पारियात्र र महामेरु- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारियात्र र महामेरु

बंगालका राधानाथ सिकदरले 'माउन्ट फिफ्टिन’ भनेर जर्ज एभरेस्टभन्दा अघि नै तोकेका विश्वको सर्वोच्च पहाडलाई कृष्ण द्वैपायन व्यासले महाभारत लेख्दा नै पहिल्याइसकेका थिए 
सौरभ

स्थानविशेष हो पारियात्र । कहाँ पर्छ ? माथिको चर्चा हो यो । सुरु गरौं यसरी– गण्डकीमाथिका दुई प्रचलित पुस्तकहरू हातमा आइपुगे । तर तिनमा गण्डकी नदीको नाम–परिचयमाथि समेत ध्यान गएको लागेन । यसैले पहिला गण्डकीको नामसूची दिइन्छ ।

कोण्डोसटेस : यस्तो नाम दिएका हुन् गण्डकीलाई ग्रीक मूलका एरियनले, इस्वीको दोस्रो शताब्दीमा । जति बेला उनी उत्तर भारतमा मेसेडोनियनहरूका राजदूत थिए । यो अनौठो सुनिए पनि गण्डकीकै रूपान्तरण हो ।

चक्रनदी : गण्डकीलाई यो नाम दिने भागवत्को पाँचौं स्कन्ध हो । भागवत् २५ सय वर्षअघि लेखिएको मानिन्छ ।


गण्डकी : यो नाम महाभारतका धेरै ठाउँमा आउँछ । आदिपर्व, सभापर्व, वनपर्व आदि । गण्डकीको उल्लेख गर्ने महाभारत लेखिएको समय इसापूर्व ६०० लाई मानिएको छ । तर गण्ड ऋषिबाट गण्डकी बनेको जानकारी दिने सुरुमा हिमवत् खण्ड हो । त्यसलाई अरूले पछ्याएका छन् ।


गण्डसह्वाया : यो नाम गण्डकीकै निम्ति हो भन्ने भारतीय विज्ञहरूको ठहर छ । महाभारतको वनपर्वमा यो नाम आउँछ । उक्त विचार पीबी काणेको हो । शिवराम आप्टेले पनि सोही जनाएका छन् ।


चिगचौडी : अघि यहाँ मगर भाषाको प्रभाव हुँदा कालीगण्डकीलाई चिगचौडी भन्दथे । (पृ. ४४ कालीको छाल– कालीभक्त पन्त)
गल्लिका : यो नाम पद्म पुराणमा आउँछ । भारतीयहरूले गल्लिकालाई गण्डकी नै मानेका छन् । पद्म पुराण २४ सय वर्षअघि लेखिएको मानिन्छ ।


तमसा : कालो भन्नाले तमस अर्थात् कालीगण्डकीकै नाम तमसा हो भन्ने बुझिन्छ । जसको किनारमा चित्रवन अर्थात् चितवन र वाल्मीकि आश्रम छ पनि । यद्यपि अहिले एउटा सानो नदीलाई मात्र तमसा भन्ने चलन छ ।


सदानीरा : यो नाम सतपथ ब्राह्मणमा सर्वप्रथम उल्लेखित छ गण्डकीका निम्ति । संस्कृत अर्थ हो, सधैं पानीले भरिभराउ हुने । तर लाटो अर्थमा सदासर्वदा नीलो देखिन्छ । किनभने यसमा पोखरीमा जस्तो काई र लेउ बन्नै पाउँदैन । यसैले मगर भाषाको हरियोबोधक गन शब्दमा खोलाबोधक डी मिलेर गण्डकी बनेको हो भन्ने निर्क्योल (गुरुङ, २०६१) सही लाग्दैन ।


शालग्रामी : यस शब्दको स्रोत बराह पुराणमा आधारित छ । त्यो भनाइ हो, जसमा विष्णुले शालिग्रामलाई ग्रामप्रस्तरको रूपमा तिमीमा सधैं रहन्छु भनी वरदान दिए ।


गण्डिका : अपर गण्डिका र अपूर्व गण्डिका ब्रह्माण्ड पुराणले पनि नाम लिएको छ । माल्यवान पर्वतको पूर्वी शिखरबाट पूर्व गण्डिकाको प्रादुर्भाव भएको छ भनेर अर्को पुराणले भनेको छ । त्यहाँ अपर गण्डिकाको उल्लेख पनि छ । रूखकटहर र काली आँपको उल्लेख पनि भएको छ । काली आँपलाई नेपालको रैथाने भन्ने चलन छ । यद्यपि रूखकटहर भने मलेसियाको रैथाने मानिन्छ ।


वेणु : गंगामाथि अन्य पवित्र नदीका साथ त्रिपुरारीका रथमा गण्डकी वेणु नामले रहे । यसरी गण्डकीले वेणु नाम पाएको छ मत्स्य पुराणबाट ।


चक्षु : हिमालयको एक नदीको नाम हो ब्रह्माण्ड पुराणले भन्यो । आँखाजस्तो देखिने शालिग्राम चक्रबाट यस्तो नाम बनेको बुझिन्छ । नील पर्वतको दक्षिणतिर बग्दै पश्चिम लाग्ने नदीलाई चक्षु नाम दिएको छ । अर्को पुराणले । जोमसोमको पूर्वपट्टिको भागलाई नीलपर्वत नै भनिन्छ । पारट र खस देश भएर बग्छ भनेपछि चक्षु कुन नदी हो भन्ने अरू टड्कारो छ । चक्षु नदी सुरुमा रामायणमा आउँछ ।


बस्वोकसारा : महाभारतका सप्तसिन्धु अर्थात् गंगा, यमुना, प्लक्षगा, रथस्था, सरयु, गोमती र गण्डक वा बस्वोकसारा भनी यसरी गण्डकीले नयाँ नाम पाएको छ । यो नाम भारतीयहरूले दिएका हुन् ।


लमजुङको याङ्जाकोट नजिकैको बाक्स्वारासँग यो मिल्न गएको छ । स्वाराको अर्थ पाखो जमिन खारेर बनाइएको कान्ला हो । तर बाक्स्वारामा परेको स्वारा अब त्यस्तो देखिएन ।


सप्तधारा : कोसी र गण्डकीको नाम पहिले सप्तधारा थियो (पेज १२, नेपाल र नेपाली– गोविन्दप्रसाद भट्टराई)

नगमालिका : १६–१७ सय वर्षअघि पनि गण्डकी नगमालिका भनिन्थ्यो । यसो भनेका छन् योगी नरहरिनाथले ‘हाम्रो मौलिकता’ भन्ने पुस्तिकाको पेज १९ मा ।


