कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चीनको ‘एस्ट्रे डिप्लोमेसी’

छिमेक
लक्ष्मी लम्साल

सन् १९५७ मा नयाँ चीनका प्रणेता माओ–च–तुङ चिनियाँ कम्युनिस्ट युथ लिगअन्तर्गत ‘अल–फिमेल नेसनल कांग्रेस’ मा भाग लिइरहेका थिए । माओले चुरोट खान खोजेपछि सहभागी महिलाहरूबीच लाइटर बालेर सल्काइदिन होडबाजी नै चल्यो । माओ भन्थे, ‘मेरो जीवनबाट दुइटा कुरा अलग गर्न सकिँदैन, पहिलो चुरोट र दोस्रो चिया ।’

चीनको ‘एस्ट्रे डिप्लोमेसी’

चीनमा यदि तपाईं कसैकोमा पाहुना लाग्न जानुभयो भने चुरोट र ग्रिन टीले स्वागत गरिनुहुनेछ । चीनमा अतिथिको हातमा चुरोट दिएर आफूले लाइटर बाली सल्काइदिनुलाई एउटा शिष्टता मानिन्छ । यो क्रम आजका मितिसम्म पनि सभ्यताकै एउटा अंशको रूपमा देख्न सकिन्छ । हाँसखेल, वार्ता वा भेटघाट जुनसुकै अवधिमा पनि माओलाई चुरोट चाहिन्थ्यो । माओका अधिकांश तस्बिरमा नियालेर हेर्दा हातमा चुरोट समातेको देखिन्छ । उनका कतिपय मूर्तिहरूमा समेत चुरोट हातमा लिइरहेको देख्न सकिन्छ । माओका निजी चिकित्सकले पनि एकचोटि व्यंग्यात्मक शैलीमा भनेका थिए, ‘धूम्रपान पनि त एक किसिमको गहिरो श्वासप्रश्वास नै हो नि, तपाईंलाई त्यस्तो लाग्दैन र ?’


माओका उत्तराधिकारी तङ स्याउफिङ पनि उस्तै ‘चेन स्मोकर’ थिए । उनलाई त्यतिबेलाको एकदमै महँगो ‘पान्डा’ चुरोट मन पर्थ्यो । उनी त्यो चुरोट भ्रमणमा आएका गन्यमान्य व्यक्तिहरूलाई पनि प्रस्ताव गर्थे । पान्डा चीनको परिचायक जनावर हो । त्यसकै चित्र टाँसिएको स्युङमाउस्याङफाइ चुरोटलाई ८० आरएमबीभन्दा बढी पर्छ । एउटा फोटोमा तङले अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेटवार्ता गर्ने बेलामा चुरोट सल्काएको देखिन्छ । यसलाई कतिपय विज्ञहरूले तङ् स्याओफिङको ‘एस्ट्रे डिप्लोमेसी’ को संज्ञा दिएका छन् ।


सन् २०१३ को डिसेम्बर अन्त्यतिर चिनियाँ नेताहरूले सार्वजनिक कोषको दुरुपयोग गर्दै धूम्रपान गर्न र उपहार दिन वा ड्युटीमा रहेका बेला सेवन गर्न नपाउने नियम लागू भयो । ३ सय ५० मिलियन धूम्रपानका उपभोक्ता भएको चीन नै विश्वको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ता हो । ‘टोबाको’ बाट ठूलो राजस्व उठाउने मुलुक पनि चीन नै हो । करिब ३० डलर प्याकेट पर्ने ‘येल्लो क्रेन टावर’ र ‘डायमन्ड’ चुरोट नै सरकारी उच्च अधिकारीहरूले एकअर्कालाई दिने उपहार र उपभोग्य ब्रान्ड थियो । येल्लो क्रेन टावर (ह्वाङ–ह–लौ) ब्रान्डको चुरोट याङ्त्से नदीको दक्षिण किनारास्थित हुपै प्रान्तको वुहानमा उत्पन्न भएको ब्रान्ड थियो । सन् १९३० को दशकमा उत्पादन सुरु गरिएको यो चुरोट चीनका प्रमुख तीन नामी ब्रान्डमध्ये एक थियो ।


