१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ऊ जान्ने कि म ?

स्वीकृति बराल

एक दिन उसँग कुरा गर्दै थिएँ । कुरैकुरामा मैले उसलाई सोधेँ, ‘तिमी ठूलो भएपछि के गर्छौ ?’ उसले पनि मीठो तोतेबोलीमा जवाफ दियो, ‘मामू म ठूलो भएपछि अफिस जान्छु अनि हजुरलाई धेरै चकलेट ल्याइदिन्छु ।’ सानो बच्चाले माया गर्दै त्यसो भनेको सुन्दा सारै मजा लाग्दो रहेछ ।

ऊ जान्ने कि म ?

त्यसैले फेरि सोधेँ, ‘अनि के गर्छौ ?’ उसले फेरि पनि उसैगरी माया लाग्दो बोलीमा जवाफ दियो, ‘अनि हजुरले गल्ती गर्नुभयो भने हजुरको गालामा ठ्याम्म हान्छु ।’ म झसंग भएँ । नमज्जा लाग्यो, कताकता लाज पनि । वरिपरि आफ्नो आँखा डुलाएँ, कसैले सुनेकी भन्ने पिरले ।


मीठो बोल्दा मख्ख पर्ने मेरा अनुहार उसले नमीठो कुरा गर्दा बिग्रिसकेको थियो । मैले हतारहतार उसलाई भनेँ, ‘बाबु त्यसो भन्नु हुँदैन नि, पिट्नु नराम्रो कुरा हो ।’ उसले फेरि पनि मायालाग्दो तरिकाले भन्यो, ‘हजुरले मलाई त्यही भन्नुभएको होइन त ? गल्ती गरे ठ्याम्म पिट्छु भनेर ।’ बिचरा मैले जे बोल्यो त्यही सिक्छ । मैले जे गर्‍यो त्यही गर्छ । उसले राम्रो बोल्दा मैले सिकाएको भन्दै गमक्क पर्ने म उसले नराम्रो बोल्दा उसलाई गाली गर्न पछि पर्दिनँ । मैले बुझ्नुपर्ने कुरा हो उसले राम्रा नराम्रा दुवै मबाट नै सिकेको हुन्छ । सानो छ तर धेरै कुरा सिकाउँछ मलाई । गलत कुरा सानाले गरे पनि गलत हुन्छ र ठूलाले गरे पनि गलत हुन्छ । मबाट गल्ती भएको थियो । उसले त्यसो भन्दा मलाई नमज्जा लागेजस्तै मैले पिटुछु भन्दा उसलाई पनि नमज्जा लागेको हुनुपर्छ । आफूलाई सच्याउँदै भनेँ, ‘छोरा अबदेखि म पनि पिट्ने कुरा गर्दिनँ र तिमी पनि नगर्नू है ।’ उसले पनि बुझेझैँ गरेर टाउको हल्लायो ।


उसका हरेक क्रियाकलाप मसँग जोडिएका हुन्छन् । मेरै वरिपरि घुमिरहन्छ र मबाट केही न केही सिकिरहन्छ । मैले धेरै नजिकबाट उसका क्रियाकलापहरू नियालेकी छु । उसलाई नजिकबाट नियाल्दा मलाई उसलाई खासै रमाइलो भएजस्तो लाग्दैन । हुन त बाल्यकाल सबैले लोभ गर्ने उमेर हो । कति आनन्द सुत्यो, खायो, खेल्यो अनि केही कुरा चित्त नबुझे रोइदियो । रमाइलो त बच्चै हुँदा हो । धेरैले यस्तै भनेकी सुनेकी छु । हुन पनि हो बालहठको अगाडि कसैको केही लाग्दैन । जन्मनेबित्तिकै कसैले नसिकाई रुन जानेका बच्चाहरू जे कुरामा पनि रोएरै जित्न खोज्छन् । रुवाइ उनीहरूको हतियार हो । भविष्यको चिन्ता नभएका उनीहरूको जीवन हेर्दा जति लोभलाग्दो र रमाइलो देखिन्छ त्यति नै उनीहरूलाई रमाइलो होला कि नहोला भन्न सकिँदैन । बच्चाले यो कुरा बताउन सक्दैनन् ठूलो भएपछि ती कुराहरू यादै हुँदैनन् ।


सानो बच्चा जो आफ्नो रहर व्यक्त गर्नै सक्दैन, जो आफ्नो रहर बताउनै सक्दैन, जो आफू मनलागी हिँड्न पाउँदैन, चकचक गर्न पाउँदैन, मन लागेका सारा कुरा खान पाउँदैन, के रमाइलो होला र त्यो उमेरमा ? के लोभ गर्नु र त्यो उमेरको । मेरो विचारमा बाल्यकालका आफ्नै दुःखद पक्ष छन्, आफ्नै अप्ठ्याराहरू छन्, गुनासाहरू छन् जो सधैँ अव्यक्त रहन्छन् ।


