नयनराज पाण्डेले लिए आमाको अन्तर्वार्ता

नयनराज पाण्डे

आमाका बारेमा धेरै कवि लेखकले कविताहरू लेखेका छन्  । मलाई पनि आमाका बारेमा केही लेख्ने रहर थियो  । तर, ‘आमा’ को विराटता र व्यापकतामाझ मेरा शब्दहरू दीनहीन लागे ।

सामाजिक सञ्जालको प्रयोग बढेपछि अरू दिन जे जस्तो व्यवहार देखाए पनि वर्षमा एकचोटि आउने आमाको मुख हेर्ने दिनलाई भने ‘मातृदिवस’ भन्दै हामीले आमाका फोटा या आमाका बारेमा लेखेका चोरचार पारेर वा कनीकुथी लेखेका महानवाणिहरू अतिशय उत्साहित भएर सञ्जालका भित्ताभरि टाँस्छौँ र आफूलाई आमाका असल सन्तान सावित गर्छौँ । आज यस मामिलामा म पनि अपवाद रहिनँ ।


आमाका बारेमा लेख्दा हामीभित्रबाट भावुकताको नदी गडगडाउँदै बग्छ । तर, यो नदीले हाम्रो जलविद्युत्को संकट समाधान गर्दैन । सृष्टि छ, आमाहरू छन् र हाम्रा भावुकता पनि उधुम छन् । तर ऊर्जाको संकट उस्तै छ । हामी आफ्नै नदीमा बग्दैबग्दै थातथलो छाडेर अमेरिका, अस्ट्रेलिया भास्सिँदै छौँ र आमाहरू यहाँ एक्लै छुटिरहेका छन् । हामी आफ्नो एक्लोपनमा आत्तिन्छौँ । तर आमाको एक्लोपनको कल्पना गर्दैनौँ । आमा हरेक दिन मेरो छेउमा आएर कति कति कुराहरू गर्न खोज्नुहुन्छ । तर, म लेखक भइटोपलेको सुविधा लिँदै आफ्नै सिर्जनाको संसारमा चुपचाप हराइरहन्छु । के सँगै बसेर पनि म आफ्नी आमालाई एक्लो बनाउँदै छु ? यो प्रश्नले मेरो मथिंगलमा बरोबर झट्का दिइरहन्छ ।


यस्तो किन भएको ? कतै समस्या हाम्रो या मेरो कर्मकाण्डीय भावुकतामा त छैन ? कतै हामीभित्र भावुकताको ऊर्जाहीन नदी त बगिरहेको छैन ? प्रश्नहरू तमाम छन् । जवाफ पनि हामी सबैको मनभित्र छ । जवाफ आमाका सबै ‘छोराहरू’ सित छ । यहाँ मैले जानाजान ‘छोरीहरू’ भन्ने शब्द प्रयोग गरिनँ । हो, जवाफ पक्कै छोराहरूसितै हुनुपर्छ र आमाहरूले बडो जतन गरेर सृष्टि गरेका हामी छोराहरूले आमा या आमाजस्तै नारीहरूमाथि राख्ने धारणा र गर्ने व्यवहारमै कतै लुकेको हुनुपर्छ हाम्रो जवाफ । हाललाई ती तमाम जवाफहरूलाई थाँती राख्छु र आफ्नी आमा भगवतीदेवीसित म आफ्नै तरिकाले सवाल–जवाफ गर्छु ।


हजुर कति वर्षको हुनुभयो ? केटाकेटी बेलाका कुराहरू भन्नुस् न ।
म १९९५ साल असोजमा कमलपोखरीमा जन्मिएकी हुँ । मपछि अरू तीन भाइबहिनी थिए । बुवाको घर कमलपोखरीमा थियो । सामान्य आर्थिक अवस्थाको हुनुहुन्थ्यो बुवा । असाध्यै रिसाहा हुनुहुन्थ्यो । तर, गरिबगुरुवाप्रति भने दयालु हुनुहुन्थ्यो । कसैलाई नांगै देख्यो भने आफैंले लगाइरहेको लुगा पनि फुकालेर दिनुहुन्थ्यो । पछि जोगीहरूको संगतमा लागेर गाँजा खान थाल्नुभयो । पैसा भयो कि जोगीहरूलाई भण्डारा लगाएर खुवाउने बानी थियो उहाँको । परिवारप्रति पनि आफ्नो दायित्व छ भनेर सोच्नुहुन्नथ्यो । बिस्तारै जुवाको लत पनि बस्यो । धनसम्पत्ति सकियो । घर, घडेरी र जग्गाजमिन सकिए । आमालाई साह्रै दुःख थियो । हामी चार सन्तान थियौं । बुवाले आमासित दिनहुँ झगडा मात्रै गर्नुहुन्थ्यो । आमाले पकाएको पनि खानुहुन्नथ्यो । यस्तो अवस्थामा मामाघरको हजुरबुवा र हजुरआमाले निकै मद्दत गर्नुहुन्थ्यो । सबै राशन मामाघरबाटै आउँथ्यो । त्यो बेला हजुरबुवाको कविलास, चुहानडाँडामा मौजा थियो । अब त मौजा सबै सिद्धिसक्यो । मामाहरू पढे–लेखेका हुनुहुन्थ्यो । काठमाडौंमा छापाखाने भनिन्थ्यो मामाघरलाई । प्युखामा अहिलेको रञ्जना हलको गेटसँगै जोडिएको थियो मामाघर । मामाघरको झ्यालबाट नयाँ सडकको सबै चहलपहल देखिन्थ्यो । मामा पशुपतिदेव पाण्डेको पशुपति छापाखानाबाट ‘समाज’ भन्ने पत्रिका निस्किथ्यो । अर्को मामा बालमुकुन्ददेव पाण्डेले हास्यव्यंग्य र निबन्धहरू लेख्नुहुन्थ्यो । पछि ‘नयाँ समाज’ भनेर अर्को पत्रिका पनि निकाल्नुभयो । लेखक भएकाले होला, उहाँहरू दयालु हुनुहुन्थ्यो । त्यसैले बाबुले बेवास्ता गरे पनि हामीलाई मामाघरले साथ दियो । आफ्नो घरवास नभएपछि २००७ सालदेखि त हामी मामाघरमै बस्न थाल्यौँ । मामाहरूले खुब माया गर्नुहुन्थ्यो हामी भान्जाभान्जीलाई । पछि रञ्जनाका साहुले मामाहरूको घर किने । जेठो मामा जाँडरक्सीको सोखिन । घर बेचेको रकमचाहिँ जाँडरक्सीको बिलमा फच्चे भएछ ।

