कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महामानवको खोजीमा

भूपिन

व्यस्त लन्डनको कुन सडक हुँदै सेफिल्ड युनिभर्सिटीको कला विभागतिर कुद्दै छौ तिमी ? मलाई थाहा छैन  । अस्ति कुनै विदेशी पत्रिकामा तिमी र तिम्रो पेन्टिङबारे चर्चा पढ्न पाएँ  ।

महामानवको खोजीमा

मलाई प्रिय लाग्ने कलाकारहरू सुनील सिग्देल र अग्रज मनुजबाबु मिश्रका पेन्टिङ पनि त्यसमा छापिएका थिए ।
बेल्ट म्युजियम भियनामा हालै भएको उक्त कला प्रदर्शनीमा तिम्रा पेन्टिङले पाएको प्रतिक्रिया पढेर लन्डनको कुन क्याफेमा मख्ख परिरहेछौ तिमी ? मलाई त्यो पनि थाहा छैन । अथवा सपना प्राप्तिका लागि लड्दा लड्दा थाकेजस्तो भएपछि अग्रज चित्रकार लैनसिंह बाङ्देलले विदेशी भूमिमा गरेका संघर्षका कुन कथा सम्झिँदै आफैंले आफूलाई ढाडस दिइरहेछौं ? मलाई त्यो पनि थाहा छैन ।


मलाई यत्ति थाहा छ, म तिमीलाई सम्झिरहेछु । मानिस भूमिगत हुन्छन्, चाहनाहरू मनोगत । केही समयदेखि मनको उर्वर भूमिमा हुर्किरहेको एक चाहना थियो, तिम्रोबारे केही लेखूँ । केही लेख्ने चाहना भएर केही पनि नलेखिएका सयौँ कथाहरू यत्तिकै थन्किएका छन्, मनका पानामा । लेख्नु त खोलाको माछा हथेली गरेर पक्रिनुजस्तै हो । यसका लागि जाँगर, धैर्य र एकाग्रता चाहिन्छ । यी सबै जुटेर कहिलेकाहीँ हत्केलामा फसिसकेको माछा पनि फुत्त खोलामा हाम फालेर अनाम कुरमा बिलाएझैँ शब्दहरूको चिप्लो माछा मनको कुरमा बिलाउँछ । त्यस अवधिमा साह्रै लेख्न मन भएर पनि तिम्रोबारेको छुट्टै कुनै सस्मरण लेखिनँ, किनकि मैले ‘मैदारो’मा तिमी जस्तैजस्तै एक पात्रलाई शब्दको रङले पेन्ट गरिरहेको थिएँ । त्यो पात्र नदिन थियो, ‘मैदारो’को प्रोटागोनिस्ट । तिमीजस्तै चित्रकार, जो दलित बस्तीमा जन्म्यो, उल्टा चित्रहरू बनायो, डरलाग्दा समस्या र विभेदका आँधी तुफानमा फस्यो र मृत्युको गहिराइ नाप्न पाटेभीरबाट हाम फाल्यो । खैर त्यो कुरा अब छाडिदिऊँ ।


