कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चोम्स्की चर्चा

राजनीतिक टिप्पणीका कारण संसारभर चर्चित नोम चोम्स्की खासमा भाषा विज्ञानका ज्ञाता हुन् । उनले त्यस्तो के सिद्धान्त ल्याए जसले भाषा अध्ययनको बुझाइमा नै फरक ल्याइदियो । भाषामा चोम्स्कीको क्रान्ति के हो ?
राम लोहनी

 
सन् १९७० को दशकको पहिलो पाँच वर्षमा अमेरिकी विश्वविद्यालयमा भौतिक विज्ञान, अंग्रेजी र इतिहासको उच्च अध्ययनका लागि भर्ना हुन आउने विद्यार्थीको संख्यामा भारी कटौती भयो  । भाषाविज्ञान पढ्नेको संख्यामा भने अभूतपूर्व वृद्धि भयो  ।

चोम्स्की चर्चा

भाषाविज्ञानप्रतिको विद्यार्थीहरूको त्यो आकर्षणको मुख्य कारण थिए— नोम चोम्स्की र उनले प्रतिपादन गरेको भाषाविज्ञानको सिद्धान्त । सन् १९६४ मा अमेरिकी भाषाविज्ञान समाजका अध्यक्ष चार्ल्स हकेटले समाजको सम्मेलनलाई सम्बोधन गर्दै बितेको पौने दुई सय वर्षभित्र भाषाविज्ञानमा चारवटा महान् प्रकाशनमध्ये चौथो १९५७ मा प्रकाशित चोम्स्कीको ‘सिन्ट्याक्टिक स्ट्रक्चर’ भएको उल्लेख गरेका थिए । अरू तीन सन् १७८६ को विलियम जोन्सको संस्कृत र पश्चिमी भाषाहरू एउटै मूल भाषाबाट निःसृत भएको तथ्य उद्घाटन गरिएको सम्बोधन, सन् १८७५ को कार्ल वर्नरको प्राक–जर्मनेलीमा भएको ध्वनि परिवर्तनको नियम र सन् १९१६ को फर्डिनान् डी ससुरको ‘कोर्स इन जेनरल लिङ्ग्युस्टिक्स’ थिए ।


‘सिन्ट्याक्टिक स्ट्रक्चर’ प्रकाशित गर्दा चोम्स्की उनन्तीस वर्षका मात्र थिए । यो सानो पुस्तिका उनको विद्यावारिधि शोधको सानो अंश थियो । यसको प्रकाशनसँगै भाषाविज्ञानको अध्ययन परम्परामा ट्रान्स्फर्मेसनल–जेनेरेटिभ ग्रामर भनेर नयाँ ढोका उघ्रियो । साठी र सत्तरीको दशकमा अमेरिकी विश्वविद्यालयहरू र त्यसपछि संसारका विभिन्न विश्वविद्यालयहरूमा यो सिद्धान्तप्रति मानिसहरूको आकर्षण ह्वात्तै बढेको थियो । विद्वान्हरूले चोम्स्कीको यो प्रकाशनलाई निकोलउस कपर्निकसले पाँच सय वर्षअघि ल्याएको क्रान्तिसँग तुलनासमेत गरे । पृथ्वी केन्द्रमा रहेर सूर्यलगायत अन्य आकाशीय पिण्डहरूले पृथ्वीको परिक्रमा गर्छन् भन्ने तत्कालीन विश्वासलाई प्रतिस्थापित गर्ने कपर्निकसको सूर्यकेन्द्रीत सिद्धान्तसँग तुलना गरिनुले यो सिद्धान्तको ताकतलाई संकेत गर्छ । कतिपयले यो घटनालाई आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तसँग पनि तुलना गरे । सापेक्षतावादले गुरुत्वाकर्षणको परिभाषा मार्फत न्युटनले प्रतिपादन गरेको गुरुत्व बलको सिद्धान्तलाई नयाँ मोड दिएको थियो । भाषिक संरचनाको चिन्तन परम्परामा यो घटनालाई महत्त्वपूर्ण क्रमभङ्ग (प्याराडाइम सिफ्ट) समेत भन्ने गरेको पाइन्छ ।


