क–कसले मिचे टुँडिखेल ?

लिच्छविकालमै खुला स्थलका रूपमा रहेको टुँडिखेल कालक्रममा शासकहरूको मिचाइको यस्तो नमुना बन्यो, मानौं यो समाजको सबभन्दा निर्धो चीज हो । कहिले फौज त कहिले ठेकेदारका नाममा राजा/शासक, नेता र माफियाहरूको टुडिखेलमा चलखेलको वृत्तान्त ।
यादव देवकोटा

लिच्छविकालीन समय  । पुरानो काठमाडौं सहरभन्दा बाहिर, पूर्वपट्टिको लम्बेतान चौर  । जो ‘लायकुपुई’ बाट मुस्किलले साढे तीन सय पाइलाको दूरीमा अरू जमिनभन्दा अलिक उठेको ढिस्कोजस्तो भएर बसेको थियो । फराकिलो खुला जमिनको सहरवासीका लागि एकसाथ अनेक उपादेयता थिए । घरपालुवा जनावर चराउने, केटाकेटी खेल्ने, विशेष जात्रा र उत्सवहरू मनाउने प्रयोजनका लागि उक्त खुला जमिनको उपयोग हुन्थ्यो ।

आरम्भ
लिच्छवि राजा गुणकामदेवको शासनकालमा विसं ७ सय ७८ मा सवलवहाः (मन्त्रसिद्धि महाविहार) का तान्त्रिक शाश्वतबज्र बज्राचार्यले उक्त खुला चौरको पश्चिमी बीच भागमा महाँकाल भैरवको स्थापना गरेका थिए । उनैले विसं ७ सय ८१ मा उक्त खुला चौरको पूर्वी भागमा बज्रतुँडीदेवी (भद्रकाली) को स्थापना गरेका थिए (बज्राचार्य, इन्द्ररत्न–सदर टुँडिखेल, गोरखापत्र, ११ असार, २०४१) । विसं १९९० को भुइँचालोमा समेत महाँकालको मन्दिर केही नभएकाले यही महाँकाल मन्दिरको चौघेरामा भूकम्प पीडितोद्वारक संस्था गठन गरिएको थियो (योगी, देवीप्रसाद–देवमाला वंशावली, पृ ५१) ।


बज्रतुँडीदेवीलाई महाँकाल भैरवले दिएको दाइजोको रूपमा ती दुई तन्क्रशत्तिका केन्द्र (महाँकाल र बज्रतुँडिदेवी) को अघिल्तिरको विशाल जमिन समर्पित गरिएको हुनाले ‘तुंख्य’ का रूपमा उक्त चौर परिचित हुन थालेको थियो । मल्लकालको आखिरी समयतिर टुँडिखेल ‘तुंखेल’ को रूपमा परिचित रहेको पाइन्छ । विसं १७६५ को अभिलेखमा तुंखेलका रूपमा उक्त चौरको उल्लेख भएको पाइन्छ । (बज्राचार्य, गौतमबज्र–हनुमानढोका राजदरबार, पृ २४७)


राणाकाल सुरु हुनुअघिसम्म आज टुँडिखेल भनेर परिचित उक्त मैदान तुंडिखेलकै रूपमा उच्चारित हुन्थ्यो । ‘प्रत्याङ्गिरादेवी र बज्रभैरवले बज्रतुण्डीदेवीलाई दाइजो दिएको ठाउँ हुनाले तुंडीक्षेत्र भनि कहलाएको हो । अद्यापि त्यस क्षेत्रको नाम तुंडिखेल भनि प्रख्यातै छ । बज्रतुण्डी अर्थात् भद्रकालीलाई वैद्यशास्त्रमा पारंगत भएकी पात्रका रूपमा समेत लिइन्छ । उनको नामान्तर ‘लज्जापीठ’ को रूपमा उल्लेख भएको पाइन्छ । त्यसबखत भद्रकाली नजिक खुला चौरको रूपमा रहेको टुँडिखेललाई स्थानीयहरूले खुला दिसापिसाब गर्ने स्थलको रूपमा परिणत गर्ने गरेको सुन्दरानन्द विचरित त्रिरत्न सौन्दर्य गाथा पढ्दा थाहा पाइन्छ । ‘जौना तुण्डिखेलविषे कुकीर्ति, इत्यादि कसिंगल, मलोत्सर्ग, मुत्रोत्सर्ग गरि फोहोर गर्नुमा सबै लोकको लाज मान्दा लज्जापीठ भनी प्रख्यात भएको छ (धनबज्र, उही, पृ १७७) ।’ सम्भवतः त्यसबखत घरपिच्छे शौचालय नहुने र उपलब्ध सार्वजनिक स्थानमा दिसा–पिसाब गर्ने प्रचलन रहेको र भक्तालुहरूको भीड लाग्ने भद्रकालीनजिक टुँडिखेलमा मानिसहरूले सार्वजनिक तवरले फोहोर गर्ने कारण मनिसहरूले बज्रतुण्डी पीठलाई ‘लज्जापीठ’ भनि हियाएको देखिन्छ । त्यसयताका दुई शताब्दीसम्म पनि काठमाडौं सहरमा आवश्यक सार्वजनिक शौचालय नहुनुले हाम्रो आधुनिक समाजको आजको जम्माजम्मी योग्यतालाई प्रतिविम्बित गर्छ ।


प्रारम्भिक समयमा कतै अरू जमिनभन्दा अलिक उठेको ढिस्कोजस्तो र कतै समथरजस्तो उक्त चौर रानीपोखरीदेखि अहिलेको दशरथ रंगशालासम्म फैलिएको थियो । प्रताप मल्लकालीन समयमा रानीपोखरी बनाएपछि पनि निकै लामो समयसम्म बाँकी भाग टुँडिखेलको रूपमा अस्तित्वमा रहिरह्यो ।


यसरी कम्तीमा पनि लिच्छविकालीन समयदेखि नै आज टुँडिखेल या टुणीखेल भनेर चिनिने रैथानेहरूको भाषाको तुंख्य (तिनिख्यः) को सार्वजनिक महत्त्व उल्लिखित भएको पाइन्छ । लिखित प्रमाण नभेटिए पनि प्रस्टै उल्लेख गर्न सकिन्छ, त्यसअघि पनि त्यो सार्वजनिक सम्पत्तिकै हिस्सा थियो । कमसेकम गुणकामदेवको समययता त यो सार्वजनिक अर्थात् जनताको सम्पत्तिको रूपमा रहँदै आएको थियो । शाह र राणाकालीन हुकुमी मनोमानीको अढाई सय वर्षमा रैथानेहरूको विशाल जमिन उनीहरूबाट खिच्ने र सत्तासीनहरूबाट निजीकरण गर्ने शासकीय अभियानै चलाइँदाका दिनमा पनि टुँडिखेलको विशाल चौर सार्वजनिक सम्पत्तिकै रूपमा रहन सकेको थियो । तर, विसं २००७ को ‘प्रजातन्त्र’ पछिका दिनले भने सार्वजनिक सम्पत्ति उपयोग र उपभोग गर्न पाउने नागरिक अधिकार भने सत्ताको तजबिजीमा अलप गराइदिएको अवस्था देखिएको छ ।

पहिलो विश्वयुद्धमा खटिएका गोर्खा सैनिक रवाना हुनुअघि टुँडिखेल ।

उप्रान्त
यंगल र यम्बुको आकार बढ्दै जाने अर्थात् सहर फैलिँदै जाने क्रम बढिरहँदा पनि ‘तुंख्य’ भने सहरवासीलाई परम्परागत तवरले नै तलवितलको आश्रय, चाडपर्व, रीतिथिति र संस्कार, संस्कृतिको बखत मानिसको पाइला थाम्ने सार्वजनिक स्थलको रूपमा भरोसा बनिरहेको थियो । गुणकामदेवकै पालामा प्रत्येक चैत्र कृष्ण पक्षको औंसी तिथिको दिन बेलुका भद्रकालीको मूर्ति भएको दुईवटा खटहरू टेवहाल र वटुटोलबाट तथा कंकेश्वरीको मूर्ति भएको खट यट्खा टोलबाट ल्याई खरीको बोट (हाल सैनिक मञ्च) अगाडिको मैदानमा जुधाउने चलन चलाइएको थियो । त्यसरी जुधाउने क्रममा कालीका दुई खटलाई कंकेश्वरीको खटले तीन पटक प्रदक्षिणा गराउने थिति पनि बसालिएको थियो (इन्द्रमान, उही) । जब खरीको बोट ढालेर महेन्द्रकालीन समयमा सैनिक मञ्च बनाइयो, त्यसले रैथानेहरूको हातबाट सार्वजनिक सम्पत्ति सेनाको संगीन नियन्त्रित घेराभित्र मात्रै गएन, रैथाने सांस्कृतिक उत्सवको परम्परासमेत बलात् बिथोलियो ।


