कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

युम्बिस्टा र ष्युम्बिल्हा ?

सौरभ

प्रारम्भयुमिला होइन युम्बिला हुनुपर्ने हो खुम्बिला हिमाल र तिब्बत दक्षिणको चुम्बी उपत्यका भनेजस्तै  । यसैबाट जुम्ला र हुम्ला स्थान नाम बने  ।

युम्बिस्टा र ष्युम्बिल्हा ?

भन्ज्याङबोधक ला होइन, देवताबोधक ल्हा हो । शुद्ध हुन्छ जुम्ल्हा लेखिए, हुम्ल्हा लेखिए । तिब्बतको ल्हासा र ल्होसार चाड यसैबाट आउने हो । (यसैले जसरी हुम्लादरा तथा हिमालयको पर्यायवाची शब्दबाट बन्यो, द्यौल (देवल) र गरल दुई डाँडाबाट बनेको यमल संस्कृत शब्दबाट अपभ्रंसित रूपमा यमला–जुम्ला–जुंला–जुम्ला बन्यो— पेज २७, नेपाली ११०, लोकसाहित्य र सुदूरपश्चिमाञ्चलको देउदुराप–सिजापति, लाई मान्न सकिएन । त्यसैलाई समर्थन गर्ने १८ साउन २०७५ को कान्तिपुरको जुम्ला शब्दको व्याख्यालाई पनि मान्न सकिँदैन । किनभने नेपाली शब्द बनोटको परम्परा अंग्रेजीको एक्रोनिम होइन ।)


बिष्ट पनि होइन, विष्ट हो । जुन त्रिविष्टकमा आयो, तिब्बतमा रूपान्तरण हुनुअघि । जिग्मी परवल विष्टजस्ता मुस्ताङका शासकहरूले जुन शब्दलाई आफ्नो थर बनाए । यो मालिक, प्रभुबोधक विष्ट आफन्त, निकटतम, हितैषीबोधक संस्कृतको इष्टसँग निकट मात्र होइन, समान छ । सम्भवतः इष्टबाट विष्ट बनेको होस् । यद्यपि व्यक्तिलाई भनिने विष्ट संस्कृत इष्टबाट आएको पंक्तिकारलाई लाग्दैन । किनभने विष्ट कासगर उत्तरको एउटा मंगोल जाति हो । यो यता आइपुगेपछि मालिकबोधक भयो । यसैले युम्बी+इष्ट अर्थात् युम्बीका मालिक, प्रभु, संरक्षक हुन् मस्टा अर्थात् यो तिब्बती युम्बी+ल्हाकै छायानुवाद हो । स्थानविशेषका संरक्षक देवता अर्थात् क्षेत्रपाल हुने चलन संसारकै प्राचीनतम हो । ठेली जान सकिन्छ त्यसमा । अर्थात् युम्बी अन्ततः पूर्वी हिमालय फेदीको चुम्बी हुन पुग्नु र पश्चिम हिमालय फेदीको जम्मु हुन पुग्नु कुनै अनौठो होइन नै । युम्बी शब्दले हिमालयको पूरै दक्षिणी ढाललाई बुझाउँछ । जम्बुद्वीप अर्थात् त्यसको राजधानी आजको काठमाडौं उपत्यका भए पनि । जामुन/जम्बु (साइजिगियम क्युमिनी) बाट यम्बु हुँदै युम्बी भएको भए पनि ।


मान्न सकिँदैन
यसैले योगी नरहरिनाथले नै भने लेखेको भए पनि माथि बोधक मस्तकबाट मस्टा आयो भन्ने कुरा मान्न सकिँदैन । वासुदेवशरण अग्रवालले लेखे भन्दैमा यक्षबाट मख्ख हुँदै मस्ट भयो भन्ने कुरा (खनाल) झनै मान्न सकिँदैन । क्षबाट क अवश्य बन्छ तर य कुन नियमले म र क कुन नियमले षमा परिणत हुन पुग्छ ? खुलाउन सक्नुपर्थ्यो । अब मस्टालाई मरुत लेख्ने त प्रशस्तै छन् । मरुतमा पुग्नलाई गरिएको व्याख्या यहाँ उद्धृत गरेर साध्य नै भएन । तिब्बतीहरूमा आजको जुम्लालाई याचे देश पनि भन्ने चलन थियो भन्ने तथ्यमा यो आधारित देखिन्छ । जसलाई यताकाहरूले यक्ष देश भन्ने गरेका छन् । बरु व्रतबन्धको मन्त्रमा आउने जाबेश्वर देशको अर्थमा जाँदा अरू सटीक होला ।


