कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

समाचारको सर्जमिन

पत्रकारमार्का समाचार–फिचरलाई कतिन्जेल फिक्सन ठान्ने ? प्रहरीमार्का घटनाको मुचुल्का या सर्जमिनलाई कथा साहित्य मान्ने कि नमान्ने ?
राजकुमार बानियाँ

नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो ।’ समसामयिक नेपाली साहित्यको खराब लक्षण यही हो । विधाभञ्जन, विधामिश्रण र विधान्तरणको हूलचालमा लोकप्रिय विधाकथालाई निमोनिया लागेकै दुई दशक नाघिसक्यो । त्यसैले त कथाको नाममा ‘घ्यारघ्यार’ मात्रै छ ।

समाचारको सर्जमिन

सामाजिक सञ्जालतिर पटाका पड्काइरहने जिके पोखरेलको ‘गोहो’ हात लागेपछि क्याबात् भन्ने खालका नम्मरी कथा छन् कि भन्ने भान पर्‍यो । फिक्सनल पोस्टमार्टम गरिहेर्दाचाहिँ १० कथाको बिटोमा पनि उही घटनाहरूको घान हालेको भेटियो । फिचर उर्फ फिक्सन । हत्तेरी !


पत्रकारमार्का समाचार–फिचरलाई कतिन्जेल फिक्सन ठान्ने ? प्रहरीमार्का घटनाको मुचुल्का या सर्जमिनलाई कथा साहित्य मान्ने कि नमान्ने ? कहिलेकाहीँ समाचार कथा पनि बन्ला तर कम्तीमा समाचारको अधकट्टी राखेर साहित्य नलेखियोस् । लेखन्दासलाई तथ्यबाहिर बहकिन छुट हुन्न, लेखकले आफ्नो क्षमताले भ्याएसम्म कल्पना गर्न सक्छ । ऊसित अनेक शिल्प र विम्ब खोज्ने फुर्सद पनि प्रशस्त हुन्छ । साहित्यको नाममा स्थूल विषयवस्तु मात्र भन्ने, भाषागत मौलिकता र शिल्पगत चातुर्य केही पनि नदेखाउने ?


समाचारलाई घटना चाहिन्छ तर कथालाई खास घटना नचाहिन पनि सक्छ । कथा कुनै व्यायामविद्या नभए पनि यसले व्यायामको आनन्द पक्कै दिन सक्छ । कुनै नेताको भाषण समाचार बन्ला तर कथा बन्न सक्दैन । कालजयी कथा शाश्वत चिन्तनबाटै लेखिन्छन् ।‘गोहो’ को पहिलो कथा ‘आनन्दपुर’ बेचैन छ । एकाबिहानै चिहानाडाँडामाथि जंगलमा झुन्डिएको कंकाल फेला परेको छ । त्यहाँको बांगेखोलामा आँसुको सुसेली छ । माओवादीहरू सफाया स्विकार्छन् तर काजकिरियाका लागि लास दिँदैनन् । बन्दुकको बलमा डम्बरेले तिलककी श्रीमतीसित अनैतिक सम्म्बन्ध राख्छ । माओवादीमा लागेर पनि घर जोगाउन सक्दैन तिलक । बरु आफैं मारिन्छ । डम्बरेसँग तिलकको नैतिक पौंठेजोरी जाँडको डबकामा झिँगाको उफ्राइजत्ति पनि रहँदैन ।


अर्को कथा छ, ‘सुराकी’ । व्यक्तिगत रिसइवीमा सुराकीको झूटो आरोपमा हेडसर माओवादीबाट मारिएका छन् । छोरी निकिता माओवादी आरोपमा सेनाबाट बलात्कृत भएर मारिन्छे । हेडसर पिता र बहिनी गुमाएको रेशम ज्यान जोगाउन पहाडबाट भागेर मधेस झरेको छ । दुईथरी बन्दुकको मेहेरोमा परेका सर्वसाधारणको नियति कठैबरी !