यक्ष मल्लको समयपछि उनका छोराहरूले उपत्यकाको बलियो मल्ल राज्य टुक्र्याएर एकापसमा भागबन्डा गरेपछि उफत्यकाका राज्यहरू नै एकअर्काको आक्रमणको त्रासमा रहन लागेका थिए । त्यसत्रममा उनीहरूले आ–आफ्नो राज्यको सुरक्षाको प्रयत्न गर्ने क्रममा विसं १५४१ मा रत्न मल्लले आफ्नो राज्यमा देश–विदेशबाट घोडाहरू झिकाएर असल घोडाहरूको परीक्षा गर्ने क्रममा दिनहुँजसो टुँडिखेल मैदानमा घोडाहरू दौडाउने परम्परा बसालेर प्रत्येक वर्ष चैत्र कृष्णपक्षको औंसी तिथिका दिन राजाको उपस्थितिमा घोडा जात्रा देखाउने रीत चलाइदिएका थिए (इन्द्ररत्न, उही) । यसरी ‘तुँख्य’ काठमाडौं निवासीहरूको परम्परा र संस्कृतिको समेत एउटा अनिवार्य हिस्साको रूपमा विकसित भएर आएको थियो ।

बलमिच्याइँ
प्रत्येक वर्ष मनाइने फागु मेलाका लागि वसन्तपुर दरबारमा उभ्याइएको होलीको प्रतीक चीर फागु पूर्णिमाको तिथिमा बेलुका ढालेर त्यहाँबाट तान्दै लगेर टुँडिखेल मैदानको भद्रमसानमा लगि आगो लगाई दाहसंस्कार गर्ने गरिएको (इन्द्ररत्न, उही) मा ऊक्त रीत गरिने मुख्य जमिन सैनिक अतित्रमणमा परेकाले काठमाडौंको सांस्कृतिक परम्पराको स्थल नै फेरबदलमा परेको छ । रैथाने अनुश्रुतिअनुसार, भूपालेन्द्र मल्लको शासनकालको समयमा विसं १७८० तिर पारावर्त महाविहार (इटुम्बहाल) का केशचन्द्र मल्लले रसुवाको गोसाइँकुण्डबाट भीमकाय शरीरका गुरुमापालाई सुन बोकाई विहारमा ल्याएका थिए । विहारमा रहेका बच्चाहरू मर्ने र हराउने भएपछि गुरुमापाले मारेको ठानी अरू क्षति नहोस् भनेर गुरुमापालाई त्यहाँबाट टुँडिखेलमा मैदान पुर्‍याई प्रत्येक फागु पूर्णिमाकै दिन बेलुका एक मुरी चामलको भात र एउटा राँगाको मासु पकाएर लगि खुवाउने गर्न थालियो । गुरुमापालाई राक्षस ठानी उसलाई खुसी बनाउन अहिले पनि उक्त रीत रैथानेहरूले थामिरहेकै पाइन्छ । आफूले नदेखेको, नभेटेको राक्षस भनिएको पात्रसँग आफ्ना पुर्खाहरूले गरेको भनिएको वाचाको आज पनि इमानदारीपूर्वक पालना गर्ने काठमाडौंका नेवार समुदायको त्यही इमान प्रदर्शन गरिने जमिन टुँडिखेल भने आज एकपछि अर्को शासकीय बेइमानीले उनीहरूबाट खोसिँदै सकिन लागेको छ । मल्लकालभरि टुँडिखेल काठमाडौंवासीको जीवनको, संस्कृति र परम्पराका एउटा अभिन्न हिस्सेदरको रूपमा रहिरह्यो । यसकै वरिपरि रहेका लुमडी भद्रकाली, महाँकाल, रानीपोखरीले पनि टुँडिखेललाई धार्मिक मतले अँठ्याएको स्थानीय समाजको अनिवार्य हिस्साको रूपमा विकसित गरायो ।

आक्रमण
त्यसरी काठमाडौंले खुला रूपले सास लिने टुँडिखेलको अतिक्रमणको सुरुआत भीमसेन थापाको समयबाट भएको पाइन्छ । उनले वाग दरबार बनाउन १ सय २० रोपनी जमिन अधिग्रहण गर्ने क्रममा सानो टुँडिखेल (हाल रंगशाला) र टुँडिखेलबीचको केही जमिन हडपेका थिए । त्यसरी जमिन अधिग्रहण गरीवरी बनाइएको भीमसेनको दरबार भने हेनरी एम्ब्रोज ओल्डफिल्ड आएको बखत निकै उपेक्षित अवस्थामा रहेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । भीमसेन र माथवर मारिएपछि वागदरबारको फूल बगैंचा निकै उपेक्षित अवस्थामा रहेको, दरबार रहेको क्षेत्र झाडीले भरिएको, माछा पाल्न बनाइएको पोखरी सुक्खा भएको, दरबारको भवन उपेक्षित अवस्थामा पुगेको थियो (ओल्डफिल्ड, स्केचेज फ्रम नेपाल, भाग १, पृ १०९) । टुँडिखेलको अर्को कुनामा रहेको रानीपोखरीको उत्तर पश्चिमी र उत्तर दक्षिणी कुनामा प्राचनी सहरी प्रवेशद्वारहरू थिए (ओल्डफिल्ड, उही, पृ १११) ।


जंगबहादुर सत्तामा आएपछि टुँडिखेलमाथि सैनिक अतिक्रमण बढ्यो । भीमसेन थापाको प्रबन्धबाट विष्णुमतीपारि सैनिकका निमित्त छाउनी बनाइएको थियो (धनबज्र, उही, पृ ५१) । सैनिक जंगी अड्डाको स्थापना उनै जंगबहादुरको पालामा भएको थियो (मिश्र, तीर्थप्रसाद–नेपाली सेनाको विकास र विस्तार (नेपाली सेनाको इतिहास), पृ ११९) । त्यसअघि सैनिक परेड छाउनीमा हुने गरेकोमा जंगबहादुरले टुँडिखेलमा सारे । घोडेजात्राको दिन टुँडिखेलमा सेनाको तामझम देखाउने चलन जंगबहादुरले सुरु गरे । उनैले शाही घोषणा र महत्त्वपूर्ण निर्णय टुँडिखेलबाट सार्वजनिक गराउने थिति बसाले । निर्णय सुनाउँदा खरीबोट वरिपरि सेनाले पहरा दिन्थ्यो । राणा प्रधानमन्त्री चौतारीमा उभिन्थे (श्रेष्ठ, सुदीप–मध्यसहरमा आर्मी हेडक्वार्टर किन ?, सेतोपाटी, १७ फागुन, २०७४) ।

श्रेष्ठले जंगबहादुरको पालामा छाउनीको परेडको परम्परा टुँडिखेलमा सरेको उल्लेख गरे पनि इन्द्ररत्न बज्राचार्यले भने रणोद्वीपसिंह राणा प्रधानमन्त्री भएको बखत उनका सेनापति धीरशमशेरले छाउनीबाट टुँडिखेलमा कवाजको परम्परा स्थानान्तरण गरेको उल्लेख गरेका छन् । उनी लेख्छन्— विसं १९३५ मा धीरशमशेरले सानो रहेको टुँडिखेललाई बढाएर पल्टनको कवाज छाउनीमा भैरहेकोमा टुँडिखेलमा गराएर त्यसलाई चाहिने तोपखाना घर दक्षिणतिर र पश्चिमतिर बन्दुक राख्ने टहरासमेत बनाई चारैतिर रूखहरू रोपिदिए । टुँडिखेलको आधुनिकीकरण गर्ने श्रेय प्रधानमन्त्री रणोद्वीप सिंहलाई जान्छ, किनभने उनले विसं १९३५ मा आफ्ना प्रधानसेनापति धीरशमशेर राणामार्फत यसलाई ठूलो र व्यवस्थित बनाउन (समतल) बनाउन लगाएको उल्लेख भएको पाइन्छ (रेग्मी, जगदीशचन्द्र, काठमाडौं सहर, पृ १९२) । विसं १९५८ मा देवशमशेरको पालामा मध्याह्नमा सार्वजनिक तवरले समय जनाउन भनी तोप पड्काउने चलनको सुरुआत भएको थियो ।


राणाकालीन समयमा टुँडिखेल नागरिकको सार्वजनिक सम्पत्तिबाट सैनिक वर्चस्वको खेलमैदानमा परिणत हुन थालेको थियो । सरदार भीमबहादुर पाँडे लेख्छन्— त्यसबखत टुँडिखेलको कुनै न कुनै भागमा बन्दुक बोकेका सिपाहीहरूको केही न केही कवाज चलिरहेको हुन्थ्यो । विसं १९८९ मा सिपाहीहरूको मासिक तलब बाह्र रुपैयाँ पुर्‍याउँदा सिपाहीहरूले टुँडिखेलमा पुकारेको जयजयकारले काठमाडौं सहर गुन्जिएको थियो (त्यसबखतको नेपाल, भाग १, पृ २१५/२२१) । विसं २००० सालमा शाही जंगी अड्डाको अघिल्तिर र ठाउँठाउँको कच्ची सडकलाई जुद्धशमशेरले कालोपत्रे गराएका थिए (इन्द्ररत्न, उही) ।


राणाकालीन समयमा महत्त्वपूर्ण निणर्य सार्वजनिक तवरले सुनाउनका लागि पनि टुँडिखेलको बीचमा रहेको खरीको बोटलाई उपयोग गरिन्थ्यो । चाहे जंगबहादुरले कौसी तोषखानाको स्थापना गरी त्यसमा पैसा राखेको घोषणा होस् या विसं १९१० को मुलुकी ऐनको सार्वजनिक घोषणा, टुँडिखेलको खरीबोटको चौतारामा उभिएर गरिएको थियो । सती प्रथा उन्मूलन, दास प्रथा उन्मूलन, विश्वयुद्धमा नेपाली फौज जाने घोषणा सबै त्यहींबाट भएका थिए, जसरी यताका केही दशकमा राजनीतिक अधिकारको आन्दोलनको घोषणा त्यही टुँडिखेल विभाजित गरी बनाइएको खुलामञ्चबाट नेताहरूले गरे ।

