आमा, गोठ र अरुण

कैलाश राई

चुक घोप्ट्याएझैँ अँध्यारो रात  । ढिकी कुटेको आवाज एकनासले मेरो कानमा गुन्जिरहेको थियो  । बेलाबेला कुकुर भुकेको आवाज पनि सुनिन्थ्यो । ढिकीको आवाज बन्द हुनासाथ मनमा आस पलाउँथ्यो— अब त आमाको काम सकियो होला कि ? म ओछ्यानमा कुकुरजस्तो कुक्रुक्क परेर उनलाई कुरिरहेकी हुन्थे ।

ह्वास्स रक्सीको गन्ध आएसँगै आपाको आवाज पनि आयो—
‘ए, आमा तिमी पो ! देशमा बहुदल आयो । खुसियाली मनाइयो ।’
‘घरको नीति थाहा छैन राजनीति गर्ने भइखाको, जाँ... । भात खान आइज । अनि चुपचाप सुत् ।’


म आफ्नी आमा कुर्दै थिए । बोजु (हजुरआमा) आफ्नो छोरा कुर्दै थिइछन् क्यार । केहीबेरमा घ्वारघ्वार घुरेको आवाज कानमा पर्दै थियो । त्यसपछि केही थाहा पाइनँ । दिनभरिको मेलापातबाट फर्केपछि साँझको भातभान्सामा सबै परिवार एकैसाथ हुन्थ्यौँ । भातभान्साको काम सकिएपछि ढिकी जाँतोको काम सुरु हुन्थ्यो । म घरी उनलाई ओछ्यानमा एक्लै कुरिरहेको हुन्थें । घरी उनीसँगै ढिकी–जाँतो गर्ने ठाउँमा सँगै जान्थे । उनको छेवैमा बसेर मनमा लागेका जिज्ञासाहरू सोध्थे । उनी आफ्नै काममा व्यस्त हुन्थिन् । मेरो कुरामा उनलाई चासो हुन्थेन । बरु मलाई हकार्थिन्, ‘काम र थकान दुवै भएको बेला अनेक नसोध । सुत्, जा ।’ म अटेर भएर उङ्दै बस्थें । त्यहीं निदाउँथें । ओछ्यानमा ब्युँझिन्थें । एक्लै ।


एक्लै हुँदा त्यो ओछ्यान चिसो लाग्थ्यो । चिसिएको ओछ्यानको एक छेउ मेरो लागि आत्मीय थियो— जहाँ आमा सुत्थिन् । त्यहाँ आमाको गन्ध हुन्थ्यो । पसिनाले भिजेर ज्यानमै सुकेको मखमलको चौबन्दी चोलो, चोलोको खल्तीमा अटुट रहने सुर्ती र चकमक, हिलो–धूलो–माटोको टाटा लागेको लुंगी, कम्मरमा बाँधिएको खेसको पटुकीको पोल्टाभित्र बोकिएको सातु, मकै भटमास, कोलमा पेलेको तोरीको तेल दलेर बाटिएको लामो कपालसँगै आमाको शरीरको आफ्नै गन्ध । यी सबै गन्धको सम्मिश्रणले एक अलग्गै खालको गन्ध बनेको थियो । मेरा लागि त्यही गन्ध नै आमाको पहिचान थियो । त्यही गन्धले आमाको प्रतिनिधित्व गर्थ्यो । त्यो गन्ध र मबीच गहिरो सम्बन्ध बनेको थियो । त्यही गन्धमार्फत् म आमाको अनुपस्थितिमा पनि उनको सामीप्य महसुस गर्थे ।


भालेको डाँकसँगै उनी काममा लागिसकेकी हुन्थिन् । म ब्युँझिँदा कहिले उनी दैलो पोत्दै हुन्थिन्, कहिले आँगन बढार्दै गरेकी । कहिले पँधेराबाट पानी ल्याइरहेकी हुन्थिन् । कहिले बाछाबाछी, पाठापाठी र तिनका माउँहरूलाई कुँडो खुवाइरहेकी हुन्थिन् । कहिले तिनको मलमूत्र सोहोर्दै सोतर बिछ्याइरहेकी हुन्थिन् । कहिले भने यी काम सकीओरी पोल्टामा मकै भटमास वा सातु पोक्याएर खाँदै खाँदै घाँसदाउराका लागि हिँडिसकेकी हुन्थिन् । बिहानको खानापछि मेलामा हिँडिहाल्थिन् । म सधैं आमासँगै हुन चाहन्थें । खै किन हो, मैले थाहा पाएदेखि नै त्यसो हुनै पाउँदैनथ्यो ।


