डायनोसर थेरम

रोशन शेरचन

प्राक्कथन डायनोसर थेरम भन्ने त्यस्तो कुनै थेरम छैन  । यो एउटा काल्पनिकी हो  ।

तर अर्थको हिसाबले त्यो थेरमलाई डायनोसर थेरम भन्न सकिन्छ । त्यस थेरमले भन्छ— मलाई नपढे, नबुझे र व्यवहारमा लागू नगरे, तिम्रो नियति पनि डायनोसरजस्तै हुनेछ । अथवा तिमी पनि लोप हुनेछौं । समाजमा अनेकन् डायनोसरहरू भेटिन्छन् । जैविक अर्थमा होइन । वैचारिक अर्थमा । यसबारे अन्तिम अनुच्छेदमा लेखेको छु ।

पृष्ठभूमि
साहित्य विज्ञानको नजिक बस्छ कि कलाको ? के साहित्य विज्ञानको विपरीत उभिन्छ ? राजनीतिसँग साहित्यको कस्तो सम्बन्ध हुन्छ ? सामाजिक यथार्थवादी र प्रयोगशील धारका शक्ति र सीमा के हुन् ? के वास्तवमै स्वैरकल्पनाले सामाजिक यथार्थलाई कमजोर बनाउँछ ? आदि महत्त्वको प्रश्नहरूमाझ हामी घेरिएका छौं ।
सहज ज्ञानले साहित्यलाई कला भन्छ । तर सौन्दर्यशास्त्रमा, साहित्यलाई सौन्दर्यपरक विज्ञान प्रवर्गअन्तर्गत राखिएको छ । यसले संकेत गर्छ— साहित्य सौन्दर्यशास्त्रको एउटा प्रशाखा हो र यसले सौन्दर्यशास्त्रका आधारभूत नियमहरूको पालना गर्छ । तर अधिकांश साहित्यले विज्ञानका नियमहरूको अवज्ञा गरेको पाउँछौं । साहित्यका विशेषता र प्रभावहरूको विज्ञानसम्मत व्याख्या धेरै भेटिँदैन । धेरै त मनोगत व्याख्या नै छ । भावुक व्याख्या त छ्यालब्याल । तापनि साहित्यको सृजन प्रक्रिया र वैज्ञानिक पद्धतिबीच हामी केही सम्बन्ध भेट्छौं । त्यस्ता केही समानताबारे यहाँ चर्चा गर्नेछु ।

वैज्ञानिक पद्धतिहरू
मूलत वैज्ञानिक पद्धतिहरू तीन प्रकारका छन् । प्रथम, अवलोकन (अब्जर्भेसन) पद्धति जसलाई जीववैज्ञानिक चार्ल्स डार्बिनले लोकप्रिय बनाए । यसको महत्त्व संसारभरि फैलाए । गालापागोस द्वीप, ब्राजिल, अर्जेन्टिना, चिलेका जीव, चट्टान, जीवाशेष र त्यसका नमुनाहरू संकलन र अवलोकन गरी डार्बिनले इभलुसनको सिद्वान्त प्रतिपादन गरे । अन्य धेरै वैज्ञानिक पनि छन् । तर डार्बिन प्रमुख थिए । दोस्रो कल्पनाशीलताको (इमाजिनेसन) पद्धति थियो, जसलाई आइन्स्टाइन र स्टिफन हकिन्सजस्ता भौतिकशास्त्रीहरूले विकास गरे । विस्तार गरे । आइन्स्टाइनको सापेक्षवादको सिद्धान्त धेरै दशकपछि सही ठहरियो । अर्बौं वर्षअगि दुई विशाल ब्लाकहोल ठोक्किई महाविस्फोटबाट (बिग ब्याङ्) उत्पन्न तरंगका ध्वनि सन् २०१४ मा पृथ्वीमा आइपुग्यो जसलाई अत्याधुनिक उपकरणले त्यसलाई रेकर्ड गर्‍यो । भर्खर खिचिएको ब्लाकहोलको तस्बिरले पनि यी वैज्ञानिकहरूको कल्पनाशीलता सत्य भएको पुष्टि भयो ।


तेस्रो प्रयोगको (एक्सपेरिमेन्टल) पद्धति । न्युटन र ग्यालिलियो आदि वैज्ञानिकले प्रयोग (एक्सपेरिमेन्ट) गरी पदार्थका गुण र विशेषता पत्ता लगाएका थिए । साहित्य अवलोकन, कल्पनाशीलता र प्रयोगको (?) बाटो हुँदै जन्मँदो रहेछ । यी वैज्ञानिक पद्धतिहरूको आलोकमा साहित्य सृजनका केही उदाहरणहरू हेरौं ।

केही उदाहरणहरू
सबभन्दा चल्तीको पद्धति अवलोकन हो । यसलाई निरीक्षण पद्धति पनि भन्छौं । अवलोकनलाई अन्वेषणको एक सबल माध्यम मानिन्छ । जीवन विज्ञानमा मात्र होइन, सामाजिक विज्ञानमा पनि यसको प्रयोग बढ्दो छ । लेखकले आफ्नो समाजको अवलोकन वा आफ्नो रुचिको फरक समाजको भ्रमण गरेर त्यहाँका रैथाने बासिन्दाहरूसँग अन्तरक्रिया गर्दै साहित्यको विषयवस्तु खोज्नु यसअन्तर्गत पर्छ । प्राथमिक रूपमा, सामाजिक यथार्थवाद धारको साहित्य यही पद्धतिमा निर्भर छ ।


नयनराज पाण्डेले ‘उलार’, ‘लू’ को निम्ति नजिकदेखि देख्दै भोग्दै आएको नेपालगन्जको खास समाजलाई टिप्नु, सरस्वती प्रतीक्षा ‘नथिया’ लेख्न पश्चिमका बादी बस्ती पुग्नु यसका दृष्टान्त हुन । कल्पनाशीलताकै बलमा कसैले उलारजस्तो उत्कृष्ट आख्यान लेख्न सक्दैन । इतिहाससम्बद्ध साहित्य लेख्न सन्दर्भ सामग्रीको जोहो अत्यावश्यक काम हो । तत्् विषयका क्षेत्रगत भ्रमणमा निस्कनु, स्थानीय बासिन्दाबाट मिथक र तथ्यहरू संकलन गर्नु र विज्ञहरूको राय लिनु उत्तिकै महत्त्वपूर्ण छ । कि विषयमा जानकार हुनुपर्‍यो अन्यथा अन्वेषणमै निस्कनुपर्‍यो । सामाजिक तथा सांस्कृतिक पर्यावरणमा भिज्नु यसको अर्को ध्येय हो ।


नारायण ढकालको ‘प्रेतकल्प’, नीलम कार्की निहारिकाको ‘योगमाया’, भूपिनको ‘मैदारो’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’, राजन मुकारुङको ‘हेत्छाकुप्पा’, यज्ञशको ‘भुइँया’, तीर्थ गुरुङको ‘पाठशाला’, उमा सुवेदीको ‘तोदा’ प्राथमिक रूपमा अवलोकन पद्धतिबाट जन्मिएका कृृृति हुन् । नारायण ढकाल काँठका बासिन्दा हुँदैनथे भने, ‘प्रेतकल्प’, ‘हजारमाइल’ को बाटोजस्ता इतिहाससम्बद्व आख्यान सायदै लेखिन्थे । त्यो भिन्दै कुरा, अवलोकनमा केही लेखकको आफ्नै अनुभव पनि मिस्सिएका छन् । अवलोकन, अन्वेषण र अन्तरक्रियाकै योगमा सृजनाहरू सम्भव हुन्छन्, यस पद्धतिमा ।


डार्बिनले लोकप्रिय बनाएको यो पद्धतिले आडभरोसा दिन्छ— अवलोकनबाट पनि प्रमाणहरू प्राप्त गर्न सकिन्छ । निरन्तरको अभ्यासले लेखन परिष्कृत बन्दै जान्छ । यसमा धैर्य त्यसरी नै अनिवार्य सर्त हो, जसरी विकासवादको सिद्धान्तमा करोडौं वर्ष लिई प्रजातिहरू आफ्नो वातावरणमा बाँच्न अन्यभन्दा फिट हुँदै जान्छ ।


दोस्रो वैज्ञानिक पद्धति छ, कल्पनाशीलता । प्रयोगधर्मी लेखकहरू यो पद्धति प्रयोग गर्छन् । प्रयोगधर्मी लेखकहरू संख्यामा कम भएकाले पनि यो पद्धति कम चल्तीमा छ । सरुभक्तको ‘पागल बस्ती’, कुमार नगरकोटीको ‘मिस्टिका’, गणेश पौडेलको ‘पैताला’ यस मार्काका पुस्तक हुन । यस पद्धतिले कथा, पात्र चयन र चरित्रचित्रणमा लेखकलाई खेल्न फराकिलो मैदान दिन्छ । परम्परा र यथार्थमा बाँधिनु नपर्ने भएकाले कल्पनाशील लेखकहरू यस पद्धतितिर आकर्षित हुन्छन् । यसमा लेखकको अभीष्ट हुन्छ, कल्पनाको बलमा भावभूमि, कथा र चरित्रलाई जति परसम्म लग्न सकिन्छ, लैजाने । यथार्थमा जे भइरहेको छ, त्योभन्दा पनि कस्तो हुनुपर्छ ? कस्तो हुन सक्छ ? त्यसको चित्रण गर्ने ।


इतिहास सम्बद्व लेखनभन्दा भविष्यउन्मुख (फ्युचरिस्टिक) लेखनका निम्ति यो उपयोगी छ । अधिकांश नेपाली साहित्य विगतमुखी भएकाले कल्पनाशीलतालाई स्थान कम छ । इतिहाससम्बद्ध लेखन पनि प्रकारान्तरले विगतमुखी लेखन नै हो यद्यपि त्यसको प्रयोजन भिन्न छ । राजनीतिक व्यंग्यको क्षेत्र त अत्यन्त टाक्सिएको छ, जबकि यो उपविधालाई कल्पनाशील पद्धति अत्यन्त उपयुक्त हो । राजनीतिक क्षेत्रमा घनघोर कमेडी र विद्रूपता व्याप्त छ तर आख्यानमा त्यसको कतै प्रतिविम्ब छैन । हास्यव्यंग्य गाईजात्राभन्दा माथि उक्लेन । ‘एनिमल फार्म’ र ‘नाइन्टी एटी फोर’ जस्ता आख्यान नेपालीमा कहिले लेखिने होला ?


केही लेखक छन्, जो मूलतः सामाजिक यथार्थवादी हुन् तर स्वैरकल्पनाका सहारा लिन्छन् । ध्रुवचन्द्र गौतम, नारायण ढकाल र नयनराज पाण्डेलाई यस कोटीमा राख्न सकिन्छ । अधिकांश प्रगतिशील लेखक स्वैरकल्पना उपकरण देखेरै तर्सन्छन् । उनीहरूलाई लाग्छ, स्वैरकल्पनाले लेखनको लक्ष्यबाट अल्मलाउँछ र त्यो पलायनको बाटो हो । माथि उल्लिखित लेखकहरू स्वैरकल्पनाको प्रयोग गर्छन् तर उद्देश्य हुन्छ— सामाजिक यथार्थको प्रभावलाई नै सघन बनाउने । यथार्थ र कल्पनाको दशगजामा बस्ने यी गोधूलिका लेखक हुन् । पाटेभीरलाई आख्यानीकरण गरिएको आख्यान मैदारो मार्फत भूपिन पनि यसै कोटीमा थपिएका छन् ।


यसको विपरीत, कल्पनाशीलतालाई प्रधान्य दिने प्रयोगधर्मी लेखकहरू यथार्थसँग धेरै सरोकार राख्दैनन् । बरु उनीहरू आफ्ना सृजनाले पाठकलाई नदेखेको ठाउँ देखाउने, नसुनेको कथा सुनाउने, नचिताएको घटना देखाउने र कल्पनामा पनि सोच्न नसकेको लोकमा लग्नुपर्ने आग्रह राख्छन् । त्यस्ता लोक युटोपियन वा डिस्टोपियन दुवै प्रकारका हुन सक्छन् । यस कोटीको सृजनालाई बेपत्ताको स्वैरकल्पना (बिजार) भन्नु उपयुक्त होला । यथार्थसँग जसको रत्तिभर साइनो हुँदैन तर पाठकलाई यस्ता कथाले विस्मयको स्थितिमा लगेर छाड्छ । मानसिक झट्का, भय, कौतूहल, बीभत्सता, उत्तेजना, वासना र विरानोपनलगायतका प्रभाव उत्पन्न गर्छन् । यस्ता प्रभावविचारको तहमा भन्दा पनि इन्द्रियको तहमा उत्पन्न हुन्छजस्तो लाग्छ । यी प्रभावलाई तर्कको पद्धतिले खासै भेउ पाउन सकिँदैन ।


सरुभक्त, नगरकोटी, गणेश पौडेल आदि यस वर्गका प्रतिनिधि लेखक हुन् । विगतमा ‘विर चरित्र’, ‘विरसिक्का’ जस्ता तिलस्मी उपन्यासहरू लेखिन्थे । बीस, तीसको दशकमा रोमाञ्चकता र रहस्य खोज्ने पाठकले नेपाली जासुसी उपन्यासमै भर पर्नुपर्‍यो । त्यसपछि यस्ता उपन्यासहरू लुप्तप्रायः भए । २०४६ को जनआन्दोलन, दसवर्षे माओवादी सशस्त्र यूद्वपछिका तीव्र राजनीतिक घटनाक्रमले सामाजिक यथार्थवादी धारलाई मलिलो धरातल प्रदान गर्‍यो । फलस्वरूप भुइँमान्छेको कथा, फेमिनिज्म र पहिचान साहित्य लेखन अहिले उत्कर्षमा छ । तर राजनीतिक संक्रमण सकिँदै गएको अवस्था र विज्ञान प्रविधिको तीव्र विकासले स्वैरकल्पनालाई फेरि उर्बर भूमि प्रदान गरेको छ । विजार स्वैरकल्पनाले आख्यानमा पुर्नजन्म लिएको देखिन्छ । नगरकोटीको सृजनात्मक सनकले त्यो गोरेटो कोरेको छ । त्यो गोरेटोले कति परको गन्तव्य छोला ? त्यो भविष्यकै गर्भमा छ ।


तेस्रो प्रयोगको पद्धति सायद साहित्य सृजनको निम्ति उपयुक्त छैन । साहित्य वस्तूत मानसिक निर्मिति भएकाले भौतिक विज्ञानको पदार्थझैं प्रयोगमा लग्न नसकिएको हो । साहित्य सृजनमा कल्पनाशीलताको वा निरीक्षणको प्रयोग गर्न सकिन्छ तर एक्सपेरिमेन्टकै अर्थमा सायद असम्भव छ ।


माथि केही वैज्ञानिकको नाम लिन परेको कारण नितान्त प्राविधिक छ । लेखकहरूलाई वैज्ञानिकसँग तुलना गर्नु मेरो ध्येय होइन । त्यो न सम्भव छ, न सुहाउँदो । यस लेखको उद्देश्य, पद्धतिको आधारमा साहित्य सृजना र विज्ञानबीच केही समानता देखाउने मात्र हो ।

सीमा र शक्ति
लेखकको चेतना विज्ञानसम्मत हुन आवश्यक छ/छैन ? ठूलो प्रश्न हो । साहित्य विज्ञान नभएकाले, कला भएकाले विज्ञानसम्मत हुन कति आवश्यक छ ? जिज्ञासा उब्जिन्छ । फेरि सौन्दर्यपरक विज्ञानको दर्जा दिइएकाले साहित्यमा विज्ञानको वस्तुनिष्ठता आवश्यक पनि होला ? प्रश्नले गहन छलफल माग्छ ।


केही छरिएका जवाफ वरपर देख्न सकिन्छ । मोटामोटी के भन्न सकिन्छ भने सामाजिक यथार्थवादी लेखकहरू विज्ञानसम्मत चेतनालाई आवश्यक तत्त्व मान्छन् । उनीहरू सिद्वान्ततः कन्टेन्टमा बढी जोड दिन्छन् । कन्टेन्ट तार्किक र रूपान्तरणको निम्ति हुनुपर्ने आग्रह राख्छन् । कोही त मुखर रूपमा क्रान्तिकै लागि लेख्नुपर्ने मान्छन् । त्यस्ता लेखकहरूलाई अभियन्ता लेखक भन्न सकिन्छ । राजनीतिसँग प्रत्यक्ष जोडिएर मुद्दा केन्द्रित विषयमा लेख्ने र तत् पार्टीसँग आबद्व लेखकहरू यस कोटीमा पर्दछन् । नवीनताप्रति सिद्वान्ततः उदासीनता र पुरातन फरम्याटको कथा वाचन सामाजिक यथार्थवादी धारको सिमा हो । साहित्यको प्रयोजन विस्मय नभएकाले यस्ता साहित्यमा नवीनता निम्छरो भेटिन्छ । केही साहित्यकारहरू सोच्छन्— साहित्यको सामाजिक दायित्व हुन्छ, साहित्यले क्रान्ति र समाज रूपान्तरणमा सघाउँछ तर सोझै नभएर अप्रत्यक्ष । नारायण ढकालजस्ता गैरसरकारी मार्क्सवादी लेखकहरू यस कोटीमा पर्छन् ।


यसको विपरीत, कल्पनाशीलता र स्वैरकल्पनालाई प्रधान्य मान्ने धारका लेखकहरूको ध्येय विस्मय र रोमाञ्चकता भएकाले, उनीहरू नवीनतालाई पस्कने (विषयवस्तु र शैली) मामलामा अगाडि हुन्छन् । यी लेखकहरूको निम्ति सौन्दर्यशास्त्र प्रत्यक्षतः उपयोगितावादी हुँदैन । कन्टेन्टलाई उनीहरू प्राथमिक महत्त्व दिंदैनन,् जति कथावाचनको शैलीलाई दिन्छन् । राजनीतिसँग खासै गाँसिंदैनन् । विज्ञानसम्मत नहुनु, सामयिक राजनीतिप्रति निरपेक्ष हुनु, भौतिकवादी दृष्टि चिन्तनभन्दा प्रत्ययवादी हुनु यस प्रवृत्तिको सीमा मान्न सकिन्छ ।

डायनोसर थेरम
साहित्य लेख्नेहरूले विज्ञानबाट मात्र होइन, गणितबाट पनि सिक्न सक्छ । यो थेरमचाहिँ गणितबाट लिइएको हो । बेस् थेरमले भन्छ— तथ्यहरू फेरिए, धारणा पनि फेर्नु । जसलाई मनन र पालना गर्न सके डायनोसर हुनबाट जोगिन्छ । थेरममा तथ्यलाई धारणाको जग मानिएको छ । तथ्यको महत्त्वलाई बुझ्न नसकेर हो वा साधु बाबाहरूको पछि धेरै लागेर हो, केही लेखकहरू डायनोसर भैसके । तथ्यहरू फेरिइसके, धारणाहरू विगतकै तथ्यहरूमा आधारित छ ।


तथ्यहरू के हुन् ? कहाँ बस्छन् ? कस्ता स्थितिमा छन् ? त्यसका चालक शक्तिहरू के के हुन् ? निर्माण हुँदै गएको नयाँ यथार्थ के हुन् ? त्यसतर्फ दृष्टि नदिने हो भने, डायनोसरको पङ्क्तिमा थाहै नपाई हामी पनि उभिइने सम्भावना प्रबल छ । त्यसैले बेस् थेरमलाई डायनोसर थेरम भने । सचेत गराउने अर्थमा । सृजनात्मक लेखनमा लाग्नेहरूले बेस् थेरममा धेरै उपयोगी कुराहरू भेटाउन सक्छ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुद्धको विश्व यात्रा

गौतम बुद्ध आफ्नो जीवन कालमा कहाँकहाँ पुगे ? बौद्ध धर्म कसरी विश्वभर फैलियो ? र, बुद्ध जन्मिएको र ज्ञान प्राप्त गरेको भूमिमै किन उनका अनुयायीहरू निकै न्यून छन् ?
नेत्र आचार्य

 बुद्ध पूर्णिमा मनाउन फ्रान्सबाट नेपाल आएकी क्यारोलिन केही दिनअघि भक्तपुरका विहारहरूको कलाकृति नियाल्दै मुग्ध भइरहेकी थिइन्  । उनलाई झनै मोहित तुल्यायो नजिकै घरको झ्यालमा देखिएको नाति–बाजेको दृश्यले  ।

क्यारोलिन उक्त बालक मुस्काएको क्षण क्यामरामा खिच्न चाहन्थिन्, लामै प्रतीक्षापछि क्षणभरका लागि बालक मुस्कुरायो । क्यारोलिन फिदा भइन् र उक्त बालकको नाम सोधिन् । बाजेले भने– यो अर्हन् हो । अर्हन् भनेको बुद्धको नाम भन्ने थाहा पाएपछि त उनको खुसीको सीमा रहेन । उनी तत्क्षण आफ्नो समूहका साथीहरूको हूलमा मिसिइन् र हौसिंदै सबैलाई भनिन्, ‘मैले बुद्ध भेटें ! मसँग बुद्ध मुस्काएको तस्बिर पनि छ !’


बुद्ध महापरिनिर्वाण भएको पच्चीस सय वर्षपछि समेत बुद्धत्वको सुगन्ध विश्वका कुनाकुनासम्म पुग्नु र त्यसले मानिसहरूलाई मन्त्रमुग्ध बनाइरहनु आश्चर्यको विषय बिल्कुलै होइन । हरेक वर्ष लुम्बिनीमा लाखौं मानिस आइरहनु पनि आश्चर्यको विषय होइन । किनभने बुद्धत्व अपूर्व घटना हो र यसको स्वभाव नै सबैलाई मनैदेखि आकर्षित गर्नु हो । बुद्धत्व के हो भन्ने बुझेर पनि यसप्रति फिदा नभई रहन असम्भवजस्तै हुन्छ । जीवनभर भौंतारिंदै खोजिरहेको कुरा आफ्नै मनभित्र छ भन्ने थाहा पाउनु सहज बुद्धि भएका हरेक मानिसका लागि जीवन रूपान्तरणकारी क्षण भइदिन्छ । बुद्ध, बुद्धत्व र यसको विश्वव्यापी विस्तारलाई विभिन्न चरणमा बुझ्न सकिन्छ र हरेक बुझाइको आफ्नै अर्थवत्ता हुन्छ ।


गौतम बुद्धलाई बुद्धत्व प्राप्ति पूर्णिमाको रातमा भएको थियो, यसको प्रतीकात्मक अर्थ छ । पूर्णिमा प्रकाशको पूर्णत्वको अवस्था हो, पूर्णता कल्याणको मार्ग हो । बुद्धले देशना गरेको ‘धर्म’ आदि, मध्य र अन्त्यमा कल्याणकारी मानिन्छ । यो कल्याणकारी धर्मलाई विश्वभर विस्तार गर्न बुद्धले जीवनपर्यन्त प्रयत्न गर्नुभयो । पानी पर्ने तीन महिना कुनै विहारमा ‘वर्षावास’ गर्नेबाहेक सबै ऋतुमा बुद्ध अनवरत यात्रा गरिरहनुभयो । सबैको हित एवं कल्याण गर्ने उद्देश्य बुद्धका हरेक यात्राको अन्तर्य हुन्थ्यो । बुद्धत्व एक अद्भुत घटना थियो र यसको सुगन्ध सबैतिर पुर्‍याउन एक्लो प्रयत्नले सम्भव छैन भन्ने बुद्धलाई थाहा थियो । यसका निम्ति बुद्धले भिक्षुहरूको संघ निर्माण गर्नुभयो । संघमा प्रशिक्षित अर्हत् अवस्था प्राप्त भिक्षुहरूलाई धर्मदूतको रूपमा तयार गर्नुभयो । ती धर्मदूतले थप धर्मदूत तयार गरे र यसप्रकार सिलसिला चलिरह्यो, बुद्धत्व विश्वभर विस्तार भइरह्यो । बुद्ध भन्नु नै बुद्धत्व हो, बुद्धत्व नै वास्तवमा बुद्ध हो । बुद्धले भन्नुभएको छ, ‘धर्मतो बुद्धा द्रष्टव्या धर्मकायो हि नायका’ अर्थात् धर्मलाई देख्नेले बुद्धलाई देख्छ, बुद्धको वास्तविक काय या रूप धर्म हो । बुद्धका उपदेशलाई एउटै शब्द धर्म भनिन्छ । यस अर्थमा जहाँ धर्म पुग्यो त्यहाँ बुद्ध पुग्नुभएको हो । बुद्धत्वको अर्थ, स्वतःस्फूर्त विस्तार हुँदै जाने यसको विशेषता, विभिन्न भूमिमा पुग्दा फेरिएका बुद्धका रूपहरू र वर्तमान समयमा बुद्ध भूमिमै बुद्धलाई पछ्याउनेहरू पातलिंदै जानुका कारण खोतल्नु यो लेखको आशय हो ।

बुद्ध यात्राको आरम्भ
पालि ग्रन्थ निदानकथाअनुसार सिद्धार्थ गौतमले पूर्वजन्ममा दीपंकर नामका बुद्धलाई भेटेको प्रसंग आउँछ । सुमेध तापस दीपंकर बुद्धका गुणहरू देखेर कतिसम्म प्रभावित भएका थिए भने बुद्धका पाउमा माटो नलागोस् भन्ने ध्येयले हिलो बाटोमा सुतेर बसिरहे । सुमेधलाई थाहा थियो, उनी हृदयदेखि नै यसो गर्दै छन् । हिलोमा सुतिरहँदा उनको मनमा अरू सुन्दर भाव पैदा भए । मेरो मन यति शुद्ध र गुणग्राही छ भने मैले मनको अन्तरकुन्तरमा रहेका सबै मानवीय वासनाहरू निर्मूल गर्नुपर्छ । मैले ज्ञान प्राप्त गर्नेछु र दुःखबाट सदाका लागि मुक्त हुनेछ । तर, म एक्लै मुक्त भएर के अर्थ, मैले त समस्त मानिस र देवताहरूलाई दुःखमुक्त गर्नेछु । ‘अहमपि लोके बुद्धो भविष्यामि’ अर्थात् म पनि दीपंकरजस्तै बुद्ध बनेर लोकहितमा समर्पित हुनेछु । महावस्तु नामको ग्रन्थमा यो प्रसंगमा पाठान्तर पाइन्छ तर बुद्ध बन्ने ध्येय एउटै छ ।

‘बुद्धो भवेयं जगतो हिताय’
जगत्को हितका लागि बुद्ध होऊँ भन्ने संकल्प पैदा हुनु बुद्धत्वको यात्रामा पहिलो कदम हो । बुद्धत्वको यात्रा आरम्भ भएसँगै बुद्धको विश्व यात्रा तय हुन्छ । किनभने बुद्धत्व विस्तार भइरहने गुणले युक्त हुन्छ । त्यो गुण हो महाकरुणा । संसारमा दुःखी प्राणीहरूको कमी छैन र बुद्धको अहैतुकी करुणा समस्त प्राणीलाई दुःखमुक्त बनाउने ध्येयले ओतप्रोत हुन्छ । आफ्ना दुःख अन्त्य भएपछि दुःखीहरूप्रति मनमा स्वतःस्फूर्त करुण पैदा हुनु अहैतुकी करुणा हो, महाकरुणा हो ।

बुद्धले आफ्ना भिक्षुहरूलाई दीक्षित गर्दा बारम्बार सुझाउने मुख्य कुरा लोक अर्थात् मानव जातिप्रति मनमा अपार करुणा विकसित गर्नु भन्ने हुन्थ्यो । बुद्ध भन्नुहुन्थ्यो, ‘चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजन सुखाय लोकानुकम्पाय अत्थाय हिताय सुखाय देव मनुस्सानं । देसेथ भिक्खवे धम्मं आदिकल्याणं मंझे कल्याणं परियोसान कल्याणं सात्थं सव्यंजनं केवल परिपुन्नं ब्रह्मचरियं पकासेथ ।’ अर्थात्, भिक्षुहरू हो, बहुजन हित, बहुजन सुख र समाजको कल्याणका लागि, देवता र मानिसको हित र सुखका लागि सबैतिर विचरण गर, विहार गर । सबै धर्मदूतलाई बुद्धको यस्तै निर्देशन हुन्थ्यो । बुद्धको निर्देशन हुन्थ्यो, भिक्षु हो सबै ठाउँमा पुग र धर्मदेशना गर, धर्मको अर्थ सम्झाऊ, मानिसहरूलाई झवचक्रm अर्थात् दुःखको चत्रबाट मुक्त गर, सबैतिर धर्मचत्र चलाऊ ।

गौतम बुद्ध कहाँकहाँ पुग्नुभयो ?
कामसुखमा रमाउने या कठोर तपस्या गर्दै शरीर सुकाउने दुवै तरिका ठीक होइनन् भन्ने जानेर बुद्धले मध्यम मार्ग अपनाउनुभयो, तदनन्तर उहाँलाई विपश्यना ध्यानमा सफलता मिल्यो । बुद्धले चार आर्य सत्य देख्नुभयो, आर्य अष्टांगिक मार्ग पहिल्याउनुभयो र प्रतीत्यसमुत्पाद अर्थात् जीवन र जगत् कुन नियमले चलिरहेको छ भन्ने बोध गर्नुभयो । यसप्रकार ज्ञानोदय भइसकेपछि बुद्ध दुःखमुक्त हुनुभयो, संसारको जन्ममृत्युको चक्रबाट सदाका लागि माथि उठ्नुभयो । बुद्धत्व प्राप्तिपछि सबभन्दा पहिला तपस्या गर्दाका साथीहरूलाई आफूले पाएको ज्ञान सुनाउने इच्छा उहाँलाई भयो । ती पञ्चभद्रवर्गीय भिक्षुहरूलाई प्रथम उपदेश सुनाउन बुद्ध वाराणसीको सारनाथ पुग्नुभयो । बुद्धको पहिलो उपदेशलाई धर्मचक्रप्रवर्तन सूत्र भनिन्छ । झवचक्र अर्थात् दुःखको माखेसाङ्लोबाट मुत्त हुन धर्मचक्र चलाउन आवश्यक हुन्छ । धर्मलाई देख्ने हो भने र तदनुरूप अभ्यास गर्ने हो भने हरेक व्यक्तिले आफ्नो कल्याण स्वयंले गर्न सक्छ, कुनै पनि वाद, पन्थ, सम्प्रदाय र संगठित धर्मको पिछलग्गु हुन पर्दैन, आफ्नै प्रयत्नले बुद्ध बन्ने क्षमता हरेक मानिसमा पहिल्यैदेखि निहित छ, अतः आफ्नो कल्याण आफैं गर भन्ने बुद्धको पहिलो देशनाको आशय थियो ।


बुद्धका प्रथम पाँच शिष्यहरू छिट्टै अर्हत् भए र उनीहरूले अन्य दर्जनौं भिक्षुहरूलाई धर्मको उपदेश गरे । यही क्रमले साठी जना अर्हत् भिक्षुहरू पुगेपछि बुद्धले सबैलाई एक ठाउँमा भेला गरी भन्नुभयो— भिक्षुहरू हो, हरेक भिक्षु आफ्ना मानसिक बन्धनबाट मुक्त हुनुपर्छ तर भिक्षुमा मानिसहरूप्रति करुणा जाग्नुपर्छ, समाजप्रति कर्तव्यबोध पनि हुनुपर्छ । अतः अर्हत् अवस्था प्राप्त गरिसकेका भिक्षुहरू विभिन्न स्थानमा विचरण गर र बुद्धत्वको उपदेश सुनाएर मानिसहरूलाई धर्मको बाटो सुझाऊ, सबैको कल्याण गर ।


बुद्धले भिक्षु संघलाई एक आदर्श समाजका रुपमा विकसित गर्नुभएको थियो । समाजमा भिक्षु संघप्रति उस्तै आदरभाव थियो । कुनै रंगभेद, जातिभेद, वर्गभेद नगरी सबैलाई समान रूपले कदर गर्ने र धर्मानुश्रवणमा सहभागी गराउने हुँदा मानिसहरू बुद्धको विशाल हृदय र व्यवहारबाट प्रभावित थिए । जनभाषामा धर्म प्रचार गर्दा अधिकतम मानिसले ज्ञानका कुरा बुझ्छन् भनेर बुद्धले तत्कालीन समयमा प्रचलित जनभाषामा शिक्षा दिने प्रचलन बसाउनुभयो । यसले गर्दा पनि बुद्धको शिक्षा समाजको तल्लो तहसम्म पुग्यो । बुद्धले भिक्षुहरूलाई सम्प्रदायबाट मुक्त भएर आफ्नो र अरूको कल्याणको खातिर धर्मको शिक्षा विस्तार गर्न निर्देशन दिनुभयो । यसरी मानिसहरूलाई दुःखमुक्ति र बुद्धत्वको बाटो देखाउनका लागि चारिका अर्थात् देशाटन गर्ने भिक्षुहरूलाई बुद्धले दुई जना छन् भने दुवैलाई फरक बाटोबाट अगाडि बढ्न सुझाउनुभयो । यसो गर्दा धेरैभन्दा धेरै मानिसले धर्मको देशना सुन्ने अवसर प्राप्त गरून् भन्ने बुद्धको आशय थियो । सबै दिशातिर धर्मदूत पठाइसकेपछि बुद्ध स्वयं पनि धर्म विस्तारको लागि उरुवेलतिर प्रस्थान गनुभयो । बुद्धको व्यक्तित्व, संघको उदात्त सोच र आदि, मध्य एवं अन्त्यसम्म कल्याणकारी धर्मको उपदेश सुनेर दिनानुदिन सयौं हजारौं मानिस प्रभावित भए, दीक्षित भए र दुःखमुक्त भए । उनीहरूले अन्य मानिसहरूलाई दीक्षित गरे । यो क्रम बढ्दै गएर बुद्धले धर्मको देशना दिन खटाउनुभएको छ महिनाभित्र बुद्ध कपिलवस्तु जानुहुँदा भिक्षु संघमा बीस हजार भिक्षु आबद्ध भइसकेका थिए ।


आफ्नो जीवनकालमा बुद्ध भारतका विभिन्न सहरहरू र नेपालको कपिलवस्तुमा बारम्बार भ्रमण गनुभयो । बुद्धले केही विशेष स्थानहरूलाई धर्म विस्तारको केन्द्र नै बनाउनुभएको थियो । यस्तै केन्द्र थिए श्रावस्ती र राजगृह । बाबा भीमराव अम्बेडकरले पालि ग्रन्थहरूमा खोजबिन गर्दा बुद्ध श्रावस्तीमा करिब ७५ पटक र राजगृहमा २४ पटक भ्रमण गर्नुभएको तथ्य पत्ता लगाएका थिए । कपिलवस्तु र वैशालीमा बुद्ध छ पटक भ्रमण गर्नुभएको र कम्मासधम्ममा चार पटक पुग्नुभएको स्रोत फेला पर्छ । बुद्ध सशरीर पुग्नुभएका अन्य स्थानहरू अस्सपुर, नालन्दा, घोषिताराम, कुसीनारा, देवदह, पावा, मगधको राजधानी पाटलीपुत्र, दर्जनौं शाक्य जनपद र कुरु जनपदहरू हुन् । यी सबै स्थानमा बुद्ध पैदलै हिँडेर पुग्नुभयो । बयलगाडी उपयोग गर्न सक्नुहुन्थ्यो तर बुद्धले हिँडेरै चारिका गर्न मन पराउनुभयो । बाटोमा भेटिने सबैलाई धर्मको देशना सुनाउने उहाँको ध्येय हुन्थ्यो ।


बुद्धको महापरिनिर्वाणपछि धर्मलाई विश्वव्यापी बनाउने कार्य निर्बाध जारी रह्यो । सबै व्यवस्था बुद्धले बसालिदिनुभएको थियो, हरेक युगमा नयाँ भिक्षुहरू संघमा प्रवेश गरे र स्थापित नियमअनुसार धर्म प्रचारलाई अगाडि बढाए । यस क्रममा धर्मलाई विश्वभर विस्तार गर्न सम्राट् अशोक जत्तिकै प्रभावी अरू फेला पार्न मुस्किल हुन्छ । सम्राट् अशोक निग्रोध नामक व्यक्तिको प्रभावले बुद्ध धर्मप्रति आकर्षित भएका थिए । पछि उपगुप्त भिक्षुबाट उनी बुद्ध धर्ममा दीक्षित भए । उनी लुम्बिनीलगायत दर्जनौं बुद्धक्षेत्रहरूमा धर्म प्रचार गर्न र धर्मको इतिहास जोगाइराख्नका लागि स्वयं पुगे । अशोक स्तम्भहरूकै कारण आज बुद्धको जन्मभूमि नेपाल हो भन्ने अकाट्य रूपले सावित भएको छ । अशोक स्वयं सम्राट् भएको हुँदा उनमा अधिकार, क्षमता र कौशल थियो, स्वयं बुद्ध धर्मानुलम्बी भएको हुँदा धर्मप्रति श्रद्धा पनि थियो । उनले मज्झन्तिकलाई कश्मीर तथा गान्धारमा, महारक्षितलाई यवन देशमा, मज्झिमलाई हिमालय देशमा, धर्मरक्षितलाई अपरांतक देशमा, महाधर्मरक्षितलाई महाराष्ट्रमा, महादेवलाई मैसुरमा, रक्षितलाई कन्नडमा, सोन र उत्तरलाई सुवर्णभूमिमा धर्मप्रचारका लागि पठाए । उनले श्रीलंकामा आफ्ना छोराछोरी महिन्दा र संघमित्रालाई धर्म प्रचारका लागि पठाएका थिए । सम्राट् अशोकले बर्मामा धर्म प्रचारका लागि विशेष टोली पठाएका थिए । बुद्धप्रेमी अशोकका केही वचनहरू आज पनि कालजयी छन्—बाँच र बाँच्न देऊ, सर्वहितभन्दा ठूलो कार्य अरु केही छैन, राजनीतिक लाभका लागि हिंसा गर्नु सबैभन्दा निन्दनीय हो ।

थरीथरीका बुद्ध, थरीथरीका अभ्यास
बुद्ध धर्म चीन, तिब्बत, जापान, कोरिया, भियतनाम, बर्मा, थाइल्यान्ड, श्रीलंका, भुटानलगायत मुलुकमा पुग्दा बुद्धको प्रतिमा उस्तै रहेन । तत्तत् मुलुकका शिष्यहरूले तिनको कल्पनाअनुसार अनुकूल प्रतिमा बनाए । तिब्बतमा त बहु बुद्ध प्रणाली विकसित भयो— अमिताभ बुद्ध, महामञ्जुश्री बुद्ध, अवलोकितेश्वर आदि । हजार हात भएका अवलोकितेश्वरको समेत परिकल्पना गरियो । मानिसहरूको हित र कल्याणका लागि स्वयंको निर्वाणसमेत बोधिसत्त्वहरू त असंख्य कल्पना गरिए ।


बुद्धका पछिका शिष्यहरूमध्ये बोधिधर्मले चीनमा पुगेर चान बुद्ध दर्शन विस्तार गरे । उनले चीनका मानिसहरूलाई ध्यान सिकाए । चिनियाँ भाषीहरूले ध्यानलाई चान भन्न थाले । यही चान जापान पुग्दा झेन बन्यो । जापानमा झेन सम्प्रदाय प्रभावी छ । डिटी सुजुकीले झेनलाई पश्चिमा देशहरूमा विस्तार गरे ।


वज्रयान सम्प्रदायका आचार्य पद्मसम्भव भारतबाट तिब्बत पुगे र त्यहाँका मानिसहरूलाई वज्रयानमा दीक्षित गरे । उनको प्रभाव व्यापक भयो, उनी अन्ततः गुरु रिन्पोछे भनेर चिनिन थाले । तिब्बती भेकमा विकसित भएको वज्रयानलाई दलाई लामा र अरू रिन्पोछेहरूले वर्तमान समयमा विश्वभर विस्तार गरिरहेका छन् ।


तन्त्रयानका रूपमा विकसित भएको वज्रयानले बुद्धका मूल शिक्षालाई कतै छोडेको छैन, बरु युगानुकूल विकास र परिष्कार गर्दै लगेको पाइन्छ । कोरियामा सद्धर्मपुण्डरिकसूत्रलाई मुख्य ग्रन्थ मानेर लाखौं मानिस बुद्धका शिक्षा सुन्छन् र ध्यानको अभ्यास पनि गर्छन् । जापानमा निचिरेनलगायतका बौद्ध सम्प्रदायमा पनि यही ग्रन्थ आधारभूत हो । बुद्धको मुख्य शिक्षा पनि ध्यान नै हो ।


बुद्ध दर्शन गतिशील प्रकृतिको छ । खासगरी वज्रयानमा बुद्ध दर्शनको ‘डाइनामिक’ स्वभाव प्रस्ट देख्न पाइन्छ । जस्तो चीनमा विकसित भएको चिया संस्कृतिमा बुद्ध दर्शनको गहिरो प्रभाव देखिन्छ । चिया पिउनु ध्यानको अभ्यास गर्नु जत्तिकै स्मृति र सम्प्रजन्ययुक्त हुन्छ । चीनमा प्रचलित कुङ फु, जापानमा विकसित हाइकु कविता र कोरियामा विकसित कलिग्राफीको अन्तर्यमा बुद्ध दर्शनको प्रभाव स्पष्ट देख्न पाइन्छ । यी संस्कृतिले हरेक क्रियाकलाप हरेक क्षणमा कसरी माइन्डफुल अर्थात् होसपूर्ण भएर सम्पन्न गर्ने भन्ने सुझाउँछन् । बुद्धले सिकाएको ध्यानको मूल आशय पनि यही हो । वर्तमान समयमा होसपूर्ण भएर र पक्षविपक्षमा नढल्की तटस्थ भएर कार्य गर्नु बुद्धत्वतर्फको यात्रा नै हो । होसपूर्ण हुने अझ्यास सघन हुँदै जाँदा मानिस मन र समयको अदृश्य बन्धनबाट मुक्त हुन सक्छ । मुत्तिको सुख सबै सुखभन्दा अप्रतीम हुन्छ । यो यस्तो सुख हो जुन जहिल्यै विस्तार हुँदै जान्छ, कहिल्यै ह्रास भएर जाँदैन ।
उता पश्चिमा जगत्मा जोन कबात जिनले बुद्धले सिकाएको ध्यान पद्धतिको सिको गर्दै माइन्डफुलनेसमा आधारित तनाव न्यूनीकरण थेरापी विकसित गरे । वर्तमान समयमा भिक्षु मेथ्यु रिकार्डले करुणा फाउन्डेसन मार्फत् बुद्धका शिक्षालाई विश्वभर विस्तार गरिरहेका छन् । टिच न्यात हन्हले भियतनामबाट इन्गेज्ड बुद्धिजमलाई विश्वभर फैलाइरहेका छन् जुन अचेल प्राज्ञिक अध्ययनको एक मुख्य विधा बनेको छ ।


बुद्धको जीवनी, ज्ञान प्राप्ति र धर्म देशना वर्णन गर्दै एडविन आर्नोल्डले लेखेको ‘लाइट अफ एसिया’ ले संसारभरी बुद्ध धर्म र दर्शनप्रति मनिसहरूमा जागरण ल्याइदियो । आर्नोल्डले उक्त कृति ललितविस्तरसूत्र नामको ग्रन्थको आधारमा तयार गरेका थिए । पश्चिमा जगत्मा पहिलो पटक बुद्ध दर्शनको परिचय दिन पुस्तकका रूपमा यो कृति विख्यात छ । श्रीलंका पुगेका भिक्षु बुद्धघोषले विशुद्धिमग्ग र विमुक्तिमग्ग नामका दुई बेजोड कृति लेखे । यी कृतिका बारेमा भन्ने गरिन्छ, बुद्धका सबै शिक्षा लोप भए र यी दुई ग्रन्थ बाँकी रहे भने पनि बुद्ध धर्मलाई केही घाटा हुने छैन ।

बत्तीमुनि अँध्यारो
बुद्धका शिष्यहरूले विश्वभर बुद्धत्वको सुगन्ध फैलाए र यो क्रम अझै जारी छ । तर बुद्ध स्वयंले देशना दिनुभएको नेपाल र उत्तर भारतमा बुद्धका अनुयायीहरू कमी हुँदै जानु भने आश्चर्यजनक छ । बत्तीमुनि अँध्यारो भन्ने आहान यहीं चरितार्थ भइरहेको छ । यसो हुनुको पछि धेरै कारण हुन सक्छन् । जस्तो, बुद्धले पूजाआजा र तीर्थव्रतलाई श्रद्धा जगाउने कार्यका लागि मात्र उपयोग गर्न सुझाउनुभएको थियो तर बुद्धका मूर्ति पूजा गर्नु नै धर्मको मुख्य अभ्यास हुन थाल्नु, भिक्षुहरू धर्म उपार्जनमा भन्दा अर्थोपार्जनमा केन्द्रित हुनु र ध्यानको अभ्यास नगरी गुरु बन्ने होडबाजी चल्नु केही कारण हुन् ।


अर्को कारण हिन्दु धर्मसँग सम्बन्धित छ । नेपाल र भारतमा हिन्दु धर्म सधैं बलियो रह्यो, हिन्दुहरूले बौद्ध धर्म र दर्शनलाई फस्टाउने मौका दिएनन् । उनीहरूले बुद्धलाई विष्णुका एक अवतार हुन्समेत भने । जुन कुरा शास्त्रीय दृष्टिले कतैबाट तर्कसंगत देखिंदैन । हिन्दु ईश्वरवादी धर्म हो, तर बुद्धले कुनै पनि सृष्टिकर्ता वा सर्वेसर्वा ईश्वर स्वीकार गर्नुभएन । बुद्धले जातिभेद अन्त्य गरेको, बलिप्रथा रोकेको र उदार विश्व दृष्टिकोण अपनाएकाले हिन्दुवादी ब्राह्मणहरूको स्वार्थमा बाधा पुर्‍याउने देखियो । अतः समाजमा शक्तिशाली रहेका
ब्राह्मणहरूले राज्यस्तरबाटै बुद्धको धर्म र दर्शनलाई खेद्ने काम गरे । राणा शासनकालमा नेपालमा बुद्ध मूर्ति बनाएको आरोपमा भिक्षु अमृतानन्दलाई आठ वर्ष जेलमा थुनियो । विसं २००० मा भिक्षु अमृतानन्दलगायत आठ जना भिक्षुहरूलाई देश निकाला गरियो । बौद्ध दर्शनका पुस्तक खोजीखोजी जफत गरियो, हिन्दुहरू धर्म परिवर्तन गरी बौद्ध बन्न नपाइने, बौद्ध विहार बनाउन नपाइने नियम नै बनाइयो । यसरी राज्यले नै खेदेपछि बुद्धको धर्म बुद्ध भूमिमै मेटिंदै गयो ।


उत्तर भारत हिन्दु धर्मको उद्गमस्थल हो, भारतीय हिन्दुहरूले बुद्ध दर्शन व्यवस्थित, उदार र प्रभावी देखेपछि आफ्नो अस्तित्वमा खतरा ठाने । उनीहरूले अनेक शास्त्र र काव्य लेखेर बुद्ध धर्मलाई माथि उठ्न दिएनन् । ‘हस्तिना ताड्यमानेऽपि न गच्छेत् जैन मन्दिरम्’ अर्थात् प्राण घाँटीबाट जानै लागे पनि, हात्तीले कुल्चेर मार्नै लागे पनि जैन धर्म या बुद्ध धर्मको शरणमा नजानू भन्नेजस्ता दुष्प्रचार गरे । यस्तै बेला धर्मान्ध र मूर्ख मुसलमान शासक बख्तियार खिलजीलगायतले भारतमा आक्रमण गरे र खासगरी बौद्ध साहित्यको केन्द्रका रूपमा विकसित ओदान्तपुरी विश्वविद्यालय र नालन्दा विश्वविद्यालयमा आगो लगाइदिए । भनिन्छ, नालन्दाको पुस्तकालयमा लागेको आगो छ महिनासम्म निभेको थिएन ।


मुसलमान अतिवादीहरूले बौद्धहरूलाई निर्मूल पार्न हरेक विहार, चैत्य, स्तूपा भत्काइदिए, लाखौं लाख पुस्तकहरू खोजीखोजी जलाइदिए र हजारौं भिक्षु एवं बौद्ध आचार्यहरूलाई मारे । त्यसबेला बौद्धहरू लुक्दै, भाग्दै नेपाल र तिब्बतमा शरण लिन आएका थिए । यसप्रकार अतिचार हुँदासमेत बुद्ध धर्म र दर्शन जीवित रहन सक्नु उल्लेख्य छ । जे–जति बौद्ध दर्शन, साहित्य र परम्परा जीवित छ त्यसलाई यथोचित संरक्षण र विस्तार गर्न सक्यौं भने पनि शान्त, सुखी र समतापूर्ण हुन सकिन्छ । भौतिक समृद्धि देखिसकेका देशहरूले आन्तरिक समृद्धिका लागि बुद्धको धर्मलाई चाखपूर्वक पछ्याउँदै गरेको देखियो । अन्ततः मानिसलाई चाहिने आन्तरिक सुख–शान्ति नै रहेछ, हामीले बेलैमा बुद्धलाई चिन्न सके जाती हुन्थ्यो । बत्तीमुनि अँध्यारो हुनुमा केही दृश्यमान र केही अदृश्य कारण समेत होलान् । बुद्धको ज्ञानको आलोक कति गरिमापूर्ण छ भन्ने हामीलाई बोध भइसकेको हो भने त्यो आलोकलाई पुनः जगाउने सम्भावना छन् । हामी सबै मिलेर सम्भावनाहरू खोजी गर्न सकिन्छ । सुरुआत गर्नलाई राज्याधिकारीहरू नै सचेत हुनुपर्छ । कम्तीमा बुद्ध जयन्तीका दिनमा मञ्चमा उभिएर राजनीतिक भाषण दिनुको साटो कुनै वरिष्ठ बौद्ध भिक्षुलाई बुद्धको शिक्षाका बारेमा बोल्न समय दिने र प्रधानमन्त्री, राष्ट्रपतिलगायत उच्चपदस्थ अधिकारीहरू दर्शकदीर्घामा बसेर धर्म श्रवण गर्न सके जनजनमा बुद्धत्वको गरिमा स्वतः स्थापित हुनेथियो । सम्मानित भिक्षुसँगै एकाध घण्टा सबै ध्यानमा बस्ने हो भने त त्यसले मनमा जगाएको आलोकले बत्तीमुनिको अँध्यारो स्वतः विलीन हुने थियो । मंगल होस् ।
netra.acharya@gmail.com

प्रकाशित : जेष्ठ ४, २०७६ ११:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT