कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रातो बाकससँग यात्रा

मध्याह्न १२ बजे शववाहन बाकसमा कैद विष्णुलाई लिएर एयरपोर्टबाट बाहिरियो । काठमाडौंबाट प्यूठान मच्छी पुग्न ४ सय ७० किलोमिटरको दूरीमा म पनि सँगै जाँदै थिएँ । शववाहनमा दुई भाइ बसे । म सवार गाडीमा विष्णुका भिनाजु केशर ।
शंकर दाहाल

त्यस साँझ लगातार बजेको फोनको घण्टी विष्णुले उठाउन पाएनन्  । दिनभरिको तातो घाममा खटिएका विष्णुलाई के थाहा मरुभूमिको देशमा कहिल्यै नउठ्ने गरी निदाउँछु भनेर ! १२ कल बजेको फोन नउठेपछि सँगैका साथीले छाम्दा पो थाहा पाए विष्णु त सकिएछन्  ।

रातो बाकससँग यात्रा

रोजगारीका लागि १० महिनाअघि कतार पुगेका प्यूठान ओखरकोट मच्छीका २७ वर्षीय विष्णुबहादुर केसीको शव २०७६ जेठ १४ गते बिहान ९ः४५ बजे कतार एयरवेजमा काठमाडौं ओर्लंदै थियो । बिदाइमा हल्लिएका आफन्तका हात त्यस दिन विष्णुको शवले भरिएको बाकस पर्खिरहेका थिए । उनको शवसँगै कतार एयरवेजबाट घर फर्किरहेका नेपाली कामदार उज्यालो अनुहारमा बाहिरिंदै थिए । तर देशलाई रेमिट्यान्स पठाएर गुण लाउनेमध्येका विष्णु भने बाकसमा कैद थिए । शवसँगै आएका रामविलास यादवले एउटा हाते झोला विष्णुको आफन्तलाई सुम्पिए, साथमा ४ हजार २ सय कतारी रियाल पनि ।


मध्याह्न १२ बजे शववाहन बाकसमा कैद विष्णुलाई लिएर एयरपोर्टबाट बाहिरियो । काठमाडौंबाट प्यूठान मच्छी पुग्न ४ सय ७० किलोमिटरको दूरीमा म पनि सँगै जाँदै थिएँ । शववाहनमा दुई भाइहरू बसे । म सवार गाडीमा विष्णुका भिनाजु केशर । जाम छिचोल्दै हामी नागढुंगा पुग्दा शववाहन धादिङ कटिसकेछ । ‘उफ कस्तो हुइँकाएको ?’ केशरले शववाहनमा बसेका भाइलाई फोनमा सजग गराए, ‘बिस्तारै हाँक्न भन्, बिहान मात्र पुग्ने हो, कति उडाएको ?’ सयको गतिमा हामीले पछ्याउँदा पनि शववाहन भेट्न हम्मे परेपछि केशरले दाउन्नेमा रोकिन भने । शव यात्रा भएकाले हामीले औपचारिक कुरा मात्र गर्‍यौं । घरको अवस्थाबारे जिज्ञासा राख्दा केशर विस्मात गर्दै भन्थे, ‘विजोग छ, आमा पाल्ने छोरो गइहाल्यो ।’ फोनमा उनले बाटोको अवस्था अपडेट गर्दै बिहान आइपुग्छौं भन्थे । मध्यरातमा पुगे शव अलपत्र हुने भएकाले पनि बिहान पुग्ने योजना केशरको थियो ।


एयरपोर्टमा भित्रिने शव
दाउन्ने पुग्दा ९ बज्यो । चालक र दुई भाइहरू खाना खाएर हामीलाई पर्खिरहेका थिए । त्यहाँ चिनजान भो शववाहन चालक रामेछाप गोठपानीका रविन श्रेष्ठसँग । उनी छिटो जान हतारिंदै थिए । मैले सोधें, ‘ए भाइ कति कुदाएको ? सँगै जाऊँ न बिस्तारै ।’ हाफ पाइन्ट र पातलो टिसर्ट लगाएका उनले भने, ‘काँ दाइ, अर्को भोलि २ बजे आउँदै छ, अघि फोन आइसक्यो,’ म अवाक भएँ । हामीले एयरपोर्टमा शव लिएर निस्कँदै गर्दा साउदी अरबबाट आएको शव पनि सँगै थियो । ‘भोलि फेरि अर्को ?’ मेरो जिज्ञासामा उनले भने, ‘महिनामा १२ वटासम्म बोक्छु दाइ ।’