‘गोहो’ को अर्थ हुन्छ, आदिम अर्थात् परम्परित बाटो । जीकेले यसमा चाहिँ सूर्यप्रसाद र मधुको बीचबाट रगतपच्छे गोहोको कथा हालेका छन् । गाडीमा बम हान्ने नवछापामारले थुप्रै पछ्याएर घाइते मधुसँग गरेको प्रायश्चित्त नै कथाको पेटबोली हो । बौलाएको अभिनय गरिरहेको सूर्यप्रसाद अनि बाँचेको अभिनय गरिरहेकी मधुको अवस्थाले नयाँ क्रान्तिवीरहरूलाई अवश्य झकझकाउनेछ ।


माओवादी द्वन्द्वको सेरोफेरोमा लेखिएका पाँच थान कथा छन्, संग्रहमा । आनन्दपुर, सुराकी, गोहो, छेकारो र तारा । जसले माओवादी आन्दोलनलाई देखेनन्, तिनलाई मात्र यो कथा नयाँ लाग्छ । तर, भुक्तभोगीका लागि त्यस्तो नौलो केही पनि छैन । संग्रहको रुझान माओवादीतिरै देखिनुको एउटा कारण जीकेको ‘फिक्सनल नोट अफ डिसेन्ट’ पनि हुन सक्छ । यी ग्राम्य कथामा द्वन्द्वका जीवित स्मृतिहरू छन् । सरकार राज र जंगलराजबीचमा निहत्था जनताको कहरका सिलसिला छन् ।


पश्चिम नेपालबाट सल्किएको द्वन्द्वको डढेलो पूर्वी भेगमा कस्तो अनुहार लिएर पुग्यो ? यी कथाले धेरथोर भन्न खोजेका छन् । परिवार र समाज अनि समाज र राजनीतिका कथाव्यथा । यस अर्थमा यो राजनीतिक डिप्रेसनको कथासंग्रह हो । यद्यपि जीकेले यसलाई विद्रोही र राज्यपक्षको नभएर द्वन्द्वमा पिल्सिएका जनताको कथा भनेका छन् । माओवादीको देवत्वकरण या या दानवीकरणभन्दा पनि जीकेकरण भएको छ यसमा । ब्ल्याक एन्ड ह्वाइट वा ग्रे जुनसुकै कोणबाट हेरे पनि माओवादी उस्तै देखिन्छ । रोल्पा–रुकुमका माओवादी या पूर्वका माओवादी फरक थिए भन्ने कुनै नैतिक आधार छैन ।


संग्रहको कथा ‘मोचनघाट’ को पेगमा छ, पारिवारिक विघटन । सहरका कामकाजी महिला र पुरुषको मानसिक द्वन्द्व छ यसमा । स्वतन्त्रता र स्वच्छन्दताबीचको लडाइँ पनि छ । ‘भैंस’ कथामा मधेसका भुइँतहको जनताको दुर्नियति झल्किएको छ । यो देहाती कथामा छुट्टै लोकजीवन छ । ‘झपटबहादुर’ कथामा पुस्तान्तरको समस्या देखाइएको छ भने ‘दृष्टिभ्रम’ मा मृतकको प्रेममा नैतिकता खोज्ने प्रहरी अनुसन्धानलाई केलाइएको छ । ‘पर्दाभित्रको मान्छे’ मा नारी र पुरुषबीचको मनोवैज्ञानिक द्वन्द्व असरल्ल छ ।


सामाजिक यथार्थ जीकेको कथाकारिताको धड्कन हो । आम जनमानसकै कथा आएको छ । आफूले देखेको समाजको आफ्नै तरिकाबाट सहज र सरल चित्रण गर्ने उनको प्रयत्न छ । फिक्सनल फ्याक्ट मिलाउन खोज्दा घरी कोठेकारिता घरी फिल्डकारितामा बरालिन्छन्, कुरा त्यत्ति हो । कथाहरू घटनाप्रधान छन् । समाचार पनि त घटनाप्रधान नै हुन्छ । यत्तिको भए चल्छ भन्ने कमजोर मानसिकतामा देखिन्छन् लेखक । लेखकले यति साह्रो निच मार्न मिल्छ ?


