कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

असल किताबलाई मर्न दिऊँ ?

एउटा छापिएको किताब बजार आउने प्रतीक्षामा रहेकी सुकन्याको धैर्यको बाँध किन टुटिरहेको छ ?
सुकन्या

अपराजिता, अति नै असमञ्जसमा परेकी छु । के गरूँ, कसो गरूँको स्थितिले दुब्लाइसकेकी छु । तिमीलाई जस्तो तर्क गर्न मलाई आउँदैन । झगडा गर्ने मेरो स्वभावै होइन । म त गोर्कीकी हजुरआमालाई आदर्श मान्ने व्यक्ति परेँ । तर हाम्रो बाबुले सिकाउनुभएको एउटा मन्त्रचाहिँ मलाई सम्झना छ, जुन म अति नै आवश्यक परेको खण्डमा प्रयोग गर्ने गर्छु ।

त्यो तिमीलाई पनि थाहा छ तर तिमीलाई त त्यसको प्रयोग गर्नै परेन । तिमी सोझै हान्ने स्वभावको व्यक्ति पर्‍यौ । त्यस मन्त्रको नाम– बाबुले अंग्रेजीमा भन्ने गरेकाले अंग्रेजीमा नै भनौं– ‘इन्डाइरेक्ट हिट’ अथवा ‘प्यासिभ रेजिस्ट्यान्स’ । तर लेखेर विरोध गर्नु त डाइरेक्ट हिटजस्तै भयो होइन र ? के गर्ने खोइ ? होइन, लेखेरै विरोध गर्छु । कम्तीमा साक्षात्कार त गर्नुपरेन नि । यसैलाई ‘इन्डाइरेक्ट हिट’ अथवा ‘प्यासिभ रेजिस्ट्यान्स’ ठान्छु ।


आजभन्दा ६ वर्षअघिको कुरा हो । अति रुचाएर बाल–साहित्यका दुई अंग्रेजी पुस्तक पढेँ । आजका बालबालिकाको पिँढीमा यी पुस्तकमा अन्तरनिहित सन्देश पुर्‍याउनैपर्छ भन्ने लाग्यो । त्यसपछि नेपाली भाषामा अनुवाद गरेँ । सुसंस्कारजस्ता मूल्यमान्यताले भरिपूर्ण ती पुस्तक मलाई ज्यादै उपयोगी लाग्यो । किताबमा परिवारमा सर्वोच्च स्थानको हकदार हाम्रा हजुरआमाहरूको पुस्तौंपुस्ता सर्दै आउने स्पर्शको महत्त्व देखाइएको छ । आफ्ना प्रियजनसँग कर्तव्यवश विछोड हुनुपर्दा अपनाउनुपर्ने संयमलाई उजागर गरिएको छ । यसरी अनासक्तिको पाठ बालापनदेखि नै अभ्यास गर्नुपर्ने सन्देश नेपाली बालबालिकामाझ पुर्‍याउनुपर्ने दायित्व मैले पूरा गर्नैपर्छ भन्ने बोध भयो ।


कस्ता पुस्तक हुन् र पुस्तकका रचयिता को हुन् भन्ने जिज्ञासा भयो होला तिमीलाई । ल सुन, पुस्तकका नाम ‘तेन्जिङको मृग’ र ‘हजुरआमाको गीत’ हो । र, रचयिता हुन् बारबरा सोरोस ।


योगमायाबारे अध्ययन गर्ने बारबरा निम्री अजिजमार्फत परिचित भएकी हुन् बारबरा सोरोस । उनी तिम्रै मित्र बारबरा निम्री जत्तिकै घनिष्ठ थिइन् तिमीसँग । तिमीहरूबीच भएको पत्राचार अझ सुरक्षित छन् मसँग । तथापि म यहाँ उनको विस्तृत परिचय दिन आवश्यक ठान्छु ।मन र शरीरका विज्ञ (प्राक्टिसनर) हुन् बारबरा सोरोस । उनले कथावाचनलाई बीस वर्षभन्दा बढी समयदेखि आफ्नो थेरापी (उपचार विधि) को एक अभिन्न अङ्गको रूपमा प्रयोग गरेकी छन् ।


