१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भुइँका कथा

समग्रमा भन्नुपर्दा भुइँका कथाहरूको सङ्ग्रह हो ॅहिउँमाझी’ । भाषामा स्थानीय स्वाद र मिठास छ ।
स्वप्निल स्मृति

 
 
साहित्यवृत्तमा वियस राई ‘हिउँमाझी’ कथासङ्ग्रह लिएर आउँदा एक ‘सप्राइज’ जस्तै थिए  । पत्रपक्रिका, साहित्यिक कार्यत्रम कतै नसुनिएको लेखक  ।

भुइँका कथा

सामान्य विषयवस्तु, उम्दा शिल्प पक्ष र छरितो भाषामा बुनिएका कथा मार्फत उनी अहिले पाठकप्रिय भइसकेका छन् । यसैबीच उनको ‘जोखना’ कथा नाट्य रूपान्तर भई राजधानीमा महिना दिन बढी मञ्चनसमेत भयो । यसले पनि कथासङ्ग्रहको महत्तालाई बढाउन टेवा पुर्‍यायो नै ।


औसतमा लामा र छोटा दुवै भन्न नमिल्ने, मध्यम लम्बाइका १३ वटा कथाको समष्टि हो— ‘हिउँमाझी’ जुन सङ्ग्रहभित्र शीर्षकथाको रूपमा पनि छ ।विशाल हिमालयको काखमा अवस्थित छ हाम्रो मुलुक । यद्यपि हाम्रो वाङ्मयले हिमाललाई टाढाबाटै मात्रै चर्चा गर्दै आएको छ । मानवशास्त्रीय दृष्टिमा एकअर्काका पर्याय हुन् हिमाल र शेर्पा । जबकि हिमालको चुचरोलाई सुनझैँ टलक्क टल्केको देख्ने हाम्रो परम्परित वाङ्मयले शेर्पा समुदायको जीवनलाई भने अझै चिन्नै बाँकी देखिन्छ ।


सगरमाथा आरोहण कीर्तिमानीका बग्रेल्ती सूचना सामान्यज्ञानमा छन् नै । अङ्ग्रेजी भाषामा प्रकाशित विदेशी आरोहीका आत्मकथा, आरोहणबारेका गाइडबुक पनि छन् । यता नेपाली भाषामै रचिएका सगरमाथा आरोहणबारेका कृति भने औंलामै गन्न सकिन्छ, जस्तो सरुभक्तको ‘चुली’ लघुउपन्यास र सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ ।यही मेसोमा ‘हिउँमाझी’ कथालाई पनि लिनुपर्ने हुन्छ । हिमाल त तेञ्जिङ नोर्गेसँगै एडमन्ड हिलारीजस्ता थुप्रैले चढे, थुप्रैले रेकर्ड राखे । हिमाल समृद्धि, बहादुरी र स्वाभिमानको विम्बप्रतीकमा स्थापित पनि छ तर यसलाई समीपबाटै भोग्नु, अझ त्यसमाथि विजय प्राप्त गर्नु भने पक्कै सहज छैन ।


हिमाल आरोहण शेर्पा समुदायले हिउँसँगको लामो सहवासले निर्माण गरेको संस्कृति हो । ‘हिउँमाझी’ कथाले सर्वोच्च हिमाललाई मात्र चिनाउँदैन यसको आरोहणसँग जोडिने साहसिकता र कीर्तिमानीको अन्तर्यमा निहित शेर्पा गाइडहरूको मुख्य नायकत्वलाई पनि स्थापित गर्छ । सगरमाथा विश्वको धूरीले जुन गौरव अनुभूति पैदा हुन्छ, यो कथा पढ्दा सेर्पा ‘क्लाइम्बिङ गाइड’ प्रति पनि उत्तिकै गौरव हुन्छ ।चोमोलोङ्मा (सगरमाथा) प्रति शेर्पा समुदायको सांस्कृतिक बुझाइ, पर्वतारोहण व्यवसायको अर्थराजनीति र प्रकृतिसित मानवीय द्वन्द्व र समन्वयका पक्षलाई पनि यसले सही प्रतिविम्बन गर्छ । यस कथाको अर्को उल्लेखनीय पक्ष पर्यावरणीय चिन्तन पनि हो । आरोहणका क्रममा शेर्पा गाइडले सगरमाथाको पहिले र अहिलेको हालतबारे ठाउँठाउँमा दिएका सूचना र जानकारीले ग्लोबल वार्मिङका कारण जलवायु परिवर्तनले पर्यावरणमा भइरहेको विनाशप्रति संवेदनशील हुन सचेत गराउँछ । आरोहणपछि विदाइमा बेलायती आरोही मार्फत शेर्पा गाइड आणविक भट्टी बन्द गर्न सन्देश पठाउँछ । निश्चय नै पानीको पूर्ववत् रूप हिउँ र त्यसले ढाकेको हिमाल तराउने (चढाउने) गाइडलाई कथाकारको दृष्टिबिन्दुमा हिउँमाझी देख्नु सही हो तर कथामा शेर्पा गाइड स्वयंले आफूलाई हिउँमाझी दाबी गर्छ । शेर्पा र माझी दुई फरक जाति जो हिउँ र पानीमा खेल्छन् । अनि हिउँ र हिमालमा खेल्ने शेर्पा गाइडले आफूलाई किन ‘हिउँमाझी’ नै दाबी गर्नुपरेको ? कतिपय पाठकलाई लाग्न सक्छ ।


