१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्वी पहाड घुम्दा

लोकराज बराल

झापामा जन्मिएको, बढेको मान्छेलाई मधेस र पहाडको फरक त्यति लाग्दैन । इरौंटार (हालको शान्तिनगर) भौगोलिक बनावट र रहनसहनले पहाड र मधेसको भेदलाई अझ कम गरेको हुन्थ्यो । यो २००७ साल र अझ अघिको समयको कुरा हो । त्यतिखेर हिउँदमा पहाडबाट भारतको आसामतिर काम गर्न जानेको ताँती लाग्थ्यो ।

पूर्वी पहाड घुम्दा

नेपाली खाडीका कपडा, ढाकरले तराई र पहाडको भिन्नता थाहा हुन्थ्यो । बाटाघाटाको अभाव र कमजोर आर्थिक अवस्थाले उनीहरू धेरै दिन पैदल हिँडी विराटनगर, झापा हुँदै भारतको जोगबनी र नक्सलबाडी, सिलिगुडीबाट रेल चढी आसाम लाग्थे । कोही भने मधेसमै रोजगारी गर्न अडिन्थे ।


भारतका रेल्वे स्टेसनमा यी ढाकरसहित रेल चढ्दा पहाडे लोग भनिएर हेपिन्थे । नेपालको पहिचान भारतको बिहार, बंगाल, असम, उत्तर प्रदेशका बासिन्दाका लागि यिनैबाट झल्किन्थ्यो । हिजोआजको भाषामा उनीहरू मौसमी बसाइँ सर्ने समूहमा पर्थे (सिजनल माइग्रेसन) जो केही महिनापछि त्यही बाटो फर्किन्थे ।


यी मेरा बाल्यकालका स्मृतिका अंश यसपल्ट खोटाङ र परार ओखलढुंगा जाँदा आएका हुन् । त्यस बखतको पहाड र आजको पहाडबीच तुलना गर्ने एक राम्रो मौका मिलेजस्तो लाग्यो । आज नेपालीलाई त्यस दृष्टिले हेपिनुपर्ने वातावरण छैन । न त अब नेपालीहरू ढाकर बोकी कामको खोजीमा पूर्व भारततिर लाग्छन् । यस्तो मौसमी बसाइँ सराइ अब धेरै रोकिएको छ त्यसतिर जान । तर पश्चिम पहाडबाट भने प्राकृतिक प्रकोप, द्वन्द्वको समय र कामको खोजीका लागि भने नेपालबाट भारततिर जानेको ताँती कम पाइँदैन । उत्तरपूर्व भारतमा चलेको विदेशीविरुद्धको आतंकले त्यसतर्फको आवत–जावत अब शून्यप्रायः छ ।


नेपाल हेर्ने रहर मेट्न केही बहाना चाहिने रहेछ न त जाने साथी पाउन गाह्रो हुने । परार ओखलढुंगा जाँदा आफ्नै कार्यक्रम थियो । यसपल्ट मेलम्ची, हेलम्बु र दिक्तेलसम्मको भ्रमण भने आफैंले तय गरियो जसमा मन मिल्ने साथीभाइहरू थियौं । ओखलढुंगाको नाउँ कवि सिद्धचरणको ‘मेरो प्यारो ओखलढुंगा’ भन्ने कविताले म दुई–तीन कक्षामा पढ्दाखेरी सुनेको र अब त नारायणगोपालको गीतले यो अझ लोकप्रिय भएको छ । एसएलसीको पाठ्यक्रममा मैले भूगोल कसरी सिक्ने (हाउ टु लर्न जोग्राफी) को लेख पढेकाले त्यसको गहिरो छाप ममा परेको छ ।


हिंड्दा धेरै जनाले यताउति हेरी त्यहाँको प्राकृतिक अवस्था, नदी नाला, गाउँबेंसीको रचना, जनताको बसोबास, विकासको गति, उब्जनी, जंगल आदिको ख्याल गरेको त्यति पाइँदैन । मेरो भने अति उत्सुकताको एक विषय थियो । कसरी सप्तकोशी बनेको छ र कुन कुन नदी कहाँ मिल्छन् र सप्तकोसी भई चतराबाट फैलिन्छ र नेपाल र बिहार हुँदै गंगामा मिल्छ । यो खुलदुली भोटेकोसी, सुनकोसी, इन्द्रावती, तामाकोसी, लिखु, दुधकोसी, अरुण, तमोरको संगम हेर्ने हो । अब सुनकोसी, अरुण र तमोर मिलेको संगम हेर्न बाँकी छ । तर, यी तीन मुख्य कोसीको संगम भने धनकुटाबाट अन्दाज गर्न सकिन्छ ।