तिब्बती औषधि विधिकी छात्रा सोरोसले बालनाटक पनि लेखेकी तथा निर्देशन गरेकी छन् । साथै, सिर्जनात्मकता तथा आरोग्यता (हिलिङ) विषयलाई लिएर विश्वव्यापी रूपमा कार्यशाला सञ्चालन गर्न पनि उत्प्रेरित गरेकी छन् । तिमीसँगको उनको गहिरो सम्बन्ध हुँदा साहित्य, महिला मुक्ति तथा संघर्षसँगै अरू धेरै विषयमा पत्राचारद्वारा छलफल हुन्थ्यो । उनले तिमीलाई पठाएका पुस्तकमा एउटाको नामचाहिँ म सम्झिरहन्छु, ‘द कलर पर्पल ।’ विदेशका महिला समूहका पत्रपत्रिका पनि तिमीकहाँ निकै आउँथे, यसमा उनको पनि योगदान छ । तीमध्ये एउटाको नाम सम्झन्छु, ‘द आउट राइट ।’


उनीसित महिलासम्बन्धी धेरै छलफल भइरहन्थ्यो तिम्रो । तिमीले छाडेर गएपछि मसँग उनको घनिष्ठता बढेर गयो । महिला तथा बालबालिकाप्रति अति संवेदनशील उनले धेरै विपन्न मातापिताका बालबच्चालाई प्रायोजन गरेर विद्यालय शुल्कसमेत भरिदिएकी छन् ।


यति मात्र कहाँ हो र, लेखिकाहरूलाई प्रोत्साहित गर्न वर्षभरि उत्कृष्ट ठहरिएका पुस्तकका निम्ति दुई लेखिकालाई १०/१० हजारको पुरस्कारसमेत प्रायोजन गरेकी थिइन् । साहित्यकार सुधा त्रिपाठी अध्यक्ष रहेको अभ्युथान महिला साहित्य प्रतिष्ठानले यस कार्यको अभिभारा लिएको थियो । केही वर्षको सञ्चालन सफल र उत्साहवर्द्धक रह्यो, तर अफसोस यसले निरन्तरता पाउन भने सकेन ।

कारण प्रायोजकको थिएन, प्रतिष्ठानकै सदस्यहरूको अति व्यस्तता हुन सक्छ । लागिपरेर समय जुटाउन नसक्दा समस्या आयो । प्रतिष्ठान बिस्तारै शिथिल हुँदै गयो । यो बिलाइसक्यो अथवा कार्यरत छ, थाहा छैन । जे होस् कार्यक्रमको योगदानको हामीले कदर गर्नैपर्छ । कतिपय महिला साहित्यकार पुरस्कृत मात्र भएनन्, नेपाली साहित्य जगत्ले पनि नूतन कृतिहरूको जगेर्ना गर्न पाए । यी उपलब्धि पनि हाम्रै सम्पत्ति हुन्, सन्तोष गरौं ।


केही थपौं— वास्तवमा तिमी मेरा सल्लाहकार, अझ भनौ गुरु नै थियौ । तिमी नहुँदा, मेरो मुड र हाउभाउबाट मलाई समस्या परेको थाहा पाउने बारबरा निम्री अजिज भन्ने गर्थिन्, ‘बारबरा सोरोसलाई लेख ।’


यस्तै एक पटक सोरोसलाई मदिरा सेवन गरेर स्वास्नी र बालबच्चालाई सताउने र हाँकधाँक गर्ने पुरुषहरू कस्ता मनस्थितिका हुन् भनेर मैले प्रश्न राखेकी थिएँ । उनले त एउटा सुन्दर लेख नै लेखेर पठाइन् । त्यो लेख ‘कायर पुरुष नै आक्रामक हुन्छन्’ भन्ने शीर्षकमा २०६७ सालमा नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।


अब बारबरा सोरोससँग जोडिएको मूल तथ्यतिर फिरौं । उनका किताबको अनुवादपश्चात् उत्साहित भएर छिमेकी युवा सुमेश न्यौपानेको सहयोगमा प्रकाशनको निम्ति एक निवेदन पठाएँ । मेरो एक पत्रको आधारमा डोलिन्द्रप्रसाद शर्माले उक्त अनुवाद आफ्नै अक्सफोर्ड पब्लिकेसनबाट प्रकाशित गरिदिने वचन दिए । खुसीको पारावार रहेन ।


डोलिन्द्रप्रसाद शर्माको सहृदयता र सौजन्यताको प्रशंसा जति गरे पनि नपुग्नेजस्तो लाग्यो । सम्झौतापत्रमा हस्ताक्षर पनि गरियो । कपिराइट अधिकार अमृत आवासीय विद्यालयको नाममा रहने भयो । लेखक र अनुवादकले समेत प्राप्त गर्ने पारिश्रमिक अमृत विद्यालयकै विपन्न विद्यार्थीको निमित्त समर्पण गर्ने निश्चय भयो ।