उनी जम्दार खलककी कान्छी छोरी । ११ वर्षकी थिइन् । त्यही साल ९ वर्षीय केटोसँग धुमधामले मागी बिहे भयो । कलिलो बिरुवालाई एक ठाउँबाट अर्को ठाउँमा सारेझैँ आमालाई खउटोलबाट खम्बुक भन्ने गाउँमा सारियो । उनी खानदानकी जेठी बुहारी बनेर हुर्किइन् । कुनै प्रश्न वा संकोच जाहेर नगरीकन अह्राएको काम खुरुखुरु गर्थिन् । अर्थात् आज्ञाकारी, सहनशील र इमानदार नाम्मि (बुहारी) बनिन् । नाम्मिको सट्टामा उनलाई वात्पाङ्मी (राईभित्रकी वात्पाङ् पाछाकी भएकीले) भनेर पनि बोलाउने गरिन्थ्यो । मामाघर जाँदा मेरा माइजूहरूले आमालाई खम्बुकमी (खम्बुक बस्ने महिला) भनेर बोलाउँथे । मेरी दिदी जन्मिएपछि अर्को चिनारी थपियो– हर्कीम्मा (हर्कीको आमा) । त्यसपछि म जन्मिएँ । म जन्मेपछि हर्कीम्माको चिनारीमा कुनै फेरबदल भएन ।


उनी दुङ्माली बोल्थिन् । खसे पुक (नेपाली भाषा) कामचलाउ बुझिm्थन् । टुक्राटात्री बोल्थिन् । कसैले उनलाई बोलाएमा वा कुराकानीमा आफ्नो सहभागिता जनाउनका लागि ‘हजुर’ वा ‘ज्यू’ ले प्रतिक्रिया जनाउँथिन् । राई र तामाङहरूको सगोल बसाइ भएकाले तामाङ भाषा भने राम्रैसँग बुझ्थिन् । औपचारिक शिक्षा थिएन । घरमै साँवा अक्षर चिनेकी । लेखपढ महत्त्वपूर्ण छ, लेखपढका लागि खसे पुक अनिवार्य छ भन्ने बुझेकी थिइन् । दिदी र मेरो पढाइका लागि उनी चिन्तित थिइन् । प्रायः आमाहरूझैँ उनी पनि आफ्नो जीवनभन्दा सन्तानको जीवन राम्रो होस् भन्ने ध्याउन्नमै थिइन् ।


दिन बित्दै जाँदा मेरा दैनिक जिम्मेवारी तोकियो– बिहान उठेर अमखोरा माँझ्नु, माझिसकेर ताजा पानी भरेर पिउनका लागि तयारी अवस्थामा लस्करै राख्नु, दैलो र आँगन सिनित्तै बढार्नु, कुखुराहरूलाई खोरबाट निकालेर चारो खुवाउनु, पाठापाठीलाई घाँस दिनु आदि । म तीन वर्षको नहुँदै मेरा लागि डोको–नाम्लो बुनिसकिइएको थिएछ । मैले डोकोमा हालेर बोक्न सक्ने पानीको गाग्री पनि थियो । त्यसबेला परिवारका सबैले त्यो सानो डोको–नाम्लो र पानीको गाग्री ‘तेरो हो’ भन्थे । मेरो भनिइएको डोको–नाम्लो बोकेर आमासँगै घाँसपात वा गाग्री लिएर पानीपँधेरा जान पाउँदा कम्ता खुसी लाग्थेन । स्कुल जान थालेपछि हातले बुनेको अध्रानो झोला पनि मेरो भयो । त्यसभित्र मभन्दा पहिले स्कुल जाने कति जना बच्चाले बोकेर–पढेर केही च्यात्तिएका थोत्रा किताबहरू हुन्थे । कोही बच्चा अर्को कक्षा चढेपछि ती किताबहरू मेरा लागि राखिदिनू भन्ने आमाको मागअनुसार मैले ती पुस्तक पाएकी हुन्थें, जसलाई आमाले प्लास्टिकको खोल लगाइदिएर सियो धागोले उनेर बलियो पारिदिएकी हुन्थिन् । त्यही किताब झोलामा बोकेर स्कुल जान्थें ।


काका ब्रिटिस लाहुरे भएपछि धरानमा घरघडेरी जोडेर उहाँको परिवार उतै बस्न थालेका थिए । काकीसँगै बसेर दिदी पनि धरानमा पढ्ने जोहो भएपछि ठूली छोरीको चिन्ता लिनबाट आमाले केही हदमा छुट्कारा पाइन् । मैले स्कुलमा के पढें वा के सिकें भन्नेबारेमा आमाबाहेक कसैलाई वास्तै थिएन । खसे पुकमा पढाइ हुँदा केही नबुझेकाले वाल्ल परेको तर त्यहाँ साथीहरू भेटेको र मस्ती गरेर फर्केको कुरा सुनाउँथे । ‘सबैको अ–आफ्नै खालको बुद्धि हुन्छ । तेरो पनि छ । म खसे पुक राम्रो बोल्न जान्दिनँ । तैपनि कामकाज चलाएकै छु । तैँले बिस्तारै बिस्तारै सिक्छस् । सबै कुरा बुझ्छस्,’ उनी मुसुक्क हाँस्थिन् ।