जसरी सर्वोच्च उचाइ चुमेपछि ‘हिउँमाझी’ हरू आफ्नै धरातलमा ओर्लनुपर्ने हुन्छ, सङ्ग्रहका बाँकी कथा त्यही धरातल, त्यही समाजका हुने भए । अथवा, हिमालमुनिको मानवबस्ती जहाँ पहाड छ, तराई छ, विविधतापूर्ण मानवसमाज छ, राजनीति छ, धर्म छ, दुःख, अभाव, संघर्ष र सपना छ, यसो भनौं संग्रहका कथामा कुनै न कुनै पात्रपरिवेशको रूपमा नेपाली समाज उपस्थित छ । फेरि पनि मूलतः खुम्बु र सोलुजस्ता उपल्लो भूगोलका कथामा नै कथाकारको परख लोभलाग्दो छ । सामान्यतः भौगोलिक रूपमा मध्यपहाडी भू–भाग र समाजगत रूपमा खस—आर्यकै रङ्ग ज्यादात्तर छ नेपाली साहित्यमा । भाषा, संस्कृति, जाति, भूगोल, धर्मजस्ता बहुल पहिचानलाई सामर्थ्यमा परिणत गर्नुको साटो त्यसलाई अन्तरविरोधात्मक बनाएर एक वर्ग जहिल्यै सत्तामा आसीन हुँदै आएको छ । जसका कारण हाम्रो समाज एक–अर्कामा अचिनारुपन, असमानता, अविकास र शोषणमुखी चरित्रको जगमा उभिएको छ । यसमा परिवर्तन ल्याउन एक भूगोलसँग अर्को भूगोल, एक समाजसँग अर्को समाजबीच स–सम्मान चिनजानको माध्यम पनि हो साहित्य । तर साहित्यसत्तामा मध्यपहाडी समाजको तुलनामा तराई–मधेस र हिमाली क्षेत्रको प्रतिनिधित्व कमजोर छ । डा. हर्क गुरुङको ‘मैले देखेको नेपाल’, मोहन मैनालीको ‘उपल्लो थलो’, नयनराज पाण्डेको ‘सल्लिपिर’ उपन्यासजस्ता केही कृतिले हिमाली जीवनसंस्कृति चिनाएका छन् । यसै लहरमा यस सङ््ग्रहका केही कथा उभिन्छन् र समष्टिमा भने एक सामाजिक यथार्थवादी कथाकार नै हुन् वियस ।


उनका कथाका पात्र ती भुइँमान्छे हुन् जसको भाग्य र भविष्य प्रकृति, समाज, राजनीति र धर्मले निर्धारण गरिदिएको छ । बाँच्नकै छटपटाहटमा ती पाक्रसँग कुनै ‘अतिरित्त’ सपना छैन । खानु, लाउनु, बाँच्नु र बचाउनुकै लागि निम्नवर्गले गर्नुपरेको संघर्ष, भोग्नुपरेको नियतिको ‘पोस्टमार्टम’ हुन् उनका कथा । ‘नाकाबन्दी’, ‘चम्पाको नाम’ र ‘जिम्मा’ कथामा प्रयुक्त प्रमुख महिला पात्रका दुर्दशापूर्ण जीवनचित्रण होस् या ‘चन्दा’ र ‘नाम्लो’ कथामा दलित पात्रका सामाजिक हैसियत, लाग्छ, पचास दशकको उत्तरार्द्धयता समयकालका यी कथा हाम्रो वर्तमान सामाजिक धरातलको अत्यासलाग्दा सबुत हुन् । मुलुक समग्र व्यवस्थामा आमूल परिवर्तनका लागि यही समयमा सबैभन्दा बढी जागृत भयो । समानता, परिवर्तन, समृद्धि, गणतन्त्र, सङ्घीयता, संविधानजस्ता तमाम ‘जार्गन’ र सपनाको खेती भयो । त्यसले भुइँमान्छेको जीवनमा के फरक पार्‍यो त ?


