काग बाठो कि कोइली ?

कृष्णप्रसाद भुसाल

काग हामी सबैले देखे चिनेको चरा  । घना सहरका टोलदेखि दूरदराजका गाउँसम्म देखिने काग हाम्रै घरबस्ती वरपर बस्न रुचाउने मानिसको नजिकको साथी हो  ।

कागले विभिन्न फोहरहरू खाएर वातावरण सफा राख्ने मात्र होइन, मानिसलाई नचिनेका मान्छे वा जंगली जनावार आए सुरक्षित रहन सचेत गराउने सूचनाबाहक पनि हो ।


कागहरू बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग पनि अनुकूलित बन्दै गएकाले होला नेपाल पन्छी संरक्षण संघको हरेक ६ महिनामा काठमाडौं उपत्यकाका २४ स्थानमा गर्ने सहरी चरा गणनामा अन्य प्रजातिहरू हराउँदै गए पनि काग भने बढ्दै गएका छन् । नेपालमा घरकाग, कालो काग (वनकाग), टेमु, टुंगा र राजाकाग गरी पाँच प्रजातिका काग पाइन्छन् । समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन् र त्यस छेउछाउ मानिस वा अन्य शत्रु जीव पुग्दा रिसाउने, ठुङ्न खोज्ने, आफ्नो परिवारलाई बोलाएर जोडजोडले कराएर धपाउने गर्छन् । कागले अन्य चराहरूलाई सताउने, तर्साउने र आक्रमणसमेत गरी अन्ततः आफ्नो क्षेत्रबाट विस्थापित गराउँछन् ।


कागलाई सबभन्दा बाठो चरा ठानिन्छ । त्यसैले होला हामीहरू अत्यन्तै चतुर मान्छेलाई ‘कागको फूल चोर्ला’ जस्तो भन्छौं । कागका बौद्धिकता र चलाखीका कथा तथा प्रसंगहरू अन्य चराहरूको भन्दा धेरै नै सुनिन्छ । चलनचल्तीमा कागसँग जोडेर धेरैथरी उखानको प्रयोग गर्ने गरिन्छ । यिनैमध्येको एउटा प्रचलित उखान छ– कागभन्दा कोइली बाठो ! हाम्रा पुर्खाहरूले देखेका यी दुई फरक जातका चराहरूको आपसी सम्बन्धको लामो अनुभवका आधारमा नै यसो भनेका होलान् ।


कोइली पनि सुनेकै नाम हो, सुमधुर स्वरको प्रतीक मानिने कोइलीको विभिन्न कुहुकुहु, काफल पाक्यो, बिहु कुहियोजस्ता आवाज वसन्त ऋतुको आगमनसँगै गुन्जिन्छ । कोइलीहरू सुरिलो स्वर, लामो दूरीको बसाइसराइ र आफैं गुँड नबनाउनेजस्ता कारणले चर्चित छन् । जुरे कोइली त अफ्रिका महादेशबाट करिब ५ हजार किलोमिटरभन्दा लामो दूरी पार गर्दै ग्रीष्मयाममा नेपाल भित्रिन्छ । चिनियाँ राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रबाट स्याटेलाइट ट्याग लगाएर छाडिएका दुई कुक्कु कोइली गत वर्ष हजारौं माइल यात्रा गर्दै, दर्जनौं देश र महासागर नाघी अफ्रिकासम्म पुगे । तीमध्ये एउटा पुन चीन फर्कियो भने अर्को अफ्रिकामै घरजम गरी बस्यो ।


अफ्रिका पुगेर फर्किंदासम्म एक वर्षमा १६ देश हुँदै कम्तीमा २७ हजार किलोमिटर यात्रा गरेको स्याटेलाइट ट्यागले पठाएको सूचनामा उल्लेख छ, जुन झन्डै आधा संसारको यात्रा हो । उत्तरी चीनबाट अफ्रिका बसाइसराइ गर्ने कोइली चरीहरूको रोचक यात्राले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जैविक रूपमा जोडिरहेका छन् । कोइलीजस्तो सानो चराले गरेको त्यस्तो साहसिक र जोखिमपूर्ण यात्रा पेरणादायक छ । नेपाल वायुसेवा निगमले पनि आफ्ना केही जहाजमा कोइलीको फोटो र नाम ‘कोइली’ राखेको त छ तर कोइलीकै जस्तो सार्थक यात्रा भने हुन सकिरहेको छैन ।


नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । यिनैमध्येको एक कुहु कोइली हो, जसले कागको गुँडमा अण्डा पार्दिन्छ । तर यो सहजै होइन, बाठो कागले प्रायशः रूखको माथि टुप्पामा गुँड बनाउँछ र निकै सतर्कतासाथ रखवाली गरिरहेको हुन्छ । तर, कोइलीका भाले–पोथी उक्त कागको गुँड वा ओथारोबाट विचलित बनाउने उद्देश्यले उनीहरूको गुँडनजिकै गएर जिस्काउँछन् । काग पनि के कम दुवै भालेपोथी नै मिलेर निकै पर–पर पुग्ने गरी कोइलीलाई लखेट्छन् ।

त्यही बीचमा बढ्दो कुशलतापूर्वक छल्दै पोथी कोइली कागको गुँडमा गएर अण्डा पार्दिन्छ । अनि कागले निकै पर पुग्ने गरी लखेटेको कोइली आउन सक्दैन भनेर फर्किएर गुँडमा जाँदा कोइलीले अण्डा पारी छाडेर गइसकेको हुन्छ । कोइलीको छिट्टै अण्डा पार्न सक्ने विशिष्ट गुण हुन्छ भने अण्डा पनि कागको सँग मिल्दोजुल्दो नै हुन्छ । काग सबै अण्डा आफ्नै ठानेर ओथारो बसी बच्चा कोरली हुर्काउने गर्छ तर अन्तमा त्यो बच्चा कागको नभएर कोइलीको हुन्छ । यसरी कोइलीका बचेरा अर्कैको कोखमा हुर्कन्छन् । बच्चा हुर्केपछि कोइलीले फकाउँदै आफैंसँगै लान्छन् । त्यसैले होला कागका चल्ला कागैतिर, कोइलीका चल्ला कोइलीतिर उखान बनाइएको । कोइलीबाहेक अन्य चराले आफैं गुँड बनाइ, आफ्नै गुँडमा आफैं बच्चा कोरल्ने हुँदा कोइलीलाई स्वार्थी र अरूको श्रममा आश्रित चरा पनि भनिन्छ । तर कागजस्तो चंखलाई पनि छल्न सक्ने भएकाले होला कागभन्दा कोइली बाठो भनिएको ।


केही दिनअघि नेपाल पन्छी संरक्षण संघको चरा अवलोकनमा काठमाडौंको रानीबारी सामुदायिक वनमा पुग्दा कागले कोइलीको बच्चालाई आहार खुवाइरहेको थियो भने कोइलीका माउ नजिकै बसी हेरिरहेका थिए । अन्य प्रजातिका कोइली पनि अण्डा पार्ने बेला खुसुक्क अरू सानातिना चरा जुरेली, धोबिनी, भ्याकुर, फिस्टा, चाचर, तोरीगाँडाजस्ता चराको गुँडमा जान्छन् र त्यहीँ अण्डा पार्छन् । कतिपय अवस्थामा ओथारो बसेको चराले थाहा नपाउन् भनेर चराले पारेको फुल पनि कोइलीले खसालेर फुटाइदिने गर्छ । एउटा गुँडमा एउटा मात्र अण्डा पारिदिने कोइली एक प्रजनन अवधिमा करिब दर्जन अण्डा फरक–फरक गुँडमा पारिदिन्छ ।

