कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेवाः मुस्मां

हिमेश

गुठी विधेयकको विरोधमा सहभागी भइरहेको एउटा समूह छ– नेवाः मुस्मां । अर्थात्, नेवार मुस्लिम समाज । केही दिनअगाडि मात्र गठन भएको यो समाज आफ्नो वास्तविक पहिचान खोज्ने प्रयासमा छ ।

मानिसको स्वभाव नै हुँदो रहेछ, आफू को हो र के हो भनेर खोज्ने । पहिचानको खोजी भन्दा हुन्छ यसलाई । अहिले सरकारले ल्याएको गुठी विधेयकको चारैतर्फबाट विरोध भइरहेको छ । विशेषतः उपत्यकाका नेवार समुदाय यस विधेयकको खुला विरोधमा छन् र यसलाई लिएर दिनहुँ कुनै न कुनै प्रकारले विरोध गरिरहेका छन् । यस्तै विरोध कार्यक्रममा सहभागी भइरहेको एउटा समूह हो, नेवाः मुस्लिम समाज । अर्थात्, नेवार मुस्लिम समाज ।


नेपाल भाषामा भन्दा ‘नेवाः मुस्मां’ हुन्छ, नेवार मुसलमानलाई । उनीहरूले केही दिनअगाडि मात्र गठन गरेको हो, यो समाज । अहिले यही समाज आफ्नो वास्तविक पहिचान खोज्ने प्रयासमा पनि छ । मानवशास्त्री र सामाजशास्त्रीका लागि मात्र यो कम्तीको रुचिको विषय होइन, सबैका लागि उत्तिकै कौतूहलपूर्ण छ र यसले पनि देखाउने गर्छ, हामी र हाम्रो देशमा वास्तवमै कति विविधता छ र मौलिक रूपमा यो कति परिस्कृत र फरक पनि छ ।


यहाँनिर पहिलो प्रश्न हुने गर्छ, नेवार के हो त ? प्रायः के भनिन्छ भने यो जाति होइन, यो त एउटै भाषा बोल्ने समूह हो । फरक समय तथा कालमा जो जाति काठमाडौं उपत्यका छिरे र त्यसले यो भाषालाई अपनाएर आफूलाई यहाँकै बनाए, तिनै नेवार भए र हुन् । इतिहासकार तुलसीराम वैद्य भन्थे, नेवारलाई एकै स्थानमा राख्ने एउटै तत्त्व भनेको भाषा मात्र हो ।


नेवारभित्र फरक संस्कृति र संस्कार मात्र छैन, फरक धर्म पनि छ । नेवारले अभ्यास गर्दै आएका धर्ममा बढी हिन्दु र बौद्ध नै हो । त्यसपछि इसाई धर्म पनि आउँछ । नेवारमा इस्लाम धर्म मान्ने पनि छन्, यसको कम मात्र चर्चा हुन्छ । अब यिनै नेवार मुसलमानले आफ्नो पहिचानका लागि समूह गठन गरेपछि यो विषयमा अब स्वाभाविक रूपमा उत्तिकै चर्चा हुनेछ, त्योभन्दा बढी बहस पनि हुनेछ । त्यस समाजका अध्यक्ष निसार उद्दिन हुन् । यो समाजले तत्काल प्रमुख रूपमा दुई काम गर्न खोजेको छ ।


पहिलो, अब चाँडै हुने राष्ट्रिय जनगणनामा समाजले आफूहरूलाई नेवार मुसलमानका रूपमा पहिचान लेखाउनेछ । दोस्रो काम, यो समुदायका युवा पुस्तामा नेपाल भाषा बोल्ने र बुझ्न कम हुन थालेकाले अब चाँडै भाषा सिकाउने काम पनि हुनेछ । मूलतः उनीहरू नेपाल भाषामै बोलचाल गर्ने हुन् । अहिलेका बाजेबज्यैको पुस्तासम्म मज्जाले नेपाल भाषामै कुरा गरिरहेका हुन्छन् । नाति पुस्तामा आएर मात्र केही समस्या भएको हो, भाषालाई लिएर ।


पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि हिन्दु र बौद्ध धर्म मान्ने नेवारलाई चलाउन खोजेनन्, उनी विशेषतः इसाई धर्म मान्नेप्रति कठोर भए । त्यो बेलाका इसाई नेवार देश निष्कासनमै परे र पुगे, भारतको बेतियासम्म । अझै पनि त्यहाँ इसाई नेवारको नयाँ पुस्तामाझ काठमाडौंका केही न केही संस्कृति बाँकी छ । इस्लाम मान्नेलाई भने पृथ्वीनारायणले राज्यले दिने सुविधा कटौती गरे । उनीहरूले देश नै भने छाड्नु परेन । पछि जंगबहादुरका पालामा जारी भएको मुलुकी ऐनमा भने नेवार मुसलमानलाई पानी नचल्ने बनाइयो । तर त्यो कानुन न थियो, समाजले त्यसलाई स्विकार्ने काम भने गरेन । ‘नेवारभित्रै अरू समुदायले मुसलमानलाई कहिले पनि त्यसरी पानी नचल्ने जातका रूपमा लिएनन् । यसको सबैभन्दा ठूलो प्रमाण हो, अरू नेवार र मुसलमान नेवारको घरको धुरी जोडिएको हुन्छ । यो भनेको समानताको प्रतीक नै हो,’ नेवार मुसलमानबारे लामो समय अध्ययन गरेका रास जोशी मान्छन् ।


घना नेवार बस्तीकै बीचमा कहीं न कहीं कतै न कतै मुसलमानको एउटा घर त हुन्थ्यो नै । अधिकांश नेवारको पूजामा देवतालाई चढाउने भनेको हाँसको फुल हो । पूजामा कुखुराको फुल अहिले पनि चल्दैन । केही समयअगाडिसम्म पनि हाँसको फुल बेच्ने काम मुसलमानकै हुन्थ्यो र टोलटोलमा फुल बेच्ने क्रममा उनीहरू भन्थे, ‘खे माला... ?’ अर्थात् हाँसको फुल चाहिन्छ कि ? त्यति मात्र होइन, केही वर्षअगाडिसम्म पनि नेवार मुसलमानबीच भएको घरको अंशबन्डा र अरू कानुनी काम नेपाल भाषामै हुने गरेको थियो ।


अब प्रश्न उठ्छ, कहिलेदेखि काठमाडौं उपत्यकामा मुसलमानहरूको प्रवेश भयो त ? दाबी त के गरिन्छ भने लिच्छिविकालमै काठमाडौं उपत्यकामा मुसलमानहरूको प्रवेश भइसकेको थियो । तर लिखित इतिहास सुरु हुन्छ, राजा रत्न मल्लदेखि । उनको पालामा व्यापार गर्ने उद्देश्यले कश्मीरका केही मुसलमान यहाँ आए । ती व्यापारीको मुख्य गन्तव्य तिब्बत थियो तर समयको अन्तरमा उनीहरू काठमाडौंमै रोकिए । इतिहासले भन्छ, नेपाल र कश्मीरबीचको सम्बन्ध निकै पुरानो हो । ती कश्मीरी मुसलमानले सुरुमा अत्तर र बहुमूल्य ढुंगाको व्यापार गरेका थिए ।


तिनै मुसलमानले रत्न मल्ललाई बाज उपहार दिएको पनि भनिन्छ । केही मुसलमान प्रताप मल्लको पालामा पनि आए । हाम्रोमा इतिहास र मिथकबीच अन्तर छुट्याउन निकै गाह्रो छ । कथाजस्तै गरेर अहिलेसम्म पनि सुनाउँदै आइएको के छ भने यी मुसलमानले प्रताप मल्ललाई एउटा जादु देखाए र त्यसबाट उनी खुबै प्रभावित भए । त्यस जादुका क्रममा रानीपोखरीको हात्ती नै केही समयका लागि गायब गरिदिएका थिए । पछि प्रताप मल्लले त्यसैकारण जमलतिर मस्जिद बनाउन जग्गा दिएको पनि भनिन्छ ।


