कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

के म तिमीलाई छुन सक्छु ?

समाज
सायद अशोक

कुनै कक्षा शारीरिक अभ्यास र गतिविधिमा केन्द्रित छ भने कक्षा सुरु गर्ने बेलामा यहाँ प्रोफेसर (महिला/पुरुष जो भए पनि) ले भनेको देखेको छु– हामी थुप्रै ‘एक्टिभिटिज्’ गर्छौं, या उदाहरणहरू प्रस्तुत गर्छौँ, त्यो दौरान छुनुपर्ने भएमा अनुमति चाहन्छु  । कि त कसैको नजिकै पुगेपछि पहिला ‘डु आई ह्याभ अ पर्मिसन टु टच यू ?’ या ‘म तिमीलाई छुन सक्छु ?’ भनेर सोधेका हुन्छन्  ।

कुनै कक्षा शारीरिक अभ्यास र गतिविधिमा केन्द्रित छ भने कक्षा सुरु गर्ने बेलामा यहाँ प्रोफेसर (महिला/पुरुष जो भए पनि) ले भनेको देखेको छु– हामी थुप्रै ‘एक्टिभिटिज्’ गर्छौं, या उदाहरणहरू प्रस्तुत गर्छौँ, त्यो दौरान छुनुपर्ने भएमा अनुमति चाहन्छु ।


कि त कसैको नजिकै पुगेपछि पहिला ‘डु आई ह्याभ अ पर्मिसन टु टच यू ?’ या ‘म तिमीलाई छुन सक्छु ?’ भनेर सोधेका हुन्छन् । उहिल्यै हामी ४–५ कक्षा पढ्दाताका कुनै कपूत मास्टरले छात्राहरूको छातीमा एउटा हातले अडेस लगाएर अर्को हातले ढाडमा पिटेजस्तो गर्थ्यो अरे होमवर्क नगरेको सजाय दिँदाखेरी । फुटबल खेल्दाखेरी ‘ब्वाइज् विल अल्वेज बी ब्वाइज’ पारामा चलेको गफमा सुनेको त्यो कुरा मेरो सम्झनामा छ । कसले भनेको, कसको बारेमा भनेको थाहा छैन । त्यो हाम्रै स्कुलको कुरा थियो कि अरू कुनै स्कुलको, त्यो पनि थाहा छैन । तर जुन ‘सिनारियो’ दिएको थियो गफ गर्नेले त्यो कहालीलाग्दो कुरा हो ।


केही कुराहरू ‘फ्र्याग्मेन्ट्स’ भएर कतै बसेका हुन्छन् कसैगरी, कुनै घटनाले तिनलाई पनि सतहमा ल्याएर सँगै तैराइदिन्छ । ललितपुरको स्कुलको गणित शिक्षकले दुर्व्यवहार गरेको ‘केस्’ कहाँ पुगेर थामियो या हरायो ? कि ‘फलानोलाई दुर्व्यवहार मुद्दामा फसाउन खोज्या थे, धन्न उम्किए’ पारामा कुरा चलिराको छ अचेल ? खै त ! कक्षा कोठामा कहाँ र कहिले सुरक्षित रैछन् त छात्राहरू ! स्कुल, क्याम्पस, विश्वविद्यालय : ठाउँ मात्र फरक हो । हिजो, आज : समय मात्रै फरक हो । घटनाको ‘इन्टेन्सिटी’ त उत्तिकै छ अझै पनि ।


‘मारिया मेलानो’ सित ‘साइकोड्रामा’ को ‘ओपन सेसन’ मा जाँदाखेरीको एउटा अनुभव सुनाउँछु । मैले ३ ‘क्रेडिट’ को ‘थिएरी’ र ‘प्राक्टिकल’ मिसिएको कक्षा लिइसकेको थिएँ । कक्षापछिको अभ्यासका लागि म त्यहाँ पुगेको थिएँ । क्याम्पसको कक्षामा १४ हप्तासम्म सँगै पढेका क्लासमेटहरू थिएनन् त्यहाँ । प्राय सबैले सबैलाई पहिलोचोटि भेटेको ।


‘एक्टिभिटिज्’ गर्दै कुरा पनि गर्दै गर्दा एक जनाले भनेकी थिइन्, ‘मलाई ‘हग’ गरेको मन पर्दैन ।’ किन मन पर्दैन भनेर ‘मारिया’ ले सोध्दाखेरी ‘मलाई सहज लाग्दैन, धेरै कारण छन्, ‘स्यानिटरी एस्पेक्ट’ बाट पनि र आफूलाई अरूको छुवाइ मन पर्दैन पनि’ भनिन् । त्यसपछि थाहा भयो नि त उसलाई मन पर्दैन भन्ने । ‘थियटर गेम’ खेल्दै छेस्, सामूहिक अभ्यास चलेको छ, तँलाईचाहिँ छोइन पनि नहुने ?’ भनेर त कसैले पनि भनेन । त्यही भएर ध्यान दिनुपर्छ त्यस्ता कुरामा, हल्का टिप्पणीहरू फालिदिएर असंवेदनशील बन्नु हुँदैन । त्यसपछि धेरैबेर धेरै ‘एक्टिभिटिज’ भए, सकिएपछि अरूले एकअर्कासित अंकमाल गरे, जुन ‘एक्टिभिटिज’ कै हिस्सा बनेर स्वतःस्फूर्त रूपमा आएको थियो ।


धेरैचोटि त्यस्तो भयो । अनि अंकमाल गर्न मन पर्दैन भन्ने महिलाले भनिन्, ‘खासमा मलाई पनि अंगालो मार्न मन लाग्यो ।’ म उनको दायाँपट्टि थिएँ । उनले त्यति भन्नु र म अलिकति उनीतिर जानु अनि एउटा न्यानो र ‘फ्रेन्ड्ली हग’ गर्नु लगभग केही सेकेन्डभित्रै भएका थिए । त्यस्तो बेला धेरैपल्ट नियतले मान्छेको कर्मलाई निर्दिष्ट गरेको हुन्छ । त्यहाँ यस्तो भएको थिएन कि मैले मेरा पाखुराहरू फैलाएर उनीतिर गएपछि उनले ‘ठीकै छ, एकफेर म पनि अंगालो मारौं न त’ भनेकी होस् । हैन । फरक बुझौँ है । केही सेकेन्डभित्रै अरूले पनि उसलाई अंकमाल गरे । ‘मलाई साँच्चिकै अंगालो मार्दा राम्रो महसुस भयो, सायद मैले अहिलेसम्म यसको आनन्द गुमाइरहेकी थिएँ,’ भनेकी थिइन् उनले त्यसपछि ।


हाम्रोतिर होलीको बाहनामा जबर्जस्ती पानी भरेको बेलुन महिलाको छातीमा हालेर थिचिदिने र होली होली गर्दै उफ्रिनेहरू धेरै थिए, छन् । यहाँ अमेरिकामा कतिवटा ‘स्टेट’ मा प्रहरीको शरीरमा क्यामेरा राख्नैपर्ने नियम रैछ । चाडपर्वका बहानामा सार्वजनिक स्थानमा त्यसरी बेरोकटोक दुर्व्यवहार गर्ने त परको कुरा, प्रहरी नै पनि निगरानीमा रहिरहने कुरा मलाई अनौठो लागेको थियो । यसलाई फेरि यहाँ र त्यहाँ भनेर भेद छुट्याउन खोजेको अर्थमा नहेरियोस् भन्ने हो । यस्तो यस्तो पनि भएका छन् र यसरी यसरी पनि संस्कारका भिन्नताहरू देखिएका छन् भन्ने देखाउने प्रयास मात्रै हो ।


कुरा सोझो र स्पष्ट छ । सहमति/सम्मति भनेको धेरै महत्त्वपूर्ण कुरा हो । हाम्रो सामाजिक संरचनामा आफूभन्दा ठूलाहरूले छुँदाखेरी खोटी नियत हुँदैनजस्तो लाग्थ्यो । यहाँ र अन्त धेरैतिर, ‘म प्रस्ट पारूँ, मलाई कसैले छोएको मन पर्दैन’ भनेर टिनएजरहरूले स्पष्टसँग भन्छन् भनेर प्रोफेसर र विद्यार्थीहरूले बेलाबेला उदाहरणका लागि कुरा गरिरहेका हुन्थे । हाम्रोतिरको सामाजिक संरचना यस्तो छ कि घरभित्रै, आफन्तमध्ये नै त्यसरी भनिँदैन । तर हरेक छुवाइ, हेराइ र बोलाइ सही नियतको नहुँदो रैछ त ।


गुरु या शिक्षक भनेपछि हाम्रो सामाजिक संरचनाले चेला या विद्यार्थीलाई झुक्न सिकाउँछ, नमन गर्न सिकाउँछ तर खै त ! गुरुहरूकै छुवाइ, हेराइ बोलाइमा ढुक्क हुन कहाँ सकियो त ! ‘मेरो आफ्नो विद्यार्थी हो नि त, मायाले त्यसो गरेको’ भनी भनी व्यक्तिको ‘आफ्नो रोजाइ’ माथि सार्वजनिक रूपमै झम्टिने अनि झम्टिएको मान्छेकै कोणबाट कथाको ‘न्यारेटिभ’ बन्ने– अपमानबोधले रुवाइ पनि किल्किलेमा अड्किएर खुलेर आक्रोश, पीडा र असन्तुष्टि पोख्न नि नसकिरहेको बेला रमितेहरू पीडकलाई नायक बनाएर, ‘तिनको अगाडि देखा पर्नै हुँदैन, आज यसको फेला पर्ने पालो परेछ’ मार्काका २ वचन छोडेर सामान्यीकृत गरिदिनु भनेको के हो ? खै त ! गुरुमाथि प्रश्न गर्न कहाँ सिकाएछ त हाम्रो सामाजिक संरचनाले ? गुरुका बेहोस क्रियाकलापलाई सामान्य कुरा बनाएर एउटा घटना भयो सकियो पारामा किन फ्यास्सै पारिदिनुपर्ने ?


अनि हाम्रा प्रतिक्रियामा प्रयोग हुने भाषा र शैली हेरौँ । दुर्व्यवहारका कुरा आउनेबित्तिकै प्रतिक्रियास्वरूप आउने एउटा प्रचलित वाक्यले भन्छ, ‘यसलाई त फसाएछन् नि, यसरी दोष लाएछन् नि ।’ ‘यस्तो कुरा आएछ त, के हो कसो हो !’ भन्ने शैलीमा प्रतिक्रिया आउन केले रोकेको होला हाम्रो सामाजिक संरचनामा ? मान्छेका आफ्ना स्वभाव हुन्छन् । त्यो स्वभावले कुनै कुरा स्विकार्न पनि सिकाउँछ, पेलेरै जान पनि सिकाउँछ, पछि उम्किहाल्छु नि भन्न पनि सिकाउँछ र दुर्व्यवहारका कुराहरू बाहिर आइसकेपछि या आउन आँट्दाखेरी ‘डिप्लोमेटिक’ र ‘प्रोएक्टिभ’ हुन पनि सिकाउँछ र भिडिहाल्न पनि सिकाउँछ ।


अर्को सबैभन्दा प्रचलित वाक्य शैली हेरौँ, ‘यहाँ कसैले केही गरेको देख्नै सक्दैनन्, यस्तै हो । यो दुश्मनहरूको काम हो ।’ यो दुश्मनको परिभाषा के हो बुझिँदैन, यो दुश्मनी कति ठूलो हो, थाहा हुँदैन । हचुवामा बोलिदिएर आफ्नो अस्तित्व अनि उपस्थिति तुरुन्तै देखाइहाल्न/जनाइहाल्न हतार हुन्छ धेरैलाई । पचासौँचोटि पचासौँ पारामा पचासौँ ठाउँमा संकेत दिइराखेकै हुन्छ गलत भइराको छ भनेर, खबरदारी नहुने होइन, धेरै तरिकाले खबरदारी पनि भइराखेकै हुन्छ तैपनि पेल्नेहरू ‘पेलेरै जान्छु’ भनिरहेका हुन्छन् ।


व्यक्ति र घटनाको परिप्रेक्ष्य भनेको परिवर्तन, समयचेत र संस्कार अनि सभ्यताको विकासक्रमसित जोडिएर आउने चेतना पनि हो । फरक समयमा फरक व्याख्या हुन सक्छन् तर ती व्याख्या अपूर्ण हुन्छन्, अधुरा हुन्छन् भन्ने थाहा हुनुपर्छ । ‘इग्रनोरेन्स’ भयानक कुरा हो, सामान्यीकृत गरेर गम्भीर कुराहरूलाई टुङ्ग्याइदिनु, छोपिदिनु पनि त्यस्तै हो ।


रंगमञ्चसँग सम्बन्धित दुर्व्यवहारका कुराहरू बाहिर आएपछिका प्रतिक्रियाहरूमा यस्तै यस्तै ‘इग्नोरेन्स’ र सामान्यीकृत गरिएका ‘प्याटर्न’ हरू देखिएका छन् । यो एउटा पत्रिकामा एकफेर आएको सनसनीखेज कुरो मात्रै हुँदै हैन । रंगमञ्चसित म पनि जोडिएको थिएँ विगतमा, अझै पनि कसैगरी जोडिएको छु । चिनेको, देखेको, सँगै काम गरेकै मान्छेहरू छन् केन्द्रमा ।


त्यही भएर यी सबैमा मलाई चासो छ । मान्छे स्तब्ध भएको त्यस्तो मानिएका मान्छेहरूको नाम आयो भनेर हैन, त्यस्ता मान्छे (टाउकोमा बसेका मान्छे) हरूको कुरा आउँदैनन् जस्तो लागेको थियो तर आयो भनेर स्तब्ध भएका हुन् । फरक बुझौँ । संवादका बाटाहरू पहिलेझैँ बन्द नहोऊन् । धेरै जनाले बोलुन् । र अन्त्यमा, आकांक्षाले भनेको कुरामा सहमत छु । महिलामाथि भएका हिंसा र दुर्व्यवहारका कुरा कुनै पुरुषले भनिदिएपछि मात्रै सुन्ने संस्कार एउटा तीतो यथार्थ हो अहिलेको सामाजिक संरचनामा । यसमाथि झन् धेरै प्रश्नहरू सोध्नै छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?