पछिल्लो चित्र ‘द काली ओडलिस्क’पछि तिमी कुन चित्रमा डुबिरहेछौ ? अथवा तीन महिनापछि टुंगिने मास्टर इन फाइन आर्टपछि नेपाल फर्किने कि लन्डनमा अझै संघर्ष गर्ने ? प्रश्नको मझधारमा फसेर बारम्बार टाउको कन्याइरहेछौ ? मलाई थाहा छैन । मलाई यत्ति थाहा छ, म तिमीलाई सम्झिरहेको छु । मनीष, कहिलेकाहीँ मानिसले अकारण नै सम्झिन्छ कसैलाई । तर मसँग तिमीलाई सम्झिनुका केही विशेष कारणहरू छन् । कुनै अतिशयोक्ति नमानिदिनू, विगत दुई वर्षको समयावधिमा सायदै कुनै दिन होला, मैले तिमीलाई सम्झिन बिर्सिएको । पाण्डुलिपिको अध्ययन गरिसकेकाले अब त तिमीलाई पनि थाहा भैसकेको छ, ‘मैदारो’ लेखनका यी दिनमा म तिमीबाट मुक्त रहन असम्भव थियो । नदिन तिम्रो एक स्याडो पेन्टिङ थियो । ऊ सम्पूर्ण रूपमा नै त मनीष थिएन, मनीषलगायत केही वास्तविक पात्र र कल्पनाको फ्युजन थियो । तर नदिनको सर्वाधिक महत्त्वपूर्ण अस्तित्वमध्ये तिमी एक थियौ । नदिन तिमीजस्तै चित्रकार थियो र उसका संघर्षका कथा लेख्दा म तिमीलाई सम्झिरहन्थेँ ।

गाउँको जनता माविमा तिमीलाई पढाउँदाका त्यति गाढा यादहरू छैनन् । श्याम वर्णको तिमी पातलो र निकै फुर्तिलो किशोर थियौ । तिम्रा आँखाहरू अत्यन्त चञ्चल थिए । याद छ मलाई, विज्ञान र गणित पढाउने म कहिलेकाहीँ तिमीहरूलाई कथा कविताहरू सुनाउथेँ । कहिलेकाहीँ कक्षामै साहित्यिक कार्यक्रम सञ्चालन गर्थेँ । कहिलेकाहीँ स्कुलको नयाँ भवनपछिको चौरमा लगेर तिम्रा साथीहरूबीच हाजिरीजवाफ प्रतियोगिता गर्थें । तिमी यी कुनै कार्यक्रमहरूमा सहभागी भएको मलाई सम्झना छैन । अहिले सम्झिँदा थकथक लाग्छ कि किन मैले कहिल्यै विद्यार्थीहरूको चित्र प्रतियोगिता राखिनँ ? यसो हुँदो त मैले मनीषलाई चित्रकारको रूपमा त्यो समयमा नै चिन्न सक्ने सम्भावना रहेछ । त्यो अवसर मैले गुमाएँ । तिमी यसरी कलामा डुब्नेछौ भन्ने सामान्य अनुभव पनि मैले गर्न सकिनँ त्यो अवधिमा । मास्टरी छोडेर मास्टर्स पढ्दा थाहा पाएँ, तिमी कलमभन्दा बढी कुचीलाई प्रेम गर्ने विद्यार्थी भएछौ । मन्दिरमा या यस्तै सार्वजनिक स्थलमा तिमीले गरेका केही आर्ट हेरेर म आनन्दित बन्थेँ । तिमीले लेखेका अक्षर पढेर खुसी हुन्थेँ । कुनै दिन तिमीले नै भन्यौ, ‘सर म ललितकला क्याम्पसमा चित्रकला पढ्दै छु ।’ त्यो क्षण म नदिन झैँ खुसीले लबालब भरिएको थिएँ ।


