कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रानीबारीमा मानवतासित साक्षात्कार

सञ्जीव उप्रेती

पन्छी संरक्षण नेपालको छक्तीसौं वर्ष दिवसको कार्यत्रम निम्ति अर्चना थापा र म रानीबारी सामुदायिक वन पुग्यौं  । चरा अवलोकन र छलफलको कार्यक्रम थियो  । पन्छी संरक्षण नेपालको छक्तीसौं वर्ष दिवसको कार्यत्रम निम्ति अर्चना थापा र म रानीबारी सामुदायिक वन पुग्यौं ।

रानीबारीमा मानवतासित साक्षात्कार

चरा अवलोकन र छलफलको कार्यक्रम थियो । केही समय बाँकी थियो । हामीले वनभित्रकै चमेनाघरमा बसेर कालो कफी घुट्क्यायौं । अनि रानीबारीका रूख बिरुवा हेर्न थाल्यौं ।


खोटेसल्ला, काँडेसल्ला, मसला, मयल, लप्सी, काभ्रो, पीपल, काइयो, फिरफिरे, काउलोलगायतका थरीथरीका रूखहरू यत्रतत्र थिए । कुरा गर्‍यौं रूख बिरुवाको यही विविधताले गर्दा नै रानीबारीमा फरक फरक प्रजातिका चराहरू आउँदा रहेछन् । आखिर चराहरू पनी त मानवझैं कहाँ बस्ने भन्नेबारे ‘सेलेक्टिभ’ हुन्छन् नि ! कसैलाई अग्ला रूखका टोड्का मन पर्छन् त कसैलाइ झुरुम्म परेका झ्याङ ।


हेर्दाहेर्दै पन्छी संरक्षण नेपालका केही सदस्यहरू आइपुग्नुभयो— संघका अध्यक्ष राजेन्द्र गुरुङ, इसाना थापा, नीरज दहाल, आनन्द क्षेष्ठ, प्रख्यात चरा फोटोग्राफर चुङबाङ शेर्पा, वर्ड वाचिङमा लामो समयदेखि महत्त्वपूर्ण योगदान दिइरहनुभएका विमल थापालगायतका थुप्रै सहभागीहरू । हामी सबै रानीबारीको फन्को लगाउँदै आफ्ना–आफ्ना दुर्विन र क्यामेरा रूख झ्याङतिर तेर्साउँदै चराहरू हेर्न थाल्यौं ।

राजेन्द्रजी र विमलजीलगायतका सहभागीहरू लामो समयदेखि वर्ड वाचिङ गरिरहनुभएकाले उहाँहरूलाई चराको स्वर सुन्नेबित्तिकै कुन चरा कहाँ बसेको छ भनेर थाहा हुन्छ । अर्चना र मजस्ता सिकारु ‘बर्डर’ हरूले देख्न नसकेका चरा पनि उहाँहरूले परैबाट चिन्नुहुन्छ । विमलजीको संकेत पछयाउँदै चिलाउनेको टुप्पोतिर हेर्दा हामीले दुईवटा फरक प्रजातिका चरा देख्यौं— नीलो घाँटी र हरियो जीउ भएको कुथ्रुके (ब्लू थ्रोटेड बार्बेट) तथा सानो आकारको हाँगाबाट फुत्त फुत्त उडेर त्यही हाँगामा फर्किरहने झिंगा खाने चरा ।


हामी अघि बढ्दै गयौं । रानीबारी चराहरूको आवाजले भरिएको थियो— कुथ्रुकु, कुथ्रुकु, कुक्कु, टिउँटिउँ थरीथरीका आवाज पातहरू हल्लेको हल्का स्वरसित मिस्सिरहेका थिए । लाग्यो, सबै रूख, बिरुवा जनावर र चराहरू एउटै इकोसिस्टमभित्र एकअर्कासँग गाँसिएका छन् । एकअर्काबाट पृथक् भए पनि सह–अस्तित्वको एउटै साझा अनुभूतिमा जोडिएका छन् ।