त्यतिबेला खेल्ने ठाउँ कहाँ थियो ?
सात सालमा प्रजातन्त्र आएपछि धेरै राणाहरू भागे । लालदरबार खाली भयो । त्यहाँका सरसामान लुटपाट भयो । हामी त्यही रित्तो लालदरबारमा तेलकासा, लुकामारी र खुट्टा भाँची खेल्न जान्थ्यौं । त्यहाँ सडकको दायाँबायाँ सल्लाका बडेमानका रूखहरू थिए । सल्लाको फल पाकेर झर्थ्यो । साथीहरू मिलेर उसिनेर खान्थ्यौं । कति मीठो हुन्थ्यो । मेरा धेरै नेवार साथीहरू थिए । तर, तिनीहरू प्रायः नेपाली बोल्न जान्दैनथे । तिनीहरूको संगतले मैले पनि अलिअलि नेवारी जानेकी थिएँ । अहिले त बिर्सिसकेँ ।


उतिबेला छोरीलाई स्कुल पठाउने चलन थिएन । बुवाले त्यसैले स्कुल पठाउनुभएन । तर, मामाहरू भने लेखक भएकाले होला, छोरीलाई पनि पढाउनुपर्छ भन्ने सोच्नुहुन्थ्यो । मामाहरूले कन्या मन्दिर हाइस्कुलमा भर्ना गरिदिनुभयो । मैले त्यही स्कुलमा एसएलसीसम्म पढेँ । त्यहाँ डा. तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधानहरूले पनि पढाउनुहुन्थ्यो । ढिलो पढेकाले एसएलसी पास गर्दा २०–२१ वर्षकी भैसकेकी थिएँ । २०१७ सालमा त मेरो बिहे नै भैहाल्यो । बिहेकै दिन एसएलसीको रिजल्ट आएको थियो । म पास भएकी थिएँ । त्यसपछि पढाइ रोकियो । तेरो बुवा पढे–लेखेको हुनुहुन्थ्यो । त्यतिबेला गोरखापत्रमा सुब्बा हुनुहुन्थ्यो । पछि सल्यान र नेपालगन्जमा हेडमास्टर पनि हुनुभयो । तर, खै किन हो, मलाई अगाडि पढ् भन्नुभएन । मैले पनि पढ्छु भन्न सकिनँ ।

अनि स्कुल जाँदा टिफिन के लैजानुहुन्थ्यो ?
केको टिफिन लानु ? अहिलेजस्तो बजारको खाने चलन पनि थिएन । बिहानबेलुकी दालभात तरकारी खाइन्थ्यो । दिउँसो खाजामा मकै भटमास, च्युरा, खट्टे खान्थ्यौँ । स्कुल जाँदा कहिलेकाहीँ मामाघरको हजुरआमाले एक पैसा दिनुहुन्थ्यो । एक पैसाको चार दाम हुन्थ्यो । स्कुलबाहिरको नाङ्ले पसलबाट एक दामको भटमास, एक दामको बदम, एक दामको भुटेको बकुला र अर्को एक दामको भुटेको सिमी किन्थ्यौँ । स्कुलको खाजा खाने टाइममा अरू केही साथी मिलेर त्यही कुरा साटासाट गरेर खान्थ्यौँ । चियासिया खाने चलन थिएन । कहिलेकाहीँ साथीहरू मिलेर चटामरी खाथ्यौँ । सधैँ पैसा पाइन्नथ्यो । त्यसैले साथीहरूबीच आलोपालो गरेर खाइन्थ्यो । बिहेपछि साथीहरूसितको संगत छुट्यो । धेरै त बिती पनि सके । परार साल मितिनी पनि बित्नुभयो । एक जना साथी सुशीला शर्मा हुनुहुन्छ । उहाँ बिरामी हुनुहुन्छ, कसैलाई चिन्नुहुन्न रे । उहाँलाई भेट्न मन थियो । छोराहरूसित गाडी छ, मोटरसाइकल छ भनेर के गर्नु ? खै, लगिदिँदैनौ ।

त्यतिबेलै मितिनी पनि लगाउनुभएको हो ?
हो नि । उतिबेलै कमलपोखरी चोकमा कृष्ण पाउरोटी भण्डार थियो । मेरी मितिनी कृष्ण पाउरोटी भण्डारकी साहुकी छोरी । हामी १०–११ वर्षका थियौँ होला । एक दिन एक पैसाको मसला किन्यौँ र राजदरबारको कुमारी थानमा सुटुक्क गएर त्यही मसला साटासाट गरेर मितिनी लगायौँ । मितिनीको भाइ घनश्याम राजकर्णिकार र मैले सँगै एसएलसी दिएका थियौँ । हामी पुड्केराम भन्ने सर कहाँ ट्युसन पनि पढ्न जान्थ्यौँ । मितिनीले आफ्नो फ्याक्ट्रीबाट पाउरोटी चोरेर दिनुहुन्थ्यो । त्यतिबेला खुब पाउरोटी खाइयो ।

