खजाना खोलेजस्तो

मोहन मैनाली

जीवन र जगत्का बारेमा बुझाउन डा. तीर्थबहादुर श्रेष्ठ नेपाली लोकगीतको एउटा टुक्रा सापट लिन्छन्  । गीतले भन्छ– ‘चैत जाँदो वैशाख लाग्दो, सुन हजुर सालको पात पलायो  ।

त्यसपछि उनी भन्थे, चैत जाँदा/वैशाख लाग्दा सालको जुन रूखमा नयाँ पात पलाउँदैन, त्यो रूख मर्‍यो भन्ने ठान्नू ।


प्रकृतिको यो र यस्तै नियमका बारेमा बताउँदा धेरै वैज्ञानिकहरू जटिल पाराले भन्छन् । तर डा. श्रेष्ठ जनजिब्रोमा चल्तीका भनाइ/गीत/कवितामार्फत बताउछन् । प्रस्ट पनि हुने, सरल पनि हुने गरेर । २०७५ को चैत जाँदो र २०७६ सालको वैशाख लाग्दो उहीँ श्रेष्ठको नयाँ किताब ‘नेपाल अध्ययन (भाग १)ः भू–स्वरूप र हावापानी’ पढ्ने मौका मिल्यो । पढ्दै जाँदा लाग्यो यो किताब सरल र रोचक शैलीमा लेखिएको ज्ञान र अनुभवको भण्डार हो । ज्ञानको भण्डार नहोस् पनि कसरी ! निकै दुःखले भेला गरेका जानकारी र अनुभव यसमा छन् । २०२० साल अर्थात् म नजन्मँदैको कुरा रहेछ । डा. श्रेष्ठ वनस्पति अध्ययनका लागि पोखरासम्म प्लेनमा गएछन् । पोखराबाट हिँडेर टुकुचे अनि मुक्तिनाथ हुँदै पैदलै पोखरा फर्किएछन् । त्यसको तीन वर्षपछि फेरि पोखराबाट हिँड्न थालेछन् । यसपाली पोखराबाट पश्चिमउत्तर हानिएर ढोरपाटन पुगेछन् । त्यहाँबाट दुनै, जुम्ला खलंगा, रारा ताल । राराबाट फर्कंदा अहिले हामीले गर्नेजस्तो ताल्चाबाट प्लेन/गाडी चढेनछन् । भित्री हिमाल अर्थात् हिमालको दक्षिण हाँगो पार गरेर उत्तरी डोल्पा पुगेछन् । अनि कागबेनी, मुक्तिनाथ, घोडेपानी हुँदै पोखरा आइपुगेछन् । यो यात्रा ७५ दिनको रहेछ !


पत्रकारिताका सिलसिलामा जानकारी संकलन गर्दाका अनुभव बताउनुपर्ने ठाउँमा म थोरै गर्ब र धेरै दम्भका साथ भन्ने गर्थें– ‘गाडीको बाटोलाई छाडेर बेनीघाटबाट बूढीगण्डकी नदीको पानीढलो घुमेर मर्स्याङ्दीको पानीढलोमा पसेर गोरखा बजार आइपुग्दा मात्र गाडी हामीले गाडी देख्न पाएका थियौँ । यति बाटो छिचोल्न हामीलाई २६–२७ दिन लागेको थियो ।’ अब यसो भन्न मैले कि त छाड्नुपर्‍यो, कि त श्रेष्ठको यो किताब नपढेका/नपढ्ने मानसिको हूल फेला पार्नुपर्‍यो ! दुई वर्षपहिले डा. श्रेष्ठले मलाई मैले पैदल घुमेका ठाउँको नक्सा मागेका थिए । मैले फुर्तीसाथ नेपाल र त्यसको केही पश्चिममा पर्ने भारतका विभिन्न ठाउँमा म हिँडेको बाटो नक्सामा उतारेर दिएको थिएँ । अहिले आफैँलाई लाज लागेर आयो । म जन्मनुअघिदेखि अहिलेसम्म पनि निरन्तरजस्तो हिँडेर ज्ञान र अनुभव बटुलिरहने मान्छेका अगाडि जीवनको छोटो समयमा केही दिन पैदल हिँडेर जानकारी बटुल्ने मान्छेले फुर्ती लगाएकोमा । पैदल हिँडेर भेला गरिएका सामग्रीको महत्त्व र गुरुत्व अलग हुन्छ । ‘प्रकृति अध्ययनका क्रममा हाम्रा सबै इन्द्रिय परिचालन हुनुपर्छ,’ उनले भनेका थिए ।