विसं १८९१ मा टुँडिखेलको बीचमा राखिएको तोपमा लोड गरिएको विशाल विस्फोटक पदार्थ चट्याङ परी विस्फोट हुँदा सत्ताइस मानिसहरू मारिएका थिए (ओल्डफिल्ड, उही, पृ ११२) । जम्मा ८० हजार जति जनसंख्या भएको त्यसबखतको समयमा समेत नागरिकहरूको ओहोरदोहोर हुने ठाउँमा भएको दुर्घटनामा परी सत्ताइस मानिसको मृत्यु हुनाका साथै लैनचौरमा रहेको बेलायती दूतावासको भवनका सिसाहरू फुटेको ओल्डफिल्डले उल्लेख गरेका छन् । आजको बाक्लो जनघनत्व, मानिसहरूको ओहोरदोहोर चलिरहने मध्यसहरको बीचमा सैनिक मुख्यालय राख्ने काम जोखिमपूर्ण छ भन्ने कुरा आजभन्दा झन्डै पौने दुई सय वर्षअघिको दुर्घटनाको तथ्यले बताउँछ । टुँडिखेल राणाकालमा शासक रिझाउन चाकडी गर्ने एउटा प्रमुख थलोको रूपमा पनि गनिएको थियो । चाकरीदारहरू अक्सर खुला टुँडिखेलको वरिपरि स्वस्ती र सलाम गर्ने उद्देश्यले सधैं एकै ठाउँमा सधैं देखा पर्थे (भीमबहादुर, उही, पृ १६९) ।

हिजो राणाकालमा जागिर, बढुवाका लागि राणा महाराजहरूको स्वस्ती गरेर रिझाउन आशामुखीहरू उभिने टुँडिखेल आजका सत्ताधारीहरूलाई रिझाएर चाकरीदारहरूले टुँडिखेल नै सिध्याइदिएका छन् अनेक बहानामा । त्यति हुँदा पनि आसेपासेहरू टुँडिखेल र हिजो आफ्नै राजनीतिक प्राणलाई आवाज र आकार दिने टुँडिखेलको एउटा हिस्सा खुलामञ्च प्रपञ्च मिलाएर माफियाले ओगट्दा पनि खुलामञ्च पैसाको बलमा ठेकेदारलाई दिलाउने नेताहरूको बचाउमा आ–आफ्नो टुकडी जम्मा गरेर चाकरीदार डफ्फामा विभाजित भैदिन्छन् ।


बरु राणाकालमै श्री ३ महाराज बनेका आफ्नै पिताको पनि गलत कदममा उनैका सन्तानले आलोचना गर्थे । चन्द्रशमशेरलाई उनैका छोरा केशरशमशेरले चन्द्रको जन्मोत्सवमा फलामको लट्ठी उपहार दिएका थिए— तैंले लट्ठीको भरमा शासन चलाएको छस् भन्ने संकेत गर्नलाई (पाँडे, उही, पृ २४५) । आज त नेता वरिपरि रहनेहरू विचार, व्यवस्थाविरुद्ध लडेर आएको दाबी गर्ने नेता, अगुवाहरूले आफैंमाथि, आफ्नै सपनामाथि लट्ठी बजार्दा पनि जयजयकारबाट निस्कन नसक्ने गरी चेतनामा ‘गान्धारी पट्टी’ बाँधेर बसेजस्तो भएका छन् । नेता र सत्ताको चाकरीबाट निस्केर रत्तिभर दायाँ–बायाँ चेत फुकाउन नसक्ने अवस्थाको दास भएका छन् ।

खेलमैदान
जसै विसं २००७ मा ‘प्रजातन्त्र’ को घोषणा भयो, त्यसपछि भने अनौठो तवरले रैथानेहरूको कमसेकम तेह्र शताब्दी लामो सार्वजनिक खुला जमिन शासकीय मनोमानीको खेलमैदानमा परिणत हुन थाल्यो । विसं २००७ सालपछि खुला समाजमा प्रवेश गरेका नागरिकहरूको खुला सम्पत्ति टुँडिखेलमा सत्ताको हस्तक्षेप तीव्र हुन थालेको देखिन्छ । राजाको जन्मोत्सव, अन्य पर्वहरूमा दिइने सलामी छाउनीबाट भइरहेकोमा त्रिभुवनले टुँडिखेलबाट दिने प्रचलनको थालनी गरे ।


रंगशालाको निर्माण २०१३ सालमा महेन्द्रको राज्याभिषेक अघि सुरु गरिएको थियो । महेन्द्रको राज्याभिषेकमा खेल आयोजना गर्न रंगशाला नभएपछि दुई महिना समय लगाएर किरणशमशेरको नेतृत्वमा सानो टुँडिखेल र स्थानीयहरूले प्रयोग गर्ने गरेको घाटसमेत सम्याएर रंगशाला बनाइएको थियो । विसं २०२४ सालमा उक्त रंगशालाको नाम दशरथ रंगशाला राखियो । विसं २०२० सालमा महेन्द्रको आदेशमा रंगशालाले पाएको २ सय रोपनी जमिन २०३७ सालमा खेलकुद परिषद्को नाममा आउँदा घटेर १ सय ३२ रोपनीमा सीमित भइसकेको थियो । त्यो बीचको जमिन कति सैनिक मुख्यालयले अधिग्रहण गर्‍यो र कति बालुवाटारको शैलीमा हडपियो, खोजबिन जरुरी छ ।


विसं २०१६ सालमा सहिद स्मारक ढोका (सहिदगेट) बनाउन टुँडिखेल टुक्र्याइयो । बन्दुक राख्ने टहरा भत्काएर दूर सञ्चार कार्यलय भवन बनाइयो । खरीको बोट हटाएर टुँडिखेलको झन्डै एक चौथाइ जमिन आगटेर सैनिक मञ्च/मैदान र त्यसको पछाडिको भागमा खुलामञ्च बनाइयो । ती दुईको बीचमा पैदल बाटो हालियो । खुलामञ्चको उत्तरपट्टि रहेको बाटुले चौतारो (बाहिरबाट आएकाहरू बास बस्ने ठाउँ) मासेर महेन्द्रले आफ्नी पत्नी रत्नको सालिक राखेर फूलबारी र पोखरी भएको पार्क विसं २०२० सालमा निर्माण गराए । महेन्द्रको पालामा महेन्द्र संरक्षित विष्णुमणि (?) ले टुँडिखेलको खरीको रूख र उपत्यकाकै ठूलोमा गनिने फोहरा दरबारभित्रको मसलाको रूख कटाएर बेचिदिएका थिए (पुरुषोत्तमशमशेर–भएका र गुज्रेका घटनाहरू, पृ ७०) । त्यही खरीको रूख काटिएपछि महेन्द्रले खरीको रूखबाट हुने शाही घोषणाको प्रचलनलाई बन्द गराए । सैनिक उत्सव मनाउन र विदेशी पाहुना स्वागत गर्न खरीबोट भएकै ठाउँमा ‘सैनिक मञ्च’ बन्यो (श्रेष्ठ, उही) । सानो टुँडिखेलमाथिको ढिस्को च्यापेर सैनिक मुख्यालय बन्यो ।

परिणाम
छाडा र निस्फिक्री चल्नेहरूलाई ‘टुँडिखेलको साँढे’ भन्ने गरिएको पाइन्छ । केशरशमशेरले तत्कालीन युवराज हिमालय र बसुन्धरालाई ‘टुँडिखेलको साँढे’ भनेका थिए (जबरा, पुरुषोत्तमशमशेर–सम्झेका र सुनेका कुरा, पृ १३) । त्यसको अर्थ हुन्थ्यो— अरूको दकसमा रहनु नपर्ने, खुला तवरले उफ्रन पाउने, विचरण गर्न पाउने टुँडिखेलको छाडा साँढेजस्तो । तर, आज ‘सत्ता संरक्षित साँढे’ हरूले टुँडिखेललाई कमिलाले मन फुकाएर हिँड्न पनि नपाउने गरी कोलाहलमय बनाइदिएका छन् । टहरा, बसपार्क, सैनिक मञ्च, रंगशाला, सैनिक मुख्यालय, टेलिकम, वागदरबार, सञ्चयकोष (काठमाडौं मल), रानीपोखरी, दरबार हाइस्कुल, विद्युत् प्राधिकरण, वायुसेवा निगम भवन, त्यस असपास रहेका अन्य भवनहरूसमेत गरेर टुँडिखेल पूर्ण तवरले अतिक्रमणको चपेटामा परिसकेको छ ।


टुँडिखेल झन्डै सात दशकदेखि स्वतन्त्रताको आन्दोलनको एउटा साक्षी र हिस्साको रूपमा समेत रहँदै आयो । राणाशासनकालमै हिम्मतिला नेपाली महिलाहरू साहना प्रधानलगायतले राणाहरूलाई कालो झन्डा देखाएको ठाउँ त्यही टुँडिखेल थियो । महेन्द्रले प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरंकुशता लादेपछि महेन्द्रको विरोध भएको पहिलो ठाउँ पनि टुँडिखेलकै चौघेरा थियो । पञ्चायतविरुद्ध मत माग्न र ०४६ सालको जनान्दोलनको उत्कर्ष सभा त्यही टुँडिखेलको एउटा हिस्सा खुलामञ्चमा भएको थियो । २०४६ सालपछि खुलामञ्चलाई सहिद मञ्च नामकरण गरिएको थियो (न्यौपाने, दामोदर–ठेकेदारको कब्जामा खुलामञ्च, महानगरपालिका मूकदर्शक, कान्तिपुर, ११ वैशाख, २०७६) ।


