ईपीएल भर्सेस ला लिगा

फुटबल
हिमेश

अचम्मै मान्नुपर्ने तथ्यांक हो यो । हर्डसफिल्ड टाउन यसपल्ट इंग्लिस प्रियिमर लिग (ईपीएल) बाट रेलिगेसनमा पर्‍यो । उसले ३८ खेलबाट कमाएको अंक भनेकै १६ मात्र हो । यति खराब खेलेपछि अंक तालिकाको पुछारमा त पर्छ नै ।

तर उसको आम्दानी भने यसै सिजन कति धेरै रह्यो भने त्यो बार्सिलोना र रियल म्याड्रिलाई छाडेर अरू कुनै स्पेनी ला लिगा क्लबको भन्दा बढी छ । अझ भनौं, अंकतालिकामा रियललाई उछिनेको एट्लेटिको म्याड्रिडभन्दा पनि बढी ।


यसै सिजन पुरानो इतिहास बोकेको एस्टन भिल्ला पनि ईपीएलमा उक्लन सफल रह्यो । प्ले–अफमा उसले डर्बी काउन्टीलाई हरायो र सधैंझैं यो खेलको निकै चर्चा पनि भयो । यस्तो किनभन्दा हारेर डर्बीले सुको पनि पाएन । तर एस्टन भिल्लाले अर्को सिजन ईपीएलमा खेलेर जस्तै राम्रो अथवा नराम्रो प्रदर्शन गरे पनि कम्तीमा १७ करोड पाउन्ड पाउनेछ । यो आम्दानीमा सबैभन्दा बढी अंक टेलिभिजनमा खेलको प्रतक्ष्य प्रसारणबाट आउँछ ।


ईपीएल क्लब धनी छन्, जत्ति नै नराम्रो खेलेर पनि मालामाल हुन्छन् । अचम्मै मान्नुपरे पनि यो तथ्य सबैलाई थाहा छ । केही समय अगाडिसम्म पनि धनी भएर पनि ईपीएल क्लबले युरोपमा धेरैथोक जितिरहेको थिएन । तर यसपल्ट हदै भयो । च्याम्पियन्स लिगको विजेता पनि ईपीएलकै, युरोपा लिगको विजेता पनि ईपीएलकै । अनि फाइनलमा तिनका प्रतिद्वन्द्वी पनि ईपीएलकै । युरोपमा एउटै देशको यति धेरै दबदबा यसअघि कहिल्यै देखिएको थिएन ।


इंग्लिस फुटबलले सन् २०१८–२०१९ मा लिएको यो उडानले स्पेनलाई कति ईर्ष्या लाग्दो हो । यो कथा हो, ईपीएल भर्सेस ला लिगाको । यसपल्टको च्याम्पियन्स लिगको फाइनल त्यही एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको थियो । जति बेला फाइनलका लागि यो स्थान तय गरियो, कम्तीमा स्पेनका तीन क्लबको मनमा लड्डु गोलगोल घुमेकै हुनुपर्छ । एट्लेटिको सोच्दो हो, कति उप–विजेतामै चित्त बुझाउने, यसपल्ट आफ्नै मैदानमा च्याम्पियन्स लिग जित्नुपर्छ ।


रियलसँग अझ ठूलो अवसर थियो, टिम प्रतियोगिताको दुई पल्टको डिफेन्डिङ च्याम्पियन थियो, त्यसैले उसको सामु कम्तीमा आफ्नै सहरमा उपाधिको ह्याट्रिक गर्ने अवसर थियो । बार्सिलोना झन् के कम ? उसले सोचेको हुनुपर्छ, ला लिगा त जितिरहेकै छौं, अब च्याम्पियन्स लिग जित्ने, त्यो पनि म्याड्रिड भूमिमा । बार्सिलोनाको म्याड्रिडसँग ३६ को आँकडा चल्छ, त्यो सबैलाई थाहा छ । तर त्यस्तो केही पनि भएन । यसपल्टको युरोपेली विजेता रह्यो, लिभरपुल ।