उनैले मलाई सम्झाएकी थिइनँ– सिक्नका लागि भाषा होइन, भन्न खोजिएको वा बुझाउन खोजिएको कुरा बुझ्नुपर्छ । त्यसले खसे पुक नजानेकोमा हीनभावना र डरलाई जित्ने साहस बटुल्न सघायो । बेँसीमा अलग अलग ठाउँमा गोठहरू थिए । त्यहाँ वर्षायाममा अर्थात् खेतीपातीको याममा गाईबस्तुहरू राखिन्थे । गर्मीमा उब्जिने अन्नबालीहरू लगाइन्थे । हिउँद लागेपछि अर्थात् खेतीपाती थन्काइसकेपछि गोठका बस्तुभाउहरू माथि निकालिन्थ्यो । खुला बारीहरूमा राखिन्थ्यो । एकजना गाउँले दाइ लामो समयदेखि गोठालोको भूमिकामा थिए । प्रायः चाडबाडको बेलामा र खेतीपातीको कामको चाप हटेपछि आमा बेँसीको गोठमा बस्ने दाइलाई पालो दिन झर्थिन् । बेँसीको गोठमा गोठाला बस्न जानु परिवारका अरू सदस्यको छनोटमा पर्दैनथ्यो । आमा भने नाइँनास्ती नगरीकन झर्थिन् । म उनी घर फर्किने दिनको पर्खाइमा हुन्थें । जंगलमा फलेका मौसमी तुलफूल र ठेकीभरि दही लिएर घर फर्किन्थिन् उनी ।


आमासँगै बेँसी गोठमा म पनि झरें । अरुण नदीको किनारभन्दा केही उचाइमा थोरै सम्म परेको ठाउँमा गोठ थियो । त्यसलाई अक्करे गोठ भनिन्थ्यो । गोठमुन्तिर बारीको कान्लाहरूमा लहलहाउँदो सुर्तीका बोटहरू हरियै थिए । केही कान्लाहरू कोसा भरिएका गहतले भरिएका थिए । केही कान्ला बाँझै पनि थिए । त्यसभन्दा अलि पर गएर डिलबाट तल हेर्दा डरलाग्दो चट्टाने भीर थियो । त्यही भीरको फेदमा गड्गडाएर बगिरहेको अरुण नदी थियो । गोठमा बस्ने मान्छेले त्यही नदीको पानी पिउनुपर्थ्यो । गोठमा बस्नेको दैनिकी निश्चित थियो । बिहानै उठ्नु, गाईबाख्राहरूको थलोकिलो सरसफाइ गर्नु, बाछाबाछी र पाठापाठीहरूलाई कुँडो–खोले पकाएर दिनु, गाईको दूध दुहुनु, खाना पकाएर खाएपछि सबै गाईबाख्राहरू फुकाएर दिनदिनै जंगलको फरक फरक कुनाकाप्चा र दिशातिर चराउन लानु । दिनभरि गाईबाख्राहरूसँगै जंगल चहार्दै घाँसपात र केही तुलफूलहरू बटुलेर गोठ फर्किनु । आमाले बेलाबेलामा केही फरक फरक आवाज निकाल्थिन् । म बुझ्दिनथें । तर गाईबाख्राहरूले बुझेर त्यसको पालना पनि गर्ने गर्थें ।


‘यिनीहरू हामीजस्तो बोल्दैनन् । तर म यिनको कुरा बुझ्छु । यिनीहरूले पनि मेरा बुझ्छन् । मान्छन् । हामी एकअर्कासँग आफ्ना खुसी, दुःख बाँड्छौं । कुनै जंगली जनावरबाट खतरा भएको कुरा होस् वा बारीको बाली खान आउँदै गरेको बाँदरबारे होस् यिनीहरू मलाई बताउँछन् । अनुशासित र जिम्मेवार कसरी हुने भन्ने कुरा तैंले पनि यिनीहरूसँग सिक्न सक्छस्,’ आमाले भनेकी थिइन् । गोठमा बस्दा उनी प्रत्येक गाईबाख्राहरूसँग बात मार्थिन् । तिनलाई यसो गर उसो गर भनेर अह्राउँथिन् । तिनलाई घाउ–चोट लागेमा जडीबुटी खोजेर लगाइदिन्थिन् र ढाडस दिँदै धाप मार्थिन्, ‘पीर नलिनू छिट्टै बिसेक हुन्छ । आफ्नो ख्याल राख्नू । पड्के झिँगालाई चाहिँ बस्नै नदिनू है ।’ तिनले आमाको हात चाट्थे । सायद कृतज्ञता जनाएका हुन् कि !