ऊ टीभी हेर्न खोज्छ, म आँखा बिग्रन्छ भनेर दिन्न । ऊ सामान चलाउन खोज्छ, म सामान बिग्रन्छ भनेर दिन्नँ । ऊ बाहिर डुल्न जान खोज्छ, म बानी बिग्रन्छ भनेर दिन्नँ । ऊ पानीमा खेल्न खोज्छ, म चिसो लाग्छ भनेर दिन्न । ऊ कोठामा उफ्रन खोज्छ, म हल्ला भयो भनेर दिन्नँ । म उसका साना साना रहर मारिरहन्छु र भन्छु म उसलाई असाध्यै धेरै माया गर्छु र ऊ पनि ढुक्क भएर भन्छ, ‘मामू मलाई असाध्यै माया गर्नुहुन्छ ।’ ऊ ढुक्क छ म उसका हरेक कुरा बुझ्छु भनेर किनभने ऊ मेरा हरेक कुरामा विश्वास गर्छ तर म आफूलाई थाहा छैन म उसका सारा कुराहरू बुझ्छु कि बुझ्दिनँ । म आफूलाई जाडो भए उसलाई लुगा थपिदिन्छु र आफूलाई गर्मी भए उसको लुगा फुकालिदिन्छु । मैले आफूलाई बुझेँ कि उसलाई ?


अझै बोली नै नफुटेको बेलामा त झनै बिजोग हुन्थ्यो । ऊ रुन्थ्यो, म उसलाई भोक लाग्यो कि भनेर हत्तपत्त दूध खुवाउथेँ । अझै चुप नलागे कीराले टोक्यो कि भनेर लुगा खोलेर हेर्थेँ र अझै पनि रुन नछोडे पेट दुख्यो कि भन्ने अनुमान गर्थें । कहाँ सक्थेँ र म उसको रुवाइको अर्थ बुझ्न । अनुमान मिले ऊ चुप लाग्थ्यो नमिले रोइरहन्थ्यो । तर म लाजै पचाएर उसलाई भन्छु, ‘बाबु म तिमीले नभने नि तिम्रा सारा कुरा बुझ्छु ।’ बिचरा सानै छ पत्याउँछ मेरा सारा कुरा र मुसुक्क हाँस्छ । उसलाई ढुक्क लाग्दो हो मेरा कुराले ।


हुन त बुबाआमाको मायामा स्वार्थ हुँदैन भन्छन् तर मलाई अलिअलि स्वार्थ भएझैँ लाग्छ । माटोमा खेल्न नदिनुमा मेरो स्वार्थ छ । लुगा फोहोर भए धुन गाह्रो हुन्छ । हेर्दै जाने हो भने अलिअलि स्वार्थ हरेक कुरामा देखिन्छ । उसलाई जन्माउनु मेरो रहर थियो र उसको हुर्काइ बढाइ पनि मेरै रहरअनुसार भइरहेको छ । म उसको रहरअनुसार चलेको छैन । सानै भए पनि उसका आफ्नै किसिमका रहर छन् । यो खान्छु त्यो खान्न, यो लगाउँछु त्यो लगाउँदिन, त्यहाँ जान्छु त्यहाँ जान्न । मलाई आफू खुसी भएको बेला उसका यस्ता कुराहरू मीठा लाग्छन् र हाँसिदिन्छु उसका कुरामा तर मुड ठीक नहुँदा रिस उठ्छ, त्यसैले रिसाउँछु त्यही कुरामा । म उसको एउटै कुरामा कहिले हाँस्छु र कहिले उसलाई गाली गर्छु । कठै ! के बुझ्दो हो उसले पनि, के ठीक के बेठीक ?


म घडी हेर्छु र उसलाई सुताउँछु, घडी हेर्छु र उसलाई उठाउँछु । म घडी हेरेर उसलाई खुवाउँछु, घडी हेरेर उसलाई पढाउँछु । दिउसो धेरै सुते राति नुसुत्ला र आफ्नो निद्रा बिग्रिएला भन्ने पीर हुन्छ मलाई, त्यसैले उसलाई हतारहतार उठाउँछु उसको निद्रा भंग गरेर । ऊ मन नलागी नलागी उठ्छ, एक छिन रुन्छ र खेल्न थाल्छ । अब मेरो सुत्ने बेला हुन्छ, उसलाई सुताउन खोन्छु । बिचरा निद्रा नलागे पनि मेरो वरिपरि घुमिरहन्छ र निदाउने प्रयास गर्छ । अरू गरोस् पनि के ? म बत्ती निभाइदिन्छु उसलाई सुताउने र आफू सुत्ने बहानामा ।