भयानक अन्योल
बबड्यान शब्द टिपेका छन् स्थिरजंगबहादुर सिंहले कर्णालीबाट विशेष भौगोलिक क्षेत्र बुझाउनलाई यसरी— बबड्यान, भड्यानी क्षेत्र (१२ हजार फिटदेखि १२ हजार ५०० फिट) कै माथिल्लो भाग हो । तल्लो भागको भन्दा त्यस भागमा आर्द्रता कम हुन्छ । यहाँ जडीबुटीको घनत्व घट्दै जान्छ र जंगली फूलहरूको घनत्व बढी हुन्छ । खस्रो बुकी पनि हुन्छ । रंगीविरंगी जंगली फूलको सजावटले मनमोहक देखिन्छ (पेज ५९, कर्णाली लोकसंस्कृति खण्ड २)


बुडु (२५५६ मिटर) यसै बबड्यानको अल्प रूप हो । यसै स्थानका संरक्षक क्षेत्रपाल हुन् बुडु मस्टा । तर प्राग्बौद्धकालीन हो, किनभने अशोकले बुद्धलाई बुडु लेखेका छन् (पोखरेल) भन्न अब कसरी मिल्छ ? अशोकले लेख्दैमा । सिंहले लेखेकै छन्— ‘तर आर्द्रताको आधारमा यो ११ हजार फिटदेखि नै सुरु भएको पनि पाइन्छ (पेज ५८) । राराबाट जब जुम्लातिर लागिन्छ त्यहाँ बबड्यान धेरै तल र ८ हजार फिटबाट सुरु भएको मान्नुपर्ने हुन्छ यस नियमले ।


लिटाकोट (२२८६ मिटर) छ जुम्लामा, लटिनाथ भन्ने ठाउँ नै छ दार्चुलामा भने, आफैंले क्षेत्रपाल हो लेख्दालेख्दै लाटेमस्टा इटलीबाट आयो, उसको स्थानीय जुपिटर देवबाट आयो लेख्न (पोखरेल) कसरी मिल्छ ? ऋग्वेदको दायुस पिटर भन्ने नाम जुपिटर भएको हो भन्दै छन् स्वयं विलियम जोन्सजस्ता पश्चिमाहरू भने फेरि जुपिटर हामीकहाँ आउँछ कतै ? ‘विश्व भूगोलको कत्ति ज्ञान नभएका पहाडियाहरू नेपालबाट सबैभन्दा परको देश श्रीलंकालाई ठान्दथे (पेज २९, खण्ड १, पाँडे) भने संस्कृतको कथित विष्ठल नेपालीका निम्ति इटली (पोखरेल) कसरी होला ? त्रिविष्टप होला बरु ।


कवा (२२८६ मिटर) भन्ने ठाउँ नै छ मुगुमा, जहाँ कवा मस्टा छन् । कौवालेख (१८२८ मिटर) भन्ने ठाउँ नै दार्चुलामा छ भने कवा मस्टालाई त एक जनाले (कोइराला) झन् मक्कामदिनाको कावासँग जोडेर पाठकहरूलाई सताएकै देखिन्छ । कालाकाँडा (३३५२ मिटर) भन्ने ठाउँ नै छ जुम्लामा । कालालेख (४३८९ मिटर) नै बझाङमा छ । कालागाउँ (१३७१ मिटर) छ वैतडीमा । तर कावामा मुसलमानहरू पुग्ने ठाउँमा कालशिला छ भन्दै कालाशिला मस्टो नै त्यसैको हो (कोइराला) भन्नेसम्ममा कुरा पुर्‍याइएको छ ।


बाबिडो हुँदै बाबिरो (२२८६ मिटर) भन्ने स्थान नाम भएको हो बबड्यानबाट । तर बाबिरोलाई बेबिलोनबाट आएको हो, त्यसैले आदि मस्टो हो, अझ बेबिलोनका मरुतदेव मार्दुक हुन्, अहिले बराह मस्टो भएका छन् लेखिएको छ (पोखरेल) । बाह्र मस्टालाई फनेसियन बालको संस्कृत पर्यायसम्म मानिएको छ । जेन्द आवेस्ताको अहुरा माज्दाको माज्दा नै मस्ट हो भनेर आफ्नै कुरा पनि काटिएको छ (पोखरेल) । त्योभन्दा अघि योगी नरहरिनाथकै सरह मस्तक हो मस्टा पनि फेरि आफैंले लेखिसकिएको छ । र हाम्रा प्राडाहरू पोखरेलको त्यही भनाइलाई टिपेर अरुका किताबका भूमिका लेखिदिन पुग्छन् (दाहाल) । यो भयानक अन्योलको पराकाष्ठा कसरी सम्हालिसक्ने हो पाठकहरूले ?