त्यतिखेरको बजार भाउ के थियो ?
धेरै कुरा त बिर्सिसकेँ । दस–बाह्र रुपियाँले एउटा सामान्य परिवारको महिनाभरिको खर्च पुग्थ्यो । साधारण मानिसलाई त्यही दस–बाह्र रुपियाँ कमाउन गाह्रो थियो । १–२ पैसाले एक छाक तरकारी आउँथ्यो । चार पैसाको गरम मसला किन्न जाँदा पनि फोसा भनेर साहुले मुठीभरि नरिवल दिन्थे । दुई माना तेल ३ मोहर, १ सेर घ्यूको २ रुपियाँमा किनेको पनि थाहा छ । च्युरा र मार्सी चामल पचास पैसामा दुई माना आउँथ्यो । गाई घरघरमा पाल्ने चलन भएकाले दूध, दही, मोही र घ्यू छेलोखेलो हुन्थ्यो । मासु खान भने दसैँ नै आउनुपर्थ्यो । सेलपुरी खान पनि चाडबाड नै आउनुपर्थ्यो । खानपान शुद्ध र वातावरण सफा भएकाले हामी उति बिरामी पर्दैनथ्यौँ । उपचारमा पैसा उतिसारो खर्च हुँदैनथ्यो । आमाले अलिअलि पैसा जम्मा गरेर राख्नुहुन्थ्यो । माइती जाँदा घरको इज्जत राख्नुपर्छ भन्थे सबैले । त्यसैले बल्लबल्ल जोगाएर राखेको तीन–चार मोहरले साडी किनेर माइती चुहानडाँडा जानुहुन्थ्यो । मेरो बिहे गर्दासम्म सुन दुई सय रुपियाँ तोला थियो । पचास रुपियाँमा चार आनाको तिलहरी बनाएको सम्झना छ ।

काठमाण्डू कस्तो थियो ?
मैले बाल्यकालमा देखेको र खेलेको काठमाण्डू त शान्त, सफा थियो । धूलो–धूवाँ थिएन । भदौमै सिरक ओढ्नुपर्थ्यो । लामखुट्टे लाग्दैनथ्यो । बस, ट्याक्सीको चलन थिएन । जहाँ जाँदा पनि हिँडेरै जान्थ्यौं । नयाँ सडकबाट पशुपतिनाथसम्म हिँडेरै जान्थ्यौं । सडक सुनसान हुन्थे । बानेश्वर त पूरै खेत थियो । ज्यापूहरूले मुला, काउली लगाउँथे । अब त खेतजति सबै सकिए । धान फल्ने ठाउँमा घरहरू फले ।

हनुमानढोकातिरको एरियालाई काठमाण्डू भनिन्थ्यो । चाबेल त परै भैहाल्यो, बागबजारको मान्छेले पनि नयाँ सडक जानुपर्‍यो भने सहर जान्छु या काठमाण्डू जान्छु भन्थ्यो । अब त टोलैपिच्छे सहर भैसक्यो । उतिबेला किनमेल गर्ने ठाउँ भनेकै असन इन्द्रचोक थियो । मरमसला या लुगाफाटो किनमेल गर्न असन, इन्द्रचोक जाँदा हामीलाई त चाडबाड आएजस्तै लाग्थ्यो ।

सिनेमा कत्तिको हेर्नुहुन्थ्यो ?
वर्षको २–३ वटा हेर्थ्यौं । त्यो बेला विश्वज्योति, रञ्जना, जनसेवाजस्ता ३–४ वटा सिनेमाहल थिए । धार्मिक फिल्म चल्दा पशुपति मामाले पूरै परिवारलाई फिल्म देखाउन लैजानुहुन्थ्यो । सिनेमा हेर्नु भनेको ठूलो उत्सव मनाएको जस्तो लाग्थ्यो । चारधाम तीर्थयात्रा र सती अनसुइयाका फिल्महरू हेरेको याद छ । महिलाहरूले एक्लै गएर सिनेमा हेर्ने चलन थिएन ।

आफ्नो बिहेको कुरा याद छ ?
२०१७ साल वैशाख १६ या १७ गते हो मेरो बिहे भएको । बुवा बितिसक्नुभएको थियो । आमासित पैसा हुने कुरै भएन । मेरो जेठो भाइ चिन्तन १८–१९ वर्षको थियो । पशुपति मामाले महेन्द्र राजाका सेक्रेटरी हंसमानलाई भनेर उसलाई भर्खर जागिरमा लगाइदिनुभएको थियो । अनेक भनसुन गरेर भाइ चिन्तनले एक वर्षको तलब पेस्की लिएर त्यही पैसाले मेरो बिहे गरिदिएको हो । बिहे भोजचाहिँ पशुपति मामाले गरिदिनुभएको थियो । मेरो बिहेमा हंसमान पनि आएका थिए । मलाई पढाउने स्कुलका सरहरू पनि आउनुभएको थियो । सरहरूले मलाई किताब उपहार दिनुभएको थियो । अरू निम्तालु धेरैले चाँदीको चम्चा दिएका थिए ।