हिँड्दै जाँदा लाटोकोसेरो देख्यौं, नटह्याच र कोइली देख्यौं । लाटोकोसेरो मस्त भई बिहानको घाम तापेर बसेको थियो भने रातो चुच्चो भएको कोइली हाँगामा नहल्लीकन चुपचाप । एक साथीले कोइलीलाई हेरेर भने— सायद यो कागले खेदेर थाकी चुपचाप बसेको छ । अर्काले भने— होइन यो अलि गलेको जस्तो छ । बूढो भएको हुनुपर्छ ।


हरेक बिहान रानीबारीमा थुप्रै मानिसहरू मर्निङ वाक र व्यायाम गर्न आउँछन् । केही भने दौडिरहेका थिए । हामी बर्डरहरू भने आफ्नै सुरमा दुर्विन तेर्साउँदै बिस्तारै बिस्तारै अघि बढिरहेका । हाम्रो सुस्त गतिले दौडिरहेकाहरूलाई अवरुद्घ गरेजस्तो लाग्यो । त्यत्तिकैमा विमलजीले गोरेटोमा चिप्लिरहेको एउटा झुसिल्किरा देख्नुभएछ । उठाएर रूखको बोक्रामा राखिदिनुभयो । धन्न बिचराको ज्यान बाँच्यो । एक छिन गोरेटोमै चिप्लिरहेको भए दौडिरहेकाहरूको खुट्टा तल च्यापिई उसको त्यही अन्त्य हुनेथियो ।


वर्ड वाचिङपछि राखिएको औपचारिक छलफmल कार्यक्रम दौरान रानीबारी वन समुदायका अध्यक्ष सन्तोषवित्रम शाहसित पनि भेट भयो । आयोजकहरूले मलाई ‘साहित्य र प्रकृति’ बारे केही बोल्नु भन्नुभएको थियो । कार्यक्रम दौरान मैले भनें— हाम्रो विश्वदृष्टि मानवकेन्द्रित छ । त्यसैले गर्दा हामी आफू वरिपरिका चरा र रूख बिरुवालाई देखे पनि तिनको अस्तित्वप्रति सजग नै हुँदैनौं ।


मलाई प्रकृति सानैदेखि मन पर्थ्यो । अहिले आएर लाग्छ मेरो प्रकृतिप्रेम अपुरो मात्र नभएर अमूर्त पनि थियो । प्रकृतिमा किसिमकिसिमका चराहरू हुन्छन्, रूख बिरुवा हुन्छन् । प्रकृतिमा मन रमाउने भए तापनि धेरै समयसम्म मलाई ती रूखबिरुवाको नामसमेत थाहा थिएन । हेर्दा सबै हरिया मात्र देखिन्थे ।

त्यस्तै गरेर काग, रूप्पी भंगेरा, परेवा र अन्य केही चराबाहेक अरू चिन्न सक्दिन थिएँ । सायद यो मेरो मानवकेन्द्रित विश्वदृष्टि र त्यही विश्वदृष्टिले उब्जाएको ‘संरचनात्मक अन्धता’ को परिणाम थियो ।


रूखबिरुवा र चराहरूलाई चिन्दै बुझ्दै जाने क्रममा लाग्न थालेको छ— मानवकेन्द्रित विश्वदृष्टिलाई एक छिनका लागि मात्र भए पनि पन्छाएर हेर्दा संसार र समाजलाई बुझ्ने वैकल्पिक दृष्टिहरू सोच्न सकिन्छ कि ? मानव समाजले प्रायः सधैं युद्ध र आक्रामकतालाई महत्त्व दियो । सामन्ती युगमा राजा महाराजाहरूले युद्ध जितेर आ–आफ्ना ‘नाम’ इतिहासमा लेखाउने प्रयत्न गरे भने आधुनिक युगमा युद्ध मार्फत फाइदा कमाउन हतियारको व्यापार नै थाल्यौं ।


मैले चराचुरुङ्गी, जनावर र रूखबिरुवाको संसारलाई ‘रोमान्टिसाइज’ गर्न खोजेको होइन । रूख बिरुवाबीच पनि घामको प्रकाश र पानीका लागि संघर्ष चल्छ । चील, बाजलगायतका र्‍याप्टरहरूले साना चरालाई खान्छन् र कैयौं साना चराले कीरा, झिंगा, फट्याङ्ग्रालाई । तर, मानव समाजबाहेक अन्य जीवजन्तुहरूबीच पैसा र नाम कमाउन निम्ति संघर्ष हुँदैन । न उनीहरूबीच कसले कति ‘परोपकार’ गर्‍यो भन्ने देखाउन प्रतियोगिता हुन्छ !