षको उच्चारण ख हुने हुँदा षप्तड हुन पुगेको छ खप्तड । तर खप्तरलाई आकाशीय खेचरसँग जोडेर खापर मस्टोसम्म बनाइएको छ । खप्पर मस्टो बनाउने पनि उत्तिकै छन् । साध्य नै भएन । ‘संस्कृतमा भेडालाई मेष भनिन्छ । घोडालाई घोटक वा घोट । यिनै दुई शब्द मेष र घोटको संयुक्त र परिवर्तित रूप हो मस्टो । भाषा व्याकरणअनुसार मेषको मष र घोटको ओट शब्दको मिश्रित रूप मषोटबाट मस्टो भयो होला (आत्रेय) । यो कस्तो एकातिरको निश्चिती र अर्कोतिरको अन्दाजिफिकेसन हो ? बुझिनसक्नु छ ।


प्रमुख मस्टा बुडु, कवा, बाबिरो, थार्पा (२५२९ मिटर) जुम्लाभित्रकै दुई–तीन दराहरूभित्रै पर्छन् । त्यति सानो इलाकाभित्रका सामान्य शब्दहरूमा यो भयावह दिग्भ्रम देखिन्छ भने बाँकी नेपालका अनेकौं सन्दर्भहरूमा के आशा गर्ने ?


कुरै ठीक छैन
ढुँढा लौकिक आख्यानमा आउने एक राक्षसीको नाम हो । ऊ हिरण्यकश्यपुकी बहिनी हो, जसले प्रह्लादलाई काखमा राख्छे । त्यही अवचेतनमा बसेकी राक्षसी ढुँढाको चरित्र यहाँ ढँढार मस्टोको चरित्र बन्न पुगेको छ । ऊ राम्रो प्रकृतिको मानिँदैन । हुँदाहुँदा उसको नामानुवाद भागवत्महात्म्यको धुन्धुकारीसम्म (पोखरेल) हुन पुगेको छ । मानौं, ऊ ढँढार होइन हुँडार हो । जसलाई इष्ट मानिएको छ, ऊ कसरी दुष्ट प्रकृतिको हुन सक्छ ? ढँढार (२२८६ मिटर) भन्ने ठाउँ नै छ बझाङमा । ढाँढ वा ढँढारको खास अर्थ अक्करे गहिरो खाल्टो वा खोपा मात्र हो ।


‘मस्टोमध्येको बाबिरो मस्टालाई वामदेवगोत्री पनि भनिन्छ (आत्रेय) सम्म पनि लेखिएको छ । हामीले बुझेसम्म ऋषि वा सन्तान वा चेला उनका गोत्रमा पर्छन् । तर बेला यस्तो आइसकेको छ, भगवान् भएकाले समेत हाम्रा प्राडाहरूबाट गोत्र पाउन थालेका छन् । मस्टालाई गोत्रमा हाल्ने हो भने शिव र विष्णुका गोत्र के हुन् ? पहिल्याउने चुनौती पनि त सामना गर्नुपर्‍यो हाम्रा विद्वान्हरूले । यो एक लेखक (शर्मा) को लेखाइ कुरै नबुझी थपक्क आफ्नैजस्तो गरी टिप्दा भएको भयानक भूल हो । शर्माले सुने मात्र लेखेका छन् । उनी लेख्छन्— बाबिरोलाई वामदेव गोत्र दिएको मैले सुनें (पेज ९७, कर्णाली प्रदेश एक बिटो अध्ययन) ।


मस्टोको प्रकृति र मान्यता उत्पत्तिको अध्ययन गर्दा यो मानसरोवरको अधित्यकाबाट जन्मेर सोझै कर्णाली अञ्चलमा मान्य र पूज्य भएको थाहा पाइन्छ (कोइराला) भन्ने कस्तो गज्जबको थाहा पाइएको कुरा हो ? जब मस्टामाथि लेखिएका कुनै शब्द अहिलेसम्म सीमापारिसँग महत्त्वपूर्ण सम्बन्ध नै राख्दैनन् । बरु पश्चिमी सीमापारिका मस्टासमेत नेपालबाटै गएको मानिएको छ (खड्का) ।मस्टा इन्द्रपुत्र जयत हुन् भनेर लेख्ने र ठान्नेको त झन् बगालै छ । जयतको एउटा कथा हल्चोक डाँडास्थित १३ औं शताब्दीको मानगुप्त गोमीनिर्मित इन्द्रदह र मानन्धरहरूको दाँगी जात्रासँग जोडिन्छ काठमाडौंमा । तर यो कथा हो ।


