२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आमा : निरक्षर तर दूरदर्शी

उषा थपलिया

मेरी आमा, जो दस वर्षकै उमेरमा पराई घर छिर्नुभयो  । अहिले आठ दशक उमेर पार भैसकेको छ, तैपनि आफ्नो जीवनमा आइपरेका कष्ट र संघर्षका कथा व्यक्त गर्दा एक अंश पनि तलमाथि हुँदैनन्, ती मूर्तिमा खोपिएको आकृतिझैं हृदयमै कुदिएका छन् ।

आमा : निरक्षर तर दूरदर्शी

उहाँका ती यथार्थ भोगाइ सुन्नेहरूलाई भने प्रत्येक घटना एकादेशको कथाझैं प्रतीत हुन्छ ।


दस वर्षमा बिहे भए पनि तेईस वर्षसम्म महिनाबारी सुरु भएन । सास्तीको प्रस्थानविन्दु त्यही थियो । त्यतिबेलाको समाजलाई उहाँको स्वास्थ्यको त के चिन्ता ? ‘सन्तान जन्माउने गुण नभएकी आइमाई’ को दर्जा दिलाउन भने खुबै उद्यत थियो । त्यसैसँग जेलिएर परिवारभित्रको परिवेश फेरियो, सिंगो हैसियत आधामा टुक्रियो । एउटी विवाहित महिलाका लागि त्यो जति चोटिलो अवस्था अरू के होला ? तर केही नभएसरह सबै भुक्तमान स्विकार्नुको विकल्प थिएन । समयक्रममा उहाँको पारिवारिक लगाम उहाँकै हातमा फर्कियो । जिन्दगीमा आइलागेको व्यवधानले लामो समय सताउन पाएन । प्राकृतिक अपूर्णताको खोटसमेत सोही विषम परिस्थितिले बढारेर लग्यो । पच्चीस वर्षको उमेरमा सन्तानसुख प्राप्ति भयो । दुई दशक अवधिमा दस जना सन्तानलाई धर्तीमा टेकाउन सक्षम तर सन्तान वियोगले दुःखी बन्ने अलग अध्याय भने टर्न सकेन । जन्मिएका चारवटै छोरी हुर्किए तर ६ जनामध्ये ४ छोरा गुमाउनुको पीडाले आँखा कहिल्यै ओभाएनन् ।


सन्तान बचाउन आमाले गर्नुभएको प्रयत्न अझ अवर्णनीय लाग्छ तर तिनको लेखान्त नै त्यत्ति थियो या आमाको प्रयत्नमा तुषारापातको अन्तहीन शृङ्खला, ४ छोराहरू वच्न सकेनन् । ४५ वर्षको उमेरमा जन्मिएको कान्छो छोरा पनि स्वस्थ थिएन । एकपछि अर्को सन्तान गुमाउनुको पीडाले रन्थनिएकी आमाभित्र कान्छो छोरा जसरी भए पनि बचाउने दृढता पलायो । जन्मिएको दोस्रो दिन पनि अवस्था नसुध्रिएपछि उपचारका लागि काठमाडौं लैजाने अठोट आमाको थियो तर करिब बीस किलोमिटर पैदल नहिँडी गाडी चढ्ने ठाउँ नपुगिने । ४५ वर्षको उमेर, दसौं पटकको सुत्केरी, स्याहारपात त परैको कुरा हरेक पटकको सुत्केरीमा पेट भर्ने खानेकुराको समेत उचित चाँजोपाँजो नहुँदा आमाकै स्वास्थ्य नाजुक थियो । तर उहाँलाई आफ्नो अवस्थाको परवाह भएन ।


सुत्केरीको भोलिपल्टै किशोरावस्था ननाघेकी ठूली छोरीलाई नवजात शिशु बोकाएर आमाको पाइला काठमाडौ सोझियो । नाजुक अवस्थाकी दुईदिने सुत्केरी र बिरामी बच्चाको उचित प्रबन्धका साथ उपचारमा पठाउन नसक्ने परिवार थिएन तर अन्य बन्दोबस्तको त कुरै छोडौं एउटा भरपर्दो मानिसको साथ जुटाउनेतिर समेत कसैको ध्यान पुगेन । अन्ततः अनेकौं कष्टका बाबजुद आफ्नो आत्मबल र माइतीको साथ जुटाएर आमाले कान्छो छोरा बचाएरै छाड्नुभयो । आफ्नो जिन्दगी दाउमा राखेर हुर्काएका सन्तान भएकाले होला अहिलेसमेत छ जना छोराछोरीमध्ये जसले हाच्छ्युँ गर्दा पनि उहाँलाई ठूलो बेचैनीले सताउँछ । ८१ वर्षे आफ्नो बुढ्यौलीग्रस्त प्रतिकूल अवस्थाको कुनै परवाह हुन्न तर उमेरदार सन्तानकै पिरचिन्ताले प्रत्येक पल सताइरहेकै हुन्छ । बिहे र सन्तानसँग जोडिएका यी केही सामान्य भोगाइ मात्र हुन् उहाँका । जिन्दगीभरि खेप्नुपरेका रापताप, चोट, संघर्ष, अपमान, तिरस्कारलगायतको फेहरिस्त अवर्णनीय छन् ।


