कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

[डायरी] सुविधा कि सास्ती ?

गोकर्ण गौतम

यही सोमबारको आलो पीडा पोख्छु पहिले  । थापाथलीबाट लाजिम्पाट जानु छ  । टुटलमा राइडर सर्च गरें । एसेप्ट भयो । फोन पनि आयो । उनैले भने, ‘म नर्भिक नजिकै छु । नेपाल राष्ट्र बैकअगाडि गएर बस्नुस् । पाँच मिनेटमा आइपुग्छु । रातो टिसर्ट लगाको छु ।’ उनले भनेजस्तै गरें ।

[डायरी] सुविधा कि सास्ती ?

टन्टलापुर घाम लागिरा’छ, बाटो छेउ उभिएर कुर्दै छु । पाँच हैन, दस मिनेट बित्यो । न फोन आयो, न बाइकवाला । बरु रातो टिसर्ट धर्नेलाई हेर्दा–हेर्दा आँखा थाक्न लागे । ढिला भइसक्यो । छटछटी भयो । आफैंले फोन गरें । उठेन । फेरि गरें, अहँ उठेन । क्यान्सिल गरेर नयाँ राइडर खोज्न त्यहाँ वाईफाई थिएन, मोबाइल डाटाको ताल उही हो । फेरि नम्बर डायल गरे, रिङ गयो तर काटियो । अबचाहिँ हार मानें । ट्याक्सी चढें ।


धन्न ! ट्याक्सीवाला सज्जन परेछन् । मिटरमा जान माने ।
लाजिम्पाट पुगेर भेटघाटमा व्यस्त भएँ, धोका दिने राइडरलाई बिर्सिसकेको थिएँ । इमेलको नोटिफिकेसन आयो । यस्तो लेखिएको रहेछ, ‘तपाईंको यात्रा पूरा भयो । ह्याप्पी टुटलिङ ।’ अबचाहिँ कन्पारो तात्यो । २० मिनेट खेर गयो । मानसिक तनाव झेल्नुपर्‍यो । राइडरले ठाडै बदमासी गरे । त्यसको निगरानी छैन । उल्टै ‘ह्याप्पी टुटलिङ’ रे । यही हो त, प्रविधिको प्रभावकारी प्रयोग ? सबै व्यथा बिसाएर अनि हल्का रिस मिसाएर इमेल रिप्लाईं गरें । सेवा पाइएन, समय मात्र गयो, फोकटमा । तपाईंलाई लाग्ला, यत्तिमै यत्रो लेख नै लेख्नुपर्छ त ? पर्दैन्थ्यो, यदि यसअघि पनि यस्तै ठक्कर नखाएको भए । सबै व्यथा पोखें भने अरू केही नपाए पनि तपाईंबाट सहानुभूतिचाहिँ पाउँछु पक्कै । उस्तै परे, तपाईं मेरो सहनशीलताको प्रशंसक पनि बन्नुहोला ।
अब अघिल्लो दिन अर्थात् आइतबारको सास्ती सुनाउँछु ।


वनस्थलीबाट थापाथली पुग्नु छ । माइक्रो चढूँ, ठेलमठेल, पेलम्पेल । जाम पर्‍यो भने अर्को फसाद । ट्याक्सी छोइसक्नु हुन्न । टुटल नै खोलें । ब्यालेन्स सकिएछ, डिजिटल पेमेन्ट सेवाप्रदायक एप्स खल्तीबाट आठ सय रुपैयाँ टप–अप गरें । खल्तीबाट ब्यालेन्स घट्यो, पैसा गएको सन्देश पनि आयो । १५ मिनेट कुरें तर टुटलमा देखिएन । हतार थियो, त्यसैले हाताहात पैसा दिने सर्तमै राइडर बोलाएँ ।


चार घण्टा बित्यो तर ब्यालेन्स बढेन । कति चुस्त ? पैसा त्यत्तिकै हराउला भन्ने भय सुरु भयो । खल्तीमा फोन गरें, पैसा गइसकेकाले टुटलमै सम्पर्क गर्न अनुरोध गरे । टुटलको फोन उठाउने युवतीलाई एक मिनेट लगाएर सबै कथा सुनाएँ, उनले बडो आत्मविश्वासका जवाफ फर्काइन्, ‘टप–अप हुन त २४ घण्टा लाग्छ । वेट गर्नुस् ।’ उनलाई अरू बेला १०–१५ मिनेटमा हुने गरेको जाहेर गरें । ग्राहकको समस्या सुल्झाउन बसेका कर्मचारीलाई कम्पनीको आधारभूत ज्ञानसमेत छैन । त्यसपछि फोन अरू कोहीलाई दिइनँ, ती पुरुषले ‘राइडर कि कस्टमर’ बाट वार्ता सुरु गरें । फेरि जस्ताको त्यस्तै कथा सुनाएँ, तीन मिनेट गइसक्यो । पैसा आफैंले हाल्नु छ, तैपनि यस्तो लफडामा फसियो । उफ ! ती महोदयले खल्तीबाट पैसा आउँदै नआएको ठोकुवा गरे । उनकै आदेशबमोजिम म बबुरो फेरि खल्तीमा फोन गर्न विवश भएँ ।


खल्तीमा अरू कसैले फोन उठायो । फेरि इतिवृत्त पोख्नुपरिहाल्यो । उनले उस्तै दाबी गरे, ‘पैसा गइसकेको छ, नपत्याए तपाईंको इमेल भन्नुस्, म पेमेन्ट सिट सेन्ड गरिदिन्छु ।’ मैले त्यस्तै गरें, प्रमाण आयो । फेरि टुटलमा फोन गरें । अरू कसैले फोन उठायो । पुनः उही बिन्ती बिसाएँ । उनले इमेल ठेगाना दिँदै सिट पठाउन भने । त्यस्तै गरें, एक छिनमा रिप्लाई आयो, ‘यो किन मेल गर्नुभएको, सविस्तार लेख्नुहोला ।’ कस्तो ताल, हेर्नु त ? बेवास्ता र हेल्च्याक्र्याइँको पराकाष्ठा भएन र ? आठ सयको सवाल छ, फेरि त्यहाँ पनि सबै कथा लेखेर पठाएँ । रिप्लाई आएन । अढाई घण्टापछि बल्ल टप–अप भयो । तर आफ्नो कमजोरीले उपभोक्तालाई परेको असुविधाप्रति क्षमायाचना गर्दै इमेलसम्म आएन । कस्तो स्मार्ट र जवाफदेही सेवा ?
अब टुटलजस्तै अर्को मोटरसाइकलमार्फत सेयर राइडिङ सेवा प्रदान गर्ने एप्स पठाओको कहानी भन्छु ।
खासमा म पहिले पठाओ प्रयोग गर्थे । अति ल्याङल्याङ भएपछि टुटलतिर लहसिएको हुँ ।
निजी सवारीसाधनले पैसा लिएर यात्रु ओसार्न नमिल्ने प्रावधान छ हामीकहाँ । त्यसैले गत माघमा टुटल र पआठोका चार राइडर्सलाई प्रहरीले समात्यो । तर यात्रुलाई सुबिस्ता हुने अनि रोजगारीको सिर्जना गरिरहेकाले यिनलाई रोक्न नहुने भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भयो । प्रविधिको विकाससँगै नियम–कानुन परिमार्जन हुनु जरुरी पनि छ । त्यसैले टुटल–पठाओले व्यापक जनसमर्थन पाए । भुल्न नहुने तथ्यचाहिँ, त्यतिबेला टुटल–पठाओप्रतिको प्रेमभन्दा ट्याक्सीप्रतिको आक्रोश र वितृष्णा ज्यादा थियो । जे होस्, फाइदा यी एप्सलाई नै भयो । प्रधानमन्त्री केपी ओलीलेसमेत साथ दिए । सबभन्दा ठूलो उपलब्धिचाहिँ, टुटल–पठाओको सित्तैमा प्रचार भयो । पहिले प्रयोग गरेकाले खुब तारिफ गरे । नयाँ प्रयोगकर्ता ह्वात्तै बढे । एउटा उदाहरण मै हुँ । कम पैसामा बिनाझन्झट गन्तव्यमा पुगिने भएकाले राजधानीभित्रको यात्राको सास्ती निमिट्यान्न हुने आशा राखियो । त्यसो त हामीलाई सानै उपलब्धिमा अचाक्ली उत्साही भइहाल्न कसले भ्याउने ?
अनुभवीले सुझाए, टुटलभन्दा पठाओ सस्तो छ । त्यसैले पठाओ डाउनलोड गरें ।
त्यतिबेला प्रयोगकर्ता मात्र होइन, राइडर पनि ह्वात्तै बढेका थिए । प्रायः सबै मिलनसार, बोलीचाली उस्तै मीठो । वनस्थलीबाट नियमित थापाथली आउनुपर्ने, १ सय १७ तिरे पुग्ने । म दंग । सर्च गरेको दुई चार मिनेटमै राइडर भनेको ठाउँमा आइपुग्ने । महिना दिन जति यसरी नै बित्यो । एक्कासि त्यही दूरीको भाडा १ सय ४८ पुग्यो । पहिले वनस्थली–बालाजु–लैनचौर–सिंहदरबार–थापाथलीको रुट देखाउँथ्यो, अब घरी कलंकी पुर्‍याउन थाल्यो, घरी सीतापाइला । सिस्टममा केही समस्या होला भन्ठानेर दुई चार दिन त्यतिकै बसे । तर पहिलेको भाडादरमा जान पाइएन, अफिस टाइममा अझ बढी पैसा लाग्ने । फोनमा सबै गुनासो पोखें । जवाफ आयो, ‘के भएको रहेछ हेर्छौं र तपाईंलाई खबर गर्छौं ।’
दुई हप्ता बित्यो, न खबर आयो, न साविक रुट देखायो । बिस्तारै राइडरको व्यवहार बदलिन थाल्यो । पठाओले भाडाको १० बाट १५ प्रतिशत काट्न थालेको, पहिलेजस्तो सुविधा नदिएको गुनासो यात्राभर सुन्नुपर्थ्यो । कत्ति त, ठाडै ‘मिलाएर दिनु है’ भन्न थाले । कोही ‘रिक्वेस्ट क्यान्सिल गर्नुस्, त्यहाँ तोके जतिमा पुर्‍याइदिन्छु’ भन्थे । पठाओले कहिलेकाहीँ केही रकम छुट दिन्थ्यो, त्यो सुविधा प्रयोग गर्‍यो भने राइडर नै नभेटिने । अर्को ट्रिप भ्याउने लोभमा कोही बत्ताउँथे । त्यसमाथि पठाओको एप्समा चुस्त नभएर उस्तै तनाव । मोबाइल डाटाबाट चलाइरहेको हुन्छ, एप्स अपडेट नगरी चल्दै–नचल्ने । कहिले लोकेसन पत्ता लगाउनै दसौं मिनेट लाग्ने । गुनासो पोख्दा–पोख्दा हैरान ! थप तनाव नलिने, बरु पठाओ चलाउनै छोड्ने क्रान्तिकारी निर्णय गरियो ।


कत्तिले भन्न थाले, टुटल अलि सिस्टेमेटिक छ ।
टुटलिङका सुरुआती दिन सुखदै रह्यो । तर विश्वास टुट्न धेरै समय कुर्नुपरेन । नयाँ–नयाँ स्वरूपका सास्ती आइलाग्न थाल्यो । जस्तो ः एक दिन थापाथलीबाट दरबारमार्ग जान रिक्वेस्ट गरें । एक छिनमा राइडर आइपुगे, थोत्रो बाइक लिएर, चढ्नै पट्यार लाग्ने । तर के गर्नु, चढ्नु परिहाल्यो । सिहंदरबार हुँदै जाऊँ भन्दै थिएँ, उनले त्रिपुरेश्वरतिर लगे । पम्पअगाडि लगेर रोके र भनें, ‘तपाईंले कति दिनुपर्ने हो, पेट्रोल हालिदिनुस् ।’ अचम्भित भएँ किनभने भाडा जम्मा ६० उठेको थियो, त्यो पनि मैले टुटल ब्यालेन्सबाट तिरिसकेको थिएँ । उनलाई बेलिविस्तार लगाएँ, टेर्दै–टेर्दैनन् । बाइकमा पेट्रोल र आफूसँग पैसा नभएको दुखेसो पोखेँ । यस्तो बेला तपाईं के गर्नुहुन्छ ? मैलेचाहिँ खुरुक्क ६० दिएँ । बल्ल भटभटे गुड्यो । पछि थाहा भयो, बाइक साथीको रहेछ । उनलाई टुटल ब्यालेन्सबाट पनि भाडा तिर्न सकिन्छ भनेर थाहै रहेनछ ।