तिमी गाउँको पहिलो यस्तो विद्यार्थी थियौ, जसले उच्च शिक्षा अध्ययनको परम्परागत तरिकालाई तोडेर कला अध्ययन गर्ने निर्णय गरेको थियो । म कलाप्रेमी, तिम्रो निर्णयबाट प्रफुल्लित भएको थिएँ । म खुसी भएको थिएँ, किनकि तिमीले मनको आवाज सुनेका थियौ । म खुसी भएको थिएँ, किनकि मेरो गाउँको इतिहासमै एक नवीन घटना भएको थियो । कवि भएका कारण कतिपय सामाजिक पद्धतिमा एक्लो अनुभव गर्ने मैले एक्लिने दुस्साहस गर्ने एक नयाँ साथी पाएको थिएँ । तिमीसँग यो कुरा व्यक्त गरिनँ, तर म तिमीप्रति आकर्षित थिएँ । त्यो बेला तिमीले मलाई देखाएको एक पोट्रेट कहिल्यै बिर्सिन्नँ । दुःखले उमेरमै अनुहार चाउरिएको उक्त पोट्रेटले मलाई साह्रै आकर्षित त गरेन, तर तिमीले आफ्नै गाउँको आम मान्छेलाई कलाको विषय बनाएको सुन्दर लाग्यो । मैले भ्यानगगलाई सम्झिएँ, जसले सम्राट् वा धनी व्यापारीलाई नभएर आम मानिसलाई कलाको विषय बनाउन रुचि राखे । पोट्याटो इटर्स होस् वा पोट्रेट अफ पोस्टम्यान, उमन सेविङ होस् वा पेजेन्ट उमन गगले सधैँ आम मानिसलाई नै कलामा उतारे ।
सन् २०१२ को कुरा, लिट्रेचर फेस्टिभलमा भाग लिन काठमाडौँ जाँदा तिमीसँग प्रज्ञाप्रतिष्ठानमा आकस्मिक भेट भयो । आफू वक्ता भएको सेसन नसकिएकाले म ससानो मनोवैज्ञानिक दबाबमा थिएँ । कुरा गर्दै जाँदा फिस्सफिस्स मुस्कान झरिरहेको तिम्रो अनुहारमा मैले कुनै भय खेलिरहेको देखेँ । अप्रत्याशित तिमीले भन्यौ, ‘खासमा म यहाँ आउन हुन्थेन सर । तपाईंको कुरा सुन्न मन लागेर आको ।’
मैले सोधेँ, ‘किन आउन हुन्थेन भनेको ? मैले बुझिनँ ।’


‘मार्ने धम्की आछ सर मलाई त ।’ वरिपरि आँखा डुलाउँदै तिमीले भन्यौ । ती आँखामा संशय थियो । ओहो, मारिने धम्की ! कसले ? किन ? मनमनमा म काँप्न थालेँ । मैले बुझिनँ, तिमी मारिनुपर्ने कारण के थियो ? तिम्रो त्यस्तो के अपराध थियो ? तिमीलाई हेरिरहेका मेरा आँखाहरू प्रश्नले भरिए । तिमीले आफ्नो कहानी सुनाउन थाल्यौ मसिनो आवाजमा । मैले तिमीबाट जे कुरा सुनेँ, त्यसले मलाई स्तब्ध पारिदियो । चित्र बनाएका कारण पो तिमीलाई ज्यान लिने धम्की आएको रहेछ । सिद्धार्थ आर्ट ग्यालरीमा भएको तिम्रो चित्रकला प्रदर्शनीका कारण तिम्रो जीवनमा यति डरलाग्दो समस्या आइलागेको रहेछ । म अवाक भएँ, दुःखी भएँ ।


चित्र बनाएकै अभियोगमा कोही चित्रकारलाई मार्ने धम्की आएको थाहा थिएन मलाई नेपालमा । अन्य देशको कुरा अलग । एक जमैकन अमेरिकन चित्रकार थिइन् रेनी कक्स । अमेरिकाजस्तो उदार देशमा पनि उनको कलालाई लिएर क्याथोलिकहरूले बखेडा झिके । कक्सको ‘यो मामाज् लास्ट सपर’ कला इतिहासमै बडो विवादास्पद कला मानिन्छ, जहाँ उनले जिससको ठाउँमा आफैंलाई नाङ्गै उभ्याएकी छन् । के जिसस नारी हुन सक्दैन ? उनको प्रश्न होला । सबै कालाहरू भएको लास्ट सपरको पुनर्सिर्जनामा छली जुडासलाई भने गोरे देखाइएको छ । यसको अर्थ गम्भीर छ । सायद रेनी भन्न चाहन्छिन्, ‘काला जातिका मानिसका लागि गोरेहरू नै जुडास हुन् ।’ फोटाहरूको गठजोड भएकाले उक्त कलाले मलाई दाभिन्चीको मौलिक लास्ट सपरले झैँ आकर्षित त गरेन, तर यो चित्रको विम्बात्मक अर्थ भने गहिरो लाग्यो । २००१ मा ब्रुकलिन म्युजियममा गरिएको प्रदर्शनपश्चात् त्यस कलाले धार्मिक आस्थाका मानिसमा खैलाबैला नै पैदा गरिदियो । मनीष, के तिमीलाई थाहा छ, कलामाथि धार्मिक रूढताको आँखा सधैँ किन कर्के पर्छ ?