‘नाम्लो’ कथाको पात्र टिके दमाई कथित उपल्ला जात (शेर्पा र राई, वर्णाश्रम व्यवस्था नमाने पनि त्यसबाट प्रभावित) को तजबिजीमा चल्न विवश छ । ‘चन्दा’ कथाको छत्रेचाहिँ कम्तीमा कथित उच्च जातका मुक्तिनाथलाई प्रश्न गर्छ, ‘तिम्रा घराँ म छिर्दा त बाहुन पढाएर चोख्यायौ । तिम्री स्वास्नीमा मेरो रगत छिर्‍यो, अब कसरी चोख्याउँछौ बाजे ?’ दलित वर्ग आत्मसम्मानको संघर्षमा रहेको धेरै भयो तर दलनको घनत्व कति गहिरो छ भन्ने टिके स्वयं बुबाको परम्परागत लुगा सिउने कलालाई ‘थाङ्ना सिलाउने’ जस्तो हेय भाव राख्छ । जुन कथित तल्लो जात भनी वर्णाश्रममा आधारित समाजले उसको मस्तिष्कमा घुसाइदिएको हीन भावनाको उपज हो । जबकि पशुसमान मानवीय छुवाछुतलाई कम्तीमा छत्रेले झैँ प्रश्न गर्न सक्नु समतामूलक समाजको प्रस्थान हो । ‘जिम्मा’ कथाकी चञ्चला स्थानीय चुनाव प्रचारप्रसारका दौरानमा वडाध्यक्षको गर्भ बोक्छे, ऊ कथाको उठानमा बलियो र रोमान्टिक छे । तर, वडाध्यक्षको पेट बोकेपछि निरीह पात्रमा परिवर्तन हुन्छे । यसलाई पुरुषवादी सामाजिक सत्ताको उत्पीडनमा महिला कजिएको विम्बका रूपमा घुमाउरो बुझे त सही नै होला । तर कमसेकम चञ्चलाजस्ता पात्रलाई कथाकारले पेट नबोकाएको भए उत्पीडनविरुद्ध लड्न सक्थी ऊ । कतै चञ्चलाको त्यो अवसर खोसिदिएको त होइन पुरुष कथाकारले ?


‘हिजोको कुरा’, ‘जोखना’ र ‘माफ’ सोलुखुम्बुको सामाजिक क्यानभासमा बुनिएका कथा हुन् । कथाकार आफैँ राई र त्यही क्षेत्रको हुनुले पनि यी कथामा किराती संस्कृति र मनोविज्ञान बलियो गरी आएको छ । ‘माफ’ कथामा युवा पुस्तामा आएको सांस्कृतिक जागरण र पुराना पुस्तामा राज्यले हुलिदिएको हेजोमनीबीच टकराव छ । ‘जोखना’ सांस्कृतिक रूपमा निकै निक्खर कथा लाग्छ । सेलेमी (पुरोहित) ले मरिसकेको जोखना खुट्याएको जशेको बुबा काजकिरियापछि जिउँदै फर्केर आउँछ । सेलेमीजस्ता मुन्धुमवाचक र जोखनाजस्तो परम्परागत पद्धतिप्रति सामुदायिक आस्थाको नैरन्तर्यतालाई देखाइएको यो कथाबाट ती पद्धतिप्रति सन्देहात्मक पनि हुनुपर्ने अप्रत्यक्ष सन्देशसमेत मिल्छ ।


समग्रमा भन्नुपर्दा भुइँका कथाहरूको सङ्ग्रह हो ‘हिउँमाझी’ । सामान्य झैँ लाग्ने विषयवस्तुमा पनि अरू रोचक सन्दर्भ जोडेर कथालाई पठनीय र गहन बनाउन सिपालु छन् वियस । यस चलाखीले उनका कतिपय कथा आवश्यकताभन्दा लामा पनि भएका छन् । चरित्र स्थापनामा अधिकतम ‘फ्ल्यास ब्याक’ र ‘ब्याक्ग्राउन्ड स्टोरी’ को प्रयोगले उनको कथानक शैली कति फिल्मी र कति औपन्यासिकझैँ पनि लाग्छन् । कतिमा चाहिँ मूलकथाभन्दा उपकथा र पृष्ठभूमि कथामा उनी बढी लोभिएजस्तो पनि लाग्छ । चट्ट एउटा विम्ब या प्रतीकवरिपरि कथालाई बुन्दै लगेर टुङ्ग्याउने शैली छ उनको ।
भाषामा मनग्गे स्थानीय स्वाद र मिठास छ । आफ्नै मातृभाषामा बोल्ने शेर्पा, राई, मगर र तामाङ जातिका पात्रले खसनेपाली भाषा बोल्दा उत्पन्न हुने जुन प्राकृतिक लवज छ, त्यसको प्रयोग कथानकमा आकर्षक सौन्दर्य भइदिएको छ । छोटा, छरिता वाक्यसहितको उनको कथावाचन शैली समकालीन आख्यानकै एक प्रवृत्ति हो । यसै शैलीमा उनले मौलिकताको निर्माण कसरी गर्छन्, त्यो भविष्यकै हातमा छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?