नीरु राजवंशीका नेप्लिकाना अफेयर्स

कुमारजी उवाच
कुमार नगरकोटी

काठमाडौँ — नीरु राजवंशीको मनभित्र एउटा ग्रेभयार्ड थियो । यू मे कल इट अ नेप्लिकाना ग्रेभयार्ड, यू सी ! त्यो ग्रेभयार्डमा एउटा सर्रियल क्याफे थियो । क्याफेभित्र एउटा ग्यालेरी थियो । ग्यालेरी कुनै इन्स्टलेसन आर्टिस्टले बनाइदिएको हुनुपर्छ, जो निकै भव्य थियो । कलात्मक एवं सभ्य थियो । 

सहरको कोलाहलमा जब मेरो प्राण छटपटाउँथ्यो, त्यस्तो बखत नीरु राजवंशीको मृदुल आवाज मेरो कानमा गुन्जिन्थ्यो : सपनाहरूलाई गाँस, प्रार्थनाहरूमाझ अलिकति हाँस। तानपुराको तार कस अनि सन्तुर छेवै बस। मैले गाउने राग मल्हारको आलापद्वार हुँदै तिमी ग्यालरीभित्र पस।

त्यसपछि म सुटुक्क ग्यालरीभित्र पस्थें। चुपचाप त्यहाँ हराउँथें। ग्यालेरीको कुनाकाप्चामा बाँसुरीको गिलो धुन एकनासले बजिरहन्थ्यो। ओसिला भित्ताहरूमा कहिलेकाहीं तानपुराको सुस्केरा रसाउँथ्यो।

तानपुराको सुस्केरा रसाउने भित्तामा किताबका तस्बिरहरू लहरै झुन्डिएका हुन्थे। काठका कलात्मक फ्रेमभित्र सजिएका ती तस्बिर अद्भुत देखिन्थे।
फ्रेमिल किताबहरू प्रेमिल लाग्थे। केही स्वप्निल लाग्थे।

नीरु राजवंशी किताब अनुरागी थिई। अ प्यासोनेट बुक लभर, यू सी ! किताबहरूलाई ऊ प्राणसरी प्रेम गर्थी। किताब उसको पूजा थियो, किताब नै प्रार्थना। किताब उसको प्रेमी थियो, किताब नै उसको परमात्मा।

अनेक भावमुद्रामा विवर्ण किताबहरूको ऊ सुन्दर तस्बिर खिच्थी। र, तिनलाई प्रेमपूर्वक ग्यालेरीका भित्तामा सजाईवरी राख्थी। किताबप्रति उसको अलौकिक अनुराग देखी म भावशून्य हुन्थें।
एक दिन म त्यही ग्यालेरीमा थिएँ। तस्बिरहरू हेरिरहेको थिएँ।

भित्तामा झुन्डिएको थियो ओशोको : द धम्मपद। युवाल नोहा हरारीको : होमो डियोस, अ बि्रफ हिस्ट्री अफ टुमरो। काजुओ इसिगुराको : एन आर्टिस्ट अफ द फ्लोटिङ वर्ल्ड।

सिल्भिया प्लाथको : द बेल जार भित्तामा झुन्डिएको थियो। त्यसैगरी झुन्डिएको थियो रुपी कौरको : मिल्क एन्ड हनी। र, एलिफ सफकको : द फोर्टी रुल्स अफ लभ।

ड्यान ब्राउनको- द लास्ट सिम्बोल- त्यहीं थियो र त्यहीं थियो फन्ज काफ्कको : मेटामर्फोसिस।
सबैसबै लेखकहरू किताबसितै भित्तामा झुन्डिएका थिए। पाउलो काहेल्लो र अ विनर स्ट्यान्ड्स अलोन। ओह्रान पामुक र द रेड हेयर्ड वुमन। डिएच लरेन्स र वुमन इन लभ। एलिजाबेथ गिल्बर्ट र इट प्रे लभ।

हारुकी मुराकामीको- काफ्का अन द सोर- उपन्यासको तस्बिरले मलाई निकै आकषिर्त गर्‍यो। त्यसलाई म अचल-अपलक हेरिरहेको थिएँ। कालो कपाल फिंजाएर मुराकामीको तान्त्रिक उपन्यासले आफ्नो मुहार छोपी ओछ्यानमा ढलेकी नीरु राजवंशी मलाई निकै मायावी एवं हिप्नोटिक युवती लाग्थ्यो। तस्बिरले मलाई एकाहोरो बनायो।

यस्तैमा कसलैले बोलेको सुनियो, 'तपाईंसँग लाइटर छ?'

मेरो ध्यान भंग भयो। एकाग्रतामा भ्वाङ पर्‍यो। पछाडि फर्की हेरें। मेरो सामु शंकर लामिछानेको भूत उभिएको थियो। भूतसित हात मिलाएँ। खल्तीबाट लाइटर निकालेर दिएँ। 'लाइटर बोक्नेसित सिग्रेट पनि त होला नि !' भूतले भन्यो।

खल्तीबाट सिग्रेटको प्याकेट निकालें। प्याकेटबाट दुई खिल्ली निकालेर ओठमा च्यापें। भूतले दुवै सिग्रेट सल्काइदियो। एउटा आफूले थुत्यो र एक सर्को तान्दै भन्यो, 'नीरु राजवंशीले भित्तामा विदेशी लेखकका किताबहरू मात्र झुन्ड्याएकी रै'छे। कि कसो?' मैले भनें :

-त्यसो होइन।
-त्यसो नभए कसो हो त?
-नीरुले स्वदेशी किताबहरू अर्को भित्तामा झुन्ड्याएकी छे।
-त्यसो भए अर्को भित्तातिर जाऔं न त !

शंकर लामिछानेको भूतलाई मैले ग्यालेरीको अर्को भित्तातिर पुर्‍याएँ। त्यो भित्तामा स्वदेशी लेखकहरु थिए। स्वदेशी किताबका तस्बिरहरू थिए। भूपि शेरचनको : घुम्ने मेचमाथि अन्धो मान्छे। केशवराज पिँडालीको : खै खै। लक्ष्मीप्रसाद देवकोटाको : कुञ्जिनी। मनु ब्राजाकीको : तिम्री स्वास्नी र म। विश्वेश्वरप्रसाद कोइरालाको : सुम्निमा। गोविन्द वर्तमानको : सोह्र साँझ। पारिजातको : शिरीषको फूल। इन्द्रबहादुर राईको : आज रमिता छ।

के छ रे? रमिता छ बाबै रमिता !

भूतले- एब्स्ट्राक्ट चिन्तन प्याज- को तस्बिर हेरेपछि मुस्कुराउँदै भन्यो, 'मेरो किताबसित त सिटामोलका चक्कीहरू पो राखिएका रहेछन्। आई एम इम्प्रेस्ड। आई लभ द आइडिया।'

भूतले अरु तस्बिरहरू पनि चाखपूर्वक हेर्‍यो। सरुभक्तको : बाङ्गाटिङ्गा धर्साहरू। सरस्वती प्रतीक्षाको : नथिया। राजेन्द्र पराजुलीको : अघोरी। सुविन भट्टराईको : पि्रय सुफी। नीलम कार्की 'निहारिका' को : योगमाया। खगेन्द्र लामिछानेको : फूलानी। अमर न्यौपानेको : पानीको घाम। बुद्धिसागरको : कर्नाली ब्लुज।

श्यामलको 'रित्तो गाउँ' को तस्बिर हेरेपछि भूत केही भावुक भइगयो। भन्यो :
-अरु तस्बिर अरु बेला हेरौंला। टाइम चैं बरु के भयो?
-यहाँ टाइमको कुरा नगर्नुस्। - मैले भनें।
-किन नगरूँ?
-नगर्नुस् भनेपछि नगर्नुस्।
-किन नगरूँ?

'किनभने' मैले भनें, 'टाइम डज नट एक्जिस्ट हियर। हामी अहिले नीरु राजवंशीको मनभित्र छौं। र, यहाँ सयमको कुनै अस्तित्व छैन।'
................

नगरकोटी र लामिछानेका भूतहरू जो छन्, सो छन्। ती भूतहरूलाई अब हामी गे्रभयार्डको ग्यालेरीमै छाड्नेछौं। तिनको कुनै चर्चा गर्नेछैनौं।

बरु चर्चा गर्नेछौं नीरु राजवंशीको एनिग्मेटिक संसारको।
अब प्रस्तुत छ नीरु राजवंशीसित सम्बन्धित किताबसित जोडिएका केही सेलेक्टेड प्रसंगहरू। कथा-किस्साहरू। एक प्यासोनेट बुक लभरको मायावी संसारमा सबैलाई स्वागत छ।

घाटमान्डु
तपाईंको हातमा- घाटमान्डु- थियो जसलाई केही दिनअघि मात्र न्युरोडको फुटपाथबाट तपाइर्ंले उठाउनुभएको थियो। किताबलाई किन किन तपाईं घाटमा पढ्न चाहनुहुन्थ्यो। तसर्थ सेप्टेम्बरको एक अपराह्न पाशुपत क्षेत्रको एउटा परित्यक्त बेन्चमा बसी किताबको पहिलो कथा- आयुचोर- पढिरहनुभएको थियो।

मानिसको आयु चोर्दै हिँड्ने कथाको पात्रले तपाईंलाई विस्मित तुल्याएको थियो। यस्तैमा आउट अफ नो ह्वेर एउटा छायाँ सुटुक्क आई बेन्चमा बस्यो।

छायाँले तपाईंको ध्यान खिचिहाल्यो। छायाँमा देखिएको केशराशिले गर्दा उक्त छायाँको स्वामी स्त्री प्रजातिको हुनुपर्छ, यस्तै लख काट्नुभयो। छायाँले तपाईंसित भन्यो, 'घाटमा बसी किताब पढिरहनुभा'छ। पक्कै पनि यो किताब नगरकोटीको हुनुपर्छ। एम आई राइट?'

तपाईंले प्रश्नको कुनै जवाफ दिनुभएन। मौन बसिरहनुभयो। तपाईंको मौनतालाई टर्मिनेट गर्ने हेतु छायाँले पुन: भन्यो, 'किन जवाफ नदिएको? केही त बोल्नुस्।' तपाईंले भन्नुभयो :

-म छायाँसित बोल्दिनँ। छायाँ त फगत माया हो।
-वेल सेड। गुड। द्याट्स लाइक अ नगरकोटियाना रिडर !
-थ्याङ्क्स।
-छायाँको कायासित चैं बोल्नुहुन्छ?
-यस अफकोर्स ! कायासित चैं बोल्छु।

हेर्दाहेर्दै छायाँ युवतीको कायामा ट्रान्सर्फम भई। मेटामर्फोज्ड भई। कायान्तरित युवतीले बडो मायावी अन्दाजमा भनी, 'द नेम इज नीरु। नीरु राजवंशी। तपाईंको सहरमा मलाई स्वागत गर्नुस्।'

तपाईंले भन्नुभयो, 'स्वागत छ।'

यसरी सेप्टेम्बरको एक अपराह्न घाटमा- घाटमान्डु- पढ्दै गर्दा नीरु राजवंशीसित तपाईंको पहिलो भेटघाट भएको थियो। घाटमा भेटघाट हुुनु एक सुखद संयोग थियो। यो भेटघाट अकल्पनीय त थियो नै, तपाइर्ंको निम्ति ज्यादै अविस्मरणीय पनि थियो।

पल्पसा क्याफे
जहाँसम्म तपाईंलाई सम्झना छ, नीरु राजवंशीसित तपाईंको दोस्रो भेटघाट नारायण वाग्लेको- पल्पसा क्याफे- मा भएको थियो। ठमेलस्थित यो क्याफेमा भेट्ने आइडिया तपाईंकै थियो।

तपाईं- पल्पसा क्याफे- को नियमित ग्राहक हुनुहुन्थ्यो। साँझको बेला। सुनसान वातावरण। पाश्र्वभूमिमा नेपथ्य ब्यान्डको इन्टोक्सिकेटेड गीत मन्द मन्द गुन्जिरहेको थियो : खान्न म त लामपाते सुरती/लाऊँ कि नलाऊँ जुग जाने पिरती।
नेप्लिकाना कफी पिउँदै तपाईंहरू आ-आफ्नो रुचिबारे गफिँदै हुनुहुन्थ्यो। यस्तैमा नीरु राजवंशीले सोधी, 'ढोकाको ढुंगेमूर्ति कसको हो?' तपाईंले क्याफेको इन्ट्रान्सतिर हेर्नुभयो जहाँ लाइफ-साइज्ड-ढुंगेमूर्ति हिँडी नै पो हाल्ला कि जस्तो गरी उभिएको थियो। तपाईंले भन्नुभयो, 'त्यो नारायण वाग्लेको मूर्ति हो।'

-नारायण वाग्लेको मूर्ति?
-हो, नारायण वाग्लेको मूर्ति।
-वाग्ले किन कसरी मूर्ति हुन पुगेछन् त?
-यसको किंवदन्ती सुनेकी छैनौ?
-कस्तो किंवदन्ती?

त्यसपछि तपाईंले मूर्तिको किंवदन्ती सुनाउन लाग्नुभयो। उक्त किंवदन्तीलाई अब मुनिका हरफहरूमा लिपिबद्ध गरिनेछ।
पल्पसा क्याफेको- अकर्डिङ टु यु- ओपनिङ नाइटको कुरा हो। यो क्याफेमा नारायण वाग्लेले आफ्नो बेस्ट सेलिङ उपन्यासका सबै पात्रहरूलाई निम्तो गरे। प्रमुख, उपप्रमुख, सहप्रमुख सबै पात्रहरूले लेखकको निम्तो स्वीकार गरे। क्याफेमा भेला भए। रामरमितो गरे।

फिमेल पात्रहरूले ह्विस्की अन द रक्स लिए। मेल पात्रहरूले मिल्क सेक।

एक जना फिमेल पात्रलाई मिस्टर वाग्ले, द उपन्यासकारसित भयानक रिस उठेको रहेछ। उपन्यासमा आफूलाई पर्याप्त स्पेस नदिएका कारण तिनी आक्रोशित भएकी रहिछन्। तिनले मिस्टर वाग्लेलाई भनिन्, 'किताबमा मेरो भूमिका काटिदिने? मैले बोल्ने डाइलगमाथि कैंची छुरी चलाउने? मेरो चरित्रचित्रणमा जम्मा पचपन्न शब्दहरू मात्र खर्चने? मिस्टर वाग्ले, तपाईंको मन ढुंगाको रै'छ। अब तपाईंको तन पनि ढुंगा हुनेछ। आजको मितिदेखि तपाईं ढुंगा बन्नुहुनेछ। तपाईंलाई एउटी लेडी पात्रको श्राप भयो।'
त्यही साँझ नारायण वाग्ले ढुंगाको किङसाइज्ड मूर्तिमा कायान्तरण भए। ऊ ढोका छेवै उभिई 'पल्पसा क्याफे' मा आउने ग्राहकजनलाई मौन स्वागत गर्न थाले।

किंवदन्ती सुनेर नीरु राजवंशी नि:शब्द भई। नारायण वाग्लेप्रति उसको मनमा दया पलायो। आफ्नो डीएसएलआर क्यामेरा बोकी ऊ ढोकातिर गई। मूर्तिलाई सहानुभूतिपूर्वक हेरी। र, फोटो खिची, खिचिक्क।

खिचिक्क के हुनु थियो, मिस्टर वाग्ले फिसिक्क मुस्कुराए। लामो शीतनिद्राबाट ब्युँझिएजस्तो गरी आफ्नो आङ तन्काए। दसैंको फूलपातीमा मन्सिएको बोकोझैं थर्रर कामे। नीरु राजवंशीलाई फ्याट्ट भने, 'उपन्यासमा मैले तपाईंको निम्ति जम्मा पचपन्न शब्द मात्र खर्च गरें भन्दैमा तपाईंले मलाई यति ठूलो श्राप दिन मिल्छ? मलाई ढुंगाको मूर्ति बनाउन पाइन्छ?' नीरु राजवंशीले भनी :
-पाइँदैन, कदापि पाइँदैन।

-त्यही त भन्या ! तपाईंले ममाथि घोर अन्याय गर्नुभयो।
-अन्याय गरेकी थिएँ। अहिले न्याय गरें।
-के म अब श्रापयुक्त भएँ?
-मैले तपाईंलाई श्रापमुक्त गरें।

चकलेट
नीरु राजवंशीलाई एक दिन चकलेट खान मन लाग्यो। र, ऊ लागी जंगलतिर।
त्यसो त चकलेट सहरमा नै पाइने हो। तर त्यो दिन सहरी चकलेटमा नीरु राजवंशीको कुनै रुचि, दिलचस्पी थिएन। उसलाई त जंगली च्याउसरी- माफ गर्नुस्- चकलेट नै खानु थियो। तसर्थ ऊ जंगली चकलेटको खोजीमा जंगलतिर प्रस्थान गरेकी थिई।
निकै बेरको हिँडाइपछि ऊ एउटा बगैंचाजस्तो ठाउँमा पुगी।

बगैंचा सुखद आश्चर्यले भरिएको थियो। त्यहाँ विभिन्न रूपरंगका फूलका बोटहरू थिए। बोटहरूमा चकलेट फलेका थिए। बगैंचाको एक कुनामा एक जना मानिस भुइँमा गोडमेल गरिरहेका थिए। कोही आएको चाल पाएर उनले मुन्टो उचाले। एउटी जवान ट्रेसपासरलाई बगैंचामा देखेर उनी केही आश्चर्यमा परेजस्तो देखिए। नजिक आई उनले नीरु राजवंशीसित भने, 'नमस्कार ! मेरो नाम नयनराज पाण्डे हो। म यो चकलेट बगैंचाको माली हुँ।' नीरु राजवंशीले सोधी :

-माली कि मालिक?
-मालिक होइन। माली नै हुँ। तपाईंलाई कस्तो चकलेट दिऊँ?
-मिठो चकलेट दिनुस्।
-फूलको बोटमा फक्रेको चकलेट दिऊँ कि भुइँमा उम्रेको चकलेट?
-मलाई भुइँ चकलेट दिनुस्।

नयनराज पाण्डेले नीरु राजवंशीलाई बगैंचाको केही पर पुर्‍याए। भुइँमा च्याउसरी उमि्रएका चकलेटहरू देखाउँदै उनले भने, 'मन लागे जति टिप्नुस्।' नीरु राजवंशीले मन लागे जति चकलेट टिपी। केही चकलेटहरू उसको प|mकको गोजीमा राख्दै दयालु मालीले भने, 'मेरा पाठकहरू सहरमा बस्छन्। यी चकलेट उनीहरूलाई बाँडिदिनू। भन्नू नयनराज पाण्डेले जंगलबाट पठाइदिएको हो।'

जुनेली
जुनेली रातको निस्तब्ध सन्नाटामा बा. ९० प ७० नम्बरको कालो बाइक काठमान्डुका सडकमा गुड्यो। मानिसहरू भन्थे, त्यो बाइकका स्वामी ब्रजेशलाई जुनेली रातमा निद्रा लाग्दैन थियो।
मानिसहरू सही भन्थे।

जुनेली- उपन्यास निस्केदेखि ब्रजेश जुनेली रातहरूमा निदाउन सकिरहेका थिएनन्। उनको निद्रा हरण भएको थियो। औंसीको १५ रात त तैबिसेक ठीकै थिए, उनलाई मस्तसित निद्रा लाग्थ्यो। सपना पनि राम्रै देख्थे। किन्तु बाँकी १५ जुनेली रात उनलाई निकै कष्ट हुन्थ्यो। बाइक चढी चकमन्न सडकमा घुम्न निस्कन्थे। रातको यायावर बनी सहरका गल्ली, उपगल्लीहरू चहार्थे।
आज पनि त्यस्तै रात थियो। जुनेली रात।

कालो बाइक लगनखेल हुँदै, जावलाखेल हुँदै, पुलचोक हुँदै, कुपण्डोल हुँदै मन्द-मन्द गतिमा अघि बढिरहेको थियो। थापाथलीको पुलमा बाइक रोकियो। पुलको वल्लो किनारदेखि पल्लो किनारसम्म रातो मखमली कार्पेट बिछ्याइएको थियो।
ब्रजेश बाइकबाट ओर्लिए। कार्पेटमा चुपचाप हिँड्न थाले।

हिँड्दै उनी थापाथलीको क्रसरोडमा पुगे। क्रसरोडमा बरफको टेबल थियो। बरफकै दुइटा कुर्सी थिए। एउटामा एउटी युवती बसेकी थिई। अर्को खाली थियो। त्यसमा ब्रजेश बस्नुपर्ने थियो। उनी बसे।
युवतीले- जुनेली- समातेकी थिई। सोधी, 'अन्तत: आइपुग्नुभयो होइन त?' ब्रजेशले आइपुगें भने। र, टेबलको हिमक्रिम चाखीवरी मुख मिठ्याउँदै भने :

-तर म कहाँ आइपुगें?
-मेरो मनभित्र। - युवतीले भनी।
-तपाईंको मन सुन्दर रहेछ।
-सबै लेखकहरू त्यसै भन्छन्। -युवतीले भनी।

दुईबीच कुराकानीको सिलसिला आरम्भ भइगयो। तपाईं मेरो किताब पढ्दै हुनुहुन्छ !
हो, म तपाईंको- जुनेली- पढ्दैछु। यस्तो रातमा? हो, यस्तो रातमा। तपाईं कहाँ बस्नुहुन्छ? म लेखकहरूको दिमागभित्र बस्छु। के काम गर्नुहुन्छ? किताबहरूको फोटो खिच्ने काम गर्छु। तपाईंको नामचैं के हो? मेरो नाम नीरु राजवंशी हो, तर तपाईं मलाई फकिरा भन्न सक्नुहुन्छ। फकिरा? यस फकिरा।

फकिराले हरियो ह्यान्ड ब्याग खोली र भित्रबाट एउटा सिगार निकाली। ब्रजेशको हातमा सिगार थमाइदिँदै भनी, 'टेक दिस नेप्लिकाना सिगार।' नेप्लिकाना सिगार? यस यायावर, नेप्लिकाना सिगार। मैले सुनेकी छु, जुनेली रातहरूमा तपाईंलाई निद्रा लाग्दैन। त्यस्तो बेला यो नेप्लिकाना सिगार सल्काउनुस् र सुत्नुस्। तपाईंलाई गहिरो निद्रा लाग्नेछ। तब फकिरा, यो सिगार त सकिइहाल्छ नि ! त्यसपछि म के गरूँ?

त्यसपछि तपाईं मेरो मनभित्र आउनुस्। नेप्लिकाना सिगार लिनुस्। तपाईंलाई यसै गरी म रातो कार्पेट ओछ्याएर स्वागत गर्नेछु। जुनेली रातमा यो क्रसरोडमा म तपाईंलाई पर्खिबस्नेछु।

नेलकटर
यज्ञश, अ भुइयाँ मानव एक साँझ पाटनको योमरी गल्लीसित सुफियाना मोनास्ट्रीको मिलारेप्पा हलमा स्पेसल स्त्रिmनिङ भएको फिल्म- ट्राभलर्स एन्ड मजिसियन्स- हेरी बाहिर निस्के। मोनास्ट्रीको विशाल कोर्टयार्डमा एउटा अचम्मलाग्दो दृश्य देखेर उनी चमत्कृत भइगए।

भुइयाँ मानवलाई चमत्कृत पार्ने दृश्य यस प्रकार थियो : १५/२० जना भिक्षु/भिक्षुणीहरू लाममा लस्करै उभिएका थिए। लस्कर चुपचाप अघि बढिरहेको थियो। यो लस्करलाई हामी लस्कर-ए-तौवा भन्न सक्छौं।

नीरु राजवंशी लस्करमा उभिएका भिक्षु/भिक्षुणीहरूलाई नेलकटर बाँडिरहेकी थिई। एउटा उदयप्रकाशको किताब- नेलकटर- र अर्कोचाहिँ नङ काट्ने नेलकटर।

किताबसितै नेलकटर पाएर भिक्षु/भिक्षुणीहरू बडो प्रसन्न भएका थिए। यज्ञश पनि लाममा उभिए। उनलाई सायद मनमनै लागेको हुँदो हो : म पनि भिक्षु नै हुँ, किनकि केशमुण्डन गरेको छु। चिन्डे भएको छु। केवल चीवर वस्त्र धारण नगरेको मात्र हुँ। नत्र त कपाल खौरेकै छु, टुप्पी पनि सफाचट पारेकै छु।

केही बेरको बेसब्री इन्तजारपश्चात् अन्तत: यज्ञशको पनि पालो आइहाल्यो। उनको हातमा किताब र नेलकटर थमाइदिँदै नीरु राजवंशीले भनी, 'अहो यज्ञशजी ! कस्तो सुन्दर संयोग। किताबको अनुवादकलाई यहाँ भेटेर म आनन्दित भएँ। यस्तो किताब अनुवाद गरेर तपाईं धन्यवादको पात्र भइजानुभएको छ।'

यज्ञश प्रसन्न भए। बडो आह्लादित मुद्रामा उनले भने, 'तपाईं पनि कमाल गर्नुहुन्छ नीरुजी ! यसरी किताबसितै नेलकटर बाँड्नुहुन्छ !' नीरु राजवंशीले भनी :

-आज मेरो बर्थ डे हो नि त !
-तपाईंलाई बर्थ डे मुबारक छ।
-थ्याङ्क यु। अनि बर्थ डे गर्ललाई कफी खुवाउने चलन छैन?
-छ छ छ। किन छैन !
दुवै जना त्यसपछि मोनास्ट्री छेवैको मिस्टिकाना क्याफेभित्र छिरे। नेप्लिकाना कफी अर्डर गरे। बर्थ डे चियर्स गरे।

पाठशाला
नीरु राजवंशी रातो स्कुटीमा एक बिहान कतै गइरहेकी थिई। एउटा सुनसान मोडमा एक बालकले हात दिएर उसलाई रोक्यो। बालक स्कुल ड्रेसमा सजिएको थियो। घाँटीमा तुम्लेट झुन्ड्याएको थियो। ढाडमा पुन्टे स्कुल ब्याग बोकेको ऊ निकै सुन्दर थियो। परन्तु यस्तो सुन्दर बालक सुँक्कसुँक्क गरी किन रोइरहेको थियो?

नीरु राजवंशीले उसलाई क्याडवरी चकलेट दिई। आँसु पुछिदिई। बालकले भन्यो, 'आन्टी, मलाई पाठशाला पुर्‍याइदिनुस् न ! मलाई साथीहरूले छाडेर गए।' बालकलाई स्कुटीको सिटमा राख्दै उसले भनी, 'साथीहरूले छाडे भन्दैमा यसरी रुनुहुँदैन नि त ! छाडिजाने मानिसहरू जीवनको मोडमा अनेक आउँछन्, जान्छन्। जाने मान्छेहरूप्रति आँसु चुहाउनुहुँदैन। हस्?' बालकले हस् भन्यो। उसले सोधी, 'बाबुको पाठशाला कहाँ छ?' बालकले जवाफ दियो, 'मेरो मनमा छ।'

बालकको जवाफ सुनेर नीरु राजवंशी आश्चर्यचकित भई। उसले भनी, 'कस्तो ठूलाबडाले जस्तो बोलेको ! साँच्चि भन त ! ठूलो भएपछि तिमी के बन्छौ?' बालकले भन्यो :

-म लेखक बन्छु।
-कस्तो राम्रो ! लेखकहरू संसारका राम्रा मानिस हुन्।
-म राम्रो मानिस बन्छु।
-बाबुको नामचैं के हो नि?
-मेरो नाम तीर्थ गुरुङ हो।

यस्तैमा पाठशाला आइपुग्यो। बालक स्कुटीबाट ओर्लियो। थ्याङ्क यू आन्टी भन्यो। बाई भन्यो। हिँड्न थाल्यो। किन्तु दुई चार पाइला हिँडेपछि अडियो। अलिक बेर घोत्लिएपछि उसले भन्यो, 'ठूलो भएपछि मैले लेख्ने किताबको नाम के पो राख्ने होला आन्टी?' आन्टीले फ्याट्ट भन्नुभयो :

-पाठशाला।
-पाठशाला?
-हो बाबु ! तिम्रो किताबको नाम- पाठशाला- हुनेछ।

त्यसपछि बालकको गालामा मायाले मुसार्दै आन्टीले भन्नुभयो, 'तीर्थ, तिम्रो नाम नै कति सुन्दर छ। जीवन स्वयम् एक तीर्थ हो। तीर्थयात्रा हो। तिमीले जीवनमा अनेक तीर्थयात्रा गर्नेछौ। तीर्थयात्राका अनेक मोड र घुम्तीहरूमा तिमीले प्रेम, विश्वास र श्रद्धाहरूको पाठशाला देख्नेछौ। तिनै पाठशालाहरूलाई तिमीले आफ्नो किताब- पाठशाला- मा लिपिबद्ध गर्नेछौ। तीर्थ, तिम्रो तीर्थयात्रा सफल हुनेछ।'

काठमान्डुमा एक दिन
काठमान्डुमा एक दिन बम विस्फोट भयो।

त्यसको भोलिपल्ट कस्तो भयो भने यस्तो भयो : सहरका सम्पूर्ण डेरावासीहरूको मनमा आफू बस्दै आएको डेरा सरिहाल्नुपर्ने इम्पल्सिभ इच्छा जागृत भयो। परिणाम, सबै जना डेरा खोज्ने उपक्रममा लागे। आफू बसेको घर परिवर्तन गर्न थाले।
त्यो दिन सहरको दृश्य अभूतपूर्व देखियो। सामान लादिएका गाडीहरू सहरभरि छ्याप्छ्याप्ती देखिए। के साइकल, के मोटरसाइकल? के ठेला, के टिपर? सबै बाहनहरू सामान ओसार्नमा प्रयोग भए। एम्बुलेन्स तथा शवबाहनलाई समेत छाडिएन।

राजधानीबासीहरू गुन्टा, झोलीतुम्बा बोकी नयाँ डेराको खोजमा यत्रतत्र सर्वत्र भौंतारिएका देखिए। यस्तो उदेकपूर्ण दृश्य देखेर शिवानीसिंह थारू बडो रनभुल्लमा परिन्। बम विस्फोटमाथि उपन्यास लेख्ने योजना बनाइरहेकी मिस थारूलाई एक मनमा लाग्यो : बम विस्फोटमाथि होइन, डेरा सरिरहेका यिनै मानिसहरूमाथि पो किताब लेख्नुपर्छ कि क्या हो !

मनमा अनेक कुरा खेलाउँदै शिवानीसिंह थारू सडकमा हिँडिरहेकी थिइन्। सहरको एकलास गल्लीमा उनले एउटी युवती देखिन्। युवती हि्वलब्यारो गुडाउँदै अर्कै दिशाबाट आइरहेकी थिइ।

युवती नजिकै आइपुगी। मिस थारूको नजर हि्वलब्यारोमा थुपि्रएका किताबहरूको चाङमा पर्‍यो। कस्तो अचम्म ! ती सम्पूर्ण किताबहरूको नाम थियो : काठमाडौंमा एक दिन। रिटन बाई शिवानीसिंह थारू।

आफूले लेख्दै नलेखेको किताब देखेर मिस थारू आश्चर्यचकित परिन्। ह्विलब्यारोबाट एउटा प्रति निकालिन्। पानाहरू सर्ससर्ती पल्टाइन्। युवतीसित बोलिन्, 'कस्तो ताज्जुब ! यो किताब त लेख्नै बाँकी छ।' युवतीले भनी, 'चिन्ता नगर्नुस्। एक दिन जरुर लेख्नुहुनेछ।'

शिवानीसिंह थारू अक्क न बक्क परिन्। ह्विलब्यारोतिर टोलाउँदै उनले भनिन्, 'तपाईं पनि डेरा सर्दै हुनुहुन्छ?' युवतीले सर्दैछु भनी।
-तपाईंका सामानहरू त देख्दिन त।
-यिनै किताबहरू मेरा सामान हुन्।
-कस्तो अचम्म ! तपाईं को हुनुहुन्छ?

-म नीरु राजवंशी हुँ। म सकम्बरीको घरमा पेइङ गेस्ट बन्न जाँदैछु।
-को सकम्बरी?
-'शिरीषको फूल' पढ्नुभा'छैन? उसैको घर जाँदैछु। खै बाटो छाड्नुस्।
शिवानीसिंहले बाटो छाडिदिइन्। नीरु राजवंशी ह्विलब्यारो गुडाउँदै अघि बढी। सकम्बरीको घरतिर। पेइङ गेस्ट बन्न। एकलास सडकमा मिस थारू अलमलिएर उभिइरहिन्।

खुसी
नीरु राजवंशी एक दिन एकाबिहानै खुसीको खोजमा निस्कि।
चियापसलेलाई सोधी, 'एक कप खुसी दिनुस्।' चियापसलेले यहाँ खुसी पाइँदैन भन्यो। एउटा किराना पसलमा पुगेर उसले सोधी, 'साहुजी, यहाँ खुसी पाइन्छ?' साहुजीले पाइँदैन भन्यो।

सहरका अनेक ठाउँहरूमा उसले खुसी खोजी। मल, मार्ट तथा डिपार्टमेन्टल स्टोरहरूमा खुसीको तलास गरी। किन्तु खुसी कतै थिएन। खुसी देख्नुभा'छ कि भनी सोध्दा स्वास्नीहरूले देखेका छैनौं भने। लोग्नेहरूले एकमुस्ट जवाफ दिए, 'खुसी कुन चराको नाम हो मैयाँ?'

उसले करोडपतिहरूलाई सोधी, 'खुसी काँ गयो?' उनीहरूले भने, 'जतासुकै जाओस्, हामीलाई छु मतलब?' रोडपतिहरूलाई सोध्दा उनीहरूले भने, 'खुसी हामीसित यतै कतै बस्थ्यो। अचेल काँ गयो, थाहा छैन।'

सहरमा त्यो दिन नीरु राजवंशीले केवल उदास एवं हतास मुहारहरू देखी। खुसी कहीँ कतै फेला पारिन। उसलाई लाग्यो, सहरबाट खुसी हरायो। लापत्ता/बेपत्ता भयो।

अस्ताचलको बेला खुसी हराएको रिपोर्ट लेखाउन ऊ प्रहरीचौकी गई। उसलाई सोधियो, 'के हरायो रे?' उसले भनी, 'खुसी। खुसी हरायो। कृपया सर्च वारेन्ट जारी गर्नुस्।'

नीरु राजवंशीको कुरा सुनेर प्रहरी निरीक्षक ट्वाँ पर्‍यो। अनि कपाल कन्याउँदै सक्दो मिजासिलो बन्न खोज्दै उसले भन्यो, 'म्याडम, तपाईं गलत ठाउँमा आइपुग्नुभएको छ। कृपया मानसिक अस्पताल जानुस्।'

पैताला
नीरु राजवंशी पाटन दरबार स्क्वायरमा- पैताला- किताबका शब्दहरू रु. ५ प्रतिगोटा बेचिरहेकी थिई। ग्राहकहरू शब्द किन्न बेचैनीसाथ लाममा उभिएका थिए। उनीहरू- पैताला- उपन्यासमा संगृहीत शब्दहरू किन्न आतुर, व्यग्र थिए।
नीरु राजवंशी ग्राहकहरूले इच्छाएका शब्द चिम्टाले टिप्थी र उनीहरूको अञ्जुलीमा थपक्क राखिदिन्थी। बदलामा उनीहरू पाँच रुपैयाँका नोट दिन्थे। आफ्नो पालो आएपछि एउटा ह्यान्डसम नवयुवकले भन्यो, 'मलाई 'बुलाकी' दिनुस्। गर्लप|mेन्डलाई गिफ्ट दिनु छ।'

नीरु राजवंशीले- पैताला- का पानाहरू सरर्र पल्टाई। बुलाकी शब्दलाई उसले पेज नम्बर १७ मा फेला पारी। त्यसलाई जतनसित चिम्टाले टिपी र नवयुवकलाई दिई। नवयुगक दंग परी बुलाकी लिई गर्लफ्रेन्ड बस्ने गल्लीतिर गयो।

ग्राहकहरू थरीथरीका थिए। थरीथरीका शब्दहरू माग्थे। कोही राज्य माग्थे त कोही कुर्सी। कोही पद माग्थे त कोही प्रतिष्ठा। नीरु राजवंशी सबैका हातमा तत्तत् शब्दहरू थमाइदिन्थी।

दुवै नाडीभरि ट्याटु नै ट्याटु खोपाएको एउटा अधबैंसेले भन्यो, 'मलाई घृणा, तिरस्कार, तृष्णा, अहंकार र लोभ चाहियो। म डबल पैसा तिर्न तयार छु।' नीरु राजवंशीले विनम्रतापूर्वक भनी, 'माफ गर्नुस्, महोदय, यो किताबमा त्यस्ता शब्दहरू छैनन्। बरु दया, माया, आत्मीयता, प्रेम र करुणा छन्। यी शब्दहरू लिएर घर जानुस् र परिवारहरूमाझ बाँड्नुस्।'

सुन रे सियाराम
श्रवण मुकारुङको गीत- सुन रे सियाराम- किताबमा पढेर अनि त्यही गीतलाई युट्युबमा सुनेर/हेरेर एक अपराह्न नीरु राजवंशी व्यथित भई। उसले सोची : श्रवण मुकारुङहरूले जति नै चिच्याएर बोले पनि कसैले सुनिरहेका छैनन्। सहरमा प्रशस्त सियारामहरू छ्यालब्याल छन् जो कविता या गीत सुन्दैनन्। किनभने उनीहरूको कान कानेगुजीले भरिएको छ।

नीरु राजवंशीको एक मनले सोध्यो, 'त्यो कानेगुजी निकाल्न के चाहिन्छ?' उसको अर्को मनले उत्तर दियो, 'कटन बड्स चाहिन्छ।' त्यही अपराह्न ऊ एउटा डिपार्टमेन्टल स्टोर गई र एक झोला कटन बड्स किनी।

त्यसपछि एउटा क्याफेमा बसी उसले तमाम सियारामहरूको लिस्ट बनाई जसको कान कानेगुजीले भरिएको छ। लिस्टमा अधिकांश पोलिटिसियनहरू थिए। सरकारी अफिसरहरू थिए। बडेबडे ओहोदामा बसेका बडेबडे हाकिम साहेबहरू थिए। ती सबैको कानेगुजी सफा गर्नुपर्ने भयो। तिनीहरूलाई एक-एक प्याकेट कटन बड्स होम डेलिभरी गर्नुपर्ने भयो।

नीरु राजवंशीलाई यो काममा क्याफेका वेटर एवं वेट्रेसहरूले साथ दिने भए। उनीहरूले 'सुन रे सियाराम' नामक अभियान नै चलाए। अभियानमा सयौंको संख्यामा मानिसहरूले हात जुटाए। घरदैलो कार्यक्रम गरे। जनताका कुरा नसुन्ने भ्रष्ट पोलिटिसियन र नागरिकका कष्ट नबुझ्ने दुष्ट सरकारी कर्मचारीहरू सबैलाई कटन बड्स दान गरियो।
भनिन्छ, पोलिटिसियनहरूको कानबाट मात्रै एक क्विन्टन कानेगुजी निस्क्यो।

भुइँखाट
महेशविक्रम शाह प्रहरीको डीआईजी भई भर्खरै मात्र कणर्ाली प्रदेशको हेडक्वार्टर सुर्खेतमा पोस्टिङ भएका थिए। उनको दिमागमा कथाका नयाँ नयाँ प्लटहरू सलबलाउँथे तर व्यस्तताका कारण उनी लेख्न सकिरहेका थिएनन्। एक दिन उनी साहित्यिक मुड बनाउन काँक्रेविहार जंगल गए।

जंगलमा उनको भेट नीरु राजवंशीसित भयो।

नीरु राजवंशी सुकेका पात-पतिंगरहरूमा बसी- भुइँखाट- पढिरहेकी थिई। सुनसान जंगलमा आफ्नै किताब पढिबसेकी युवती देखेर महेशविक्रम शाह खुसी भए। दुवैले परिचय आदानप्रदान गरे। दिनभरमै जानपहिचान भइहाल्यो।

कुरैकुरामा नीरु राजवंशीले भनी, 'भुइँखाट किताब त लेख्नुभयो, के तपाईंको घरमा भुइँखाट त छ?' कथाकारले किन नहुनु छ भने। बडो प्रफुल्लिँदै थपे पनि, 'तपाईं चाहनुहुन्छ भने आजको रात मेरो पाहुना बन्नुस्। मेरो घरको भुइँखाटमा मस्तसित निदाउनुस्। चाहनुहुन्छ?' नीरु राजवंशीले बिल्कुल चाहन्छु भनी।

त्यो दिन ऊ महेशविक्रम शाहकी पाहुना बनी। भुइँखाटमा सुती।

भोलिपल्ट बिहान महेशविक्रम शाह पाहुनालाई ब्रेकफास्टसितै पर्खी बसे। तर पाहुनाको भने अत्तोपत्तो थिएन। प्रतीक्षा लामो भएपछि उनी पाहुना-कक्षको ढोका ढक्ढकाउन थाले। चाइँचुइँ केही आएन।

ढोका यसो धकेलेको, पूर खुल्यो। कोठामा पाहुना थिइनन्। केवल रित्तो भुइँखाट थियो। भुइँखाटको मध्यभागमा उनकै किताब- भुइँखाट- थियो। किताबलाई १७ वटा बिस्कुटले गोलो घेरा बनाइ सजाइवरी राखिएको थियो : भुइँखाटमा।
नीरु राजवंशी भने अलप भइसकेकी थिई।

एपिलग
नीरु राजवंशीलाई देख्ने-भेट्ने महेशविक्रम शाह नै अन्तिम लेखक थिए। उनको भुइँखाटबाट गायब भएकी नीरु राजवंशीलाई तहाँउप्रान्त कसैले देखेको-भेटेको छैन। ऊ एकाएक कतै अलप भई, कसैलाई थाहा भएन।

नीरु राजवंशी एक रहस्यमय पहेली बनी।

कसैकसैले भने, 'नीरु राजवंशी नगरकोटीको फगत एक स्वप्निल कल्पना हो। यथार्थमा ऊ कतै थिइन, छैन र हुने पनि छैन।' यद्यपि उसलाई देख्ने-भेट्ने ब्रजेश, शिवानीसिंह थारू तथा यज्ञशहरूको मत छ, 'नीरु राजवंशी जरुर थिई, छे र सधैं हामीहरूमाझ रहने छे।'
नीरु राजवंशी फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत कुनै पनि खालका सामाजिक सञ्जालबाट डिलिट भइसकेकी थिई।

एउटी प्यासोनेट बुक लभर अस्तित्वबाट एकाएक विलिन भएकोमा लेखकहरूमाझ घोर निराशा छायो। सबैभन्दा चिन्तित एवं दु:खी त महेशविक्रम शाह थिए। डीआईजीकै क्वार्टरबाट एउटी ज्युँदीजाग्दी युवती अलप भएकी थिई। सम्भव भए जति सबै ठाउँमा खोजीकार्यका निम्ति उनले प्रहरी परिचालन गरे। इन्भेस्टिगेसन गरे। किन्तु नीरु राजवंशीले कतै क्लु पाइएन।

एक दिन महेशविक्रम शाह आफ्नो क्वार्टरको त्यही पाहुना-कोठामा थिए। बिस्कुटमा घेरिएको- भुइँखाट- हेरिबसेका थिए। उनको सेलफोन बज्यो। फोन रिसिभ गरे। फोनमा उनले कुनै वृद्ध महिलाको आवाज सुने, 'तपाईंको भुइँखाटमा नीरु राजवंशी अन्तिम पटक देखा परेकी थिई, होइन?

महेशविक्रम शाहको मुटु ढक्क फुल्यो। उनले भने, 'हो। तपाईं को बोल्दै हुनुहुन्छ?' वृद्ध महिलाको कम्पित आवाज सुनियो, 'म सकम्बरी हुँ। नीरु राजवंशी मेरो पेइङ गेस्ट थिई। ऊ जसरी आएकी थिई, त्यसरी नै गई।'

-कहाँबाट आएकी थिई? कहाँ गई?
-ऊ भविष्यबाट आएकी थिई। अतीततिर गई।
-के भन्न खोज्नुभएको हो? मैले बुझिनँ।
-नीरु राजवंशी टाइम ट्राभलर थिई।
-टाइम ट्राभलर?
-हो, टाइम ट्राभलर। भविष्यबाट आएकी थिई। अतीततिर गई।

प्रकाशित : वैशाख २८, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्

पारियात्र र महामेरु

बंगालका राधानाथ सिकदरले 'माउन्ट फिफ्टिन’ भनेर जर्ज एभरेस्टभन्दा अघि नै तोकेका विश्वको सर्वोच्च पहाडलाई कृष्ण द्वैपायन व्यासले महाभारत लेख्दा नै पहिल्याइसकेका थिए 
सौरभ

स्थानविशेष हो पारियात्र । कहाँ पर्छ ? माथिको चर्चा हो यो । सुरु गरौं यसरी– गण्डकीमाथिका दुई प्रचलित पुस्तकहरू हातमा आइपुगे । तर तिनमा गण्डकी नदीको नाम–परिचयमाथि समेत ध्यान गएको लागेन । यसैले पहिला गण्डकीको नामसूची दिइन्छ ।

कोण्डोसटेस : यस्तो नाम दिएका हुन् गण्डकीलाई ग्रीक मूलका एरियनले, इस्वीको दोस्रो शताब्दीमा । जति बेला उनी उत्तर भारतमा मेसेडोनियनहरूका राजदूत थिए । यो अनौठो सुनिए पनि गण्डकीकै रूपान्तरण हो ।

चक्रनदी : गण्डकीलाई यो नाम दिने भागवत्को पाँचौं स्कन्ध हो । भागवत् २५ सय वर्षअघि लेखिएको मानिन्छ ।


गण्डकी : यो नाम महाभारतका धेरै ठाउँमा आउँछ । आदिपर्व, सभापर्व, वनपर्व आदि । गण्डकीको उल्लेख गर्ने महाभारत लेखिएको समय इसापूर्व ६०० लाई मानिएको छ । तर गण्ड ऋषिबाट गण्डकी बनेको जानकारी दिने सुरुमा हिमवत् खण्ड हो । त्यसलाई अरूले पछ्याएका छन् ।


गण्डसह्वाया : यो नाम गण्डकीकै निम्ति हो भन्ने भारतीय विज्ञहरूको ठहर छ । महाभारतको वनपर्वमा यो नाम आउँछ । उक्त विचार पीबी काणेको हो । शिवराम आप्टेले पनि सोही जनाएका छन् ।


चिगचौडी : अघि यहाँ मगर भाषाको प्रभाव हुँदा कालीगण्डकीलाई चिगचौडी भन्दथे । (पृ. ४४ कालीको छाल– कालीभक्त पन्त)
गल्लिका : यो नाम पद्म पुराणमा आउँछ । भारतीयहरूले गल्लिकालाई गण्डकी नै मानेका छन् । पद्म पुराण २४ सय वर्षअघि लेखिएको मानिन्छ ।


तमसा : कालो भन्नाले तमस अर्थात् कालीगण्डकीकै नाम तमसा हो भन्ने बुझिन्छ । जसको किनारमा चित्रवन अर्थात् चितवन र वाल्मीकि आश्रम छ पनि । यद्यपि अहिले एउटा सानो नदीलाई मात्र तमसा भन्ने चलन छ ।


सदानीरा : यो नाम सतपथ ब्राह्मणमा सर्वप्रथम उल्लेखित छ गण्डकीका निम्ति । संस्कृत अर्थ हो, सधैं पानीले भरिभराउ हुने । तर लाटो अर्थमा सदासर्वदा नीलो देखिन्छ । किनभने यसमा पोखरीमा जस्तो काई र लेउ बन्नै पाउँदैन । यसैले मगर भाषाको हरियोबोधक गन शब्दमा खोलाबोधक डी मिलेर गण्डकी बनेको हो भन्ने निर्क्योल (गुरुङ, २०६१) सही लाग्दैन ।


शालग्रामी : यस शब्दको स्रोत बराह पुराणमा आधारित छ । त्यो भनाइ हो, जसमा विष्णुले शालिग्रामलाई ग्रामप्रस्तरको रूपमा तिमीमा सधैं रहन्छु भनी वरदान दिए ।


गण्डिका : अपर गण्डिका र अपूर्व गण्डिका ब्रह्माण्ड पुराणले पनि नाम लिएको छ । माल्यवान पर्वतको पूर्वी शिखरबाट पूर्व गण्डिकाको प्रादुर्भाव भएको छ भनेर अर्को पुराणले भनेको छ । त्यहाँ अपर गण्डिकाको उल्लेख पनि छ । रूखकटहर र काली आँपको उल्लेख पनि भएको छ । काली आँपलाई नेपालको रैथाने भन्ने चलन छ । यद्यपि रूखकटहर भने मलेसियाको रैथाने मानिन्छ ।


वेणु : गंगामाथि अन्य पवित्र नदीका साथ त्रिपुरारीका रथमा गण्डकी वेणु नामले रहे । यसरी गण्डकीले वेणु नाम पाएको छ मत्स्य पुराणबाट ।


चक्षु : हिमालयको एक नदीको नाम हो ब्रह्माण्ड पुराणले भन्यो । आँखाजस्तो देखिने शालिग्राम चक्रबाट यस्तो नाम बनेको बुझिन्छ । नील पर्वतको दक्षिणतिर बग्दै पश्चिम लाग्ने नदीलाई चक्षु नाम दिएको छ । अर्को पुराणले । जोमसोमको पूर्वपट्टिको भागलाई नीलपर्वत नै भनिन्छ । पारट र खस देश भएर बग्छ भनेपछि चक्षु कुन नदी हो भन्ने अरू टड्कारो छ । चक्षु नदी सुरुमा रामायणमा आउँछ ।


बस्वोकसारा : महाभारतका सप्तसिन्धु अर्थात् गंगा, यमुना, प्लक्षगा, रथस्था, सरयु, गोमती र गण्डक वा बस्वोकसारा भनी यसरी गण्डकीले नयाँ नाम पाएको छ । यो नाम भारतीयहरूले दिएका हुन् ।


लमजुङको याङ्जाकोट नजिकैको बाक्स्वारासँग यो मिल्न गएको छ । स्वाराको अर्थ पाखो जमिन खारेर बनाइएको कान्ला हो । तर बाक्स्वारामा परेको स्वारा अब त्यस्तो देखिएन ।


सप्तधारा : कोसी र गण्डकीको नाम पहिले सप्तधारा थियो (पेज १२, नेपाल र नेपाली– गोविन्दप्रसाद भट्टराई)

नगमालिका : १६–१७ सय वर्षअघि पनि गण्डकी नगमालिका भनिन्थ्यो । यसो भनेका छन् योगी नरहरिनाथले ‘हाम्रो मौलिकता’ भन्ने पुस्तिकाको पेज १९ मा ।


ठ्याक्कै चौथो शताब्दीमा कालिदासले लेखेका छन् :


हिमालयो नामः नगाधिराज ।
सम्भवतः यही देखेर योगीले त्यसो भनेका हुन् । नगको अर्थ पहाड हो ।


तर गण्डशैल शोभा अर्थात् गण्डकी किनारका पहाड लेखेका छन्, केशरबहादुर केसीले उनको पुस्तक ‘द जुडिसियल कस्टम्स अफ नेपाल’ को भूमिकाको पृष्ठ ७ मा ।


हिरण्यवती : ‘साकर्ड बुक अफ द इस्ट’ सम्पादन गर्दा पेज ८५ र पेज ४५३ मा म्याक्समुलरले उल्लेख गरेका हिरण्यवती गण्डकीका निम्ति हो भन्ने ठनाइ भारतीयहरूको छ ।


एक लेखकको लेखाइ छ— गण्डकी प्रसवण क्षेत्रका घाट र टारहरूमा बोटे, दरै र कुमालहरूको बसोबास पाइन्छ । घाटमा डुंगा चलाएर जीविका निर्वाह गर्नेलाई पानीबोटे र नदीको बालुवा चालेर सुन निकाल्नेलाई सुनाबोटे भनिन्छ (पेज ३०, गुरुङ २०६१) यसैले हिरण्यवतीबारेको मन्तव्य सही नै देखिन्छ ।


यमुना : घाटु नृत्य नाटिकामा सप्तगण्डकीलाई सात यमुना भनेको छ । –पेज १८४, गुरुङ २०६१) यसबाट गण्डकीको एक अर्को नाम थाहा हुन्छ ।


‘वारि जमुना पारि जमुना’ भन्ने एक गुरुङकै लोकगीतले जगमान गुरुङको लेखोटलाई समर्थन गरेको छ । त्यति मात्रै होइन, तनहुँको याम्पाफाँट नामले यो फाँटको प्राचीन स्थिति, नृवंशशास्त्रीय खोजको एउटा बलियो केन्द्र हुन सक्ने सम्भावनालाई पनि देखाएको छ । सम्भवतः नेपालको एउटा प्राचीन नाम यम्बु भएबाट गण्डकीको प्राचीन नाम पनि यमुना थियो, जसलाई कालान्तरमा वेदले नै र त्यसपछि भारतीयहरूले कथित गंगाको सहायक बनाइदिए भन्ने देखिन्छ ।


आज पारिपट्टि कथित यमुना नदीको किनारमा ताजमहल छ र गोमतीको किनारमा लखनऊ छ । त्यो देखिरहेकाहरूलाई भन्न खोजेको कुरा मान्न गाह्रै हुन्छ । पंक्तिकारको आशय वागलुङ जिल्लाको ३१६१ मिटर अग्लाइको घुम्ती पहाडको कुनै खोलालाई गोमती बनाइयो भन्ने हो । वाल्टर हेमिल्टनले पनि ऋग्वेदको गोमतीको कुरालाई छाडेर पौराणिक गोमती घुम्तीबाटै बन्न पुगेको संकेत गरेका छन् ।
च्युमिङग्यात्सा : यो नाम तिब्बती बौद्धमार्गीहरूले गण्डकीलाई दिएका हुन् । अर्थ हो– सय खोला । तर खासमा यो नाम मुक्तिनाथका १०८ धाराका निम्ति हो । अर्थ हो— सय मूल । जहाँको पानी गण्डकीमा आइपुग्छ । ह्युबर्ट डिक्लियरको ‘अतिसाको नेपाल आगमन’ भन्ने लेखोटमा जाने हो भने यो नाम एघारौं शताब्दीमै थियो ।


नारायणी : हामीले मानेको गण्डकीको पुछार भागलाई मात्र नारायणी भनिन्छ सीमावारि । तर अहिले भारतीयहरू उनीहरूमा बग्नेलाई गण्डक र हाम्रोमा बग्नेलाई नारायणी ठान्दछन्, सीमामा गण्डक परियोजना रहे पनि ।


काली गंगा : यस्तो नाम दिएका छन् गण्डकीलाई मुरलिधर भट्टराईले ‘नेपाल द बर्थ प्लेस अफ कालिदास’ भन्ने उनको पुस्तिकाको पेज २० मा । भट्टराई राहुल सांकृत्यायनलाई शास्त्रार्थका निम्ति चुनौती दिने पात्रका रूपमा आज पनि सम्झिइन्छन् ।


कैलाशलाई भनिन्छ गांगरी । यसैबाट बगेर आउने नदी कर्णालीलाई पश्चिम नेपालका मगरहरूले भन्छन्, घोङ्गजु । पानीको फोकाबोधक संस्कृत शब्द गण्डसमेत यसैबाट बनेको देखिन्छ, यद्यपि गण्डका अरू धेरै अर्थ छन् । यही गाङमा खोलाबोधक दी जोडिएर गण्ड र फेरि पानीबोधक क्यु मिलेर गण्डकी अर्थात् ‘पानी, पानी र पानी’ हुन पुगेको छ बाइरोडको बाटो भनेजस्तो ।
एतरेय ब्राह्मण (४००० इसापूर्व) को सदानीरा अब महाभारतकाल (इसापूर्व ६००) मा आइपुग्दा गण्डकी भन्ने नयाँ नामले न्वारन भयो । यसर्थ भट्टराईले काली गंगा लेख्नु गलत छैन ।


गंगा शब्द गण्डकीका निम्ति धर्मराज थापाले पनि धेरै ठाउँमा प्रयोग गरेका छन् तर गलत छैनन् । किनभने कृष्णाभा (कालीगण्डकी) को जलदेवी गंगा हुन्, हिमवत् खण्डले भनेपछि पूरै गण्डकीको नाम गंगा भयो नै ।


सरयु : यस्तो नाम पनि दिएका छन् गण्डकीका निम्ति भट्टराईले पेज ३७ मा । कुण्ड, पोखरी, ताललाई संस्कृतमा भनिन्छ सर । दामोदर कुण्ड अर्थात् कालीगण्डकीको मुहान भयो सर । त्यही सरबाट बगेर आएकाले भयो सरयु, यसैबाट अर्को नाम बन्छ सरस्वती । सरस्वतीको अर्को नाम पारावतघ्नि अर्थात् पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी भएपछि त्यो मैदानी नदी हुने कुरा पनि भएन ।


भारतीय लेखकहरूले सीमापारि पुगेपछि कर्णालीको तल्लो भागलाई पनि सरयु भनेर लेखेका छन्, सम्भवतः मानसरोवरबाट आउने भएकाले । संस्कृतका विज्ञ अंग्रेजहरूले सरस्वती शब्द जुनसुकै नदीलाई पनि लाग्छ भनेर लेखेका छन् । यसैले भारतको राजपूतानाको सरस्वती र रामायणका सरयु अरू उस्तै नाम गरेका नदी हुन् भन्ने हामीले बुझ्नुपर्छ ।


देविका नदी म्याग्दी जिल्लामा बग्ने सानो खोला हो (पेज ४५०, मुस्ताङ दिग्दर्शन– क्षत्री) । ब्रह्माण्ड पुराण (इस्वीको चौथो शताब्दी) अनुसार देविका गण्डकीमा मिल्दछ पनि । त्योभन्दा धेरै पछिको कालिका पुराणले देविकालाई सरयुको सहायक भनेपछि भट्टराई फेरि पनि गलत छैनन् ।


ओम्दोक्यु : माइकल भिन्डिगले कालीगण्डकीका निम्ति यो नाम उल्लेख गरेका छन् ‘द थकाली ः अ हिमालयन एथ्नोग्राफी’ को पेज ४३८ मा ।
गण्डकवती : यो नाम गण्डकीलाई भारतीय संस्कृतज्ञ वामन शिवराम आप्टेले दिएका हुन् ।
रडी : रडीको अर्थ हो चिप्लनु । यो शब्द ‘इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह’ मा योगी नरहरिनाथले उल्लेख गरेका छन् । रडिखेल्ला भन्ने ठाउँ नै छ जुम्ला खलंगाबाट एक घण्टा पर । यसको ठेट अंग्रेजी अनुवाद हो— स्किइङ स्पट । यद्यपि स्किइङ नेपालमा सन् १९७० मा जापानीहरूले पहिलोपल्ट खुम्बु हिमनदीमा सुरु गरेको कुरा ‘भिनेटस अफ नेपाल’ मा हर्क गुरुङले दिएका छन् (पेज ३१६) ।
आज जुन नदीहरूको संगमको रूपमा रिडी छ त्यो रडीको रूपान्तरण त देखिन्छ नै, साठी किलोमिटर लामो भएपछि यो संस्कृत शब्द अपगा अर्थात् गोडा नभएको भन्नाले रड्किनु शब्दको समानान्तर भयो । रिडी ठेट नेपाली शब्द हो ।
लदी : लदी पूजा माझीहरूको सबैभन्दा ठूलो पूजा वा चाड हो, थारूहरूको माघी भनेजस्तै । यो पूजा कोसी र त्यसका सहायक नदीहरूको पूजा हो । अर्थात् लदी कोसीकै अर्को नाम हो ।
तर लदी खोला छ गोरखामा १५ किलोमिटर लामो र अर्को लदी खोला छ तनहुँमा चुँदी नदीको सहायकको रूपमा । नभन्दै यो वाक्य उपलब्ध छ– माझीको पुर्ख्यौली थलोबारेको अर्को भनाइअनुसार कालीगण्डकी र नारायणी नदी किनारमा पनि प्राचीनकालदेखि उनीहरू बस्दै आएका हुन् (पेज १३, माझी जातिको चिनारी– घर्तीमगर र माझी) । यसले लदी नाम गण्डकी र त्यसका सहायकहरूका निम्ति हुनुपर्नेमा बसाइँ सरेर जाँदा कोसीका निम्ति बन्न पुगेको देखिन्छ ।

अब पारियात्र
पारियात्र पर्वत हिन्दकुश पर्वतको अर्को नाम हो भनेर एस.एम. अलीले ‘पौराणिक जोग्राफी अफ इन्डिया’ मा लेखेका छन् । हिन्दकुश मध्यअफगानिस्तानदेखि उत्तरी पाकिस्तानसम्म विस्तारित छ ।


पारियात्र इन्डियास्थित बिन्ध्य पर्वतको उत्तर–पश्चिमी भागलाई मानिन्छ (नेट.) पारियात्र नर्मदावरिपरिका शृंखलाहरू हुन् । यो चम्बल नदी र बेत्वा नदीको स्रोत हो । अझ भन्नुपर्दा पश्चिम बिन्ध्य हो । (पेज २९३, वायु पुराणको अंग्रेजी अनुवादमा जी.पी. भट्ट, युनेस्को) यद्यपि यस धारणाको सर्वप्रथम उत्पादनकर्ता संस्कृतविज्ञ पश्चिमा ब्युहलर देखिन्छन् । यस धारणामा शतप्रतिशत विज्ञहरू सहमत छन् । उनीहरूका भनाइमा पारियात्र गंगा र यमुनाबीचको भाग हो ।


इसापूर्व चौथो शताब्दीको मानिएको ब्रह्माण्ड पुराणले पारियात्रबाट बग्ने नदीहरू भनेर दिइएका ११ नाम यी हुन्— कर्णासा, नन्दना, सदानीरा, महानदी, पारा, चर्मण्वती, नुपा, विदिशा, वेत्रवती, सिप्रा, अवन्ती । सदानीरा गण्डकीको अर्को नाम हो भनेर माथि लेखिसकियो । पाराका बारे तल छुट्टै उपशीर्षक छ । चर्मण्वती आजको चरौंदी हो ।


हिजोको मनाङ भोटस्थित लार्के भन्ज्याङबाट बुढीगण्डकी निस्कन्छ, १ सय ४३ किलोमिटरको लक्ष्य राखेर । बोदबाट भोट हुने हो । यसर्थ विदिशा आजको बुढीगण्डकी नै देखिन्छ । वेत्रावती त्रिशूली नदी प्रणालीमा पर्छ । सिप्रा नदीको किनारमा सीमापारिको उज्ज्यनीनगर छ भन्ने आजको मान्यता हो । तर यो गोरखा–लमजुङको ४६ किलोमिटर लामो चेपे नदीको नाम देखिन्छ । यद्यपि हाम्रा संस्कृतज्ञहरू च्यवन ऋषिसँग त्यसलाई जोडेर थाक्दैनन् । गण्डकी नदी प्रणालीमा नपरे पनि सुनकोसीमा नपु घाट छ ।


सोही समयको मानिने वायु पुराणले भने सतीरा थपेकोमा त्यो सदानीरा हुनुपर्छ भनेका छन् भट्टले । ११ का ठाउँमा १४ नदी बनाउँदा वेदस्मृति, वृतघ्नी आदि थपिएको छ । वेत्रवती, वेदवती, महानदी महती र कर्णासा वर्णासा भएको छ । तर वृतघ्नी गुल्मीको चार किलोमिटर लामो बेतिनी र वेदस्मृति गुल्मीकै ६ किलोमिटर लामो बेदिनी देखापर्छ ।


इसाको तेस्रो शताब्दीको मानिने मार्कण्डेय पुराणले १३ वटाको मात्रै नाम लिएको छ । महानदी अब मही र कर्णासा अब वेणा भएको छ । गण्डकीको अर्को नाम वेणु हो माथि लेखिसकियो । त्यसको एक शताब्दीपछि लेखिएको मानिने मत्स्य पुराणले १५ वटा नाम दिएको छ । तर अब महानदीलाई महती नै लेखे पनि कर्णासा पर्णासा भएको छ । वेत्रवती वेणुमती भएको छ ।

धवन्तीरुपा र कुन्ती नाम थपिएका छन् । महानदी वा महती आजको मादी लाग्छ, दी मगरहरूको खोलाबोधक भए पनि । नभन्दै मदी लेखेका छन् डी.सी. सरकारले त्यसलाई (पेज ५३ स्टडिज अन द ज्योग्राफी अफ एन्सियन्ट एन्ड मिडिभल इन्डिया) । स्याङ्जाको ६२ किलोमिटर लामो आँधिखोला अब अवन्ती हुन पुगेको हुनुपर्छ भन्दा पाठकहरूलाई हास्यास्पद लाग्नेछ । तर स्थानीय नामहरूको संस्कृतकरण गर्नु पौराणिक समस्या नै हो ।


अब जाऊँ जरोतिर । पारियात्र पहिलो पटक पारिपात्र नामले इसापूर्व छैटौं शताब्दीको मानिने तर पी.बी. वार्ताकले इसापूर्व ५५६१ मा घटेको घटना भनेको महाभारतमा आएको छ । यसले वनपर्वमा भनेको छ— महामेरुको पश्चिम छेउमा पर्दछ ।