२०४६ सालपछिका सत्तामा रहेका र विपक्षमा रहेकाहरूको सबैभन्दा पहिलो भरोसा थियो खुलामञ्च । लडाइँमा हिँडेकाहरूदेखि शान्तिको दीप बाल्नेहरू, सबैको रोजाइ थियो खुलामञ्च । ज्ञानेन्द्रले सत्ता लिएपछि सत्ताविमुख भएका दलहरूको रोजगारी त झन् खुलामञ्चदेखि खुलामञ्चसम्म, रत्नपार्कदेखि रत्नपार्कसम्म भएको थियो । त्यही टुँडिखेल चौघेराको आन्दोलनले कैयन पटक सत्ता ढल्यो र कैयनको सत्ताको रोटी सेकियो ।


तर, विडम्बना, तिनै खुलामञ्चले उतारेकाहरूले सत्तामा पुगेपछि पालैपालो चक्र मिलाएर खुलामञ्चलाई पाइलो राख्ने ठाउँ पनि नरहने गरी सिध्याइदिए । महानगर र त्यसका लोभी कर्मचारीलाई मोहरा बनाएर खुलामञ्च सिध्याउनेहरूमा तिनै छन्, जो आज सत्ता र विपक्षमा बसेर आफ्नो स्वार्थको रोटी सेकिरहेका छन् । यसले उसलाई देखाउन जरुरी नै छैन । सामान्य व्यवस्थित बसपार्क चलाउन नसक्ने काठमाडौं महानगरपालिकाले भ्यू टावर र अन्डर ग्राउन्ड पार्किङको नाममा पुरानो बसपार्क र खुलामञ्च किन लथालिंग बनाएको रहेछ भन्ने रहस्य हालैको दिनमा खुलेको छ— कमिसनको घुमाउरो खेल । घुमाउरो तवरले नै सही, खुलामञ्च नै किनबेच गर्न सक्ने कत्रो आँट !


स्थानीय जनताको चरम दबाबपछि खुलामञ्चको केही सटर महानगरले भत्काए पनि केही सटर अझैं बाँकी देखिन्छ । सत्तारूढ धनकुबेर नेताहरूको हिस्सेदारी नभएकाले खुलामञ्चको टहरोको केही हिस्सा भत्काई पनि खुलामञ्च कहिले खुला हुन्छ भन्ने काठमाडौं महानगरपालिकालाई नै मेसो छैन । रैथानेहरूले कमसेकम १४ शताब्दीदेखि सार्वजनिक उपयोग गरिरहेको टुँडिखेल समयक्रममा शासकीय मनोमानीको खेलमा परेर आज केही हात जमिनमा पनि स्थानीयहरू जम्मा भएर कुनै उत्सव मनाउन सक्ने अवस्थामा छैन । टुँडिखेलको विशाल हिस्सा फौजीकरण भएको छ । सार्वजनिक जमिनलाई सरकारी ठानेर शासकहरूले गरेको मनोमानीले स्थानीयहरूको तलवितलको, परम्परा र संस्कृतिको एउटा प्रमुख अधार हेर्दाहेर्दै मनोमानीको खेलमैदान बनेर रैथानेहरूबाट खोसिएको छ ।
Twitter: @gaunkomanchhey प्रकाशित : वैशाख २१, २०७६ १०:०२

प्रतिक्रिया
पठाउनुहोस्

के छ मुकारुङ, सोलुखुम्बुतिर ? 

मोहन कोइरालाको सामिप्यमा
प्रयोगवादी र दुरूह कविको उपमा पाएका मोहन कोइरालालाई दुई दशकको संगतमा श्रवण मुकारुङले भने बेग्लै पाए– मान्छेको मन र व्यथा बुझ्न सक्ने !
श्रवण मुकारुङ

विष्णुविभु घिमिरे ‘गरिमा’ पत्रिकाको सम्पादक हुनुहुन्थ्यो  । हामी केही युवाकवि कवितासहित ललितपुरस्थित पत्रिकाको कार्यालय पुग्यौं  । विभु दाइसित चिया पिउँदै गफिइरहेका बेला एक युवा त्यहाँ आइपुगे । दाइले के गर्दै छौ भाइ ? पढाइ कहाँ पुर्‍यायौ ? भनेर सोध्नुभयो ।

‘मोहन कोइरालामाथि थेसिस लेख्दै छु सर !’ ती युवाले जवाफ दिए । केहीछिन् गम खाएर दाइले सोध्नुभयो, ‘सक्छौ त ?’ मुख अमिलो पार्दै उनले भने, ‘खोइ हेरूँ सर, बूढा असाध्यै चाम्रा रहेछन्, कुरा खोल्दै खोल्दैनन्, हत्तु भइसकें ।’


यति भनेर ती युवा निस्किए । तिनले साझा प्रकाशनको गेट काटेपछि विभु दाइले हामीतिर फर्केर भन्नुभो, ‘मोहन कोइरालामाथि जोकोहीले थेसिस लेख्न सक्छ ? एमए नगरी बिचरा यो निरीह प्राणीको जुनी जाने भो । लमजुङको भाइ हो, बरु माधव घिमिरेको जीवनी लेख्नु, जागिर खानु ।’ दाइका कुरा केही बुझेर, केही नबुझेर हामी वाल्ल पर्‍यौं । मैले यो प्रसङ्ग किन उल्लेख गरें भने सङ्ख्यात्मक एवं गुणात्मक दुवै हिसाबले महाकवि लक्ष्मीप्रसाद देवकोटाकै हाराहारीका प्रतीभा मोहन कोइरालामाथि लेख्नु यसकारण चुनौतीपूर्ण हुन्छ, कि उहाँका रचनाहरूको बहुआयाम वा विस्तारित रूपलाई पर्गेल्न समय लाग्छ । एउटा दृढता चाहिन्छ । नत्र, एक छेउ समायो अर्को छेउ बाँकी रहन्छ ।


बाइबलमा राजा जेम्सको एउटा घतलाग्दो भनाइ छ, ‘जज नट्, द्याट वी बी नट् जज्ड् ।’ अर्थात् ‘अरूलाई परीक्षण गर्न नखोज, ताकि त्यसरी परीक्षण गर्दा तिम्रो आफ्नै परीक्षा होला ।’ त्यसैले म यहाँ मोहन कोइरालाको काव्यकारिताका बारेमा नभई केवल उहाँसित मैले संगत गरेका ती भव्य तर महँगा दिनहरूलाई सम्झिन्छु । सङ्गतबारे नेपाली समाजमा मूलतः दुईवटा लोकोक्ति प्रचलित छन् । ‘सङ्गत गुनाको फल’ र ‘ठूलाको सङ्गत गरे गुहापान, सानाको सङ्गत गरे नाककान ।’ आजको समयमा यी उक्तिहरू राजनीतिक रूपले बेठीक वा असान्दर्भिकजस्तो लागे पनि मोहन दाइसित मैले गर्न पाएको सङ्गतले भने मलाई गुहापान मिल्यो । यद्यपि यो कुरा सङ्गतकर्ताको घ्राणशक्तिमा भर पर्ने होला । नत्र त, नाथुराम गोडसेले महात्मा गान्धीको सङ्गत गरेको थियो । विश्वेश्वरको सङ्गत गर्नेहरू आज यसरी ‘हिन्दु राष्ट्र पाऊँ परमेश्वर !’ भन्दै आलापविलाप गरिहिँड्ने थिएनन् । पुष्पलालका सङ्गत गर्नेहरू आज यसरी जग्गा दलाल हुने थिएनन् ।


अमेरिकन कवि टीएस इलियटभन्दा चालीस वर्षपछि विसं १९८३ मङ्सिर ११ गते ठटुनिटी डिल्लीबजार, काठमाडौंमा माता मित्रप्रियाको कोखबाट जन्मिनुभएका आधुनिक नेपाली कविताका प्रयोगवादी धाराका प्रवर्तक कवि मोहन कोइरालासित लगभग त्यति नै वर्ष कान्छो, अझ सुदूरपूर्वी पहाडको गाउँमा जन्मिएको, उमेर अनुभव र ज्ञानले नाति पुस्ताको म बबुरोको भेट होला, यसरी सङ्गत गर्न पाइएला, कल्पनाभन्दा बाहिरको कुरा थियो, तर सम्भव भयो ।