परोपकार आफैंमा राम्रो कुरा हो । तर कति मानव परोपकारीहरूबीच प्रतियोगिता चलेको देखेको छु, अरू परोपकारीभन्दा म बढी परोपकारी छु भनेर देखाउन । अनि आफूले गरेका परोपकारका फोटो, भिडियोलगायतका प्रमाण सार्वजनिक गरेर आ–आफ्ना अहम्मा नयाँ पत्रहरू चढाउन । रूख र चराचुरुङ्गीले पनि लगातार परोपकार गरिरहेकै छन् । रूखले अक्सिजन उत्पन्न गरेर तथा चराहरूले बीउ सारेर र बालीनाली नष्ट गर्ने कीरा फट्याङ्ग्रा खाइदिएर । न अहिलेसम्म कुनै रूखले आफ्नो परोपकारको गाथा बयान गरेको छ न कुनै चराले परोपकारी हुनको दाबी नै ।


नाम कमाउने इच्छा मानवकेन्द्रित विश्वदृष्टिको अर्को उपज हो । रानीबारी सामुदायिक वनमा एउटा अजंगको काभ्रोको रूख छ ।

वनको संरक्षण गर्ने अरुण शाक्यको भनाइअनुसार त्यो रूख दुई सय पच्चीस वर्षभन्दा बढी पुरानो हो । त्यसै हो भने त्यो रूख पृथ्वीनारायण शाहको पालादेखि नै रानीबारीमा ठडिइरहेको छ, शाहकालदेखि राणाकाल, पञ्चायतकाल, जनयुद्ध र गणतन्त्रसम्मका इतिहासका सबै आरोह–अवरोहको दैनिक साक्षी बन्दै । न काभ्रोलाई नामको आवश्यकता पर्‍यो, न ऊसँगसँगै ठडिएका चिलाउने र मयलका रूखहरूलाई इतिहासमा आ–आफ्ना सफलता र प्राप्तिका गाथा कोराउने आवश्यकता नै ।


हामी मानवहरू जित–हारका थरीथरीे ‘दंगली’ प्रतियोगिताहरू गर्छौं । सुन्दरताका प्रतियोगिताहरू गरेर विश्व सुन्दरी ह्यान्डसम पुरुषहरूसमेत छान्छौं । तर, के यो पनि मानवकेन्द्रित विश्वदृष्टि नै उपज होइन र ? कार्यक्रममा बोल्दै जाँदा एक छिन अघिको बर्डवाच दौरान देखिएको नीला घाँटी भएको सुन्दर कुथ्रुके सम्झें ।

यसअघि टोदहको बर्डिङमा देखेका सेतो कन्ठे माटिकोरे र सुनचरीहरू पनि सम्झें । ती चराहरू कुनै पनी सुन्दरी वा ह्यान्डसम प्रतियोगिताका विजयीभन्दा कम आकर्षक छैनन् । तिनलाई त आफ्नो सुन्दरताको आभासै छैन । ती बस भइदिन्छन्, बाँचिदिन्छन् ब्युटी कन्टेस्टका बजारमुखी सौन्दर्यचेतबाट पर जंगलमा त्यत्तिकै रमाउँदै ।


लाग्छ, मानवले आफ्नै मानवतासँग साक्षात्कार गर्न पनि चरा र प्रकृतिलाई बुझ्नु आवश्यक छ । नाम र दाम कमाउने दौडले मानवलाई ‘अमानवीय’ बनाउँदै लगेको छ । त्यही दौडमा अरूलाई उछिन्न मानव समुदायले प्रकृतिको दोहन गर्दै गए । प्रगति र समृद्घिको नाममा रूखविरुवा काटिए, पृथ्वीको तापक्रम बढ्यो, मौसमहरूमा उथलपुथल आयो । अतिवृष्टि र अल्पवृष्टिका समस्या बढे ।