रोजगारीका लागि विदेश गएकाहरू यो वर्ष पछिल्लो तथ्यांकअनुसार ६ सय ७० जनाले ज्यान गुमाए । दस वर्षको तथ्यांकमा कम्तीमा ७ हजार युवाको कफिन नेपाल भित्रिएको छ । एक दशकमा मलेसियामा मात्रै २४ सय ९६ र कतारमा १३ सय ६७ जनाको मृत्यु भयो । ती सबै युवाहरू यसैगरी बाकसमा कैद भई नेपाल भित्रिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी एक कर्मचारी बोर्ड कार्यालयलाई घाटको संज्ञा दिन्छिन् । ‘घाटमा काम गरेजस्तो लाग्छ,’ उदेक मान्दै उनले भनिन्, ‘प्रत्येक दिन शव लिन आउनेलाई शववाहनको बन्दोबस्त गर्छौं ।’ श्रम स्वीकृति लिएर दैनिक कम्तीमा ८ सय युवाले नेपाल छाड्छन् । बिनाइजाजत जानेको हिसाब छैन ।

खाना खाइसक्दा रातको १० बज्यो । बाहिर सडकमा विष्णुको शवले हामीलाई पर्खिरहेको थियो ।


शव नम्बर ६,९२१
शववाहनलाई पछ्याइरहँदा मनमा अनेक कुरा खेलिरहे । रातो बन्द बाकस सवार जिपको पछिल्तिर हामी थियौं । रेमिट्यान्स मात्रै नेपाल भित्रिरहेको छैनन् । बन्द बाकस र अंगभंगको विश्लेषण पनि सरकारले गरे हुने । रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा ओगटेको २९ प्रतिशत हिस्साप्रति असमझदारी पनि उत्तिकै छ । कताकता मृतक विष्णुले ‘मेरो मरण यो देशको रेमिट्यान्स होइन’ भनेझैं लाग्थ्यो । त्यसैले त शववाहन चालक भन्दै थिए, ‘कमाउँछु भनेर गएको, ज्यान गुमाउन होइन । मरेर आउँदाको पीडा कसरी भनौं ?’ त्यसो भए विगत एक दशकमा रोगजारी गर्न गएकामध्ये मृत्यु भएका ६,९२१ अंक मात्र होइनन् होला ! बन्द बाकस आउन बन्द कहिले होला ? बाकससँग आउने पीडा परिवारले मात्रै थेग्ने हो त ? देशले भोग्नु पर्दैन ?
नेपाल भित्रिने सयौं कफिन मृत शरीर मात्र होइनन् । देशको सपना र विकासको आधार मरेको हो । सरकारको नीतिकै कारण त युवाहरू बिदेसिन बाध्य छन् । वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कामअन्तर्गत ‘अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने’ भनी उल्लेख गर्दा जनशक्ति पलायनका लागि कानुनकै अग्रसरता देखिन्छ । देशमा रोजगारी उब्जाउने अनेक उपाय छन् । चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्बबराबरको व्यापार घाटा भयो ।


स्वरोजगार र युवा
विष्णुलाई कम्पनीले ३३ हजार रुपैयाँ मासिक तलब दिने सर्तमा लगेको थियो । खाएर जोगाउने झन्डै २० हजार रुपैयाँका लागि उनले ज्यान गुमाए । जवाफदेहिता कसको त ? प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटन गर्दा प्रधानमन्त्री केपी ओलीले बोलेको चर्चित संवाद ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन’ का रचियता को हुन् ? स्वरोजगारको मिथ्या पटकथा लेख्दै गर्दै बिदेसिने युवाहरूको ताँतीको अनुभूत किन भएन ? पासपोर्ट लिन उभिएका विपन्न युवा, श्रम अनुमतिपत्र लिँदै गरेका लर्को र बिदेसिन एयरपोर्ट पुगेका युवालाई सोधौं न, ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले तपाईंलाई किन छोएन ?’ कथानक शैलीमा फिल्मी डाइलग बोलिरहँदा विष्णुहरूको शवले प्रस्टै गिज्याइरहेको छ ।
राति १ बजे दाङको भालुबाङ पुगेपछि केही बेर गाडीमा निदाउने सल्लाह भयो । सडक किनारमा शववाहन थियो । त्यस क्षण निदाउन अनेक प्रयास गर्दा पनि सकिनँ । भोलिपल्ट गाउँ पुग्दाको दृश्य मनभरि नाचिरह्यो । घरमा एक्ली आमा, दाइ छुट्टिएर बसेका । दुई दिदीको बिहे भइसकेको । बुबा ३ वर्षदेखि बेपत्ता । घरमा फोन गर्दा विष्णु भन्थे रे, ‘काम गाह्रो छ, गर्मी धेरै हुन्छ । जे काम पनि गर्नुपर्छ । दुःख छ ।’