व्याकरण भनेको नियमहरूको सूची हो र यिनै नियमहरूले वाक्यलाई प्रस्फुटित गराउने काम गर्छ भन्ने चोम्स्कीको भनाइ थियो । वाक्य निर्माणको प्रचलित मान्यतामा यो एक सय असी डिग्री विपरीत कुरा थियो । यसले वाक्यलाई ज्यामितिका सिद्धान्त जस्तै नियम (स्वीकृत तथ्य) हरूको क्रमिक प्रयोगबाट निःसृत हुने निष्कर्षको रूपमा स्थापित गरिदियो । व्याकरणका यी नियमहरूले वाक्य निर्माणको अमूर्त स्थितिलाई क्रमशः उजागर गर्दै वाक्यको संरचना सुस्पष्ट गरिदिने भएकाले चोम्स्कीले आफ्नो व्याकरणलाई प्रजनक (जेनेरेटिभ) व्याकरण भनेका हुन् । व्याकरणका यी नियमहरू सीमित तथा निश्चित हुन्छन् । तिनलाई आवश्यकताअनुसार पटकपटक प्रयोग गर्न सकिन्छ भन्ने उनको अवधारणा थियो । सीमित नियमहरूको सहायताले असीमित संरचना पैदा गर्ने तथ्य नै चोम्स्कीको प्रेरणाको आधार थियो । चोम्स्कीअघि भाषाको ज्ञान भनेर स्थापित संरचनाजस्तै अर्को संरचना निर्माण गर्न सक्नुलाई मानिन्थ्यो । तर, चोम्स्कीले नियमहरूको ज्ञान नै भाषाको ज्ञान हो र केटाकेटीले भाषा सिक्नु भनेको यिनै नियमको बोध गर्नु हो भन्ने अवधारणा स्थापित गरिदिए । यसले भाषाविज्ञानलाई पछिल्लो चरणमा विकास भएको प्राकृतिक विज्ञानको घेराभित्र मात्र ल्याएन, सिंगो अनुसन्धानको गति, लक्ष्य र विधिलाई नै नयाँ धार प्रदान गर्‍यो ।


चोम्स्कीले बताएको अर्को तथ्य के हो भने भाषाका कतिपय वाक्यहरू एकअर्कासँग व्याकरणिक रूपले नै सम्बन्धित हुन्छन् । व्याकरणको एकथरी नियमले यिनीहरूको आधारभूत संरचनालाई उत्पादन गर्छ र व्याकरणको अर्कोथरी नियमले त्यसलाई आवश्यकताअनुसार रूपान्तरण गरेर नयाँ स्वरूप प्रदान गर्छ । आधारभूत संरचनालाई रूपान्तरण गरेर नयाँ स्वरूप दिने व्याकरणको ती अर्काथरी नियमलाई चोम्स्कीले रूपान्तरण (ट्रान्स्फर्मेसनल) नियम नाम दिए । सरल वाक्य र त्यसको प्रश्नवाचक रूप व्याकरणिक रूपले सम्बन्धित वाक्य हुन् । यी दुवै वाक्य एउटै आधारभूत संरचनाबाट निर्माण गरिन्छ । यसरी व्याकरणमा संरचना निर्माण गर्ने एकथरी नियम र एउटा संरचनालाई अर्को संरचनामा रूपान्तरण गर्ने अर्कोथरी नियम हुन्छन् । त्यसैले चोम्स्कीको व्याकरण ट्रान्स्फर्मेसनल (जेनेरेटिभ) व्याकरण हो ।

प्रारम्भीक जीवन
चोम्स्कीको जन्म रुसबाट बसाइ सरी आएको एउटा यहुदी परिवारमा सन् १९२८ को डिसेम्बर ७ मा अमेरिकाको फिलाडेल्फियामा भएको हो । यिनका पिता भाषाशास्त्री थिए र हिब्रु व्याकरणमाथि अनुसन्धान गर्दै थिए । यसले चोम्स्कीलाई सानै उमेरमा भाषा र व्याकरणसँग परिचय गराइदियो । असाधारण प्रतिभाका धनी चोम्स्कीको विद्या–व्यसनका विभिन्न किस्सा सुन्न पाइन्छन् । जस्तो कि, सात वर्षकै उमेरमा यिनले क्रोम्प्टन विश्वकोश (त्यो बेला पन्ध्र भागमा प्रकाशित) आधाभन्दा बढी पढिसकेका थिए । गहन अध्ययन गर्ने, बहसमा जित्नै पर्ने यिनको स्वभावपछि एमआईटीका सहकर्मीहरूमाझ पनि चर्चाको विषय बन्ने गर्थ्यो । युरोपमा हिटलरको उदयपछि अमेरिका यहुदीहरूको अन्तर्राष्ट्रिय गतिविधिको केन्द्र बन्यो । चोम्स्कीलाई राजनीतिक चेतनाको चस्का त्यसै बेलादेखि पर्‍यो । स्पेनको गृहयुद्ध (१९३६–१९३९) बुझ्न जर्ज ओर्वेलको ‘होमेज टु क्याटालोनिया’ (१९३८) उति बेलै पढेका थिए । त्यही समयको प्रभाव हुन सक्छ, यिनमा अराजकतावादको गहिरो छाप पर्‍यो । पछिल्लो समय चोम्स्की स्वतन्त्रताको प्रखर वक्ता र अमेरिकी विदेशनीतिको कट्टर आलोचक रहँदै आएका छन् ।


