म बुक भइसकें !

निबन्ध
वन्दना ढकाल

मेसेन्जर च्याटमा आउने एक जना साथीलाई मैले ठट्टा गर्दै भनेँ, ‘तिमी मसँग धेरै बात नमार है, म पहिल्यै बुक भइसकेँ  । ’ उसले पनि ठट्यौली पारामै उत्तर दियो, ‘ल, त्यसो भने मैले तिमीलाई रि–बुक गरेँ  ।

म बुक भइसकें !

च्याटको सिलसिला त्यत्तिमै टुंगियो । तर, बुक र रि–बुकको संवादपछि यसो गमेर हेरेँ– के म वस्तु हुँ र बुक हुनका लागि ? हुँ भने कसरी र कतिचोटि म बुक भइसकेँ ?


आफैंसँग गम्ने सिलसिलामा आफ्नै शरीरबारे घोत्लिन थाल्छु । मेरा साराका सारा अंगहरू बहुराष्ट्रिय कम्पनीले बुक गरिसकेको पो रहेछ ! हत्तपत्त टाउको छाम्छु, मेरो कपाल कुनै कम्पनीको ‘गुणस्तर तथा नापतौल विभाग’ मा परीक्षण गरिँदै रहेछ । बडो गम्भीर मुद्रामा कपाल–गुणस्तर विभागको प्रमुख भन्छ, ‘तिम्रो कपाल त रद्दी र कहिल्यै लामो नहुने हुँदै गइरहेको छ । तिमीले हाम्रो कम्पनीको स्याम्फु, कन्डिसनर प्रयोग गरेनौँ भने तिम्रो प्रेमीले तिम्रो कपाल नै सुम्सुम्याउन छाड्नेछ । हेर, हेर चायाँ ! उत्पातै रहेछ चायाँ पनि ।’
हँ, के भन्छ यो गुणस्तरे डाक्टर ? ‘महिलाको रूपको सार्थकता कपालमै छ । कपाल नै भएन भने प्रेमीले सुम्सुम्याउने त के, प्रेमी नै लापत्ता हुन बेर लाउँदैन,’ विभागकै अर्को सदस्यले कपालचिन्ता व्यक्त गर्‍यो ।


‘आ... होस्,’ भनेर पाइला अगाडि बढाएँ । कपाल विभागको दैलामै सिन्दूर विभागको बडाहाकिम बाटो छेकेर बसेको रहेछ । मलाई च्याप्प पाखुरामा समातेर मेरो सिउँदोमा कुन कम्पनीको सिन्दूर लगाउँदा मेरा श्रीमान्को जीवनरेखा लामो हुन्छ भनेर प्रवचन दिन थाल्यो अनि सिन्दूरका विभिन्न स्याम्पल देखाउन लाग्यो । सिन्दूरे–हाकिम अर्को स्याम्पल देखाउन टेबुलमुनि के झुकेको थियो, म त्यहाँबाट सुइँकुच्चा ठोकें । बीचैमा जोडले ठोक्किन पुगें, लिपिस्टिक कम्पनी साहुको छातीमा । लिपिस्टिक साहु पानीको कमीले फुट्न थालेको मेरो ओठ हेर्दै चुक्चुकाउन थाल्यो, ‘अहो, यस्तो कलिलो उमेरमै ओठको लाली हराएछ । ओठमा लाली नै हराएपछि तिम्रो प्रेमीले कसरी म्वाई खाला !’ उसले चिन्ता यसरी व्यक्त गर्‍यो, मानौं उसको कम्पनीको लिपिस्टिकबिना म बर्बादै भइसकेँ । उसले लालीका प्रकार विस्तार गर्‍यो– यो प्रेमीलाई भेट्नुअघि, यो प्रेमीलाई भेटिसकेपछि, यो घाममा हिँड्दा, यो न्वारनमा जाँदा, यो हस्पिटल जाँदा, योचाहिँ मलामी जाँदा... । नाना तरहका लिपिस्टिकका प्रकार सुनाइरहँदा मेरो मुखबाट फ्याट्ट निस्क्यो, ‘मेरो त प्रेमीसँग ब्रेकअप भइसक्यो, त्यसकारण लिपिस्टिक लगाउनुको अर्थ छैन ।’ उसले तत्कालै जवाफ दियो, ‘किन नहुनु अर्थ ? ब्रेकअप भएपछि रुँदा लगाउने लिपिस्टिक छ । त्यसले ब्रेकअपको हिक्कहिक्कको ओठको थरथरलाई कति सुन्दर भाव दिन्छ भने कुरै नगरौँ ।’ ऊ ओठको थरथराहटमा चम्किरहेको लिपिस्टिक विज्ञापन कल्पन थाल्यो । म बल्लतल्ल लाली साहुबाट फुत्केर बाहिर निस्कें ।


बाहिर निस्कनासाथ ‘चर्म तथा चर्मधर्म पालन विभाग’ को आँगनमा नराम्ररी पछारिन पुगेँ । विभागका हेडमास्टरले एकचोटि मेरो गालाको छाला ताने, अर्कोचोटि हातको छालाको रङ हेरे र प्रतिक्रिया दिए, ‘ओहो तिमी त काली पो रहिछौ । पक्कै तिम्रा कुनै प्रेमी छैनन् । यस्तो कालो रङले कसरी बिहे होला र ? तिम्रो जिन्दगी यही कालो रङले बर्बाद पार्ने भयो । तर, चिन्ता नगर । मेरो कम्पनीको क्रिम, पाउडर, फेसवास लगायौ भने तिमीलाई हेर्ने र प्रेम प्रस्ताव राख्ने केटाहरूको लाइन लाग्नेछ ।’


मेरो छाला यति बिघ्न ‘कुरूप’ छ ? कालो रङ यस्तो कुरूपताको प्रतीक हो ? म कहालिएँ । अनुहारको छालै कालो भएपछि जिन्दगी नै अँध्यारियो नि ! एउटी केटीमान्छेलाई केटाहरूले हेर्दै हेरेनन्, प्रेम प्रस्ताव राख्ने नै भएनन्, अनि बिहे नै भएन भने त जिन्दगी सखाप ! मेरो छाला फुस्रो, चिल्लो कस्तो छ, त्यसको जाँच गर्न चर्म विभागका अनेक शाखाहरूले दिन तय गरे । मेरो छालालाई जतिसक्दो गोरो बनाउन गोरा–क्रिम–कम्पनीका साहुहरूले पटकपटक मेरो अनुहारझरि क्रिम धसिरहे । अनेक ब्रान्डका त्रिम धसेर प्रयोगमाथि प्रयोग गरेको वर्षदिन पुगिसकेको थियो । एक वर्षसम्म ती ब्रान्ड मालिकहरूले ऐनामा हेर्न बन्देज लगाएका थिए । जब वर्षदिन पुग्यो, उनीहरूले घोषणा गरे, ‘तिम्रो अनुहारमा गोरोपन आइसक्यो । जाऊ अब घर ।’ म त पुलकित भएँ । उनीहरूको सर्त थियो, ‘घरमा पुगेर मात्रै ऐना हेर्नू ।’ म हतारमा घर पुगेँ । आमाका अगाडि फर्‍याकफुरुक गर्न थालेँ । आमाले पुलुक्क मुखतिर हेर्नुभयो र भन्नुभयो, ‘थुतुनोमा जातिबित्ती किरिम धसिचेस्, धोएर आइज !’ मेरो सारा हिँउगोरो उमङ्ग आमाको एक हप्काइमा पखालियो । गोरोपनको पीडाबाट बल्लतल्ल बौरिन थालेकी थिएँ, गोरो बनाउने अनेकखाले क्रिमको मार सहन नसकी मेरो छालाले विद्रोह गर्‍यो । छालामा मसिना बिमिरा उम्रेर चिलाउन थाल्यो । अनुहार यसो छाम्छु त, रूखकटहरको बोक्राजस्तो भइसकेको रहेछ । क्रिम लगाउनुअघि अनुहार अति मुलायम थियो । आत्तिँदै फेरि चर्मरोग विभागमा पुगेँ । उसले आश्वासन दियो, ‘मेरो उपचारले तिमीलाई निको हुन्छ... यो औषधि नियमित लगाऊ, नभए अर्को औषधि फेरौँला ।’ उसले पनि अनुमान र परीक्षणमाथि परीक्षण सुरु गर्‍यो ।


बल्लतल्ल अनुहारबाट ध्यान हट्दै थियो, मेरा स्तन फेसनअनुरूप नभएको छ्वास्स कसैले सुनायो । साथीहरूले मुन्ट्याउँदै कस्मेटिक सर्जरीतिर पुर्‍याए । सर्जरीबाट सातो उड्छ मेरो । त्यसो भए के गर्ने त ? साथीहरूले नै मलाई अन्तर्वस्त्रका विभिन्न कम्पनीहरूमा पुग्ने उपायसहित सान्त्वना दिए । ती कम्पनीसाहुले भने, ‘केही छैन, तिम्रा लागि हामीले सिलिकन फम उत्पादन गरेका छौँ ।’ उफ् ! उफ् ! कताकता के–के मिलाऊँ अब मैले ? त्यसपछि त भटाभट मेरा उद्धारकहरूले मलाई घेरा हाल्न थाले । मलाई ओल्टाइपल्टाइ गरेर उनीहरुले घोषणा गरे :
‘पेट र पिडुँलामा धर्का छन् । धर्काहरण क्रिम लगाऊ, नत्र छोटा लुगा लगाउन मिल्दैन । शरीरभरि रौँ छन् । सुन्दर महिलामा रौँ हुनु शोभा हुँदैन, त्यसकारण त्यसलाई उखेल, खुर्कने क्रिम वा रेजर लगाऊ । नङको रङ राम्रो छैन । बारअनुसार नङपालिस नछुटाई लगाऊ । कद होचो छ । सदासर्वदा हाइहिल जुत्ता लगाऊ । उस्तै परे बेडरुमसम्म पनि हाइहिलमै पुग ।’


मुक्तिदाता र उद्धारकहरूको रुचि मेरो पाठेघरमा पनि उत्तिकै रहेछ । सयौँ परिवार नियोजन साधनका कम्पनी, विभिन्न परीक्षण विभाग एवम् निजी हस्पिटल पनि मेरो पाठेघर बुक गर्न लर्को लागिरहेका रहेछन् । अनेक नामका सुई, चक्की, धातुका जन्तर आदि गर्भनिरोधक भनिएका रासायनिक पदार्थको परीक्षण गर्न उनीहरू जम्जमाएर बसेका रहेछन् । अघिल्लो पंक्तिमा २४ घण्टे गर्भनिरोधक पिल्सको साहु हातैमा चक्की लिएर बसेको रहेछ । भन्दै छ, ‘यो खाऊ, अनि निर्धक्क होऊ ।’ परिवार नियोजनका साधनका व्यापारी कराइरहेका छन्, ‘यता आऊ, हाम्रा उत्पादन प्रयोग गर, बिन्दास होऊ ।’ मानौँ एक चक्कीमा वा एउटा सुइमै छ— सम्पूर्ण समस्याको समाधान ।’


अकस्मात मेरो तल्लो पेट दुखेर खुनका धारा बग्न थाल्यो । हतारहतार दौडिएँ– महिलासम्बन्धी रोगको डाक्टरकहाँ । डाक्टरले प्रमाणित गरिदियो, ‘आकस्मिक र आवधिक गर्भनिरोधका साधनको लगातार प्रयोगले तिम्रो पाठेघर कामै नलाग्ने भइसकेको छ । भविष्यमा तिमी बच्चा जन्माउन सक्दिनौँ ।’ म कहालिएँ– बच्चा नभएकी आइमाई हुनु बेकार छ । एउटी महिला आमा नभई पूर्ण हुन सक्दिनँ भनेर हाम्रा सामाजिक र धार्मिक शास्त्रहरूले भनेका छन् । त्यसमा अझ पारिवारिक शास्त्र झनै कडा छ । मेरो बिग्रेको मुखाकृति देखेर डाक्टरले सान्त्वना दियो, ‘चिन्ता नगर हरेक समस्याको समाधान हुन्छ तर मैले भनेअनुसार गर्नुपर्छ । त्यसकारण तिमी जाऊ, निःसन्तान विभागमा । दुई–चार वर्ष उपचार गरेपछि होला, नभए भगवान्ले हात थापिहाल्नुहुन्छ नि ।’ उपचार र भगवान् दुवैको भरोसा दिलाएपछि कसो नहोला र बच्चा ?


यसो सोचिल्याउँछु, हैन यो आइमाईको शरीर सबैका लागि काम लाग्ने हो कि कसैका लागि पनि काम नलाग्ने हो ? सबै यसैलाई बुक गर्न खोज्छन्, हरेक अंगमाथि आधिपत्य जमाउन खोज्छन् । सबै यसैबाट नाफा बटुल्न खोज्छन् । राष्ट्रियदेखि बहुराष्ट्रिय कम्पनीसम्म, सरकारी नीतिदेखि निजी दृष्टिसम्म महिलाकै जीउमा अधिकार जमाउन खोज्छन् । अनि एकपछि अर्को व्यापारी बुक, रि–बुक, प्रि–बुक, पोस्ट–बुक, सेड्युल बुक गर्न आइरहन्छन् । परीक्षण र प्रयोगका लागि महिलाको शरीरजत्तिकै उर्वरभूमि अरू कुनै छ ? छालाको रङ, आँखा र ओठ, शरीरको कदकाठी सबै तोकिएको मापदण्डजस्तो भएन भने महिलाको जीवन के जीवन ? अझ एक झलकमै पुरुषको नजर हरण गर्न सकिएन भने त्यस्तो महिलाको जीवन झन् के जीवन !


आमाको पेटभित्रैबाट मेरा शरीरका सारा अंगप्रत्यंग अनेकपटक अनेक–अनेकले बुक गरिसके । च्याट वा इमेलबाट बुकिङ गर्न चाहने मित्र माफ गर, अब तिमीलाई फेरि बुक गर्ने छुट छैन । मेरो शरीरमाथिका सम्पूर्ण बुकिङ म रद्द गर्न चाहन्छु । र, अब म जिन्दगीलाई एक पटक अनबुक गर्न चाहन्छु ।

वन्दना ढकाल

प्रकाशित : जेष्ठ ११, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?