यी दुई फरक कालखण्डमा भित्रिएका मुसलमानसँगै अत्तर र बहुमूल्य ढुंगाको व्यापार मात्र भित्रिएन, जादु, झारफुक विद्या, घोडचढी, उस्ताजसहितको गायन पनि भित्रियो । कालान्तरमा उनीहरूले बोल्ने पनि नेपाल भाषा भयो । उनीहरूको घर पनि पारम्परिक नेवारकै जस्तो हुन थाल्यो । उनीहरूको अर्को प्रभाव नेवारको खाना, आभूषण र लुगामा पनि उत्तिकै पर्‍यो ।


‘मुसलमानको ताबिजबाटै नेवारको लोकप्रिय गहना ताय बनेको हो । उनीहरूले नै काठमाडौंमा चुरा पोते, मेहेन्दी पनि ल्याए,’ जोशी मान्छन् । उनले ०७१/०७२ तिर गरेको अध्ययनअनुसार काठमाडौं उपत्यकामा हजारको हाराहारीमा नेवार मुसलमान छन्, जसले आफ्नो नाम पछाडि प्रायः सय्यद, ख्वाजा, पट्ठान, मियाँ र खान प्रयोग गर्छन् । भित्री नेवारको बस्तीमध्ये उनीहरू काठमाडौंमा प्रायः जनबहाल, छत्रपाटी, वटु र इन्द्रचोकमा छन् । ललितपुरमा गाबहाल र मंगलबजारतिर छन् । यस्तै भक्तपुरमा भने गोलमढीको वरिपरि ।


उनीहरू अरू नेवारजस्तै यहाँका चाडपर्वमा सहभागी हुन्छन् । घरमै समयबजी ज्वर्ने र खाने पनि गर्छन् । चटामुरी पनि खान्छन्, छ्वयला पनि खान्छन्, आलुका परिकारको मज्जा पनि लिन्छन् । भोजतिर पनि सजिलै सहभागी हुन्छन् । फरक धेरै अर्थमा मासुमा हुन्छ । नेवार मुसलमान पनि हलाल गरिएको मासु मात्र खान्छन् ।


त्यसैले उनीहरूले मुसलमानले चलाएका पसलबाट मात्रै मासु किन्ने गर्छन्, हलाल गरिएका । अहिले अधिकांश नेवार मुसलमानको व्यापार भनेको चुरापोतेकै हो र यसको केन्द्रविन्दु रहेको छ, इन्द्रचोकको प्रसिद्ध राखी बजार । केसम्म भनिन्छ, भने यसको खास नाम इराकी बजार थियो, किनभने केही मुसलमानका पुस्ता इराकबाट आएका थिए । पछि यसको नाम राखी बजार भयो । मीठो संयोग के भने यस बजारका अधिकांश ग्राहक भने हिन्दु हुने गर्छन् । चुरा–पोते शौभाग्यको प्रतीक मानिन्छ र त्यसका लागि हिन्दुहरू मुसलमानको बजारमा निर्भर छन् ।


यहाँनिर थप्नुपर्ने एउटा अर्को विषय पनि छ । यो संयोगले फुटबलसँग जोडिएको छ । राणा शासनको अन्त्यतिर नेपालमा फुटबल भित्रिएको थियो । पछि त्यो आम जनताले रुचाएको खेल पनि भयो । राणा शासनको अन्त्यसँगै टोलटोलमा फुटबल टिम बन्न सुरु भयो । यसै क्रममा इन्द्रचोकमा पनि एउटा टिम बनेको थियो, जसका सबै खेलाडी मुसलमान थिए । त्यो टिमले खुबै तहल्का मच्चाएको पनि थियो, लामो समयसम्म । यसकै एक खेलाडी हुन्, अफताब उद्दिन ।