ठ्याक्कै चौथो शताब्दीमा कालिदासले लेखेका छन् :


हिमालयो नामः नगाधिराज ।
सम्भवतः यही देखेर योगीले त्यसो भनेका हुन् । नगको अर्थ पहाड हो ।


तर गण्डशैल शोभा अर्थात् गण्डकी किनारका पहाड लेखेका छन्, केशरबहादुर केसीले उनको पुस्तक ‘द जुडिसियल कस्टम्स अफ नेपाल’ को भूमिकाको पृष्ठ ७ मा ।


हिरण्यवती : ‘साकर्ड बुक अफ द इस्ट’ सम्पादन गर्दा पेज ८५ र पेज ४५३ मा म्याक्समुलरले उल्लेख गरेका हिरण्यवती गण्डकीका निम्ति हो भन्ने ठनाइ भारतीयहरूको छ ।


एक लेखकको लेखाइ छ— गण्डकी प्रसवण क्षेत्रका घाट र टारहरूमा बोटे, दरै र कुमालहरूको बसोबास पाइन्छ । घाटमा डुंगा चलाएर जीविका निर्वाह गर्नेलाई पानीबोटे र नदीको बालुवा चालेर सुन निकाल्नेलाई सुनाबोटे भनिन्छ (पेज ३०, गुरुङ २०६१) यसैले हिरण्यवतीबारेको मन्तव्य सही नै देखिन्छ ।


यमुना : घाटु नृत्य नाटिकामा सप्तगण्डकीलाई सात यमुना भनेको छ । –पेज १८४, गुरुङ २०६१) यसबाट गण्डकीको एक अर्को नाम थाहा हुन्छ ।


‘वारि जमुना पारि जमुना’ भन्ने एक गुरुङकै लोकगीतले जगमान गुरुङको लेखोटलाई समर्थन गरेको छ । त्यति मात्रै होइन, तनहुँको याम्पाफाँट नामले यो फाँटको प्राचीन स्थिति, नृवंशशास्त्रीय खोजको एउटा बलियो केन्द्र हुन सक्ने सम्भावनालाई पनि देखाएको छ । सम्भवतः नेपालको एउटा प्राचीन नाम यम्बु भएबाट गण्डकीको प्राचीन नाम पनि यमुना थियो, जसलाई कालान्तरमा वेदले नै र त्यसपछि भारतीयहरूले कथित गंगाको सहायक बनाइदिए भन्ने देखिन्छ ।


आज पारिपट्टि कथित यमुना नदीको किनारमा ताजमहल छ र गोमतीको किनारमा लखनऊ छ । त्यो देखिरहेकाहरूलाई भन्न खोजेको कुरा मान्न गाह्रै हुन्छ । पंक्तिकारको आशय वागलुङ जिल्लाको ३१६१ मिटर अग्लाइको घुम्ती पहाडको कुनै खोलालाई गोमती बनाइयो भन्ने हो । वाल्टर हेमिल्टनले पनि ऋग्वेदको गोमतीको कुरालाई छाडेर पौराणिक गोमती घुम्तीबाटै बन्न पुगेको संकेत गरेका छन् ।
च्युमिङग्यात्सा : यो नाम तिब्बती बौद्धमार्गीहरूले गण्डकीलाई दिएका हुन् । अर्थ हो– सय खोला । तर खासमा यो नाम मुक्तिनाथका १०८ धाराका निम्ति हो । अर्थ हो— सय मूल । जहाँको पानी गण्डकीमा आइपुग्छ । ह्युबर्ट डिक्लियरको ‘अतिसाको नेपाल आगमन’ भन्ने लेखोटमा जाने हो भने यो नाम एघारौं शताब्दीमै थियो ।


नारायणी : हामीले मानेको गण्डकीको पुछार भागलाई मात्र नारायणी भनिन्छ सीमावारि । तर अहिले भारतीयहरू उनीहरूमा बग्नेलाई गण्डक र हाम्रोमा बग्नेलाई नारायणी ठान्दछन्, सीमामा गण्डक परियोजना रहे पनि ।


काली गंगा : यस्तो नाम दिएका छन् गण्डकीलाई मुरलिधर भट्टराईले ‘नेपाल द बर्थ प्लेस अफ कालिदास’ भन्ने उनको पुस्तिकाको पेज २० मा । भट्टराई राहुल सांकृत्यायनलाई शास्त्रार्थका निम्ति चुनौती दिने पात्रका रूपमा आज पनि सम्झिइन्छन् ।


कैलाशलाई भनिन्छ गांगरी । यसैबाट बगेर आउने नदी कर्णालीलाई पश्चिम नेपालका मगरहरूले भन्छन्, घोङ्गजु । पानीको फोकाबोधक संस्कृत शब्द गण्डसमेत यसैबाट बनेको देखिन्छ, यद्यपि गण्डका अरू धेरै अर्थ छन् । यही गाङमा खोलाबोधक दी जोडिएर गण्ड र फेरि पानीबोधक क्यु मिलेर गण्डकी अर्थात् ‘पानी, पानी र पानी’ हुन पुगेको छ बाइरोडको बाटो भनेजस्तो ।
एतरेय ब्राह्मण (४००० इसापूर्व) को सदानीरा अब महाभारतकाल (इसापूर्व ६००) मा आइपुग्दा गण्डकी भन्ने नयाँ नामले न्वारन भयो । यसर्थ भट्टराईले काली गंगा लेख्नु गलत छैन ।


गंगा शब्द गण्डकीका निम्ति धर्मराज थापाले पनि धेरै ठाउँमा प्रयोग गरेका छन् तर गलत छैनन् । किनभने कृष्णाभा (कालीगण्डकी) को जलदेवी गंगा हुन्, हिमवत् खण्डले भनेपछि पूरै गण्डकीको नाम गंगा भयो नै ।


सरयु : यस्तो नाम पनि दिएका छन् गण्डकीका निम्ति भट्टराईले पेज ३७ मा । कुण्ड, पोखरी, ताललाई संस्कृतमा भनिन्छ सर । दामोदर कुण्ड अर्थात् कालीगण्डकीको मुहान भयो सर । त्यही सरबाट बगेर आएकाले भयो सरयु, यसैबाट अर्को नाम बन्छ सरस्वती । सरस्वतीको अर्को नाम पारावतघ्नि अर्थात् पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी भएपछि त्यो मैदानी नदी हुने कुरा पनि भएन ।