बिहे गरेर सल्यान जानुभयो । त्यसपछि नेपालगन्ज पुग्नुभयो । काठमाडौंमा हुर्केकी केटीलाई दुर्गम पहाड र अनि गर्मी मधेसमा जाँदा गाह्रो भएन ?
पहिला त तेरो बुबाको काठमाण्डूमै बस्ने विचार थियो । जागिर पनि थियो । तर तेरो साइँलो काका अलिक छुच्चो स्वभावको हुनुहुन्थ्यो । उहाँको पहिलो जहान बितेकाले दोस्रो बिहे गर्नु भएको थियो । दोस्रो जहान पनि बितेपछि उहाँको पनि मन स्थिर भएन होला । त्यसैले बेलाबेलामा ‘अब म जोगी बन्छु । सल्यानमा आमालाई हेर्न आइज’ भनेर चिठी पठाएको पठायै गर्नुभयो । यता तेरो बुवा सुब्बाबाट अधिकृत हुने प्रयासमा हुनुहुन्थ्यो । प्रयास सफल भएन । अनि निराश भएर जागिर छाडेर सल्यान हिँड्नुभयो । बीस–एक्काइस सालतिरको कुरा होला यो । श्रीमान् नै जाने भएपछि म पनि अढाई वर्षकी छोरीलाई लिएर उहाँसँगै हिँडेँ । सल्यानमा हेडमास्टरको जागिर पाउनुभयो । मैले पनि पढाउन थालेँ । कान्छी गुरुमा भन्थे मलाई पनि । त्यहाँ पानीको साह्रै समस्या थियो । पानी लिन घरदेखि टाढाको ढुंगेधारामा रातभरि महिलाहरू लाइन लागेर बस्नुपर्थ्यो । काठमाडौंमा मैले त्यति दुःख गर्नुपरेको थिएन । म बिरामी पर्न थालेँ । पछि तेरो बुवा फेरि बीएड गर्ने भनेर काठमाण्डू आउनुभयो । म पनि आएँ । कुस्लेचौरमा डेरा लिनुभयो । तँ र तेरी बैनी यहीं काठमाण्डूमै जन्मियौ । कान्छो छोरो भने नेपालगन्जमै जन्मिएको हो । पछि नेपालगन्जमा हेडमास्टरको प्रस्ताव आएपछि हामी नेपालगन्ज गयौँ । सुरुमा गर्मीले र लामखुट्टेले सतायो । बिस्तारै बानी पर्‍यो ।

(अहिले असी वर्ष भएकी आमासित जोडिएको र मेरो स्मृतिमा रहेको पहिलो दृश्य के होला ? म घोत्लिन्छु धेरै पटक । सम्झनाका अनेक पानाहरू पल्टिन्छन् र अन्त्यमा रोकिन्छ त्यो दृश्यमा जहाँ मेरी आमा निधारमा रातो सिन्दूर, हातमा राता चुरा र रातै चोलो र रातै धोतीमा चिटिक्क परेर नेपालगन्जको वागेश्वरी मन्दिर जाने तयारी गर्दै हुनुहुन्छ । सम्भवतः कुनै चाडबाडको दिन हुनुपर्छ र म अझै स्कुल भर्ना नभइसकेको पनि हुन सक्छ या भर्खर कक्षा एकमा भर्ना भएर स्कुल जान थालेको भए पनि त्यो बिदाको दिन हुनुपर्छ । आमा एक्लै मन्दिर जाने सुरमा हुनुहुन्छ । तर, म भने कहिले आमाको औंला र कहिले धोतीको फेर समातेर रुँदै याचना गरिरहेछु, ‘मलाई पनि लैजानुस् । म पनि सँगै जान्छु ।’


आमा कतै जान लाग्दा म पनि जान्छु भन्दै कहालिएर रोएका बाल्यकालका आफ्ना तमाम दृश्यहरू सम्झिन्छु आज पनि र सोच्छु— आमाको हात समातेर कतै जान नपाउँदा या आमासित दुई चार घण्टाको साथ छुट्दा पनि कति कहालिन्थें म । समयले अब आमालाई बालकजस्तै बनाएको छ, अब उहाँलाई मेरो साथ चाहिन्छ । सोच्छु, के मैले मेरो भूमिका राम्ररी निर्वाह गर्न सकेको छु ?)

सानो छँदा मेरो बानी कस्तो थियो ?
सानोमा तँ ज्ञानी थिइस् । काठमाण्डूको प्युखामा सरदार रुद्रराज पाण्डेहरूको घरको भुइँतलामा जन्मिएको होस् । तँ जन्मिँदा त्यो घरको माथिल्लो तलामा भजन भैरहेको थियो । एक पटक म भान्सामा नभएको बेला बलिरहेको आगो समात्न गएको थिइस् । काठमाण्डूमा चाबेलमा तेरो मामाघर थियो । पहिलोपल्ट मामाघर आउँदा सानै थिइस् । झ्यालबाट खर्पनमा राँगाको मासु बोकेर लगेको देखेपछि ‘म पनि गाईको मासु खान्छु’ भनेर जिद्दी गर्थिस् । पढ्न अल्छी गर्थिस् । स्कुलमा बल्लतल्ल क्लास उक्लिन्थिस् । पछि छुकछुके भइस् । पैसा चोरेर हैरान गर्थिस् । बुवाको पिटाइ खान्थिस् । मैले पनि पिट्थेँ । तेरो ताल देखेर कवि लेखक होलास्जस्तो लाग्दैनथ्यो । तँ काठमाण्डू पढ्न आएपछि कमाउने भएपछि हजुरलाई आफ्नै कारमा घुमाउँछु भनेर धाक लगाएर मलाई चिठी लेखेको थिइस् । खै त ?

