कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रविधिको फाइदा कसलाई ?

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो वर्ष इन्टरनेटको भविष्य, समाज र वरपरको विषयबारे छलफलको शृंखला सुरु गरेका छन्  । यसको सुरुआत उनले अप्रिल २७ मा इजरायली इतिहासकार एवं चर्चित पुस्तक 'स्यापियन्स’का लेखक युभल नोहा हरारीबाट गरे  । फेसबुक र युट्युबमा प्रसारण भएको यो वार्ताको सम्पादित अंश :

प्रविधिको फाइदा कसलाई ?

जुकरबर्ग : धेरै इतिहासकारहरूले बढीजसो बितेका घटनाको विश्लेषण गर्छन् । तर, तपाईंले गर्नुभएका धेरै कुरा रुचिकर छन् र भविष्यका विषयमा महत्त्वपूर्ण प्रश्न पनि गरेका छन् । तपाईंसँग कुरा गर्न पाउँदा म खुसी छु ।

हरारी : म पनि खुसी छु । मलाई लाग्छ इतिहासकार र दार्शनिकले वर्तमान प्रविधि र मानवताको भविष्यको विषयमा छलफल गरेनन् भने हाम्रो जिम्मेवारी पूरा हुँदैन । इतिहासमा भएका घटनाको कुरा गरेर मात्र हुन्न, पहिलाका मानिसहरू बितिसके । उनीहरूलाई हामीले गर्ने कुरामा कुनै चासो हुन्न । चासो भनेको भविष्यको विषयमा हो ।

जुकरबर्ग : तपाईंले धेरै प्रश्न उठाउनुभएको छ । कहाँबाट सुरु गरौं ? तपाईंले उठाउनुभएको एक प्रश्न के भने । हामीले निर्माण गरेको प्रविधिबाट मानिसहरू एकजुट भएका छन् कि विभाजित भएका छन् भन्ने दुविधा पनि हो । तपाईंलाई यसमा के लाग्छ ? हामी छलफलका धेरै समय यसमा बिताउँछौं होला ।

हरारी : यदि तपाईंले इतिहासको लामो समयलाई हेर्नुभयो भने मानिसहरू धेरैभन्दा धेरै जोडिएको पाउनुहुन्छ । धेरै वर्षअघिसम्म पृथ्वी आफैंमा फरक–फरक ब्रह्माण्डजस्तो थियो । एक जातिका मानिसको अर्कोसँग सम्पर्क थिएन । बिस्तारै मानिसहरू नजिक आए र एकजुट भए । आजको दिनमा हेर्ने हो भने सारा पृथ्वी नै एक आर्थिक र सांस्कृतिक एकाइ हो । तर, कनेक्टिभिटीको अर्थ सौहार्दता भन्ने हुन्न । बढी झगडा गर्ने व्यक्ति हाम्रो परिवारका सदस्य, आफन्त, साथीभाइ र छिमेकी नै हुन्छन् । हामी मानिसलाई जोड्ने विषयमा मात्रै कुरा गरिरहेको छौं कि उनीहरूबीच सौहार्द सम्बन्ध स्थापित गर्ने विषयमा गरिरहेको छौं भन्ने प्रश्नमा यो निर्भर रहन्छ ।

मानिसलाई जोड्ने कुराले धेरै द्वन्द्वतिर लैजान सक्छ । आजको विश्व हेर्नुभयो भने पर्खाल लगाउने कुराले बढी चर्चा पाइरहेको छ । अहिले इन्टरनेट र सामाजिक सञ्जालले जोडिएको जमानामा ढुंगाको पर्खालले तोड्ने चर्चा भइरहेको छ । मानिसहरू प्रविधिका कारण जोडिएका छन् धेरै पर्खाल पनि यही बेलामा बनिरहेका छन् ।

जुकरबर्ग : तपाईंले भनेजस्तै मानिसहरू जोडिएका त छन् तर विभाजित पनि उत्तिकै छन् । मलाई लाग्छ हामी ठूला अवसर र चुनौतीहरू सम्बोधन गर्न २१ औं शताब्दीमा उपस्थित छौं । जब म सानो थिएँ मलाई लाग्थ्यो, इन्टरनेटले मानिसलाई आफूजस्तै विचार र मान्यता भएका मानिससँग जोडिन मद्दत गर्छ । इन्टरनेटअघि मानिसहरू भौतिक अवस्थाका कारणले मात्र जोडिएका हुन्थे ।