छोरीहरूको शिक्षाका लागि आमाले गर्नुभएको विद्रोह र राख्नुभएको अडानप्रति हामी सबै छोरीहरू नतमस्तक छौं । जिन्दगीमा कुनै विद्यालयको आँगन नटेक्नुभएकी र कसैबाट साँवा अक्षरसमेत नसिक्नुभएकी आमामा शिक्षाप्रतिको लगाव कसरी जाग्यो, अहिलेसमेत आश्चर्य लाग्छ । दस वर्षमै बिहे भएकाले माइतीमा पढ्ने अवसर जुटेन । पराईघर भित्रिएपछि हन्डर र पौठेजोरीले जे जति सिकायो त्यसबाहेक औपचारिक शिक्षाको गुन्जायस नै भएन । जिन्दगीमा आफूले जे जति हन्डर खाइयो, त्यसको प्रमुख कारण अशिक्षा नै हो भन्ने चेतचाहिँ उहाँको अन्तरमनकै बुझाइ भएको प्रस्टै छ । त्यसैले आफूले खेपेको दुःख छोरीहरूलाई नपरोस् भनेर उहाँले हाम्रो शिक्षाका लागि अविचलित अडान राखिराख्नुभयो ।


त्यतिबेलासम्म गाउँमा कसैको घरबाट पनि छोरीलाई स्कुल पठाइएको थिएन । आफ्नी जेठी सन्तान छोरीलाई स्कुल पठाएर गाउँमा छोरी शिक्षा भित्र्याउने आमाको असीम चाहना । बुबालाई छोरी पढ्न पठाउने खासै रुचि थिएन । छोरी स्कुल पठाएर गल्ती नगर्न उहाँलाई गाउँलेको दबाब पनि प्रशस्तै थियो, जसका खातिर पनि बुबा पछाडि हट्नुभएको थियो तर सबैका विरुद्ध उत्रिएर भए पनि आमाले आफ्नो उद्घोष कहिल्यै फेर्नुभएन । आफ्नो प्रयत्नमा स्कुल पठाइएकी छोरीलाई गाउँलेको लहैलहैमा बुबाले स्कुलबाट झिकिदिंदा आमाको उकुसमुकुस र छटपटी थेगिसक्नुकै भएन । आफ्नो मात्र केही जोर नचलेपछि माइती गुहारेर भए पनि क्रमशः सबै छोराछोरीहरूको शिक्षा प्राप्तिको लय बसालेरै छोड्नुभयो । आफू बिलकुल अनपढ भएर पनि पछिल्लो जमानाको आकलनको साथ आफ्ना छोरीहरूलाई कामयावी बनाउने संकल्प त्यतिबेलै आमामा कसरी आयो, अहिले पनि हामी आश्चर्यचकित छौं । आमाको सोही योगदानले सबै छोरीहरूलाई शिक्षित र आत्मनिर्भर त बनायो नै जीवन मर्यादा बुझ्ने, त्यसको रक्षा गर्ने र सालीन ढंगले त्यसलाई आत्मसात् गर्न सक्ने तहमा समेत पुर्‍यायो । आमाको दर्बिलो अडानका कारण गाउँका अन्य छोरीहरूले समेत शिक्षा हासिल गर्ने अवसर पाउँदै गए, यसर्थ छोरी शिक्षाका लागि समग्र गाउँकै रोलमोडल बन्ने श्रेयसमेत हाम्रै आमालाई प्राप्त भयो ।


साँवा अक्षर नचिन्ने आमाले अधिकारका कुरा पढ्ने त अवस्थै थिएन तर आफ्नो घरलाई लैङ्गिक समताले ओतप्रोत पार्न उहाँ कहिल्यै चुक्नुभएन । छोरीको तुलनामा छोराहरू बचाउन र हुर्काउन उहाँलाई निकै हम्मे परेको थियो । यसर्थ छोराप्रति बढी झुकावसमेत अस्वाभाविक ठहर्ने थिएन तर छोरा र छोरीबीच विभेद कहिल्यै कतै महसुस हुन दिनुभएन । ‘पढेका छोराछोरीले दाउरा–घाँस गर्नैपर्छ भन्ने हुदैन तर जतिसुकै उच्च ओहदामा पुगे पनि आवश्यक पर्ने खानपानको वन्दोबस्त आफैं गर्न जाने कसैको भर पर्नुपर्दैन’ यो मान्यता उहाँमा थियो । तसर्थ ठूलो सन्तान एसएलसी सकेर काठमाडौं हानिएपछि अर्को रोलक्रमको छोरा या छोरीलाई घरभित्रको सम्पूर्ण जिम्मेवारी सुम्पने क्रम सुरुदेखि अन्तसम्म नै कायम रह्यो । जसले गर्दा छोराछोरी सबै जना जुनसुकै काममा पोख्त हुन सके । आफूलाई खान मन लागेका जस्तासुकै परिकार बनाउन दाइभाइ दुवैले भाउजू–बुहारीको भर पर्नु पर्दैन । यी कुराहरू आमाकै सिकाइका परिणति हुन् ।

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?