कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

३४ इन्च 'डी'

शिवानीसिंह थारू

आज म जिन्दगीको पत्रैपत्रमा लुकाइराखेको अन्तरकुन्तर खोल्न जाँदै छु । जुन अन्तरकुन्तर मैले आफैंसित गुटमुटाएकी छु । जसलाई यदाकदा फुकाएर सोच्दा म लाज, घीन र रोषले भरिन्छु । अहिले आएर थकथकाउँछु । मैले पहिल्यै आमालाई भनेको भए हुन्थ्यो । मेरा बहिनी वा दिदीहरूलाई नै भनेको भए हुन्थ्यो । नभए मेरा साथीहरूलाई भनेको भए पनि हुन्थ्यो ।

३४ इन्च 'डी'

कम से कम मसित जोडिन पुगेका पूर्वप्रेमीलाई नै भनेको भए हुन्थ्यो । कालकदा तिनीहरू छोरीका बाबु बन्दा बाबु–छोरीको संवादलाई प्रोत्साहित गर्दा हुन् । तर मैले कसैलाई भनिनँ, भन्न सकिनँ । किनभने यस्ता कुरा भन्नु हुँदैन भनेर हामीलाई चुप लगाइएको छ । भन्दा ‘लाज हुन्छ’ भनेर पहिल्यै सजाय तोकिएको छ ।


तर आज म उघ्रिन जाँदै छु । छताछुल्ल हुन जाँदै छु । यसरी छताछुल्ल हुनु भनेको पोखिनु होइन । निख्रिनु हो । आजाद हुनु हो ।
यो अनुभूति आफ्ना अंग बचाउँदै हिंडिरहेका महिलामा समर्पित । र, त्यसबाट मुक्ति पाउने प्रयत्नमा समर्पित । यो अनुभूति उन्मुक्त हुन नपाएका शारीरिक अंगमा समर्पित । ३४ इन्च ‘डी’ । अर्थात् छाती ३४ इन्च र स्तनको घेरा कप ‘डी’ । यो मेरो स्तनको नाप हो । शरीरमा मेरो छातीको क्षेत्रफल । यो नाप म पूरापूर तन्नेरी हुँदा पूर्ण भएको हो । स्तनजनित भोगाइ म ३४ इन्च कप ‘डी’ भएपछि सुरु भएको होइन । जबदेखि यसको ‘एकादेशमा...’ सुरु भयो, तबैबाट भएको ।

कक्षा तीन पढ्दादेखि मेरो छाती टुसुक–टुसुक टुसाउन थाल्यो । मेरा चिचिला देखिन सुरु हुँदा ममा कुनै ग्लानि वा लज्जाबोध थिएन । झिझ्याहट मलाई एउटै कुराको हुन्थ्यो । आमाले भित्रबाट समिज लगाउन करकर गर्नुहुन्थ्यो । लुगामाथि लुगा खापेर लगाउन मलाई मन पर्दैन्थ्यो (अहिले पनि पर्दैन)। तराईमा जन्मेको मान्छे । जेठको घाम खाएको र चैतको बयारमा बयेलिएको शरीर न पर्‍यो । धेरै पानी खेलाउनुपर्ने र पातलो लुगा लगाउन मन पराउने ‘फितरत’ नै बन्यो । झन् त्यतिबेला नेपालगन्जबाट काठमान्डु आएको मात्र दुई वर्ष भएको थियो । त्यसैले भित्रबाट समिज लगाउन अटेरी गर्दा आमाले छाती देखियो भनेर हकार्नुहुन्थ्यो । मनमनै देखियो त के भयो भन्ने हुन्थ्यो । भए पनि समिजचाहिं लगाउन थालियो ।


जब कक्षा पाँचमा पुगेँ मेरो छाती झन्झन् चुचुरिन थाल्यो । अरू साथीहरूका दाँजोमा मेरो छाती असामान्य तरिकाले बढेको थियो । मलाई के थाहा यो खान्दानी वरदान हो । तर त्यतिबेला मलाई त यो श्रापजस्तै लाग्दै थियो । यही वर्षबाट मलाई छात्रावासमा राखिदिने भए । यो छात्रावास स्कुलले खोलेको थिएन । बाहिरका शिक्षकशिक्षिकाहरू मिलेर खोलेका थिए । हाम्रो स्कुलका छात्राहरू पनि बस्ने भएकाले मलाई राखिन लागिएको थियो । अनि म खुरुखुरु बस्न मानें । तर बसेको केही महिनापछि ममाथि जे भयो, त्यसले सदाको लागि म फेरिएँ । त्यतिबेला नेपाल टेलिभिजनको जगजगी थियो ।

