कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युरोप यात्राका दौरान 'इन्लाइटनमेन्ट नाउ’ पढें : स्वर्णिम वाग्ले

पुस्तक वार्ता

पछिल्लो समय पढेमध्ये मन परेको किताब स्टिभेन पिंकरको ‘इन्लाइटनमेन्ट नाउ’ हो  । यो पुस्तक पेनगुइन बुक्स बेलायतले प्रकाशित गरेको हो  ।

युरोप यात्राका दौरान 'इन्लाइटनमेन्ट नाउ’ पढें : स्वर्णिम वाग्ले

यो पुस्तक पेनगुइन बुक्स बेलायतले प्रकाशित गरेको हो । गत महिना तीनहप्ते युरोप भ्रमणमा थिएँ । जर्मनीको बर्लिनस्थित मिटलस्त्रासमा एउटा राम्रो अंग्रेजी पुस्तक पसल छ । बर्लिन पुग्दा म सधैं त्यहाँ जाने गर्छु । हार्भर्ड विश्वविद्यालयका चर्चित प्राध्यापक स्टिभेन पिंकरको एक वर्षअगाडि प्रकाशित यस पुस्तकको ‘पेपरब्याक’ संस्करण हालै निस्केको रहेछ । त्यहीं किनें र युरोप यात्राका दौरान पढें ।


विवेक, विज्ञान र उन्नतिको पक्षमा दह्रो वकालत गरिएको पुस्तक हो यो । मानव सभ्यतामा सत्रौं र अठारौँ शताब्दीको विशेष महत्त्व छ । मान्छेको उन्नति र समाजको अग्रगामी परिवर्तनका लागि प्रश्न, प्रयोग र संवादले क्रमिक रूपमा परिष्कृत गर्दै लग्ने ज्ञान र विवेकको भूमिका अहं हुन्छ र हुनुपर्छ भन्ने मान्यताको सामूहिक उठान त्यसबेला भयो । यसले राजकीय शक्तिका परम्परागत स्रोत (कुलीन शासक वर्ग र धार्मिक संस्थाहरू) माथि ठाडो चुनौती दियो । रुढीवाद र अन्धो आस्था होइन विज्ञान, प्रमाण, तथ्य र तर्कका आधारमा मान्छेको उन्नति हुन्छ, आफ्नो वशमा नभएका बाह्य, अलौकिक शक्ति वा भाग्यवादको भर पर्ने वा आस गर्ने होइन भन्ने मान्यता पुस्तक, आविष्कार र कानुनका माध्यमबाट स्थापित हुन थाले ।

विवेकको युगको विवेचना
मान्छे सामाजिक प्राणी भएकाले आपसी सहकार्य र सहानुभूति पनि अपेक्षित छ भन्ने कुरा स्वीकार गर्नासाथ विभेद र अन्याय त्याज्य बन्छन् । यसरी मध्ययुगीन बर्बरताबाट पाश्चात्य सभ्यताले कोल्टो फेर्‍यो । ज्ञानको विस्तारसँगै यी मान्यताहरू विश्वभर झाँगिए ।
बेलायतमा आइज्याक न्युटन, दार्शनिक फ्रान्सिस बेकन र जन लक, एडम स्मिथ र डेभिड ह्युमस फ्रान्समा रुसो, भोल्तेयर, देकार्तस जर्मनीमा कान्ट्स अमेरिकामा जेफर्सन, फ्रान्क्लिन, म्याडिसनलगायतका वैज्ञानिक, दार्शनिक, अर्थशास्त्री, राजनेताहरूले ‘विवेकको युग’ को सुरुआत गरे । यो कुनै संगठित अभ्यास थिएन तर एक ठाउँको विचार अर्को ठाउँमा फैलने र तिनमा क्रमिक सुधार हुँदै गएर समाजमा उथलपुथल भयो । समता र उन्नतिको भोक जाग्यो । अमेरिकी र फ्रान्सेली महान् राज्यक्रान्तिहरू पनि यिनै मान्यताहरू स्थापित गर्न भएका थिए । स्टिभेन पिंकरले इन्लाइटमेन्टको त्यो युगको पृष्ठभूमिमा २१ औं शताब्दी सापेक्ष पुनर्व्याख्या र सान्दर्भिकता स्थापित गरेका छन् ।

आधुनिक विज्ञान र तथ्यको सहारा लिई यो पुस्तकले इन्लाइटनमेन्ट प्रेरणादायी र प्रगतिशील सोचहरूको पुञ्ज थियो जसको वर्तमान नतिजा समग्रमा सुखद र फलदायी छ भन्ने निचोड निकालेको छ । खुला, उदार र सहिष्णु समाज, प्रतिनिधिमूलक लोकतान्त्रिक शासन, समतामूलक अन्तरघुलनजस्ता आधुनिक विषयका जरा खोज्न ‘विवेकको युग’ मै पुग्नुपर्छ । यसको अर्थ त्यो स्वर्ण युग थियो भन्नेचाहिँ होइन ।