भाषाशास्त्रको पढाइ त्रिविमा सुरु भएको (विसं २०३० ?) आज ४५ वर्ष भयो । तर तिब्बती भाषा वर्णोच्चारण हुने (फनेटिक) होइन भन्ने कुरामाथि ख्याल नगर्दा र आफ्नो संस्कृत भाषामाथिको एकोहोरो ढिपी लाद्न खोज्दा भएको अन्योल हो यो । 'पावै' ‘तर चौधबीस खोला, जुम्लामा मतवाली क्षत्रीहरूका समाजमा भने मस्टाले रगत नखाने कुराको ज्ञान छैन (पेज ९६, शर्मा ऐजन), पावई–मतवाली क्षत्री (डोरबहादुर विष्ट) । पावई–मतवाली क्षत्री, हर्क गुरुङ, तीर्थबहादुर श्रेष्ठलगायत यावत् लेखकहरू, पावई/वृषल (पोखरेल) जस्ता लेखाइहरू नेपाली वाङ्मयमा प्रशस्त छन् । जबकि त्रिविमा समाजशास्त्र/नृवंशशास्त्रको विभाग खुल्नुअघि नै त्यस विषयमा दक्ष बनेर आएका विष्णुप्रताप शाह/तेजेश्वरबाबु ग्वंग/विहारीकृष्ण श्रेष्ठजस्ता प्रशस्त नामहरू हामीसँग छन् ।


अघिल्लै एक लेखमा लेखिसकियो हिमालपारिको ब वारि आएपछि प बन्छ । यसैले पाबई होइन पावै हो । बोन्बो धर्मावलम्बीको रूपान्तरण हो पावै । बोन धर्मका अनुयायीहरूले जनै लगाउँदैनन् नै । यसैले राई, मगर, गुरुङ, लिम्बू, थारूले नलगाएका हुन् जनै । अब जनै नलगाउनेबित्तिकै तिनलाई मतवाली भन्दै क्षत्री पनि जोडिदिनु कस्तो नृवंशशास्त्रीय परिपक्वता हो । र, अभिचारमा विश्वास गर्ने कालो बोन धर्मावलम्बी पावैले स्थापना गरेको मस्टाले रगत नखाएर दूध र खीर खाँदैन, यो बुझाउनै नपर्ने सामान्य कुरा हो । र, थप कुरा, आफूलाई पावै भनेको पावैले पटक्कै रुचाउँदैन । एकदम अपमानजनक मानिन्छ । मूलधारको संस्कृतिबाहिरको भन्ने बुझिन्छ जुम्लामा पावै भन्दा । काँठको, कछाडिया, देहाती हौ तिमी भनेजस्तो मानिन्छ । हो पनि त्यही । बोन मत मूलधारमा छैन । यसैले कथित नृवंशशास्त्रीय बुझाइ नै ठीक छैन ।


मतवाली खस लेखेको भए पूर्ण वैज्ञानिक संज्ञा हुन्थ्यो । यी खस हुन् नै महान् खस साम्राज्यका वर्तमान उत्तराधिकारीहरू । त्यो साम्राज्य जुन हुण र शक साम्राज्यको समानान्तर थियो । यी हुन् खस अवशेषका अथाह सूचनास्रोतहरू नकि वर्तमान खलंगावासी जुम्लीहरू । तर रट लागेको छ पावई र पावईको ।दाड्या मस्टो र दूधे मस्टो दुई हाँगा हुन् मस्टोका भन्नेका बारे लेखिएको छ (शर्मा ऐजन) । एउटा बलि खाने हो, अर्को नखाने हो । यो एक महत्त्वपूर्ण सूचना हो, त्यो के भने मस्टो बोन परम्पराको देवता हो, जसलाई ब्राह्मण र क्षत्रीहरूले पछि अपनाए र अपनाउँदै गए ।


