सय वर्ष टेक्दै गरेका सत्यमोहन भन्छन्, 'अब आनन्दले बस्ने'

हालैको एक साँझ ललितपुर पाटनस्थित बखुम्बहालको घरमा पुग्दा सत्यमोहन जोशी पिँढीमा बसेर नेपाल भाषाको एउटा विशेषाङ्कको प्रुफ हेर्दै थिए  । नेपाली लोकसंस्कृतिको खोज, अनुसन्धान र प्रवर्द्धनका लागि ३ पटक मदन पुरस्कार पाएका जोशीले अरनिकोको खोजीको श्रेय पनि पाएका छन्  ।

सय वर्ष टेक्दै गरेका सत्यमोहन भन्छन्, 'अब आनन्दले बस्ने'

नेपाली कला, साहित्य, संस्कृति, रंगमञ्चदेखि लोकसंगीतसम्मको योगदानका लागि सरकारबाट 'वाङ्मय शताब्दी पुरुष' को उपाधि पाएका जोशीले भने, 'नदेखिने गरी वरदानको रूपमा आइरहेको छ यो बुढ्यौली । त्यसैको फल खाँदै छु ।'

सय वर्ष टेक्दै हुनुहुन्छ । आफ्नो उमेरलाई लिएर मनभित्र कुनै खुल्दुली छ कि ?
यति लामो आयु पाएका स्रष्टा नेपाली इतिहासमा विरलै भेटिन्छन् । सय वर्ष पुग्ने व्यक्ति त सितिमिति फेला पार्न मुस्किलै छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक जना हुनुहुन्छ, उहाँ मभन्दा पनि ६/७ महिना जेठो हुनुहुन्छ । उहाँपछि मै हुँ । खास किसिमको खुल्दुली त केही छैन । साधारण रूपमै लिइरहेको छु । नदेखिने गरी आएको वरदान हो यो बुढ्यौली । ललितपुर महानगरपालिकाले जिउँदो सम्पदाको रूपमा मलाई नै हाइलाइट गरेर कार्यक्रम राख्दै छ । मरिसकेपछिभन्दा जिउँदो अवस्थामा, उसको कृतिका निम्ति, उसले गरेको सेवाको निम्ति कदर गर्ने परम्परा बसाल्न खोजेको छ महानगरपालिकाले ।

यति लामो आयु पाउनुभयो । फर्केर हेर्दा कस्तो लाग्छ ?
रमाइलो लाग्छ । उतारचढाव त सबैको जीवनमा आई नै हाल्छ । पिताजी बिरामी हुँदाखेरीको कठिन दिनहरू सधैं सम्झिन्छु । पछि सरकारी सेवाको काम पाएपछि खासै दुःख त पाइएन । आजसम्म ठीकै छु । राम्रै चलिरहेको छ । यति लामो समय बाँचिन्छजस्तो चाहिँ लागेको थिएन । कालजयीजस्तै भएर बाँचिरहेको छुजस्तो लाग्छ ।

यो उमेरमा जीवनप्रति तपाईंको बोधचाहिँ के हो ?
लेम्यान फिलोसफी (साधारण मान्छेको दर्शन) को रूपमा विचार गर्दा र अलिकति आफूलाई आध्यात्मिक हिसाबले सोच्दाखेरी मृत्यु हाम्रै जीवनसँग जोडिरहेको हुन्छजस्तो बोध हुन्छ । मृत्यु भनेको त वास्तवमै हामी सबैले सँगसँगै बोकिहिँडेका हुन्छौं । त्यो जीवनसँगै टाँसिएको हुन्छ । मृत्युले जीवन छोयो भने मृत्यु पनि खत्तम, जीवन पनि खत्तम । त्यो एउटै विन्दु हो ।

मैले मृत्यलाई धेरै अघि बुझिसकेको छु ।
कठोपनिषद्को आधारमा ‘मृत्यु एक पृष्ठ’ नामक नाटक नै लेखेको थिएँ । प्रचण्ड मल्लको निर्देशन गर्नुभएको थियो । अचेल मलाई मृत्युसँग डराउनुहुन्न भन्ने लाग्न थालेको छ ।

जीवनचाहिँ के रहेछ त ?
सत्यम् शिवम् सुन्दरम् नै हो । राम्रो सोच्ने, खराब विचार नगर्ने, साधरण र सुखी जीवन बिताउने ।