हामीलाई ‘बार्बापापा’ कार्टुन खुब मन पर्थ्यो । जुन नेपाली समाचारभन्दा पहिले आउँथ्यो । हाम्रा सिनियरहरूलाई ‘नाइट राइडर’, ‘फल्टी टावर्स’ जस्ता सिरियल मन पर्थ्यो, जुन आठ बजेको नेपाली समाचारपछि आउँथ्यो । त्यसमध्ये एउटा बेलायती ‘साइफाई’ सिरियलको निकै चर्चा हुन्थ्यो । ‘डाक्टर हुँ’ । अजिबोगरिब वैज्ञानिक ‘डाक्टर हुँ’ को पात्रले सबैको ध्यान तानेको थियो । केही नबुझे पनि मलाई नि हेर्न तलतल लाग्थ्यो । त्यसको पार्श्व संगीत मलाई डरलाग्दो लाग्थ्यो । र त्यसले ममा एक किसिमको रोमाञ्चकता भर्थ्यो ।


त्यस्तै एउटा शुक्रबार थियो । ‘डाक्टर हुँ’ प्रसारण हुने दिन । होमवर्क चाँडो सक्काउनेले ‘बार्बापापा’ देखि ‘डाक्टर हुँ’ सम्मको कार्यक्रम हेर्न पाउने प्रस्ताव ल्याइएको थियो । म कस्सिएँ । ख्वाइँख्वाइँ पारेर होमवर्क सकेँ । नभन्दै सबैलाई उछिनेछु ।
मैले टीभी कोठामा जान अनुमति पाएँ, जुन शिक्षकशिक्षिका बस्ने भवनमा थियो । स्टडी हलबाट म ‘बार्बापापा’ को शीर्षक गीत गाउँदै टीभी कोठामा पुगेँ । कोठामा टीभी चलिरहेको थियो ।

टीभी हेर्दै बसेका थिए हाम्रा नृत्य सिकाउने शिक्षक । तिनी छात्रावासको म्याडमका श्रीमान् थिए । कोठामा भएको एक मात्र कुर्सीमा तिनी बसेका थिए । टीभी हेर्न पाउने ‘ज्ञानी’ छात्राहरूका लागि भुइँमा दरी बिछ्याइएको थियो । म पुग्दा त्यहाँ कोही थिएन । म थपक्क गएर दरीमा बसेँ । ती सर फरासिला थिए । के–के भन्दै छात्राहरूलाई हँसाइरहन्थे । स्कुल र छात्रावासमा कडा अनुशासन थियो । फरासिला शिक्षक विरलै हुने गर्थे । त्यसकारण त्यस्ता शिक्षकसित विद्यार्थीहरू झ्याम्मिहाल्थे । कोठामा सर र म मात्र भए पनि तिनीसित रमाउँदै बसेकी थिएँ । ठट्टैठट्टामा सरले मलाई आफूनिर बोलाए । उठेर म उनको कुर्सीनिर गएँ ।


सरले मेरो ढाडमा ढ्याप्प पारेर हात राखे र आफूतिर ताने । म उनको शरीरमै ढेप्पिन पुगें । त्यसपछि उनले मेरो टिसर्ट माथिबाट हात पसाले । अनि मेरो छाती माड्न थाले । मलाई असाध्यै पीडा भयो । ‘के गर्‍या सर ?’ भन्दै म आफूलाई छुटाउन खोजें । तर उनी चुपचाप छाती माडिरहे । म उनको बलियो पकडमा ‘प्लिज...प्लिज’ भन्दै छटपटाइरहें । तर उनले मलाई छाडेनन् । म रुन थालेपछि उनलाई टीभी कोठामा कोही आउन लागेजस्तो लाग्यो । अनि बल्ल उनले मलाई छाडे ।