सन् १९६३ मा नेपालले आगा खाँ गोल्डकप खेलेको थियो र यसलाई नै नेपाल सहभागी पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता मानिन्छ । यसको आयोजना गरेको थियो, अहिलेको बंगलादेशले । त्यति बेला बंगलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । त्यस टिममा पनि परे, तिनै उद्दिन । उनी डिफेन्डर थिए । अहिले पनि उनलाई भेट्नुपर्छ, एउटा मुसलमानको छवि जुन मनमा आउँछ, त्यो उनमा पाइन्न । बरु उनी देखिन्छन्, ठ्याक्कै आम नेवारजस्तै । यस्तै मुसलमानहरू अहिले आफ्नो पहिचानको खोजीमा छन्, नेवाः मुस्मांका रूपमा ।


twitter : @himeshratna प्रकाशित : जेष्ठ ३२, २०७६ ११:५७

प्रतिक्रिया
पठाउनुहोस्

किन दुख्यो कामिरिताको मन ?

'पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा त्यसै भारतमा पलायन भएका होइनन् । सरकारले, नेताले हामीलाई चिनेन । अहिले मलाई दार्जिलिङबाट बोलाको बोलाई छ । बालबच्चालाई सित्तैमा पढाइदिने, घर बनाइदिने, रासनकार्ड आदि दिने अफर गरेका छन् ।'
सुरज कुँवर

 कामिरिता शेर्पा फेरि आफ्नै रेकर्ड ब्रेक गर्दै धर्तीको सबभन्दा अग्लो चुचुरोमा सर्वाधिक (२४ पटक) पुग्ने आरोही बनेका छन्  । सोलुखुम्बु थामेका यी ४९ वर्षीय 'भेट्रान’ आरोही तथा हाई–अल्टिच्युड गाइडले यस वर्षको वसन्तकालीन आरोहण सिजनमा एकै सातामा दुई पटक सगरमाथा आरोहण गरेपछि यिनको साहसको विश्वभर चर्चा छ  ।

माघ ४ मा ५० वर्षमा टेक्ने उनी आउने सिजन २५ औं पटक सगरमाथा चढ्ने योजनामा छन् ।


कामिरिताको सर्वाधिक सगरमाथा आरोहणलाई कतिपयले नेपाली भनाइ ॅपानीपँधेरो’ को यात्रासँग तुलना गरिरहेका छन् । जीविकोपार्जनका लागि बाल्यकालादेखि सगरमाथासँग साइनो गाँसेका कामिरिताले भने आफू कुनै रकर्ड ब्रेक गर्ने उद्देश्यले नभई पर्यटन क्षेत्रमा काम गर्दै जाँदा अहिलेको अवस्थामा आइपुगेको बताउँछन् ।


ॅजसरी सैनिक युद्धमा जान्छ, त्यस्तै हो मेरो काम । मरिन्छ कि बाँचिन्छ थाहा नै हुँदैन,’ कपनस्थित भृकुटीचोकको डेरामा भेटिएका शेर्पाले हालैको एक मध्याह्न भने, ॅभिडन्तमा हिँडेको सैनिकले लड्दिनँ भन्न मिल्छ र ? त्यस्तै हो, मैले पनि जानेको कर्म रोकें भने मेरा दुई छोराछोरी र श्रीमतीलाई कसले पाल्छ ?’
वैशाख ६ मा आरोहणका लागि सगरमाथा पुगेपछि ३७ दिनमा दुई पटक सगरमाथा आरोहण सकेर जेठ ११ गते काठमाडौं फर्किएका यिनै आरोहीले आफ्नो १२ वर्षको उमेरमा सुरु भएको भरिया, चौंरी गोठालो र आरोहीको संघर्षकथा कान्तिपुरका सुरज कुँवरलाई यसरी बताए :

यस पटकको आरोहण सकेर जेठ ११ गते सगरमाथा आधारशिविरबाट लुक्ला हुँदै काठमाडौं ओर्लिएँ । विमानस्थल टर्मिनलमा मलाई स्वागत गर्न पर्यटन व्यवसायी, मेरा परिवार र साथीभाइ मात्रै थिए । नेपाल सरकारको एक जना खरदार, मुखिया देखिएनन् । स्राहै मन खल्लो भयो । मैले रेकर्ड बनाएपछि मेरो नामसँगै देशको नाम जोडियो । नेपालको कामिरिताले २४ पटक सगरमाथा चढ्यो भन्दै देश–विदेशका मिडिया र व्यवसायीले प्रचार गरे ।


