कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देहातका आमाहरू

तुलानारायण साह

स्वप्नदर्शी र संघर्षशील आमा दुनियाँभरिका आमाहरूमा अनेक असमानता होलान् तर एउटा कुरा समान हुँदो रहेछ  । त्यो हो आमाहरूले आफ्नो सन्तानका लागि सपना देख्ने र त्यसलाई पूरा गराउनका लागि गर्ने संघर्ष  ।

आमा धनी हुन् या गरिब, शिक्षित हुन् या निरक्षर, गाउँकी हुन् या सहरकी त्यसको धेरै ठूलो अर्थ हुँदैन । दुनियाँका हरेक आमाले आफ्नो सन्तानको हित मात्र सोचेकी हुन्छन् ।


मेरी आमाले पनि त्यस्तै गर्नुभएको थियो । मेरो जन्म हुँदा हाम्रो गाउँ गोइठीमा पढाइ लेखाइको खासै माहोल थिएन । सबै जना खेतीपातीमा व्यस्त थिए । दादाजी (बुबापट्टिको हजुरबा) लाई सकेसम्म जग्गा जोड्ने रहर थियो । एसएलसीसम्मको पढाइपछि नै पहाडमा मास्टरी गर्दा हुने उहाँको सोच थियो । तर आमा त्यस कुरामा असहमत हुनुहुन्थ्यो । सकेजति र छोराहरूले चाहेजति पढाउने आमाको चाहना थियो । आमाले बुबालाई कन्भिन्स गर्नुभयो । पछि गएर हाम्रो बुबा र दादाजीबीच यही कुरामा खटपट हुन थाल्यो । दादाजी भन्नुहुन्थ्यो, ‘यत्रो मिहिनेत गरेर कमाएको सबै सम्पत्ति नातिहरूको पढाइ–लेखाइमै लगाइदिने ?’ थप सम्पत्ति आर्जन उहाँको प्राथमिकता थियो ।


आज आएर सोच्छु, गाउँमा त्यस्तो साह्रो पढाइ–लेखाइको माहोल नहुँदा पनि आमाको मनमा यो सपना कहाँबाट पलाउन पुगेको थियो ? उत्तर खोज्दै जाँदा उहाँको माइतबाट आएको थियोजस्तो लाग्छ । हाम्रो मामाघर सप्तरी जिल्लाकै कञ्चनपुर । कञ्चनपुर सानो तर पुरानो बजार । त्यहाँ धेरै पुरानो स्कुल छ । लेखपढको पुरानो माहोल थियो । २०२५ सालतिर मामाले एसएलसी पास गर्नुभएको थियो । भारतबाट पीएचडी गर्नुभयो । लाग्छ, कञ्चनपुरको त्यो लेखपढको माहोल र भाइको पढाइप्रतिको लगाव देखेर मेरो आमाले छोराहरूबारे एउटा सपना देख्नुभयो ।


हाम्रो किसान परिवारलाई खान लाउन समस्या थिएन । मानिसको समस्या थियो । दिदीहरूको बिहा भइसकेपछि आमाबुबालाई सघाउने मानिसको अभाव हुँदै गयो । यता छोराहरूको पढाइ खर्च बढ्दै गयो । परिवारमा अंशबन्डा भयो । खाइपाइ आएको सम्पत्ति घट्न पुग्यो । त्यही बेला (२०५१/५२ सालतिर) गाउँमा आगलागी हुँदा हाम्रो सारा सम्पत्ति जल्यो । बाआमाको जीवनमा सर्वाधिक दुःखको समय थियो त्यो । तर कहिले पढाइ रोक्न भन्नुभएन । सकेजति खर्च जुटाउनुभयो ।