मुटु ढुकढुकाउँदै म दरीको पुछारतिर बस्न पुगें । टाउको निहुराएको निहुरायै म त्यत्तिकै बसिरहें । अरू छात्राहरू पनि कोठामा आउन थाले । हेर्दाहेर्दै होमवर्क सक्काएर आउने छात्राहरूले कोठा भरिन थाल्यो । तर कसैले मतिर याद गरेन । तर्सिएको, निन्याउरो अनुहार लगाएको म, लाजले घोप्टिरहें । मानौं यो घृणित कार्य सबैले देखेका हुन् । र यो घटित हुनुमा मेरो पनि उत्तिकै दोष छ । त्यहाँ बसुन्जेल मैले टीभीतिर हेरिनँ । न हेर्न सकें कुर्सीमा ‘सर’ भई बसेका ती दुराचारीलाई । तिनीचाहिं केही नभएझैं सबैसित ट्याउँट्याउँ बोलिरहे । उनको सहजपना देखेर म भ्रमित भएँ । गलत हो कि सामान्य, ठम्याउन सकिनँ । तर मलाई दिगमिग किन लाग्यो त ? बुझ्न सकिनँ । त्यस रात मेरो निमोठिएको छाती कोल्टो फेर्दावर्दा चस्किन्थ्यो । म आफ्नो हात त्यता लाग्नबाट बचाउँथें । हात लाग्नेबित्तिकै म झस्किन्थे । मलाई मेरो हात सरकै झैं लाग्न थालेको थियो । जत्ति चस्के पनि जत्ति झस्के पनि मैले मेरो स्तनलाई एक पटक पनि हेरिनँ । मलाई घीन लागेर आयो ।


त्यसपछि मलाई होमवर्क छिटो सक्काउने हतार कहिले भएन । अरू टीभी हेर्न जाँदा मचाहिं डोरमेटरीमा गएर जोहाना स्पाइरीको ‘हाइडी’ का कथाहरू पढ्न थालें । तर त्यो घटना भएको एक हप्तासम्म म आफूदेखि घिनाउँदै बसेकी थिएँ । सरलाई देख्दा नि सिकसिक लाग्थ्यो । उनी आइरहेको देख्दा म टाढैबाट आफ्नो बाटो फेर्थें । उनको म्याडमलाई देख्दा भन्दिऊँझैं लाग्थ्यो । यस्तो विचार मात्रले पनि मेरो धक खुम्चिएर आउँथ्यो । पढ्न बस्दा मनमा कुरा खेल्थ्यो । म साथीहरूलाई हेर्थें । उनीहरू निमग्न पढिरहेका हुन्थे । उनीहरूलाई मलाई जस्तो भएको छैन र भविष्यमा हुनेवाला पनि छैन भन्ने लाग्थ्यो । कारण तिनका स्तन मेराभन्दा स्यानस्याना थिए । म उनीहरूभन्दा फरक छु । उनीहरू चोखा छन् र म गिजोलिएकी छु ! मलाई हीनताबोध हुन थाल्यो । यतिन्जेलसम्म मेरो मासिक धर्म सुरु पनि भएको थिएन । बालिकाबाट किशोरी हुनुअगावै मेरो मनस्थिति जेल्लिसकेको थियो ।


छात्रावासका दुइटा भवन थिए । ती दुईलाई जोड्ने डोरो जत्रो गल्ली थियो बीचमा । दुई जना पास हुन परेमा दुवैले छड्केछड्के हिंड्नुपर्थ्यो । त्यो घटनाको हप्ता दिनपछि एक दिन म त्यही गल्लीबाट पास हुँदै थिएँ । झवास्स सरलाई पनि आइरहेको देखें । गल्लीको बीचमै म अड्किन पुगें । फर्केर जाऊँ निकै पर आइसकेको छु, अगाडि भागूँ ठाउँ थिएन । म ठाउँको ठाउँ अडिएँ । उनी केही नबोली सरासर आए । डरले म कक्रक्क परें । निरुपाय मैले छातीलाई पाखुराले बेस्सरी थिचें, ढाड आफ से आफ कुप्रियो । त्यसपछि म कोल्टो फर्केर उभिरहें । उनी नजिक आए । उनका आँखा नाचिरहेका थिए । उनले मेरो स्तनतिर आँखा लगे । मुस्कुराए । उनको मुस्कानमा मैले र्‍याल र सिँगान देखें । दिगमिगाउँदै उनीबाट मैले नजर हटाएँ । उनले लामो सास भरे र जोडसित सास फ्याँक्दै पास भए । उनको वासना मेरो अनुहारलाई छोएर गयो ।