विष्णुको रोजगार सम्झौतामा कतारको कम्पनी ग्लोबल लिंक फुड सर्भिस उल्लेख छ । कामदार सप्लाई गर्ने कम्पनी परेकोले कामको ठेगान हुन्न थियो । अग्ला भवन बनाउने काममा खटिँदा आत्तिँदै दिदीलाई फोनमा व्यथा सुनाउँथे ।
झिस्मिसे उज्यालोमा गाउँ पुग्दै गर्दा बाटोभरि गाउँलेहरू विष्णु आउने बाटो हेर्दै थिए । बाँचेर फर्किए पो विष्णुको हालखबर सोध्थे, मरेर फर्किएपछि सायद रमिता न भो । तै समवेदना बोकेर उभिएझैं लाग्थ्यो । मच्छी बजारमा विष्णुकी आमा बसेको घर पुग्दा गाउँलेहरू भेला भइसकेका रैछन् । गाडीबाट विष्णुको मृत शरीर झारेर बाकस खोलेलगत्तै रुवाबासी सुरु भयो । रुँदै आएकी आमाले मृत छोरोको अनुहार छुन खोजिन् ‘मेरो बाबु’ भन्दै तर अचेत भई ढलिन् । शव हेर्नेको घुइँचो लाग्यो । कसैले विष्णुको अनुहारमा अबिर दलिदिए । लगत्तै तल झिमरुक खोलाको घाट लैजाने तयारीमा गाउँलेहरू जुटे ।


‘मच्छीमा यो दोस्रो लास हो’ एक स्थानीयले विरह पोखे, ‘तल दाङतिर त धेरै आइसक्यो ।’ आर्थिक वर्ष २०७४/०७५ मा दाङमा मात्रै २१ वटा शव भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ । शव भित्रिने ७० जिल्लामा ८ सय १८ जनाले विदेशमा रोजगारीका बेला ज्यान गुमाएका छन् । सबैभन्दा बढी मोरङमा ३९, सर्लाहीमा ३५, धनुषामा ३३, सिरहामा २९ र महोत्तरीका २७ जनाको मृत्यु विदेशमा भयो । विगत ४ वर्षदेखि शव बोक्दै आएका रविन भन्छन्, ‘अब जान बाँकी त्यस्तै ८/१० जिल्ला मात्र होलान् । पूर्वका प्रायः सबै जिल्ला गएँ । झापा, मोरङदेखि ताप्लेजुङसम्म र पश्चिममा कैलालीदेखि जाजरकोटसम्म ।’


विदेशमा अलपत्र
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार दैनिक २ जनाको शव नेपाल भित्रिन्छ भने झन्डै ८ सय जनाले दिनहुँ नेपाल छाड्छन् । अंगभंग हुने, विदेशमा बिचल्लीमा पर्ने पनि उत्तिकै छन् । यीमध्ये कतारमा बिचल्ली परेका सुनसरी तरहराका विक्रम गुरुङको कथा अत्यासलाग्दो छ । श्रीमती, नाबालक सन्तान र वृद्धा आमालाई छाडेर २ वर्षअघि कतार गएका उनी ७ महिनासम्म बेखर्ची भए । उनी कार्यरत कम्पनीले झन्डै ५ सय कामदारलाई तलब दिएन । बिनातलब, बिनाकरार झन्डै सय जना कामदार ७ महिनासम्म नारकीय जीवन बिताएर भर्खरै नेपाल फर्किए । ‘साथमा पासपोर्ट थिएन । म्याद गुज्रिएको परिचयपत्र,’ एयरपोर्टबाट बाहिरिदा विक्रमले सुनाए, ‘बाहिर निस्कँदा प्रहरीले फन्दामा परिने डर ।’