स्नातकपछि यिनलाई राजनीतिले बढी नै आकर्षित गर्‍यो । भर्खर स्थापित इजरायलमा व्यावसायिक खेती गर्ने, स्वाध्यायमा लाग्ने र राजनीतिक गतिविधिमा संलग्न हुने सोचाइमा थिए । पत्नी क्यारोलसँग इजराएल पुगे पनि । तर त्यहाँ अडिन सकेनन् । छोराको स्वभावसँग परिचित बाबुले यिनलाई प्रसिद्ध भाषाविद् जेलिग ह्यारिससँग पढ्न पेन्सिलभानिया विश्वविद्यालयमा झर्ना गरिदिए । ह्यारिस यहुदीहरूका कार्यक्रममा सत्रिय सहभागी हुने गर्थे । ह्यारिसले चोम्स्कीलाई सुरुमै आफ्नो प्रकाशोन्मुख पुस्तक ‘मेथड्ज इन स्ट्रक्चरल लिङ्गुइस्टिक्स’ को प्रुफ हेर्ने जिम्मा दिए । यही पुस्तक नै चोम्स्कीको भाषाविज्ञानसँग पहिलो र गम्भीर साक्षात्कार थियो । दर्शनशास्त्र, गणित र भाषाविज्ञान यिनको अध्ययनको विषय बन्यो । स्नातकोत्तरपछि भाषाविज्ञानमा विद्यावारिधिका लागि हार्वर्ड गए । यही क्रममा यिनको भेट दार्शनिक नेल्सन गुडम्यानसँग भयो । गुडम्यानमार्फत डब्ल्यु भी क्वाइनसँग सम्बन्ध भयो । चोम्स्कीको सिद्धान्तमा यिनीहरूको प्रभाव प्रस्ट देख्न सकिन्छ । विद्यावारिधिपछि लात्भियन–अमेरिकन यहुदी भाषाविद् मरिस ह्यालीले यिनलाई एमआईटीमा लगे । लगभग ६५ वर्षदेखि एमआईटी चोम्स्की गुरुकुलको केन्द्र रहँदै आएको छ ।

भाषा–अध्ययनको परम्परा
चोम्स्कीअघिको भाषाविज्ञान युरोप र अमेरिकामा आआफ्नै ढंगले अघि बढ्दै थियो । युरोपमा फर्डिनान् डी ससुरको संरचनावादको प्रभाव थियो । पछिल्लो समय लेभी–स्ट्राउस डी ससुरको यसै अवधारणालाई संरचनावादको नाममा स्वतन्त्र सिद्धान्त विकास गर्दै थिए । उन्नाइसौं शताब्दीको अन्ततिर फ्रान्सको दार्शनिक विचारधारा एमिल दुर्खाइमको प्रभावमा थियो । यिनको सामाजिक दर्शन अगस्ट कोम्टको प्रत्यक्षवादको परिष्कृत रूप थियो । दुर्खाइम व्यक्तिभन्दा समाज र राज्यलाई महत्त्व दिन्थे । यसको प्रभाव डी ससुरको भाषावैज्ञानिक चिन्तनमा पनि देखिन्छ । डी ससुरले भाषालाई परोल र लाङ भनेर दुईवटा फरक कोणबाट हेरेका थिए । जे बोलिन्छ, त्यो परोल हो । समय र व्यक्तिअनुसार यसको स्वरूपमा विविधता हुन्छ । वक्ताहरूको समुदायमा भाषाको जुन साझा रूपलाई स्वीकार गरिएको हुन्छ, त्योचाहिँ लाङ हो । डी ससुरको बुझाइमा भाषा भनेको यही लाङ हो र भाषाको अध्ययन भन्नाले लाङको संरचनाको अध्ययन हो । भाषालाई समाजविज्ञानको अंगको रूपमा लिने गरिएकाले युरोपमा भाषा–अध्ययनले सही अर्थमा स्वायत्त र वैज्ञानिक स्वरूप प्राप्त गरिसकेको थिएन । युरोपका भाषाविद्हरूको ठूलो समूह तुलनात्मक भाषाशास्त्रमा व्यस्त थिए । बेलायतमा हेनरी स्विटलगायतका भाषाविद्हरू ध्वनिविज्ञानमा अनुसन्धान गर्दै थिए ।