(मैले यो अन्तर्वार्ताको धेरैजसो हिस्सा आमासित लिखित लिएको हुँ । तर, हात दुख्यो भनेर धेरै लेख्न सक्नुभएन । अनि केही कुरा सोधेरै टिपोट गरेँ । उहाँसित लिखित रूपमा अन्तर्वार्ता लिनुको कारण थियो, उहाँ कान ठ्याम्मै सुन्नुहुन्न । तर उहाँ देश–विदेशका राजनीतिक घटनाक्रम र खबरहरूका बारेमा हामीभन्दा बढी अपडेट भैरहनुहुन्छ । राजनीतिमा चासो राख्नुहुन्छ । अहिलेका नेताहरूले देश बिगारे भनेर चित्त दुखाइरहनुहुन्छ । हामीले किनेर ल्याएको औषधिको एक्सपायरी डेट अवश्य हेर्नुहुन्छ । हामीलाई धर्मबाट च्यूत नहुन, अभक्ष नखान सल्लाह दिइरहनुहुन्छ । हिन्दु धर्म महान् हो भन्ने सोच राख्नुहुन्छ र राजालाई देवताको अवतार मान्नुहुन्छ । राजतन्त्र गएकोमा आमालाई खुसी छैन र मैले पनि यसबारेमा उहाँलाई कन्भिन्स गर्न सकेको छैन ।)

कान कहिलेदेखि सुन्न छाड्नुभएको ?
सानोमा पनि मेरो कान बेलाबेलामा बेस्सरी चर्किन्थ्यो । पहाडमा सबैले हुक्काको पानी हालेर निको हुन्छ भन्थे । हाल्थेँ । त्यसले पनि बिगारेको जस्तो लाग्छ । तेरी दिदी पाउँदा सुत्केरीले कानमा तेल हाल्नुपर्छ भनेर कतिले सल्लाह दिए । तेल हालेदेखि कान झन् बढी पाक्न थाल्यो । काठमाण्डूमा पनि डा. लक्ष्मीनारायणसित धेरै जँचाएँ । तेरी बैनी जन्मिँदासम्म पनि टेलिफोनमा कुरा गर्न सक्थेँ । तेरो भाइ कृष्ण जन्मिएपछि भने मेरो कान पूरै बन्द भयो । अब त झन्डै पचास वर्ष हुन थाल्यो मैले तिमीहरूको आवाज नसुनेको । बीचमा धेरै पटक विभिन्न यन्त्र लगाएँ । तर, केही फाइदा भएन । कानै फिटिक्कै नसुने पनि टीभीमा आउने सिनेमा र सिरियल प्रायः बुझ्छु । दृश्यको मुन्तिर अक्षरमा लेखेको पनि आउने भएकाले समाचार पनि बुझ्छु । कान नसुन्दा तिमीहरूले बोलेको कुरा राम्ररी बुझ्दिनँ । आफ्ना कुरा मात्र एकोहोरो राखिरहँदा तिमीहरूलाई दिक्क पनि लाग्दोहोला । कान नसुनेकै कारण पशुपति जाँदा पछाडिबाट ट्याक्सी आएको थाहै पाइनँ र एक्सिडेन्टमा मेरो खुट्टा भाँच्चियो ।


कान नसुनेकाले फाइदा पनि भएको छ मलाई । वरिपरिको हल्लाले छुन्न मलाई । कसैले मेरो कुरै काटे पनि थाहा हुन्न । त्यसैले रिसराग र तनावबाट मुक्त भएकी छु । मभन्दा अगाडि मेरा सबै भाइबैनी बिते । तेरो बुवा बित्नुभयो । मेरो आमाबुवा बित्नुभयो । मलाई माया गर्ने मामाहरू बिते । कान नसुनेकैले मेरो मन ईश्वरप्रति एकाग्र भएको हो र त्यही एकाग्रताले मलाई ती सबै पिरहरू सहने शक्ति दिएको हो ।

मेरो किताब पढ्नुभएको छ ?
अलिअलि पढेकी छु । ‘सल्लीपिर’ मा आमाले छोराका लागि गरेका दुःखकष्ट लेखेको छस् । त्यो धेरै मन पर्‍यो । जगतको कल्याण हुने अलिक धार्मिक कुरा पनि लेख्ने गर् ।

अन्तिममा मैले प्रश्न सोधेँ, ‘अब रहर के छ ?’ यो प्रश्नको जवाफ दिनुभएन आमाले । बरु मसितै प्रश्न गर्नुभयो, ‘नातिहरूको बिहे कहिले हुन्छ ?’
उहाँको यो प्रश्नबाटै बुझिन्छ, मेरी आमा विशिष्ट आमा होइन, उस्तैउस्तै सपना र उस्तैउस्तै रहरहरू मनभरि पालेर बसेका संसारका अरू असंख्य आमाजस्तै हो । बेलाबेलामा समाचारहरूमा समय, परिस्थिति, परिवन्द र पुरुष अर्थात् छोरा जातको जालझेलमा परेर सन्तानप्रति क्रूर भएका आमाहरूको चर्चा पनि भैरहन्छ । तर, म विश्वस्त छु, स्नेह नभएको आमा यो संसारमा छँदै छैन । एक जना पनि छैन । किनभने आमाहरू स्नेहसहित जन्मिन्छन् । यदि हामीभित्र स्नेह र संवेदनाको केही अंश छ भने त्यो आमाबाटै पाएका हौं । हामीले यो सबै निःशुल्क पायौँ । हामीले यसलाई यस्तो उधारो मान्नुपर्छ, जसको ब्याज त हामीले अलिअलि तिर्न सकौँला, साउँ तिर्नलाई यो जुनी अपर्याप्त छ। प्रकाशित : वैशाख २१, २०७६ १०:०३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देहातका आमाहरू