मैले आफ्ना लागि रेकर्ड बनाउन सगरमाथा चढेको होइन । मेरो कामै वर्षौंदेखि नेपालमा आएका विदेशीलाई सुरक्षित तरिकाले सगरमाथा चढाउने हो । यदि कुनै विदेशीले राम्रो अनुभव बटुलेर फर्कियो भने अर्को पटक उसले अरू साथीहरू पठाउँछ । तिनै विदेशी पर्यटकले हामी हिमाली भेगमा बस्ने शेर्पालाई काम दिएका छन् । सरकारले सलामी दस्तुर भनेर एक विदेशीबाट लाखौं रुपैयाँ उठाउँछ । यस सिजनमा मात्रै ५० करोड रुपैयाँ उठायो ।


पर्यटक आइदिएर होटल, रेस्टुरेन्ट चलेका छन् । एयरलाइन्सलाई भ्याईनभ्याई हुन्छ । एक्सपिडिसन कम्पनी, गाइड, भरिया, चौंरीसम्मले काम पाउँछन् । प्रधानमन्त्रीले पर्यटनलाई प्राथमिकता दिएका छौं भन्छन् । तर, एउटा शेर्पा आरोहीले कति दुःख गरेर विदेशीलाई चुचुरोमा पुर्‍याएको छ, त्यो नदेख्ने ? हाम्रा केटाकेटीलाई शिक्षा दिनुपर्ने, घरपरिवारलाई सित्तैमा औषधि उपचार गराइदिनुपर्ने हो । हामी ५० वर्ष पुगेपछि आरोहणमा जान सक्दैनौं हाम्राबारे सोचेको खै ?


पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा त्यसै भारतमा पलायन भएका होइनन् । सरकारले, नेताले हामीलाई चिनेन । अहिले मलाई दार्जिलिङबाट बोलाको बोलाई छ । बालबच्चालाई सित्तैमा पढाइदिने, घर बनाइदिने, रासनकार्ड आदि दिने अफर गरेका छन् । भारतले मात्रै होइन अन्य मुलुकबाट पनि विदेशी साथीहरू ‘हाम्रो देशमा आऊ के गर्नुपर्छ हामी गर्छौं’ भनी बोलाइरहेका छन् ।


अबको १० वर्षपछि यो देशले शेर्पाहरूको महत्त्व थाहा पाउनेछ । आरोहणमा नयाँ पुस्ता आएकै छैन । आए पनि बिरलै छ । अहिले खुम्बु क्षेत्रको शेर्पाका दाँजोमा मकालु (संखुवासभा), दोलखालगायतका गाउँका शेर्पाहरू आरोहणमा देखिन्छन् । तर, सबैले बिस्तारै शिक्षाको महत्त्व बुझ्दै गएका छन् । अचेल हरेक शेर्पाका केटाकेटी काठमाडौंमा पढ्दै छन् । अब उनीहरूले हामीजस्तो भारी बोकेर दुःख गर्लान् ? न त गर्न सक्ने नै छन् । नयाँ जनशक्ति उत्पादन भइरहेको छैन । शेर्पाबिना आरोहण असम्भवजस्तै हो । आरोहणका बेला शेर्पाले टेन्ट गाड्ने, झोला बोक्ने मात्रै होइन ओछ्यान लाइदिनुपर्छ । खाना बनाएर ओछ्यानमा पुर्‍याइदिनुपर्छ । चुचुरोसम्म अक्सिजन बोकिदिनुपर्छ । अनि, शेर्पाले नै आफू र आफ्नो अतिथिलाई सुरक्षित ओरालिदिनुपर्छ ।