भारतका चित्रकार एमएफ हुसेनको कथा निकै भयप्रद छ । भारतका पिकासोको नामले प्रख्यात उनलाई देवीहरूको नांगो चित्र बनाएका कारण मार्ने धम्की आएको थियो । उनका विरुद्ध कैयौँ मुद्दा दायर भएका थिए, चित्रहरू नष्ट गरिएका थिए । हिन्दू संगठनद्वारा उनको घरमा हमलासमेत भएको थियो । यी सब कारण उनी यति दुःखी भए कि उनले बुढेसकालमा भारत नै छोडिदिए । लन्डन र दोहा बसे । अन्तिम कालतिर उनलाई कतारको नागरिकता मिल्यो, जहाँ उनले अन्तिम सास लिए ।


यता तिमीलाई कालीको चित्र बनाएबापत मार्ने धम्की आएछ । देशबाहिर भएकाले म यसबारे पूर्ण रूपमा बेखबर थिएँ । एकल प्रदर्शनीका लागि आफू एक विशेष कला प्रोजेक्टमा काम गरिरहेको र त्यसमा प्रगति भैरहेको तिमीले मलाई जानकारी दिएका थियौ । तिमी एक्साइटेड थियौ । त्यसो त एकआर्टिस्टका लागि एकल प्रदर्शनी ठूलो अवसर हो । म पनि खुसी भएको थिएँ । तर मलाई तिम्रो प्रदर्शनीले यति खतरनाक मोड लिएको बारे पटक्कै थाहा थिएन । मलाई तिम्रोबारेमा धेरै चिन्ता लाग्न थाल्यो । तिमीलाई हेरिरहेका हरेक अपरिचित मानिसहरू तिमीलाई मार्ने योजनाले आएका हत्याराजस्ता लाग्न थाले मलाई ।


ओहो मनीष, तिमी त एकाएक ईश्वरनिन्दक भएछौ । एक महिनाका लागि तय भएको कला प्रदर्शनी एक दिनको डरलाग्दो घटनाका कारण रोकिएछ । ‘एघार सेप्टेम्बरको दिन थियो सर,’ तिमीले भन्यौ । ‘एघार सेप्टेम्बर नै ?’ म झस्किएँ । ठीक दुई वर्षअघिको सेप्टेम्बर एघारमा अल कायदा समर्थित मुस्लिम अतिवादीहरूले जहाज जोती ध्वस्त पारिदिएको ट्विन टावर उभिएको स्थल हेरेर म भर्खरै देश फर्किएको थिएँ । ग्राउन्ड जिरो नाम दिइएको उक्त स्थलमा भ्रमण गर्दा मेरा आँखाहरू टीभीमा देखाइएका बीभत्स दृश्यहरूले भरिएका थिए । मैले निकै सकसको अनुभव गरेको थिएँ त्यहाँ । ठीक दुई वर्षपछिको त्यही दिन यता हिन्दू अतिवादीहरूले एक कलाकारको जीवनको ट्विन टावर ध्वस्त गर्ने धम्की दिएछन् । पुलिसले कलाकारलाई पक्राउ गर्ने कोसिस गरेछन् तर ग्यालरी सञ्चालक संगीता थापाले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोलेपछि र कलाकारको सुरक्षाको जिम्मा आफ्नो भएको बताएपछि कलाकार जेल जानबाट जोगिएको रहेछ । त्यो कलाकार तिमी रहेछौ । तिमीबाट यति कुरा सुनेपछि डरका कारण मैले तिमीलाई डेरामा फर्किहाल्न भनेको थिएँ । प्रिय मनीष, के एघार सेप्टेम्बर धार्मिक अतिवादीहरूको दिन हो ?