फाइनलमा उसले हराएको टिम अरू कुनै होइन, इंग्ल्यान्डकै टोटनहम थियो । सन् २०१३ यता पहिलो फाइनलमा कुनै स्पेनी टिम थिएनन् । युरोपा लिगतिर यस्तै कथा रहेको थियो, चेल्सीले लन्डन प्रतिद्वन्द्वी आर्सनललाई हराएर उपाधि जितेको थियो । लगभग एक दशक युरोपेली क्लब फुटबलमा स्पेनको दबदबा रह्यो । यसपल्ट त्यो रहेन । यसलाई के एक युगको अन्त्यका रूपमा लिने त ? सायद यो अलि हतारो हुन सक्छ, तर यस्ता युग अन्त्यको दिन भने तयार हुँदै छ ।


सन् २००९ यता रियलले चारपल्ट च्याम्पियन्स लिग जित्यो, बार्सिलोनाले तीनपल्ट । एट्लेटिको दुई अवसरमा फाइनल पुग्यो । त्यसो भनेको नौपल्ट स्पेनी लिग फाइनल पुगे, सबै जोडेर । त्यसमध्ये सातपल्ट विजेता रहे । यही समयमा इंग्ल्यान्डका टिम खाली चारपल्ट मात्र फाइनल पुगे । २०१२ मा चेल्सीले मात्र नाक राख्यो, बायर्न म्युनिखलाई हराएर । युरोपा लिगमा पनि यस्तै हालत थियो, सेभियाले लगातार तीनपल्ट कप उचाल्यो, सन् २०१४–२०१६ बीच ।


एटलेटिकोले पनि तीनपल्ट यसै समय अवधिमा युरोपाकप जित्यो । अब सायद यस्तै प्रभुत्वको दिन सकिँदै छ । यसका लागि दुई खेलको उदाहरण दिन सकिन्छ । पहिलो त एनफिल्डमा भएको च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेग । त्यसमा लिभरपुलले लियोनल मेसीको बार्सिलोनालाई ठ्याक्कै ४–० ले हरायो । कथाले मागेजस्तै फाइनल पुग्न यही स्कोर चाहिन्थ्यो । युरोपा लिगतिर आर्सनलले भ्यालेन्सियालाई समग्रमा ७–३ ले हरायो ।


यति धेरै अन्तरको जित–हार यसअघि कहाँ कल्पना गर्न सकिन्थ्यो र ? यसका खास खास कारण भने छन् । पहिलो त पैसा नै भयो । हर्डसफिल्ड टाउनको कथा त यसको सबैभन्दा राम्रो उदाहरण भयो नै । भन्नेले भन्नेछन्, पछिल्ला दस वर्षमा पनि इंग्लिस क्लब यत्तिकै धनी थिए, तर किन धेरै जित निस्केन त ? उत्तर हो, यही पैसाले इंग्ल्यान्डमा वास्तवमै अब्बल दर्जाका केही प्रशिक्षक भित्रिए । यी प्रशिक्षकले यसअघि कहिल्यै नभएजस्तो गरेर इंग्लिस क्लबहरूलाई बलियो बनाए ।


लिभरपुलकै योर्गन क्लोपलाई उदाहरण मान्नुपर्छ । लिभरपुल आउनुअगाडि उनी जर्मनीमा थिए र उनको नेतृत्वमा बोर्सिया डर्टमन्डले तहल्का मच्चाएको थियो, एक समय । त्यो त्यही समय हो, जति बेला बायर्न म्युनिख फिक्का फिक्का रह्यो । क्लोपले इंग्लिस फुटबलमा धेरथोक जर्मन स्वाद पस्के । प्रशिक्षकका रूपमा पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा आएयता इंग्लिस क्लब फुटलबमा उनी मात्र आएनन्, बार्सिलोनाको सिंगै ‘लेगेसी’ पनि भित्रियो ।


बार्सिलोनाले दशकौं लगाएर विकास गरेको त्यो फुटबल खेल्ने शैली अहिले सिटीमा फलिरहेको छ, फुलिरहेको छ । अचेल इंग्लिस क्लब पनि पछाडिबाट खेल्ने गर्छन्, अझ भनौं गोलरक्षकले सुरुमा बल अगाडि बढाउने गर्छन् । बल मज्जाले दायाँ–बायाँ बरालिन्छ । बल सकेसम्म आफ्नै नियन्त्रणमा राखेर सटीक पास दिने गरिन्छ । यस्तै खेल्ने शैली धेरै अगाडि आर्सन वेन्गरले आर्सनलमा प्रवेश गराएका थिए, अब ग्वार्डिओलाले त्यसलाई बानी पारेका छन् ।