त्यसको गन्ध मैले आजसम्म पनि बिर्सेकी छैन । कहिलेकाहीं छेउबाट कोही पास हुँदा त्यस्तै गन्ध आउँछ । सासमा सुपारीको गन्ध र शरीरबाट गुलियो बसाउने बडी स्प्रेको हस्को । म आफ्नो सास थुनिहाल्छु । यो गन्धले आज पनि वाकवाकी लाग्छ ।
त्यस दिन आफूलाई बचाउन ढुंगासरी बनाएको शरीर सधैंका लागि अख्रक्क पर्‍यो । निकै नजिकबाट लोग्नेमान्छे पास भइराखेको छ भने मेरो शरीर त्यही मुद्रामा कक्रिन थाल्यो । हात अगाडि ल्याई पाखुराले छेल्यो, ढाड हल्का कुप्रायो र थोरै छड्के उभियो । हुँदाहुँदा सामुन्नेको केटा आफूसित बोल्दा उसका आँखा मेरा स्तनतिर चिप्लियो भने पनि मेरो शारीरिक मुद्रा त्यही हुन थाल्यो । यसो गर्दागर्दै म त कुप्रिन थालेछु । सानीआमाहरूले टक्कै याद गरे । यो त कुप्रिँदै गएकी छ भन्न थाले । अनि मलाई ढाड सोझ्याउन हकारिरहे । उनीहरू अगाडि पर्दा ढाड तन्काउँथे । तर त्यो बिस्तारै ‘डिफल्ट’ मा आइहाल्थ्यो । मानसिक रूपमै कुप्रिएको ढाड के गरी सोझियोस् !


यौन दुर्व्यवहार मैले आफैंमाथि खेपेको मात्र होइन । एसएलसी पास नहुँदै दुईदुई पटक त्यसको साक्षी पनि हुनुपर्‍यो । पाटनको मंगलबजारबाट म र मेरी साथी हिंड्दै आइरहेका थियौं । ठ्याक्कै मदन स्मारक स्कुल कटेपछि मेरी साथी एक्कासि चिच्याई र भुइँमा थचक्क बसी । अत्तालिएर मैले के भयो भनी सोधें । ऊ केही नभनी टुक्रुक्क बसेको बसै भई । मैले धेरैपल्ट झक्झक्याएपछि बल्ल ऊ बोली । अघिन उताबाट हिँड्दै आइरहेको मान्छे हाम्रो छेउबाट पास हुँदा उसको स्तन च्याप्प समाइदिएछ । रिसले मैले पछाडि फर्केर हेरें । कसैलाई देखिनँ । पछ्याउँदै गएर लात्तीले ढाडमा भकुर्न धेरै ढिला भइसकेको थियो ।


अर्को एक साँझ आमा र म झम्सिखेलमा हिंडिरहेका थियौं । एक्कासि आमा जोडले कराउनुभयो । र पछाडि फर्केर पास भएको साइकलवाललाई बेस्सरी गाली गर्नुभयो । मैले के भयो भनी सोध्दा भन्नुभयो । साइकलवालाले आमाको स्तन छोएर गएछ । त्यसपछि आमाले मलाई सधैं बाहिर जाँदा भन्नुहुन्छ, ‘अगाडि छोप् । खुकुलो लुगा लगा ।’ यति भएपछि म आजीवन रक्षात्मक स्थितिमा हिंड्ने भएँ । त्यसैले मेरो शरीरको ढाँचा नै बिग्रियो । फोटाहरूमा हेर्नुपर्छ । छाती गह्रुङ्गिएझैं कुम हल्का झुकेकै हुन्छ । अझ पनि म स्तनतिर आँखा चिप्ल्याउने सोमतहीन आँखाहरूले छोइन्छु । फरक यत्ति छ पहिला म आफ्नो छातीलाई छोप्न निकै यत्न गर्थें । स्कार्फले, सलले, ह्वाङ्लाङे सर्ट आदिले । तर अहिले म उन्मुक्त भएर हिंड्छु । यसको कारण जिन्दगीले चिमोटेर गएको एउटा सत्यले हो, जुन म पुछारमा भन्नेछु ।