विक्रमको परिवारलाई घर खर्च, २ सन्तान हुर्काउने जिम्मेवारी, उनीहरूको पढाइ खर्चले बाँच्नै कठिनको अवस्था । ‘आउने बाटो केहीँ छैन, नानीहरू सानै छन् । श्रीमान्ले पैसा पठाउन छाडेको निकै भयो,’ केही अघि विक्रमकी श्रीमतीले सुनाइन्, ‘उता श्रीमान्को विजोग, एक छाक पाउरोटी र पानी मात्रको सहारा ।’


अलपत्र ५ सय कामदारले झन्डै ३ लाख रुपैयाँ पाएनन् । अनेक बिन्तीपश्चात् कम्पनीले पासपोर्ट दिएपछि नेपालबाट प्लेन टिकटबापतको २७ हजार कतार मगाएर नेपाल फर्किए । तीमध्येका एक धनकुटाका दिलकुमार अर्का पीडित । उनीसँग एकसरो लुगाबाहेक केही छैन । रोचक त के भने, एयरपोर्ट उत्रिएपछि दिलकुमार सिधै रातोपुलस्थित एक म म्यानपावर कम्पनीमा गएँ । साथी मार्फत पुगेका उनले आश्वासन पाए कुवेतका लागि । ‘त्यहाँ बेकरीमा काम छ रे । तर म्यानपावरले एक लाख ३५ हजार भन्छ,’ दिलकुमारले बाध्यता सुनाए, ‘कमाउन गएको छोरो बेखर्ची हुँदा इज्जत हुन्न ।’ उनी जसरी पनि कमाउन विदेश जानुको विकल्प देख्दैनन् ।


हाँसपोसा गाविस
तरहरा साविकको हाँसपोसा गाविसमा खाडी नगएको घर छैन । गाउँमा इलम गर्नुका अतिरिक्त पढ्दै गरेका किशोरहरू पनि विदेशको सपना बुन्छन् । कारण हो गाउँमा भेटिने म्यानपावरका दलाल र साथीभाइका विदेश फुर्ती । गाउँकै एक म्यानपावर सञ्चालकको घरमा काम गर्न राखेको एक किशोरलाई ‘यहाँ राम्रो गरिस् भने तँलाई विदेशमा राम्रो ठाउँमा पठाइदिउँला भनेको छ रे’ मलाई घरमा आमाले सुनाउनुभयो । स्थानीय जनसहयोग माध्यमिक विद्यालयमा मसँग पढेका मेरा साथीहरू २० वर्षअघि नै बिदेसिए । मेरो अनुभवमा त्यतिबेला मेरा साथीहरूले धरान, इटहरीमै कामको अवसर खोजेनन् । मैले स्थानीय बोर्डिङ स्कुल मासिक २५ सय कमाउँदा साथीहरू मलेसिया, साउदी अरब र कतार पुगिसकेका थिए । दुई दशकमा केही साथीले पक्की घर बनाए, केही अहिले पनि विदेशमै भौतारिरहेका छन् । फर्किएकाले तरहरामै केही इलम सुरु गरे ।


विदेशमा राम्रो ठाउँ, राम्रो काम भनेको के हो ? न सीप छ, न पढाइ गतिलो, न त्यहाँको भाषा नै जानेको छ । ज्यामी काम गर्न मासिक २०/२५ हजार कमाउन युवाहरू किन हाम फाल्छन् ? त्यहाँ १६ घण्टासम्म काम गर्नसक्ने नेपालीले नेपालमा किन काम गर्दैनन् ?
‘नेपालमा बसेर के गर्ने ? विदेशमा गए कमाएर आइन्छ,’ शववाहनमा सवार विष्णुका भाञ्जा सागर केसी भन्छन्, ‘सबैलाई नराम्रो कहाँ हुन्छ र !’ गौमुखी ठूलाबेंसी प्यूठानमा जिप चलाउने २२ वर्षीय सागरको मनोविज्ञान वैदेशिक रोजगारमा अडिएको छ । उनले सुनाए, ‘टिपर चलाउने सोच छ, पासपोर्ट पनि बनाउँदै छु ।’ सोचमग्न भएँ । साथमा विदेशमा मृत्यु भएका मामाको शव छ । तथापि विदेशको विरहलाई सागरले बुझ्न सकेका छैनन् ।