न उसलाई सुताएको बेलामा सुत्न मन हुन्छ न उसलाई उठाएको बेलामा उठ्न मन हुन्छ । न त उसलाई पढ्ने नै इच्छा छ । उसलाई थाहा छैन पढेर के हुन्छ ? म स्कुल पठाउँछु ऊ खुरुखुरु जान्छ । म ख्वाउँछु ऊ खुरुखुरु खान्छ । उसलाई थाहा छ म जिद्दी छु भनेर । मलाई जसरी नि ख्वाउनु छ उसलाई जसरी नि खाएर सक्नु छ । उसलाई त खालि खेल्न मन लाग्छ तर कहाँ पाउँछ र मन लागेजस्तो गर्न । मैले मेरो सानो छोरालाई नियम कानुनमा बाँधेकी छु । मेरो विचारमा जति बेला जे गर्नुपर्नेजस्तो लाग्छ त्यहीत्यही गराउन खोज्छु । मेरो कुरा उसको सानो दिमागले बुझ्दैन । ऊ आफ्नै सुरमा रमाउन खोज्छ जसले गर्दा मेरो सुर बिग्रन्छ र फेरि रिसाउँछु ऊसँग जसले केही बुझेकै छैन ।


ऊ बिनारहर धेरै काम गरिरहन्छ र पनि हाँसिरहन्छ । म मेरो रहरमा उसलाई चलाउँछु तैपनि हाँसिरहन सक्दिनँ । कति फरक छ उसमा र ममा । अहिले त कुरा बुझ्दैन र छिनमै सारा कुरा भुल्छ तर ठूलो भएको भए मेरो यो व्यवहारमा पक्कै पनि धेरै रिसाउने थियो होला मसँग । तर, नरिसाउनु छोरा म धेरै बुझ्छु, त्यसैले तिमीलाई धेरै कुरा सिकाउन बाध्य छु र तिमी केही पनि बुझ्दैनौ, त्यसैले मैले सिकाएको गर्न बाध्य छौ । मलाई तिमीलाई ठूलो मान्छे बनाउनु छ, त्यसैले तिमी स्कुल जानैपर्छ । मलाई तिमीलाई बलियो बनाउनु छ, त्यसैले तिमीले खानैपर्छ ।


मबाट उसले कति सिकेको छ, मलाई थाहा छैन तर मैले भने उबाट मैले धेरै कुरा सिकेकी छु । सानो छ तर दिमाग भने जिज्ञासा नै जिज्ञासाले भरिएका छन् उसका । आफ्ना वरिपरि भएका सारा घटनाहरू नियालिरहन्छ र मनमा जे प्रश्न आउँछ सोधिहाल्छ । उसलाई हेर्दा लाग्छ उसको दिमाग प्रश्नैप्रश्नले भरिएको छ । हरेक कुरामा किन र कसरी भनेर प्रश्न सोध्नु उसका लागि सामान्य कुरा हो । उसलाई धेरै कुरा सिक्नु छ, धेरै कुरा जान्नु छ । ऊ कुनै पनि कुरा बोल्न नपाउँदै टपक्क टिप्छ । त्यसैले मैले केही गर्दा, केही बोल्दा निकै सोच्नुपर्ने हुन्छ । मैले एकचोटी भनेको कुरा उसको दिमागमा बसिहाल्छ । ऊ सितिमिति बिर्संदैन । पछि त्यही प्रश्नमा अर्को जवाफ दिएँ भने अस्ति अर्कै भनेको हैन भन्छ ।


उसका कति प्रश्नको त म जवाफ दिन सक्दिनँ । एक दिन सोध्यो छोराले, ‘मामू सुन्तला किन सुन्तला रङको भएको ?’ खै किन भएको हो, के जवाफ दिनु ? उसको अर्को प्रश्नले त मलाई स्तब्ध नै बनायो । सोध्यो, ‘मामू गाई भगवान् हो ?’ एक छिन सोचेर भनेँ, ‘हो बाबु ।’ मैले उसलाई त्यही जवाफ दिएँ जुन मैले आफू सानो हुँदादेखि सुन्दै आएकी थिएँ । जे सुन्यो जे सिक्यो त्यही जान्ने त हो मैले पनि । सायद मेरो जवाफले उसको कौतूहल मेटिएन । फेरि सोध्यो, ‘अनि मामू त्यो भगवान्लाई पिट्दै पछिपछि हिँड्ने को हो नि ? भगवान्लाई पिट्न सकिन्छ त ?’ म जवाफविहीन भएँ । सायद मैले गलत जवाफ दिएँ ।


उसले पहिले पनि एक दिन त्यसैगरी मैले भगवान्लाई प्रसाद चढाउँदा सोधेको थियो, ‘त्यो कसले खान्छ मामू ?’ मैले भनेँ– भगवान्ले । ऊ मजाले हाँस्यो र भन्यो— ढुंगाले केही खाँदैन मामू । ऊ सानै भए पनि आफूले जानेको कुरामा शतप्रतिशत विश्वस्त हुन्छ तर म ठूलो भएर पनि अलमल हुन्छु । जति ठूलो भयो उति नजान्ने भइँदो रहेछ कि क्या हो ! नत्र किन म जवाफ दिन सक्दिनँ उसका स–साना प्रश्नहरूको । म आज पनि उसका प्रश्नहरूको जवाफ खोज्दै छु । उत्तर पत्ता लगाएर उसका जिज्ञासा मेटिने गरी उसका अबोध प्रश्नहरूको जवाफ दिन सकेँ भने मात्र पनि आफूलाई त्यो सानो बच्चाभन्दा जान्नेसुन्ने ठान्ने थिएँ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?