आमाले धेरै माया गर्ने एउटा बूढी गाई थियो— माली । ऊ अगुवा थिई । ऊ चरनका लागि बाटो लागेपछि अरूले पछ्याउँथे । ऊ आफ्नो थलोकिलोमा उभिएपछि अरू पनि त्यसै गर्थे । एक रात बाघ जोडले करायो । त्यसलगत्तै मालीले अनौठो आवाज निकाली । उसले सबैलाई निश्चिन्त र सतर्क रहन भनेकी हुन् भनेर आमाले अर्थ्याइदिएकी थिइन् । यदि उसले त्यसो गरिन भने सबै गाईबाख्राहरू अत्तालिएर दाम्लो चुाडाएर भाग्न खोज्छन् । त्यसो गर्दा चोटपटक लाग्ने र झन् बाघले चाहेझैँ आक्रमण गर्न सजिलो हुन्छ भन्ने आमाको अनुभव थियो ।


‘माली सबैको आमा हो,’
‘कसरी ?’
‘मालीले जन्माएका ५ वटा गाईहरूले ४, ५ बेत ब्याइसके । नाति–पनाति पाइसक्यो मालीले । उसले जन्माएको राँघे, झिल्के, पाँग्रे र राते गोरुहरूले हाम्रो बारीखेतहरू जोतेको धेरै भइसक्यो । मालीले आफ्नो बाछाबाछीसँगसँगै हामीलाई दूध, दही, घ्यू, मोही दिएको धेरै भइसक्यो । हामीमाथि मालीले धेरै गुन लाएको छ ।’


एक दिन आमाले माली गाईको दाम्लो फुकाल्दै केही भनिन् र हातले माथिल्लो डाँडातर्फ इसारा गरिन् । माली अघि लागिन् । हामी उसलाई पछ्याउँदै गयौँ । जंगल फाँडेर खेती गर्न बनाइएको टारजस्तो ठाउँ छेउ पुगेपछि माली घाँस चर्न लागिन् । अरू गाईबाख्राहरू पनि तितरबितर भएर चर्न थाले । त्यहाँनेर केही मध्यम खालका रूख, सथिबयर, खिर्रा र अरू मैले नचिनेका पोथ्रापोथीहरू झाँगिएका थिए ।
‘पहिले पहिले यहाँ कपासको खेती गरिन्थ्यो । कपासबाट लत्ताकपडा, ओढ्ने—ओछ्याउने सबै बन्थ्यो । हामी सबैले मिलेरे बनाउँथ्यौँ । अहिले त यी मैले पनि लाहुरबाट ल्याको लुगा लगाको छु । मैले बाँधेको पटुकी मात्रै यहींको कपासबाट बनाएको हो’ आमाले त्यत्ति भनेपछि कपासबाट कपडा बन्दोरहेछ भन्ने बुझें ।


चकमन्न राति अरुण किनारैकिनार पूर्व दिशातर्फ हेर्दा उज्यालोको सानो थोप्लो देखियो ।
‘त्यो के हो ?’
‘राँके भूत त होइन ? होइन, होइन, राँके भूत लस्करै राँको बालेर हिंड्छ । अँधेरी घाट छेउछाउ परदेशीहरू बास बसेका होलान् ।’ अँधेरी घाट धनकुटा–भोजपुर आउजाउ गर्दा डुंगाले अरुण नदी तर्ने एउटा थलो थियो । अरुण आसपासको धेरै कुरासँग आमा परिचित थिइन् । रूखविरुवाहरूको नाम र कामबारे जानकार थिइन् । अरुण किनारमा रहेका खयरको सुकेको बोक्रा नुन पानीसँग उमालेर खाँदा ओखती हुन्छ भन्दै मलाई दिएकी थिइन् । गोठ आसपास र टाढाटाढाका जंगलमा पाइने आँपको गुण–दोष र नाम बताउँथिन् । फँडेर (जमुना), बेल, रूख कटहर, सरिफा, अमला, तितिरी आदिको रूखहरू कहाँ कहाँ कति छन् र तिनको स्वाद कस्तो कस्तो छ भनेर सुनाउँथिन् । अरुणपारि के कसो होला भन्नेबारेमा उनको कौतूहल पनि उत्तिकै थिएछ । १० दिनको साथ, स्नेही पलहरू र आपसी संवादहरूबाट मैले थाहा पाएँ– गोठमा उनी धक फुकाएर बस्दिरहिछन् । आफू भएर बाँच्ने रहिछन् । आमा र म सुखद र छोटो वनबासबाट फर्क्यौँ ।


साविककै दिनचर्या सुरु भयो । एक हिउँद कटेर अर्को हिउँद लाग्यो । खेतीपाती थन्कोमन्को लगाइए । काकी धरानबाट पहाड निस्किएकी थिइन् । आमा पनि काकीसँगै अरुण काटेर धनकुटा–धरान घुम्न जाने भइन् । उनी भित्रभित्रै निकै खुसी थिइन् । म भने न्यास्रिएकी थिएँ । अरुणपारिको गाउँ हेर्थें । आमा त्यही बाटो भएर गएकी होलिन् । त्यही बाटो भएर छिट्टै फर्किनेछिन् भन्ने गर्थे । १५ दिनपछि उनी फर्किइन् । नौलो ठाउँ, नयाँ मान्छे, नयाँ चालचलन देखेर चकित र उत्साहित भएको कुरा मसँग गरेकी थिइन् । उनको खसे पुक बोल्ने सीप पनि बढेको थियो ।
‘अरुण तरेर आफ्नो भविष्य खोज्नू’ छोरीको राम्रो भविष्य खोज्ने सम्भावित ठाउँ बाहिरफेर छ भन्ठानेर होला फर्केपछि उनले भनेकी थिइन् । फर्केलगत्तै दमको रोग निकै बढेपछि आमाले बिँडी पिउन छाडिन् । उनको स्वास्थ्य स्थिति सुध्रिएन । बिमार छु भनेर ओछ्यान पनि लागिनन् । स्थानीय ओखती, स्वास्थ्य चौकीको दबाई र नाक्छोङको विद्याले बिसेक नभएपछि थप उपचारका लागि धरान झर्ने निधो भयो । दिदी धरानबाट आमा लिन निस्किएकी थिइन् । ढाकरमा बोकी मागेर आमा उपचारको लागि बाटो लागिन् ।