पहिले र अहिलेको दैनिकीमा केही परिर्वतन त पक्कै आएको होला । पहिलेपहिले अखबर पढ्ने, किताब पढने काम बढी हुन्थ्यो । अहिले घटेको छ । एक त आँखाले देख्दैन, सानो अक्षर पढ्न गाह्रो । फेरि पहिलेजस्तो आकर्षक पनि हुँदैन । ज्यादै रुचिकर, आफूले जान्नुपर्ने कुरा आयो भने त पढिहाल्छु । साधारण खबर छ भने पढेर पनि साध्य हुँदैन । त्यसको फाइदा हुँदैन पनि ।

दिन कसरी बित्छ ?
बिहान साढे पाँचतिर उठ्छु । पञ्चस्नान गर्छु । पिता र माताको सालिक आँगनमै बनाएको छु, जल चढाउँछु । त्यसपछि बगैंचामै रहेको पीपलको रूख यसो घुमेर जल चढाउँछु । मायादेवीको सानो मन्दिर पनि बनाएको छु, बुद्ध र कृष्णको पनि मूर्ति छ । दर्शन गर्छु । शालिग्राम तर्पण गरेर जल पिउँछु । योग, जप र तप गर्ने चलनचाहिँ छैन । दिउसो, कसैले बोलाएको ठाउँमा गइदिन्छु । पहिलेको जस्तोचाहिँ छैन । खानपान, दालभात र तरकारी नै हो । बेलुकाचाहिँ एक पेग रक्सी पिउँछु सधैं । साढे दसतिर सुतिसक्छु ।

कर्णालीको लोकसंस्कृतिदेखि अरनिकोसम्मको खोज अनुसन्धान गर्नुभयो । सरकारको पुरातत्त्व र संस्कृति विभागमा रहनुभएको बेला आफ्नै अवधारणामा सांस्कृतिक संस्थान पनि बनाउनुभयो, थुप्रै नाटक, काव्य, कथा, अनुसन्धानदेखि नेवारी भाषासम्मका ५० भन्दा बढी किताब लेख्नुभयो, यीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुन लाग्छ ?
अरू कामहरू एक्लै गरें । कर्णालीको अनुसन्धान भने टिममा गरेको थिएँ । मसहित भाषाशास्त्री, मानवशास्त्री, योजना आयोगदेखि लोककथा तथा गीतसम्मका विद्वान्हरू थिए । जुम्लामा सिंजाखोला उपत्यकामा बसेर पाँच जनाले जुन काम गर्‍यो, जीवनमै महत्त्वपूर्ण र केही गरेजस्तो लागेको त्यही हो । ‘कर्णालीको लोकसंस्कृति’ को पाँच भाग निकाल्न पनि समय लाग्यो । पाँच भाग जब आयो । पाँचै जनाले मदन पुरस्कार पनि पाइयो । अहिलेसम्म त्यस्तो काम भएकै छैन । त्यही काम गरेपछि कर्णाली उठ्यो । ‘वी आर सो भेरी रिच इन कल्चर एन्ड हिस्ट्री’ भन्ने कुरा बाहिर आयो ।

अब गर्न बाँकी केही छजस्तो लाग्छ ?
अबचाहिँ छैन । उमेर पनि भयो । छोराहरू सबै विदेश छन् । बूढाबूढी माक्रै घरमा । अब आनन्दले बस्ने, चिन्ताबाट मुत्त भएर चिन्तन–मनन गर्ने ।

बितेको सय वर्षमा तपाईंले देख्नुभएको सांस्कृतिक परिवर्तन के–के हुन् ?
पहिले त्यतिका जाति–जनजाति भए पनि को हो, के हो भन्ने थिएन । एकले अर्कोलाई चिने पनि नचिनेजस्तो थियो । महत्त्व खासै थिएन । अहिलेचाहिँ महत्त्वबोध भएको देख्छु । जातीय–सांस्कृतिक विविधता हाम्रो मुलुकको राष्ट्रिय एकताको आधारको रूपमा स्थापित भएको छ । यो निकै राम्रो कुरा हो । यति धेरै जाति–जनजाति छन्, सबैका आ–आफ्नै मातृभाषा छन, मातृभाषासँगै
रीतिथिति, चाडपर्व, लोकगीत, लोकनाटक र परम्पराहरू छन्, यी सबैको महत्त्व बढेको छ । फूलबारी एउटै फूल मात्रै भएन हुन्न, त्यसमा सेतो, हरियो, पहेंलो, विभिन्न रङको भयो भने शोभा बढ्छ भन्ने जागरण आएको छ । समावेशीकरण र एकअर्काबीचको सहअस्तित्व र समन्वयको चेतना विकास भएको छ । सरकारले पनि छुट्टै संस्कृति मन्त्रालय बनाएको छ । संस्कृति नीति पनि बनाएको छ ।