ष्युम्बिल्हा
अझ युम्बिल्हा पनि होइन ष्युम्बिल्हा हो । (कतिपयका निम्ति लेख्य ख्य, उच्चारण श्य हुने नियम छ तिब्बतीमा । यसलाई तिनले व्याकरणीय भाषामा वासुर भन्छन् । बाह्मीबाट गुप्त त्यसपछि शारदा हुँदै कुमाउँतिर पुग्दा टंकारी लिपिको ख नै सम्भोटा लिपिको श्य हुन पुग्छ । त्यही शारदाको हाँगो पन्जाबीको गुरुमुखीमा पुग्दा पेट चिरेको य हुन पुग्छ । शारदाबाट पनि पेट चिरेको प प्रयोग गरिन्छ ख र ष दुवैमा । माउ लिपिकै कारण सम्भोटामा यो विरोधाभास आएको हो ।) यसैबाट मध्यनेपालको खुम्बिला हिमाल, खुम्बु बन्यो र यसैबाट चुम्बी उपत्यका भयो दक्षिण तिब्बतको कुइनेटो । जम्बुबाट यम्बु त भएकै थियो । उपत्यकाभित्रका प्रोज्ञ यम्बु–अहिलेको पम्बु, गौरीघाट उत्तर/सलम्बु–साँखु जाँदाको बाटो, सलम्बुटार, सलम्बुदेवी यही यम्बुबाट बनेका हुन् । अन्य यावत् यम्बुहरूका बारे पाठकहरूले ‘काठमाडौं सहर’ (रेग्मी) र जम्बुद्वीपको विचरण भन्ने शीर्षकमा पढ्न सक्नेछन् ।


अनि आजका राईबोधक ष्यम्बू (खम्बू) बन्यो, लयम्बू (लिम्बू), याम्फू (याम्फू राई) पनि बन्यो । धेरै सम्भव छ य र ष्य सँगै प्रयोग हुन पुगेर याख्खा भयो नकि यक्षबाट याख्खा । यसैले याख्यामाथि राई र लिम्बु दुवैको दाबीमा कुनै आश्चर्य नै भएन । यहाँ यी जातिहरूको भित्री अर्थ हो— यम्बुवासी । राई त पदवीबोधक मात्र हो, सुब्बा वा देवान भनेजस्तै । अन्यथा ताप्लेजुङमा सेसाम्फु, सेसाम्बु, सिलिम्बु, थेचम्बु स्थान नामहरू हुने थिएन । पाँचथरमा टिटिम्बु पनि हुने थिएन । र मगरको एउटा थर बयम्बु पनि हुने थिएन, नेवारको एउटा थर किलम्बू पनि हुने थिएन ।


बलम्बु/हेलम्बु
बलम्बु कम्तीमा सातौं शताब्दीको नाम हो । तर तिब्बतदेखि मंगोलियासम्मका मानिसहरूका निम्ति नेपाल देशको एउटा पुरानो नाम बालवा पनि हो (श्रेष्ठ २०४५) भनिएकाले बलम्बु त्यसैको रूपान्तरण हो बालवा+यम्बु । यही बालवाको एउटा रूपान्तरण हो पाल्पा । यही बालवाको रूपान्तरण हो पाल्पु, जुन थाकालीहरूको निम्ति काठमाडौं उपत्यका हो । पलाञ्चोक र सिन्धुपाल्चोकको पाल्चोक पनि यसैको रूपान्तरण हो । यही बाल+यम्बुको व लोप भएर लिम्बु बनेको स्पष्टै छ । यही बालयम्बु एकपल्ट फेरि हेलम्बु हुन पुगेको छ । हेलम्बुकै परिवेशमा छ एउटा अर्को ठाउँ टिम्बु ।


बोदयुल र बलयुल
स्थानीयहरू बोदयुल (बोदहरूको देश) भन्थे, यही भोट भयो (पेज १००, खण्ड २, लेभी) । बलयुल भन्छन् काठमाडौंलाई हुम्ली भोटे लामाहरू । भुटानलाई द्रुकयुल भनिन्छ । कश्मीरलाई क्रिचयुल र लद्दाखलाई मारयुल भन्छन् तिब्बतीहरू । दक्षिण तिब्बतलाई माङयुल भनिन्छ ।


घाङयुलको अर्थ घोडा चर्ने ठाउँ हो । यो ठाउँ हेलम्बुमा छ । यसर्थ माङयुलको अर्थ तामाङहरूको केन्द्र भएन । घोडा चर्ने ठाउँ नै भयो र लिच्छविकालीन काठमाडौंको नाम गाङ्गुलपतन पनि वाङमती–विष्णुमतीबीचको टार भएको बुझिन्न, घाङयुलको अपभ्रंस बुझिन्छ ।
तर यालुङकाङ (८५०५ मिटर) हिमचुचुरो ताप्लेजुङको उत्तरमा र युलोङ (५५९६ मिटर) हिउँपहाड छन् चीनको युनानमा । युलुङपोखरी, लमजुङको स्रोत हिउँ नै हो ।


वालुङ छ संखुवासभामा, ओलाङचुङगोला छ ताप्लेजुङमा । वालिङ स्याङ्जा र खोटाङमा छ । तर रोल्वालिङ (७१८१ मिटर) हिमाल छ दोलखामा । योलुङ खोला छ ओखलढुंगामा, यालुङ खोला छ दोलखामा । युल्मु खोला छ सोलुखुम्बुमा र युल्मु (६९८२ मिटर) डाँडो छ बाजुरामा । यालबाँट (२९८७ मिटर) छ हुम्लामा, यल्मो भन्ज्याङ (२७४३ मिटर), याला भन्ज्याङ (५४२५ मिटर) यालाकाङ (५७७९ मिटर) र यालाकोट खोला छ डोल्पामा ।


यालुङसाङपो हो चिनियाँ भाषामा, तिब्बतमा छँदा ब्रह्मपुत्रको नाम । यसैले युल नामले स्थान, गाउँ, ठाउँ आज बुझाए पनि मूलमा यो हिउँ र त्यसबाट उत्पन्न पानीबोधक हो भन्ने स्पष्टै छ । युलको अर्थ हो भन्ने निर्क्योल सही ठहर्दैन । हिन्दीमा ओला भन्छन् असिनालाई, असिना बरफको टुक्रा नै हो । यसैगरी नेपालको पुरानो नाम भनिने बालवा अर्थात् ऊनको देश पश्मिनाको देश (पेज २४५, श्रेष्ठ, २०६७) भन्ने निर्क्योल पनि सही ठहर्दैन, जब ओलाङचुङगोलाका वालुङहरूलाई होलुङ पनि भनिन्छ । युल नै बालवा हुँदै वालुङ र होलुङ, युल+यम्बु हुँदै हेलम्बु हुन पुगेको स्पष्टै छ । ऊन, पश्मिना प्रशस्त उत्पादन हुन्छ तिब्बतमै भने, चीनमै भने तिनले नेपाललाई ऊन–पश्मिनाको देश अर्थात् बालवा भनिरहनुपर्ने दरकार पनि छैन ।


शाम्भला एक काल्पनिक स्वर्गरूपी स्थान हो । नेटअनुसार कालचक्रतन्त्रमा यसको पहिलो उल्लेख छ । यसका प्रमुख देव हुन् मञ्जुकीर्ति तर यो वज्रयानअन्तर्गतको तन्त्र भएकाले आठौं शताब्दीपछिको कल्पना हो । जाम्बला हुँदै यो शब्द शाम्भला हुन पुगेको हो । जाम्बलाबाटै बुझिन्छ जम्बुल्हाको रूपान्तरण हो । मञ्जुकीर्तिलाई जम्बुल्हा अर्थात् जम्बुद्वीपका देवता भन्ने अर्थ गरियो भने सही ठहर्छ । अर्थात् एकातिर हाम्रा विज्ञहरू मस्टामाथि लगभग ६५ वर्षदेखि अनेक कोकोहोलो गरिरहेछन् तर तिनको मस्टालाई १२ सय वर्षअघि नै मञ्जुकीर्तिमार्फत विस्थापित गर्ने प्रयास भइसक्यो भन्ने तिनलाई पत्तै छैन ।


पुछारमा
बोन्पो परम्परा भन्दछ— १८ हजार वर्षअघि दोर्जे शेराबले यो मत स्थापना गरेका हुन् । उनी शाम्भलाबाट तिब्बत पुगेका हुन् । वैदिक धर्मलाई अघि बढाउनमा उनको योगदान छ (नेट) । जिरो कावाकिताले बोन मतको जन्म नेपालमै भएको संकेत गरेका थिए । र त्यो खेर गएको छैन । लिम्बुहरूले ब्राह्मण–क्षत्रीलाई पेनेवा (बोन) भनेर गर्ने सम्बोधनको आधार यही मस्टो हो । र त्यो शतप्रतिशत सही छ । अब यहाँबाट अरू जति पर पनि जान सकिन्छ ।

प्रकाशित : जेष्ठ १८, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?