यी साना चराहरूको बच्चा कोरलिँदा भने कोइलीका ठूला ठूला बचेरा निस्कन्छन् । हालै मात्र अनिल पौडेलले भक्तपुरमा खिचेको एक तस्बिरमा धोबिनी चरीले आफूभन्दा दोब्बर ठूलो काफल पाक्यो कोइलीको बच्चालाई आहार खुवाउँदै गरेको देखिन्छ । फिस्टे चराले आफूभन्दा तीन गुणा ठूलो खन्चुवा कोइलीलाई सकिनसकी चारा खोजेर खुवाई अत्यन्तै कष्टका साथ हुर्काउने गर्छ । हुर्काउँदै जाँदा निश्चय नै आफ्नो सन्तान होइन भन्ने आभास त ती चराहरूले पाउँछन् होला तर विकसित मातृत्वको भावनात्मक सम्बन्धले बचेरा पूर्ण सक्षम भएर स्वयम् बच्चाले नछाडुन्जेल ख्याल गरिरहेका हुन्छन् । यो नै सम्बन्धप्रतिको बफादारिता बुझाउने जीवनदर्शन हो ।


मधुर स्वरले सबैलाई मन्त्रमुग्ध बनाउने कोइलीको त्यसभित्र लुकेको स्वार्थीपना देख्दा बोली र व्यवहार एकै नहुँदो रहेछ भन्ने बुझ्न सकिन्छ । कोइलीबाट ठगिरहने कागलाई हेर्दा जति नै बाठो र चातुर्यको घमण्ड भए पनि त्यो पूर्णचाहिँ नहुँदो रहेछ । जे होस् सदियौंअघिको वृत्ति विकासको क्रमसँगै विकसित भएको यो सम्बन्ध निरन्तर चलिरहोस् । हाम्रो वरपर काग छन् र त हामी कोइलीको आवाज सुन्न पाएका छौं ।
krishna@birdlifenepal.org

प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिवपुरी चराको पनि

कृष्णप्रसाद भुसाल

काठमाडौँ — २०७२ साल मंसिरको एउटा शनिबार हामी गोदामदेखि चन्द्रागिरि शिरसम्म पुगेका थियौं, जहाँ ८१ प्रजातिका चराचुरुंगी देख्न पाएका थियौं । करिब चार घण्टाको छोटो अवधिमा त्यति धेरै चराका प्रजाति काठमाडौं नजिकै अवलोकन गर्न पाउँदा हामी अत्यन्त उत्साहित थियौं । त्यसै वर्ष गरिएको चरासम्बन्धी अर्को सर्वेक्षणमा चन्द्रागिरि क्षेत्रमा १३७ प्रजातिका चरा अभिलेख गरिएको थियो ।

अवस्था सधैँ त्यस्तो रहेन । चन्द्रागिरिमा केबलकार र अन्य भौतिक संरचनाको निर्माण र मानिसहरूको तीव्र आवतजावतले चरा तथा अन्य वन्यजन्तुको बासस्थान खण्डीकरण र विनाश हुन थाल्यो । त्यसबाट ती असुरक्षित मात्र भएका छैनन्, रातभर झिलीमिली बत्तीका कारण सयौं निशाचर चरा र वन्यजन्तु प्रभावित भइराखेका छन् । आँखैअघिको यो दोहन देखेर होला, मलाई चन्द्रागिरि केबलकारमा पुग्ने रहर कहिल्यै लागेन । यसो भनेर मैले निरपेक्ष विरोध गरेको होइन ।

हामीले पर्यावरणमैत्री व्यवहार, कानुनको पालना र दीर्घकालीन सोचले उपयुक्त स्थानमा परियोजना सञ्चालन गरेका छौं कि छैनौं कि भन्ने हो । यस्तो विकासबाट स्थानीय बासिन्दालाई के प्रभाव पर्‍यो भन्ने हो । आमरूपमा हेर्दा स्थानीय बासिन्दाले वातावरणीय स्वच्छता र पर्यावरणीय सन्तुलन गुमाउनुबाहेक अर्थोक पाएजस्तो देखिएको छैन ।