अर्जेन्टिनी मउरिसो पोचेटिनोले पनि टोटनहममा जबरदस्त परिर्वतन ल्याए । निर्णायक मोडमा हार्न मात्र जानेको टोटनहमलाई उनले जित्ने बानी दिए । उनले पनि धेरथोक इंग्लिस फुटबलमा स्पेनी पारा ल्याए, आखिरमा उनी खेलाडी छँदा १३ वर्ष इस्पनयोलमै बिताएका हुन् । चेल्सीका प्रशिक्षक मउरिजो सारी इटालीका हुन् । उनले पनि इंग्लिस फुटबलमा इटालीको शैली ल्याए ।

आर्सनलका प्रशिक्षक पनि स्पेनी हुन्, उनाई इमरी । यसअघि उनी पेरिस सेन्ट जर्मेनमा थिए, फ्रान्सेली फुटबलका केही अंश पनि इंग्ल्यान्ड पुग्यो । यी सबै प्रशिक्षकले आफू स्थापित भएको लिगबाट राम्रा राम्रा शैली इंग्ल्यान्ड ल्याए ।


अर्को एउटा ठूलो कारण पनि छ, इंग्लिस क्लब फुटबल चम्कनुमा । फुटबलको एउटा सिद्धान्त हो, यो खेलमा त्यति बेला बढी जितिन्छ, जति बेला सिंगो टिमले बढी राम्रो खेल्छ । व्यक्तिगत प्रदर्शन राम्रो हुँदा जित त मिल्छ, तर त्यो दिगो नहुन सक्छ । इंग्लिस क्लबहरू टिमका रूपमा बढी खेल्ने गर्छन्, न कि एउटा खेलाडीमा भर परेर ।


जब कि बार्सिलोना मेसीमा बढी भर पर्छ भने दुई सिजन अगाडिसम्म रियललाई उकास्ने काम नै क्रिस्टियानो रोनाल्डोको थियो । आखिरमा कोही एक खेलाडीले सधैं आफ्नो टिमलाई त जिताइरहन सक्दैन । स्पेनी फुटबलले अब यही तथ्य इंग्ल्यान्डबाट सिक्नुपर्छ । रमाइलो के भने यो तथ्य इंग्ल्यान्डमा स्थापित गर्ने ठूलो श्रेय स्पेनकै ग्वार्डिओलालाई जान्छ, उनी के इंग्ल्यान्ड आए, यहाँको फुटबल नै फेरियो ।

प्रकाशित : जेष्ठ २५, २०७६ ११:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयाँ स्वादको विश्वकप

हिमेश

कति धेरै फेरिँदै जाने खेल हो यो क्रिकेट  । १० वर्ष अगाडि त्रिकेट जस्तो थियो, अहिले त्यस्तो छैन  । त्यसभन्दा पर पुगेर क्रिकेट कस्तो थियो होला भन्यो भने त्यो त अचम्मै मान्नुपर्ने हुन्छ । कुनै दिन थियो, जति बेला वान डे क्रिकेट भनेपछि सेतो बल र रंगीन जर्सी नै के–के न हो जस्तो गरेर त्यसको महिमा गाइन्थ्यो ।

सन् सक्तरीतिर जन्मेको वान डे त्रिकेटले त्यसयता धेरै समय पार गरिसकेको छ र अहिले तत्कालको वान डे क्रिकेट हो, रनको थुप्रो लाग्ने ।


वान डे रह्यो, यो खेलको माइलो भाइ । जेठो त टेस्ट भइहाल्यो । कान्छो भाइ ट्वान्टी–ट्वान्टी क्रिकेटको जबरदस्त प्रभावले यो वास्तवमै धेरै फरक खेल सावित भएको छ । अब ५० ओभरको खेल पटक्कै पहिलो जस्तो रहेन । हिजोदेखि क्रिकेटको जन्मभूमि इंग्ल्यान्डमा वान डे विश्वकप सुरु भएको छ । यसपल्टको विश्वकपले पस्कने खेलको प्रवृत्ति कस्तो हुनेछ त ? प्रत्येक संस्करणको विश्वकपका केही न केही फरक विशेषता रहे । यसपल्टको विश्वकपको विशेषता के हो त ?