सगरमाथा दिवसकै आएन निम्तो
काठमाडौं एयरपोर्टमा सरकारको कुनै पनि प्रतिनिधि एक गुच्छा फूल बोकेर नआएको मैले भनिसकें । अर्को ठूलो गुनासो नेपाली कर्मचारीतन्त्रप्रति हो । हरेक सिजनमा आरोहणमा जानेहरूको समूह हुन्छ । यसलाई आरोहण दल भनिन्छ । त्यसमा कानुनको पालना गराउन, कुनै अवैध काम नहोस् भनेर एक जना सम्पर्क अधिकृत खटाइन्छ । सम्पर्क अधिकृतलाई कम्तीमा २ देखि ५ लाखसम्म लगानी हुन्छ । यो रकम विदेशी पाहुनाबाटै एक्सपिडिसन कम्पनीले उठाएर दिने हो । तर, अधिकांश सम्पर्क अधिकृत काठमाडौंबाटै बिदा हुन्छन् । पैसा बुझ्छन् । हिमालमा जाँदैनन् । गएकाहरू पनि विभिन्न बहाना बनाएर फर्किहाल्छन् ।


उनीहरूलाई ज्वाइँसरह मेजमानी चाहिन्छ । अन्तिममा पर्यटन विभागले दिने प्रमाणपत्र उनीहरूकै सिफारिसमा दिने हो । उनीहरूलाई खुसी बनाउन नसक्नेले दुःख पाइरहन्छन् । बेलैमा प्रमाणपत्र पाइँदैन । यस पटक म आबद्ध कम्पनी सेभेन समिटमा ५ वटा आरोहण दलका ५ जना सम्पर्क अधिकृत थिए । तर, मैले २ जना मात्रै देखें । बाँकीलाई देखिनँ । उनीहरूलाई एकातिर सरकारले ४५ दिन बिदा दिन्छ । भत्ता पाउँछन् । तर, हिमालमा जाँदैनन् । घरमै लुकेर बस्छन् । यो वर्षौंदेखिको बदमासी हो । सरकारले किन कडाइ
गर्न सक्दैन ?


अर्को कुरा सरकारले हरेक वर्ष मे २९ का दिन सगरमाथा दिवस मनाउँछ । सगरमाथा चुचुरोमा मान्छेको पाइला पुगेको पहिलो दिनलाई सम्झेर मनाइने कार्यक्रम जेठ १५ मा पर्छ । यस पटक मैले त्यो कार्यक्रमको निम्तो नै पाइनँ । ल मलाई त निम्तो नै पठाइएन, ‘हिमचितुवा’ भनेर सरकारले मानेका आङरिता शेर्पालाई पनि किन निम्तो पठाइएन ? यस्ता आरोहीको सूची लामै छ । जसले नेपाललाई चिनायो उनैलाई सम्मान छैन राज्यको ।


ट्राफिक जाम होइन, जिद्दीले हुन्छ मृत्यु
यस सिजनमा ड्रोनबाट खिचेको एउटा तस्बिर चर्चित बनेछ । यस सिजनमा सगरमाथामा मात्रै ९ आरोहीको मृत्यु भएको थियो । त्यो फोटो हेरेर यस सिजनमा सगरमाथामा ट्राफिक जामले मृत्यु बढ्यो भनियो । यो अफवाह हो । २०५१ साल वैशाखमा मेरो पहिलो सगरमाथा आरोहण थियो । त्यसो त २० वर्षदेखि म सगरमाथा पुगेकै छु । कानुनी हिसाबले २४ पटक सगरमाथा आरोहण गरें । तर, एक पटक चौथो शिविरबाटै फर्केर पनि चुचुरोमा पुगेको रेकर्डसमेतलाई जोड्दा मैले २५ पटक सगरमाथामा पाइला राखिसकें । हरेक वर्षका आरोहणमा मेरो आरोहण दलमा कुनै न कुनै सदस्यको मृत्यु भएकै छ । यसै वर्ष पनि हाम्रो टिमबाट एक आइरिस र एक भारतीय आरोहीको मृत्यु भयो । ५ वर्षअघिको हिमपहिरोमा १६ जना शेर्पा एकै चिहानमा परे । मेरै टिमका कुक, किचनब्वाई र शेर्पा गरी ५ जना परे । त्यो प्राकृतिक बिपत् थियो ।