भारतीय लेखकहरूले सीमापारि पुगेपछि कर्णालीको तल्लो भागलाई पनि सरयु भनेर लेखेका छन्, सम्भवतः मानसरोवरबाट आउने भएकाले । संस्कृतका विज्ञ अंग्रेजहरूले सरस्वती शब्द जुनसुकै नदीलाई पनि लाग्छ भनेर लेखेका छन् । यसैले भारतको राजपूतानाको सरस्वती र रामायणका सरयु अरू उस्तै नाम गरेका नदी हुन् भन्ने हामीले बुझ्नुपर्छ ।


देविका नदी म्याग्दी जिल्लामा बग्ने सानो खोला हो (पेज ४५०, मुस्ताङ दिग्दर्शन– क्षत्री) । ब्रह्माण्ड पुराण (इस्वीको चौथो शताब्दी) अनुसार देविका गण्डकीमा मिल्दछ पनि । त्योभन्दा धेरै पछिको कालिका पुराणले देविकालाई सरयुको सहायक भनेपछि भट्टराई फेरि पनि गलत छैनन् ।


ओम्दोक्यु : माइकल भिन्डिगले कालीगण्डकीका निम्ति यो नाम उल्लेख गरेका छन् ‘द थकाली ः अ हिमालयन एथ्नोग्राफी’ को पेज ४३८ मा ।
गण्डकवती : यो नाम गण्डकीलाई भारतीय संस्कृतज्ञ वामन शिवराम आप्टेले दिएका हुन् ।
रडी : रडीको अर्थ हो चिप्लनु । यो शब्द ‘इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह’ मा योगी नरहरिनाथले उल्लेख गरेका छन् । रडिखेल्ला भन्ने ठाउँ नै छ जुम्ला खलंगाबाट एक घण्टा पर । यसको ठेट अंग्रेजी अनुवाद हो— स्किइङ स्पट । यद्यपि स्किइङ नेपालमा सन् १९७० मा जापानीहरूले पहिलोपल्ट खुम्बु हिमनदीमा सुरु गरेको कुरा ‘भिनेटस अफ नेपाल’ मा हर्क गुरुङले दिएका छन् (पेज ३१६) ।
आज जुन नदीहरूको संगमको रूपमा रिडी छ त्यो रडीको रूपान्तरण त देखिन्छ नै, साठी किलोमिटर लामो भएपछि यो संस्कृत शब्द अपगा अर्थात् गोडा नभएको भन्नाले रड्किनु शब्दको समानान्तर भयो । रिडी ठेट नेपाली शब्द हो ।
लदी : लदी पूजा माझीहरूको सबैभन्दा ठूलो पूजा वा चाड हो, थारूहरूको माघी भनेजस्तै । यो पूजा कोसी र त्यसका सहायक नदीहरूको पूजा हो । अर्थात् लदी कोसीकै अर्को नाम हो ।
तर लदी खोला छ गोरखामा १५ किलोमिटर लामो र अर्को लदी खोला छ तनहुँमा चुँदी नदीको सहायकको रूपमा । नभन्दै यो वाक्य उपलब्ध छ– माझीको पुर्ख्यौली थलोबारेको अर्को भनाइअनुसार कालीगण्डकी र नारायणी नदी किनारमा पनि प्राचीनकालदेखि उनीहरू बस्दै आएका हुन् (पेज १३, माझी जातिको चिनारी– घर्तीमगर र माझी) । यसले लदी नाम गण्डकी र त्यसका सहायकहरूका निम्ति हुनुपर्नेमा बसाइँ सरेर जाँदा कोसीका निम्ति बन्न पुगेको देखिन्छ ।

अब पारियात्र
पारियात्र पर्वत हिन्दकुश पर्वतको अर्को नाम हो भनेर एस.एम. अलीले ‘पौराणिक जोग्राफी अफ इन्डिया’ मा लेखेका छन् । हिन्दकुश मध्यअफगानिस्तानदेखि उत्तरी पाकिस्तानसम्म विस्तारित छ ।


पारियात्र इन्डियास्थित बिन्ध्य पर्वतको उत्तर–पश्चिमी भागलाई मानिन्छ (नेट.) पारियात्र नर्मदावरिपरिका शृंखलाहरू हुन् । यो चम्बल नदी र बेत्वा नदीको स्रोत हो । अझ भन्नुपर्दा पश्चिम बिन्ध्य हो । (पेज २९३, वायु पुराणको अंग्रेजी अनुवादमा जी.पी. भट्ट, युनेस्को) यद्यपि यस धारणाको सर्वप्रथम उत्पादनकर्ता संस्कृतविज्ञ पश्चिमा ब्युहलर देखिन्छन् । यस धारणामा शतप्रतिशत विज्ञहरू सहमत छन् । उनीहरूका भनाइमा पारियात्र गंगा र यमुनाबीचको भाग हो ।


इसापूर्व चौथो शताब्दीको मानिएको ब्रह्माण्ड पुराणले पारियात्रबाट बग्ने नदीहरू भनेर दिइएका ११ नाम यी हुन्— कर्णासा, नन्दना, सदानीरा, महानदी, पारा, चर्मण्वती, नुपा, विदिशा, वेत्रवती, सिप्रा, अवन्ती । सदानीरा गण्डकीको अर्को नाम हो भनेर माथि लेखिसकियो । पाराका बारे तल छुट्टै उपशीर्षक छ । चर्मण्वती आजको चरौंदी हो ।


हिजोको मनाङ भोटस्थित लार्के भन्ज्याङबाट बुढीगण्डकी निस्कन्छ, १ सय ४३ किलोमिटरको लक्ष्य राखेर । बोदबाट भोट हुने हो । यसर्थ विदिशा आजको बुढीगण्डकी नै देखिन्छ । वेत्रावती त्रिशूली नदी प्रणालीमा पर्छ । सिप्रा नदीको किनारमा सीमापारिको उज्ज्यनीनगर छ भन्ने आजको मान्यता हो । तर यो गोरखा–लमजुङको ४६ किलोमिटर लामो चेपे नदीको नाम देखिन्छ । यद्यपि हाम्रा संस्कृतज्ञहरू च्यवन ऋषिसँग त्यसलाई जोडेर थाक्दैनन् । गण्डकी नदी प्रणालीमा नपरे पनि सुनकोसीमा नपु घाट छ ।