पहिलो भेट
म भोजपुरबाट उच्च शिक्षा हासिल गर्न काठमाडौं आएको पनि आधा दर्जन वर्ष बितिसकेको थियो । यस समयमा मैले कवि हुन केही सानाठूला सभा–समारोहका अग्ला–होचा मञ्चहरूको उपयोग र भलासङ्गतहरू गर्न भ्याइसकेको थिएँ । तर खोइ के कारणले हो, पाठ्य पुस्तकमै पढेका कवि मोहन कोइरालासित भेट्ने अवसर भने जुरेको थिएन । विसं २०४८ सालको कुनै स्वर्णिम दिन मलाई यो अवसर प्राप्त भयो । त्यस दिन वाल्मीकि क्याम्पसका विद्यार्थीहरूले आयोजना गरेको काव्य गोष्ठीमा कविता सुनाउन म पनि त्यहाँ पुगेको थिएँ । संयोगले यही गोष्ठीको प्रमुख अतिथि बनेर मञ्चको अग्रभागमा विराजमान कवि मोहन कोइरालालाई मैले पहिलोपल्ट देख्ने अवसर पाएँ । अहो ! कस्तो शालीन तर विचित्रको व्यक्तित्व ? म आश्चर्यचकित भएँ । मैले यसअघि ‘फर्सीको जरा’ कविता पढेर बनाएको त्यसको जराजस्तै जेलिएको उहाँको विम्ब एकपलमै भत्कियो । मभित्र तुरुन्तै, कुनै दर्शनशास्त्रको पुरानो पुस्तकमा अनाम चित्रकारले कोरेको सुकरातको दुब्लो अनुहारचित्रजस्तो उहाँको नयाँ विम्ब तयार भयो ।
कवितावाचन सुरु भयो । मैले महाभारतका कृष्णलाई महिलामाथि अत्याचार गर्ने आजको व्यभिचारी पुरुष (लोग्ने) को प्रतीक बनाएर लेखेको ‘मेरी आमा’ शीर्षकको कविता सुनाएँ । अरू लगभग तीन दर्जन कविहरूले पनि आ–आफ्ना रचना सुनाए । अन्तमा मोहन दाइले अत्यन्तै संक्षिप्त मन्तव्य राख्दै कविता सुनाउनुभयो । अर्मूतझैं लाग्ने उहाँको उक्त मन्तव्य र कविता मैले आधा मात्र बुझेँ ।

न त मेरो जीवन कसैको घोषणापत्रको फैसला हुन सक्छ
न त मेरो जीवन राजनीतिक मस्यौदाको आधार लिएको बेहोरा हुन सक्छ
समाजवादको अन्तिम निर्णय पनि मलाई छुने अन्तिम सालिक हुन सक्दैन
न त पंँजीवादको कङ्काल नै मेरो अन्तिम संस्कार हुन सक्छ
मेरो जीवन रातो रगतसित मिसिएको चेतनाको गाढा थोप्ला हो
(चिन्तनबाट)

गोष्ठी सकियो । तर त्यहाँ भलाकुसारी गर्ने वातावरण बनेन । युवाकवि र विद्यार्थीहरूका हूलले घेरिनुभएका कविजीलाई हूलकै एक छेउबाट नमस्कार गरिराखेर म हिँडेँ । साँझ कोठा पुगेर एक्लै फेरि उहाँलाई सम्झेँ, अहो ! मेरो मस्तिष्कमा मोहन दाइको फेरि अर्को विम्ब तयार भैसकेछ । चित्रकार पाब्लो पिकासोको वन लाइन स्केचको कुनै महत्त्वाकांक्षी तर विश्वयुद्धले थाकेको प्रौढ युरोपियनजस्तो, जो आफ्नो गहिरो तर दिशाहीन सपनामा रुमलिरहेछ । मानौं, उहाँभित्रको कविलाई आफैंले ल्याएको २०४६ सालको परिवर्तन पनि अपुरो लाग्न थालेको छ । भ्रम सही, माथि उल्लिखित कविताले मलाई पारेको प्रभावको प्रतिक्रिया हुन सक्छ यो तेस्रो विम्ब । कवितामा पुँजीवाद र समाजवादभन्दा अझ परको जीवनजगत्को सङ्केत छ । छटपटी छ । हुङ्कार छ ।

दोस्रो भेट
पहिलो भेटको केही दिनपछि बिहान सधैंझैं क्याम्पस जाँदै थिएँ म । पुतलीसडकपछाडि न्युप्लाजाको उकालो, अहिले सर्वनाम थिएटर भएको ओरालोको खुट्किलो के ओर्लिन खोज्दै थिएँ, कविजी कतै पुगेर त्यही खुट्किलोको पुछार टेक्दै उक्लिरहनुभएको मैले माथिबाटै देखेँ । म रोकिएँ र उहँाँ नजिक आइनपुग्दै ‘नमस्कार हजुर’ भनेँ । मेरो सम्बोधनले कविजी साढे चार सिंढी तलै रोकिएर मलाई पुलुक्क हेर्नुभो । उहाँ अल्मलिनुभएको देखेर मैले फेरि नमस्कार गरेँ । बल्ल दाहिने हातको चोर औँलाले मेरो अनुहार ताक्दै सोध्नुभो, ‘अस्ति... कविता सुनाएको होइन... ?’


अप्ठ्यारो चालमा दुई खुट्किलो ओर्लिंदै मैले ‘हो हजुर’ भनेँ । त्यसपछि दुवै हात कम्मरमा राखेर उहाँले तलैबाट सोध्नुभो, ‘नाम के रे ?’ मैले आफ्नो नाम भनेँ । उहाँले नबुझेर फेरि सोध्नुभो, मैले फेरि दोहोर्‍याएँ । उहाँले ‘घर कहाँ हो ?’ भन्नुभो, मैले ‘भोजपुर’ भनेँ । के गर्छौ भनेर सोध्नुभो, मैले पढ्दै छु भनेँ । त्यसपछि उहाँ केही छिन आफैंभित्र हराएझैं हुनुभो र फेरि सोध्नुभो, ‘कतै जागिरसागिर पनि छ कि ?’ मैले विस्मय भरिएको स्वरमा ‘छैन हजुर !’ भनेँ । उहाँ फेरि अघिझैं कतै हराउनुभो ।


मैले उहाँको डुलिरहेको आँखा, मन र निस्कन खोजिरहेको शब्दलाई कुरिरहेँ । उहाँले मलाई बिस्तारै तलदेखि माथिसम्म हेर्नुभो । सायद मेरो सक्कल र पहिरनमा यो देशको लाखौँ युवाहरूको तीतो यथार्थ बेरोजगारी र सम्भावना छरपस्ट लत्पतिएको देख्नुभो कि ? फ्याट्ट बोल्नुभो, ‘जागिर पाए गर्छौ ?’ मेरो सातो उड्यो । एकाएक मुटुको चाल तीव्र भो । उहाँको मुखारविन्दबाट निस्केको यो वाक्य पहाडको कुनै कन्दरामा ठोकिएर परावर्तन भइरहेको मधुर लोकगीतझैँ मेरा कानमा गुन्जिरह्यो । म हर्ष र आश्चर्यले बोल्नै नसक्ने भएँ ।


उहाँले फेरि सोध्नुभो, ‘हँ ? गर्छौ काम ?’
भित्रभित्रै थर्थरी काँप्दै मैले उत्तर दिएँ, ‘पाए त गर्थेँ नि हजुर !’ त्यसपछि उहाँले आफ्नो दाहिने हातको साँहिली औंलाका धर्काहरू गन्दै भन्नुभो, ‘त्यसोभए भोलि... पर्सि ... निकोर्सि आइतबार दस बजे एकेडेमी आउनू !’ मैले हुन्छ हजुर भन्दै शिर झुकाएँ । कविजी उकालो लाग्नुभो । उहाँ दृृश्यबाट छेलिनुभएपछि मैले आफ्नो बाँसझैँ झुकेको शरीरलाई ठीक अवस्थामा ल्याई क्याम्पसतिर दौडिएँ ।


अहो ! त्यो सुनौलो आइतबार पर्खन मलाई युग बिताउनु बराबर भयो । बल्लतल्ल आइपुग्यो आइतबार । यसअघि कुनै अछूतले मन्दिर हेरेझैँ मैले हेर्ने गरेको एकेडेमीमा म पुगेँ । बिरालोको चालले ढोका खोल्दै म उहाँको कार्यकक्षमा प्रवेश गरँेँ र केही लेखिरहनुभएका उहाँलाई साविककै शैलीमा नमस्कार गरेँ । आधा हेरेर उहाँले मलाई च्युँडोले बस्ने सङ्केत गर्नुभो र पुनः लेख्न थाल्नुभो । म नजिकैको सोफामा टुसुक्क बसेँ । मलाई नहेरी उहाँले फेरि सोध्नुभो, ‘नाम के रे ?’ मेरो मुटु चसक्क चस्कियो, हत्तपत्त आफ्नो नाम भनेँ । तब लेख्न छोडेर मुस्कानसहित मतिर आँखा फार्दै बोल्नुभो, ‘के हो यो मुकारुङ भनेको ? शेर्पा हो ?’ मैले ‘किरात राई हो हजुर !’ भनेँ ।


उहाँले फेरि घर कहाँ हो भनेर सोध्नुभो, मैले फेरि उत्तर दिएँ । उहाँले अचानक ‘अस्ति त सोलुखुम्बु भनेका होइनौ र ?’ भन्नुभो । मैले ‘होइन सर’ भनेँ । यस्तै प्रश्नोत्तरका बीच उहाँले टेबुलको बेल थिच्नुभो र अघि लेख्नुभएको कागज अफिसका कर्मचारीलाई दिनुभो । त्यही दिन मैले उहाँको सहयोगीको रूपमा काम गर्ने अस्थायी नियुक्तिपत्र पाएँ । तब मलाई थाहा भो, उहाँ एकेडेमीको काव्य विभाग प्रमुख हुनुहुँदो रहेछ । मेरो दैनिकी सुरु भो ।