उदेक लाग्छ, कति राइडरलाई राम्रोसँग एप्स चलाउनै आउँदैन । एसेप्ट हुन्छ, पछि फोनमा भन्छन्, ‘ला मैले त झुक्किएर गरेछु, टाढा छु । तपाईं क्यान्सिल गर्नुस् न ।’ नेभिगेसन गरेको लोकेसनमा आइपुग्ने राइडर त असाध्यै कम हुन्छन् । कोही बेतोडले बत्ताउँछन्, अलि बिस्तार हाँक्नु न भन्यो भने ‘बाइक चढ्ने गर्नुभएको छैन’ भनेर मजाक गर्छन् । मोबाइलमा एउटा बाइक नम्बरबाट एसेप्ट भएको देखाउँछ, बाइक आउँछ अर्कै । यात्रा गर्दा आफ्नै मुडमा भइन्छ, प्रत्येक पटक गुनासो पोखेर साध्य हुन्छ ? प्रविधिको उच्च सदुपयोग भनेको यही हो ? खासमा टुटल–पठाओबीच राइडर्स थप्ने अस्वस्थ प्रतिस्पर्धाले भद्रगोल हुँदै गएको छनक मिल्छ । राइडरलाई स्वीकृति दिनुपूर्व यात्रुलाई गर्ने व्यवहार, एप्स चलाउने तरिकाजस्ता आधारभूत ज्ञान दिनुपर्ने होइन र ?


यात्रुको सुरक्षाको ताल उस्तै बेहाल छ ।
टुटलले सन् २०१७ जनवरी र पठाओले सन् २०१८ सेप्टेम्बरबाट दुईपाङग्रे यातायात व्यवसाय सञ्चालन गरेका हुन् । यदि उनीहरू यात्रुको सुरक्षामा संवेदनशील हुन्थे भने त्यतिबेलैबाट हेल्मेट अनिवार्य गर्थे । तर अहिलेसम्म छैन । ट्याक्सी चालकले नराम्रो व्यवहार गरे, मिटरमा जान नमाने ट्राफिकलाई खबर गर्न सकिन्छ । धेरै हदसम्म ठाउँको ठाउँ कारबाही हुन्छ । तर टुटल–पठाओबाट दुर्व्यवहार भोग्नुपर्‍यो, ठगिनुपर्‍यो भने कहाँ जाने ? ट्राफिकले त उनीहरूलाई उसै पनि देखिसहँदैन । त्यसैले उल्टै खुच्चिङ भन्ला भन्ने डर । यात्रुको बिमा खै ? त्यसैले करको मामलामा मात्र होइन, सञ्चालन शैलीमा पनि टुटल–पठाओलाई उचित दायरामा ल्याउनु जरुरी भइसकेको छ । बन्द होइन, नियमन चाहिएको छ ।


पछिल्लो एक महिनाको मेरो अनुभवले भन्छ, ट्याक्सी र अन्य सार्वजनिक यातायातबाट आजित भएका यात्रुलाई टुटल–पठाओ ‘तावाबाट उम्केर भुग्रोमा परे’ जस्तो हुँदै छ । यिनीहरूको साख र विश्वसनीयता सखाप भइसकेको छैन, धर्मराएको चाहिँ पक्कै हो । सुध्रिए टिक्लिान् । अन्यथा, स्वतः बहिष्कृत हुनेछन् ।


बजारको नियम यही हो ।
बजारबाहेक अर्को नियमचाहिँ सरकार, स्थानीय सरकार वा महानगरहरूका लागि छ । त्यो हो— गतिलो सार्वजनिक यातायातका लागि पहल । चालीस–पचास लाख जनसंख्या भएको काठमाडौं सहरको सार्वजनिक यातायात १० सिटे ट्याम्पु र १५ सिटे माइक्रोलाई लगाएर महानगर घुरेर सुत्न मिल्छ ? मुख्य रुटमा एकै पटकमा धेरै मानिस बोक्न सक्ने (कम्तीमा साझा बस जत्रा) ठूला बसलाई रुट र समयतालिका तोकेर नचलाउने हो भने अब काठमाडौंमा आफ्नै सवारी नहुनेले यात्रा गर्न मुस्किल छ । फुटपाथ यसै पनि छेउकै सटरवालाको कब्जामा छ, बाँकी ठाउँमा पार्किङ । सार्वजनिक यातायात नसुध्रेसम्म टुटल वा पठाओजस्ता सेवा क्षणिक सुविधाका मात्र कुरा हुन्, यी समाधान होइनन् ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?