म लोग्नेमान्छेसित तर्किन थालें । बाहिरकाहरू अविश्वासिला त्यसै पनि भइहाले । घरमा दाइहरूले स्नेहपूर्वक अँगालो हाल्दा पनि म झस्किन थालें । बुबाले माया गरेर निधार चुम्दा कसोकसो लाग्न थाल्यो । सबै लोग्नेमान्छेप्रति म सशंकित हुन थालें ।


छात्रावासमा म पाँच वर्ष बसुन्जेल त्यो सरको नजिक परिनँ । छात्रावासमै ठूली हुँदै गर्दा बरु उनलाई हेपेर बोल्न थालें । उनलाई मैले कहिले ‘गुड मर्निङ’ वा ‘गुड आफ्टरनुन’ ले अभिवादन गरिनँ, जुन हाम्रालागि अनिवार्य हुने गर्थ्यो । बस्दै गर्दा त्यहाँ अरू छात्राहरूले पनि त्यस्तै दुर्व्यवहार खपे । भित्रभित्रै गाइँगुइँ भयो । प्रायःले आफ्ना कुरा एकअर्कासित बाँडे । तर मैले कहिल्यै मुख खोलिनँ । केवल आफ्नो अस्वाभाविक स्तनमाथि दोष थुपारेर बसिरहें । किनभने मैले मेरो स्तनसित घृणा गर्न लागिसकेछु । र मेरो यो घृणा झन्झन् बढ्दै गयो ।


पालो आयो नेपाल टेलिभिजनमा प्रस्तोताको रूपमा काम गर्न थाल्दाको । टेलिभिजनमा मैले भर्खर काम सुरु गरेकी थिएँ । सुटिङको दिन थियो । म माइक लिएर क्यामेराको अगाडि ठिक्क परेकी थिएँ । क्यामेराम्यानले फ्रेम मिलाइरहेका थिए । यही बेला उनले मतिर आँखीभौं टेढो पारेर हेरे । के भयो दाइ ? मैले सोधें । उनले एउटा कुरा छ भने र मलाई छेउतिर लगे । फ्रेममा के नमिलेको होला भन्ठानेर म उनको पछि लागें । त्यसपछि उनले ‘माइन्ड नगर है’ भन्दै भन्न थाले । ‘तिम्रो जीउ स्यानो तर छाती मात्र किन यत्रो ?’

म अवाक भएँ । यो प्रश्न थिएन । प्रश्नको रूपमा छेडखानी थियो । निरीह अनुहार लगाएर म कताकता हेर्न थालें । म नसम्हालिँदै उनले अर्को टिप्पणीले टोक्से । ‘थरूनीहरूको यस्तै भएर चोली लगाउँदा छोउँछोउँ लाग्दो हुन्छ है !’ मेरो स्तनलाई तिनले जातसित जोड्न खोजे । अहिले भएको भए जतिवटा उमेर खाएकी छु त्यति नै थप्पड तिनको चित्तमा डाम्थें होला । तर त्यतिबेला आत्मविश्वासले खारिन बाँकी म, साह्रो लज्जित भएँ । अपमानले मुखभरि पित्त भरिएर आयो । तीतो घुँट घुटुक्क निल्दै ‘खोइ ?’ भन्दै उम्कें । अनि क्यामेराअघि आफ्नो निच मारेर कार्यक्रम चलाउन थालें । भित्रभित्र मलाई आफ्नो छाती भारी लाग्दै आयो ।


टेलिभिजनमा अर्का थिए खलखली पसिना निकाल्ने पुड्को क्यामेराम्यान । छेउमा आई उभिन्थें र आफ्ना पाखुराले मेरो छाती छुन खोज्थें । ‘के गरेको ?’ सातो जानेगरी एक दिन कराएपछि उनको र मेरो बोलचाल बन्द भयो । धेरैपछि सूची दाइ हाम्रो टिममा आएपछि बल्ल ढुक्क हुन थाले । अर्का एकजना प्रसिद्ध हास्य कलाकार उस्तै बेसोमती रहेछन् । २०५९ सालको गाईजात्रा वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा भइराखेको थियो । मैले उद्घोषण गर्दै थिएँ । मञ्चमा प्रहसन चलिरहेको थियो । हामीहरू ह्विङमा बसेर पालो पर्खिरहेका थियौं । तिनी त्यहाँ गफिँदै बसेका थिए । कुरैकुरामा उनले मलाई सोधे । ‘तिम्रो ब्राको साइज कति हो ?’ मेरो छेउको नृत्यांगना बहिनी सन्न भइन् । मचाहिं नसुनेझैं गरी मञ्चतिर फर्केर उभिरहें । गतिछाडाहरूको छिल्याइँ सुन्यो, अर्को दिशातिर मुख फर्कायो ! बास् । अर्थात् जिन्दगीको यो विन्दुसम्म आइसक्दा म त आपत्तिजनक छेडखानीहरू पचाउन थालेछु ।


अब यी अनुभूतिहरूबाट एक पाइलापछि सह्रौं र केलाऔं । कलिलै हुँदा आफ्नो छाती माडिनुमा मैले आफेनो छातीलाई दोषी किन देखें ? माडिएको छाती सुम्सुमाउनुको सट्टा त्यसैलाई घृणा गर्दै बस्नु आफूलाई दोषी देख्नु हो । के यो स्यानैमा छोरीमान्छे भएर बचेर हिंड्नुपर्छ भनेर दिमागमा भरिदिएको उपज हैन ? त्यसैले मेरो छाती माडिनुमा मैले बच्न नजानेर हो भन्दै आफैंलाई दोषी किटेको होइन त ?


त्यसपछि वयस्क हुँदा स्तन लक्षित छेडखानीलाई मैले स्वाभाविक रूपमा किन लिएँ ? र त्यो बिस्तारै मेरो मानसिकतालाई किन पच्दै गयो ? के यो समाजको संस्कारजन्य व्यवहारमा अभ्यस्त भएको होइन र ?


हिंस्रक आँखासित जुध्नुको सट्टा उल्टै आफूलाई छोपछाप पारेर किन हिँडें ? आफू यौन दुर्व्यवहारमा परें मैले कस्तो लुगा लगाएकी थिएँ भन्ने प्रश्नबाट बच्न होइन ?
यी सबैको उत्तर – हो ! हो !! र हो !!! नै ।


त्यसो भए हामी कहिलेसम्म ‘बच्दै’ हिंड्ने ? जबसम्म प्रत्येक छोरीमान्छेले मार्सल आर्ट सिक्दैनन् ? (अहिले त झन् हरेक दिन पाँच जना महिला बलात्कृत भइराखेको प्रहरी आँकडाहरूले देखाइरहेका छन् ।)


मलाई थाहा छैन समाजले ‘टेस्टोसटेरोन’ युक्त संस्कारमा हुर्काएका छोरामान्छेहरू कहिले सभ्य र मानवीय बन्ने हुन् । मचाहिं अब आफूलाई बचाउन आफ्नो शरीरलाई खुम्च्याएर हिंड्दिनँ । यो संसारमा मेरो भागको धर्ती र हावामा फैलिएर हिंड्नेछु । म मेरो ३४ डी सानले अग्लाएर हिंड्नेछु । यो मेरो अस्तित्वको अग्लाइ हो ! मान हो । जब आफूलाई बचाउँदै हिँड्नु छ भने शरीर तन्काएरै किन नलड्ने । पीडित मानसिकतामा आधा मासु भएर किन हार्ने । यसले हामीलाई ‘रियाक्टिभ’ हैन ‘प्रोएक्टिभ’ हुन जागा राख्छ । त्यसैले सबैले मनलाग्दो टिप्पणी गर्ने मेरो अंगमाथि मैले गर्व गर्न थालेकी छु । आफैंले गुनासो भरिएका आँखाले हेर्ने मेरो अंगलाई मैले प्रेम गर्न थालेकी छु ।