पौराणिक सुमेरुलाई महामेरु मान्न पुग्दा एस.एम. अलीले पारियात्रलाई अफगानिस्तानमा धकेल्न पुगेको अब स्पष्टै छ । महामेरु भनेको आजको महालंगुर अथात् हिमालयको उत्तरपूर्व भाग जसमा सगरमाथा, लोहोत्से, मकालु र चो ओयु पर्ने इलाकालाई हेरेपछि पारियात्र टड्कारो हुन्छ । महाअलंघ्य अर्थात् पार गर्न नसकिने, पुग्न नसकिने भन्ने नाम महालंगुर हुन पुगेको छ ।


अर्थात् बंगालका राधानाथ सिकदरले ‘माउन्ट फिफ्टिन’ भनेर जर्ज एभरेस्टभन्दा अघि नै तोकेका विश्वको सर्वोच्च पहाडलाई कृष्ण द्वैपायन व्यासले महाभारत लेख्दा नै पहिल्याइसकेका थिए ।


रामायणको बालकाण्ड लेखिने बित्तिकै पश्चिमाहरूले समेत पढिसकेको प्रमाण पाइएको छ भने २९ हजार २९ फिट अग्लो पहाडलाई बिर्सेर २४६७ फिट मात्र अग्लाइको ठुटे ढिस्को बिन्ध्य पर्वतलाई त्यही कालमै कसैले पनि महामेरु लेख्ने कुरै आउँदैन ।


बिन्ध्य र पारियात्र भनेर ब्रह्माण्ड, वायु र मत्स्य तीनवटैले शृंखला नै भिन्न गरिसकेपछि, हरिवंशसमेतले हिमवान मेरु र हिमवान पारियात्र लेखिसकेपछि, हरिवंशमै पारियात्रमा बग्ने गंगालाई ‘अबिन्ध्या’ भनिन्छ उल्लेख आइसकेपछि अरू थपिरहनु परेन ।


राय चौधरीले खासगरी ऋग्वेदका नदीहरू अघि सारेका छन्, जसमा त्यो समयका ९९ नदी पर्छन् । महाभारतमा ६७ नदीको नाम आउँछ, हरिवंश पुराणमा ६१ र मार्कण्डेय पुराणमा ९० नाम आउँछ । मेगास्थनिजले करिब ३६ नदीका बारे लेखेका छन् । र टोलेमीलाई ४४ नदीको नाम थाहा थियो— एक जनाले लेखेका छन् (पेज १२८, प्रफेसर एच.सी. राय चौधरी एज अ हिस्टरियन– हरिहर पाण्डा) तर गण्डकी प्रसवण क्षेत्रका नदीनाला, खोल्साखोल्सी सर्सर्ती पंक्तिकारले गन्दा पनि ४ सय २२ पुगेको छ ।

हजार पच्चीस हिमनदी र ३ सय ३८ ताल छन् भनेर त नेटले नै दिएको छ । भन्नाले पुराणहरूले कैयौं नामको हिज्जे आफूखुसी हालेको देखिन्छ । इसापूर्व पाँचौं शताब्दीको मानिने भागवत्को पाँचौं स्कन्धमा शालग्राम क्षेत्र (दामोदरकुण्ड) मा सिंह भएको कुरा आउँछ । सो ठाउँमा पुग्दै नपुगी पहिलेका रचयिताहरू कल्पनाका भरमा लेखिदिन्थे भन्ने कुराको यसरी पुष्टि हुन्छ ।


भारतको कथित गंगाकै १५ वटा नाम पाइँदैन भने साह्रै पुरानो र महत्वपूर्ण नमानी गण्डकीका त्यति धेरै नामहरू बन्दैनन् । अर्थात् उतिबेला तोकिएको पारियात्रलाई पछिल्ला पुराण रचयिताहरूले मध्यभारतको उत्तर पश्चिमी बिन्ध्यतर्फ सारे ।


पारियात्रको नदी सञ्जालको मन्त्र नै बिर्सेर वेदवतीलाई अब आर्यवर्तबाट उति पर मैसुरमा देखाउने पनि छन् । यसरी वेदवती नै सरेको छ । मार्कण्डेयले त अलखनन्दा बगेर गएर मानसरोवर भरिएको समेत कुरा गर्छ । भूगोल यसरी खजमजिएको छ । पारियात्र मानौं तैरिरहेको जमिन ठानिन्छ भने अनौठो के भयो ?

पारविशेष
पार खोलाहरू हुन् गण्डकी प्रदेशका । एउटा पार खोला तीन किलोमिटर लामो छ । यो म्याग्दीमा २८.३२ अक्षांश र ८३.४४ देशान्तरमा पर्दछ । अर्को पार खोला कास्कीमा पर्दछ । सात किलोमिटर लामो छ र २८.१२ अक्षांश एवं ८४.५८ देशान्तरमा पर्दछ । पूर्वकालमा यिनको लम्बाइ, बेसिन र कमान्ड एरिया कस्तो थियो ? भन्नेबारे सेडिमेन्टलजिस्टहरूले भन्न सक्लान् । त्रिविको भूगर्भ विभागसँग टेत्सुई साकाई र हिडेओ टाबाटासँग मिलेर काम गरेको लामो अनुभव पनि छ ।


तर के निश्चित छ भने आजको पर्वत जिल्ला यिनै २ खोलाका बीचमा पर्दछ । यसैले पार्वत गुरुङ शुद्ध नाम भयो, पार्वती म्याग्दीको पाङगाउँमा जन्मेकी हुन् (श्रेष्ठ) भन्ने कुरा लोकोक्ति भए पनि यो नाम बनोट त्यसै जन्मिएको होइन भन्ने स्पष्ट छ । थप कुरा, मूल पारकोट आजको पर्वत नै देखिन्छ ।


(यसर्थ इसापूर्व पाँचौं शताब्दीको विष्णु पुराणको एक पात्र पारको नाम टिपेर १८औं शताब्दीमा मात्रै काशीराम काश्यपले लेखेको गण्डकी महात्म्यको भनाइ उतार्दै ‘पार नामका राजाले शासन गर्दा बनाएको कोट–किल्लाको कारण त्रिशूली र कालीगण्डकीबीचको क्षेत्र पारकोट कहलाएको थियो ।’ (नेपाल निरुक्त–ज्ञानमणि नेपाल) भन्ने तर्क सही लाग्दैन ।)


पारको एउटा अर्थ नदीको पल्लो किनार पनि हो । तर नजिकैको लमजुङलाई नेपालमै पारा (माइका, अरेबिक शब्द अभ्रख) को ठूलो भण्डार भूगर्भविद्हरूले मानेबाट यी खोलाहरूको पिँधमा टल्कने पाराबाट पार भएको बुझिन्छ । पारदर्शी शब्द यही पाराबाट आउने हो । नेवारहरूले सिठीनखमा इनार सफा गरेपछि पिँधमा पाराको ढिक्का राख्ने कारण नै पानी पारदर्शी रहुन्जेल इनार फोहोर भएको छैन भनेर बुझ्नलाई हो ।


किनभने यही अर्को पारियात्र, पारावत हुँदै आज पर्वत र पारकोट हुन पुगेको स्पष्टै देखिन्छ । कालीगण्डकी र त्रिशूलीबीचको भूभागलाई आज पनि पारकोटटार भनिन्छ (पेज १०६, नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रसवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन– गुरुङ २०६१) ।


पारोको अर्को नाम मकर, यसैबाट मर्करी भएकाले पाराको नाम पनि माइका हुन पुगेको छ । किनभने दुइटैले उस्तै चहक दिन्छन् तर पारोलाई परम्पराले शिवको शुक्रकीट मान्दछ । यसैबाट स्पष्ट हुन्छ किन पारखोला बग्ने म्याग्दीको पाङलाई पार्वतीको जन्मस्थल भनियो ?

पुछारमा
सुरुमा अवशेष खाने काग (कर्भस कर्‍याक्स) र त्यसपछि फेला परेको शालिग्राम (एमोनाइट) बीचको द्वन्द्वमा गण्डकी प्रदेशका जुन सांस्कृतिक रूपान्तरणहरू भए त्यो फुकाउनु सजिलो छैन ।


अझ दामोदरकुण्डमा शालिग्राम फेला नपरेको भए, गण्डकी क्षेत्रको आधुनिक, सांस्कृतिक स्वरूप अर्कै हुने थियो । त्यो आजकोबाट धेरै भिन्न हुन्थ्यो । वाल्टर हेमिल्टनले सन् १८२८ अर्थात् करिब २०० वर्षअघि नै भनिसकेका हुन्— गण्डकी उपत्यकाको अन्वेषण नहुनु दुःखको कुरा हो (इस्ट इन्डिया गजेटियर) ।


पैसा छाप्ने यन्त्र बनाउने कुराको पहिलो सर्त यता नेपालपट्टिबाटै वाल्मीकि आश्रमसम्म पुग्ने पुल हो । यताबाट मानिसहरू पुर्‍याउन होइन, उताबाट भित्र्याउन । जबसम्म बन्दैन कुनै स्थानीय नेताले, कुनै पर्यटन अभियानकर्ताले गण्डकीको विकासको कुरा नगरेकै राम्रो । हिमालयभन्दा पुरानो मानेको छ, गण्डकी नदीलाई विज्ञानले भने त्यसलाई नचिन्नेले थप कुरा नगरेकै बेस ।

प्रकाशित : वैशाख २८, २०७६ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्