१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मन चंगा त लोटामा गंगा

स्थान
घनश्याम खड्का

राजकाजमा वैराग चलेपछि राजा रणबहादुर शाह संन्यासी भए र काशी पुगेर निर्गुणानन्द बनी गंगाको किनारमा जपतप गरेर बस्न थाले । सन्त मिजासका कासी नरेश पनि उनको कुटीमा केही काल रहे । चञ्चल मतीका रणबहादुर भने कुटीमै बसिरहन सकेनन्, फेरि फर्केर नेपालै आए । केहीपछि भाइ शेरबहादुर शाहको तरबारबाट काटिएर उनको इहलीला समाप्त भयो’ इतिहासको कुनै अध्यायमा यस्तो मैले पढेको थिएँ सानैमा ।

मन चंगा त लोटामा गंगा

गोधूलिमा चलेको शीतल हावाको झोक्कालाई महसुस गर्दै गंगामा तैरिरहेका बेला मलाई अचानक २ सय १३ वर्षअघि नै बितिसकेका उनै स्वामी निर्गुणानन्दको सम्झना हुन गयो हालैको एक साँझ । उनलाई सम्झाउने काम गरेको थियो किनाराको एक छेउमा झुलुक्क देखिन पुगेको ललिता घाटले । घाटैघाटको सहर भने पनि हुने काशीमा हरेक घाटका कथा छन् । ललिता घाटको पनि छ । रणबहादुर शाहले तपस्या गरेको गंगाको किनार कालान्तरमा उनकी रानीमध्येकी एक ललितत्रिपुरासुन्दरीका नामबाट चिनिन गएको रहेछ । घाटमाथि बनेको मन्दिर र वृद्धाश्रममा नेपाली वृद्धा काल कुरेर बसिरहेका भेटिन्छन् जहिले गए पनि ।


काशीमा मरे मुक्ति पाइन्छ भन्ने धेरैले ठान्छन् । आज पनि हर सन्ध्या काशीका घाटहरूमा आरती चल्छ जसमा सहभागी हुन आउनेहरू इहलोक सुधारेर परलोकमा मोक्ष पाउने कामना गर्छन् । यही आस लिएर रणबहादुर काशी आएका थिए होलान् त्यस बेला । दरबारमा नमिलेको शान्ति मसानघाटमा खोज्न आइपुगेका थिए उनी, जो आफैंमा एक अनौठो कृत्य थियो । फर्केर फेरि राजकाजै चलाउन गएको र कलहमा परी आफ्नै परिवारबाट काटिनुपरेको अवस्थालाई पर्गेल्दा शान्ति महाराजको खोज मात्रै थियो, प्राप्ति होइन भन्ने देखिन्छ । आज पनि काशीमा शान्तिको खोजी गर्दै अनेक ठाउँबाट आइपुग्नेहरूको कमी छैन ।


इतिहास केलाउँदा के लाग्छ भने मान्छेले सार्वकालिक रूपमा शान्तिको खोजी गर्दै आइरहेको छ । दुनियाँदारीको गोलचक्करमा पाइने साधारण लाभ र हानिले मनुष्यलाई निरन्तर सुख र दुःखको अनुभूति गराइरहेकै हुन्छ । यो निरन्तरको वृत्तबाट वाक्क भएपछि हृदयमा एक कामना ढिलोचाँडो सबको जीवनमा उदाउँछ– मोक्ष पाउने कामना । यही मोक्षको खोजले मानिसले ईश्वरको रचना गर्‍यो र मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च अनि गुम्बाहरू बनायो । ध्यान, जपतप र प्रार्थनाका अनेक विधिहरू यही खोजले गरेको आविष्कार हो ।


हिन्दूहरूले सबभन्दा ज्यादा मुक्ति खोजेको कुनै भौगोलिक ठाउँ छ भने त्यो सायद काशी नै हो जहाँ २३ हजारभन्दा बढी त मन्दिरै छन् । लाखौंलाख शान्तिका याचकहरू हरेक वर्ष तीर्थ गर्न भनेर आइपुग्छन् काशीमा । तर, अधिकांशको जीवन रणबहादुरले झैं शान्ति खोज्नमै बित्छ, प्राप्ति तिनको हकमा आइलाग्दैन ।


काशीमा शान्तिका याचकलाई अझ अशान्त पार्ने गरी पण्डाहरूले सताउँछन् । जगन्नाथको मन्दिरमा लाम बसेका भक्तजनहरूलाई अतिरिक्त दक्षिणा तिर्न लगाएर सिधै भोलेको दर्शन गराउने व्यवस्था भएको खबर लिएर आउने पण्डितहरू देख्नुभयो भने आश्चर्य मानिरहनु पर्दैन किनभने त्यो त्यहाँको नित्य क्रिया हो ।


यसबाटै प्रस्ट हुन्छ, कासी पुग्दैमा मोक्ष मिल्दैन । नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै भन्ने आहान त्यसै बनेको होइन । तर पनि, धेरै योगी र तपस्वीहरूको पाइला परेको ठाउँमा जागरणको एक सूक्ष्म तरंग सदाकाल व्याप्त हुन्छ भन्ने आम विश्वास छ । वस्तुगत अवस्था सत्य–असत्य जे भए पनि त्यसप्रतिको विश्वासले धेरै ठूलो छाप पार्ने हुनाले मुमुक्षुहरूका लागि तीर्थ र धामहरू ऊर्जाका स्रोत हुन् ।


हपहपी गर्मीमा किराझैं रगरगी हिँडिरहेका मान्छेका माझबाट अघि बढ्दै जेठको पहिलो साता म काशीका साँघुरा गल्लीहरूबाट अघि बढ्दै गंगा किनारमा पुगेको थिएँ यस्तै कुरा मनमा खेलाउँदै । एक अव्यक्त आकर्षणले यस प्राचीन सहरमा मलाई सधैं नै तानेको अनुभव यस पटक पनि भयो । सायद, त्यही विश्वासको परिणति होला यस्तो भाव ।


अमेरिकी लेखक मार्क ट्वाइनले एक पटक वाराणसी पनि भनेर चिनिने यो सहर घुमेपछि लेखेका थिए, ‘बनारस इतिहासभन्दा पुरानो छ, परम्पराभन्दा जेठो छ, कथाहरूभन्दा यसको उमेर बढी छ अनि यी जम्मै कुरा एकै ठाउँमा राख्दा पनि त्यसभन्दा दुई गुणा बूढो देखिन्छ ।’


गंगाको यो किनारमा मुमुक्षुहरू मात्रै होइन धेरै ‘पहुँचाहुवा’ मुनिहरूको पनि आवागमन भएको इतिहास छ । ज्ञानपाएपछि बुद्धले काशीक्षेत्रकै सारनाथमा पुगेर धर्मचक्र प्रवर्तन गरेका थिए । बोधगयामा तपस्यारत रहँदा आफूलाई सेवा गर्ने कपिलबस्तुका पाँच संन्यासीहरूलाई उपदेश दिन उनी ऋषिपतन पुगेका थिए । मृगादव पनि भनिने काशीक्षेत्रको एक वृक्षमुनि कौण्डण्य, वप्प, भद्दिय, महानाम र अस्सजितलाई भेला पारेर उनले चार आर्यसत्यको उपदेश दिए ।


जीवनमा दुःख छ, दुःखको कारण छ, दुःख हटाउन सकिन्छ र दुःख हटाउने उपाय छ भन्ने चार उपदेश नै चार आर्य सत्य हो । सुन्दा सरल र सजिलोजस्तो लागे पनि यसको व्याख्या गहिरो छ । बुद्धले त्यसपछिका ४५ वर्ष यही उपदेशलाई बुझाउने काममा व्यतीत गरे । बौद्ध दर्शनको चुरो कुरै यही चार सत्य हुन् । बुद्ध स्वयंबाट धर्मदेशनाको श्रवण गर्दागर्दै पाँचै भिक्षुहरूले ज्ञानावतारमा उपलब्ध भएका थिए भन्ने बौद्ध साहित्यमा महिमापूर्ण ढंगले उल्लेख छ । तिनै पाँच ब्राह्मणहरू बुद्धका प्रथम शिष्य भए ।


संसारका सबै प्राणीको दुःख अन्त गर्नका लागि चारैतिर गएर चार आर्य सत्यलाई फैलाउने आदेश पनि बुद्धले ती अग्र शिष्यलाई दिएका थिए । ज्ञान पाएपछि त्यसलाई दुःखी मानिसका माझमा गएर फैलाउनू भन्ने बुद्धको आदेश हुन्थ्यो जसका कारण संसारभर नै बौद्ध मत फैलिन पुगेको छ । ज्ञानको यस्तो सन्दर्भ जोडिन गएकाले बुद्धका प्रेमीहरू काशी जान्छन् र सारनाथ पुगी मोक्षको गहिरो संकल्प गर्छन् ।


काशीको कुरा आउँदा तुलसीदासजस्ता कवि र कबिर अनि रैदासजस्ता सन्त पनि स्वतः सम्झनामा आउँछन् । नेपालको ग्रामीण जनजिब्रोमा झुन्डिएको एउटा उखान ‘मन चंगा त लोटामा गंगा’ रैदासको जीवनमा जोडिएको एउटा मीठो कथासँग सम्बन्धित छ ।
रैदास समाजले अछुत मानेको चर्मकारका छोरा थिए । जीवनभर जुत्ता बनाएर बस्थे । तर उनको चित्तको अवस्थाचाहिँ सधैं समाधिस्थ हुन्थ्यो । उनी संसारको लेनदेन र लाभहानिबाट पूर्णतः अलग हुन्थे ।


सारा ब्राह्मणहरू गंगामा स्नान गरी ध्यान इत्यादिमा लिन हुँदा उनी मगनमस्त भई जुत्तै मात्रै सिलाइरहन्थे । एक पटक रैदासकोमा गंगा स्नान गर्न जान लागेका एक ब्राह्मणले उनलाई पनि साथै जाऊँ भनेछन् । ‘जान त हुन्थ्यो, तर जुत्ता बनाउँदैमा बेफुर्सदी छु’ भन्दै रैदासले ती ब्राह्मणलाई चार सुपारी हातमा दिएर आफ्नातर्फबाट गंगालाई चढाइदिन भनेछन् । गंगामा डुबुल्की मारिसकेपछ ब्राह्मणले पनि रैदासले भनेझैं ती सुपारी पानीमा हाल्दै गंगालाई भनेछन्, ‘यो रैदासका तर्फबाट ।’


कथा अनुसार तत्क्षणै गंगा प्रकट भइन् र हीराजडित बाला ब्राह्मणका हातमा थमाउँदै भनिन् रे, ‘यो चाहिँ रैदासलाई, मेरातर्फबाट !’ ब्रह्म सत्य संसार मिथ्या भनेर जति नै रटे पनि ब्राह्मणलाई हीराको बालाले लोभ्यायो । उनले त्यो रैदासलाई नदिएर आफैंसँग राखे । अनि केहीपछि राजालाई खुसी पार्न उपहारमा त्यो दिए अरे । राजाले रानीलाई दिएछन् । रानीलाई बाला यति मन परेछ कि उनले अर्को पनि चाहियो भनी राजासँग मागिछन् र राजाले चाहिँ ब्राह्मणसँग मागेछन् । अर्को जोडा नदिए राजा रिसाउने डरले ब्राह्मण रैदासकोमा पुगे । सारा कुरा बताए र भने, ‘लौ, गंगासँग अर्को पनि मागिदिनुपर्‍यो ।’


रैदास जुत्ता सिलाउनमै तल्लीन हुनाले गंगासम्म जाने फुर्सद उनलाई थिएन । जुत्ता बनाउने औजार चोपल्ने लोटामा उनले पानी भरेछन् । अनि त्यहीँ गंगाको प्रार्थना गरेछन् । कथा भन्छ, लोटामै गंगा प्रकट भइन् र रैदासलाई अर्को बाला पनि दिइन् । त्यसबेलादेखि ‘मन चंगा तो कठौती मे गंगा’ भन्ने उखान भारत वर्षभर चल्तीमा आयो भनिन्छ । त्यसैको अनुवाद नेपालीमा ‘मन चंगा त लोटामा गंगा’ दीर्घ चल्तीमा छ ।


यो कथाको सन्देश निकै गहिरो छ । मनलाई बिथोल्ने क्लेषहरू भनेका राग, द्वेष, लोभ, मोह र अहंकार नै हो । सारा ध्यान, तपस्चर्या र समाधि यो पञ्चक्लेशलाई शोधन गर्नकै लागि रचिएका विधिहरू हुन् । प्रज्ञाचक्षु उदाएको छ भने यसलाई सोधन गर्न रैदासले झैं जुत्तै बनाइरहेका बखत पनि सम्भव छ । अविद्याले ढाकेको अवस्थामा चाहिँ जति नै शीर्षासन गरे पनि दुःखले गिजोली नै रहन्छ ।
जतिसुकै राम्रो अवस्थामा पनि जीवनमा यो भएन र ऊ भएन भनेर ठुस्किने बहानाहरूको अन्त कहिल्यै हुँदैन । न त्यसले उत्पाद गर्ने दुःखकै कुनै अन्त्य छ ।


यही सत्यको मनन हृदयको अवस्थामा हुन गयो भने क्लेशहरू कमजोर हुन पुग्छन्, जागरण सघन हुन्छ र प्रज्ञा प्रवल । यही अवस्थालाई बरकरार राख्दा दुःखको क्षय क्रमिक रूपले हुँदै जान्छ भने शान्तिको एक गहिरो अनभूति जतिसुकै बेला भइरहन्छ । त्यसका लागि काशी नै जान पर्दैन । न कुनै ज्योतिषीलाई देखाएर ग्रह शान्ति गराइराख्नुपर्छ, न मन्दिर, मस्जिद नै धाइराख्नुपर्छ न कुनै अज्ञेय ईश्वरको भक्ति नै जरुरी छ । गरिरहेको काम तठस्थ चित्तले गर्नु नै ठूलो ध्यान, पूजा र प्रार्थना हो । तिनका गुण र दोषहरूबाट वशीभूत नभई मानिसहरूसँग सरल र हार्दिक व्यवहार गर्न सक्नु नै निष्प्रपञ्च प्रेम हो । यही सत्यलाई सजिलो गरी भन्नका लागि चल्तीमा आएको हो, ‘मन चंगा त लोटामा गंगा ।’

प्रकाशित : जेष्ठ २५, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?