३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रेकर्ड ब्रेकर

पृथ्वीकै अग्लो चुचुरो सगरमाथा आरोहण गर्न यतिबेला सयौं आरोही उत्तर र दक्षिणतर्फ रहेका दुई मूलका आधार शिविरमा छन्  । यसै भीडमा रहेकामध्ये सगरमाथा फेदीको थामेगाउँका ४९ वर्षीय भेट्रान आरोही कामिरिता शेर्पा फेरि यस पटक विश्वभर चर्चाको चुलीमा छन्  ।

रेकर्ड ब्रेकर

कारण, यो ग्रहमा भएको सबैभन्दा अग्लो चुचुरोमा आफ्नै २२ औं पटक पाइला राखेको रेकर्ड ब्रेक गरेकाले । बिहीबार बिहान यो सामग्री बनाउँदै गर्दा उनी भर्खरै आधार शिविरमा ओर्लिएका थिए । बुधबार बिहान ७ः५० मा मात्रै उनी चुचुरोमा २३ औं पटक पुग्न सफल भएका थिए । उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्सले फेरि उनलाई २४ औं पटकका लागि सगरमाथा आरोहण गराउने तयारी गरिरहेको थियो । एक पटक तिब्बततर्फको उत्तरी मोहोडाबाट सगरमाथा चुचुरोमा पुगेका कामिरिताले २२ पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन् ।


कामिरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने सोलुखुम्बुको थामेकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र निमानुरु शेर्पा छन् । उनीहरू सबैले २१ पटक चुचुरामा पाइला राखिसकेका छन् । सेभन समिटका अनुसार, यीमध्ये आप्पाले आरोहणमा विराम लगाइसकेका छन् भने निमानुरु कामीलाई उछिन्ने दौडमै छन् । निमानुरु यस पटक सगरमाथा आधार शिविरमै छन् । सेभेन समिटका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनी २२ औं पटकको तयारीमा छन् । यी आरोहीपछि अरू थप ४ जना आरोहीहरू १९ औं र १७ औं पटक सगरमाथा पुगेको रेकर्ड बनाएका छन् ।


२४ वर्षको उमेर छँदा २०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका कामिरिताले २५ पटक आरोहण गरेर मात्रै विश्राम लिने भनेका छन । सगरमाथामा २३ पटक आरोहण गरेका कामिरिताले खुम्बु क्षेत्रमा रहेको संसारको छैटौं अग्लो हिमाल चोयु (८१८८ मिटर) ८ पटक, आठौं अग्लो हिमाल मनास्लु (८१६३ मिटर) दुई पटक, चीन र पाकिस्तानको सीमामा पर्ने दोस्रो अग्लो हिमाल केटू (८६११ मिटर) एक पटक र ल्होत्से (८५१६ मिटर) एक पटक गरी ८ हजार मिटर अग्ला ५ वटा हिमाल ३५ पटक आरोहण गरेका छन् । यो उनको अर्को कीर्तिमानी हो ।


१२ वर्षकै उमेरमा भारियाका रूपमा आरोहण क्षेत्रमा प्रवेश गरेका कामिरिता सेभेन समिटमा आबद्ध हुनुअघि अमेरिकी कम्पनी अल्पाइन एसेन्टमा काम गर्थे । हाल उनी सेभेन समिटमा सिनियर क्लाइम्बिङ गाइडका रूपमा कार्यरत छन् । उनको आफ्नो कम्पनी छैन । सेभेन समिटले उनलाई वार्षिक ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । यो रकम सम्झौताअनुसार, उनले एक सिजनमा एक पटक सगरमाथा र एक पटक मनास्लु हिमाल आरोहण गर्नुपर्छ । सम्झौता गरिएको रकममध्ये सगरमाथा आरोहण गरेबापत २० हजार डलर (२२ लाख हाराहारी) र बाँकी १० हजार (११ लाख हाराहारी रुपैयाँ) मनास्लु हिमाल अरोहण गरेबापत उनले लिने गरेका छन् ।


दुई याम हिमाल आरोहण सकेपछि कामिरिता प्रायः काठमाडौं चाबहिलमा रहेको डेरामै समय बिताउँछन् । पत्नी, छोरा र छोरीसहित बसोबास गरिरहेका उनलाई अमेरिकालगायतका विकसित मुलुक भासिन मन छैन । एजेन्सीका अनुसार, ६६ वर्षअघि एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले नेपालतर्फबाट पहिलो आरोहण गरेयता सगरमाथा आरोहण गर्न कम्तीमा २० हजारले प्रयास गरिसकेका छन् । यीमध्ये करिब ७ हजार आरोही मात्रै सफल भएका छन् भने २ सय ९२ सय हाराहारीले आरोहणका क्रममा त्यस क्षेत्रमा ज्यान गुमाएका छन् । यिनमा सबैभन्दा धेरै १ सय ११ नेपालीले ज्यान गुमाएका छन् ।


आरोहीहरूका अनुसार, वर्षमा चार सिजन खुला हुने सगरमाथामा वसन्तकालीन समयमा जेठको एक हप्ता मात्रै आरोहणका लागि अनुकूल वातावरण हुन्छ । यस सिजनमा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न ८ सय ५१ विदेशीसहित नेपालीले अनुमति लिएका छन् । उनीहरूले सगरमाथासहितका ३० वटा हिमाल आरोहण गर्दै छन् । सगरमाथाका लागि मात्रै ३ सय ८९ आरोहीले अनुमति लिएका छन् । वसान्तकालीन हिमाल आरोहण सिजनमध्ये फागुनबाट सुरु भई जेठमा टुंगिन्छ ।
– सुरज कुँवर

प्रकाशित : जेष्ठ ४, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?