कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्दापछाडिका पुरुष पात्र

शिल्पा कर्ण

अहिले हामीले कसैका तस्बिर हेर्नुपरे सायद फेसबुकका फोटा र एल्बम हेर्छौं । ममी भने कोही आए आफ्नो एल्बमका फोटा देखाउन तम्सिनुहुन्छ । केही श्यामश्वेत र केही रंगीन गरी हजार हाराहारी फोटा छन् उहाँका एल्बममा ।

पर्दापछाडिका पुरुष पात्र

केही दिनअघि एल्बम हेर्दै थिएँ । एउटा फोटो फेला पर्‍यो— ममीले पाइन्ट र सर्ट लगाउनुभएको । दुई छेउमा मेरी दुई हजुरआमा पर्ने महिला र ममीकी फुपू ।


जिज्ञासा जाग्यो— त्यो समयमा गाउँकी एक महिलाले पाइन्ट, सर्ट, घडी र कालो चस्मा लगाएको तस्बिर कसरी, किन खिचाइन् होला ? ममीलाई सोधें । उहाँ १७/१८ वर्ष हुनुहुँदाखेरिको फोटो रहेछ त्यो । उहाँका काका अर्थात् हाम्रा दुई हजुरबाका लुगा रहेछन् ती ।

त्यसबेला फिल्म आदिमा हेर्नुभएको रहेछ, महिलाले पनि पाइन्ट लगाएको । उहाँलाई पनि रहर लागेछ त्यस्तो पहिरनमा फोटो खिचाउने । काकालाई माग्दा निकै खुसीसाथ दिनुभएछ । केही बेर भावुक पनि हुनुभयो ती दिन सम्झिँदा । विशेषगरी काकाको माया र लुगा माग्दा उहाँको प्रतिक्रियाले । यसो सोचेँ, स–साना कुराले मान्छेलाई कति छुँदो रहेछ, खुसी बनाउने रहेछ । महिलालाई झन् ‘पिन्च’ गर्ने ।


केही दिनअघि रातको सवा आठ बजे जडीबुटीबाट मनोहराको छेवैको बाटोबाट आउँदै थिएँ । पानी परेको दिन त्यत्तिकै पनि छेउछाउका पसल चाँडै बन्द भइसकेका हुन्छन् । त्यो रात पनि त्यस्तै थियो । तुलनात्मक रूपमा शान्त र सुनसान । छाता नहुनु अर्को दुःख थियो । त्यत्तिकैमा पछाडि एक मोटरसाइकल आएर रोकियो । प्रश्न तेर्सियो, ‘बहिनी, लोकन्थली जान लाग्या हो ?’

अक्क न बक्क भएँ, फेरि ती व्यक्तिले थपे, ‘जानेभए जाऊँ, म पनि उतै जान लाग्या ।’ एक मनले ती मान्छेलाई पत्याउन मानेन । दिनहुँ विभिन्न बहानामा बालिकादेखि वृद्धासम्मको बलात्कार र हत्याको समाचार सुन्ने र लेख्ने गरिरहेको यो मनले सजिलै कहाँ पत्याउँथ्यो । अझ पत्रकार भएपछि जातैले शंकालु । दोस्रो कुरा पेसाले कति दुश्मन बनाइदिएको हुन्छ, आफू अनभिज्ञ हुन्छु ।


त्यहाँबाट कोठासम्म पुग्न मुस्किलले मोटरसाइकलमा ३ मिनेट लाग्थ्यो । ‘मोटरसाइकलको पछाडि बस्दैमा के जान्छ र ? भन्ने भावना पनि कताकता थियो । खासै सोचिरहनु आवश्यक ठानिनँ, बसेँ । सुरक्षाको मामिलामा संवेदनशील हुन्छु, मोबाइलको फ्रन्ट क्यामेराको उपयोग गर्दै मोटरसाइकलको नम्बर लिई परिवारका सदस्यलाई तुरुन्तै म्यासेज गरिदिएँ । चलिरहेको मोटरसाइकलको फोटो हल्लिए पनि पछाडिको रातो लाइटले नम्बर प्रस्ट आएको रहेछ ।ती दाइलाई सोधेँ, ‘कसरी थाहा भयो म उता जान लागेको ?’
‘यो बाटो हिँड्ने धेरैजसो उतै जाने त हुन्छन् नि, त्यसैले सोधेको ।’

बाटोमा अन्य कुरा भएनन् । रोक्नू भनेको ठाउँमा रोकिदिए । मेरो धन्यवाद थापेर अगाडि आफ्नो बाटो लागे । कोठामा पुगेँ र सोचेँ, मानौं यी दाइले मसँग केही नराम्रो व्यवहार गरेको भए, केही नराम्रै इच्छा प्रकट गरेका भए, मलाई चित्त दुख्ने वाक्य बोलिदिएको भए ? सायद मैले अर्कोपल्ट कोही पुरुषको सहयोग लिन्नथेँ होला, हिच्किचाउँथे होला ।

उनले यति राम्रो व्यवहार गरे, मेरो व्यक्तिगत जानकारी मागेनन्, जहाँसम्म पुर्‍याइदिने भनेका थिए त्यहीँसम्म पुर्‍याइदिए । निकै राम्रो लाग्यो मलाई । यहाँ उनको व्यवहारले ममा एउटा सकारात्मक भाव जन्मायो जसले मेरो आत्मबल बढाएझैं लाग्यो मलाई ।