मनीष,
मेसेन्जरमा एक दिन तिमीलाई मन पर्ने कलाकारहरूबारे सोधेको थिएँ । उत्साहित हुँदै तिमीले पाँच कलाकारका नामहरू लेखेका थियौ, मार्सेल दुसाम्प, जोसेफ ब्युयस, माउरिजियो क्याटलान, साल्भाडोर डाली, आई वेवे... ! क्याटलान र वेवे मेरा लागि बिल्कुल नयाँ नामहरू थिए । इटालियन कलाकार क्याटलान व्यंग्यात्मक मूर्तिकलाका लागि विश्वविख्यात रहेछन् । सन् १८५७ मा जन्मेका चिनियाँ कलाकार वेवे चाहीँ मूर्तिकला, आर्किटेक र प्रतिस्थापन कलामा पोख्त मानिदा रहेछन् । कलाका साथसाथै उनमा फोटोग्राफीप्रति पनि अपार प्रेम रहेछ । यी कलाकारहरूको सूची र तिम्रा कला सिर्जनाहरूको आधारमा म अनुमान गर्न सक्छु कि तिमी पछिल्लो समय किन प्रतिस्थापन कलाप्रति विशेष आकर्षित छौ । तिमीमा कलाका आधुनिक रूपहरूप्रति स्वाभाविक रुचि छ । म त निकै शास्त्रीय रुचि भएको कलाप्रेमी, जसलाई चित्रकला भनेको पेन्ट र ब्रसको स्ट्रोक मात्र हो भन्ने लागिरहँदो रहेछ ।


नढाँटी भन्छु, मार्सेल दुसाम्पको फाउन्टेनलाई उनको मास्टरपिस भनेर व्याख्या गरिए पनि त्यो रेडिमेड पिसाब फेर्ने भाँडोले मलाई खास आकर्षित गर्दैन । उनी भन्न चाहन्थे रे, ‘कला तिमीले पिसाब फेर्न सक्ने केही चीज हो ।’ यो कला समीक्षकको व्याख्याको कुरा, जो म तिमीले झैँ गहिरोसँग बुझ्न सक्दिनँ । हो मलाई तिमीलाई झैँ पिकासोको गुयर्निका बेहद मन पर्छ, भ्यानगगको सनप्लावर उत्कृष्ट लाग्छ । छोडिदिऊँ यी कुरा । मलाई यहाँ तिम्रै कलाबारे एक विशेष कुरा गर्न मन लागिरहेको छ । यो कुरा तिम्रा कलाप्रतिको मेरो खास समीक्षा वा विचार हो । म जान्दिनँ, कला समीक्षकहरूले तिम्रा कलामा यही कुरा देख्छन् कि देख्दैनन् ।


मनीष, जब जब म तिम्रा प्रतिनिधि कलाहरूमा घोत्लिन्छु, त्यहाँ कलालाई जोड्ने एक साझा तन्तु भेट्छु— सुपरह्युमन अर्थात् महामानव । पुरुषको रूपमा मात्र नभई नारीको रूपमा पनि । यसले मलाई दुई महत्त्वपूर्ण कुराप्रति संकेत गरेझैँ लाग्छ । एक, तिमी कलामार्फत नारी शक्तिलाई बलियोसँग स्थापित गर्न चाहन्छौ, किनकि तिमी पुरुषसक्ताले कमजोर बनाइदिएको स्त्रीशत्ति बलियो भएको हेर्न चाहन्छौ । यो धेरै महत्त्वपूर्ण कुरा हो कि तिम्रा चित्रहरू लैंगिक असमानताविरुद्ध बोल्छन् । दुई, तिमी कलामार्फत भन्न चाहन्छौ, सामान्य मानव सामाजिक विभेदलाई हटाउन असमर्थ छ । यसका लागि महामानवको नै जरुरी छ । दलन र उत्पीडनका सकससँग जीवनभर जुधिरहेका तिम्रो अवचेतनमा सधैं यो विभेद मेट्न सक्ने सुपरह्युमनको खोजी छ, जुन तिम्रो कलामा जबरजस्त प्रकट भइरहन्छ ।