सन् २०१३ तिरको कुरा गर्ने हो भने चिनियाँ नयाँ पुस्ताअन्तर्गत शीर्ष नेताहरू र केन्द्रीय पोलिटब्युरो स्टान्डिङ कमिटीका सबै सदस्य धूम्रपानका अम्मली भएको बताइन्छ जतिखेर सी चिनफिङकी श्रीमती फङ ली युआन धूम्रपानविरोधी अभियन्ता थिइन् । पहिला पहिला चीनका नेताहरू जति टाढा र एक्लै खटिएका हुन्थे, उनीहरूको प्यारो नै टोबाको हुन्थ्यो । तर हाल जुन निषेधात्मक नियम जारी गरिएको छ, यो कार्यान्वयन हुनेमा धेरै विश्लेषकहरूले आशंका व्यक्त गर्छन् ।


सन् २०१६ को जुलाईमा हङकङबाट प्रकाशित हुने चाइना मर्निङ पोस्टले लेखेको थियो कि ‘विश्व स्वास्थ्य संगठनले राष्ट्रपति सी चिनफिङको धूम्रपान त्याग्ने’ कुराको प्रशंसा गरेको छ । डब्लूएचओकी तत्कालीन महानिर्देशक मार्गरेट छान फङ फु–छुनले सो वर्ष जुलाईमा चीनको भ्रमण गरेकी थिइन् । सन् २००७ को जनवरीमा कार्यभार सम्हालेकी छानले कार्यकालको अन्त्यतिर सन् २०१७ को जुलाईमा चीनको भ्रमण गरेकी थिइन् । उनले भनिन्, ‘सी चिनफिङले आइन्दा धूम्रपान गर्ने छैनन्, यो प्रशंसायोग्य राम्रो नमुना हो ।’
सीको यो बानीबाट सुर्तीजन्य पदार्थको नियन्त्रणमा टेवा पुग्ने उनले अपेक्षा गरिन् ।


चीनमा संसारभरिमा सबैभन्दा बढी धूम्रपानका अम्मलीहरू भएकाले पनि अगुवाइका हिसाबले सकारात्मक सन्देश जाने अपेक्षा गरियो । निर्देशक छानले यस विषयलाई त्यति तन्काइनन् । विगतका मिडिया रिपोर्टअनुसार सीले सन् १९८० कै दशकमा धूम्रपान त्यागेका थिए जतिखेर उनी फुच्येन प्रान्तमा कार्यरत थिए पनि भनिन्छ । तर यसको प्रामाणिक उत्तर भेटिँदैन । तथापि सीले बुझेका छन्, तमाखु नियन्त्रणको महत्त्व ।


चीन सरकारले तमाखु उपभोगमा नियन्त्रणमा गर्ने वा यस्ता उद्योग नियन्त्रण गरेर राजस्वको माया मार्ने भन्ने विषय विचाराधीन रहेका बेला सीको यस्तो प्रतिबद्धता सार्वजनिक भएको थियो । ‘सीको यो मुद्दाले सरकार यसको नियन्त्रणमा प्रतिबद्ध रहेको भन्ने झल्काउँछ’ स्वास्थ्य विकासका लागि थिंक् ट्यांक अनुसन्धान सेन्टर, धूम्रपानविरोधी समूहकी वु छिछ्विन भन्छिन्, ‘चीनको राजनीतिक प्रणालीमा माथिल्लो तहको व्यक्तिको ठूलो प्रभाव रहन्छ ।’


विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि १ लाख मानिसको ज्यान धूम्रपान सम्बन्धित रोगका कारण हुने गरेको छ । संगठनले चेतावनी दिएको छ, चीनले यदि कुनै ठोस कदम नचाल्ने हो भने सन् २०५० सम्ममा वार्षिक १ देखि ३ मिलियन मानिसको मृत्यु धूम्रपानका कारण हुन सक्छ ।


वर्तमान राष्ट्रपति सीको धूम्रपानको लत लागेको चाहिँ किशोरावस्थादेखि नै हो । सन् १९६० को अन्त्यतिर उनी धूम्रपानका अम्मली भएका थिए जतिखेर उत्तरपश्चिम सान्सी प्रान्तको विकट कृषि क्षेत्रमा उनी कडा मजदुरीमा खटाइएका थिए । २०१३ तिर जब उनी सत्तामा पुगे, त्यतिखेर उनको हातमा चुरोट सल्किरहेको युवावस्थाको फोटो सार्वजनिक भयो ।