अमेरिकाको भाषाविज्ञान अनुभववाद र प्रमाणवाद (एम्पिरिसिज्म) बाट प्रभावित थियो । प्रयोगशालामा ध्वनिको अध्ययन गर्न सकिने प्रविधि विकास भएको थियो । मनोविज्ञानमा व्यवहारवाद उत्कर्षमा थियो । भाषाको प्रयोगको अनुसन्धान व्यवहारवादी मनोवैज्ञानिकहरूको कब्जामा पुगेको थियो । व्यवहारवादीहरूमाझ भाषा पनि अन्य मानवीय व्यवहारहरू जस्तै उद्दिपन–प्रतिक्रियाको रूपमा व्यक्त हुन्छन् भन्ने विश्वास थियो । अनुभववादको सिद्धान्तले प्रत्यक्ष अवलोकनमा जे फेला पर्छ, त्यसको मात्र अध्ययन विश्लेषण गर्नुपर्छ भन्ने ठान्छ । त्यसैले भाषावैज्ञानिकहरू भाषाका मौलिक वक्ताले बोलेका अभिव्यक्तिको संकलन गरेर त्यसको विश्लेषण गर्थे । विश्लेषणबाटै भाषाका विभिन्न तहका एकाइहरू पत्ता लगाउँथे र त्यसको सूचि तयार पार्थे । भाषाका तल्लो तहका एकाइहरूबाट कसरी माथिल्ला र ठूला एकाइ बन्छन् भन्ने नियम पत्ता लगाउनु नै अमेरिकी संरचनावादको लक्ष्य थियो । भाषा अध्ययनको यो परम्परा तत्कालीन विज्ञानको अवधारणाअनुसार वैज्ञानिक नै ठानिन्थ्यो ।


परम्परागत व्याकरणका नियमहरूले भाषालाई कसरी शुद्ध लेख्ने (वा बोल्ने) भनेर निर्देशन दिन्थे । संरचनावादी व्याकरणले भाषाको व्याकरण कस्तो छ भन्थ्यो, तर कस्तो हुनुपर्छ भनेर चाहिँ भन्दैनथ्यो । वाक्य र शब्दका स्वरूपको अवलोकन, मापन गरेजस्तो तिनका अर्थको सीमा प्रस्ट हुँदैन भन्ने उनीहरूको धारणा थियो । त्यसैले अमेरिकी संरचनावादीहरू भाषाको अर्थ भाषावैज्ञानिक अनुसन्धानको दायराभित्र नपर्ने दाबी गर्थे । पचासको दशकसम्ममा वैज्ञानिकहरूमाझ कम्प्युटरको अवधारणा लोकप्रिय भइसकेको थियो । भाषावैज्ञानिकहरू पनि कम्प्युटरले ठूलो परिणामको तथ्यांकलाई सजिलै विश्लेषण गरिदिन्छ र भाषाको व्याकरण तयार गर्ने काममा मानिसको भूमिका घट्दै जान्छ भनेर विश्वस्त थिए । एक प्रकारले भन्दा उनीहरूलाई भाषाविज्ञानको विकास उत्कर्षमा पुगिसकेको अब अनुसन्धानका धेरै कुरा बाँकी नरहेको विश्वास थियो ।

चोम्स्कीको चासो
चोम्स्की अमेरिकी संरचनावादको आधारभूत कुरासँग सन्तुष्ट थिएनन् । भाषाजस्तो मौलिक र मानवीय प्रवृत्ति विज्ञानको नाममा विसर्जनवाद (रिडक्सनिज्म) तर्फ उन्मुख भएको उनलाई चित्त बुझेको थिएन । भाषा अन्य मानवीय व्यवहारजस्तो उद्दिपन–प्रतिक्रियाबाट निःसृत हुने प्रणाली होइन भन्ने कुरा उनी स्पष्ट थिए । युरोपको ध्यान पनि विशुद्ध भाषाभन्दा पनि समग्र सामाजिक विषयमा बढी केन्द्रित थियो । यो पृष्ठभूमिमा चोम्स्कीको नजर केही मौलिक तथ्यहरूमाथि परे । पहिलो, भाषाको सिर्जनात्मकता । भाषाका प्रयोगकर्ताहरू हरेक पटक नयाँ नयाँ वाक्यहरू उत्पादन गरिरहेका हुन्छन् र अन्य वक्ताले बोलेका नयाँ वाक्यहरूलाई सजिलै बुझिरहेका हुन्छन् । हजार पृष्ठको कुनै किताबमा एउटै वाक्य विरलै दोहोरिएर आउँछ ! हरेक भाषाका सम्भावित वाक्यहरूको संख्या अनगिन्ति हुन्छ । हरेक पटक नयाँ वाक्य निर्माण हुनु भाषाको सिर्जनात्मकता हो । तर खास भाषामा आजसम्म कतिवटा वाक्य बनिसके र भविष्यमा कति नयाँ वाक्य बन्छन् भन्ने लेखाजोखा गर्न सम्भव हुँदैन । यसकारण भाषाका सबै वाक्यहरूको अवलोकन र संकलन असम्भव कार्य हो । चोम्स्कीले के तर्क गरे भने कुनै पनि भाषाको व्याकरणले भाषाको यो सिर्जनात्मक स्वभावलाई सम्बोधन गर्नुपर्छ । उनका अनुसार, व्याकरणले भाषाका वक्ताको नयाँ वाक्य सिर्जना गर्ने र बुझ्न सक्ने क्षमताको वर्णन र व्याख्या गर्न सक्नुपर्छ ।