सोही समयको मानिने वायु पुराणले भने सतीरा थपेकोमा त्यो सदानीरा हुनुपर्छ भनेका छन् भट्टले । ११ का ठाउँमा १४ नदी बनाउँदा वेदस्मृति, वृतघ्नी आदि थपिएको छ । वेत्रवती, वेदवती, महानदी महती र कर्णासा वर्णासा भएको छ । तर वृतघ्नी गुल्मीको चार किलोमिटर लामो बेतिनी र वेदस्मृति गुल्मीकै ६ किलोमिटर लामो बेदिनी देखापर्छ ।


इसाको तेस्रो शताब्दीको मानिने मार्कण्डेय पुराणले १३ वटाको मात्रै नाम लिएको छ । महानदी अब मही र कर्णासा अब वेणा भएको छ । गण्डकीको अर्को नाम वेणु हो माथि लेखिसकियो । त्यसको एक शताब्दीपछि लेखिएको मानिने मत्स्य पुराणले १५ वटा नाम दिएको छ । तर अब महानदीलाई महती नै लेखे पनि कर्णासा पर्णासा भएको छ । वेत्रवती वेणुमती भएको छ ।

धवन्तीरुपा र कुन्ती नाम थपिएका छन् । महानदी वा महती आजको मादी लाग्छ, दी मगरहरूको खोलाबोधक भए पनि । नभन्दै मदी लेखेका छन् डी.सी. सरकारले त्यसलाई (पेज ५३ स्टडिज अन द ज्योग्राफी अफ एन्सियन्ट एन्ड मिडिभल इन्डिया) । स्याङ्जाको ६२ किलोमिटर लामो आँधिखोला अब अवन्ती हुन पुगेको हुनुपर्छ भन्दा पाठकहरूलाई हास्यास्पद लाग्नेछ । तर स्थानीय नामहरूको संस्कृतकरण गर्नु पौराणिक समस्या नै हो ।


अब जाऊँ जरोतिर । पारियात्र पहिलो पटक पारिपात्र नामले इसापूर्व छैटौं शताब्दीको मानिने तर पी.बी. वार्ताकले इसापूर्व ५५६१ मा घटेको घटना भनेको महाभारतमा आएको छ । यसले वनपर्वमा भनेको छ— महामेरुको पश्चिम छेउमा पर्दछ ।


पौराणिक सुमेरुलाई महामेरु मान्न पुग्दा एस.एम. अलीले पारियात्रलाई अफगानिस्तानमा धकेल्न पुगेको अब स्पष्टै छ । महामेरु भनेको आजको महालंगुर अथात् हिमालयको उत्तरपूर्व भाग जसमा सगरमाथा, लोहोत्से, मकालु र चो ओयु पर्ने इलाकालाई हेरेपछि पारियात्र टड्कारो हुन्छ । महाअलंघ्य अर्थात् पार गर्न नसकिने, पुग्न नसकिने भन्ने नाम महालंगुर हुन पुगेको छ ।


अर्थात् बंगालका राधानाथ सिकदरले ‘माउन्ट फिफ्टिन’ भनेर जर्ज एभरेस्टभन्दा अघि नै तोकेका विश्वको सर्वोच्च पहाडलाई कृष्ण द्वैपायन व्यासले महाभारत लेख्दा नै पहिल्याइसकेका थिए ।


रामायणको बालकाण्ड लेखिने बित्तिकै पश्चिमाहरूले समेत पढिसकेको प्रमाण पाइएको छ भने २९ हजार २९ फिट अग्लो पहाडलाई बिर्सेर २४६७ फिट मात्र अग्लाइको ठुटे ढिस्को बिन्ध्य पर्वतलाई त्यही कालमै कसैले पनि महामेरु लेख्ने कुरै आउँदैन ।


बिन्ध्य र पारियात्र भनेर ब्रह्माण्ड, वायु र मत्स्य तीनवटैले शृंखला नै भिन्न गरिसकेपछि, हरिवंशसमेतले हिमवान मेरु र हिमवान पारियात्र लेखिसकेपछि, हरिवंशमै पारियात्रमा बग्ने गंगालाई ‘अबिन्ध्या’ भनिन्छ उल्लेख आइसकेपछि अरू थपिरहनु परेन ।


राय चौधरीले खासगरी ऋग्वेदका नदीहरू अघि सारेका छन्, जसमा त्यो समयका ९९ नदी पर्छन् । महाभारतमा ६७ नदीको नाम आउँछ, हरिवंश पुराणमा ६१ र मार्कण्डेय पुराणमा ९० नाम आउँछ । मेगास्थनिजले करिब ३६ नदीका बारे लेखेका छन् । र टोलेमीलाई ४४ नदीको नाम थाहा थियो— एक जनाले लेखेका छन् (पेज १२८, प्रफेसर एच.सी. राय चौधरी एज अ हिस्टरियन– हरिहर पाण्डा) तर गण्डकी प्रसवण क्षेत्रका नदीनाला, खोल्साखोल्सी सर्सर्ती पंक्तिकारले गन्दा पनि ४ सय २२ पुगेको छ ।

हजार पच्चीस हिमनदी र ३ सय ३८ ताल छन् भनेर त नेटले नै दिएको छ । भन्नाले पुराणहरूले कैयौं नामको हिज्जे आफूखुसी हालेको देखिन्छ । इसापूर्व पाँचौं शताब्दीको मानिने भागवत्को पाँचौं स्कन्धमा शालग्राम क्षेत्र (दामोदरकुण्ड) मा सिंह भएको कुरा आउँछ । सो ठाउँमा पुग्दै नपुगी पहिलेका रचयिताहरू कल्पनाका भरमा लेखिदिन्थे भन्ने कुराको यसरी पुष्टि हुन्छ ।


भारतको कथित गंगाकै १५ वटा नाम पाइँदैन भने साह्रै पुरानो र महत्वपूर्ण नमानी गण्डकीका त्यति धेरै नामहरू बन्दैनन् । अर्थात् उतिबेला तोकिएको पारियात्रलाई पछिल्ला पुराण रचयिताहरूले मध्यभारतको उत्तर पश्चिमी बिन्ध्यतर्फ सारे ।


पारियात्रको नदी सञ्जालको मन्त्र नै बिर्सेर वेदवतीलाई अब आर्यवर्तबाट उति पर मैसुरमा देखाउने पनि छन् । यसरी वेदवती नै सरेको छ । मार्कण्डेयले त अलखनन्दा बगेर गएर मानसरोवर भरिएको समेत कुरा गर्छ । भूगोल यसरी खजमजिएको छ । पारियात्र मानौं तैरिरहेको जमिन ठानिन्छ भने अनौठो के भयो ?