कथालाई गहकिलो बनाउने काम कसलाई छाडिदिएका हुन् लेखकले ? फिनिसिङ टच दिने कसको काम हो ? यसलाई जीकेले आलोचना गर्ने ठाउँ छाडिदिएको मान्ने त ? संग्रहको नौलो पक्ष– यो अखबारका १२–१४ सय शब्दका सुरु नहुँदै सकिने कथाहरू खालका कथा छैनन् । पूर्वप्रकाशित पनि देखिँदैनन् । यो कथाकारको धैर्य हो वा अखबारले अस्वीकार गरेको अवस्था, यसै भन्न सकिँदैन । उनका सबैजसो कथा किताब छापिएपछि भने अनलाइनमा गइसकेका छन् । यो पनि लेखकीय विरोधाभास नै हो ।


संग्रहमा जीके फाजिल बयानमा फसेका छन् । उनको सम्पादनकला आफैँलाई काम लागेको छैन । घटनापछि घटना जोड्ने लहडले कथालाई सग्लो अस्तित्व दिन सकेको छैन । यति लम्बाइ किन चाहिन्छ कथालाई ? सन्दर्भअनुसार अगाडि वा पछाडि जाने वा वर्तमानमै रहिरहने वा सबै हुने भन्ने तय हुन्छ कथामा । कथा लामो भयो भन्नुको सीधा अर्थ हो, अल्छीलाग्दो भयो । कथालाई त ग्राफमै पनि देखाउन सकिन्छ भन्छन्, कुर्त भोनेगुट । लम्बाइ कथाको कडी होइन पनि ।


पाठकलाई त जिकेको हरेक कथाका अन्तिम पाना नै नचाहिन सक्छ । सीधै घटनामा प्रवेश गर्न किन हिचकिचाहट ? कथाका कतिपय विम्बविधान लेखकले बुझ्ने र पाठकले नबुझ्ने खालका छन् । सारमा ‘गोहो’ लाई नै दुःखको पुलिन्दा भन्दा पनि हुन्छ । निराशा, हीनता, वेदना र पश्चात्ताप बोकेका पात्रहरूको जम्बोरी बनाउनुपर्ने बाध्यता के छ ? दुःखलाई आधा आकाश मान्ने हो भने पनि संग्रहमा बाँकी आकाश गयल छ ।


‘जून निदाएको रात’ (२०६९) र ‘स्वाभिमानको चिता’ (२०७०) पछि आएको तेस्रो कथाकिताबमा पनि जीके कामचलाउ मात्रै देखिएका छन् । उनको कथाकारितामा अभूतपूर्व केही देखिँदैन । विलक्षण शैली या निजत्व भेट्याउन मुस्किल छ । यी कथामा अलग विश्वदृष्टि खोज्नु पनि लहड मात्रै हुन्छ । पुराना कथाकारहरूलाई उछिन्न त परै जाओस्, नयाँकै लहरमा मिसिने काम उनले गरेका छन् । कथाको शाब्दिक अर्थ भन्नु वा बताउनु मात्र मान्ने हो भने जीकेले ‘गोहो’ मा केही न केही त बताएकै छन् । तर, लोभलाग्दो, संग्रहणीय र अध्ययन–अनुशीलनयोग्य पक्ष छ कि छैन ? महत्त्वपूर्ण पक्ष यो हो ।


कथाकारले कसैको पाइला पछ्याउनु जरुरी छैन तर आफ्नै बाटो नपहिल्याई सुखै छैन । इन्द्रबहादुर राई भनिरहन्थे, ‘जहिले पनि आफ्नो बाटो खोजौं, अरूको बाटो नसमातौं । आफ्नै बाटो पहिल्याउन नसके लेखक–कवि नभए पनि भयो ।’कामचलाउ लेखकहरूको भीडमा प्रायः औसत लेखक पनि श्रेष्ठ मानिन सक्छ । यद्यपि निखार आउँछ, निरन्तर लेखेर । साहित्य साधक बन्न सकिन्छ, अविराम अध्ययनले । संख्या साहित्यको ध्येय नै होइन । बिर्सने जिनिस सिर्जना होइन, समाचार हो ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?