‘कछी (कान्छी) राम्रोसँग बस्दै गर् । म जाती भएपछि आउँछु,’ बाटो लाग्दा भनेकी थिइन् । उनको आँखाभरि पानी टल्किएका थिए । ओझेल परिसक्दासम्म आमा र दिदी गएतिर म एकोहोरो हेरिरहेथें । पारि गाउँलाई बारम्बार हेर्दै आमाहरूले त्यो डाँडा काटिसके होलान् भन्दै आत्मलाप गर्थे– आमा फर्केपछि हामी फेरि बेँसी गोठ झर्नेछौँ । साथमा बिताउनेछौँ । रमाउनेछौँ । ढाकरमा आमालाई बोकेर जाने मान्छे भोलिपल्ट मध्याह्नमा समाचार लिएर आएको थियो— हर्कीम्मा रहिनन् । साँझ परेपछि अँधेरी घाटमा बास बसेका थिए रे । बिहान भाले बास्न नपाउँदै आमाको सास टुट्यो अरे । घरकाले भने— वात्पाङ्मिरनाम्मिले हामीलाई छोडेर गइन् । आपाले भने— हर्कीम्मा बितिन् । मामालीकाले भने— खम्बुकमीले आफ्नो दुःख लुकाइन् । मैले भनें— मेरी आमा धरान झरेकी छन् । सुद्धईँ (मृतकको नाममा गरिने काजकिरिया) को काम सुरु गरियो । म भने आमा गन्तव्यमा पुगेर उपचार गराइरहेकी होलिन् भन्ठान्थें । आमाको गन्ध बोकेको ओछ्यान सुरक्षित राख्न मैले रोइकराइ गरें । सित्नङ (मृतक) ले भोगचलन गरेको प्रिय बस्तु राख्नुहुँदैन । सित्नङले माया मान्छन् । साथमा लान खोज्छन् र दुःख बिमार भइरहिन्छ भनी त्यसलाई नष्ट गरियो । तैपनि जाती भएर कुनै दिन आमा आउनेछिन् भन्ने आशामा बाँच्नु मलाई प्रिय लागिरह्यो ।
rai.kailash@gmail.com

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

देहातका आमाहरू

तुलानारायण साह

स्वप्नदर्शी र संघर्षशील आमा दुनियाँभरिका आमाहरूमा अनेक असमानता होलान् तर एउटा कुरा समान हुँदो रहेछ  । त्यो हो आमाहरूले आफ्नो सन्तानका लागि सपना देख्ने र त्यसलाई पूरा गराउनका लागि गर्ने संघर्ष  ।

आमा धनी हुन् या गरिब, शिक्षित हुन् या निरक्षर, गाउँकी हुन् या सहरकी त्यसको धेरै ठूलो अर्थ हुँदैन । दुनियाँका हरेक आमाले आफ्नो सन्तानको हित मात्र सोचेकी हुन्छन् ।


मेरी आमाले पनि त्यस्तै गर्नुभएको थियो । मेरो जन्म हुँदा हाम्रो गाउँ गोइठीमा पढाइ लेखाइको खासै माहोल थिएन । सबै जना खेतीपातीमा व्यस्त थिए । दादाजी (बुबापट्टिको हजुरबा) लाई सकेसम्म जग्गा जोड्ने रहर थियो । एसएलसीसम्मको पढाइपछि नै पहाडमा मास्टरी गर्दा हुने उहाँको सोच थियो । तर आमा त्यस कुरामा असहमत हुनुहुन्थ्यो । सकेजति र छोराहरूले चाहेजति पढाउने आमाको चाहना थियो । आमाले बुबालाई कन्भिन्स गर्नुभयो । पछि गएर हाम्रो बुबा र दादाजीबीच यही कुरामा खटपट हुन थाल्यो । दादाजी भन्नुहुन्थ्यो, ‘यत्रो मिहिनेत गरेर कमाएको सबै सम्पत्ति नातिहरूको पढाइ–लेखाइमै लगाइदिने ?’ थप सम्पत्ति आर्जन उहाँको प्राथमिकता थियो ।