आमाहरूको अनन्त दुःख
आज आएर म आफ्ना छरछिमेकका साथीभाइका घरका अवस्था सम्झिन्छु । उनीहरूको बाल्यकाल, परिवारको अवस्था र आमाहरूको गतिविधिलाई सम्झिन्छु, मेरो आमाको तुलनामा मेरा साथीहरूका आमाहरू कति धेरै दुःख गर्नुहुन्थ्यो । मेरा बालसखाहरू कपिलेश्वर सरदार र लीलु यादव थिए । बाल्यकालमा हामी निकै मिल्थ्यौं । हामीहरूको खाने–बस्ने ठेगान हुँदैन्थ्यो । हामी प्रायःजसो सँगै हुन्थ्यौं । मेरा ती दुवै मित्रको पारिवारिक अवस्था निकै कमजोर थियो । उनीहरूका आमा हाम्रो आमाभन्दा धेरै दुःख गर्नुहुन्थ्यो । मजदुरी गर्नुहुन्थ्यो ।
लीलु यादव कक्षा ६ मा नपुग्दै पन्जाबतिर लागेका थिए । उनी आजपर्यन्त हरियाणाको एक पेपर मिलमा काम गर्छन् । अर्का मित्र कपिलेश्वर सरदार पनि धेरै वर्ष पन्जाब बसे । त्यतैबाट माओवादी बनेर फर्केका थिए । जनयुद्धमा होमिए । जेल बसे । अहिले गाउँमै राजनीति गर्छन् । यी दुवै मित्रका आमाहरू स्वर्गबास भइसकेका छन् । आज आएर सोच्छु, मेरो आमाले देखेको सपनाजस्तै मेरा मित्रहरूका आमाले पनि त सपना देखेका थिए होलान् । कस्तो थियो होला ती आमाहरूको सपना ? छोराहरू सानै उमेरमा पन्जाब जाओस् भन्ने सपना त पक्कै देख्नुभएन होला । तर के कारणले मेरो आमाको सपना पूरा भयो र मेरा मित्रहरूको आमाको सपना पूरा भएन ?


अहिले कपिलेश्वरकी श्रीमती आफ्ना हुर्किसकेका बेरोजगार छोराको भविष्यलाई लिएर निकै चिन्तित रहने गरेको पाउँछु । लीलुकी श्रीमती गाउँमा एक्लै बस्छिन् । अबोध बालकहरूको शिक्षादीक्षालाई लिएर निकै संघर्ष गरिरहेको देख्छु । गाउँमा गरिबी घटेको अवश्य छ तर आमाहरूको दुःख खासै घटेको छैन । बाल्यकालमा लालनपालन र शिक्षादीक्षाको चिन्ता बुबाभन्दा बढी आमालाई हुँदो रहेछ । सन्तान हुर्किसकेपछि तिनको रोजगारको चिन्ता सुरु हुन्छ । अहिले अधिकांश युवाहरू अरब वा मलेसिया गएका छन् । तिनका जहान, आमाबुबा गाउँमा वा नजिकको बजारमा बसेका हुन्छन् । तिनको चिन्ता बिदेसिएका सन्तानको जीवन रक्षासँग जोडिएको हुन्छ ।


एक दशकअघिसम्म हाम्रा गाउँका आमाहरू छोरा द्वन्द्वमा मारिएला भन्ने चिन्ताबाट ग्रस्त थिए । हाम्रो गाउँमा सुरुका दिनमा माओवादीको चर्को प्रभाव थियो । जनयुद्धमा लागेकाहरूको आमाको चिन्ता सम्झिन्छु । जनयुद्धमा नलागेका वा माओवादीविरोधीहरूको आमाको चिन्ता सम्झिन्छु । पात्रहरू फरक फरक थिए, आमाहरू पनि फरक फरक थिए तर ती सबै आमाहरूको चिन्ता एक समान थियो । आ–आफ्नो सन्तानको जीवनरक्षा आमाहरूको चिन्ता हुन्थ्यो, प्रार्थना हुन्थ्यो ।


२०६०/६१ सालतिरको एक प्रसंग सम्झिन्छु । छिमेककी एक महिलाको मुखबाट सुनिएको प्रसंग हो यो । हाम्रो गाउँका एक युवा मधेसी सशस्त्र समूहमा लागेका थिए । माओवादीहरू तिनलाई खोज्दै थिए । उनको आमाले माओवादी र सरकारी पुलिसबाट छोराको जीवनरक्षाका लागि भाकल गरेकी थिइन् । भाकल पनि अनौठो, छोरा कुशल रह्यो भने घरमा २४ घण्टे रामायण पाठ र हनुमान अराधाना गर्ने !