तिम्रै रोजाइका तिम्रा पाँच कलाकृतिबारे कुरा गरौँ न । तीमध्ये चार कलाकृतिहरू वन हन्ड्रेड एइट्, क्याप्टेन अमेरिका भर्सेस भैरव, सुपर काली र अपसाइड डाउन माउन्टेनमा सुपरह्युमन छन् । यी चित्रहरूले माथिका दुई कुराहरूलाई नै पुष्टि गरेझैँ लाग्छ । बारम्बार हेर्छु र विश्लेषण गर्छु— प्रमुख रूपमा सामाजिक न्याय, विभेद, नारी शक्ति र छुवाछूत विषयमा रङ चलाउने तिमीलाई आम मानिसप्रति साह्रै ठूलो विश्वास लाग्दैन । सामान्य मानिसबाट यावत् विभेदको अन्त्य सम्भव छैन । सायद तिमी मानिसमा विश्वास गर्न खोजिरहेको तर विश्वास गरिहाल्ननसकिरहेको कलाकार हौ । यसको अर्थ सामान्य छैन । यसकारण नै त हो मानिस यथार्थबाट भागेर कल्पनामा रमाउन थाल्ने । किनभने कल्पनामा मानिसका प्रकट मात्रै होइन, दमित र छद्म चाहना पनि पूरा गरिदिने शक्ति छ । चाहे त्यो ईश्वर होस् वा कुनै महामानव ।


मनीष, जबजब तिम्रा कलाहरू हेर्छु, परबाटै ती कलामा दादावादको स्पष्ट प्रभाव देख्छु । तिनले राज्य, कानुन, गीत, संगीत, धर्मजस्ता मानव निर्मित विश्वासहरूप्रति ठूलो विश्वास गर्दैनन् । दलन र वञ्चनाका घातक जेलखानाभित्र थुनिएका तिमीजस्ता संवेदनशील सर्जकले यस्तो अविश्वास गर्नु त्यति अस्वाभाविक लाग्दैन । आम मानिसहरू या त यो कुरूप वर्ण व्यवस्थाको पक्षमा छन् या त्यस रोगबाट समाजलाई मुक्त पार्नुपर्ने कुरामा अत्यन्त उदासीन छन् । मलाई पनि लागिरहन्छ, मानव सभ्यताको गति यदि यही नै हो भने यो रोगबाट छिटो मुक्ति सम्भव छैन । मेरो समस्या त के भने, मलाई अझै पनि मानिसमै विश्वास लाग्छ । ईश्वर मारेपछि नित्सेले झैँ मैले मनमा कुनै महामानव जन्माउन सकेको छैन । तर तिमीले कलामा सुपरह्युमन पोतेको मलाई निकै अर्थपूर्ण लाग्छ ।

म सम्झिरहेछु मनीष, लन्डन जानुअघि गाउँको भेटमा तिमीले मसँग एक महत्त्वाकांक्षी तर सुन्दर प्रस्ताव राखेका थियौ । काली गण्डकीमाथिका दुवै लामालामा झोलुंगेपुलमा राति बल्बहरूद्वारा प्रतिस्थापन कला गर्ने । तल बगिरहेको कालिगण्डकी रातो देखियोस् र पुलहरू बल्बको उज्यालोमा झल्मलाउन् । तिम्रो प्रस्ताव थियो, त्यस कलामाथि म कविता लेखूँ र आरके अदीप्त गिरीले फोटोग्राफी गरून् । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र पर्वत अब नेपालकै सर्वाधिक लामा र गहिरा पुलहरूको जिल्ला पनि भएका छन् । आफ्नो गाउँको यही सुन्दरतालाई कलामार्फत थप सुन्दर देखाउने तिम्रो इच्छाले मलाई मोहित बनाएको थियो । कति सम्भव होला ? थाहा छैन । तिमी लन्डनबाट फर्किएपछि यस विषयमा थप छलफल गर्ने विचारमा छु ।



मनीष
तिमीले मलाई कुनै दिन मेसेन्जरमा लेखेका थियौ, ‘महिनामा बीस दिन बिष्टहरूको खेतमा हलो जोतेर पढेको हुँ । कृष्ण कार्की र सकस जीसी नभएको भए म अझै त्यही ठाउँमा हुन्थेँ ।’ तिम्रो कुरा पढेर म निकै भावुक भएको थिएँ । प्रायः कलाका बारेमा कुरा हुन्थ्यो तर त्यो दिन हामीबीच निकै भावनात्मक कुराकानी भएका थिए । तिमीले थपेका थियौ, ‘सर, काठमाडौंको जाडोमा एकसरो कपडा लगाएर र खाजा मात्र खाएर धेरै दिनहरू कटाएको छु । तर मेरो मनमा सधैँ राम्रो चित्रकार बन्ने सपना थियो । त्यही सपनाले नै मेरो पेट भरेको छ र ब्रस उचाल्ने बल दिएको छ ।’
थप भावुकताले मेरो मनको दह झन् धमिल्याइदिएको थियो । मलाई याद छैन, मैले तिमीलाई लेखेको जवाफ के थियो ? तर याद छ, सुखमा सपना पछ्याउनेहरूले दुःखमा सजिलै सपना बिर्सिदिन्छन्, जसले दुःखमा पनि सपना पछ्याउँछ, उसले कहिल्यै सपना बिर्सनु पर्दैन ।

िसामान्यतः शिष्यहरूले गुरुको बारेमा लेख्ने आम परम्परा छ । आज एक गुरु शिष्यको बारेमा लेख्दैछ । यो शिष्यको सफलता हो । यसलाई गुरु भएकोमा गरिएको दम्भ नठानिदिनू, तिमीले आफूलाई गुरुद्वारा लेखिन योग्य बनाएका छौ । खासमा म त यस्तो अभागी गुरु हुँ, जसले आफ्नो शिष्यसँग गुरुदक्षिणा मागेको छ । चितवनमा भएको पर्खालमा कला अभियानका लागि मैले तिमीसँग यस्तो दक्षिणा माग्नुपरेको साँचो हो । तर उत्तिकै के पनि साँचो हो भने म गुरु द्रोणाचार्य होइन, जसले एकलव्यबाट षडयन्त्रपूर्वक बुढीऔंला मागेका थिए । मैले त तिमीबाट केवल कला मागेको थिएँ, त्यो पनि एक नगरका लागि । तिमीले अमूल्य कलाहरू दियौ, म धन्य छु, सारा नगर धन्य छ । कहिलेकाहीँ सोच्छु, एक शिष्यले दिएको गुरुदक्षिणाबाट प्राप्त हुने सन्तुष्टि र लज्जा दुवै अनुभवबाट गुज्रिएको छु म । अचेल जब कला बहिनी (कला दिदीले पसल छोड्नुभयो ।) को चियापसलमा बसेर ती पर्खालहरू हेर्छु, मलाई सबै प्रिय कलाकारहरू र तिम्रो याद आइदिन्छ । अरू के लेखूँ ? मलाई तिम्रो कलायात्राप्रति गर्व छ । र गर्व छ कि जीवनले मलाई तिम्रो गुरु हुने स्वर्णिम अवसर दियो ।
माया गर्ने गुरु

प्रिय मनीष

प्रकाशित : जेष्ठ ११, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?