आज आएर सोच्छु, गाउँमा त्यस्तो साह्रो पढाइ–लेखाइको माहोल नहुँदा पनि आमाको मनमा यो सपना कहाँबाट पलाउन पुगेको थियो ? उत्तर खोज्दै जाँदा उहाँको माइतबाट आएको थियोजस्तो लाग्छ । हाम्रो मामाघर सप्तरी जिल्लाकै कञ्चनपुर । कञ्चनपुर सानो तर पुरानो बजार । त्यहाँ धेरै पुरानो स्कुल छ । लेखपढको पुरानो माहोल थियो । २०२५ सालतिर मामाले एसएलसी पास गर्नुभएको थियो । भारतबाट पीएचडी गर्नुभयो । लाग्छ, कञ्चनपुरको त्यो लेखपढको माहोल र भाइको पढाइप्रतिको लगाव देखेर मेरो आमाले छोराहरूबारे एउटा सपना देख्नुभयो ।


हाम्रो किसान परिवारलाई खान लाउन समस्या थिएन । मानिसको समस्या थियो । दिदीहरूको बिहा भइसकेपछि आमाबुबालाई सघाउने मानिसको अभाव हुँदै गयो । यता छोराहरूको पढाइ खर्च बढ्दै गयो । परिवारमा अंशबन्डा भयो । खाइपाइ आएको सम्पत्ति घट्न पुग्यो । त्यही बेला (२०५१/५२ सालतिर) गाउँमा आगलागी हुँदा हाम्रो सारा सम्पत्ति जल्यो । बाआमाको जीवनमा सर्वाधिक दुःखको समय थियो त्यो । तर कहिले पढाइ रोक्न भन्नुभएन । सकेजति खर्च जुटाउनुभयो ।

आमाहरूको अनन्त दुःख
आज आएर म आफ्ना छरछिमेकका साथीभाइका घरका अवस्था सम्झिन्छु । उनीहरूको बाल्यकाल, परिवारको अवस्था र आमाहरूको गतिविधिलाई सम्झिन्छु, मेरो आमाको तुलनामा मेरा साथीहरूका आमाहरू कति धेरै दुःख गर्नुहुन्थ्यो । मेरा बालसखाहरू कपिलेश्वर सरदार र लीलु यादव थिए । बाल्यकालमा हामी निकै मिल्थ्यौं । हामीहरूको खाने–बस्ने ठेगान हुँदैन्थ्यो । हामी प्रायःजसो सँगै हुन्थ्यौं । मेरा ती दुवै मित्रको पारिवारिक अवस्था निकै कमजोर थियो । उनीहरूका आमा हाम्रो आमाभन्दा धेरै दुःख गर्नुहुन्थ्यो । मजदुरी गर्नुहुन्थ्यो ।
लीलु यादव कक्षा ६ मा नपुग्दै पन्जाबतिर लागेका थिए । उनी आजपर्यन्त हरियाणाको एक पेपर मिलमा काम गर्छन् । अर्का मित्र कपिलेश्वर सरदार पनि धेरै वर्ष पन्जाब बसे । त्यतैबाट माओवादी बनेर फर्केका थिए । जनयुद्धमा होमिए । जेल बसे । अहिले गाउँमै राजनीति गर्छन् । यी दुवै मित्रका आमाहरू स्वर्गबास भइसकेका छन् । आज आएर सोच्छु, मेरो आमाले देखेको सपनाजस्तै मेरा मित्रहरूका आमाले पनि त सपना देखेका थिए होलान् । कस्तो थियो होला ती आमाहरूको सपना ? छोराहरू सानै उमेरमा पन्जाब जाओस् भन्ने सपना त पक्कै देख्नुभएन होला । तर के कारणले मेरो आमाको सपना पूरा भयो र मेरा मित्रहरूको आमाको सपना पूरा भएन ?


अहिले कपिलेश्वरकी श्रीमती आफ्ना हुर्किसकेका बेरोजगार छोराको भविष्यलाई लिएर निकै चिन्तित रहने गरेको पाउँछु । लीलुकी श्रीमती गाउँमा एक्लै बस्छिन् । अबोध बालकहरूको शिक्षादीक्षालाई लिएर निकै संघर्ष गरिरहेको देख्छु । गाउँमा गरिबी घटेको अवश्य छ तर आमाहरूको दुःख खासै घटेको छैन । बाल्यकालमा लालनपालन र शिक्षादीक्षाको चिन्ता बुबाभन्दा बढी आमालाई हुँदो रहेछ । सन्तान हुर्किसकेपछि तिनको रोजगारको चिन्ता सुरु हुन्छ । अहिले अधिकांश युवाहरू अरब वा मलेसिया गएका छन् । तिनका जहान, आमाबुबा गाउँमा वा नजिकको बजारमा बसेका हुन्छन् । तिनको चिन्ता बिदेसिएका सन्तानको जीवन रक्षासँग जोडिएको हुन्छ ।