नेपाल पन्छी संरक्षण संघ र चराहरूको विश्वव्यापी अध्ययन–अनुसन्धान र संरक्षणमा काम गर्ने बर्डलाइफ इन्टरनेसनलले २०६२ मा शिवपुरी–नागार्जुन निकुञ्ज र दक्षिणको फूलचोकी पहाडलाई चरा तथा जैविक विविधताका लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा पहिचान गरेको थियो । विश्वमै दुर्लभ चराहरूको बासस्थान, जैविक विविधताको अध्ययन–अनुसन्धान र वातावरणीय सेवा प्रदानका दृष्टिले महत्त्वपूर्ण तथा परिचित यस्ता क्षेत्र नेपालमा हाल ३७ वटा छन् ।

उपत्यकाको लाइफलाइन मानिने शिवपुरी, नागार्जुन, चन्द्रागिरि र फूलचोकीलाई भने हामीले तत्कालीन लाभका लागि लगातार आक्रमण गरी क्षयीकरण गरिरहेका छौं । यसैको निरन्तरता हो— बहुआयामिक महत्त्वको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, केबलकार र रिसोर्ट सञ्चालन तयारी । यसले दीर्घकालमा पार्ने असरका सम्बन्धमा संरक्षणकर्मी, विषयविज्ञ, सरोकारवाला निकाय र आम समुदायमाझ बहस सिर्जना गरेको छ, जुन स्वाभाविक छ ।

हामी धेरैलाई ख्याल नहुन सक्छ, शिवपुरी– नागार्जुन र फूलचोकीजस्ता महत्त्वपूर्ण जैविक विविधता क्षेत्रमा चरा अवलोकनका लागि मात्र पनि हजारौं विदेशी पर्यटक आउँछन् । नेपाल आउने पर्यटकमध्ये करिब १० प्रतिशतले चरा अवलोकन गर्ने गर्छन् र अधिकांशको रोजाइ काठमाडौं आसपासका यिनै क्षेत्र पर्छन् । त्यस्ता पर्यटक खर्चिला र लामो समय बिताउने खालका हुन्छन् । शिवपुरी–नागार्जुन निकुञ्जमा ३२७ प्रजातिका चरा पाइन्छन्, जसमध्ये ६ प्रजाति विश्वमै दुर्लभ, ४ प्रजाति संकटापन्न र नेपालमा मात्र पाइने काँडे भ्याकुर पर्छन् ।

यीमध्ये एकतिहाइ चरा बसाइँसराइ गरी आउने प्रजाति हुन् । तसर्थ हिउँदमा हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै ग्रीष्मकालीन आगन्तुक पाहुना चराहरूलाई यहाँ देख्न सकिन्छ । शिवपुरी र नार्गाजुन दुवै क्षेत्रमा चरा अवलोकन र प्रकृति पथ प्रदर्शनको तालिम पाएका करिब ३० जना स्थानीय युवाले नेचर गाइडको काम गरेर मासिक २५–३० हजार रुपैयाँ कमाइरहेका छन् । त्यहाँ बन्ने केबलकारले स्थानीय बासिन्दाको पर्यावरणमैत्री यस्तो रोजगारीको प्रवर्द्धन गर्ला ? निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा स्थानीय बासिन्दाले परिकल्पना गरेको प्लास्टिकमुक्त र जंक फुडरहित शिवपुरी त्यहाँ रिसोर्ट सञ्चालनबाट देख्न पाइएला ?

उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै हिउँदयामको बढ्दो जाडो छल्न मंगोलिया क्षेत्रबाट आउने विश्वमै दुर्लभ गोमायु महाचील नेपालको मध्यपहाड हुँदै पूर्व–पश्चिम बसाइँसराइ गर्छ, जुन काठमाडौं उपत्यकामा पनि उल्लेख्य रूपमा देखिन्छ । यहाँ प्रस्तावित केबलकारको संरचनाले यसको उडान मार्ग र विचरणमा अवरोध पुग्न सक्छ । पुराना रूख भएको र मान्छेको आवतजावत एकदमै कम हुने स्थानमा बस्ने चश्मे उलूक शिवपुरीमा पाइन्छ, जुन वनजंगलको स्वास्थ्य र भाग्यको सूचक मानिन्छ । अब यसको अवस्था के होला ?