कहतारो लिएर हिंड्यो भने चिन्नेहरूले उसलाई गाइने भन्छन्
सारङ्गी लिएर किन नहिंडोस् तर उसलाई माग्ने भन्छन्
गीतका पत्र कालीमाटीका पत्रजस्तै उसको छातीमा नअटाई डढेको छ
रीतका पत्र उसको हातबाट सारङ्गीजस्तै रेटिएको छ
हाम्रो कानबाट र्‍याकिएको, हाम्रो हातबाट र्‍याँकिएको
रिकार्डको टुक्रो बनेर अहिले उसको ओठ
सडकको अलकत्रामा फट्फटिरहेछ
तातो न चिसोको यो सिरेटोमा
गाइने साइँलालाई त्यसै जाडो–जाडो लागेको छ ।
(सारङ्गीबाट)

२००७ सालको क्रान्तिचेतनाले बीजारोपित लोकतन्त्रका हिमायती कवि मोहन कोइरालासित पुगनपुग तीन वर्ष प्रज्ञा प्रतिष्ठानमा मैले सङ्गत गर्ने अवसर पाएँ । यही समय मैले उहाँका रचनाहरूको गहिरो अध्ययन मात्रै गरिनँ, उहाँको पारिवारिक जीवन, अभाव, दुःख र संघर्षका पाटाहरूसित पनि परिचित भएँ । उहाँले भोग्नुभएको श्रमिकको सामान्य जीवनदेखि झेल्नुभएका राजनीतिक एवं साहित्यिक यात्रा कति चुनौतीपूर्ण र पीडादायी थिए, यही समय मैले थाहा पाएँ । यस्तो थाहा पाएपछि झन् मभित्र उहाँप्रति श्रद्वाको हिँउचुली चुलियो । वास्तवमा, उहाँसितको काव्यिक सङ्गतपछि नै मैले नेपाली गद्य (मुक्त छन्द) का कविताको बृहत्तर आयाम, त्यसको शक्ति वा फैलावटलाई राम्ररी बुझ्ने मौका पाएँ । जसलाई एकथरी परम्परावादी आलोचकहरू पूर्वाग्रहबस् कविताको भाषा बिगारेको, दुरूह र निम्न कोटिको कविता लेख्नेसमेत भन्ने धृष्टता गर्थे । तर उहाँ भने यी सब कुरालाई धाराकुवाको कुरा ठान्दै कवितामा नवीन शैली र सम्भावनाहरूको प्रयोग गरिरहनुहुन्थ्यो ।


वामपन्थी राजनीति र सांस्कृतिक चेतनाको कट्मेरो प्रभाव बोकेर राजधानी छिरेको मेरा लागि गोपालप्रसाद रिमाल र भूपि शेरचन विकल्पहीन कवि थिए । तर एक ऊर्जाशील कविले कसरी, कुन हदसम्म आफ्नो काव्यको भाषालाई चलायमान, विषयको कोलाजमय विविधता र कल्पनाको अकल्पनीय उडान भर्न सक्छ ? सृजनकर्ममा विकल्पहरू यत्रतत्र सर्वत्र हुन्छन् भन्ने तत्त्वज्ञान मैले मोहन कोइरालाबाटै पाएँ । यसरी मेरो लेखनमा पनि उहाँको प्रभाव पर्‍यो । यहीबेला मैले प्रयोगपरक अमूर्त शैलीका, विषय र विम्बहरूको घनत्व भएका केही कविताहरू लेख्ने प्रयास गरेँ । लेखनमा मात्रै होइन, थाहै नपाई उहाँको बोल्ने, हिंड्ने शैलीको समेत ममा प्रभाव पर्‍यो । कतिपय साथीहरूले त मलाई मुखै फोरेर भने, ‘तिमीले बोलेको बुझ्नै छोडियो यार !’ धेरै सोच्ने र लेख्नेहरू थोरै बोल्छन् क्यार, मोहन कोइराला पनि अल्पभाषी हुनुहुन्थ्यो । सायद मलाई उहाँको त्यही गुणको प्रभाव परेको थियो ।


जति बेला उहाँका चर्चित लामा कविताहरू– सूर्यदान, लेक, ऋतु निमन्त्रण र गरलपान, नीलो मह, नदी किनाराका माझी, गंगा प्रवास, एउटा पपलरको पात, सिमसारका राजदूत, त्यस्तै संरचनागत छोटा तर प्रसिद्ध कविताहरू जाँदाजाँदै सम्झेर, देशको परिचय, म सम्झन्छु, कार्टुनको सहर, घाइते युग, आधुनिक नेपालको क्लथ हिस्की, आमालाई बाँच्न दे, म तिम्री छोरीलाई प्रेम गर्छु, चिन्तन, सारङ्गी बोकेको समुद्र, हिमचुली रक्तिम छ, हिमाली चरीको फुल, सारङ्गी, फर्सीको जरा आदिको लती भइसकेको थिएँ । यीमध्ये कति कविताका सुक्तिमय अनुच्छेदहरू म कण्ठस्थ भन्न सक्थेँ ।


आफू बाँचेको युगको विसंगतिपूर्णर् यथार्थलाई नाटकीय शैलीमा लेखिएको ‘घाइते युग’ कविता होस् कि मानवीय अस्तित्वको प्रतीकात्मक ढंगले चित्रण गरिएको कविता (फर्सी . मानिस, जरा . अस्तित्व, फर्सीको जरा . मानवीय अस्तित्व) ‘फर्सीको जरा’ होस् । अथवा आजको पर्यावरणीय चेतनालाई उतिबेलै सम्बोधन गरिएको लामो कविता ‘सिमसारका राजदूत’ होस् कि मान्छे र प्रकृतिविचको अन्तर सम्बन्धलाई एउटा छुट्टै उचाइका साथ व्यक्त गरिएको कविता ‘लेक’ होस् । या, नारी उत्पीडन, प्रवासी नेपाली (डायस्पोरा) हरूका समस्या, आर्य संस्कृति र ईश्वरीय रहस्यमाथि लेखिएको ‘गंगा प्रवास’ कविता होस् कि मान्छेको जीववैज्ञानिक जन्मकथा र वासनापरक आदिमताको अनौठो चित्रण गरिएको ‘म सम्झन्छु’ कविता होस् । वा, ‘सारङ्गी’ र ‘नदी किनाराका माझी’ जस्ता सीमान्तीकृतहरूका आवाजलाई मुखरित गरिएका कविता हुन्, यी र यस्तै सृजनाहरूले नै आधुनिककालका तमाम कविहरूमध्ये मोहन कोइरालाको व्यक्तित्व विशेष भएको हो, जसलाई आजका कविहरूले नजरअन्दाज गर्‍यौँ भने सायद पुग्ने ठाउँ पहिल्याउन गार्‍हो हुनेछ ।


एकेडेमीमा मेरो खासै कामचाहिँ थिएन । मोहन दाइका सानातिना चिठीपत्रहरू ड्राफ गरिदिनु, ‘कविता’ भन्ने पत्रिकाका लागि नयाँ पुराना कविहरूसित रचना माग्नु र दाइलाई दिनमा एकपल्ट नमस्कार गर्नु, लगभग यति थियो मेरो काम । अहिले सम्झिन्छु उहाँले मलाई जागिर होइन, स्नेह दिनुभएको रहेछ । अभिभावकत्व ग्रहण गर्नुभएको रहेछ । एक जिम्मेवार पिताले पुत्रप्रति निर्वाह गर्नुपर्ने कर्तव्यजस्तो कर्तव्य निर्वाह गर्नुभएको रहेछ । म उहाँको आवश्यकताले जागिरे भएको होइनरहेछु । मेरो आवश्यकतालाई पो उहाँको कवि हृदयले बुझेको रहेछ । मेरो जीवनमा यो मीठो घटना त उहाँको महानताले पो भएको रहेछ । जेहोस् झन्डै तीन वर्षको त्यो एकेडेमी बसाइले मेरालागि भातपानी मात्रै जुटाएन, साहित्यिक
सङ्गत र साधनाको आयामलाई पनि फराकिलो पारिदियो ।

‘जब म तिम्री छोरीलाई प्रेम गर्छु
पसिनाको दाग र मुस्कानलाई प्रेम गर्छु
मिहिनेतले रङ्गिएको गालालाई प्रेम गर्छु
म त्यो केटीलाई प्रेम गर्छु–
जो भर्खर डल्याँठाले थाकेकी छ
चपरीले थाकेकी छ
बकाइनोको छायाँमा भर्खर अड्न लागेकी
बैंसको छायामा भर्खर पुग्न लागेकी
म तिम्रो कोपिलालाई प्रेम गर्छु
म त्यो केटीलाई प्रेम गर्छु ।’
(म तिम्री छोरीलाई प्रेम गर्छुबाट)


रहँदैबस्दै जाँदा केही समयको अन्तरालमै हामी हाकिम र कर्मचारी, बाजे पुस्ता र नाति पुस्ता वा अग्रज र अनुजबाट एकाएक साथीजस्ता भयौँ । यस्तो परिस्थितिको निर्माण मैले चाहेर हुने कुरै थिएन । यो सबै उहाँले नै सम्भव तुल्याउनुभएको थियो । यस्तो कसरी भयो त ? वास्तवमा मोहन कोइराला साँच्चिकै महान् कवि हुनुहुन्थ्यो । कविको महानताको प्रकटीकरणका रूपमा पनि म यस घटनालाई लिन्छु । त्यसैले कवि हुनु भनेको बुद्धत्व प्राप्त गर्ने प्रक्रियाभन्दा पनि महान प्रक्रिया ठान्छु म । मोहन दाइ त्यही प्रक्रियाबाट गज्रेपछि पुगिने अनन्त फैलिएको फाँट हुनुहुन्थ्यो, जहाँ मैले गुँडबाट भर्खर निस्केको बचेराझैँ स्वतन्त्रतापूर्वक पखेटा फट्फटाउने अवसर पाएँ ।


यसरी उहाँको मनपेट पाएपछि एक दिन मैले उहाँलाई यस्तो अस्वाभाविक प्रश्न गरेँ, ‘सर ! हजुरको कविता लेखनमा त टीएस इलियटको प्रभाव परेको छ भन्छन् नि ?’ मेरो यस्तो अप्रत्याशित प्रश्नमा पनि उहाँले कुनै प्रतिरोध नगरी फिस्स हाँस्दै जवाफ दिनुभो, ‘हुन सक्छ, होला ।’
म अवाक भएँ । केही छिनको मौनतापछि चियाको सुरुप लिँदै उहाँले सोध्नुभो, ‘मुकारुङ ! अरु के–के भन्छन् त मलाई ?’
मैले अप्ठ्यारो मान्दै फेरि भनें, ‘सरको कविता दुरूह भो रे, बुझिँदैन रे । जे पायो त्यही लेख्छ भन्छन् ।’
फेरि मुसुक्क मुस्कुराउँदै उहाँले भन्नुभो, ‘होला, हुन सक्छ । मलाई पनि कहिलेकाहीँ त्यस्तै लाग्छ ।’


म झन् अप्ठ्यारोमा परेँ । आफ्नै प्रश्नले अचानक बन्द कोठामा थुनिएको बिरालोभन्दा त्रसित मैले बाहिर निस्कन चोरबाटो खोजेँ, ‘तर सर ! वामपन्थी, प्रगतिशील भन्नेहरूले हजुरलाई यसो भन्छन् ।’ कविजी मलाई हेर्दै फेरि मुस्कुराउनुभो र उठ्दै उहाँले भन्नुभो, ‘भन्नेहरू के–के भन्छन् भन्छन्, लेखिरह्यौ भने तिमीलाई पनि पछि यसै भन्लान् । भन्नेहरूको पछि नलाग्नू ! लेख्न नछोड्नू, लेखिरहनू ! है ?’
त्यसपछि मोहन दाइ कतै कार्यक्रममा जान अफिसबाट बाहिर निस्किनुभो । बल्ल म पनि आफैंले सृजना गरेको भयबाट निस्किएँ । उहाँजस्तो कविलाई यतिसम्म सोध्ने मेरो हैसियत त थिएन तर सोधेँ । कहिलेकाहीँ आफ्ना कुरूप र मूर्खतापूर्ण प्रश्नहरूको पनि सुन्दर र सारपूर्ण उत्तरहरू प्राप्त हुन्छन् । जसले जीवनलाई गतिशील बनाउन मद्दत गर्छ । त्यसैले विद्वान्हरूले प्रश्न गर्न नछोड्नू भनेका होलान् । बुद्धलाई पनि तिनका शिष्यहरूले सोधेका सबै प्रश्नहरू कहाँ प्रश्न थिए होलान् र ?


भन्नेहरूले त रिमाललाई वाल्ट हिटम्यान, देवकोटालाई वर्डस्वर्थ, शेली, किट्स समलाई शेक्सपियर बीपीलाई चेखव, टोल्स्टोय, फ्राइड, मोपासाँका रचनाहरूको सक्कलबमोजिम नक्कल गर्ने पनि भन्छन् । के गर्नु भन्नेहरूको मुख थुन्न सकिन्न । तर साहित्यको सृजना त प्रभावबाटै प्रारम्भ हुने र आफ्नोपनको निर्माणपछि पूर्ण हुने विषय हो । यद्यपि मोहन कोइराला र टीएस इलियटमा भने केही समानताहरू थिएछन् । जस्तो कि यी दुवै लोकतन्त्र र मानवताका पक्षमा उभिँदै विश्व र समाजका विसंगतिहरूको घनीभूत चित्रण गर्ने विश्वसनीय आधुनिक प्रयोगवादी कविहरू थिए । त्यस्तै टीएस इलियटलाई अमेरिकी युरोपियन समाज र विश्वयुद्धको कुरूपताहरूले काव्यको भाषा दिएको थियो भने मोहन कोइरालालाई लोकतन्त्रको भोक, सामन्ती राजतन्त्र, निरंकुश राणाशासन र तिनका अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनहरूले । संयोग नै मान्नुपर्छ अरू अनेकौं गहन कविताहरू हुदाँहुँदै पनि टीएस इलियटलाई चिनाउने कविता ‘वेस्ट ल्यान्ड’ बन्यो भने मोहन कोइरालालाई चिनाउने कविता ‘फर्सीको जरा’ भयो । यी दुवै कविताले मानिसका निराशा, कुण्ठा र विरोधाभासहरूबीच मानवीय अस्तित्वको वकालत गर्छन् ।


‘लाटीले घुमाएको जाँतोमा पालो छोडेर वर्तमान दौडेको छ
कानो गोरुको हरियो चौरमा निम्त्याएर वर्तमान फर्केको छ
चट्टानले मिचेको अँगेनोमा रोटी पोलेर वर्तमान लम्केको छ
छकिनबाट घटाउ गर अनन्त घट्टको तावा मात्र हो
काट, भोज गर बितेको भुङ्ग्रे रोटी मसाने टेबिलमा
किनकि अनन्तले हामीलाई छली चीलझैं झम्टा मार्छ ।’
(फर्सीको जराबाट)


तात्क्षणिक अनुभूति र अवचेतन मनका भावहरूलाई चेतन प्रवाह (अन्कन्सियस्नेस्) शैलीमा प्रतीकात्मक ढंगले व्यक्त गर्ने विसंगतिवोध र अस्तित्ववादी चिन्तन धाराका कवि मोहन कोइराला कतिपय सन्दर्भमा उहाँका आफ्ना कविताहरूजस्तै जटिल र दुरूह लाग्थे । कहिलेकाहीँ त म उहाँको कुरै बुझ्दिनथेँ । नबुझेको त्यो कुरा बुझ्न फेरि सोध्दा उहाँ अर्कै कुरामा प्रवेश गरिसक्नुभएको हुन्थ्यो । उहाँको यस्तो स्वभाव यौटा इमानदार सहयोगीका लागि निकै अप्ठ्यारो विषय हो । त्यसैले काम गर्दा कतिपय सन्दर्भमा त म उहाँसित कायलै हुन्थेँ ।


उहाँसित अर्को यस्तो अनुभव पनि मेरो छ— एकेडेमीभित्र बाहिर पुगनपुग दुई दशक सङ्गत गरेँ हुँला । तर प्रत्येक भेटमा उहाँले मलाई सोध्ने एउटै प्रश्न हुन्थ्यो, ‘के छ मुकारुङ सोलुखुम्बुतिर ? ठीक छ ?’ यो प्रश्नको उही उत्तर दिँदा–दिँदा सधैँ हैरान हुन्थेँ म । सायद उहाँले मलाई मेरो उत्तरभन्दा गहिरो गरी सोलुको शेर्पा सम्झिनुहुन्थ्यो । तर फेरि यस्तै भ्रमबीच मप्रति उहाँको माया र स्नेह भने कस्तो... ? त्यो त अवर्णनीय नै थियो । एकपल्ट उहाँकै काव्य विभागअन्तर्गत एकेडेमी र एक साहित्यिक संस्थाको सहकार्यमा कार्यक्रम गर्न हामी चितवन गर्‍यौं । गैंडाकोटमा भव्य कार्यक्रम भयो । साँझ त्यहाँका तत्कालीन सांसद सूर्यभक्त अधिकारीले कवि, लेखकहरूलाई क्याम्फायरसहितको पार्टी दिने भए । तर ऊक्त कार्यत्रम सुरु हुनुअघि नै मित्र, कवि खुमनारायण पौडेलले हामी केही साथीहरूलाई चितवनको तास खुवाउन बजार लगे । फर्किदा कार्यक्रम निकै अघि बढिसकेको रहेछ । तर मोहन दाइ भने त्यतिबेलासम्म पनि हातमा पोलेको खसीको मासुको एउटा ठूलै टुक्रा बोकेर मलाई धुइँधुइँती खोजिरहनुभएको रहेछ । उहाँको पछि लागेर अरू केही कविहरू पनि हामीलाई खोजिरहेका रहेछन् । अहिलेजस्तो त्यतिबेला मोबाइल थिएन । यदि मोबाइल भएको भए पक्कै फोन गर्नुहुन्थ्यो होला ।


हामी पुग्नासाथ रिसाएर, कहाँ बेपत्ता भएको भन्दै मोहन दाइले उक्त पोलेको मासु मेरो हातमा थमाइदिनुभयो । कुनै आमाले आफ्नो अबोध बच्चालाई वा कुनै केटाकेटीले आफ्नी आमालाई गर्नेजस्तो स्नेह मोहन दाइले मलाई गर्नुभएको देखेर खुमनारायणजी र अरू साथीहरू हेरेका हेरै भए । सायद कवि हृदयको स्नेहको अभिव्यक्तिको शैली नै यस्तो हुनेहोला । मासु त सेलाएर चिसो भैसकेको थियो, तर उहाँको स्नेहको यो प्रतीकात्मक अभिव्यक्तिले भने म निथ्रुक्क भिजेँ । दाइले सोलुको शेर्पा भोजपुरको राई जे सम्झे पनि आखिर मलाई खोज्नुभो, एउटा मानिसलाई खोज्नुभो । मानिसलाई अनन्तसम्म खोजिरहने प्रक्रिया नै कविता हो । सायद ममाथि यसरी स्नेह खन्याएर दाइले फेरि एउटा नयाँ कविता खोज्नुभएको थियो ।


यही समय मोहन दाइले सम्माल्नुभएको काब्य विभागबाट ‘आजका नेपाली कविता’ नामक गन्थ्र प्रकाशित भयो । ग्रन्थमा क–कसका कविता परे, क–कसका परेनन् तर उक्त ग्रन्थको वामपन्थी खेमाका कविहरूबाट चर्को विरोध भयो । यतिसम्म कि विरोध गर्नेहरूले मोहन दाइलाई कालो मोसो दल्ने र एकेडेमीकै परिसरमा कृति जलाउनेसम्मको धम्की दिइएको हल्ला साहित्यिक बजारमा फैलियो । भोलिपल्ट दिउँसो एकेडेमीको परिसरमा एक हूल कवि, लेखकहरू जम्मा भएको मैले देखेँ । सायद उहाँहरू मोहन कोइराला कार्यकक्षबाट बाहिर निस्केलान् र मोसो दलौंला भन्ने योजनामा हुनुहुँदो हो वा साङ्केतिक विरोध मात्रै त्यो थियो तर त्यस दिन सुइँको पाएरै हो कि मोहन दाइ भने अघि नै घर गइसक्नुभएको थियो । ढोकामा अचानक मलाई देखेर हूलबाट कसैले भन्यो, ‘खोदा पहाड निकला चुहा !’ हूलले एक फेर ठूलो हाँसो हाँस्यो । परैबाट हेरेको हुनाले मैले कसैलाई पनि प्रस्ट चिनिनँ । आदरणीय कविहरू विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, नारायण ढकाल, गोविन्द गिरि ‘प्रेरणा’ हरू हुन् कि जस्तो धमिलो विम्ब मात्रै सम्झना हुन्छ । त्यसपछि मोहन दाइको व्यंग्यमिश्रित भनाइ आयो, ‘एकेडेमीमा काम गरे विवादमा परिन्छ, त्यसैले केही नगरी बस्नु राम्रो ।’ तर दाइले आफ्नो काम गर्न भने कहिल्यै छोड्नुभएन ।


मोहन कोइराला लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहने कवि भए पनि इतर विचार वा आस्था राख्ने स्रष्टाहरूप्रति कहिल्यै पूर्वाग्रह राख्नुहुन्नथ्यो । बरु उल्टै उच्च सम्मान, अगाध स्नेह गर्नुहुन्थ्यो । तर उहाँलाई कांग्रेसी कवि, गुटगत हिंड्ने कवि भनेर पनि आक्षेप लगाइन्थ्यो । पाँच वर्षको उहाँको कार्यकाल सकिएपछि मोहन दाइसितै मैले पनि एकेडेमी छोड्नुपर्‍यो । केही समयपछि फेरि बैरागी काइँलाले बोलाउनुभो, केही समय काँल्दाइको विभागमा अल्झिएँ, अडिन सकिनँ बाहिरिएँ । मोहन कोइराला कवि भएकै कारणले तीन पटक प्रज्ञा प्रतिष्ठानमा पुग्नुभयो । विसं २०३५ र २०४६ मा परिषद् सदस्य र २०५६ मा उपकुलपति हुनुभयो । एउटा कविका लागि यो भव्य शासकीय यात्रा हो । त्यस्तै, विश्वविद्यालयहरूमा उहाँका कविताहरू विशेष रूपले पढाइए, अहिले पनि पढाइन्छन् । तर साहित्यका आम पाठकबीच वा नेपाली समाजको चेतनाको कुन तहसम्म उहाँका रचनाहरू सम्प्रेषित भए ? कि बौद्धिक समुदायको एउटा सीमाभित्र मात्रै यो रह्यो ? मलाई लाग्छ— उहाँको काब्यको ध्वनि र शिल्पकारितालाई बुझ्न सायद हाम्रो समाज अझै तयार भइसकेको छैन । तर कवि रिमालले भनेझैँ त्यो दिन अवश्य आउने छ । र, हाम्रा नेताहरूले सस्तो उखानटुक्का होइन, मोहन कोइरालाको काब्यमा व्यञ्जित सुक्तिमय पदहरू सुनाउँदै हामीसित भोट माग्नेछन् ।


अन्तिम भेट
विसं २०६२ साउन ८ गते बानेश्वरस्थित आरोहण गुरुकुल थियटरमा मेरो एकल कविता वाचन कार्यक्रम आयोजना हुने भयो । निम्ता भन्न म उहाँको मैतिदेवीस्थित निवासमा पुगेँ । केही थाकेजस्तो आफ्नो अनुहारमा मुस्कानले चमक थप्दै मोहन दाइले भन्नुभो, ‘कविता त खतरा लेख्यो नि मुकारुङले, होइन ?’


यो मेरो कविता ‘बिसे नगर्चीको बयान’ माथिको उहाँको फ्रतिक्रिया थियो । यही कविताको कारण नै मेरो एकल कवितावाचन कार्यत्रम हुँदै थियो । ‘नदी किनाराका माझी’ जस्तो शक्तिशाली कविता लेखेर उत्पीडित, सीमान्तीकृत (सबाल्टर्न) हरूको आवाजलाई उहिल्यै उचालेका कविले फेरि मलाई स्नेह व्यक्त गर्नुभएको म बुझ्ने भइसकेको थिएँ । त्यसैले केही जवाफ नदिई उहाँलाई कार्यक्रममा आइदिन निम्ता गरेँ । भोलिपल्ट कार्यक्रममा आधुनिक नेपाली कविताका दुई महान् प्रतिभा मोहन कोइराला र बैरागी काइँलाले सँगै दीप प्रज्वलन गरिदिनुभो । त्यही दीपको उज्यालोमा मैले आफ्नो कविता सुनाएँ ।
‘कति हिडेँ हुँला
म यो जीवनमा
कति हिँडेँ हुँला
......
मैले छोडेर आएकाहरूलाई भन्नुथियो–
मलाई लिएर आउनू !
मलाई छोडेर जानेहरूलाई भन्नुथियो–
पुगेर मलाई भेट्नू !
......
कति हिडें हुँला
म यो जीवनमा
कति हिँडें हुँला
भारी बोकेर कविताको ।”
(कविता ः मोहन कोइराला, बिसे नगर्चीको बयानबाट)


कार्यक्रम सकेर बाहिर निस्कँदा मोहन दाइलाई देखिनँ । यताउता खोजिहेरेँ । उहाँ त अघि नै घर गइसक्नुभएछ । मलाई थाहा थियो, बिरामी हुनुहुन्थ्यो उहाँ । मेरो अनुरोध टार्न नसकेर मात्रै आउनुभएको थियो । वास्तवमा म त्यस दिन उहाँको प्रतिक्रिया चाहन्थेँ, ढाडस चाहन्थेँ । किनभने त्यो मेरो जीवनकै अर्को महत्त्वपूर्ण घटना थियो । यसरी उहाँलाई नदेख्दा मलाई खै के नपुगेजस्तो भइरह्यो । त्यसपछि त म देशभित्र देशबाहिरका विभिन्न गोष्ठी र कार्यक्रमहरूमा व्यस्त हुन थालेँ । भेट्ने मन हुँदाहुँदै पनि भेट्ने साइत जुरेको थिएन । कि, भेट्नु नै यति थियो कि ?


अचानक विसं २०६३ फागुन १० गतेको दिन मैले उहाँको चोला उठेको अप्रिय खबर सुन्नुपर्‍यो । हाम्रो अन्तिम भेटको निसानी त्यही कार्यक्रममा बलेको दीपछेउ चम्किरहेको उहाँको स्निग्ध अनुहार भयो । म भावविह्वल भएँ । मेरो आँसु रोकिएन । मुत्यु स्वाभाविक प्रक्रिया हो भन्ने जान्दाजान्दै पनि म किन यति धेरै स्तब्ध भएँ ? किनभने जीवनको त्यस्तो मोडमा मैले उहाँको साथ पाएको थिएँ, जुन मोडमा उभिएर हेर्दा अघिल्तिर हिँड्नलाई सयौं बाटोहरू स्वागतमा हुन्छन् । तर कुन बाटो हिंड्दा जीवनले आफैँलाई धन्यवाद दिन्छ ? खुट्याउन सकिन्न । यहीबेला मलाई यो बाटो देखाउनुभयो, जुन बाटोले आज मलाई यतिसम्म ल्याइपुर्‍याएको छ । मोहन दाइ ! अहिले फेरि म, हाम्रो हरभेटमा दोहोरिने तपार्इंको त्यो प्रश्न– ‘के छ मुकारुङ सोलुखुम्बुतिर ? ठीक छ ?’ सुन्न चाहन्थेँ र सधैंझैँ त्यसरी नै म उही उत्तर दिन चाहन्थेँ । तर मलाई थाहा छ, मेरो उत्तर पनि तपाईंको त्यो प्रश्नसँगै यो ब्रह्माण्डमा गुन्जिरहने तर सजिलै सुन्न नसकिने आवाज भइसकेको छ । जसरी हरकोहीलाई तपार्इंका कविताहरूको आवाज सजिलै सुन्न कठिन छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×