दोस्रो, बालबालिकाद्वारा हुने भाषा आर्जन । मानिसका बच्चाहरूमा भाषा आर्जन गर्न सक्ने अद्भुत क्षमता हुन्छ, जुन अन्य कुनै पनि प्राणीका बच्चामा हुँदैन । चोम्स्कीले भाषा आर्जनसँग सम्बन्धित केही तथ्यहरूको चर्चा गरेका छन् । एक, बच्चालाई जुन भाषाको वातावरणमा राख्यो, उसले त्यही भाषा प्राप्त गर्छ । बाबुआमाले बोल्नेभन्दा फरक भाषा बोलिने वातावरणमा हुर्काइएको बच्चाको भाषामा बाबुआमाको भाषाको लेस मात्र पनि प्रभाव देखिंदैन । मानिसको बच्चाले जुनसुकै भाषा पनि पूर्ण दक्षताका साथ आर्जन गर्न सक्छ । दुई, बच्चालाई सामान्यतया बोल्न सिकाइएको हुँदैन तर पनि उनीहरू आफैं आफ्नो भाषामा पारङ्गत हुन्छन् । आफ्नो वरिपरि बोलिएका भाषाका नमुना सुनेका भरमा उनीहरूले यो क्षमता आर्जन गर्ने हुन् ।


बच्चाका अघि ठूलाले बोल्ने भाषा लिखित रूपको जस्तो औपचारिक र परिष्कृत पनि हुँदैन । कतिपय अवस्थामा कथ्य भाषाका वाक्यहरू अस्पष्ट, अपूर्ण र गैरव्याकरणिक पनि हुन्छन् । तर बच्चाको भाषा आर्जनमा त्यसले कुनै प्रभाव पारेको हुँदैन । जबकि ठूलो भएपछि कुनै अर्को भाषा सिक्न त्यही बच्चालाई धेरै मुस्किल पर्छ । शारीरिक रूपले अन्य धेरै काम गर्न नसक्ने बच्चा ठूलाले धेरै मिहिनेत गर्दा पनि आर्जन गर्न नसक्ने भाषिक क्षमतामा सजिलै सिद्धता पाउँछन् । मानव जातिको यो रहस्यलाई चोम्स्कीले ‘प्लेटोको समस्या’ भनेका छन् । भाषाविज्ञानले प्लेटोको समस्याको उचित व्याख्या गर्नुपर्छ भन्ने चोम्स्कीको जिकिर हो ।


तेस्रो, भाषाका वक्ताहरू आफ्नो भाषामा व्यक्त गरिएका गलत वाक्य र ध्वनिहरू पहिचान गर्न तथा सुधार गर्न सक्षम हुन्छन् । अर्थात् उनीहरू कुनै वाक्य वा शब्द आफ्नो भाषाको हो कि होइन भन्ने चिन्न सक्छन् । चोम्स्कीका अनुसार, व्याकरणले भाषाका वक्ताहरूको आफैंले वा अरू कसैले बोल्दा गल्ती गरेको र विदेशीले बोलेको पहिचान गर्न सक्ने क्षमताको वर्णन तथा व्याख्या गर्न सक्नुपर्छ ।


चोम्स्कीको समाधान
प्लेटोको समस्याको समाधानस्वरूप चोम्स्की सार्वभौम व्याकरणको प्रस्ताव गरेका छन्— युनिभर्सल ग्रामर । चोम्स्की व्याकरणलाई भाषाको सिद्धान्त मान्छन् । हरेक भाषाका व्याकरण तिनका सिद्धान्त हुन् । कुनै पनि वैज्ञानिक सिद्धान्तले सम्बन्धित विषयको कार्यप्रणाली तथा संरचनाको व्याख्या वर्णन गर्ने प्रयास गर्छ । त्यसैगरी व्याकरणले पनि सम्बन्धित भाषाको संरचना र कार्यप्रणालीको व्याख्या, वर्णन गर्नुपर्छ । मानिसको बच्चा जन्मदा नै आफ्नो मस्तिष्कमा भाषा आर्जन गर्न सक्ने क्षमता लिएर जन्मिएको हुन्छ । अर्थात् जन्मको समयमा मानिसको मस्तिष्क ज्ञानशून्य हुँदैन । उसो त, यो अवधारणा चोम्स्कीको मौलिक होइन । चोम्स्कीले भाषाको सन्दर्भमा यसलाई ब्युँताइदिएका मात्र हुन् ।