एक दशकअघिसम्म हाम्रा गाउँका आमाहरू छोरा द्वन्द्वमा मारिएला भन्ने चिन्ताबाट ग्रस्त थिए । हाम्रो गाउँमा सुरुका दिनमा माओवादीको चर्को प्रभाव थियो । जनयुद्धमा लागेकाहरूको आमाको चिन्ता सम्झिन्छु । जनयुद्धमा नलागेका वा माओवादीविरोधीहरूको आमाको चिन्ता सम्झिन्छु । पात्रहरू फरक फरक थिए, आमाहरू पनि फरक फरक थिए तर ती सबै आमाहरूको चिन्ता एक समान थियो । आ–आफ्नो सन्तानको जीवनरक्षा आमाहरूको चिन्ता हुन्थ्यो, प्रार्थना हुन्थ्यो ।


२०६०/६१ सालतिरको एक प्रसंग सम्झिन्छु । छिमेककी एक महिलाको मुखबाट सुनिएको प्रसंग हो यो । हाम्रो गाउँका एक युवा मधेसी सशस्त्र समूहमा लागेका थिए । माओवादीहरू तिनलाई खोज्दै थिए । उनको आमाले माओवादी र सरकारी पुलिसबाट छोराको जीवनरक्षाका लागि भाकल गरेकी थिइन् । भाकल पनि अनौठो, छोरा कुशल रह्यो भने घरमा २४ घण्टे रामायण पाठ र हनुमान अराधाना गर्ने !


त्यतिबेला हाम्रो टोलछिमेकका युवाहरू कोही माओवादीमा लागेका थिए, कोही मधेसी सशस्त्र समूहहरूमा । हाम्रो गाउँतिर जनतान्त्रिक समूह, मधेसी टाइगर र भाइरस किलर्सको बिगबिगी थियो । कहिलेकाहीं त लाग्थ्यो, मधेसका सबै मुक्तिदाता हाम्रै गाउँतिर बसाइ सरेका छन् । गाउँ पूरै त्रसित थियो । २०६० सालदेखि २०६५ सालबीच हाम्रो र छिमेकी गाउँहरूमा गरी लगभग दुई दर्जन युवाको हत्या भएको थियो ।


त्यतिखेर हाम्रो गाउँतिर तीनथरी सरकारको शासन चलेको भनिन्थ्यो । ज्ञानेन्द्रको शासन रहेकाले प्रहरी वा सेनाको गस्तीलाई पाँच सरकारको मानिस भनिन्थ्यो । माओवादीका लडाकुहरू आउँदा त्यसलाई छ सरकारका मानिस आएको भनिन्थ्यो । मधेसी सशस्त्र समूहका बन्दुकधारीहरू आउँदा सात सरकारका मानिस भनिन्थ्यो । मेरो सम्झनामा मेरा गाउँछिमेकमा आमाहरू सबैभन्दा बढी त्रसित भएको समय त्यतिबेला थियो । माथि उल्लिखित आमाको पीडा, छोराछोरीको जीवन रक्षाका लागि भगवान्प्रति तिनको आस्था मेरा लागि अविस्मरणीय बनेको छ ।


आमाहरूको धरम–करम
मेरो गाउँ मिथिलाक्षेत्रका एक प्रतिनिधि गाउँ हो । पछिल्लो समय गाउँका आमाहरू धार्मिक गतिविधिमा जबर्जस्त प्रकारले लागेको देख्छु । २०४४ सालसम्म गाउँमा बस्दा आमाका दौंतरीहरूले गर्ने गरेको धार्मिक गतिविधिको सम्झना छ । घरमा एउटा पूजाकोठा हुन्थ्यो । अहिले पनि छ । त्यसलाई हामी गोसाइघर भन्छौं । हाम्रो गाउँमा हरेक आँगनमा एउटा गोसाइघर हुन्छ नै । गोसाइको पूजा गर्नुको मूल उद्देश्य परिवारमा सबैको सुख शान्तिको कामना गर्नु हो । हाम्री आमालाई त्यतिले पुग्दैन्थ्यो । उहाँ लामो समयसम्म आइतबारको दिन व्रत बस्नुभयो । त्यसपछि महिना महिनामा आउने एकादशी व्रत पनि बस्नुहुन्थ्यो । कहिले मगंलबारे, कहिले बिहीबारे व्रत पनि बस्नुहुन्थ्यो । पछि आएर थाहा भयो, गोसाइघरमा हुने पूजा पूरै परिवारका लागि रहेछ भने एकादशी, आइतबार, मगंलबार गरिने व्रतहरू खास छोराछोरीका लागी गरिएको भाकल पूरा गर्न रहेछ ।