तर, एक दशक हुनै लाग्दा पनि संस्कृति नीति कार्यान्वयनचाहिँ हुन सकेन नि ?
अरू क्षेत्रको तुलनामा प्राथमिकतामा नराखेको जस्तो चाहिँ देखिन्छ । बजेटको हिसाबले पनि प्राथमिकतामा राखेको जस्तो देखिएन । तर के कुरा साँचो हो भने संस्कृति माथि नउठेसम्म समृद्ध नेपाल निर्माण हुन सक्दैन । त्यस्तै सुखी जीवनको नारा पनि छ क्यारे । दाल, भात तरकारी मात्रै खाएर त सुखी जीवन हुँदैन । चाड, पर्व, संस्कति सबै जोडिएर आउँछ । संस्कृतिको सन्दर्भमा सरकार योजनाबद्धचाहिँ भएको जस्तो लाग्दैन ।

हाम्रो शिक्षा पद्धतिले पनि संस्कृतिलाई खास ढंगले अवलम्बन गर्न सकेको छैन नि ।
हो, शिक्षा पद्धतिमा पनि समस्या देखिन्छ । जान्ने बुझ्ने त भयो । पढ्ने लेख्ने पनि भयो । तर, बाहिरिया ज्ञानको प्रभावको तुलनामा हाम्रो आफ्नै मौलिक ज्ञान र संस्कृति ओझेलमा पर्‍यो । पाठ्यपुस्तक निर्माणदेखि पठनपाठनसम्ममा यो कुरा सोचिएको छैन । संस्कृति थाहा नपाएपछि त आफ्नो पहिचान जुन हो त्यो हराउँदै जाने नै भयो नि । हाम्रो जातीय र राष्ट्रिय संस्कृति यो हो भन्ने कुरा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।

सय वर्षको नेपाली समाजको परिवर्तनचाहिँ कस्तो देख्नुभएको छ ?
अहिले अब चुलोमा आगो बल्दैन । दाउरा चाहिँदैन । भाँडाकुँडा फेरिएका छन् । बिजुलीबाट राइसकुकरमा भात पाक्छ । ग्यासले दाउराको काम गरिरहेको छ । ढिकी–जाँतो गर्ने कुरा अब म्युजियममा राखे भयो । परिवर्तन यस्ता छन् । पहिले हाम्रो यो जम्मै ज्यापुहरूको टोल थियो । किसानहरूको टोल । नोल र खर्पन बोक्थ्यौं हामी । धान काट्थ्यौं, चुट्थ्यौं र बोकेर ल्याउँथ्यौं । अब त्यो सारा परिवर्तन भए । घर गगनचुम्बी बनेका छन् । पैसा आउने भएपछि जग्गा जम्मै बेचबिखन गर्न थाले । बाहिरका मान्छे थुप्रै आए, पैसा बोकेर आए, कहाँ–कहाँबाट कमाएर ल्याए । जग्गा किने । हामीचाहिँ मेजरिटीवाला माइन्युरिटीतिर गइरहेका छौं । समाज यो तरिकाले परिवर्तन भइरहेको छ ।

राजनीतिक परिवर्तनचाहिँ ?
मैले राणा, पञ्चायत, बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म देखें । धेरै नेताहरू आए । उनीहरूले समयक्रममा धेरै दुःख पनि गरेका छन्, संघर्ष र विद्रोह पनि गरेका छन् । तर, क्रान्तिपछि प्रतिबद्धता भुल्ने संस्कृति विकास भएको देख्छु । आत्मआलोचना र जसले गरे पनि राम्रो कामको प्रशंसा गर्ने संस्कृति विकास हुन नसकेको देख्छु । आफूले गरेको मात्रै ठीक, अरूको बेठीक भन्ने भयो । दण्डहीनता छ । शक्तिमा नगइन्जेल एउटा पुगेपछि अर्कै हुने परिपाटी छ । राजनीतिक इमानदारी पनि नभएको देख्छु । यति हुँदाहुँदै पनि काम त भइरहेको छ । दायाँ–बायाँ छिमेकको तुलनामा कम काम भएको जस्तो लागेको मात्रै हो । फेरि परिवर्तन भनेको जादूको छडीले जस्तो छुनेबित्तिकै एकै पटक हुने कुरा पनि हैन । पहिले त जग बसाउनुपर्‍यो ।


प्रस्तुति : फूलमान वल

प्रकाशित : वैशाख २८, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?