यसको अर्थ के हो भने कुनै पनि भाषाको व्याकरणको महत्त्वपूर्ण हिस्सा बच्चाको मस्तिष्कमा पहिल्यै निर्धारित भैसकेको हुन्छ । चोम्स्की दाबी गर्छन्, यही कारण मानिसको बच्चाले उपयुक्त वातावरण मिलेमा संसारमा बोलिने जुनसुकै भाषा पनि आर्जन गर्न सक्छ । त्यसैले भाषा अनुसन्धानको पहिलो लक्ष्य यही सार्वभौम व्याकरणको स्वरूप निर्धारण गर्ने हुनुपर्छ । सार्वभौम व्याकरणले भाषाहरूबीच के कस्ता भिन्नता हुन सक्छन्, भाषाका व्याकरणका स्वरूप कस्ता हुन्छन् आदि निर्धारण गरिदिएको हुन्छ । भाषा आर्जन गर्नु भनेको सार्वभौम व्याकरणले उपलब्ध गराएको संरचनागत विकल्पहरूको छनोट गर्दै जानु हो । वातावरणमा उपलब्ध सीमित र अपूर्ण वाक्यहरूले पनि बच्चाहरूलाई उनीहरूले छनोट गर्नुपर्ने विकल्पको बारेमा संकेत उपलब्ध गराउन सक्छन् । एउटा विकल्प छनोट भएपछि अरू विकल्पको छनोट क्रमशः सजिलो हुँदै जान्छ । सार्वभौम व्याकरण तारको जटिल वाइरिङजस्तै हो, जसको ठाउँठाउँमा स्विच राखिएको हुन्छ । यी स्विचहरू क्रमशः ‘अन’ हुँदै तारको परिपथ पूर्ण बन्नु नै भाषा आर्जन हो । सार्वभौम व्याकरणले बच्चालाई एउटा अँध्यारो चौबाटोमा उभ्याइदिन्छ । परिवेशमा सुनिने वाक्यहरूले झिल्काको काम गर्छ । बच्चा जता उज्यालो देख्छ, त्यतै बढ्दै जान्छ । जति अघि बढ्दै जान्छ, नयाँनयाँ चौबाटो र बत्तीका संकेतहरू त्यसैअनुसार देखिँदै जान्छन् ।


भाषा आर्जन हुनु भनेको बनिबनाएको वाक्य कण्ठ पार्नु होइन, नियमहरूको पहिचान गर्नु हो । भाषिक ज्ञानअन्तर्गत वाक्य निर्माणको ज्ञानबाहेक शब्द निर्माणको ज्ञान र उच्चारणको ज्ञान पनि पर्छन् । भाषाका वाक्यहरू निर्माण गर्दा वा कसैले बोलेको वाक्य बुझ्दा उनीहरू यही ज्ञानको प्रयोग गर्छन् । यही ज्ञानको कारण हरेक नयाँ वाक्य नयाँ लाग्दैन (अपरिचित शब्द छैनन् भने) नयाँ वाक्य बेहोर्दै छु भन्ने फिटिक्क अनुभूति नै हुँदैन । यही ज्ञानको आधारमा कुनै वाक्य सही वाक्य हो कि होइन भन्ने पनि पहिचान हुन्छ । भाषिक ज्ञानको आर्जन सार्वभौम व्याकरण र परिवेशमा सुनिने प्रारम्भिक वाक्यहरूको सहायताले अर्धचेतन अवस्थामा हुने भएकाले बच्चाहरूलाई यसको बोध हुँदैन । ठूला व्यक्तिमा पनि यो ज्ञान सुषुप्त अवस्थामा रहने हुँदा आफूमा के ज्ञान छ भन्ने बोध हुँदैन । चोम्स्की भन्छन्, भाषाविज्ञानको अनुसन्धानबाट यही सुषुप्त ज्ञान पत्ता लाग्नुपर्छ ।