तर यो चेत मलाई तबै मात्र आयो जब जिन्दगीको ‘फर्स्ट एक्ट’ सक्किसकेको थियो । र ‘सेकेन्ड एक्ट’ को सुरुआतले जिन्दगीको ‘थर्ड एक्ट’ सम्म नपुगिने संकेत दिँदै थियो । २०७३ साल भदौको एक दिन । बिहानीपख उठ्ने तरखरमा ओछ्यानमै जीउ यताउति तन्काउँदै थिएँ । यही उपक्रममा छातीमा हात पुग्यो । म झसंग भएँ । दाहिने स्तनको जरामा मैले गाँठोको स्पर्श पाएँ । पहिला मलाई लाग्यो यो स्तनकै गिल्टागिल्टी हो । त्यसपछि लाग्यो कतै यो मेरो भ्रम त होइन । यो हो कि त्यो होमा मैले निकै बेर गाँठोलाई छामिरहें । जति छाम्यो त्यति गाँठो ठूलो हुँदै आएजस्तो लाग्यो ।


भोलिपल्ट म ब्रेस्ट सर्जिकल अन्कोलोजिस्टकहाँ गएँ । स्तन खोलेर देखाउनुपर्ने भएकाले म महिला डाक्टरकहाँ पुगेकी थिएँ ।
क्लिनिकको बेडमा सुताएपछि डाक्टरले मेरो स्तन छाम्न थालिन् । मेरो गाँठो भएको ठाउँमा उनले छामिरहँदा उनको अनुहार हेरिरहें । केही बेर छामिसकेपछि उनी गम्भीर भइन् । र भनिन्, ‘गाँठो ठूलो छ ।’


उनको अनुहारले ननिको संकेत दिइराखेको थियो । मैले हतास भएर सोधें, ‘क्यान्सर हो ?’
यसरी सोध्दा उनले मलाई नआत्तिन भनिन् । र मलाई अल्ट्रासाउन्ड र म्यामोग्राम गर्न लगाइन् । म त्यतैपट्टि लागें ।
यो सबै गरिरहँदा म भित्रभित्रै शून्य हुँदै थिएँ । त्यहाँ जँचाउन आउने महिलाहरू कि त आफ्ना श्रीमान्सित थिए कि चाहिं जनाना आफन्तसित । म भने एक्लै जँचाउने वर्ने गरिरहेकी थिएँ । यतिबेला मलाई कसैको आवश्यकता थियो सायद । मानसिक रूपमा साथ दिन । डाक्टरले जे भने पनि दह्रिली भएर सुन्न । तर म जिन्दगीभर ‘कमजोर छुइनँ’ को भूमिका निर्वाह गर्दागर्दै आफैंलाई पनि जताउने भएछु । म आफैंप्रति क्रूर बनेकी थिएँ । संघर्ष चुपचाप बेहोर्ने आमैआमाका माझ पालिएकीले होला । म एक्लै आफ्नो अभिभावक बनेर सक्दो हिम्मतिलो बन्ने प्रयास गरिरहें ।


अल्ट्रासाउन्ड र म्यामोग्रामको रिपोर्ट आयो । दाहिने स्तनमा मकैको फुलाजत्रो गाँठो देखियो । त्यसलाई ‘क्यालसिफिकेसन’ भन्दा रहेछन् । अर्थात् क्याल्सियमको कण स्तनमा जमेर ढिक्का बनेको अवस्था । र, त्यसलाई ‘म्याक्रो क्यालसिफिकेसन’ भनिन्छ । त्यो ‘माइक्रो’ भए क्यान्सर हुँदो रहेछ । तैपनि बायोअप्सी गर्नुपर्ने भयो । गाँठो सम्भावित क्यान्सर हो कि होइन पत्ता लगाउन ।


मेरो अपरेसन भयो । स्तनबाट सिस्ट निकालेर बायोअप्सीका लागि पठाइयो । त्यसको रिपोर्ट नौ दिनपछि मात्र आउने भयो ।
म घर फर्किएर आएँ । नौ दिनसम्म मैले कुर्नुपर्ने भयो । मलाई क्यान्सरको जोखिम छ कि छैन भनेर थाहा पाउन । यदि खतरा छ भने के गर्ने ? एन्जेलिना जोलीको जस्तो डबल मेस्टेकटमी गर्ने ? अर्थात् सावधानी अपनाउन दुवै स्तन काटेर फ्याल्ने । मैले डराई डराई मेस्टेकटमी गुगल गरेर हेरें ।


