कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

काटिएको बाथटब

शाही परिवारका लागि सरसामान किन्न विश्वराज मिश्र बारम्बार कलकत्ता जाने गर्थे । दरबारको चार–पाँचओटा विशेष स्नानघरका लागि विशेष प्रकारको बाथटबहरू लिन जाँदा उनले कलकत्ताबाट आफ्नो कोपुण्डोलको घरलाई समेत एउटा चन्द्राकारको बाथटब किनेर ल्याए ।
अमोद भट्टराई

नोस्वेटर । नो एनी वार्मर्स आउटसाइड । जस्ट निट एन्ड टाइडी स्कुल युनिफर्म,’ २०३७ साल पुस १४ गतेका लागि अन्तिम रिहर्सल सकिएपछि फर्मान जारी भयो– प्रत्येक वर्षझैं । अर्को वर्ष त एसएलसी । एसएलसी दिने वर्षचाहिँ अतिरिक्त क्रियाकलाप प्रायः शून्य हुन्थ्यो । अनि खालि पढ्ने । सबैका मुखमा झुन्डिएको हुन्थ्यो फलामे ढोकाको रटना– ‘एसएलसी होइन त यो वर्ष, फलामे ढोका ?’ सुन्दा–सुन्दा दिक्कै लाग्थ्यो । त्यसैले पुस १४ गतेको त्यो फर्मान मेरा लागि अन्तिम थियो ।

काटिएको बाथटब

‘केटाकेटीको जाडोलाई बाख्राले खान्छ’ भनेर जति नै फकाए पनि म १५ वर्षीय केटोलाई अत्यधिक जाडो लाग्थ्यो । त्यसमाथि पुसले भरखरै छोएको काठमाडौँ । जाडो अत्यधिक थियो । दुई–चार घण्टाको स्वेटरबिनाको जिन्दगी पनि अत्यन्त कष्टकर लाग्थ्यो, त्यति बेला । गरिबीले स्वेटरबिना नै जिन्दगी कटाउनुपर्ने संसारभरिका कैयौँ बालबालिकालाई कस्तो लाग्दो हो !


पुसको ३, ४ गते भइसकेको थियो । नौ कक्षाको परीक्षाको अन्तिम दिनपछि पुस १४ गतेका लागि टुँडिखेल, रत्नपार्कमा गरिने ‘मार्चपास्ट’ को अभ्यास सकिएपछि छुट्टी भयो । जनमतसंग्रहपछि भरखरैजस्तो बहुमत प्राप्त सुधारिएको पञ्चायती व्यवस्थाले जग गाड्दै थियो । ‘छुट्टी, मकै भुट्टी’ भन्दै तर्कबिनाको तुक मिलाएर हामी घर फर्क्यौं ।


मीनपचासको छुट्टी सुरु भए पनि बीचमा दुई दिन उपस्थिति जनाउनुपर्थ्यो । एक दिन पुस १४ गते टुँडिखेल, रत्नपार्कमा, अर्को दिन स्कुलमै पुस १५ गते परीक्षाफल लिन । भोलिपल्टदेखि माघको अन्तिमसम्म चाहिँ जाडोको औपचारिक छुट्टी हुन्थ्यो । पुस १६ गतेदेखि माघ मसान्तसम्म ।


पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मदिन । टुँडिखेलमा मेला लाग्थ्यो । सरकारी कर्मचारी, सैनिक, प्रहरी, शिक्षक, प्राध्यापकलगायत विद्यार्थीहरूलाई समेत अनिवार्य उपस्थित गराइन्थ्यो । पुसको जाडो, त्यसमाथि पनि मौसम बिग्रिएको दिन पर्‍यो भने त जाडोले आकास नै छुन्थ्यो । आफ्नो विद्यालयको युनिफर्म नीलो पाइन्ट, आकाशे रङको कमिज, नीलो टाई र रातो बेल्टमा सजिएर म जान्थेँ । हाम्रो विद्यालयमा ‘रेड हाउस’, ‘ब्लू हाउस’, ‘येल्लो हाउस’ र ‘ग्रिन हाउस’ भनेर चार भागमा विद्यार्थीलाई छुट्याइएको थियो । म ‘रेड हाउस’ मा पर्थेँ र मेरो पेटी हुन्थ्यो रातो । स्वेटर वा कुनै न्यानो कोट लगाउन पाइँदैनथ्यो स्कुल युनिफर्मबाहेक ‘स्मार्ट’ देखाउने निहुँमा, पुस १४ गते ।


‘जाडो छ । के गरेको होला केटाकेटीलाई दुःख दिएर’ भन्थे आमा हजुरआमा, मलाई जाडोबाट बचाउने अनेक युक्तिहरू सोच्दै । कमिजभित्र कुनै न्यानो लुगा लगाउन लगाउँथे । आकाशे नीलो कमिजमा अलि कडा रङको भित्री लुगा भएमा रङ छापिन्थ्यो । म डरले थर्कमान भएर मान्दिनथेँ । बल्लबल्ल सेतो रङको भोटो वा बाक्लो गन्जी लगाउँथेँ । फेरि भित्री लुगा बाक्लो भएर दुईओटा टाँकबीचको भाग पुट्ट उघ्रेर ‘भांग्राको टोपीलाई गुहेँलाको फूल’ जस्तै हुन्थ्यो । हजुरबुबा, बुबा मयलपोस सुरुवाल, बाक्लो भित्री लुगा अनि कोटसमेत लगाएर जमेर उर्दीमा निस्किसक्दा पनि म लुगा मिलाउँदैमा व्यस्त हुन्थेँ । नगएर घरै बसौँ कि जस्तो पनि लाग्थ्यो । तर के त्यो सम्भव थियो र ?


‘जोजो टुँडिखेल आउँदैन, त्यसत्यसको १५ गतेको परीक्षाफल रोकिने’ फर्मान पनि जारी हुन्थे प्रत्येक वर्ष स्कुलमा । अनि नगएर सुख ? न राजाले यसोयसो गर्नु भनेका हुन् ! न राजाले चिन्नु, न राजालाई चिन्न पाउनु आफूले ! तथ्यांकको राजनीतिमा एउटा संख्या भयो । गयो, आयो ।


टुँडिखेलको खुला मैदानमा जाडोले कक्रिएर बसेको मलाई मेरा एक जना शिक्षकले च्याप्प समाएर तातो बनाइदिएको हिजैजस्तो लाग्छ । आज भइदिएको भए यौन हिंसा हुन पनि बेर लाग्दैनथ्यो त्यो दृश्य । जसोतसो दुई–चार घण्टा बिताएर घर फर्किंदा त बुबा मस्तले घुरेर सुतिरहेका ! मेरो अनौठो अनुहार देखेर हजुरआमाले सायद बुझिन् । ‘तेरो बाउलाई आचीले च्याप्यो रे क्या ! अनि बीचै बाटोबाट घर फर्किए ।’ अघिसम्म घुरेर सुतिरहेका बुबा पनि हाँस्थे । अनि हामी सबै हाँस्थ्यौँ । कुनै साल हाजिर गरिटोपल्थे । कुनै साल ‘हात्ती आयो, हात्ती आयो, फुस्सा !’


मलाई मेरो बुबाको विद्रोहीपनमा डर लाग्थ्यो । साँच्चि गयलहाजिरी गरेर जागिरबाट निकाल्दे भने के गर्ने होला कुन्नि ! कांग्रेसी भएको आरोपमा जागिर निकालिएका न्यायाधीशसम्म भइसकेका मेरा मामाघरका हजुरबुबाको काठमाडौँ नक्सालको थुप्रै श्रीसम्पत्ति स्वाहा भएको, मामाहरू टिक्न नसकेर काठमाडौँ नै छोडेर सर्लाही र चितवनमा बसाइँ सरेको मेरै आँखाले देखेको थिएँ । तर बुबाको जागिरचाहिँ गएन । अनि उनी ३० वर्षसम्म निरन्तर जागिरे भएर बिदा भए सरकारी कामबाट ।


भोलिपल्ट पुस १५ मा परीक्षाफल पाएको साँझदेखि नै उन्मत्त भैरवझैँ विद्यार्थीहरू विचरण गर्थे यता र उता । मीनपचासको छुट्टीमा मलाई दुई कुराले खास आकर्षण गर्थ्यो । एउटा थरीथरीका बिस्कुट खान पाउने । अर्को टोलका दाजु समानहरूको संगतको अवसर ।


जाडोको छुट्टीताका पारेर काठमाडौँको बालाजुमा रहेको नेपाल बिस्कुट कम्पनीबाट बुबाले ४५ दिनभित्र दुईतीन पटक गरी ठूलो टिनको बट्टामा बिस्कुट किनेर ल्याइदिन्थे बिहानबिहान दूध वा चियासँग खान । बिस्कुट सडेगलेका त हुँदैनथे तर प्रायः चोसोमोसो नमिलेका, भाँच्चिएका, टुटेफुटेका, प्याकिङ पूर्वका ‘रिजेक्टेड पिस’ को संकलन हुन्थ्यो । हामी केटाकेटी रमाईरमाई, छानीछानी बिस्कुट खान्थ्यौँ । कहिलेकाहीँ त सग्लो भेटाइयो भने ठूलै चिठ्ठा परेजस्तो हुन्थ्यो । यसको राम्रो पक्षचाहिँ छुट्टै प्याकेट किनेर खाने हाम्रो औकात बाहिरका क्रिम हालेका बिस्कुटहरूलगायत असल मार्काका बिस्कुटहरूको पनि स्वाद पाउने ठूलो मौका हुन्थ्यो । हामी केटाकेटी मात्र होइन, यो बिस्कुट खाने अभियानमा घरका पाकाहरूको पनि सहभागिता उत्तिकै हुन्थ्यो । ४५ दिन पुग्दानपुग्दै सबै बिस्कुट स्वाहा । अनि कुर्नुपर्थ्यो अर्को मीनपचासको छुट्टी ।


बिहानबिहान बिस्कुट, दूध, अनि बिहानको भातपछि सुरु हुन्थ्यो दाजुसाथीहरूको संगत । वाग्मतीपारिको कोपुण्डोलका फाँटहरू प्रायः प्रायः खाली थिए त्यसताका । घरहरू थोरै थिए । धान, तोरी, गहुँ, बकुल्ला, कोसा, मकै, आलु, नर्कटका घारी, परालका कुन्यु पालैपिलो देखिन्थे वर्षैभरि ती फाँटहरूमा । कोपुण्डोलबाट पुलचोक मन्त्री क्वार्टरका एक समान घरहरू लहरै देखिन्थे । सानेपा लीलाघर र समिट उकालोबाट मोटरकारहरू उक्लिएका, ओर्लिएका टड्कारै देखिन्थ्यो । पर धरहराका माथिल्ला तल्लाहरू पनि देखिन्थे । साँझ पाँच–छ बजेपछि कोपुण्डोल हाइटमा स्याल कराउँथ्यो ।


हामी केटाकेटीलाई साँझमा डाँडा उक्लन बन्देजप्रायः थियो । मेरा दाइ त्यसबेला इन्जिनियरिङ पढ्न भारत गइसकेका थिए । सौभाग्यले उनका टोलिया साथीहरू मेरो दाइसाथीहरू समान थिए । आफूभन्दा अघिल्लो पुस्ताको संगतबाट मैले धेरै कुरा सिक्ने मौका पाएको थिएँ । दाइको विद्यालय पनि सँगै पढेका टोलिया साथी सञ्जीवराज मिश्र (सञ्जीव दाइ) त्यति बेलै मोटरगाडी चलाउँथे । मिश्र खलकको थुप्रै जग्गा थियो कोपुण्डोलमा । जग्गा के भन्नु, खेत थियो थुप्रै । र काठमाडौँबाहिर, खासगरी राजविराज र वीरगन्ज नजिकै टेढा भन्ने गाउँमा पनि प्रशस्तै जग्गा जमिन थिए । कोपुण्डोलको उनीहरूको जग्गाको एउटा कुनामा बाथटब थियो बेवारिस । चन्द्राकारको, अलि अनौठो थियो बाथटब । छेउमा पर्खालजस्तो पनि थियो सयौँ छिद्रहरू भएको । चारैतिरबाट पानी आउनेजस्ता प्वालहरू थिए । हलचल गर्न पनि मुस्किल लाग्थ्यो त्यो बेवारिस बाथटब । केले बनेको होला कुन्नि ! हामी सधैँ बाथटब चलाउन कोसिस गर्थ्यौं, हाँस्थ्यौँ ।


सञ्जीव दाइबाट मोटरगाडी हाँक्ने प्रारम्भिक ज्ञान मात्र होइन, स्विमिङ, अंग्रेजी भाषिक ज्ञान, क्रिकेट, टेबल टेनिस, रोलर स्केट खेल्नेजस्ता थुप्रै कुरा मैले सिक्ने मौका पाएँ । अस्ट्रेलियाको रेडियो स्टेसनमा अंग्रेजी गीत सुन्ने बानी होस् वा रेडियोमा क्रिकेट कमेन्टरी सुन्ने, उनले नै सिकाएका थिए । सञ्जीव दाइ ‘हिरो’ थिए सबैका । टेलिभिजन पनि सबैभन्दा पहिले उनैकहाँ देखेको थिएँ मैले । ‘एसियाली खेल’ भारतको दूरदर्शन च्यानलबाट श्यामश्वेत रङको टेलिभिजन सेटमा हेरेको थिएँ ।


यो मीनपचासको छुट्टीमा स्कुल, कलेज सबै बन्द हुन्थे । र हामी स्कुल पढ्ने र कलेज पढ्ने भइसकेका दाइसाथीहरूको बास सँगै हुन्थ्यो । हुँदाहुँदा एक समय त यस्तो भयो कि चौबीसै घण्टाजसो हामी सँगै हुन थाल्यौँ । सञ्जीव दाइलाई घर जिम्मा छाडेर उनका परिवार जाडो छल्न राजविराज जाने भए एक–दुई हप्तालाई । अनि के चाहियो हामीलाई ! म, सञ्जीव दाइ, सुरेश दाइ (सुरेशदेव भट्टराई) सबै यही निहुँमा सँगै बस्न थाल्यौँ । मिश्र निवास असाध्यै ठूलो थियो । ठूलाठूला बैठक २ ओटा, ठूलो भान्छा र १५ ओटाभन्दा बढी त कोठाहरू थिए । घरैमा टेबलटेनिस बोर्ड पनि थियो । घरको एउटा पाखामा सञ्जीव दाइका ठूलाबाका छोरा दीपकराज मिश्र (दीपक दाइ) बस्थे । हामी अर्को पाखामा घर कुर्न बस्यौ एक–दुई हप्तालाई ।


दिउँसभरि टोल चाहरेर, क्रिकेट खेलेर, पौडी खेलेर, रोलर स्केट खेलेर लखतरान भएका हामी घर त कुर्न बस्थ्यौँ, तर ओछ्यान पर्नासाथ ‘शोक न सुर्ता, भोक न भकारी’ झैँ फसफस निदाउँथ्यौँ ।


एक दिन बिहान सबेरै दीपक दाइ कराउँदै आए । ‘तिमीहरू के घरमा कुर्न बस्छौ ? चोरले बाथटब काटेर लगेछ !’ हामी सायद खिसी गर्दै हाँस्यौँ । ‘कस्तो चोर त, थोत्रो बाथटब चोर्ने ! अनि त्यो पनि काटेर !’ हामीहरू खुब हाँस्यौँ । ‘तिमी मुलालाई के थाहा ! चोर जत्तिको पनि बुद्धि छैन तिमीहरूको ! त्यो बाथटब केको थियो थाहा छ ?’


हामीलाई के थाहा साँच्चि ? अवाक् थियौँ हामी । दीपक दाइले लामो प्रवचन दिए त्यो ऐतिहासिक बाथटबका बारेमा । सायद नेपालको पहिलो ज्याक्वाजी थियो कि त्यो ?


राजा त्रिभुवनको समयमा दरबारमा काम गर्थे सुब्बा विश्वराज मिश्र, सञ्जीव दाइ, दीपक दाइका हजुरबुबा । दरबारका विश्वासपात्र विश्वराज मिश्र शाही परिवारका लागि सरसामान किन्न बारम्बार कलकत्ता जाने गर्थे । दरबारको चारपाँचओटा विशेष स्नानघरका लागि विशेष प्रकारको बाथटबहरू लिन जाँदा उनले कलकत्ताबाट आफ्नो कोपुण्डोलको घरलाई समेत एउटा चन्द्राकारको बाथटब किनेर ल्याए । त्यसलाई अडाउने, पानीको फोहरा दिने छ फिट जति अग्लो पर्खालसमेत भएको त्यो विशेष सामग्री थियो नेपालकै लागि । तामैतामाले बनेको उक्त स्नानगृह धेरै पछिसम्म पनि प्रयोगमा थियो मिश्र निवासमा ।


बेग्लै पानी ट्यांक बनाइएको थियो त्यस बाथटबका लागि । दुई–चार सय छिद्रबाट पानी आउँदा नुहाउँदाको मज्जै बेग्लै हुन्थ्यो । तर काठमाडौँ काकाकुल हुने अवस्थातिर लम्किन थालेपछि बिस्तारै प्रयोगविहीन बन्यो उक्त स्नानगृह । पछि घर मर्मत र परिवार छुट्टिने क्रममा लावारिस भएर बसेको थियो खेतको एक कुनामा त्यो बाथटब । दीपक दाइ कुनै दिन प्रयोगमा ल्याउन सकिन्छ कि भन्ने सोचमग्न हुँदाहुँदै चोरले भेउ पाएछ तामाको । र काटेछ, घरमा धेरै मान्छे नभएको र अल्लारे केटाहरू सुतेको मौका छोपेर ।


दीपक दाइको प्रवचनपछि बल्ल बाथटबको भित्री कथा हामीलाई थाहा भयो । अब बाँकी बाथटबलाई के गर्ने, त्यसको सल्लाह गर्नुपर्ला भनेर दीपक दाइ बम्किँदै थिए । हामीहरूचाहिँ लुसुक्क आ–आफ्नो घरतिर भाग्यौँ । तामा जति काटिएको, बेवारिसबाट झन् बेवारिस भएको त्यो बाथटब खेतमा पछिसम्म पनि लखतरान सुतिरहेको देखिन्थ्यो वर्षौंसम्म ।


@bhattaraiad

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?