पैदल हिँड्दा कुनै ठाउँको बिहान, दिन र रातको अवस्था थाहा पाइन्छ । आँखाले देख्छ, कानले सुन्छ, नाकले सुँघ्छ, छालाले त्यहाँको तापक्रम जाँच्छ, खुट्टा र फोक्सोले आफू हिँडिरहेको ठाउँको भिरालोपन र उचाइ नाप्छन् । गाडीमा त्यो पनि एयरकन्डिसनर गाडीमा हिँड्दा यस्तो केही हुन पाउँदैन । त्यसैले श्रेष्ठ भन्छन्– ‘जुन ठाउँमा म रात बसेको हुन्नँ त्यो ठाउँ पुगेँ भन्दिनँ ।’ श्रेष्ठका साथमा जानकारी संकलन गर्नका लागि केही साधन पनि साथमा थिए– उचाइ नाप्न अल्टिमिटर, दिशा पत्ता लगाउन कम्पास, बाटो पत्ता लगाउन नक्सा, फोटो खिच्न क्यामरा । आफूले भेटेका मानिसलाई उनले ‘परम्परागत ज्ञानका भण्डार’ भनेका छन् । यी सबै कुराको संयोजन गर्ने भित्री आँखा अर्थात् वनस्पति, भूबनोट र समाज अध्ययन गर्ने ज्ञान पनि थिए लेखकसँग । उनको अनुभवले भन्छ, ‘...खोजपूर्ण यात्रामा निस्कियौँ भने हिमालयको काखमा कतै लुप्त अवस्थामा, कतै गुप्त अवस्थामा त कतै सुप्त अवस्थामा सानाठूला भूस्वर्ग भेट्छौँ ।’


काठमाडौँको आकाशबाट सोझो पश्चिम हानिँदा ९० किलोमिटर मात्र टाढा गोरखा जिल्लामा पर्छ एउटा यस्तो भूस्वर्ग । त्यस अलौकिक ठाउँको नाम हो चुम उपत्यका । त्यस ठाउँबारे उनले लेखेका छन्, ‘नेपालमा सबैभन्दा कम सुनिएको, कतिपय नेपालीले थाहै नपाएको, मानवबस्ती र प्राचीन संस्कृतिले सुसज्जित त्यो विशाल उपत्यका सबैतिरबाट लुकीबसेको छ ।’ त्यो ठाउँ पुग्न उनलाई ९ दिन लागेछ । यसबाट नेपालका भूस्वर्गका एउटा विशेषता प्रस्ट हुन्छ— नजिक भईकन पनि टाढा हुने विशेषता । आफ्नै देशमा भएका यस्ता भूस्वर्गमा जिउँदै पुगेर फेरि मर्त्यलोकमा फर्कन पाउने अवसर हामीसँग छ । श्रेष्ठले किताबमा वर्णन गरेको त्यो स्वर्गमा म पनि पुगेको थिएँ २०५१ सालमा । निकै दिन हिँडेर । तर त्यस स्वर्गमा पुग्दा, त्यहाँ बस्दा मैले त्यहाँका कैयन विशेषता थाहा पाइनँ । खासमा, मैले त्यस ठाउँलाई चिनेको रहेनछु किनभने त्यति बेला म आफ्ना दुईवटा बन्द आँखा लिएर गएको थिएँ । यो किताबमा त्यस ठाउँका बारेमा पढेपछि ती आँखा खुलेका छन् । अर्थात्, यस किताबले मलाई दुईवटा भित्री आँखा दियो जसका सहायताले अब म त्यस भूस्वर्गलाई चिन्न सक्छु । अब फेरि जान पाएचाहिँ त्यो उपत्यकालाई राम्ररी देख्ने रहेछु मैले ।


यस पुस्तकमा अरू पनि धैरे कुरा छन् । भूकडी र भूसेतु, जलवायु परिवर्तन र पहाड, पानी, महत्त्व बोकेका केही स्थान, भूकम्प र हामी गरी पाँचवटा खण्डमा छरिएका २१ वटा निबन्धमा तिनै ठाउँलाई भूस्वर्ग बनाउने जीवित र निर्जीव तत्त्वका कुरा छन् । यस पुस्तकमा संग्रह भएका सामग्री यसअघि शिक्षक मासिकमा छापिएका थिए । त्यसो भनेर यिनका सन्दर्भ कत्ति पनि पुराना भएका छैनन् । ‘अँध्यारोमा बसेका मानिसलाई बिजुलीको उज्यालो भएका ठाउँमा पु‍र्‍याउनु एउटा कुरा हो भने अँध्यारोमा बसेका मानिसबीच बिजुली पु‍र्‍याउनु अर्कै कुरा हो,’ श्रेष्ठले एक ठाउँमा लेखेका छन् । यो विकासको मोडेलको कुरा पनि हो । कुनखालको विकास कसरी गर्ने भन्ने कुरा पनि हो । अहिले अँध्यारोमा बसेका मानिसलाई बिजुली पुगेका ठाउँतिर तान्ने/धकेल्ने खालको विकास भइरहेको छ । त्यसले गर्दा बिजुली पुगेका र नपुगेका दुवै ठाउँको बिजोग भएको छ । लेखकले भनेझैँ गर्नसके नेपालका गाउँ बाँझो बसेका अनि खानेकुरा विदेशबाट बेसाउनुपरेको खबर सुन्नुपर्दैनथ्यो होला ।


पश्चिम नेपालको कैलालीमा पर्ने प्रसिद्ध ताल घुमेपछि श्रेष्ठले लेखेका छन्, ‘घोडाघोडी सिमसारमा भेटिने हल्का प्याजी जीउ र कटुस रङको लामो गर्धन भएको पर्पल हिरनलाई ध्यानी बकुल्ला भन्न सुहाउँछ । यसको ध्यान मुद्रा र त्यसबेलाको अंगविन्यास निकै आकर्षक हुन्छ ।’ वरपरका कुनै पनि कुराबाट विचलित नभईकन एकाग्र भएर त्यो ध्यानी बकुल्लाले ध्यानचाहिँ केमा दिइरहेको हुँदो हो ? ‘माछा, छेपारो वा भ्यागुत्ता नजिक पर्नासाथ यिनको (अर्थात् ध्यानी बकुल्लाको) सिकारी झट्का मिलिक्क बिजुली चम्केसरह छिटो हुन्छ । आफ्नो ताक र त्यसको ताल यसले बिराउँदैन । प्रायः अचुक हुन्छ,’ उनले लेखेका छन् ।


निहुँ बकुल्लाको, कुरा त हामी मान्छेको पो हो यो । घोडाघोडी सिमसारको होइन नेपाल नामक दलदलको पो हो । आलोपालो गरी हाम्रा कार्यकारी निकायमा जाने गाढा राता, खुइलिँदै गएका राता अनि खरानी रङका, आकर्षक ध्यानमुद्रा र अंगविन्यास भएका, गर्धन छोटै भए पनि हात लामा भएका ध्यानी प्रजातिका राजनीतिक नेता पनि त यस्तै ध्यान गर्दैछन् हैन र ? आफ्ना मालिकअनुकूलका, तिनलाई अनुकूल हुने गरी भाँचकुच पारिएका जानकारी र तिनका आधारमा गरिएका अपव्याख्या हामीलाई पस्कने, थरीथरीका रङका ध्यानी प्रजातिका बुद्धिजीवी पनि त्यसै गरिरहेका छैनन् र ! ध्यानी प्रजातिका भ्रष्टाचार निवारक पनि त्यसै गरिरहेको देखेका छौँ हामीले । बैंकबाट निकाल्न नमिल्ने पैसा ‘निकाल्न दे’ भनी आदेश दिने न्यायाधीशको प्रजाति पनि त ध्यानी नै होला ! सिकार नजिक पर्नासाथ यी सबै ध्यानीको झट्का मिलिक्क बिजुली चम्केसरह छिटो हुँदैन र ? यिनको पनि त निसाना प्रायः अचुक हुन्छ ।


विपद् आइलाग्नुभन्दा पहिले सूचना दिन सके धेरै मानिसको ज्यान जाँदैन । केही वर्षअघि आएको एउटा विपद्बारेमा उनले लेखेका छन्, ‘हुडहुड आउँदै छ भन्ने मौसम पूर्वानुमानका समाचार मनाङमा चौंरी चराउने गोठालाहरूले १२ घण्टा जति अगाडि मात्र पाएका भए आठ ज्यान हिउँमा पुरिनुपर्ने थिएन । ...आठ नेपालीसहित १२ पर्यटकको मृत्युको खबर सुन्नुपर्ने थिएन । ...अब त चेतौँ ।’ ‘ज्यान जाला चेत्दिनँ’ भनेर बसेपछि कहाँ चेतिन्छ र ? उनले यो कुरा लेखेको झन्डै साढे चार वर्षपछि हिजोअस्ति बारा पर्सामा भुइँभुमरी आउनुअघि हामीले त्यसको खबर दिन सकेनौँ । जलवायु परिवर्तनले गर्दा यसअघि भोग्नु नपरेका भुमरीजस्ता विपद् आउँछन् भनेर डा. श्रेष्ठले नै निकै पहिले हामीलाई सचेत गराएकै थिए ।


‘स्कुल लिभिङ सर्टिफिकेट कन्ट्री लिभिङ सर्टिफिकेट नबनोस्,’ यस किताबको अन्तिम वाक्य पढेका बेला नेपालका अखबारमा कोरिया जाने परीक्षाको फारम भर्न लम्बेतान लाम लागेको खबर छाएको थियो । नेपाल पसेपछि आकाशको जाममा चक्कर लगाउन बाध्य हवाइजहाज ‘कन्ट्री लिभिङ सर्टिफिकेट’ बोकेका मानिस त बोकेर नेपाल बाहिरिन्छन् । कुनै किताब किताबमात्रै हुन्छन् । कुनै किताब किताब त भइहाल्छन्, ती थप ज्ञान आर्जन गर्नका लागि कच्चा पदार्थ पनि हुन्छन् । यो यस्तै किताब हो जसमा भएका ज्ञानको उपयोग गरेर नेपाली समाजले थप ज्ञान आर्जन गर्छ । कसैले लेखेको पढेको थिएँ । पत्रकार र साहित्यकारमा एउटा समानता हुन्छ । त्यो हो– उनीहरू कुनै पनि कुरालाई फरक किसिमले हेर्छन् र फरक पाराले प्रस्तुत गर्छन् ।

'नेपाल अध्ययन (भाग १) : भू–स्वरूप र हावापानी'
लेखक : डा. तीर्थबहादुर श्रेष्ठ
प्रकाशक : शिक्षक मासिक
मूल्य : रु, ३०० ।–


यो किताब पढेका भए ती मानिसले भन्ने थिए— वनस्पतिविद् र साहित्यकार एउटा कुरामा समान हुन्छन् । उनीहरू जुनसुकै कुरालाई पनि रोचक पाराले प्रस्तुत गर्छन् । किताबबाट एउटा उदाहरण हेरौँ । समुद्रको सबैभन्दा गहिरो पिँध कति गहिरो होला ? लेखकले किलोमिटरमा बताइदिएका छन् । तर, यसले उनको चित्त बुझेनछ । लेखे, ‘सगरमाथालाई त्यहाँ लगेर डुबाइदिने हो भने त्यसको शिखर पानीभन्दा दुई किलोमिटर तलै डुबैको हुन्छ ।’ किलोमिटरले बोधो खालको जानकारी मात्र दिन्थ्यो । नेपाली पाठक अति धेरै परिचित रहेको सगरमाथासँग तुलना गरेर लेखकले यसलाई छर्लंग पारिदिए ।


२०७२ सालको भुइँचालोपछिका आतंकपूर्ण रातको सम्झना उनले शान्त भएर गरेका छन्, ‘संसारभरका कुकुरको कान सापटी लिएर चनाखो भएझैँ सिंगो रात अनिदै बित्न थाल्छन् ।’ भुइँचालो गएको एक हप्तापछि धरहरामुनि (ए होइन, धरहरा भएको ठाउँमुनि) पुगेका लेखकलाई लाग्यो, ‘धरहरामुनि बसेर चिच्याउँदै चक्काजाम र नेपाल बन्द गराउने लाखौँ कार्यकर्ताका हातहरू आज कहाँ पुरिए ? एउटा इँटा उठाउने मानिस छैन । ...धरहराको आकाशमा एउटा ठूलो भ्वाङ परेको रहेछ । आकाश रित्तो लाग्यो । सधैँ धरहराको सुरिलो उचाइसँग आकाश पुग्ने मेरा आँखासामु खुला आकाश थियो । भ्वाङ परेको आकाश किनभने त्यहाँ धरहरा थिएन ।’


सधैँभरि हाँसिरहने फूललगायतका वनस्पतिको अध्ययनले हो कि, जन्मजात क्षमताले हो कि, रुचिले पो होला कि, कि घुमेका ठाउँ अनि भेटेका मान्छे, संगत गरेका साहित्यकार अनि अध्ययन गरेका साहित्यले हो कुन्नि डा. श्रेष्ठको कलम रोचक बाटो भएर हिँड्छ । यत्रो दुःख गरेर भेला गरेका, आफ्नो लामो र सदा सक्रिय जीवनका अनुभवसँग घोलेर सुन्दर प्रस्तुतिमा उनिएका यस किताबका सामग्री पढ्न अल्छी ग‍र्‍यौँ भने त हामी लास्टै अल्छीमा गनिएलाउँ कि !


यो पुस्तक ‘पढ्न त पढ्ने हो तर अलि पछि’ भन्न पनि नमिल्ने भएको छ किनभने यस पुस्तकको प्रकाशक शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले यसै किताबमा लेखेका छन्, ‘नेपाल अध्ययनको यस शृंखलाका दोस्रो र तेस्रो भाग पनि आउँदै छन् ।’ यसो भन्नुको अर्थ यसो होला ः यो पुस्तक मीठो छ भनेर पढ्ने बेलामा धेरै फारु नगर्नुहोला किनभने श्रेष्ठले नै लेख्नुभएका, यस्तै मीठा अरू दुईवटा किताब चाँडै तपाईंको हात पर्छन् ।


यस शृंखलाका बाँकी भागमा र यही भागको अर्को संस्करणमा चाहिँ मलाई एउटा ठूलो पेजमा छापिएको नेपालको नक्सा पनि पढ्न मन लागेको छ जहाँ डा. श्रेष्ठले हिँडेको पैदल बाटो, त्यो बाटो हिँडेको साल, त्यो बाटो हिँड्न लागेको समय आदि कोरिएका होऊन् । त्यो नक्सा हेरेर उनले हिँडेको बाटो हिँड्न नसके पनि उनको किताब पढ्दै गर्दा आफू पनि त्यही बाटो हिँडेको सुखद कल्पना त गर्न सक्छु नि ! प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३

प्रतिक्रिया
पठाउनुहोस्

जस्तामुनि बालबालिका

भवानी भट्ट

कञ्चनपुर — जस्ताको छानो । तीनतिर जस्ताकै बार । बाहिर पोल्ने घाम, भित्र हपहपी गर्मी । त्यही छानोभित्र लहरै मिलाएर राखिएका बेन्चहरूमा शिशुदेखि ३ कक्षासम्मका बालबालिका बसेका छन् । उनीहरू पसिना पुछ्दै कोही लेखिरहेका छन् त कोही एकआपसमा खेलिरहेका छन् । गर्मी थेग्न नसकेर बालबालिका बिहानै सुस्ताइरहेका हुन्छन् । 

'दिउँसोको समयमा त जस्ता तातेर असाध्यै गर्मी हुन्छ, बालबालिकामा पढ्ने जाँगरै हराउँछ, त्यही भएर अलि चाँडै बिदा गर्छौं' कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित जनता आधारभूत विद्यालयको टिनको छाप्रोमुनि बालबालिका । तस्बिर : भवानी/कान्तिपुर

महाकाली किनारमै रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित जनता आधारभूत विद्यालयको अवस्था हो यो । विद्यालयको पुरानो भवन महाकाली नदीमा निर्मित पुल आयोजनामा परेपछि भत्काएर नयाँ बनाउन लागिएको छ । तत्कालका लागि अस्थायी रूपमा उक्त जस्ताको छाप्रो निर्माण गरी पठनपाठनको काम चलिरहेको हो ।

'दिउँसोको समयमा त जस्ता तातेर असाध्यै गर्मी हुन्छ, बालबालिकामा पढ्ने जाँगरै हराउँछ, त्यही भएर अलि चाँडै बिदा गर्छौं,' विद्यालयका प्रधानाध्यापक उर्वादत्त मिश्राले भने, 'पुरानो भवनमा पनि जस्ताकै छानो थियो, त्यसमा पनि गर्मी निकै बढी हुन्थ्यो ।' महाकाली पुल आयोजनाबाट प्राप्त मुआब्जाले अर्काे भवन निर्माण भइरहेको उनले बताए । उक्त भवनमा जस्ताको छानो नहाली ढलान गर्ने योजना रहेको उनले सुनाए ।