यसको सबैभन्दा पहिलो उत्तर हो, यसपल्ट वास्तवमै धेरै रन बन्ने छ । भारतीय कप्तान विराट कोहलीलाई नै डर छ, कतै यो विश्वकपमै पहिलोपल्ट एक इनिङ्समा पाँच सय रन बन्ने त होइन ? त्यसो भनेको दिनको सय ओभरमा हजार जत्तिको रन । अहिले नै एक इनिङ्समा मज्जाले चार सय रन बन्न थालिसकेको छ । आयोजक इंग्ल्यान्ड नै भनौं न, वान डे वरीयताको शीर्ष स्थानमा रहेको टिमले मज्जाले आरामसँग चार सय रन बनाउने टिम भइसकेको छ ।भर्खर–भर्खर ट्वान्टी–ट्वान्टी क्रिकेट सफलता र लोकप्रियताको शिखरमा पुग्दा भन्न सुरु झएको थियो, यो ढाँचाको खेलले एक दिन वान डे क्रिकेटलाई मार्ने छ । त्यति बेला दिइएको कारण हो, वान डे त्रिकेटको ५० ओभरमध्ये बीचमा हुने खेल साह्रै ‘बोरिङ’ हुन थालेको छ । सुरुको केही ओभर रमाइलो, होइन भने पछिको केही ओभर । नत्र बीचका ओभरमा यस्तो खेल हुने गर्छ, जसमा कुनै प्रकारको रोमाञ्चकता हुन्न । त्यसैले एक दिन वान डे क्रिकेट मर्छ ।


अब रमाइलो के भने यसपल्टको विश्वकपमा मज्जा यहीबीचको ३० ओभरमा हुनेछ । सुरुको १० र पछिका १० ओभरको आफ्नै सनसनी होला, तर त्यो सनसनी एक प्रकारले यहीबीचको ३० ओभरमा टिक्नेछ । कुनै बेला साह्रै दोहोरिएर सुनिने शब्द थिए, पिन्च हिटर, स्लग ओभर आदि–आदि । अचेल ती शब्द कमै सुनिन्छन्, अझ भनौं सुन्न पाइन्न । अब खेल जितिने र हारिने भनेको बीचको ओभरमा हो, १० देखि ४० ओभरको बीचमा । केही अगाडिको विश्वकपमा एक पल्ट श्रीलंकाली प्रारम्भिक ब्याटिङ जोडी खुबै चम्केको थियो र ती थिए, सनथ जयसूर्या र रोमेश कालुविथरना । वान डे क्रिकेटमा सुरुआती कायापलट ल्याउने तिनीहरू थिए । तिनीहरू ब्याटिङका लागि मैदानको बीच भागमा के पुग्थे, रन बटुल्न हतार हुन्थ्यो, त्यो पनि आक्रामक तरिकाले । यसरी सुरुमै चौका र छक्का प्रहार गर्ने चलन त्यस अगाडि थिएन । सबैले अचम्म माने र पछि यही शैलीलाई पछ्याए ।


त्यस अगाडि र पछाडि इनिङ्सको अन्त्यतिर खुलेर रन बनाउनुपर्छ भन्ने पनि मान्यता थियो । जुन टिमले सुरु र अन्त्यमा आक्रामक भएर रन बनाउन सक्दैन थिए, त्यो टिमले जित्न सक्दैन भन्ने मान्यता पनि बन्यो । यसपल्टको विश्वकपमा त्यो मान्यताको काम छैन । यस्तो हुनु पछाडि केही खास कारण छन् । क्रिकेट आफैंमा यति धेरै परिवर्तन हुनु पछाडि एउटा प्रमुख कारण यसका नियम पनि त्यही गतिमा परिवर्तन हुनु पनि हो । यसपल्टको विश्वकपमा ११ देखि ४० ओभरको खेलमा ‘इनर सर्कल’ बाहिर खालि चार फिल्डर मात्र बस्न पाउँछन्, जबकि ट्वान्टी–ट्वान्टी क्रिकेटमै पावर प्लेको अवस्थामा बाहेक अरू बेला पाँच खेलाडी बाउन्ड्रीतिर रहन सक्छन् । यस्तोमा यसपल्ट यहीबीचको ओभरमा खुबै रन बन्नेछ । ब्याट्सम्यानले प्रहार गरेको बललाई सुरुमै रोक्न सक्नुपर्छ, होइन भने एकपल्ट ‘इनर सर्कल’ कटेपछि त्यसले छ, होइन भने चार रन दिने सम्भावना धेरै हुन्छ ।