पाँचखालको जिरो प्वाइन्टबाट उत्तर लाग्दा मेलम्ची कसरी इन्द्रावती भयो भन्ने उत्सुकता थियो । मेलम्चीको नाउँ सुनेको २०४६ सालपछि बनेको सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट काठमाडौंका सडक धुनेसम्मको पानी ल्याउने भाषण गरेपछि हो । मेलम्ची आजसम्म प्रत्येक सरकारको प्राथमिकतामा परेको योजना भनिए पनि एकपछि अर्को बहानामा यो सम्पन्न भएको छैन । ‘आकाशको फल आँखातरी मर’ भनेजस्तो भएको छ र नेपालका कुनै नेता र सरकारको भनाइप्रति अब जनता वाक्कब्याक्क भएका छन् ।


विश्वासको संकट जहिले पनि भएकाले कहिले मेलम्चीको पानी काठमाडौंवासीले खान पाउलान् भन्न गाह्रो छ । नेपालको विकासका अवरोधका अनेक पक्ष भए पनि भ्रष्टतन्त्र, कुशासन र कार्यक्षमताको अभाव मुख्य देखिन्छन् । मेलम्ची एक अनुसन्धानको राम्रो विषय बन्छ किनभने यतिका सहयोग पाएको जनप्रिय परियोजनाको यस्तो हालतले ठूला र लोकप्रिय नेतादेखि कर्मचारीतन्त्रको भूमिकाप्रति व्यंग्य गर्नुबाहेक अरू के हुन सक्छ ।


मेलम्ची नदी वरिपरि सहरीकरण तीव्र रूपमा भएको र त्यस भेक जोड्ने अनेक बाटा बनेकाले अब सिन्धुपाल्चोकको त्यो पाटो अविकसित भएको भन्न सकिंदैन । मेलम्ची योजना थालेपछि त्यस क्षेत्रको चहलपहलले जनताको आर्थिक कारोबार बढेको, होटल, रिजोर्ट खुलेका र माछापालन आदि व्यवसाय थालिंदा अब नेपालको धेरै भाग अविकसित रहन सक्तैन भन्ने विश्वास जाग्दोरहेछ । यस्ता जिल्लाहरूका विकट क्षेत्रमा स्थानीय, प्रान्तीय र केन्द्र सरकारले विकासमा विशेष प्याकेज लगी ती क्षेत्रलाई अरूका दाँजोमा पुर्‍याउनपट्टि लाग्दा राम्रो हुन्छ ।


मेलम्चीबाट माथि हेलम्बु रहेछ । हाम्रो भ्रमणको लक्ष्य हेलम्बु थियो किनभने यसको वर्णन धेरै सुनिएकाले स्वाभाविक रूपमा यसको आकर्षण थियो । हामी बेलुका ५ बजेतिर हेलम्बु पुग्दा भने मैले सोचेजस्तो पाइनँ । यहाँका बासिन्दा धेरै काठमाडौंतिर बस्ता रहेछन् । केही घरहरू देखिएका, पाठशालामा पढ्ने केही विद्यार्थी भेटिएका तर वातावरण भने अति राम्रो । स्कुल धाउने विद्यार्थीलाई भने निकै सकस रहेछ किनभने स्कुल र गाउँको दूरी धेरै पर रहेछ । तर यो स्कुलको वातावरण, भवन आदिले हामीलाई खुसी पार्‍यो ।


नेपाली सेनाले आरक्षण क्षेत्रको संरक्षण गरेकाले हेलम्बु, हरियो, शान्त र स्वच्छ भएको छ । केही उद्यमीले एक चारतारे सरहको होटल बनाएको तर त्यसमा बस्न आउने पाहुना भने अति कम भएकाले यो ठाउँ धेरै ओझेलमा परेको हो कि जस्तो लाग्नु स्वाभाविकै हो । यसको सुन्दरताको वर्णन धेरैका मुखबाट सुनिएकाले त्यहाँ जाने तारतम्य मिलाइयो । पहिले बाटो नहुँदा मानिस पैदलयात्रा गरी हेलम्बु जाँदा रहेछन् तर अब पैदलयात्रा (ट्रेकिङ) व्यवसाय त्यसतिर अति कम भएछ । मेलम्चीका किनारमा बनेका अनेक प्रकारका होटल, रिजोर्टले यसको महत्त्व घटाएको पनि हुन सक्छ । तर मेलम्ची बिस्तारै एक विकसित क्षेत्रका रूपमा बाहिरका मान्छे लोभ्याउने विविध व्यवसाय र आकर्षण केन्द्र तयार भइरहेको देखिन्छ ।