पारविशेष
पार खोलाहरू हुन् गण्डकी प्रदेशका । एउटा पार खोला तीन किलोमिटर लामो छ । यो म्याग्दीमा २८.३२ अक्षांश र ८३.४४ देशान्तरमा पर्दछ । अर्को पार खोला कास्कीमा पर्दछ । सात किलोमिटर लामो छ र २८.१२ अक्षांश एवं ८४.५८ देशान्तरमा पर्दछ । पूर्वकालमा यिनको लम्बाइ, बेसिन र कमान्ड एरिया कस्तो थियो ? भन्नेबारे सेडिमेन्टलजिस्टहरूले भन्न सक्लान् । त्रिविको भूगर्भ विभागसँग टेत्सुई साकाई र हिडेओ टाबाटासँग मिलेर काम गरेको लामो अनुभव पनि छ ।


तर के निश्चित छ भने आजको पर्वत जिल्ला यिनै २ खोलाका बीचमा पर्दछ । यसैले पार्वत गुरुङ शुद्ध नाम भयो, पार्वती म्याग्दीको पाङगाउँमा जन्मेकी हुन् (श्रेष्ठ) भन्ने कुरा लोकोक्ति भए पनि यो नाम बनोट त्यसै जन्मिएको होइन भन्ने स्पष्ट छ । थप कुरा, मूल पारकोट आजको पर्वत नै देखिन्छ ।


(यसर्थ इसापूर्व पाँचौं शताब्दीको विष्णु पुराणको एक पात्र पारको नाम टिपेर १८औं शताब्दीमा मात्रै काशीराम काश्यपले लेखेको गण्डकी महात्म्यको भनाइ उतार्दै ‘पार नामका राजाले शासन गर्दा बनाएको कोट–किल्लाको कारण त्रिशूली र कालीगण्डकीबीचको क्षेत्र पारकोट कहलाएको थियो ।’ (नेपाल निरुक्त–ज्ञानमणि नेपाल) भन्ने तर्क सही लाग्दैन ।)


पारको एउटा अर्थ नदीको पल्लो किनार पनि हो । तर नजिकैको लमजुङलाई नेपालमै पारा (माइका, अरेबिक शब्द अभ्रख) को ठूलो भण्डार भूगर्भविद्हरूले मानेबाट यी खोलाहरूको पिँधमा टल्कने पाराबाट पार भएको बुझिन्छ । पारदर्शी शब्द यही पाराबाट आउने हो । नेवारहरूले सिठीनखमा इनार सफा गरेपछि पिँधमा पाराको ढिक्का राख्ने कारण नै पानी पारदर्शी रहुन्जेल इनार फोहोर भएको छैन भनेर बुझ्नलाई हो ।


किनभने यही अर्को पारियात्र, पारावत हुँदै आज पर्वत र पारकोट हुन पुगेको स्पष्टै देखिन्छ । कालीगण्डकी र त्रिशूलीबीचको भूभागलाई आज पनि पारकोटटार भनिन्छ (पेज १०६, नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रसवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन– गुरुङ २०६१) ।


पारोको अर्को नाम मकर, यसैबाट मर्करी भएकाले पाराको नाम पनि माइका हुन पुगेको छ । किनभने दुइटैले उस्तै चहक दिन्छन् तर पारोलाई परम्पराले शिवको शुक्रकीट मान्दछ । यसैबाट स्पष्ट हुन्छ किन पारखोला बग्ने म्याग्दीको पाङलाई पार्वतीको जन्मस्थल भनियो ?

पुछारमा
सुरुमा अवशेष खाने काग (कर्भस कर्‍याक्स) र त्यसपछि फेला परेको शालिग्राम (एमोनाइट) बीचको द्वन्द्वमा गण्डकी प्रदेशका जुन सांस्कृतिक रूपान्तरणहरू भए त्यो फुकाउनु सजिलो छैन ।


अझ दामोदरकुण्डमा शालिग्राम फेला नपरेको भए, गण्डकी क्षेत्रको आधुनिक, सांस्कृतिक स्वरूप अर्कै हुने थियो । त्यो आजकोबाट धेरै भिन्न हुन्थ्यो । वाल्टर हेमिल्टनले सन् १८२८ अर्थात् करिब २०० वर्षअघि नै भनिसकेका हुन्— गण्डकी उपत्यकाको अन्वेषण नहुनु दुःखको कुरा हो (इस्ट इन्डिया गजेटियर) ।


पैसा छाप्ने यन्त्र बनाउने कुराको पहिलो सर्त यता नेपालपट्टिबाटै वाल्मीकि आश्रमसम्म पुग्ने पुल हो । यताबाट मानिसहरू पुर्‍याउन होइन, उताबाट भित्र्याउन । जबसम्म बन्दैन कुनै स्थानीय नेताले, कुनै पर्यटन अभियानकर्ताले गण्डकीको विकासको कुरा नगरेकै राम्रो । हिमालयभन्दा पुरानो मानेको छ, गण्डकी नदीलाई विज्ञानले भने त्यसलाई नचिन्नेले थप कुरा नगरेकै बेस ।

प्रकाशित : वैशाख २८, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

सय वर्षमा सत्यमोहन : एक पलमा एक सदी

यही २०७६ साल वैशाख ३० गते ९९ वर्ष पूरा गरी सय वर्षको शुभजन्मोत्सव मनाउन उदाउने बिहानी सूर्य भगवान्ले सत्यमोहन जोशीको जीवन शौर्यलाई थप ऊर्जा प्रदान गरून् ।
डा. तीर्थबहादुर श्रेष्ठ

सय वर्ष अर्थात् एक शताब्दीको उमेर बोकेर बाँचिरहेका धेरै मान्छे हुन्छन् यो संसारमा । तर, स्वस्थ, सचेत र सारगर्भित जीवन थोरैले मात्र बाँच्न सफल भएका हुन्छन् । त्यसमा पनि प्रत्येक पलमा एक सदी बाँच्न सक्ने मान्छेको इहलीला भने श्री सत्यमोहन जोशीमा प्रत्यक्ष हुन्छ । उहाँलाई भेट्ने हरेक मान्छेले उहाँको प्रत्येक पलको महत्त्व यसैगरी बुझ्दछ ।

भर्खरै पनि नागरिक नायक बनेर आफ्ना भाव र प्रभावले नेपाली नागरिक समाजमा उहाँले थप ज्योति छर्नुभयो । त्यसको लगत्तै नेपाल ललितकला पत्रकारिता समाजले पनि विशेष सम्मानसहित पुरस्कृत गर्‍यो ।