तुलानारायण साह

स्वप्नदर्शी र संघर्षशील आमा दुनियाँभरिका आमाहरूमा अनेक असमानता होलान् तर एउटा कुरा समान हुँदो रहेछ  । त्यो हो आमाहरूले आफ्नो सन्तानका लागि सपना देख्ने र त्यसलाई पूरा गराउनका लागि गर्ने संघर्ष  ।

आमा धनी हुन् या गरिब, शिक्षित हुन् या निरक्षर, गाउँकी हुन् या सहरकी त्यसको धेरै ठूलो अर्थ हुँदैन । दुनियाँका हरेक आमाले आफ्नो सन्तानको हित मात्र सोचेकी हुन्छन् ।


मेरी आमाले पनि त्यस्तै गर्नुभएको थियो । मेरो जन्म हुँदा हाम्रो गाउँ गोइठीमा पढाइ लेखाइको खासै माहोल थिएन । सबै जना खेतीपातीमा व्यस्त थिए । दादाजी (बुबापट्टिको हजुरबा) लाई सकेसम्म जग्गा जोड्ने रहर थियो । एसएलसीसम्मको पढाइपछि नै पहाडमा मास्टरी गर्दा हुने उहाँको सोच थियो । तर आमा त्यस कुरामा असहमत हुनुहुन्थ्यो । सकेजति र छोराहरूले चाहेजति पढाउने आमाको चाहना थियो । आमाले बुबालाई कन्भिन्स गर्नुभयो । पछि गएर हाम्रो बुबा र दादाजीबीच यही कुरामा खटपट हुन थाल्यो । दादाजी भन्नुहुन्थ्यो, ‘यत्रो मिहिनेत गरेर कमाएको सबै सम्पत्ति नातिहरूको पढाइ–लेखाइमै लगाइदिने ?’ थप सम्पत्ति आर्जन उहाँको प्राथमिकता थियो ।


आज आएर सोच्छु, गाउँमा त्यस्तो साह्रो पढाइ–लेखाइको माहोल नहुँदा पनि आमाको मनमा यो सपना कहाँबाट पलाउन पुगेको थियो ? उत्तर खोज्दै जाँदा उहाँको माइतबाट आएको थियोजस्तो लाग्छ । हाम्रो मामाघर सप्तरी जिल्लाकै कञ्चनपुर । कञ्चनपुर सानो तर पुरानो बजार । त्यहाँ धेरै पुरानो स्कुल छ । लेखपढको पुरानो माहोल थियो । २०२५ सालतिर मामाले एसएलसी पास गर्नुभएको थियो । भारतबाट पीएचडी गर्नुभयो । लाग्छ, कञ्चनपुरको त्यो लेखपढको माहोल र भाइको पढाइप्रतिको लगाव देखेर मेरो आमाले छोराहरूबारे एउटा सपना देख्नुभयो ।


हाम्रो किसान परिवारलाई खान लाउन समस्या थिएन । मानिसको समस्या थियो । दिदीहरूको बिहा भइसकेपछि आमाबुबालाई सघाउने मानिसको अभाव हुँदै गयो । यता छोराहरूको पढाइ खर्च बढ्दै गयो । परिवारमा अंशबन्डा भयो । खाइपाइ आएको सम्पत्ति घट्न पुग्यो । त्यही बेला (२०५१/५२ सालतिर) गाउँमा आगलागी हुँदा हाम्रो सारा सम्पत्ति जल्यो । बाआमाको जीवनमा सर्वाधिक दुःखको समय थियो त्यो । तर कहिले पढाइ रोक्न भन्नुभएन । सकेजति खर्च जुटाउनुभयो ।

आमाहरूको अनन्त दुःख
आज आएर म आफ्ना छरछिमेकका साथीभाइका घरका अवस्था सम्झिन्छु । उनीहरूको बाल्यकाल, परिवारको अवस्था र आमाहरूको गतिविधिलाई सम्झिन्छु, मेरो आमाको तुलनामा मेरा साथीहरूका आमाहरू कति धेरै दुःख गर्नुहुन्थ्यो । मेरा बालसखाहरू कपिलेश्वर सरदार र लीलु यादव थिए । बाल्यकालमा हामी निकै मिल्थ्यौं । हामीहरूको खाने–बस्ने ठेगान हुँदैन्थ्यो । हामी प्रायःजसो सँगै हुन्थ्यौं । मेरा ती दुवै मित्रको पारिवारिक अवस्था निकै कमजोर थियो । उनीहरूका आमा हाम्रो आमाभन्दा धेरै दुःख गर्नुहुन्थ्यो । मजदुरी गर्नुहुन्थ्यो ।
लीलु यादव कक्षा ६ मा नपुग्दै पन्जाबतिर लागेका थिए । उनी आजपर्यन्त हरियाणाको एक पेपर मिलमा काम गर्छन् । अर्का मित्र कपिलेश्वर सरदार पनि धेरै वर्ष पन्जाब बसे । त्यतैबाट माओवादी बनेर फर्केका थिए । जनयुद्धमा होमिए । जेल बसे । अहिले गाउँमै राजनीति गर्छन् । यी दुवै मित्रका आमाहरू स्वर्गबास भइसकेका छन् । आज आएर सोच्छु, मेरो आमाले देखेको सपनाजस्तै मेरा मित्रहरूका आमाले पनि त सपना देखेका थिए होलान् । कस्तो थियो होला ती आमाहरूको सपना ? छोराहरू सानै उमेरमा पन्जाब जाओस् भन्ने सपना त पक्कै देख्नुभएन होला । तर के कारणले मेरो आमाको सपना पूरा भयो र मेरा मित्रहरूको आमाको सपना पूरा भएन ?