बारबरा सोरोसको अनुरोधमा पुस्तकका भाव चित्रकार ड्नुटा मेयर र जेकी मोरिसले सहृदयतापूर्वक आफ्ना भावचित्रहरू नेपाली अनुवादमा पनि प्रयोग गर्ने अनुमति प्रदान गरे । अति उत्साहित प्रकाशक शर्माले लोकार्पण समारोहमा उपस्थित हुन हवाई टिकट शुद्घ पठाउने आश्वासन दिए । बाल साहित्यकारको रूपमा नेपाली बाल साहित्य जगत्मा परिचय बनाउन पाउनु बारबराको निम्ति सीमातीत खुसीको विषय थियो । तदारुकताका साथ काम अघि बढ्यो ।


त्यसपश्चात् उनी मृतप्रायः साझा प्रकाशनको अध्यक्षमा चयन भए । उनको दाबी छ, मैले साझालाई पुनर्जीवन दिएँ । साझालाई बौराएँ । धडाधड नयाँ कृतिको प्रकाशन गरेँ । उनको कार्यव्यस्तता बढ्नु नितान्त स्वाभाविक थियो । उनको जिकिर छ, धेरै बाधा तेर्सिए । उनी अध्यक्ष भएपछि साझामा भएका संघर्षसँग अवगत थिएँ । उनको दाबा सही भए दाद त दिनैपर्छ, अपराजिता ।


अरू भए के हुन्थे कुन्नि, तर उनले त छाती तानेर संघर्ष गरे र उनी ‘बादलभित्रको घाम’ रचेर आफ्नो अडान कायम राख्न समर्थ भए ।
उनी साझामा व्यस्त हुँदा केही समय धैर्य राखेँ । पटक–पटक भेटसमेत गरेँ, उनको उत्साह र आश्वासनमा कत्ति पनि कमी आएको अनुभव मलाई भएन । असीम विश्वासले गहिरोसँग जरा गाडिसकेको थियो । तथापि सम्भव होला नहोला भन्ने आशंकाले मनमा घर गरिरह्यो । किनभने समयावधि ४ वर्ष नाघिसकेको थियो ।


हैरान भएर साहित्यकार प्रदीप नेपाललाई पुकारेँ, जसलाई सानो छँदा तिमीले माया गरेर बुच्चे भनेर सम्बोधन गर्ने गर्थ्यौ । घनिष्ठताले प्रदान गरेको विश्वासको आधारमा नै त पुकारेकी हुँ नि । प्रदीपसँग उनको घनिष्ठ सम्बन्ध छ भन्ने सुन्नमा आएको थियो । नभन्दै काम तदारुकताका साथ अघि बढ्यो । सम्पादकहरू घरमै आए । अति सुन्दर आकृतिका दुई पुस्तक ‘तेन्जिङको मृग’ र ‘हजुरआमाको गीत’ तयार भयो । सुन्छु, प्रकाशनगृहको भण्डारकोठा यिनै तयारी पुस्तकले भरिएका छन् । केही नमुना कपी मकहाँ पनि आइपुगे, बारबराकहाँ पनि दुई चार प्रति पुगे ।


अरू २ वर्ष बिते, तर हरे, ती भण्डारका पुस्तक बाहिर आउन सकेनन् । व्यवधान के हो ? थाहा भएन । कैयौं पटक सम्पर्क गरेँ, जोसिलो आवाजमा आश्वासन प्राप्त हुन्छ, फेरि शून्य काम । अमेरिकावासी बारबरा हतास भइन् । व्यक्तिगत तौरले उनले प्रकाशक शर्मासँग सम्पर्क गरिन् तर … ।


अब त अति नै थाकिसकेँ, अपराजिता, धैर्यको बाँध टुटिसक्यो । डर लाग्छ, उनको उठबस ठूलाबडाको साथमा छ, म बबुरोको आवाज कसले सुनिदेला ? म कहिल्यै आक्रामक हुन सकिनँ, सक्दिनँ पनि । आक्रामक हुनु मेरो स्वभावको विपरीत कुरो । सहृदय हाम्री विदेशी साथीलाई के जवाफ दिने ? कि यसरी नै एक उपयोगी बालकथाको असामयिक अवसान पो हुने हो कि भनेर पिरोलिरहूँ ? के गरूँ ? जवाफ देऊ ।

सुकन्या

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?