१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरिएको कतार

२०२२ को विश्वकप आयोजना अधिकार पाएपछि कतारले तल्लो तहदेखि नै फुटबल संस्कार विकासका लागि धेरै योजना कार्यान्वयन गरेको छ । त्यसमध्येको एक हो, कम्युनिटी कप ।
कुशल तिमल्सिना

सन् २००६, एसियाली खेलकुद  । फुटबलको फाइनल खेल राजधानी दोहाको केन्द्रमै रहेको अल साद अन्तर्राष्ट्रिय रंगशालामा घरेलु टोली र जोर्डनबीच भइरहेको थियो  ।

फेरिएको कतार

रंगशाला दर्शकले भरिभराउ भएपछि प्रशासनले टिकट काटेर फुटबल हेरिरहेका आप्रवासी कामदारलाई रंगशालाबाट गलहत्याएर निकाल्यो । तीमध्ये एक थिए, नेपाली आप्रवासी कामदार सञ्जीव रानाभाट । फुटबल समर्थकमाथिको निर्मम प्रहार थियो त्यो । खेलकुद संस्कार नभएकाले मात्र त्यस्तो गर्न सक्छन् ।


१० वर्षपछि, सन् २०१६ मा सञ्जीवसहितको आप्रवासी कामदारको नेपाली टोलीले त्यही रंगशालामा कम्युनिटी कप फुटबल प्रतियोगिताको फाइनल खेल्यो, भारतविरुद्ध । फुटबल र फुटबल समर्थकप्रति कतार सरकारको यू–टर्न नै थियो त्यो । यो कसरी सम्भव भयो ? कारण, कतारले ३ वर्षपछि फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप आयोजना गर्दै छ । देशको पूरा जनसंख्याभन्दा धेरै गुणा बढी आप्रवासी कामदारले भरिएको सम्पन्न मुलुक कतारले फुटबल संस्कारको विकास यिनै कामदारबाट सुरु गरेको हो ।


कम्युनिटी फुटबल प्रतियोगिताका लागि सम्पूर्ण सहयोग कतार फुटबल संघ (क्यूएफए) ले गर्छ । प्रशिक्षणस्थल, मुख्य खेलस्थल, फुटबल, रेफ्री र आर्थिक सहयोगसमेत उपलब्ध हुन्छ । कतारले ठूलो महत्त्वका साथ देशमा फुटबल गतिविधिलाई प्रश्रय दिइरहेको छ । सन् २०१३/१४ देखि हरेक वर्ष कम्युनिटी कप फुटबलको आयोजना भइरहेको छ र नेपाली फुटबल टिम कतार त्यस प्रतियोगिताको मुख्य टोली हो, त्यसकै अध्यक्ष हुन्, सञ्जीव रानाभाट । ‘घोक्र्याएर निकालेको १० वर्षपछि कतार सरकारकै सहयोग र आमन्त्रणमा हामीले त्यही रंगशालामा गएर फुटबल खेल्न पाउनु भनेको सम्पूर्ण आप्रवासीहरूलाई कतारले गर्ने व्यवहार र हेर्ने नजर फेरिएको प्रतीकात्मक रूप हो,’ सञ्जीवले भने ।


फुटबल संस्कार कम भएको देश हो कतार । फुटबल मात्र होइन, कुनै पनि खेलकुदमा कतारीहरूको संलग्नता कम देखिन्छ । एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामको सक्रियतामा सन् २०१० मा कतारले २०२२ को विश्वकप आयोजना अधिकार पाएपछि कतारले ग्रासरुटदेखि नै फुटबल संस्कार विकासका लागि धेरै योजना कार्यान्वयन गरेको छ । त्यसमध्येको एक हो, कम्युनिटी कप । ‘कतारमा मात्र होइन मध्यपूर्वमै रंगशालामा पुगेर फुटबल हेर्ने संस्कार कम छ, यसका केही कारण छन्, कतारको जनसंख्या कम छ र भएका पनि अध्ययन तथा उद्यमको सिलसिलामा युरोप अमेरिकामा छन् । यहाँ महिलाहरू सार्वजनिक समारोहमा जाने चलन छैन,’ अध्यक्ष सञ्जीवले भने, ‘ग्रासरुटदेखि नै फुटबलको सञ्चार गर्नका लागि उपयुक्त माध्यमको रूपमा उनीहरूले आप्रवासी कामदारको समुदायलाई रोजे र सेमिप्रोफेसनल फुटबल गतिविधि सञ्चालन गरे ।’


अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता वा खेल भएका समयमा फुटबल संस्कार देखाउन दर्शक किनेर रंगशाला भर्ने गरेको आरोप कतारमाथि लाग्ने गरेको छ । गत चैत पहिलो साता एएफसी यू–२३ च्याम्पियनसिप छनोटको रिपोर्टिङका लागि कतार पुग्दा हामीले यस आरोपमा आंशिक सत्यता पायौं । नेपाली फुटबल टिम कतारका अध्यक्षले कतारले दर्शक किनेको नभई सुविधा दिएको दाबी गरे । ‘विरुद्ध कतारीहरू कतारमै कम छन्, यस्तोमा कतारमा रहेका आप्रवासी नागरिकलाई सवारी र खानाको सुविधा दिएर रंगशालामा फुटबल हेर्ने व्यवस्था सरकारले गरेको हो, यो फुटबलप्रेमीहरूका लागि सुविधा हो, न कि उनीहरूको खरिद,’ उनले भने ।


विश्वकपका लागि कतारले पूर्वाधार विकासमा पनि धेरै लगानी गरेको छ । सडक चौडा पारिएको छ, दोहा सहरभित्रका सबै रंगशालामा पहुँच हुने गरी भूमिगत मेट्रो मार्गको निर्माण जोडतोडले चलिरहेको छ । मुख्य रंगशालालाई अत्याधुनिक बनाइएको छ, तारे होटलका संख्या बढाइएको छ । समग्रमा भन्दा कतार सरकारले विश्वकपलाई नै केन्द्रमा राखेर नीति र योजना कार्यान्वयन गरिरहेको छ । यसले नेपाललगायत विदेशी नागरिकलाई रोजगारी दिएको छ । वैदेशिक रोजगारीका लागि ५ लाख नेपाली कतारमा छन् ।
कतारले विश्वकप आयोजनाको अधिकार पाइसकेपछि गर्मीलाई मुख्य चुनौती मानेर धेरै प्रचारप्रसार गरियो । फिफाले विश्वकपको नियमित आयोजना मिति सारेरै जाडो महिनामा गर्ने निर्णय गरेपछि कतार विश्वकपमा गर्मीको समस्या रहेन । जुन–जुलाईमा आयोजना हुँदै आएको विश्वकप डिसेम्बरमा गर्ने निर्णय गरिएको छ ।


हालै सम्पन्न एसिया कप फुटबलमा महारथी टोली जापानलाई हराउँदै कतारले उपाधि जित्यो । १२ वर्षअघि स्थापना गरिएको त्यहाँको राष्ट्रिय फुटबल एकेडेमी एस्पायरका उत्पादनले कतारलाई एसिया कपको उपाधि हकदार बनाए । यो ऐतिहासिक जितले पनि कतारको फुटबल संस्कारको विकासमा कोसेढुंगाको काम गरेको छ । यसअघि विश्वकपमै सहभागी नभई विश्वकपको आयोजना गर्ने पहिलो देश बन्ने अभियानमा छ, कतार ।


विश्वकपका लागि कतारले ८ देखि १२ वटा रंगशाला तयार गरिरहेको छ । ८० हजार दर्शक क्षमताको निर्माणाधीन लुसाइल रंगशालामा उद्घाटन र समापन खेल हुनेछ । यो रंगशाला २०२१ सम्ममा निर्माण सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ । अहिले फिफा अध्यक्ष जियानी इन्फान्तिन्हो २०२२ कै विश्वकपमा सहभागी देशको संख्या ३२ बाट ४८ बनाउन लागिपरेका छन् । अध्यक्ष इन्फान्तिन्होको यो लक्ष्य पूरा भयो भने फिफाले कतारका छिमेकी यूएई, साउदी अरब, बहराइन र कुवेतमा पनि विश्वकप विस्तार गर्न सक्नेछ ।

नेपाली फुटबल टिम कतार
कतारमा राष्ट्रिय स्तरमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका फुटबल लिग हुन्छन् । युनिभर्सिटी कपको पनि हुने गरेको छ । युरोप, अफ्रिकाका आप्रवासी कामदारहरूको पनि छुट्टाछुट्टै फुटबल प्रतियोगिता हुन्छ । रोजगारदाता कम्पनीबीचको वर्कर्स कप पनि हुन्छ । एसियाबाट रोजगारीमा कतार पुगेका भिन्दा भिन्दै १२ राष्ट्रको फुटबल टिमले एसियन कम्युनिटी कप फुटबल खेल्छन् । ती १२ टिममध्येको एक हो नेपाली फुटबल टिम कतार ।


कतारमा कम्युनिटी फुटबलको अवधारणा सन् २०१२/१३ देखि सुरु भएको हो । कतार फुटबल संघ (क्यूएफए) सँगको समन्वयमा दोस्रो संस्करणदेखि नेपाली फुटबल टिम कतार स्थापना गरी प्रतियोगितामा सहभागिता जनाइएको अध्यक्ष सञ्जीवले बताए ।
‘टिम बनेपछिको पहिलो खेलमै हामीले मलेसियालाई ३–० ले हरायौं, कम्युनिटी कपको पहिलो सहभागितामै हामी सेमिफाइनलमा पुग्यौं,’ झन्डै २ दशकदेखि कतारमा रहेका सञ्जीवले सुनाए, ‘एसियन कम्युनिटीमा नेपालले पनि फुटबल खेल्छ भन्ने सन्देश दिन सफल भयौं, हाम्रो खेल हेरेर सबै आश्चर्यचकित बने ।’


समय अभाव र कतारमै रहेका नेपाली समुदायको चासो कम हुँदा टोलीले सन् २०१८/१९ को संस्करणमा सहभागिता जनाएन । यसअघिका पाँच संस्करणमा सहभागी भएको नेपाल चारपल्ट सेमिफाइनल र १ पल्ट फाइनल खेलेको छ । त्यसबाहेक नेपाली टिमले समयसमयमा मैत्रीपूर्ण खेल खेल्ने गरेको छ, जसका लागि नेपालबाट राष्ट्रिय खेलाडी लगेर खेलको रौनक बढाइएको दाबी अध्यक्ष सञ्जीवले गरे । सुजल श्रेष्ठ, प्रकाश बुढाथोकीलगायतका अन्तर्राष्ट्रिय खेलाडीले नेपाली फुटबल टिम कतारका लागि खेलिसकेका छन् ।


२०७० पछि नेपालमा ए डिभिजन लिग आयोजना हुन ५ वर्ष लाग्यो । भूकम्पपछि फुटबल गतिविधि शून्यप्रायः हुँदा कतार पलायन भएका फुटबलरलाई टिमले खेल्ने वातावरण दियो । शारीरिक तन्दुरुस्तीसँगै उनीहरूलाई फुटबलबाट टाढा हुन दिएन । त्यसैको परिणाम हो, कतारमा रोजगारी गरेर फर्केका फुटबल अमीर श्रेष्ठले गत वर्ष आयोजित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल फुटबल क्लबको कप्तानी जिम्मेवारीका साथ लिग खेले । केही वर्ष कतारमा विताएर फर्केका शिव श्रेष्ठले पुरानै क्लब मनाङ मर्स्याङ्दीमा अनुबन्धित भइसकेका छन् । नेपाल पुलिस क्लबका पूर्वस्ट्राइकर गणेश खड्का पनि नेपाल फर्किएका छन् ।


‘नेपालमा फुटबल गतिविधि कम भएपछि रोजगारीका लागि कतार आएका राष्ट्रिय खेलाडीहरू फर्केर ए डिभिजन टिमको कप्तानसम्म बन्दा हामीले कतारमा बसेर नेपाली फुटबलका लागि यति योगदान दिन सक्यौं भनेर गर्व लाग्छ,’ सञ्जीवले सुनाए । राजनीतिक र गैरराजनीतिक गरी कतारमा थुप्रै नेपाली संघसंस्था छन् । आफ्नो संस्थालाई अहिलेसम्म राजनीतिबाट टाढा राखेको बताउने सञ्जीवले यही कारण अन्य संस्थाबाट सहयोग नमिलेको गुनासो गरे । ‘फुटबलका लागि केही गर्ने हो भने पद र पैसा खोजेर हुँदैन, गैरआवासीय नेपाली संघ कतारलगायत थुप्रै संस्थाले हामीलाई सहयोग गर्न चाहेनन्, उनीहरूको सहयोगबिना नै यो काम भइरहेको छ र भविष्यमा पनि हुनेछ,’ सञ्जीवले भने ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?