साविकको हाँसपोसाकै नियति बोकेका गाउँमध्येमा पर्छ महोत्तरीको भ्रमपुरा । जनकपुरबाट १५ किलोमिटर पश्चिम । भ्रमपुरामा घरलौरी बिदेसिएका छन् । हिन्दु र मुस्मिल समुदाय बस्ने भ्रमपुरामा आम्दानीको स्रोत वैदेशिक रोजगार नै हो । गाउँमा कोही युवा भेटिए कि त उनीहरू छुट्टीमा आएका हुन्छन् वा उनीहरू भिसाको पर्खाइमा छन् । गाउँमा भेटिएका वैजनाथ ठाकुर ७ वर्ष साउदी अरब बसेर २ महिनाअघि नेपाल फर्किए । ४२ वर्षीय ठाकुर दुबई जाने पर्खाइमा छन् । गाउँका सबै जनाको रोजाइ वैदेशिक रोजगारी नै किन त ? मुस्कुराउँदै ठाकुर भन्छन्, ‘यहाँ केही काम नै छैन,’ उनको बोलीमा बाध्यता मिसिएको थियो, ‘विदेश नगई परिवार कसरी पाल्नु !’


आर्थिक सहयोग
विदेशमा मृत्यु भएकाको परिवारलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ७ लाख रुपैयाँ आर्थिक सहयोग गर्छ । बिमा अवधिभित्र मृत्यु भए थप १५ लाखसम्म पाउँछन् परिवारले । बोर्डको तथ्यांकले एक दशकमा एक अर्ब ६७ करोड ८४ लाख ८४ हजार रुपैयाँ मृतकका परिवारलाई आर्थिक सहयोग गरेको उल्लेख छ । बोर्डले विभिन्न शीर्षकमा कामदार तथा परिवारलाई दिएको सहायता रकम भने २ अर्ब अढाई करोड नाघिसकेको छ ।


बिदेसिने युवाहरूको ताँतीले श्रम बजारका लागि हामी अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन थाल्यौं भन्ने प्रस्ट हुन थाल्यो । आजको विश्वमा जोकोही पनि बिदेसिन सक्छ, रोजगारीका लागि जहाँ जान पनि छुट छ । तर राज्यको नीतिकै कारण यदि विष्णुहरू बाहिरिरहेका छन् । जसको पृष्ठभूमिमा सरकार मुलुक समृद्ध बनाउने सपनामा जुटिरहेको छ । जनशक्तिबिना विकासका काम गर्न कसरी सम्भव होला ?


स्मरण गरौं, २०७२ सालको महाभूकम्पपश्चात् पुननिर्माण गर्न देशमा जनशक्तिको अभाव भएकाले पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख गोविन्दराज पोखरेलले बिदेसिने युवालाई कम्तीमा ३ महिना रोजगारीमा लगाउने उपाय निकालेका थिए । तसर्थ राज्यको नीति अन्तर्राष्ट्रिय श्रम बजारका अतिरिक्त रोजगारीको अवसर सिर्जना गर्नेतर्फ उन्मुख आजको आवश्यकता हो ।


विदेशमा प्राकृतिक मृत्यु
विष्णुको मृत्युको कारण ‘मुटुले काम नगरी प्राकृतिक कारण’ बाट भएको भनी कतारको पब्लिक हेल्थ विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ । ‘प्राकृतिक कारण’ को अर्थ के ? विदेशमा मृत्युबारे टिप्पणी गर्दा अधिकांश भन्छन्, ‘दिनभरि ५० डिग्रीको घाम र कोठामा एसीको चिसोमा निदाउँदा तातो र चिसोको सन्तुलन नमिलेर ।’


कतारमा नेपालीसहित बीस लाख आप्रवासी कामदार छन् । तापक्रमसँग जुध्न नसकेर नै सुतेको ठाउँमा मुटुको गति बन्द भएको हो त ? आजसम्म मृत्युको कारणलाई ‘प्राकृतिक’ भन्दै आएको कतारले वास्तविक कारण भन्दैन । न यसबारे सूचना माग्ने अधिकार नै छ । विष्णुको शव पोस्टमोर्टम नै नगरी कसरी ‘प्राकृतिक कारण’ पहिचान गरियो ? रोजगारीमा जाँदा गरिएको स्वास्थ्य जाँचमा उनी फिट थिए । के कारणले सुतेको ठाउँमा कामदारको मृत्यु भइरहेको छ ? आजसम्म नेपाल सरकारले कतारसँग यसबारे बुझ्ने जाँगर देखाएको छैन । त्यहाँको नेपाली दूतावासले पनि यसबारे अनभिज्ञ रहेको थाहा
नभएरै हो ?

शंकर दाहाल
विष्णुहरू सकुशल आउनुपर्छ, भो रेमिट्यान्स चाहिएन !
twitter.com/Dahal_Shankar

प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?