अहिले कपिलेश्वरकी श्रीमती आफ्ना हुर्किसकेका बेरोजगार छोराको भविष्यलाई लिएर निकै चिन्तित रहने गरेको पाउँछु । लीलुकी श्रीमती गाउँमा एक्लै बस्छिन् । अबोध बालकहरूको शिक्षादीक्षालाई लिएर निकै संघर्ष गरिरहेको देख्छु । गाउँमा गरिबी घटेको अवश्य छ तर आमाहरूको दुःख खासै घटेको छैन । बाल्यकालमा लालनपालन र शिक्षादीक्षाको चिन्ता बुबाभन्दा बढी आमालाई हुँदो रहेछ । सन्तान हुर्किसकेपछि तिनको रोजगारको चिन्ता सुरु हुन्छ । अहिले अधिकांश युवाहरू अरब वा मलेसिया गएका छन् । तिनका जहान, आमाबुबा गाउँमा वा नजिकको बजारमा बसेका हुन्छन् । तिनको चिन्ता बिदेसिएका सन्तानको जीवन रक्षासँग जोडिएको हुन्छ ।


एक दशकअघिसम्म हाम्रा गाउँका आमाहरू छोरा द्वन्द्वमा मारिएला भन्ने चिन्ताबाट ग्रस्त थिए । हाम्रो गाउँमा सुरुका दिनमा माओवादीको चर्को प्रभाव थियो । जनयुद्धमा लागेकाहरूको आमाको चिन्ता सम्झिन्छु । जनयुद्धमा नलागेका वा माओवादीविरोधीहरूको आमाको चिन्ता सम्झिन्छु । पात्रहरू फरक फरक थिए, आमाहरू पनि फरक फरक थिए तर ती सबै आमाहरूको चिन्ता एक समान थियो । आ–आफ्नो सन्तानको जीवनरक्षा आमाहरूको चिन्ता हुन्थ्यो, प्रार्थना हुन्थ्यो ।


२०६०/६१ सालतिरको एक प्रसंग सम्झिन्छु । छिमेककी एक महिलाको मुखबाट सुनिएको प्रसंग हो यो । हाम्रो गाउँका एक युवा मधेसी सशस्त्र समूहमा लागेका थिए । माओवादीहरू तिनलाई खोज्दै थिए । उनको आमाले माओवादी र सरकारी पुलिसबाट छोराको जीवनरक्षाका लागि भाकल गरेकी थिइन् । भाकल पनि अनौठो, छोरा कुशल रह्यो भने घरमा २४ घण्टे रामायण पाठ र हनुमान अराधाना गर्ने !


त्यतिबेला हाम्रो टोलछिमेकका युवाहरू कोही माओवादीमा लागेका थिए, कोही मधेसी सशस्त्र समूहहरूमा । हाम्रो गाउँतिर जनतान्त्रिक समूह, मधेसी टाइगर र भाइरस किलर्सको बिगबिगी थियो । कहिलेकाहीं त लाग्थ्यो, मधेसका सबै मुक्तिदाता हाम्रै गाउँतिर बसाइ सरेका छन् । गाउँ पूरै त्रसित थियो । २०६० सालदेखि २०६५ सालबीच हाम्रो र छिमेकी गाउँहरूमा गरी लगभग दुई दर्जन युवाको हत्या भएको थियो ।


त्यतिखेर हाम्रो गाउँतिर तीनथरी सरकारको शासन चलेको भनिन्थ्यो । ज्ञानेन्द्रको शासन रहेकाले प्रहरी वा सेनाको गस्तीलाई पाँच सरकारको मानिस भनिन्थ्यो । माओवादीका लडाकुहरू आउँदा त्यसलाई छ सरकारका मानिस आएको भनिन्थ्यो । मधेसी सशस्त्र समूहका बन्दुकधारीहरू आउँदा सात सरकारका मानिस भनिन्थ्यो । मेरो सम्झनामा मेरा गाउँछिमेकमा आमाहरू सबैभन्दा बढी त्रसित भएको समय त्यतिबेला थियो । माथि उल्लिखित आमाको पीडा, छोराछोरीको जीवन रक्षाका लागि भगवान्प्रति तिनको आस्था मेरा लागि अविस्मरणीय बनेको छ ।


आमाहरूको धरम–करम
मेरो गाउँ मिथिलाक्षेत्रका एक प्रतिनिधि गाउँ हो । पछिल्लो समय गाउँका आमाहरू धार्मिक गतिविधिमा जबर्जस्त प्रकारले लागेको देख्छु । २०४४ सालसम्म गाउँमा बस्दा आमाका दौंतरीहरूले गर्ने गरेको धार्मिक गतिविधिको सम्झना छ । घरमा एउटा पूजाकोठा हुन्थ्यो । अहिले पनि छ । त्यसलाई हामी गोसाइघर भन्छौं । हाम्रो गाउँमा हरेक आँगनमा एउटा गोसाइघर हुन्छ नै । गोसाइको पूजा गर्नुको मूल उद्देश्य परिवारमा सबैको सुख शान्तिको कामना गर्नु हो । हाम्री आमालाई त्यतिले पुग्दैन्थ्यो । उहाँ लामो समयसम्म आइतबारको दिन व्रत बस्नुभयो । त्यसपछि महिना महिनामा आउने एकादशी व्रत पनि बस्नुहुन्थ्यो । कहिले मगंलबारे, कहिले बिहीबारे व्रत पनि बस्नुहुन्थ्यो । पछि आएर थाहा भयो, गोसाइघरमा हुने पूजा पूरै परिवारका लागि रहेछ भने एकादशी, आइतबार, मगंलबार गरिने व्रतहरू खास छोराछोरीका लागी गरिएको भाकल पूरा गर्न रहेछ ।