त्यसै पनि वान डे क्रिकेट ब्याट्सम्यानको खेल हो, यसमा जित हार ब्याट्सम्यानकै कारणले हुन्छ । बलरले यो काम गर्न सक्दैन । अब ११ देखि ४० ओभरको खेलमा प्रसस्त रन बन्नेछ र त्यसकै आधारमा टिकेर अन्तिम १० ओभरमा पनि उत्तिकै खुलेर रन बटुल्ने प्रयास हुनेछ । त्यसैले नै भनिएको हो, यसपल्टको विश्वकपमा रनको बाढी लाग्ने अनुमान । अर्को दुई कारणले पनि धेरै रन बन्ने सम्भावनलाई बल दिन्छ र त्यसमध्ये पहिलो कारण हो, एकै इनिङ्समा दुई फरक बल प्रयोग हुने ।एक छेउबाट गरिने बल एउटा हुनेछ भने अर्को छेउबाट गरिने बल अर्कै हुनेछ । त्यसैले बल पुरानो हुने सम्भावना कम हुन्छ, यो प्रायः ‘सेप’ मै हुनेछ । अनि यही कारणले बल स्विङ हुने सम्भावना कम छ, रिजर्भ स्विङ त झन् हुने नै छैन । यही सबै कारणले नै भनिएको हो, यसपल्टको विश्वकप जित्ने सबैभन्दा बलियो प्रत्याशी इंग्ल्यान्ड नै हो । एक त उसलाई घरमै खेलेको फाइदा छ, दोस्रो इयोन मोर्गको इंग्ल्यान्डको अहिलेको नयाँ नियमअनुसार खेल्न अभ्यस्त भइसकेको छ ।


विश्वकपको मुखैमा आएर डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारतले लय गुमाएको छ । पाकिस्तान र श्रीलंकाबाट त के आस गर्ने ? वेस्ट इन्डिजको त इतिहास मात्रै राम्रो, वर्तमान त धराशायी छ । दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्ता टिम ठूला प्रतियोगिता भनेपछि कसैले नभने पनि आफैं आत्तिन्छ । अब बंगलादेश र अफगानिस्तानबारे के धेरै आस गर्ने ? भलै इंग्ल्यान्डले अहिलेसम्म वान डे विश्वकप जितेको छैन, तर हुन सक्छ, यसपल्ट उपाधि जित्ने टिम यही हुन सक्छ ।


अब बाँकी रह्यो, नेपाली क्रिकेट प्रशंसकले यो विश्वकपलाई कसरी हेर्ने त ? हाम्रो मात्र होइन, धेरैको गुनासो हो, वान डे विश्वकप भन्ने, तर त्यसमा खेल्ने टिम भने जम्माजन्मी १० मात्रै ? फुटबलको विश्वकप फैलिँदै ढिलो–चाँडो ४८ टिममा फुग्ने क्रममा छ, तर वान डे त्रिकेटको विश्वकप भने झन खुम्चिएर १० टिममा समेटिएको छ । धेरै टिम भएर विश्वकपकै स्तर खस्किएला भन्ने चिन्ता छ, केहीलाई । यसै चिन्तामा टिकेर उनीहरू क्रिकेटलाई आफ्नो खेल मात्र बनाउन चाहन्छन् ।


हाम्रो पनि इच्छा हो, वान डे विश्वकपमा नेपालले पनि खेलोस् । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र यो खेलका केही शक्तिशाली देशलाई हामी जस्ताको भावनाको मतलब छैन । यो नै यसपल्टको विश्वकपको नराम्रो पक्ष हो, कम्तीमा हाम्रो दृष्टिकोणले । त्यसैले हामी भन्ने छौं, ठूला भनिएका टिमले राम्रो गर्न नसकोस्, बरु तलको वरीयताको टिमले राम्रो गरोस् । धेरैभन्दा धेरै अप्रत्याशित नतिजा निस्कोस् र सकिन्छ भने कुनै नयाँ टिम सनसनीपूर्ण रूपमा विजेता बनोस् । अनि विश्वकप खेल्न टिमको संख्या बनाउन सबै बाध्य होस् ।

twitter : @bjtimalsina

प्रकाशित : जेष्ठ १७, २०७६ १२:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×