उहाँले प्राप्त गर्नुभएका मान, सम्मान, पुरस्कार, तक्मा, पदवी, प्रशंसापत्र एवं अलङ्कारहरूका साथै उपहारहरू र उहाँकोमा सञ्चित हुन आएका पुस्तक, पुस्तिका, पत्र, पत्रिका, लेख र अभिलेखहरूको भौतिक संगालोबाट एउटा गहकिलो संग्रहालय म्युजियम बन्न सक्छ । एउटा राष्ट्रिय सम्पदा निर्माण हुन सक्छ ।


सत्यमोहन जोशी स्वयं एक जीवन्त सम्पदा हो र राज्यले पनि उहाँलाई २०७४ सालमा नै ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधिबाट सुशोभित गरिसकेको छ । उहाँको नामको अगाडि र पछाडि ‘डाक्टर अफ लिटरेचर’ (महाविद्यावारिधि) लगायत थुप्रै अलङ्कारहरू जोडिएका छन् । तिनलाई थाप्न कार चढेर कार्यक्रमस्थल जान थालेको मात्र २ वर्ष भयो । नक्र कार्यत्रमस्थलमा खुट्टैले हिँडेर आउने–जाने कीर्तिमानी ज्येष्ठ नागरिकका रूपमा पनि स्थापित नाम हो सत्यमोहन जोशी ।

हुन त जब पुग्यो ६० तब हातमा लाठी भन्ने नेपाली उक्ति अझै प्रचलित छ तर सय वर्ष पुग्दा पनि उहाँले लठ्ठी समाएर हिँड्नुभएको छैन न त चस्मा लगाएरै भाषण गर्नुभएको छ । उहाँको शारीरिक तन्दुरुस्ती र जाँगरलाई पूर्णतया साथ दिने उहाँको स्मरण शक्ति पनि हो । सबै इन्द्रियहरू सक्रिय छन् ।

यही २०७६ साल वैशाख ३० गते ९९ वर्ष पूरा गरी सय वर्षको शुभजन्मोत्सव मनाउन उदाउने बिहानी सूर्य भगवान्ले उहाँको जीवन शौर्यलाई थप ऊर्जा प्रदान गरून् । स्वस्थ एवं समृद्ध सत्यमोहन जोशी हामीमाझ चिरायु रहून् भन्ने शुभकामना व्यक्त गर्दछु ।


शब्द संयोजन शतांकले २०६९ साल भदौमा ८ सय ४८ पृष्ठको जोशी विशेषांक प्रकाशन गरेर नेपालका १ सय ४१ जना प्रसिद्ध लेखक, साहित्यकार, पत्रकार, कलाकार एवं नागरिक अगुवाहरूबाट उहाँको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्ने काम भएको थियो । त्यो झन्डै ५ वर्ष पहिलेको कुरा भयो । त्यही ५ वर्षभित्रको अवधिमा उहाँले पुर्‍याएको थप योगदानको चर्चा गर्‍यौं भने अर्को ८ सय ५० पृष्ठको ग्रन्थ बन्न सक्छ । पुस्तक विमोचन र अनावरणको मात्र कुरा गर्ने हो भने पनि थुप्रै सामग्री प्राप्त हुन्छ । उहाँले लोकार्पण गरेका पुस्तकबारे उहाँको विश्लेषण, विवेचना र समालोचनाहरू निकै उपयोगी हुने गरेको छ र हुन्छ पनि । पुस्तकको घुम्टो खोल्ने काममा मात्र सीमित हुने प्रमुख अतिथि सत्यमोहन होइन । एउटा घटना यहाँ उल्लेख गर्न चाहन्छु ।


हालै २०७५ को फागुन ११ गते ‘केशरबहादुर आचार्यका सम्झनाहरू’ नामक एक स्मृतिग्रन्थको लोकार्पण कार्यक्रम थियो । केशरबहादुर आचार्य सत्यमोहन जोशीको दौतरी मात्र नभई कलेजमा शिक्षा र सरकारी सेवाका प्रारम्भिक अवस्थादेखि नै सँगसँगै कार्यक्षेत्रमा उत्रेका साथी पनि थिए ।

त्यसैले होला पुस्तक विमोचन कार्यक्रम सत्यमोहनज्यूकै घरमा आयोजना गरिएको थियो । बिहान ११ बजे नै सुरु गर्ने निश्चय भएको कार्यक्रममा १०ः४५ बजे बखुंबाहाल ललित पुगें । सत्यमोहनका ९७ वर्षीया श्रीमती र ७० वर्षका छोराको मात्र त्यहाँ उपस्थिति थियो । दाइलाई बिहान आठै बजे बोलाएर लानुभएको छ । त्यो पनि बालाजुसम्म टाढा । आउन ढिलो हुन्छ होला भनेर भाउजूले भन्नुभो । सत्यमोहनज्यूको समय उहाँको हातमा छैन भन्ने प्रस्ट भयो ।


मेरा लागि अचम्मको कुरा । अक्सर कुनै कार्यक्रममा पनि ढिला नपुग्ने कीर्तिमानी व्यक्ति हुनुहुन्थ्यो । ‘घरकी मुर्गी दाल बराबर’ भनेझैं घरकै कार्यक्रम त हो नि भन्ने सोच्नुभयो होला वा के होला थाहा भएन । उहाँ १२ः४५ बजे फुर्तीसाथ हस्याङफस्याङ गर्दै लम्केर आइपुग्नुभयो । लगत्तै त्यहाँ सजाइएको डवलीमा पुगेर कार्यक्रमको तुरुन्त थालनी गर्न लगाउनुभयो । केशरबहादुरको स्मृतिमा लगभग ३० मिनेट धारावाही बोल्नुभो ।


उहाँको त्यो प्रवचनबाट थाहा पाइयो कि श्री ३ जुद्धशमशेरको पालामा नेपाल कस्तो थियो । कसरी जागिर पाइन्थ्यो । विकास प्रयास कसरी हुन्थ्यो आदि इत्यादि । भारतको कलकत्ताबाट एमकम पास गरेर आएका भीमबहादुर पाँडेलाई उहाँका पिताले श्री ३ समक्ष दाम राख्न लगेछन् ।