म १० हजार जनसंख्या भएको एक सहरमा हुर्किएँ । जहाँ विभिन्न क्रियाकलाप गर्न धेरै क्लबहरू थिए । म पनि अरूजस्तै विभिन्न खेल खेल्दै हुर्किएँ । तर मलाई लाग्थ्यो म बास्केटबल र बेसबल खेल्न होइन, मेरो रुचि प्रोग्रामिङमा थियो । मेरो सहरमा मजस्ता रुचि भएका कोही थिएनन् ।

बोर्डिङ स्कुल र कलेज नपुगेसम्म मैले मजस्ता रुचि भएका साथी भेटिनँ । अहिले इन्टरनेटका कारण त्यस्तो अवस्था छैन । अहिले आफूसँगै रुचि मिल्ने फरक समुदायका र संस्कृतिका मानिस भेटिन्छन् । यो कुरा मलाई जोडदार लाग्छ । आज भए म अरूसँग खेल्ने थिइनँ होला । मलाई के लाग्छ भने, विभाजित हुनु र आफूले चाहेको कुरा खोज्नु एकै सिक्काका दुई पाटा हुन् ।

हरारी : सामाजिक पक्षबाट भन्दा अनलाइनमा समुदाय पनि एकदमै राम्रा छन् । तर, उनीहरू अहिले नै भौतिक समुदायलाई विस्थापित गर्ने सामर्थ्य राख्दैनन् । अहिले पनि धेरै त्यस्ता काम छन् जो तपाईं आफैं उपस्थित भएर गर्नुपर्ने हुन्छ । यो विषयमा फाइदा र बेफाइदाका विषयमा धेरै प्रश्न छन् । अनलाइनमा मानिसलाई आफूलाई मन नलागेका विषय पन्छाउने सुविधा हुन्छ तर अफलाइन समुदायमा यो हुन्न । तपाईं मन नपरे कसैलाई फेसबुकमा अनफ्रेन्ड गर्न सक्नुहुन्छ तर वास्तविक जीवनमा आफ्नो छिमेकी फेर्न सक्नु हुन्न । सक्नेले ठाउँ छाडेर जालान् तर सबैको हकमा यस्तो सुविधा हुन्न । त्यसैले परम्परागत समुदायमा तपाईंले आफूलाई मन नपर्ने व्यक्तिसँग पनि सँगै बस्न सिक्नुहुन्छ ।

जुकरबर्ग : अनलाइन समुदायले भौतिक समुदायलाई विस्थापित गर्छ भन्न त म सक्दिनँ । भौतिक रूपमा मानिस एकीकृत बन्नु महत्त्वपूर्ण छ ।

हरारी : व्यावहारिक प्रश्न भनेको फेसबुकजस्ता सेवाप्रदायकको लक्ष्य के हो भन्ने पनि हो । हामी अनलाइनको स्क्रिन छाडेर साँच्चिकै फुटबल खेल्न जाने वा फोहोर टिप्न एकजुट बन्ने समुदाय बनाउन चाहन्छौं कि जतिसक्दो धेरै स्क्रिनमा बसिरहने समुदाय बनाउन चाहन्छौं ? यही नै मुख्य प्रश्न हो ।

जुकरबर्ग : हो तपाईंले भन्नुभएको कुरा सही हो । अर्थपूर्ण सामाजिक अन्तर्क्रिया होस् भनेर हामीले हाम्रो प्रणालीमा धेरै सुधार गरेका छौं । अर्को महत्त्वपूर्ण कुरा, अहिले मानिस विश्वको जुनसुकै कुनामा जान सक्छ र त्यहाँ घुलमिल हुन सक्छन्, जुन कुरा धेरै अगाडिसम्म सम्भव थिएन । तपाईंको विचारमा, संसारभरका मानिसका लागि एउटै नियम र मूल्य मान्यता भएको र सबैका लागि समान हुने कुनै प्रारूप तयार पार्न सम्भव छ ? यसको सकारात्मक र नकारात्मक पक्ष के हुन सक्छ ?


हरारी : सबै मानिसले जोडिन सक्ने सामाजिक वातावरणले फाइदा गर्छ भन्नेमा कुनै शंका छैन । तर, संसारमा धेरै समस्या छन् जसको समाधानका लागि विश्वव्यापी साझेदारी आवश्यक पर्छ । नयाँ प्रविधिले कसरी तनाव सिर्जना गर्छ भन्ने विषयमा कुरा गर्दा एआई (आर्टिफिसियल इन्टलिजेन्स) जस्ता प्रविधिको नियमनका लागि छुट्टै संयन्त्र चाहिन्छ । विशेषगरी, सशस्त्र काम गर्न सक्ने एआई, किलर रोबोटजस्ता विषयमा ध्यान दिनुपर्छ । विश्वव्यापी सहकार्यबिना यो सम्भव छैन किनकि हरेक देशले मैले कसैलाई मार्न बनाएको होइन तर मेरो प्रतिस्पर्धीले मात्रै बनाउँदा असुरक्षित भइन्छ भनेर बनाएको जवाफ दिन सक्छन् ।


जस्तै एआईका कारण भविष्यमा हुने रोजगारीको असुरक्षाको विषयमा पनि चिन्ता गर्नु आवश्यक छ । भविष्यमा नयाँ रोजगारी त सिर्जना होला तर के सबैले त्यसको अवसर पाउँछ ? एआईका कारण कुनै एउटा क्षेत्रमा मात्रै पैसा थुप्रिने र अर्को क्षेत्र टाट पल्टिने पो हो कि ? क्यालिफोर्नियाका इन्जिनियरका लागि त प्रशस्त काम होला तर होन्डुरस र मेक्सिकोका ट्रकचालक र टेक्स्टायल कामदाको जागिर खोसिने पो हो कि ? एआईले दिन सक्ने झट्काको विषयमा सबै मानिसलाई तयार नपार्ने हो, एआईजस्ता प्रविधिले दिने फाइदाको बारेमा सबैले लाभ लिन सक्ने अवसर तयार नपार्ने हो भने हामी आर्थिक हिसाबले सबैभन्दा बढी असन्तुलित अवस्था तयार पारिरहेका हुनेछौं, जुन यसअघि कहिल्यै थिएन ।

जुकरबर्ग : पहिला फेसबुकको उद्देश्य मानिसलाई जोड्ने मात्र थियो । अहिले भने फेसबुकको उद्देश्य मानिसलाई जोड्ने मात्रै होइन कि धेरैभन्दा धेरै मानिसलाई आफूजस्तै वा आफ्नो रुचि भएको समुदाय निर्माण गर्न सघाउनेमा केन्द्रित छ । मानिसलाई स्थानीय स्तरमै काम लाग्ने गरी समस्या समाधान गर्नु महत्त्वपूर्ण हुन्छ ।


हरारी : अमेरिकाको र मिडवेस्ट अनि मेक्सिको, दक्षिण अमेरिका वा अफ्रिकाका लागि उपयुक्त हुने गरी तपाईंले कसरी सन्तुलित पार्नुहुन्छ ? मलाई लागेको असन्तुलत के हो भने जब मध्यअमेरिकाका मानिसलाई रिस उठ्छ तब सबैले ध्यान दिन्छन् किनकि उनीहरूसँग शक्ति छ । मेक्सिको वा जाम्बियाका मानिसलाई रिस उठ्यो भने उनीहरूलाई कम ध्यान दिइन्छ किनकि उनीहरूसँग शक्ति कम छ । उनीहरूको पीडालाई मैले कम आँक्न खोजेको होइन, त्यो वास्तविक पीडा हो ।

विश्वमा भएको शक्ति असन्तुलनका कारण कुनै एक ठाउँको मानिसको पीडा अर्को ठाउँको पीडाभन्दा बढी महत्त्वपूर्ण मानिन्छ ।मैले के पनि याद गरेको छु भने केही मानिसलाई अतिवादी समूहमा लाग्न प्रेरित गरेको विषयमा फेसबुकको आलोचना पनि भइरहेको छ । यो ठूलो समस्या हो तर यो नै मुख्य समस्या होजस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने फेसबुक मात्रै इन्टरनेट र प्रविधि अर्थतन्त्र विश्वका विभिन्न भागबीच असमानता बढाउने दिशामा गइरहेको छ । यो कुनै अतिवादी समूहको कारण उत्पन्न भएको समस्या होइन बरु केही निश्चित आर्थिक र राजनीतिक मोडलका कारण आइपरेको समस्या हो ।


औद्योगिक क्रान्तिको बेला उद्योगको स्थापनामा अघि रहेका र पछि परेका देशहरूबीचको असन्तुलन पुर्न हामीलाई यत्रो वर्ष लाग्यो । बल्ल अहिले यो खाडल लगभग पुरिएको जस्तो भएको छ । मलाई लाग्ने अर्को चिन्ताको विषयचाहिँ एआईको विकासमा केही देशले बढी लाभ लिन्छन् जसका कारण अन्य देशहरूसँग उनीहरूको अन्तर ठूलो भइरहन्छ भन्ने हो । सबभन्दा महत्त्वपूर्ण पक्ष असन्तुलन, एआई र मानवीय मूल्यको हो । भोलि एआईसँग प्रशस्त डाटा भएर मानिसको रोजाइ उसको विकल्पमा निर्भर हुने अवस्था आयो भने मानवीय मूल्यको के अर्थ रहन्छ भन्ने पनि हो ।

जुकरबर्ग : कसले एआई बनाइरहेको छ ? उसले किन बनायो भन्ने विषय पनि महत्त्वपूर्ण छ । प्रविधिमा एआईको महत्त्व छ । तपार्ईंले उठाउनुभएको धेरै प्रश्नमा मेरो सहमति छ । अहिलेका धेरै प्रविधिमा अमेरिकालाई बढी सुविधा छ । यहाँ स्थापना भएका कम्पनीले पक्कै पनि यहाँका मूल्यमान्यता बोकेका हुन्छन् । महत्त्वपूर्ण पक्ष के हो भने यस्ता कम्पनीबाट लाभ पाउन अन्य देशले पनि यहाँको जस्तै खुलापन अँगाल्नुपर्छ । मैले युरोपको जीडीपीआरजस्तै खालका गोपनीयतासम्बन्धी नीति संसारभर हुनुपर्छ भन्दा मानिसहरू अचम्ममा परे । किन आफैं नियमन गर्ने कानुन माग गरेको भन्ने विषयहरू उठे । मलाई के लाग्छ भने यस्तो नीति नबन्दा हरेक देशमा फकर फरक खालको कानुनी प्रारूप निर्माण भएको छ जसले गर्दा प्रविधिको पहुँचलाई सन्तुलित रूपमा वितरण गर्न गाह्रो पर्छ । समान कानुन नबन्दा कुनै निरंकुश देशले आफ्नो सेनाको वा सरकारको जहिल्यै पहुँच हुने गरी डाटा सेन्टर आफ्नै देशमा राख्नुपर्ने माग गर्न सक्छन् ।


हरारी : एक छिनका लागि डेभिल्स एड्भोकेट बनेर सोच्दा, अमेरिकी राष्ट्रपतिले अमेरिका फस्ट, मलाई अरू देशको मतलब छैन, अमेरिकाको मात्रै मतलब छ भन्दा भारत (उदाहरणका लागि) जस्ता देशले मेरो प्रयोगकर्ताका लागि मेरै देशमा डाटा सेन्टर राखभन्दा तपाईंलाई केको आपत्ति ? अमेरिकाले आफ्नो देशको स्वार्थलाई प्राथमिकता दिँदा अरू देशले चाहिँ किन नमिल्ने ?

जुकरबर्ग : तपाईंले सान्दर्भिक कुरा भन्नुभयो । भारत खुला समाज हो भन्ने म मान्छु तर यहाँ कुरा प्रक्रियाको होइन नियतको हो । भोलि हामीले हरेक देशले भनेबमोजिम डाटा सेन्टर राख्ने हो भने निरंकुश शासन भएका देशले पनि त्यस्तै खालका माग राख्छन् । उनीहरू त्यस्ता डाटा आफ्नो जनताको सुरक्षाका लागि नभई उनीहरूलाई निगरानीका लागि प्रयोग गर्न सक्छन् ।


हरारी : फेरि यो प्रश्न अमेरिकालाई अरूले विश्वास गर्छन् कि गर्दैन भन्नेमा आएर अड्किन्छ । एक दुई दशकअघिसम्म पनि अमेरिकाले आफूलाई खुलापनमा विश्वको अगुवा भन्थ्यो । उसले आफूलाई प्रजातन्त्र, स्वतन्त्रता र खुलापनको हिमायती भन्दै आएको थियो । अहिले अमेरिकाले आफूलाई फरक रूपमा प्रस्तुत गरिरहेको छ । उसले मलाई त्यो भूमिका चाहिंदैन, म अरूको मतलब गर्दिनँ भनिरहेको छ । यस्तो बेलामा अमेरिकालाई चाहिँ किन विश्वास गर्ने ?

जुकरबर्ग : यो अलि फरकखालको प्रश्न भयो । मैले भन्न खोजेको चाहिँ, अरू विकल्पभन्दा सबै देशले युरोपको जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) जस्ता कानुन बनाउन भन्ने हो । यो अन्य विकल्पभन्दा उत्तम छ । जीडीपीआर युरोपमा सुरु भएको अमेरिकी अन्वेषण हो ।
अनुवाद : विजय तिमल्सिना

प्रकाशित : जेष्ठ ११, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?