मेस्टेकटमी गरेका महिलाहरूका फोटा देख्दा आङ सिरिङ्ग भयो । स्तन काटिएका तिनका छाती छुराका गहिरा घाउले युद्धका घाइतेझैं देखिन्थे । तर उनीहरूको मुस्कानमा लडाकुको विजयीभाव थियो । क्यान्सरसित लड्न सकिन्छ, जितिन्छ । मेरो आत्मबल भने धरमराउन थालेको थियो । मलाई निराशाले छोप्यो । म ऐनाअगाडि उभेर निर्वस्त्र भएँ । र आफैंलाई नजिकबाट नियाल्न थालें । त्यतिन्जेल मैले आफूलाई यति गढेर हेरेकी थिइनँ । मेरो शरीरमा सबैभन्दा सुन्दर अंग मलाई मेरो स्तन लाग्न थाल्यो ।


मलाई याद आयो, शिक्षकले दुर्व्यवहार गरेदेखि आफ्नो स्तनसित घृणा हुन थालेको । मलाई याद आयो, हुर्कंदै गर्दा साथीहरूका स्तनसित आफ्नो स्तन दाँज्दा हीनताबोध हुने गरेको । मलाई याद आयो, छाती लक्षित छेडखानीले गर्दा आफ्नै शरीरमा असहज महसुस गरेको । मलाई याद आयो, पत्रिकाको वर्गीकृत विज्ञापनमा स्तनको आकार घटाउने अपरेसनको विज्ञापन चाख मानेर पढेको । जसलाई मैले जीवनभर तिरस्कार गरिरहें, त्यही अंग नै काटिएर फालिन सक्छ । र त्यसबिना म कति अधुरो देखिनेछु ।


मेरा आँखाबाट आँसु झर्न थाल्यो । बर्रर्र त्यो झरी नै रह्यो । यी आँखाबाट आँसु होइन पश्चात्ताप रोइरहेको थियो । नौ दिनपछि बायोअप्सीको रिपोर्ट आयो । डाक्टरले गाँठो क्यान्सर होइन भनेर क्लिन चिट दिइन् । आँखा चिम्लेर मैले लामो सास फेरें । दिमाग छ्यांग हुँदै आयो । बाहिर भदौको चिरिक्क घाम लागेको थियो । त्यै पोल्ने घाम पनि घमाइलो लाग्न थाल्यो । तत्कालै डाक्टरले मलाई सचेत गराइन् । भनिन्— पूरा ढुक्कचाहिं नबस्नू । त्यो गाँठोलाई नियमित निगरानीमा राखिराख्नुपर्छ । त्यसैले एकेक वर्षमा म्यामोग्राम गर्ने सल्लाह दिइन् ।


यो भोगाइपछि मैले अरूका आँखाबाट होइन, आफ्नै आँखाले आफ्ना ‘नमिलेका’ अंगलाई हेर्न थालें । मैले आफैंलाई प्रेम गर्न सिकेकी छु । आफू जस्तो छु त्यस्तै हुनुमा गर्व गर्न थालेकी छु । यसले असुरक्षाहरूसित जुझ्न आक्रामक बनाउँदो रहेछ । यस्तो चेतना मेरो दिमागमा पहिल्यै भरिदिएको भए म खुँखार आँटिली हुने रहेछु । आँटिला र आक्रामकका हुँकार नै काफी हुन्छ दुराचारी नियतहरूलाई सावधान गर्न ।


अब म आफूलाई कमजोर ठान्दिनँ । त्यसैले म मार्सल आर्ट सिक्दिनँ । मलाई राज्यको कानुनले पहरा दिओस् । अपराधीलाई सजाय हुन्छको नजिर बसालेर सम्भावित दुराचारी र बलात्कारीलाई खबरदारी गरोस् । हिंड्दिनँ म आफूलाई छोपछाप पारेर अरूको नजरबाट बच्दै बचाउँदै । ‘टेस्टोसटेरोन’ युक्त मानसिकतालाई समाजले दुईखुट्टे जातिबाट मानव बन्न सिकाओस् । यस्ता अनुभूतिलाई सानातिना मानिरहे समाजको ‘डीएनए’ मै खोट देखिन सक्छ । फेरि नखनिनु त्यो समाजशास्त्रीमाथि जसले भगवान् ब्रह्मादेखि खोट निकाल्दै अहिलेको समाजसम्मलाई ‘बिरामी’ भनेर घोषणा गरोस् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?