आजभोलि मेरो आमा र उहाँका दौंतरहरूको पूजापाठ गर्ने तौरतरिकामा आमूल परिवर्तन भएको छ । गाउँभरिका महिलाहरू राम्रो नयाँ लुगा लगाएर महिनाको एक दिन पोखरीको डिलमा जम्मा हुँदारहेछन् । त्यस समूहमा युवतीदेखि वृद्ध आमासम्म हुँदा रहेछन् । बुझ्दै जाँदा सन्तोषी समूह बनेको रहेछ हाम्रो गाउँमा । थप बुझ्दा यस्तो समूह त टोलैपिच्छे बन्दा रहेछन् । संयोगले एक पटक सातासम्म गाउँमै बस्नुपर्ने भयो । राति अबेरसम्म छिमेकमा लाउडस्पिकर बजेको बज्यै गर्‍यो । महिलाहरूले शिवजीको प्रार्थना गरेको लाउडस्पिकरमै सुनिन्थ्यो । मैथिली भाषामै आफ्नो दुःखको बयान, छोरीको बिहेको कामना, छोराको जागिरका लागि अनुनयविनय गरिरहेको सुनिन्थ्यो । सुन्दाखेरी लाग्थ्यो कि महिलाहरू कुनै टाढाको भगवान्सँग प्रार्थना गरिरहेको नभई आमने–सामने वार्तालाप गरिरहेका छन् । पछि थाहा भयो, यो त आमाहरूको शिव चर्चा समूह रहेछ । त्यस्ता समूहहरू पनि टोलैपिच्छे रहेछन् । कतै साप्ताहिक त कतै मासिक रूपमा त्यस्तो प्रार्थना सभाहरू आयोजना हुँदा रहेछन्ण् ।


मेरी आमाको पनि पूजा गर्ने तौरतरिकामा बदलाव आएको छ । दशकअघिसम्म पिताजी हुँदासम्म गोसाइघरमा एक कुनामा मात्र पूजा हुन्थ्यो । आँगनमा रहेको धजामा पनि पूजा गरिन्थ्यो । त्यसबाहेक चौरचन, घडी इत्यादि जस्ता पर्वमा घरको देउताको पूजाआजा त हुने नै भयो । पिताजीको देहान्तपछि आमाको पूजाआजा गर्ने तौरतरिका फेरिएको छ । पाँच वर्षअघि आमा केही महिनाका लागि भारत यात्रामा हुनुहुन्थ्यो । आमाको भाइ र बहिनीको बसोबास उतै रहेकाले उहाँहरूसँग विभिन्न तीर्थस्थलको भ्रमण पनि गर्नुभयो । उताबाट फर्केर आएपछि अनेक भगवान्का दर्जनजति फोटोहरू बोकेर आउनुभयो । कुनै–कुनै फोटोमा १०/१५ वटासम्म देवीदेवता अंकित छन् । गोसाइघरको एक कुनामा पारिवारिक देउताको स्थान छुट्याइएकै थियो । आमाले घरको अर्को कुना पनि कब्जा गर्नुभयो । सबै फोटाहरू भुन्ड्याइएको छ । आमाले लगभग हरेक दिन पूजा गर्नुहुन्छ ।


बितेको साउन महिनाको घडी पर्वमा पूजा गर्ने पालो मेरो परेको थियो । आमाको निर्देशन कडा थियो । सम्पूर्ण फोटाहरू पुछ्नुपर्ने । सकेसम्म फोटामा अंकित सबै देवीदेवताको स्नान हुनेगरी सफा गरिनुपर्ने । सरसफाइपछि कुनैलाई सिंगै फूल त कुनैलाई फूलका पात भए पनि हुनेगरी फूलपात चढाइयो । त्यसपछि मिठाई चढाउने पालो थियो । सबैलाई सिंगैसिंगै लड्डु चढाउँदा धेरै चाहिने भएकाले फोडेर चढाएँ । तर, अलि ठूलो तस्बिर भएको देउताको अगाडि सिंगै लड्डु चढाउन भन्नुभयो । मैले सबै देउतालाई सगोलमै एकै ठाउँमा सबै लडडु राखिदिऊँ भनें, आमाले मान्नुभएन । अन्तमा फूल, पान, सुपारी, लड्डु हातमा राखेर आँखा चिम्लेर एक छिन ध्यान गर्नुपर्ने भयो । त्यतिबेला मलाई लाग्यो, बुढेसकालमा आमाले घरमा देउताहरूको आमसभा लगाउनुभएको रहेछ ।


अन्तमा एक छिन ढोका बन्द गरेर बाहिर बस्नुपर्ने भयो । त्यो भगवान्लाई प्रसाद ग्रहण दिइएको समय रहेछ । मैले भने धेरै बेर ढोका बन्द नगरौं, धेरै लड्डु खाएर भगवान्लाई डायबिटिज होला !
पूजा सक्दा दिउसोको १२ बजिसकेको थियो ।
मैले आमालाई अलिक नरम भाषामा सोधें, ‘यति विषद पूजा गरेर तपाईंलाई के होलाजस्तो लाग्छ ?’
‘सबै सन्तानहरू सुखी, सम्पन्न रहुन् । यसबाहेक अरू के नै कामना गर्नु !’ मनमा लाग्यो, दुनियाँमा दुःखी हुनलाई दुःख नै भोग्नु नपर्ने रहेछ । सबैका दुःखका आफ्नै कथा हुँदा रहेछन् ।
दुनियाँका सबै आमालाई सतत् प्रणाम ।

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×