दासता, रंगभेद, महिला माथिको विभेद, औपनिवेशिक शोषण र नरसंहार पनि हामीले भोगेकै हो । आज पनि निर्वाचित तर अनुदार शासकहरूको उदय, समाजमा विभाजन र विग्रह, भोकमरी, आधुनिक प्रविधिको दुरुपयोग, पर्यावरणीय दोहन, मनोरोग र एक्लोपनजस्ता अप्ठ्याराहरू चर्कंदै छन् । यस्तो बेलामा मानव उन्नतिको गीत गाउनु असंगत भएन ?
समस्याका बाबजुद मान्छेको प्रगति अद्वितीय छ भन्ने पिंकरको दाबी छ ।

आय र वृद्धि, स्वास्थ्य र दीर्घायु, शिक्षा र ज्ञान, शान्ति सुरक्षा, हिंसा, हत्या र राज्य आतंकमा कमी, समता र सहिष्णुता, हक–अधिकार एवं उदार मूल्य र खुसीपन नाप्ने विश्व–स्थापित तथ्यांक र सूचकहरूको आधारमा भन्न सकिन्छ कि समग्रमा मानव जाति आजको जस्तो समृद्ध, सुखी, शान्त र सभ्य इतिहासमा कहिल्यै थिएन । यसको अर्थ दुनियाँका सातै अर्ब व्यक्तिमा सधैं यो लागू हुन्छ त ? अवश्य होइन, त्यस्तो हुनु त चमत्कार भैगो नि ।

मनोवैज्ञानिकको समाज विश्लेषण
स्टिभेन पिंकर मनोवैज्ञानिक हुन् तर यो पुस्तकमा उनी विकास अर्थशास्त्री, समाजशास्त्री, राजनीतिक विश्लेषक, पत्रकार र प्राज्ञको सामूहिक प्रतिविम्ब बनेका छन् । समुन्नति, सुख, स्वतन्त्रता आदिजस्ता कुरामा प्रगति भएको देखाउन तथ्यांकको खानी नै उत्खनन गरिएको छ । ७५ वटा त ग्राफ नै छन् । बहुआयामिक बहुल विधाका ज्ञानको संश्लेषण, आलोचकहरूको सम्भावित प्रहारको पूर्वानुमान गर्न सक्ने क्षमता र सुन्दर लेखनको नमुना संयोजन यस पुस्तकमा छ ।


एउटा अध्याय ‘प्रोग्रेसोफोविया’ बारे छ । जताततै उन्नतिको प्रमाण देखिँदा पनि आम व्यक्ति भने किन निराश ? देश–संसार खाल्डोमा जाकिंदै छ भन्ने सोच किन व्याप्त छ अमेरिकादेखि जिम्बाबेसम्म ? पिंकरले यसका लागि ‘कग्निटिभ आग्रह’ बारेको प्राज्ञिक शोधको चर्चा गर्दै तीन कारण दिन्छन् ।


पहिलो, आशावादको खाडल (अप्टिमिज्म ग्याप) । सडकमा कुनै व्यक्तिलाई च्याप्प समाएर सोध्नुस्, ‘आजको एक वर्षपछि तिम्रो जीवनस्तर सुध्रेको हुनेछ ?’ अधिकांशले भन्नेछन् ‘जरुर’ । तर तिनैलाई सोध्नुस, ‘देश र विश्वको हाल नि ?’ धेरैको जवाफ हुनेछ, ‘देश डुब्दै छ, विश्व संकटग्रस्त हुनेछ’ । व्यक्ति आफ्नो भविष्यबारे आशावादी छ तर उसको नजरमा बाँकी समाज पतनोन्मुख । यस्तो सोच हावी हुनुमा समाचारको प्रकृति आंशिक रूपले जिम्मेवार छ । ‘हिजोको भूकम्पले ९ हजार व्यक्तिको ज्यान लियो’ भन्ने समाचार हामी सुन्छौं तर ‘आज लगातार ३ सय दिनसम्म पनि भूकम्प आएन र कोही व्यक्ति हताहत भएनन्’ भन्ने समाचार लेखिन्नन् ।


दोस्रो, ‘उपलब्धताको झेल ।’ ताजा, झल्झली सम्झनाका घटनाको सम्भाव्यता बढी हुने ठान्छ दिमागले । जहाज दुर्घटनाभन्दा मोटरगाडी दुर्घटनामा बढी मान्छे मर्छन् । सन् २०१५ मा अमेरिकाभर ३२ हजार मान्छे सडक दुर्घटनामा मरे, जहाज दुर्घटनामा कोही मरेनन् तर आमव्यक्तिलाई लाग्छ हवाइजहाजमा जोखिम बढी छ । जति धेरै नकारात्मक समाचार सुन्यो, तिनको फैलावट यथार्थभन्दा व्यापक भएको भ्रम हामी पाल्छौं ।


तेस्रो, लाभ–हानिको असन्तुलन । मनोविज्ञान भन्छ— मान्छेलाई एक लाख रुपैयाँको जितभन्दा एक लाख रुपैयाँको हारले सताउँछ । प्रशंसाले दिने मन्द आनन्दभन्दा आलोचना पीडादायी हुन्छ, सौभाग्यका घटनाभन्दा दुर्घटनाको स्मृति गाढा रहन्छन् । यसरी मान्छेले सकारात्मक कुराहरूको प्रभावलाई कम आँक्नु मानवीय चरित्रकै हिस्सा हो भन्ने विश्लेषण उल्लेख्य लाग्यो ।

प्रकाशित : वैशाख २८, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?