ब्युँझिएर जुर्मुराएर उठेझैँ सीता एक्कासि उठ्छे र च्याँठ्ठिएर बोल्छे– ‘नाइँ, म जान्नँ म त्यस्तो वर्किङ भिसामा ।’


आमाचाहिँ आत्तिएर– ‘होइन के बतुराउँछे यो ?’
‘म बतुराएकी होइन, होसहवासका साथ बोल्दै छु– म जान्नँ वर्किङ भिसामा ।’
हजुरआमाले आँखा तर्छिन्, ‘के रे ? भिसा रे ? के भिसा रे ?’
‘वर्किङ भिसा’ सीताको जवाफ, हजुरआमाको काननिर– ‘कामदार भिसा’ अझ स्पष्ट पर्छे ।
आमा क्षणमै नम्र भएर– ‘कस्ले कान भर्‍यो, हाम्री ज्ञानीलाई ? अस्ति आएका थिए नि त्यही छँडुलीहरूको काम होला । अर्काका कुरा सुनेर डराउन पर्दैन ।’ आमा एक छिन रोकिएर फेरि– ‘अलिअलि डर त लाग्छ नै । अठ्ठाईस वर्षअघि म पनि माइती छाडेर यस्तै डराई–डराई, रुँदै–रुँदै आएकी थिएँ यो घरमा । यी... जीवन काटेँ त ।’
सीता– ‘जीवन काट्नु र जीवन बाँच्नुमा फरक छ आमा, मेरी आमा । म हजुरले जस्तो जीवन काट्न होइन, जीवन बाँच्न चाहन्छु । त्यसैले त भन्छु– म जान्नँ त्यस्तो भिसामा ।’


भित्रबाट बाबु कौसीमा निस्किन्छन् । शब्दमा केही नभने पनि त्यो अनुहार धेरै कुरा बोलिरहेछ ।
सीता बाबुको सम्मुख पनि अति निडर हुँदै आमातर्फ हेरेर भन्छे– ‘जसरी हजुरबुबाले हजुरआमालाई, बुबाले हजुरलाई लिएर आई यो घरमा घरेलु कामदार बनाउनुभयो आज फेरि उसैगरी, खाने थाली र सुत्ने ओछ्यानसहित मलाई कामदारको रूपमा पठाउन लाग्नु हुँदै छ... हुँदैन आमा हुँदैन, फेरि पनि उही हजुरको जस्तो उही पुनरावृत्ति, उही वर्किङ भिसा हुँदैन ।’
आमा–बाबु एक–अर्काका अनुहार ताक्छन् ।
दुवै मौन ! अति मलिन ।
छोरी सीताको अटल निर्णय– ‘अन्तिम निर्क्योलमा पुगेकी छु । आएका हरसमस्यासँग जुध्दै सहलगानीको पचास–पचास पार्टनरसिपमा काम गर्न इच्छुक छु म । तर जति नै तलब–सुविधा भए पनि सय प्रतिशतको वर्किङ भिसामा जाँदै जान्नँ ।’

नीलम कार्की निहारिका

प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?