यस्तो पनि लाग्छ— चराचुरुङ्गी जनावर र रूख बिरुवाप्रति सजग हुन थालेमा मानवले अन्य मानवको पनि सम्मान गर्न थाल्नेछन् कि कतै ? नेपालमा झन्डै नौ सय प्रजातिका चरा छन् र दस हजारभन्दा धेरै प्रजातिका रूख–बिरुवा । छिमेकी राष्ट्र भारतमा बाह्र सय जति चरा र बीस हजार प्रजातिका रूख बिरुवा भएको अवस्थामा क्षेत्रफलको दृष्टिले भारतभन्दा धेरै सानो नेपाल चराचुरुङ्गी र वनस्पतिको दृष्टिले असाध्य धनी छ ।

यस्तै बहुलता नेपालका विभिन्न भाषा र जातिहरूमा पनि देखिन्छ । त्यो बहुलता विखण्डनको संकेत नभएर नेपालको सांस्कृतिक विविधताको सुन्दर प्रमाण हो । यदि हामी प्रकृति र चरा जनावरको जगत्मा भएको विविधताप्रति संवेदनशील भएको खण्डमा मानव जगत्मा भएका विविधतालाई पनि सहज रूपले स्वीकार गर्न सक्नेछौं । आफ्नोभन्दा फरक लिंग, वर्ग र जातिका मानिसहरूको पीडाप्रति बढी संवेदनशील हुन सक्छौं । रूख बिरुवा र चरालाई समेत माया गर्न थाले हामी आफूजस्तै अन्य मानवहरूप्रति कसरी असंवेदनशील रहन सक्छौं र ? त्यसैले आफ्नै मानवतालाई भेट्न पनि हामीले प्रकृतिको सम्मान गर्नु आवश्यक छ ।


बोल्दै जाँदा बर्डवाचिङ दौरान विमलजीले गोरेटोमा चिप्लिरहेको झुसिल्किराको ज्यान जोगाएको सम्झें । हुन त घटना सानो थियो तर यसले मेरो मनमा ठूलो प्रभाव पर्‍यो । अर्चना र म विमलजीलाई पछ्याउँदै थियौं । तर हाम्रा आँखाले कुथुर्के र झिँगा खाने चरा देख्न नसकेजस्तै त्यो झुसिल्किरालाई पनि देख्न सकेनन् । सायद वर्षौंदेखि चरा हेर्दै आएकाले होला विमलजीका अनुभवी आँखाले झुसिल्किरालाई परैबाट देखे । मानवकेन्द्रित संरचनात्मक अन्धताबाट मुक्त भएको त्यही दृष्टिले गर्दा नै सायद उहाँ त्यस झुसिल्किराको रक्षा गर्न सक्षम हुनुभयो ।


हाम्रा वरिपरि कैयौं चराहरू छन् । काग, परेवा, रूपी भंगेरा आदि त छँदै छन्, त्यसबाहेक जुरेली, धोबिनी, लामपुच्छ्रेलगायतका अन्य चराहरू पनी छन् । जाडोमा तिब्बत र साइबेरिया त गर्मीमा श्रीलंकासम्मका चराहरू नेपाल आउँछन् । अतिथिलाई देवता मान्नुपर्छ भन्ने भनाइ रहेको हाम्रो संस्कृतिमा यदि हामीले ती हजारौँ माइल उडेर आउने अतिथिहरूको सत्कार गर्न सकेनौं भने हाम्रो सभ्यता अमानवीय हुनेछ । चरा र रूखबिरुवाको संरक्षण गरेर हामीले तीप्रति कुनै परोपकार गरिरहेका छैनौं ।

बरु ती प्राणीले केही नबोली नसोधी पनि मानव जीवनलाई सघाइरहेका छन् । हामीले प्रकृतिको संरक्षण आफ्नै लागी पनी गर्नु आवश्यक छ । जति हामी चराचुरुङ्गी, जनावर र रूख बिरुवालाई बुझ्दै जान्छौं, मेरो मेरोको आधुनिक दौडमा धुमिल हुँदै गएको आफ्नै मानवतासित पुनः साक्षात्कार गर्दै जानेछौं । आउने पिंढीहरूका लागि सुन्दर, स्वस्थ्य संसारसमेत हस्तान्तरण गर्न सक्नेछौँ ।

प्रकाशित : वैशाख २८, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?