त्यतिबेला हाम्रो टोलछिमेकका युवाहरू कोही माओवादीमा लागेका थिए, कोही मधेसी सशस्त्र समूहहरूमा । हाम्रो गाउँतिर जनतान्त्रिक समूह, मधेसी टाइगर र भाइरस किलर्सको बिगबिगी थियो । कहिलेकाहीं त लाग्थ्यो, मधेसका सबै मुक्तिदाता हाम्रै गाउँतिर बसाइ सरेका छन् । गाउँ पूरै त्रसित थियो । २०६० सालदेखि २०६५ सालबीच हाम्रो र छिमेकी गाउँहरूमा गरी लगभग दुई दर्जन युवाको हत्या भएको थियो ।


त्यतिखेर हाम्रो गाउँतिर तीनथरी सरकारको शासन चलेको भनिन्थ्यो । ज्ञानेन्द्रको शासन रहेकाले प्रहरी वा सेनाको गस्तीलाई पाँच सरकारको मानिस भनिन्थ्यो । माओवादीका लडाकुहरू आउँदा त्यसलाई छ सरकारका मानिस आएको भनिन्थ्यो । मधेसी सशस्त्र समूहका बन्दुकधारीहरू आउँदा सात सरकारका मानिस भनिन्थ्यो । मेरो सम्झनामा मेरा गाउँछिमेकमा आमाहरू सबैभन्दा बढी त्रसित भएको समय त्यतिबेला थियो । माथि उल्लिखित आमाको पीडा, छोराछोरीको जीवन रक्षाका लागि भगवान्प्रति तिनको आस्था मेरा लागि अविस्मरणीय बनेको छ ।


आमाहरूको धरम–करम
मेरो गाउँ मिथिलाक्षेत्रका एक प्रतिनिधि गाउँ हो । पछिल्लो समय गाउँका आमाहरू धार्मिक गतिविधिमा जबर्जस्त प्रकारले लागेको देख्छु । २०४४ सालसम्म गाउँमा बस्दा आमाका दौंतरीहरूले गर्ने गरेको धार्मिक गतिविधिको सम्झना छ । घरमा एउटा पूजाकोठा हुन्थ्यो । अहिले पनि छ । त्यसलाई हामी गोसाइघर भन्छौं । हाम्रो गाउँमा हरेक आँगनमा एउटा गोसाइघर हुन्छ नै । गोसाइको पूजा गर्नुको मूल उद्देश्य परिवारमा सबैको सुख शान्तिको कामना गर्नु हो । हाम्री आमालाई त्यतिले पुग्दैन्थ्यो । उहाँ लामो समयसम्म आइतबारको दिन व्रत बस्नुभयो । त्यसपछि महिना महिनामा आउने एकादशी व्रत पनि बस्नुहुन्थ्यो । कहिले मगंलबारे, कहिले बिहीबारे व्रत पनि बस्नुहुन्थ्यो । पछि आएर थाहा भयो, गोसाइघरमा हुने पूजा पूरै परिवारका लागि रहेछ भने एकादशी, आइतबार, मगंलबार गरिने व्रतहरू खास छोराछोरीका लागी गरिएको भाकल पूरा गर्न रहेछ ।


आजभोलि मेरो आमा र उहाँका दौंतरहरूको पूजापाठ गर्ने तौरतरिकामा आमूल परिवर्तन भएको छ । गाउँभरिका महिलाहरू राम्रो नयाँ लुगा लगाएर महिनाको एक दिन पोखरीको डिलमा जम्मा हुँदारहेछन् । त्यस समूहमा युवतीदेखि वृद्ध आमासम्म हुँदा रहेछन् । बुझ्दै जाँदा सन्तोषी समूह बनेको रहेछ हाम्रो गाउँमा । थप बुझ्दा यस्तो समूह त टोलैपिच्छे बन्दा रहेछन् । संयोगले एक पटक सातासम्म गाउँमै बस्नुपर्ने भयो । राति अबेरसम्म छिमेकमा लाउडस्पिकर बजेको बज्यै गर्‍यो । महिलाहरूले शिवजीको प्रार्थना गरेको लाउडस्पिकरमै सुनिन्थ्यो । मैथिली भाषामै आफ्नो दुःखको बयान, छोरीको बिहेको कामना, छोराको जागिरका लागि अनुनयविनय गरिरहेको सुनिन्थ्यो । सुन्दाखेरी लाग्थ्यो कि महिलाहरू कुनै टाढाको भगवान्सँग प्रार्थना गरिरहेको नभई आमने–सामने वार्तालाप गरिरहेका छन् । पछि थाहा भयो, यो त आमाहरूको शिव चर्चा समूह रहेछ । त्यस्ता समूहहरू पनि टोलैपिच्छे रहेछन् । कतै साप्ताहिक त कतै मासिक रूपमा त्यस्तो प्रार्थना सभाहरू आयोजना हुँदा रहेछन्ण् ।


मेरी आमाको पनि पूजा गर्ने तौरतरिकामा बदलाव आएको छ । दशकअघिसम्म पिताजी हुँदासम्म गोसाइघरमा एक कुनामा मात्र पूजा हुन्थ्यो । आँगनमा रहेको धजामा पनि पूजा गरिन्थ्यो । त्यसबाहेक चौरचन, घडी इत्यादि जस्ता पर्वमा घरको देउताको पूजाआजा त हुने नै भयो । पिताजीको देहान्तपछि आमाको पूजाआजा गर्ने तौरतरिका फेरिएको छ । पाँच वर्षअघि आमा केही महिनाका लागि भारत यात्रामा हुनुहुन्थ्यो । आमाको भाइ र बहिनीको बसोबास उतै रहेकाले उहाँहरूसँग विभिन्न तीर्थस्थलको भ्रमण पनि गर्नुभयो । उताबाट फर्केर आएपछि अनेक भगवान्का दर्जनजति फोटोहरू बोकेर आउनुभयो । कुनै–कुनै फोटोमा १०/१५ वटासम्म देवीदेवता अंकित छन् । गोसाइघरको एक कुनामा पारिवारिक देउताको स्थान छुट्याइएकै थियो । आमाले घरको अर्को कुना पनि कब्जा गर्नुभयो । सबै फोटाहरू भुन्ड्याइएको छ । आमाले लगभग हरेक दिन पूजा गर्नुहुन्छ ।


बितेको साउन महिनाको घडी पर्वमा पूजा गर्ने पालो मेरो परेको थियो । आमाको निर्देशन कडा थियो । सम्पूर्ण फोटाहरू पुछ्नुपर्ने । सकेसम्म फोटामा अंकित सबै देवीदेवताको स्नान हुनेगरी सफा गरिनुपर्ने । सरसफाइपछि कुनैलाई सिंगै फूल त कुनैलाई फूलका पात भए पनि हुनेगरी फूलपात चढाइयो । त्यसपछि मिठाई चढाउने पालो थियो । सबैलाई सिंगैसिंगै लड्डु चढाउँदा धेरै चाहिने भएकाले फोडेर चढाएँ । तर, अलि ठूलो तस्बिर भएको देउताको अगाडि सिंगै लड्डु चढाउन भन्नुभयो । मैले सबै देउतालाई सगोलमै एकै ठाउँमा सबै लडडु राखिदिऊँ भनें, आमाले मान्नुभएन । अन्तमा फूल, पान, सुपारी, लड्डु हातमा राखेर आँखा चिम्लेर एक छिन ध्यान गर्नुपर्ने भयो । त्यतिबेला मलाई लाग्यो, बुढेसकालमा आमाले घरमा देउताहरूको आमसभा लगाउनुभएको रहेछ ।


अन्तमा एक छिन ढोका बन्द गरेर बाहिर बस्नुपर्ने भयो । त्यो भगवान्लाई प्रसाद ग्रहण दिइएको समय रहेछ । मैले भने धेरै बेर ढोका बन्द नगरौं, धेरै लड्डु खाएर भगवान्लाई डायबिटिज होला !
पूजा सक्दा दिउसोको १२ बजिसकेको थियो ।
मैले आमालाई अलिक नरम भाषामा सोधें, ‘यति विषद पूजा गरेर तपाईंलाई के होलाजस्तो लाग्छ ?’
‘सबै सन्तानहरू सुखी, सम्पन्न रहुन् । यसबाहेक अरू के नै कामना गर्नु !’ मनमा लाग्यो, दुनियाँमा दुःखी हुनलाई दुःख नै भोग्नु नपर्ने रहेछ । सबैका दुःखका आफ्नै कथा हुँदा रहेछन् ।
दुनियाँका सबै आमालाई सतत् प्रणाम ।

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?