मेरो बुझाइमा शेर्पाको दाँजोमा आरोहीको मृत्यु दर बढी छ । यसको कारण अनुभव, अभ्यास, जिद्दी आदि हो । एकै पटक सगरमाथा आरोहण आँट्ने होइन । ससाना पिकमा अभ्यास गरेर मात्रै ठूलो हिमाल चढ्नुपर्छ । अर्को कुरा के देखिन्छ भने, विदेशी आरोहीहरू जिद्दी गर्छन् । गाइडले भनेको नमान्ने सन्कीहरूको मृत्यु भएको देखिन्छ । त्यसबाहेक पछिल्ला वर्ष अर्धसिपालु गाइड पनि विदेशीको मृत्युको कारण बनेका छन् । आरोहण एकदमै व्यावसायिक भयो ।


पर्याप्त अनुभव र ज्ञान नभएका गाइड भएका कम्पनीमा मृत्युको दर बढी देखिन्छ । यदि कुनै विदेशी सस्तो प्याकेजमा आउँछ भने उसले क्षमतावान गाइड पाउने चान्स कम हुन्छ । आरोहणमा गएका सबै शतप्रतिशत फिर्ता आउँछन् भन्ने हुँदैन । आरोहण भनेको डेडजोनको यात्रा हो । पछिल्ला वर्ष नेपाली जो आरोहणमा गइरहेका छन्, उनीहरूका लागि आरोहण बिनाउद्देश्यको फेसनजस्तै भएको छ ।

१० वर्ष लाग्छ सगरमाथा सफा हुन
सगरमाथामा अहिले धेरै फोहोर छ । एउटा आरोहीले ८ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम हुँदा पनि अत्यधिक फोहोर छ हिमाल । यस पटक सफाइ अभियान सुरु गरियो । तर, सफाइ अभियानले जति फोहोर संकलन गर्नुपर्थ्यो त्यति गरेन । यस पटकको सफाइ अभियान प्रभावकारी देखिएन । यही तरिकाले काम गर्ने हो भने अझै १० वर्ष लाग्छ सगरमाथा सफा हुन ।

२५ औं पटकपछि चढ्दिनँ
०७१ वैशाखको हिमपहिरोमा १६ जना शेर्पाको आधार शिविरमाथि खुम्बु आइसफलमा निधन भयो । त्यो वर्ष मेरै टिमका ५ जनासहित परेका थिए । हामीले आलु खनेजस्तै गरी शव निकाल्नुपर्‍यो । त्यस वर्षको घटनाले मलाई हिमाली भेगमा काम नगरौं भन्ने भयो । तर, आफूले वर्षौंदेखि जानेको यही काम हो । हामीले नगरे कसले गर्छ ? धेरैले मलाई मेरो रेकर्डबारे सोध्छन् ? कतिपल्टसम्म चढ्ने भनेर ? म रेकर्डका लागि चढेको होइन । काम गर्दै जाँदा रेकर्ड बन्यो । अब २५ पुगेपछि अरू साथीभाइलाई छाडिदिन्छु होला ।
यस वर्षको आरोहणबाट ममाथि एउटा डकुमेन्ट्री एभरेस्टम्यान बन्दै छ । सबै सुटिङ सकिसक्यो । यस पटक चुचुरोसम्मै मलाई क्यामरा र ड्रोनले पछ्याएको थियो । म साधारण लेखपढ गरेको मात्रै छु । मेरो २० वर्षको छोरा लाक्पा तेन्जिङ र १७ वर्षकी छोरी पासाङ डोल्माले मेराबारे लेख्दै छन् । यो किताबका रूपमा आउँदै छ । सिनेमा र किताबबाट संकलन हुने रकमले थामे गाउँमा अस्पताल बनाउने सोचमा छु । त्यहाँ अहिले पनि सुत्केरी सेवा भएको अस्पतालसमेत छैन ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×