भाषाको सिद्धान्त
चोम्स्कीको लक्ष्य भाषाविज्ञानलाई वास्तविक अर्थमा वैज्ञानिक स्वरूप प्रदान गर्नु हो । जुन अर्थमा भौतिकशास्त्र, रसायनशास्त्र आदिलाई विज्ञान भनिन्छ, भाषाविज्ञान पनि त्यही समकक्षमा विज्ञान कहलिनुपर्छ, कहलिन सक्छ भन्ने चोम्स्कीको दाबी हो । त्यसैले भाषाविज्ञानले भाषिक सिद्धान्त निर्माण गर्नुपर्छ, भाषिक सिद्धान्तले कस्ता भाषाहरू मानवीय भाषा हुन्, कस्ता भाषा मानवीय भाषा होइनन् भन्ने निर्धारण गर्न मद्दत गर्छ । मानवीय भाषालाई गैरमानवीय भाषाबाट अलग गर्ने मूल्यांकन प्रणाली भाषिक सिद्धान्तमा हुनुपर्छ । भाषा भनेर आजभोलि कम्प्युटरको प्रोग्रामिङ, कृत्रिम भाषा, गणित धेरैलाई ठानिन्छ । मानवीय भाषा प्राकृतिक वस्तु हो । प्राकृतिक भाषा मान्छेको बच्चाले स्वाभाविक रूपमा आर्जन गर्न सक्छ । अन्य प्राकृतिक विज्ञानमा जस्तै चोम्स्की भाषाविज्ञानमा पनि अवलोकन र गहिरो कल्पनाशक्तिको सहायताले सिद्धान्तको प्रस्तावना गरिनुपर्ने बताउँछन् ।


भाषिक सिद्धान्तको अर्को उद्देश्य व्याकरणहरूको बारेमा अनुमान गर्नु हो । भाषिक सिद्धान्तले प्राकृतिक भाषाका व्याकरण कस्ता हुन सक्छन् भनेर भविष्यवाणी गर्न र व्याकरणको सम्भावित स्वरूपको अनुमान गर्न सक्नुपर्छ । सही व्याकरणले उक्त भाषाका सबै वाक्यहरूको निर्माण गर्न सक्नुपर्छ । व्याकरणले उत्पादन गर्ने वाक्य उक्त भाषाको सही वाक्य मात्र हुनुपर्छ । एउटा मात्रै असम्भव र अस्वीकार्य वाक्य निर्माण गर्‍यो भने पनि त्यो व्याकरण त्यो भाषाको सही व्याकरण हुन सक्दैन । एक पटक प्रस्ताव गरिएको व्याकरण नै भाषाको अन्तिम व्याकरण हुन सक्दैन । प्राकृतिक विज्ञानमा सत्यतथ्य पत्ता लगाउन प्रयोग गरिने परिमार्जन, सुधार र प्रतिस्थापनको विधि व्याकरणको हकमा पनि उही ढंगबाट लागू गरिनुपर्छ ।


भाषिक सिद्धान्तले गर्ने व्याकरणको प्रस्तावना केटाकेटीले भाषा आर्जन गर्न अपनाउने रणनीतिलाई सूक्ष्म अवलोकन गरेर गरिन्छ । त्यसो हुँदा सिद्धान्तले एउटै भाषाको एकभन्दा बढी व्याकरणहरूको प्रस्ताव गर्न पनि सक्छ । ती व्याकरणहरू प्रतिस्पर्धी व्याकरण हुन् । तीमध्ये उपयुक्त एउटा व्याकरणको छनोट गर्नुपर्छ । यो काम पनि भाषिक सिद्धान्तकै हो । यस अर्थमा भाषाविज्ञान अन्य प्राकृतिक विज्ञानभन्दा फरक र विशिष्ट प्रकृतिको विज्ञान हो भन्ने चोम्स्की तर्क रहेको छ । अन्य प्राकृतिक विज्ञानमा पनि प्रतिस्पर्धी प्रस्तावनाहरू प्रस्तावित नहुने होइनन्, हुन्छन् । सामान्यतया प्राकृतिक विज्ञानहरूमा सिद्धान्तको कमजोरी, छिद्रता, अनुसन्धान विधिको सीमा र मानवीय कारणले गर्दा प्रस्तावित तथ्यहरू सत्यको नजिक नहुन सक्ने अनुमान गरिन्छ । सम्बन्धित तथ्यांकको नैसर्गिक प्रकृतिको तिनीहरू अपूर्ण हुन सक्छन् भन्ने ठानिंदैन । केटाकेटीले सीमित र अपूर्ण वाक्यहरूको आधारमा आफ्नो भाषाको व्याकरण तयार पार्ने र भाषिक सिद्धान्तले केटाकेटीले निर्माण गर्ने त्यसै नमुनाको आधारमा व्याकरणको आकलन गर्ने हुँदा यस्तो अवस्था पैदा हुन्छ । चोम्स्की भाषिक सिद्धान्तमा व्याकरण मूल्यांकनको पद्धति पनि समावेश हुनुपर्छ भन्ने कुरालाई विशेष जोड दिन्छन् ।


यसकारण सार्वभौम व्याकरण नै भाषाको सिद्धान्त हो । भाषावैज्ञानिकले भाषिक सिद्धान्तको प्रस्ताव गर्दा यी सबै कुरालाई ध्यान दिनुपर्छ । जसरी सार्वभौम व्याकरण भाषाको सिद्धान्त हो, त्यसैगरी कुनै खास भाषाको व्याकरण त्यो भाषाको सिद्धान्त हो । व्याकरणलाई शुद्ध, व्याकरणिक र स्वीकार्य वाक्यहरू बनाउन निर्देशन गर्ने नियमहरूको संग्रह ठानिने परम्पराको सट्टा व्याकरण भनेको भाषाको सिद्धान्त हो भने स्थापित गर्न सक्नु नै चोम्स्कीको भाषाविज्ञानको उपलब्धि हो ।