कुनै प्राप्तिको स्याबासी वा अनुमोदनको त्यो चलनअनुसार श्री ३ ले भीमबहादुर पाँडेलाई ‘प्रोफेसर भइस्’ भनी हुकुम भएछ । किताबी सुब्बाले नाम पनि दर्ता गरिएछ । त्रिचन्द्र कलेजमा प्रोफेसर भएर जाँदा त्यहाँ कमर्स विभाग नै स्थापना भएको रहेनछ । तालुकवाला जर्नेल मृगेन्द्रशमशेरले उहाँलाई नयाँ कार्यभार सुम्पनुपर्‍यो । त्यो कार्य थियो पूर्व १ नम्बरको औद्योगिक सर्वेक्षण गर्ने ।


भीमबहादुरले तिमालगाउँमा केन्द्रित भएर विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेछन् । त्यस ठाउँको प्रसिद्ध उत्पादनहरू जस्तै ः सावरको छाला, एककाले पलाञ्चोके जुत्ता, रातो कोकिटा रङको स्थानीय कपास, कपडा बुन्ने सीप, कृषिबालीनालीका विवरण विशेषगरेर सुन्तला खेतीको सम्भाव्यता तथा समग्रमा भूउपयोगको विस्तृत वर्णनलाई समेटेर प्रतिवेदन तयार भएछ । त्यसबाट श्री ३ जुद्ध, चिफ साहेब पद्मशमशेर लगायत सबै उच्चपदस्थ राणाजीहरू निकै प्रसन्न भएर औद्योगिक सर्वेक्षणको नयाँ अड्डा खोल्ने निर्णय भएछ ।

त्यस अड्डालाई आवश्यक कर्मचारी भर्ना गर्न गोरखापत्रमा विज्ञापन प्रकाशित भएछ । सत्यमोहनलगायत केशरबहादुर आचार्य, थिरबहादुर रायमाझी, धनबहादुर अधिकारी, तथा नरकान्त अधिकारी विज्ञापन प्रक्रियाबाट जागिरे भएछन् हुकुम प्रमांगीबाट होइन । जोशीजीका अनुसार वर्तमान लोक सेवा आयोगको अवधारणाको प्रारम्भ विन्दु त्यही घटना थियो ।

उहाँका अनुसार ३०/३५ जनाको दरखास्तबाट ५ जना छानिनुभयो र विभिन्न क्षेत्रमा औद्योगिक सर्वेक्षण गर्ने अभिभारा बोकेर उहाँहरू नेपाल भ्रमणमा निस्कनु पनि भयो । सत्यमोहन जोशी औद्योगिक सर्वेक्षणका सामग्रीहरूका अतिरिक्त लोकगीत पनि बटुलेर ल्याउने काममा लाग्नुभएछ ।

उहाँका सहकर्मीहरूको त्यो समूहलाई ‘पञ्च पाण्डव’ समेत भन्ने गरिन्थ्यो । नेपालको पहिलो पञ्चवर्षीय योजना तर्जुमा गर्दा उहाँहरूका सर्वेक्षण प्रतिवेदनहरू विशेष उपयोगी ठहरिएको प्रसंग पनि जोशीबाट सुन्न पाइयो । तर सत्यमोहन जोशीलाई संस्कृतिविद् बनाउने श्रेय भने लोकगीत संकलन गर्ने उहाँको उत्कण्ठालाई जान्छ ।


सत्यमोहन जोशीको बारेमा उहाँका सहकर्मी थिरजंगबहादुर रायमाझीले शब्द–संयोजन शतांकमा लेख्नुहुन्छ, ‘उहाँ पहिलेदेखि नै लोकगीतमा चासो राख्नुहुन्थ्यो । दिउसो अफिसको काम सकिएपछि गाउँघरमा गई गीत बटुलेर ल्याउने गर्नुहुन्थ्यो ।’ गाउँघरका तिनै गीतगाथा र तीसँग जोडिएका संस्कृति र संस्कारलाई आधार बनाएर लेखेको उहाँको कृति ‘हाम्रो लोक संस्कृति’ विसं २०१३ को मदन पुरस्कार विजेता बन्यो ।

त्यसले स्थापित गरेको मान र मर्यादाले उहाँलाई २०१५ सालमा पुरातत्त्व र संस्कृति विभागको पहिलो डाइरेक्टरको फदमा नियुक्ति दिलायो । त्यसै त्रममा वीर पुस्तकालयको वैभवभित्र डुबुल्की मार्न पुग्नुभयो । त्यहाँ सुरक्षित प्राचीन मुद्राहरूको अध्ययन गरी पुरातात्त्विक, ऐतिहासिक एवं सांस्कृतिक पृष्ठभूमिमा ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक अनुसन्धानात्मक ग्रन्थ तयार भयो । उक्त ग्रन्थले फेरि दोस्रोपल्ट मदन पुरस्कार दिलायो २०१७ सालमा ।


नेपालभाषा एवं नेपाली भाषामा उत्तिकै कलम चलाउन सक्ने स्रष्टा सत्यमोहन जोशीको जाँगर नेपाली साहित्य, कला, संस्कृति र विशेषतः लोकसंस्कृतिमा दिनपरदिन उकालो लाग्दै गर्दा २०२६ सालमा उहाँ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सहसदस्यमा नियुक्त हुनुभयो ।

संस्कृति विभाग सम्हाल्ने क्रममा उहाँले नेपालको दुर्गम क्षेत्र कर्णाली अञ्चलको सिंजाखोला उपत्यकामा लोकसंस्कृतिको खोज–अनुसन्धानमा हात बढाउनुभयो । उहाँको अन्वेषण दलमा प्रा. चूडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह र प्रदीप रिमाल सामेल थिए । पाँच जनाको उक्त दलले पाँचवटा गहनतम मौलिक ग्रन्थहरू तयार गरे । ‘कर्णाली, लोकसंस्कृतिको मूल’ शीर्षकमा प्रकाशित ती पाँचवटै कृतिले संयुक्त रूपमा मदन पुरस्कार २०२८ मा प्राप्त गरे । यसप्रकार सत्यमोहनज्यू तीनवटा मदन पुरस्कार पाउने एक मात्र स्रष्टा हुनुहुन्छ ।


नेपालबाहिर सत्यमोहनले जहाँ पाइला टेक्नुभयो त्यहाँ नेपालको कला र संस्कृतिको पदछाप छोडेर आउनुभयो । मित्रता र सद्भावको सौगात नेपाललाई बुझाउनुभयो । उहाँको चीन भ्रमण र त्यहाँको बसाइले नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक एवं सामाजिक सम्बन्धलाई बलियो बनाउने बौद्धिक खुराकहरू निर्माण गर्न सफल भए ।


सातौं शताब्दीमा राजकुमारी भृकुटीले र तेह्रौं शताब्दीमा कलाकार अरनिकोले नेपाली धर्म, संस्कृति र कलाकौशलको परिचय चीनमा स्थापित गरेका थिए । तिनै भृकुटी र अरनिकोलाई वर्तमान नेपालीमाझ परिचित गराउने काममा सत्यमोहनको ठूलो योगदान छ । सगरमाथालाई विश्वसामु चिनाउने काममा नेपालतर्फका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका एड्मन्ड हिलारी सफल भए । न्युजिल्यान्डलाई नेपाली चिनाउने काम भने सत्यमोहनले पूरा गर्नुभयो ।


सत्यमोहन जोशीसँग मेरा संयोगका यथार्थहरू चार दशकदेखि कायम छ । विसं २०३६ सालमा जुन बेला उहाँले १० वर्षको कार्यकालपछि प्रज्ञा–प्रतिष्ठान छोड्नुभयो । त्यहीबेला मलाई प्रज्ञा–प्रतिष्ठानको सदस्यता प्राप्त भयो । मेरो पनि दस वर्षको कार्यकाल त्यहाँ बित्यो । प्रज्ञा–प्रतिष्ठानका विभिन्न कार्यक्रम, सभा, गोष्ठी र समारोहमा भेट हुने नै भयो । त्यसबाट प्रभावित हुनु नै थियो र हुन्छु पनि । तर उहाँको ‘कर्णाली लोकसंस्कृति’ कृतिको प्रभाव ठूलो रह्यो किनभने मेरो डाक्टरेट थेसिस कर्णाली अञ्चलका वन–वनस्पति, उद्भिद र तिनको नक्सांकनसँग सम्बन्धित थियो ।

मेरो पहिलो अध्ययन भ्रमण २०२२ सालमा र दोस्रो भ्रमण २०३२ सालमा सम्पन्न भएको थियो । त्यसपछि २०३४ सालमा थेसिस लेख्ने बेला कर्णाली लोकसंस्कृतिले नयाँ दृष्टिहरू थपिदिए । सम्झना बिर्सनाका कुराहरू कोट्याउँदा सत्यमोहनको भीमरथारोहणको भोजमा बकुँबहाल पुगेको थिएँ । ‘दाइया नं जंको को चाल का...’ अर्थात् ‘दाइको पनि बूढो पास्नी सम्पन्न भएछ’ भन्दा उत्तरमा भन्नुभयो, ‘न्ही वों चाः दँ बोंगु मचाखनिका’ अर्थात् ‘दिन बितेको चाल पाइयो तर वर्ष बितेको चाल पाइएन’ ।


हामी दुईको वार्ता सधैं नेपालभाषामा चल्छ । त्यत्तिकैमा उहाँले भन्नुभयो कि यो मेरो दोस्रो पास्नी हो । पहिलो पास्नी आमाको काखमा बसेर अन्नप्रासनका थियो । अहिले पनि आमाकै काखमा बसेर पास्नी गरियो । उहाँकी आमा त्यतिखेर हामीमाझमा प्रसन्न हुनुहुन्थ्यो ।

विसं २०७२ साल वैशाख १४ गते मैले पनि आमाकै काखमा बसेर आफ्नो बूढो पास्नी ‘भीमरथारोहण’ कार्य सम्पन्न गरें । वैशाख १२ को विनाशकारी भूकम्पले बिथोलेको सम्पूर्ण कार्यक्रमलाई बिर्सिएर आमाको काखले न्यानो दियो । सत्यमोहन दाइको त्यो आमाउद्गार भूकम्पका परकम्पनहरूसँगसँगै कानमा गुन्जँदै थियो ।


मदन पुरस्कार गुठी परिवारमा सत्यमोहन जोशी स्वभावतः सम्मानित व्यक्तित्व रहिआउनुभएको छ । उक्त गुठीले २०६३ सालको जगदम्बा श्री पुरस्कार मलाई दिने निधो गरेको थियो । सो पुरस्कार ग्रहण गर्न जाने सिलसिलामा २०६४ साल असोज २६ गते समारोहस्थलको मञ्चमा मलाई हात समातेर डोर्‍याई लगिदिने अर्थात् गुठीको भाषामा ओल्काउने व्यक्ति सत्यमोहन जोशी हुनुहुन्थ्यो । तीनपल्टसम्म मदन पुरस्कार थापेका हातको स्पर्श मेरा लागि पुरस्कारको अर्को महत्त्वपूर्ण थैली थियो ।


सत्यमोहन जोशी के कति संघ, संस्था, प्रतिष्ठान एवं विद्यालय र महाविद्यालयहरूसँग आबद्ध हुनुहुन्छ भन्ने कुराको छुट्टै अभिलेख बन्नुपर्छ । तर, म र मेरा परिवार आबद्ध शेष–हीरा प्रतिष्ठानको स्थापनाकाल २०५२ सालदेखि उहाँले हामीलाई पुर्‍याउनृुभएको सहयोग अविस्मरणीय छ । उक्त संस्थाले उहाँलाई निकैपल्ट विशेष सम्मान गरेको छ । हरेक कार्यक्रममा नयाँ दृष्टि, नयाँ जाँगर र नवीन विचारहरू उहाँबाट सुन्न पाइन्छ ।

तिनलाई आज समग्रमा विचार्दा मलाई विश्वास हुन्छ कि विस्मृतिको स्मृतिमा ब्युँताएर वर्तमानको विश्लेषणलाई भविष्यको काँधमा थमाइदिन सक्ने निपुण विद्वान हुनुहुन्छ सत्यमोहन जोशी । वर्तमानलाई बुझ्ने, त्यसलाई विश्लेषण गर्ने निपुणताको उदाहरण हालको हाम्रो राष्ट्रिय गानको चयन पनि हो । यो राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी’ छनोट समितिको संयोजक पनि सत्यमोहन हुनुहुन्थ्यो ।


यही वैशाख ३० गते उहाँको सयौं शुभजन्मोत्सव उहाँ जन्मेकै आँगनमा सम्पन्न हुने छ होला । त्यस पवित्र स्थललाई नमन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिरायु कामना गर्दछु । यस अवसरमा ललितपुर महानगरपालिकाले एक वर्षभरि जोशी शताब्दी जन्मोत्सव मनाउने तय गरेको छ । त्यस अवसरमा बकुँबहालको जोशी जन्मस्थलको यथोचित मर्मत सुधार तथा मुहार परिवर्तन ‘फेस लिफ्ट’ हुनेछ भन्ने मनोकामना व्यक्त गर्न चाहन्छु ।

प्रकाशित : वैशाख २८, २०७६ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×