एउटै प्रक्रियाबाट जन्मिएका हामी अर्थात् महिला र पुरुष, एउटै समाजमा बाँचेका छौं । प्रकृतिले पनि र समाजले पनि भिन्न बनाएको छ महिला र पुरुषलाई । अहिलेको परिस्थितिमा निश्चय नै ‘पितृसत्ता’ को सिकार महिला भएका छन् । समानता छैन, महिलामाथि हुने यौनजन्य हिंसाका घटनामा पुरुषको हात देखिन्छ । प्रायः अपराधी पुरुष हुन्छन् ।

‘महिला बलात्कृत’ भनेर समाचार आउँछ, जसको अर्थ हो ‘पुरुष बलात्कारी’ । यद्यपि पहिलेभन्दा स्थिति केही सुध्रिएको भन्न मिल्छ र यसको श्रेय ती पुरुषलाई उत्तिकै जान्छ जसले महिलालाई अगाडि बढ्न हौसला दिएका छन् । उनीहरूले केही राम्रो काम गरिदिएर मात्र होइन नराम्रो काम र व्यवहार नगरेर पनि उनीहरूको दृष्टिकोण फेरेका छन्, आत्मबल बढाएर सहयोग गरेका छन् ।


अहिलेसम्म म आफूलाई धेरै हदसम्म स्वतन्त्र र आफूले रोजेको, चाहेको काम गरिरहेको ठान्छु । यहाँसम्म ल्याइपुर्‍याउन जति वरपरका महिलालाई धन्यवाद दिन्छु, केही पुरुष पनि उति नै धन्यवादका पात्र छन् । हाम्रोतिर बिहेवारीदेखि मृत्युसम्म भोज हुन्छ । दुई किसिमका हुन्छन्, पुरुषलाई मात्र र परिवारका सबैलाई जसलाई ‘स्त्रिङ्नपुरुष’ वा चुलेनिम्तो भनिन्छ । चार वर्षअघि होला हाम्रै जातभाइको भोज थियो ।

भोजमा पुरुषले पहिले खान्छन्, त्यसपछि महिलाको पालो आउँछ । हाम्रो घरबाट दाइ र हामी बहिनीहरू गएका थियौं । एक खेप उठेपछि दाइहरू बस्नुभयो । सँगै हामीलाई पनि बस्न भन्नुभयो । तर पुरुषहरूको भीडमा महिला कसरी बस्नु ?
खाना खाइसकेर झन्डै २० मिनेट हिँडेर घर पुग्नुपर्ने भएकाले उहाँहरूसँगै र चाँडै जानुपर्ने थियो ।

दाइले भन्नुभएपछि गाह्रो हुँदाहुँदै हामी बस्यौं । मलाई अझ सम्झना छ, कति अप्ठेरो गरी खाएका थियौं पुरुषको लहरमा बसेर । थपिदिन आउने मान्छे अनुहारमा हेर्थे र आफैंलाई नराम्रो लाग्थ्यो । पछि उठिसकेपछि हामीसँगै स्कुलमा पढेको साथी केटा र केटी दुवैले ‘ओहो कति छिटो खाइसकेको तिमीले’ भनेर सोध्दा झनै नराम्रो लाग्यो । हामीले खाएपछि फेरि पुरुषको अर्को समूह बस्यो । हामीले महिलाको खाने पालो कुरेको भए कति समय लाग्ने रहेछ । धन्न समयमै खायौं र निस्कियौं ।


म सम्झन्छु, २०७० मंसिर चुनावको समय । हामीसँग भोट माग्न बढी मान्छे आउँदैनथे । रेडियोमा आफैं समाचारमा पढ्थें, ठाउँअनुसार, उम्मेदवार र दलअनुसार फरक फरक मत माग्ने तरिका । आफूलाई पनि भोट माग्न कोही आइदियोस्जस्तो लागे पनि कोही आएनन् । भर्खरै मात्र मतदाता परिचयपत्र बनाएकी थिएँ ।

पहिलोपल्ट भोट दिन गइरहेकी थिएँ, उत्साहित नहुने कुरै भएन । परिवारमा कुरा भयो, बुबाले कसलाई भोट दिने भन्ने कुरा गर्नुभयो । बुबाले ‘फलानोलाई दिए ठीक हुन्थ्यो, चिनजानकै मान्छे’ जस्तो कुरा गर्नुभयो । तर कर गर्नुभएन । संयोग नै मान्नुपर्छ, जसलाई मैले भोट दिने सोचिरहेकी थिएँ, बुबाले पनि त्यसैलाई दिनुभएछ ।


महिलावादी हुन वा लैंगिक समानताका लागि पक्ष लिन कुनै एनजीओ चलाउने, भाषण दिने वा लेख लेखिराख्नु आवश्यक छैन । दैनिक जीवनमा सामान्य सहयोग गरेर पनि तपाईं आफू वरपरका महिलालाई विशेष अनुभव गराउन सक्नुहुन्छ । जसले भविष्यमा सफलताको श्रेय उनीहरू तपाईंलाई पनि दिनेछन् ।

भनिन्छ, हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ । महिला पनि मौका चाहन्छन् कि भन्न सकुन्, ‘मेरो सफलताको पछाडि पुरुषको हात छ ।’

प्रकाशित : वैशाख २८, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?