आजभोलि मेरो आमा र उहाँका दौंतरहरूको पूजापाठ गर्ने तौरतरिकामा आमूल परिवर्तन भएको छ । गाउँभरिका महिलाहरू राम्रो नयाँ लुगा लगाएर महिनाको एक दिन पोखरीको डिलमा जम्मा हुँदारहेछन् । त्यस समूहमा युवतीदेखि वृद्ध आमासम्म हुँदा रहेछन् । बुझ्दै जाँदा सन्तोषी समूह बनेको रहेछ हाम्रो गाउँमा । थप बुझ्दा यस्तो समूह त टोलैपिच्छे बन्दा रहेछन् । संयोगले एक पटक सातासम्म गाउँमै बस्नुपर्ने भयो । राति अबेरसम्म छिमेकमा लाउडस्पिकर बजेको बज्यै गर्‍यो । महिलाहरूले शिवजीको प्रार्थना गरेको लाउडस्पिकरमै सुनिन्थ्यो । मैथिली भाषामै आफ्नो दुःखको बयान, छोरीको बिहेको कामना, छोराको जागिरका लागि अनुनयविनय गरिरहेको सुनिन्थ्यो । सुन्दाखेरी लाग्थ्यो कि महिलाहरू कुनै टाढाको भगवान्सँग प्रार्थना गरिरहेको नभई आमने–सामने वार्तालाप गरिरहेका छन् । पछि थाहा भयो, यो त आमाहरूको शिव चर्चा समूह रहेछ । त्यस्ता समूहहरू पनि टोलैपिच्छे रहेछन् । कतै साप्ताहिक त कतै मासिक रूपमा त्यस्तो प्रार्थना सभाहरू आयोजना हुँदा रहेछन्ण् ।


मेरी आमाको पनि पूजा गर्ने तौरतरिकामा बदलाव आएको छ । दशकअघिसम्म पिताजी हुँदासम्म गोसाइघरमा एक कुनामा मात्र पूजा हुन्थ्यो । आँगनमा रहेको धजामा पनि पूजा गरिन्थ्यो । त्यसबाहेक चौरचन, घडी इत्यादि जस्ता पर्वमा घरको देउताको पूजाआजा त हुने नै भयो । पिताजीको देहान्तपछि आमाको पूजाआजा गर्ने तौरतरिका फेरिएको छ । पाँच वर्षअघि आमा केही महिनाका लागि भारत यात्रामा हुनुहुन्थ्यो । आमाको भाइ र बहिनीको बसोबास उतै रहेकाले उहाँहरूसँग विभिन्न तीर्थस्थलको भ्रमण पनि गर्नुभयो । उताबाट फर्केर आएपछि अनेक भगवान्का दर्जनजति फोटोहरू बोकेर आउनुभयो । कुनै–कुनै फोटोमा १०/१५ वटासम्म देवीदेवता अंकित छन् । गोसाइघरको एक कुनामा पारिवारिक देउताको स्थान छुट्याइएकै थियो । आमाले घरको अर्को कुना पनि कब्जा गर्नुभयो । सबै फोटाहरू भुन्ड्याइएको छ । आमाले लगभग हरेक दिन पूजा गर्नुहुन्छ ।


बितेको साउन महिनाको घडी पर्वमा पूजा गर्ने पालो मेरो परेको थियो । आमाको निर्देशन कडा थियो । सम्पूर्ण फोटाहरू पुछ्नुपर्ने । सकेसम्म फोटामा अंकित सबै देवीदेवताको स्नान हुनेगरी सफा गरिनुपर्ने । सरसफाइपछि कुनैलाई सिंगै फूल त कुनैलाई फूलका पात भए पनि हुनेगरी फूलपात चढाइयो । त्यसपछि मिठाई चढाउने पालो थियो । सबैलाई सिंगैसिंगै लड्डु चढाउँदा धेरै चाहिने भएकाले फोडेर चढाएँ । तर, अलि ठूलो तस्बिर भएको देउताको अगाडि सिंगै लड्डु चढाउन भन्नुभयो । मैले सबै देउतालाई सगोलमै एकै ठाउँमा सबै लडडु राखिदिऊँ भनें, आमाले मान्नुभएन । अन्तमा फूल, पान, सुपारी, लड्डु हातमा राखेर आँखा चिम्लेर एक छिन ध्यान गर्नुपर्ने भयो । त्यतिबेला मलाई लाग्यो, बुढेसकालमा आमाले घरमा देउताहरूको आमसभा लगाउनुभएको रहेछ ।


अन्तमा एक छिन ढोका बन्द गरेर बाहिर बस्नुपर्ने भयो । त्यो भगवान्लाई प्रसाद ग्रहण दिइएको समय रहेछ । मैले भने धेरै बेर ढोका बन्द नगरौं, धेरै लड्डु खाएर भगवान्लाई डायबिटिज होला !
पूजा सक्दा दिउसोको १२ बजिसकेको थियो ।
मैले आमालाई अलिक नरम भाषामा सोधें, ‘यति विषद पूजा गरेर तपाईंलाई के होलाजस्तो लाग्छ ?’
‘सबै सन्तानहरू सुखी, सम्पन्न रहुन् । यसबाहेक अरू के नै कामना गर्नु !’ मनमा लाग्यो, दुनियाँमा दुःखी हुनलाई दुःख नै भोग्नु नपर्ने रहेछ । सबैका दुःखका आफ्नै कथा हुँदा रहेछन् ।
दुनियाँका सबै आमालाई सतत् प्रणाम ।

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×