सन् १९८० को दशकमा शिवपुरी क्षेत्रको रैथाने र उपत्यकामा सहजै देखिने अति संकटापन्न डंगर गिद्ध पछिल्ला दशकमा हराए । फुर्के हाँस, घाउँके हावासिल, तिलहरी चरा र बगाले बगेडी जस्ता दुर्लभ चरा यस क्षेत्रमा देखिन छाडिसकेका छन् । यस्ता योजनाका कारण भविष्यमा अरू थप प्रजाति पनि यसरी नै हराएर जाने निश्चित छ । अन्ततः हामीले प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षणमा गरेका प्रतिबद्धतामै प्रश्न उठ्न सक्छ ।

हामीले टौदहको जैविक अस्तित्व सिध्याइसक्यौं । हाल विश्वबाटै लोप भइसकेको अनुमान गरिएको गुलाफी टाउके हाँस, विश्वमै दुर्लभ कैलो टाउके हाँससँगै हजारौं पाहुना चरा कुनै समय टौदह क्षेत्रमा अभिलेख गरिएका थिए । अहिले पोखरीको सिमेन्टको सिँढी र वरिपरि कटेज बनायौं, तर पाहुना चराहरूलाई सधैंका लागि धपायौं । पछिल्ला दशकहरूमा हाम्रा आत्मकेन्द्रित क्रियाकलापबाट बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नास, अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग जस्ता कारणले थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् । हालसम्म नेपालबाट ८ प्रजातिका चरा लोप भइसकेका छन्, १६७ प्रजातिका चराहरू राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । नेपालमा बासस्थान विनाश नै चराहरूका लागि मुख्य खतरा हो, जसका कारण ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।

समग्रतामा हेर्दा केन्द्रदेखि स्थानीय तहसम्म हामी प्राकृतिक स्रोतको ध्वंस गर्नमै केन्द्रित छौं । प्राकृतिक स्रोत, जैविक विविधता संरक्षण र दिगो उपयोगमा जनसहभागिता, जनचासो, सरोकारवाला निकायहरूको समन्वय, वैज्ञानिक अध्ययन–अनुसन्धानका नतिजा र सुझावभन्दा पनि विशुद्ध व्यावसाहिक हिसाबकिताबमा मात्र केन्द्रित भयौं । राजनीतिक नेतृत्व, नीतिनिर्माता र प्रशासनिक नेतृत्वले सोच्नुपर्ने आगामी पुस्ता, दीर्घकालीन उपलब्धि र सन्तुलित तथा दिगो विकासबारे नै हो । स्थानीय समुदायको सहभागितामा परम्परागत ज्ञानमा आधारित जैविक विविधता संरक्षण र त्यसको सफलता नेपालबाट विश्व संरक्षण समुदायले अनुसरण गर्ने गरेको विषय हो ।

स्थानीय निकायहरू स्वायत्त र शक्तिसम्पन्न भएको वर्तमान अवस्थामा स्थानीय तहले पर्यावरण मैत्री दीर्घकालीन योजना तर्जुमा गर्नुपर्छ । केन्द्र सरकारले पनि नेपाल पक्ष राष्ट्र भएका वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताको मूलप्रभावीकरण र आत्मसात् गर्नु र गराउनु जरुरी छ ।

सर्वोच्च अदालतले २०७२ वैशाख ३ मा फूलचोकीमा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रको पर्यावरण, जैविक विविधता र मानवबस्ती संरक्षणका लागि मार्बल उद्योग बन्द गर्ने फैसला गरेको थियो । तसर्थ त्यस्ता क्षेत्रमा ठूला भौतिक संरचना निर्माणपूर्व नै चिन्तन–मनन गर्न नबिर्सौं ।

प्रकाशित : असार ४, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT