राजु शाक्यकी 'ममी'

वाईबी र राजुका लागि किरणका बुबा र ॅममी’ अभिभावक भन्दा ठूलो भूमिकामा देखिए । राजुले नेपाली राष्ट्रिय टोलीबाट १७ वर्ष खेले । १४ वर्ष त्यही घरमा बिताए । वाईबी पनि केही वर्ष मजाले जमे राई परिवारमा ।
विनोद पाण्डे

बंशावली पल्टाउने हो भने अनिता राईका एक छोरा र तीन छोरी भेटिन्छन्  । रीता र नीता पहिलो दुई छोरी हुन्  । त्यसपछि छोरा जन्मिए, किरण । सुनीता कान्छी छोरी हुन् । नेपाली फुटबलका हस्तीहरू वाईबी घले र राजुकाजी शाक्यकी पनि ‘ममी’ हुन् अनिता । नेपाली फुटबलकै आमाजस्तै हुन् अनिता, जसले धेरैलाई फुटबल जीवनमा हुर्काएकी छन् ।

राजु शाक्यकी 'ममी'

राजुकी आमा देवीमाया शाक्यको निधन भएकै दस वर्ष पुग्न लागिसक्यो । छापा सञ्चारमाध्यममा समवेदनाका समाचारहरू आउन छाडेका थिए । त्यस्तोमा राजुले आफ्नो आमाको निधनबारे समाचार नआएकोमा केही दुखेसो पोखे । अर्को दुखेसो उनलाई फुटबल खेलाडीको रूपमा हुर्काएकी ‘ममी’ को कथा कहिल्यै नआएकोमा पनि थियो । ‘ममी’ ८१ वर्ष पुगिन् । राजुका छोराछोरी ठूला भइसके, उनी आफैं अभिभावक बने । राजुको अहिले पनि अभिभावक भने उनै ‘ममी’ हुन् ।


चार दशकअघि फुटबल खेलाडीको जीवन कति कष्टकर हुन्थ्यो अहिले पनि कल्पना गर्न सकिन्छ । १७ वर्षे उमेरदेखि नै राजुले जनकपुर चुरोट कारखानाबाट खेल्न थाले । पारिश्रमिक थियो, दिनको ५ रुपैयाँ । छाड्ने बेलामा यो पारिश्रमिक २५–२६ रुपैयाँ प्रतिदिन पुगेको थियो । दैनिक २५ पैसा ‘डाइट’ भत्ता बढाइदिनुपर्‍यो भनेर निर्देशकसमक्ष अनुरोध गर्न गएको भुलेका छैनन् । प्रतियोगिता खेल्न जाँदा भने अलि भत्ता बढी मिल्थ्यो । जनकपुर छाडेर २०४४ सालमा राजु तत्कालीन शाही नेपाल वायुसेवा निगम (आरएनएसी) गए । १२ सय ६० रुपैयाँ तलब थियो । ९ वर्ष खेलेर जागिर चिप्लिँदा पनि तलब त्यत्ति नै थियो ।


त्यो पैसाले काठमाडौंमा केही हुँदैनथ्यो । राजु जनकपुरबाट आएर काठमाडौंमा खेल्दा होटलमा बस्नुपर्थ्यो । समस्या यही थियो । राष्ट्रिय टोलीको क्याम्पमा प्रशिक्षण गर्दाको खर्च आफैं बेहोर्नुपर्थ्यो । टिममा परेपछि मात्र होटल बसेको खर्च पाइन्थ्यो । न्युरोडको पीपलबोट लजमा उनले धेरै रात बिताए । त्यसपछि सुन्धारा लज । काठमाडौंमा यसले उनको थेगिने स्थिति थिएन । राजुसँगै वाईबी र किरण राईले आरएनएसीबाट खेल्न थालिसकेका थिए ।


किरण ललितपुरका रैथाने भइसकेका थिए । किरणसँगैं वाईबी र राजु नेपाली राष्ट्रिय टोलीबाट खेल्थे । १९८२ मा थाइल्यान्डको किंग्स कप खेल्न गएको टोलीमा यी तीनै थिए । काठमाडौं फर्किएपछि किरणलाई तत्कालीन प्रशिक्षक पदमकृष्ण श्रेष्ठले यिनीहरूको जाने कतै ठाउँ छैन, १–२ दिन लगेर राखिदेऊ भनेपछि वाईबी र राजुको जीवनले कोल्टे फेर्‍यो । सुन्धारामा लजमा गएर बस्नु नपर्ने भयो । किरणले राजु, वाईबी र अर्का राष्ट्रिय खेलाडी पुनम थापालाई एयरपोर्टबाट आफ्नो घर धोबीघाट लिएर गए । उनीहरू त्यहीं बस्न थाले । कुरा मिल्दै गयो । मन मिल्दै गएपछि पारिवारिक सम्बन्ध बन्न थाल्यो । वाईबी र राजुको परिवार काठमाडौं आउँदा पनि बसाइ धोबीघाट नै हुन लाग्यो ।


वाईबी र राजुका लागि किरणका बुबा र ‘ममी’ अभिभावक भन्दा ठूलो भूमिकामा देखिए । राजुले नेपाली राष्ट्रिय टोलीबाट १७ वर्ष खेले । १४ वर्ष त्यही घरमा बिताए । वाईबी पनि केही वर्ष मजाले जमे राई परिवारमा । भारतबाट फर्किएका थिए वाईबी । उनको पनि काठमाडौंमा बस्ने ठाउँ कहीं थिएन । उनकी दिदी पनि त्यही आएर बसे । वाईबीका लागि पनि राई परिवार ठूलो वरदान बन्यो । राजु, वाईबी, पूनम थापा आएपछि किरण आफ्नै डेढतले घर भए पनि अर्को कोठामा बसेनन् । चारै जना फुटबलर एकै कोठामा बस्थे । अरू जति पनि आउँथे, त्यही कोठामा कोचिन्थे । रंगशालाको एउटा ‘चेन्जिङ रुम’ जस्तो थियो त्यो कोठा । धेरै मान्छे बसेकाले होटलजस्तो पनि देखिन्थ्यो । अरू फुटबलर पनि उनीहरूलाई भेट्न धोबीघाट पुग्थे ।


किरणका बुवा पुलिसका एसपी थिए । पुलिसकै पूर्वखेलाडी । त्यसैले त्यो घरमा त्यसअघि पनि मान्छे आउने, जाने, बस्ने कुनै नौलो थिएन । पारिवारिक माहोलमा खेलाडीहरू बसेका थिए । बुवा पुलिसका भएकाले त्यहाँ अनुशासनबाहिर जाने कसैको सम्भावना नै थिएन । बुवा व्यस्त भएकाले ‘ममी’ ले खेलाडीको हेरचार गर्थिन् । आफ्ना सबै खेलाडी छोराहरू र छोरीहरूलाई खाना खुवाउने र हेरचार गर्ने उनकै जिम्मा थियो । ट्रेनिङबाट आए आएनन् उनी हेर्थिन । ‘कुनै पनि मान्छे भविष्यमा कस्तो हुने भन्ने कसरी हुर्किन्छ, त्यसमा भरपर्छ । मैले उनीहरूलाई छोराछोरी जसरी हुर्काएँ । त्यही भएर आज यिनीहरू राम्रो भएको हुनुपर्छ,’ आफ्नो तीन छोरा राजु, वाईबी र किरणतर्फ हेर्दै ‘ममी’ले भनिन् ।


पुलिस बुवा बितेको ७ वर्ष भयो । पुराना राष्ट्रिय खेलाडीले ‘ममी’ लाई धेरैले चिन्छन् । ‘ममी’ ले भनिन्, ‘यो घरमा पुरानो राष्ट्रिय खेलाडी नआएको कोही छैन । नेपाली फुटबल टिमको मिटिङ नै जस्तो यही घरमा हुन्थ्यो । एक जनाले दिनको एक चिया मात्र पियो भने महिनाको १२ किलो चिनी खपत हुन्थ्यो । खाना पनि अरू खेलाडी यहाँ आएर खान्थे । मलाई गाह्रो केही हुँदैनथ्यो । झन् रमाइलो लाग्थ्यो । यिनीहरू भने अलिक हाहा...हुहु... गरेर बस्थे । उनीहरूले के गरिरहेका छन् भनेर म खासै चियो गर्दिन थिएँ ।’ राजुले फुटबल खेल्न १७ वर्षमै धरान छाडे । आफ्नो आमाबाबाट टाढिए । राजुकी आमा काठमाडौं आएको समयमा धोबीघाट राईकोमा नै बस्थिन् । आमाले राजुलाई देखाउँदै ‘ममी’ लाई नै भनिछन्, ‘बाहिर बसेको भए यो बिग्रिन्थ्यो होला । तपाईंले राखिदिएको भएर राम्रो भयो ।’


राजुको पनि यसमा फरकमत छैन । ‘अल्लारे केटा हुँदा बाहिर एक्लै बस्दा जे पनि हुन्थ्यो, समयमा राई परिवार र ममीको साथ पाइयो । यस घरमा बस्दा खेललाई कहिल्यै डिस्टर्ब भएन, सबैभन्दा ठूलो नै यही हो । मैले दिमागमा अरू केही नसोची खेल्न पाएँ । त्यही भएर हुन सक्छ मेरो खेल पनि राम्रो भयो,’ उनी आफ्नो सफलताको कारण दिन्छन् । हुन पनि हो राजु नेपाली फुटलबका भलाद्मी खेलाडीमा पर्छन् । उनले आफ्नो खेल जीवनभर कहिल्यै मदिरा र चुरोट पिएनन् । धेरैका लागि आदर्श खेलाडी रहे । त्यही घर र ‘ममी’ को साथले उनलाई यो स्थितिमा पुर्‍याएको थियो । राजु गर्वका साथ भन्छन्, ‘अरूले त यस्तो माहोल कहाँ पाउलान् र ?’


सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदपछि धोबीघाटको यस घरमा तीन स्वर्ण पदक भित्रिए । नेपालले जितेको ४ स्वर्णमध्ये एउटा फुटबलमा थियो । किरण, राजु र वाईबी नेपाली टोलीको प्रमुख सदस्य थिए । किरणले भुटानसँग समूह चरणमा २ गोल गरे । राजु र वाईबीले सबै खेल खेले । नेपालले फुटबलमा पहिलो उपाधि जित्यो । उनीहरूको एउटा तालिकाजस्तो थियो दैनिकी । बिहान उठ्नेबित्तिकै प्रशिक्षणका लागि दशरथ रंगशाला जाने । फर्कियो, घरमा सोफामा ढल्यो । खाना खायो, ३ बजे दिउसो अर्को प्रशिक्षण । थापाथली रामभण्डारबाट साझा बस चढ्यो जावलाखेल फर्कियो । जावलाखेल चोकमा साथीभाइसँग साँझको जमघट । ठीक ७ बजे घर फर्कियो । होस्टलको जीवन शैलीजस्तै थियो ।


राजु र वाईबी दिउँसो फुर्सदको समयमा जर्सी, मोजा धुन्थे । किरण दिउसो कलेज जान्थे । किरणले धेरै खेलेनन् । डाक्टरी पढ्न उनी १९८५ मा रुस हान्निए । राजु र वाईबी धोबीघाट नै बसे अझ जिम्मेवारीसाथ । ‘आफूले लेखेको नोट नहेरी पढेर सबै सुनाउँथ्यो,’ राजुले किरणमा डाक्टर हुनपर्ने लक्षण पहिले देखिसकेका थिए । आफू रुस पढ्न गएपछि राजु दाइ र वाईबी दाइका कारण घर झन् ढुक्क भएको महसुस गरेको किरणले सुनाए, ‘उहाँहरू बस्दा आर्थिक भार कहिल्यै भएन । हामीलाई नै झन् सपोर्ट भयो । हुन त रासन मैले किन्नुपर्दैनथ्यो, केही महसुस हुँदैनथ्यो । सबै आमाले गर्नुहुन्थ्यो ।’ ‘ममी’ ले पनि पाहुना लागेकोमा कहिल्यै झर्को मानिनन् । उनले भनिन्, ‘पकाएर खान दिन्थें । यिनीहरूको खासखुस केही थाहा हुँदैनथ्यो । यिनीहरू पनि खाना खायो, खेल्न जाने खाले थिए ।’


आफूहरूले पनि छोराले निर्वाह गर्नुपर्ने दायित्व सबै निर्वाह गरेकाले धोबीघाट घर कहिल्यै पराई नबनेको राजु बताउँछन् । ‘हामी बदमास भएको भए उहिले निकाली दिनुहुन्थ्यो होला,’ राजु कारण दिन्छन् । राजु र किरण भान्सामा ‘ममी’ लाई सघाउँथे पनि । वाईबी भने पकाउन जान्दैनथे । मासु पकाएपछि वाईबीलाई अलि बढी चाहिन्थ्यो । किरण बगैंचा गोडमेल गर्थे । अहिले पनि बिहानी १ घण्टाको दैनिकी किरणको यसरी नै बित्छ । विदेश खेल्न जाँदा सबैले ‘ममी’ लाई साडी ल्याइदिन्थे । ‘ममी’ को केही रोजाइ हुँदैनथ्यो । ‘ममी’ लाई फुटबलमा राम्रै रुचि थियो । घर नजिकै सुनाखरी क्लब थियो, जुन आफ्नो समयको च्याम्पियन थियो । राजु र किरण दुवैले यस क्लबबाट खेले । पास मिलाइदिएको समयमा ‘ममी’ आफ्ना छोराहरूको खेल हेर्थिन् ।


आफ्नो परिवारको सदस्य थपिंदै गएपछि वाईबी पहिला धोबीघाटबाट निस्किए । धेरै टाढा गएनन् । लामो समय जावलाखेल बसे । आफ्नो खेलजीवन टुंगाउनु दुई वर्षअघिजस्तो मात्र अर्थात् १९९५ मा राजुले धोबीघाट छाडे । ‘फुटबल खेल्न धरान छाड्न परेकाले आफ्नै आमाले मलाई हेर्न नभ्याउनुभए पनि उहाँले नै ममीलाई मलाई राम्रोसँग हेरिदिनु भन्नुभएको थियो,’ राजुले दुई आमाबीचको कुरा सुनाए । धोबीघाट छाडेपछि राजुको विवाह भयो । उनी अहिले कोटेश्वरमा घर बनाएर बसेका छन् । वाईबी भैंसेपाटीछेउ पुगेका छन् । अहिले पनि राई परिवारमा आउने पारिवारिक निम्तो राजु र वाईबीको नाममा आउने गरेको छ । ममीले समयले अप्ठ्यारो बनायो, म खासै हिँड्न सक्दिनँ भेट पातलो भयो भनेर दुखेसो पोख्ने गरेको राजु बताउँछन् । राजु पनि मान्छन् जीवन एकनास छैन । वाईबी अशक्त छन् । राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । राजु चाडपर्व, विशेषगरी आमाको मुख हेर्न दिन धोबीघाट पुगिहाल्छन् ।

Twitter :@dearbinod

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?