चोम्स्कीको प्रभाव
चोम्स्कीले भाषाविज्ञानमा त क्रान्ति ल्याए नै । यसको प्रभाव अन्य क्षेत्रहरूमा पनि उल्लेखनीय रहेको छ । भाषा मानव मात्रको परिचयपत्र (भिजिटिङ कार्ड) हो । डी ससुरको लाङ सामाजिक वस्तु थियो र यसको स्वतन्त्र सामाजिक सत्ता हुन्छ भन्ने धारणा थियो । चोम्स्कीले भाषाको स्थान मानव मस्तिष्क हो भन्ने कुरालाई स्थापित गरिदिए । मानव मस्तिष्क प्रकृतिको ठूलो रहस्य हो । यसको अध्ययन, अनुसन्धान समस्या र जोखिमले परिपूर्ण छ । यो एउटा बन्द घडीजस्तै हो । भित्र सुईहरू आफ्नो गतिमा चलेको देखिन्छ तर खोलेर हेर्न सकिँदैन, हेर्न मिल्दैन । किनभने सामान्य अवस्थाको मानिसलाई प्रयोगशालामा असामान्य परीक्षण गर्न वा चिरफार गर्ने कल्पना पनि गर्न सकिँदैन । पारदर्शी सिसाबाट देखिने सुईहरूको गतिविधि घडीको बारेमा जान्ने एक मात्र आधार हो । मस्तिष्कको बारेमा जान्न यसभित्र प्रवेश गर्ने र यसबाट बाहिर निस्कने सूचनाहरूको अवलोकन गर्नु नै उत्तम विकल्प हो । मस्तिष्कमा सञ्चित हुने, ओहोरदोहोर गर्ने र नियन्त्रित अवोलकन गर्न सकिने एउटै वस्तु भाषा हो । यसकारण, मानव मस्तिष्कको अध्ययन गर्ने सबभन्दा उपयुक्त आधार भाषा नै हो ।


सार्वभौम व्याकरणको अध्ययनबाट मानव मस्तिष्कको संरचना र कार्यप्रणालीको अनुमान गर्न सजिलो हुन्छ । भाषाको व्याकरण सार्वभौम व्याकरणसँग पुग्ने उपयुक्त राजमार्ग हो । मानव मस्तिष्कले सूचनाहरूको सञ्चय, परिचालन र उपयोग संकेत (सिम्बोल) मार्फत गर्छन् । हरेक ज्ञान सांकेतिक रूपमा मस्तिष्कमा टंकण भएर रहेको हुन्छ । अनुसन्धानले चलाउन सक्ने, विश्लेषण गर्न सक्ने र मस्तिष्कमा सञ्चित पनि हुने र मस्तिष्क बाहिर स्वतन्त्र सत्ता पनि रहेको प्राकृतिक सांकेतिक प्रणाली भाषा नै हो । मानव शरीर मात्र नभएर सिंगो ब्रह्माण्डको कार्यप्रणालीको आधार सूचनाहरूको आदानप्रदान नै हो । सूचनाहरूको संरचना, संग्रह र सञ्चालन सांकेतिक (सिम्बोलिक) व्यवस्थापनमै टिकेको हुन्छ । यस्ता जुनसुकै प्रणालीको आन्तरिक गतिविधिको अध्ययन गर्न भाषा र यसको व्याकरणको रूपकको भूमिका निर्वाह गर्न सक्छ ।


भाषिक ज्ञान र अन्य संज्ञानात्मक क्षमताबीच के कस्तो समानता र विषमता छ भन्ने विषयमा वैज्ञानिकहरू बीच मतभेद छँदै छ । तर पनि संज्ञान विज्ञान (कग्निटिभ साइन्स), कृत्रिम मेधा (आर्टिफिसियल इन्टेलिजेन्स) आदिका नयाँ नयाँ क्षितिज उघार्न चोम्स्की र उनको जेनेरेटिभ व्याकरण निमित्त बनेको चाहिँ यथार्थ हो । सारांशमा, मानव मस्तिष्कको संरचना तथा कार्यप्रणाली, कम्प्युटर विज्ञान र स्वयम् मानवलाई प्रकृतिको अनुपम सृष्टिको रूपमा बुझ्न चाहने जिज्ञासुका लागि चोम्स्की र चोम्स्कीको भाषाविज्ञान सुवर्णद्वार हुने कुरामा कुनै शंका छैन ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?