सिन्ह्वाले यो फोटोमा सल्किरहेको चुरोट हातमा लिएका सीको फोटो प्रकाशित गरेपछि तुरुन्तै चिनियाँ धूम्रपानकर्तामाझ ‘लोटस ब्रान्ड’ प्रतिको माग नै ह्वात्तै बढ्यो । लोटसले सन् १९९० को दशकअघि नै उत्पादन बन्द गरिसकेको थियो । तर झन्डै २० वर्षको अन्तरालपछि टोबाको प्लान्ट पुनर्जीवित गर्दै सन् २०१४ देखि फेरि यो ब्रान्डका चुरोट बजारमा देखापर्न थाले । हपै प्रान्तको स् च्या च्वाङबाट उत्पादित लोटस चुरोट अहिले आएर झन् लोकप्रिय बन्दै गयो ।


सन् २०१३ मा सीले राष्ट्रपतिको कुर्सी सम्हालेको एक महिनापछि नै टोबाको नियन्त्रणको कदम चालिएको हो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी र राज्य परिषद्अन्तर्गत सरकारी अधिकारीहरूलाई सार्वजनिक कोषबाट चुरोट किन्न नपाउने उर्दी जारी गरिएको थियो । चीनमा धूम्रपानका अम्मलीको संख्या अत्यधिक भएकाले यसको नियन्त्रण चानचुने कुरा होइन । पछिल्लो पटक सार्वजनिक यातायात, स्कुल, अस्पताल, खेलकुद मैदान र अन्य कुनै पनि सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको छ । होटलभित्र अहिले पनि सर्वसाधारणले लुकीछिपी चुरोट सल्काउने गरेको भेटिन्छ ।


चीनका आदर्श नेताका रूपमा पदासीन सी चिनफिङले कसरी चटक्कै चुरोट छोडे भन्ने कुरा त्यति खुलस्त छैन । उनले चुरोट पिएका वा सार्वजनिक स्थलमा चुरोट सेवन गर्दै गरेका कुनै सामग्रीहरू भेट्न गाह्रो छ । अथवा उनी सार्वजनिक जीवनमा आदर्शवान देखिनका लागि धूम्रपानको लत त्याग्ने निष्कर्षमा पुगेका हुन् भन्ने यकिन त छैन । तर एउटा दृढनिश्चयी नेताले सार्वजनिक जीवनमा धूम्रपान गर्न छोडे भन्ने कुराले सर्वसाधारणमा पक्कै पनि सकारात्मक सन्देश दिनेछ ।


सी चिनफिङको फोटो सार्वजनिक भएपछि मुर्झाएको लोटस चुरोट कारखाना ब्युँझियो । वैश्य युगमा व्यापारको रीत नै यस्तै हो । एउटा नामी व्यक्तिका हातमा परेपछि त्यसले बजार लियो । सम्भवतः सीले चुरोट चटक्कै छोडे होलान् तर उनका कारण व्यापारिक कूटनीति फस्टायो, राज्यले राजस्व पायो । सीले चुरोटको अम्मल त्याग्दा आम सर्वसाधारण स्वास्थ्यतर्फ प्रेरित भए होलान् तर टोबाको कम्पनीचाहिँ झन् कमाउनका लागि प्रेरित भयो । अचेल अनलाइनहरूमा लोटस ब्रान्डका चुरोटको मूल्य, बिक्री वितरणको परिमाण सम्बन्धित सूचीहरू अपडेट भइरहेको देख्न सकिन्छ ।


धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । हानिकारक हुँदाहुँदै पनि मानिसहरूले यसलाई ग्रहण गरेको भेटिन्छ । विश्वका उच्च तहका नेताहरूले पनि धूम्रपान वा मदिरापानलाई मित्रताको सेतु बनाएका कैयन् उदाहरण देख्न सकिन्छ । प्राचीन चीनका अगुवा नेताहरूले धूम्रपानलाई सहज रूपमा लिएकाले पनि हुन सक्छ, व्यस्त जीवनशैलीको दबाब भएर पनि हुन सक्छ, चिनियाँ उपभोक्ता धूम्रपानमा आकर्षित छन् । तर नेताहरूले उहिले उहिले अपनाएको ‘एस्ट्रे डिप्लोमेसी’ लाई चीनले निरन्तरता दिएको छ कि स्थगित गर्‍यो भन्ने ठोस खबरहरूचाहिँ अचेल देखिँदैनन् ।

(लेखक चाइना रेडियो इन्टरनेसनल (सीआरआई), बेइजिङमा कार्यरत छन् ।)

प्रकाशित : जेष्ठ २५, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?