जब ९/१० बज्छ गर्मी चढ्दै जान्छ । बालबालिका मात्रै होइनन्, शिक्षकशिक्षिकाहरूलाई पनि भित्र कसरी बस्ने भन्ने चिन्ताले सताउन थाल्छ । महाकाली किनारबाट तातो हावा र बालुवा उडेर आउँदा त सबै कक्षाकोठाभित्रै पस्छ । जस्ताले बनाएको छानो तातेर भित्र त के नजिकसमेत बस्न सकिने अवस्था हुँदैन । शिशु कक्षाका बालबालिकालाई पनि यही ठाउँमा राखेर पढाइ चलिरहेको छ ।

महाकाली किनारको जनता आधारभूत विद्यालयमा मात्रै यो समस्या छैन । जिल्लाका प्रायः सबै विद्यालयमा यतिबेला गर्मीका कारण कक्षाकोठाभित्र पसी नसक्नु समस्या भएको विद्यार्थी र शिक्षकहरू बताउँछन् । सामुदायिक र निजी सबै विद्यालयमा जस्ताकै छानो भएका कक्षाकोठा हुंँदा निकै समस्या भएको छ । 'कक्षाकोठाभित्र पस्नै डर लाग्छ, १० बजेपछि त जस्ता तातेर राप आउँछ,' बेलौरी नगरपालिका १० भुडाको भगवानपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानु आग्रीले भने, 'बालबालिका पनि गर्मीले कक्षाकोठामै पढाउदा पढाउँदै निदाउने र पढाइमा जाँगर नलाग्ने समस्या देखिन्छ ।'

उनका अनुसार प्रायः जस्ताको छानो भएका कोठामा तल्लो कक्षाका बालबालिकालाई बसाउने गरिन्छ । प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमले बालबालिकालाई लक्षित गरेर शैक्षिक सामग्रीहरू जस्ताकै छानो भएका कक्षाकोठामा राखेकाले उनीहरू बढी प्रभावित हुने गरेको उनले बताए ।

जलवायु परिवर्तनको असरले वर्षेनी गर्मी बढ्ने क्रममा छ । पश्चिम तराईको कैलाली र कञ्चनपुरमा अधिकतम तापक्रम वैशाख मध्यमै ४२/४३ डिग्री सेल्सियस पुग्न थालेको छ । गत वर्ष जेठ मध्यमा भएको गर्मी यस वर्ष एक महिनाअघि वैशाखमै भएको छ । यस्तो गर्मीमा जस्ताका छानामुनि बालबालिका राखेर पढाउन नसकिने अवस्था आएको शिक्षकहरू बताउँछन् ।

'अब यसको विकल्प खोज्नुपर्छ, विद्यालयमा मौसमअनुसार गर्मी र चिसो नहुने खालका निमर्ाण सामग्रीको प्रयोग गरिनुपर्छ,' भगवानपुर माविका प्रअ आग्रीले भने, 'वैशाख जेठमा त कक्षाकोठामा पस्न साह्रै समस्या हुन थाल्यो ।'कञ्चनपुरमा २ सय ६१ सामुदायिक विद्यालय छन् । त्यतिकै हाराहरीमा निजी विद्यालय पनि छन् ।

सामुदायिकमा विभिन्न दातृ निकायले वितरण गरेका, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र अन्यले पनि जस्ताकै छानो बनाउने कुरालाई प्राथमिकतामा राख्दै आएका छन् । तर अब भने यसलाई प्रतिस्थापन गर्नुपर्ने बेला आएको अभिभावकहरू बताउँछन् ।

'हरेक वर्ष दिनमा गर्मी झन्झन् बढ्दै जाने देखिन्छ,' अभिभावक संघ कञ्चनपुरका अध्यक्ष वीरबहादुर चन्द भन्छन्, 'त्यसकारण कक्षाकोठाहरू पनि त्यहीअनुसार बालबालिकामैत्री हुनुपर्छ ।' उनले जस्ताकै छानो बनाए पनि भित्र गर्मी रोक्नेखालका चटाई वा प्लाइ लगाउनुपर्ने बताए ।

साढे ३ दशक शिक्षण पेसामा संलग्न चन्दका अनुसार उनको पालाभन्दा अघिदेखि नै कक्षाकोठामा जस्ताको प्रयोग हुन थालेको हो तर त्यतिबेला गर्मी कम हुन्थ्यो । केही वर्षयता गर्मी निकै बढेकाले अब विकल्प खोज्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×