ओखलढुंगातिर लाग्दा भने अघि भनिएजस्तो खुर्कोटबाट सुनकोसी पूर्व दक्षिणतिर लाग्दा छेउछाउका गाउँबस्ती, हरिया बाली र जनताको जीवनस्तर उठेको देखाउने दृश्यले मलाई अति हर्षित पारेको थियो । ओखलढुंगा पुग्दा साँझ पर्न लागेको र राम्रा होटल पनि नभएकाले जेनतेन हामी दुई रात बस्यौं । ओखलढुंगाबाट सोलु जाने मोटरबाटोमा ठूलाठूला ट्रक–बस हिँड्दा रहेछन् । नेपालमा सडकको ट्र्याक खोल्नेबित्तिकै जस्तोसुकै भए पनि बस र ट्रक चल्न थाल्दा धेरै दुर्घटना भई अनावश्यक रूपमा ज्यान–धनको खती भएको खबर प्रायःजसो आइरहन्छ ।


ओखलढुंगाको एयरपोर्ट रुम्जाटारमा रहेछ । हामी त्यहाँ जान गाडीमा हिंड्दा ज्यान हत्केलामा राख्ने खालको बाटाको अवस्था रहेछ । रुम्जाटार अति रमणीय गाउँ भएकाले यसको बखान निकै सुनिएको हो । कालोपत्रे गरिएको एयरपोर्ट भने सुनसान थियो । अहिले सातामा एक–दुईपल्ट हवाइसेवा थालिएको सुनिएको हो । रुम्जाटारलाई ओखलढुंगासित जोड्ने सडक कालोपत्रे गरी राम्रो व्यवस्थापन नगरुन्जेल यसको महत्त्व रहँदैन । ओखलढुंगाको बजार पुछारमा कवि सिद्धिचरणको सालिक रहेछ । ओखलढुंगा जन्मथलो भएको र उनको ‘मेरो प्यारो आखलढंगा’ ले यो ठाउँ अरू आकर्षक भएको हो ।


खोटाङ यात्रा भने हलेसी महादेवको आकर्षणले तय भएको हो । मलाई गाउँठाउँ हेर्ने रहर तर केही साथीहरूलाई हलेसी दर्शनले तान्दा कुरा मिली हामी त्यसतर्फ लागेका थियौं । दुई वर्षपहिले ओखलढुंगा जाँदा नदी किनारको सौन्दर्य र नदीको गन्तव्यको उत्सुकता मेटिएकाले घुर्मीपारि खोटाङ जाने बाटो नछुट्टिउन्जेल मलाई नयाँ लागेन । जब बाटो ओरालो लाग्यो र दूधकोसी देखियो म अब फेरि एक भूगोलको विद्यार्थीजस्तो भएँ । यी क्षेत्रबाट मानिस ६०/७० वर्षअघि बसाइँ सरी पूर्वी तराईका विभिन्न जिल्लामा बसोबास गर्न आए । म आदर्श विद्यालय विराटनगरमा पढ्दा केही साथी यसै जिल्लातिरबाट आई मोरङ र हालको सुनसरीमा जग्गा किनी बसोबास गर्दै आएका रहेछन् ।


यो उत्तर दक्षिण बसाइँ सराइको थालनीका दिन थिए, सघन भएपछि तराईको जनसंख्यामा पहाडको दबदबा अनुभूत हुन थाल्यो । खोटाङ जिल्ला मलाई सुन्दर र विकासोन्मुख लाग्यो । जयराम घाटको दूधकोसीको पुलले जिल्लाको शोभा मात्र बढाएको छैन, यसले खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर र अन्य जिल्लाका लागि पनि विकासको कडी बनेको छ । हलेसीले नयाँ जीवन पाएको छ किनभने यो रमणीय स्थानमा तीर्थ गर्न आउनेदेखि पर्यटकका रूपमा आई केही समय बिताउने थलोका रूपमा पनि विकास भइरहेछ । यहाँ हिन्दू र बौद्ध धर्मका दुवैथरीका अनुयायी आउँदा रहेछन् ।


यसैले दुवै धर्मका मन्दिर र स्तूपा देखिन्छ । अब मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि यस क्षेत्रको विकास झन् तीव्र होला भन्ने लाग्छ । तर कृषि, पर्यटन र अन्य व्यवसाय विकासको सम्भावना बढाउन सके नेपालका युवा देशभित्रै अल्झी दीर्घकालीन आर्थिक विकासको जग हाल्ने थिए र नेपाल मानिस निर्यात गर्ने देशका रूपमा रहने थिएन ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?