कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन परेको कविता

विमला तुम्खेवा

अहिले म मदन रेग्मीका कविता कृति पढिरहेको छु  । बीसको दसकका कविहरू भुपि शेरचन, द्वारिका श्रेष्ठ, कुन्दन शर्मा, पारिजात, कृष्णभक्त श्रेष्ठहरूसँगै आएका कवि मदन रेग्मीका कविता आधुनिक नेपाली कविता लेखनको इतिहासमा आफ्नै फरक र मौलिक चेतना बोकेका कविता हुन् भन्ने मेरो बुझाइ छ  ।

बीसको दशकमा आएका शक्तिशाली कविताहरूमध्ये ‘मदन रेग्मीको कविता’ कृति पनि हो । रेग्मीको कविता बुझ्न पाठकको पनि एक तहसम्म वैचारिक स्तर हुन जरुरी छ । कहिलेकाहीं सर्जकलाई बुझ्न पाठकले पनि विश्वव्यापी चेतना विस्तार गर्न जरुरी हुन्छ । हाडेओखरको स्वादजस्तो चेतनाको उपल्लो स्तर बोकेका यी कविताका प्रत्येक हरफ आफैंमा अनेकौं अर्थ लाग्ने शक्तिशाली हरफ हुन् ।


यस्तोमा मजस्तो सरल कविता लेख्न रुचाउने कविले भने दोहोर्‍याई तेहेर्‍याई पढ्नुपर्ने रहेछ । म यो कविताकृति फेरि दोहोर्‍याएर पढ्दै छु । शक्तिशाली कविले लेखकीय चेतनालाई कहाँबाट कहाँसम्म देख्न र सोच्न सक्छ भन्ने प्रमाण मदन रेग्मीका कविता हुन् । अहिले लेखिरहेका कविले रेग्मीको कविता पढे ऊ आफैंलाई पनि आफ्नो लेखनमा फरक र आफ्नै शैली बनाएर जानुपर्नेरहेछ भन्ने बोध हुन्छ भन्ने मलाई अनुभूति भयो । एकै हरफमा ब्राह्मण बोल्ने चिन्तनशील तर दार्शनिक किसिमको कुनै पनि पाठकको मनलाई बिस्तारै छुँदै छुँदै जानसक्नु यी कविताको ठूलो शक्ति हो । आफ्नो मौलिक अनुहार लिएर हिँड्नु जुनसुकै क्षेत्र वर्ग र विचारको दुनियाँमा गर्वको कुरा हो । यो कुरा उनका कवितामा पाइन्छ । यो नै नेपाली आधुनिक कविताको क्षेत्रमा उनलाई सम्झिरहने कारण हो । अनि अर्कोचाहिँ मलाई लागेको एकैचोटि शब्दहरू तँछाड–मछाड गर्दै हामफाल्दै आउँछन् र तिनले बोकेका भावहरूले पाठकको दिमागलाई ‘ह्याक’ नै गरिदिन्छ । यसमा मैले केही भनिनँ । कारण, कविको आफ्नो निजत्व हुन्छ । र, प्रत्येक कविको लेखकीय स्वतन्त्रता पनि ।


कवि पनि यतिसम्म निर्मम हुन्छन् र ? भन्ने जिज्ञासा स्वाभाविक हो । तर, उनी जे छन् जस्ता छन्, कवितामा त्यो झल्किन्छ । जीवनप्रति कतिसम्म क्रूर भने उनका हरेक कविताहरूले रगतको फाल्सा ओकोलिरहेको भान हुन्छ । यसो हुनु कुनै पनि कविको कविताको निम्ति कुन हदसम्मको परिस्थिति हो ? प्रश्न गर्न सोच्न कविता पढ्दापढ्दै बीचैमा पाठकलाई बाध्य बनाउँछ । मलाई लाग्छ, नेपाली साहित्यमा कवि स्वयं जीवन र समाजसँग यति निष्ठुर भएर लेखिएको उराठ कविता कम छ । यसरी बुझ्दा विसंगतिवादी लेखनमा कतिसम्म शक्तिशाली रूपमा उपस्थिति रहन्छ भन्ने दह्रो प्रमाण हो मदन रेग्मीको कविता । कुनै पनि सशक्त कविताले बोल्नुपर्ने मुख्य कुरा भनेको समय काल र परिस्थिति हो । अहिले लेख्दै गरेको हाम्रो पुस्ता र उसबेला लेखिरहेको पुस्ताको कविताले बोल्ने एउटै साझा सवाल भनेको फेरि पनि स्वतन्त्रता, स्वाभिमान र वर्ग संघर्षको मुद्दा हो ।


संसारभरिका सफल कविहरू जहिल्यै राज्यसत्ताभन्दा अलग्गै रहेर लेखिरहेका हुन्छन् । यो स्थापित मान्यता हो । उसबेला बीसको दशक राणा हटाऊ आन्दोलनपछि भर्खरै तंग्रिँदै गरेको नेपाली समाज र कवि–लेखकहरू, हामी यसबेला लेखिरहेका कवि, लेखक पनि विभिन्न राजनीतिक उथुलपुथलबीच लेखिरहेका । एउटा कुराचाहिँ समान छ— विद्रोह, समानता र आत्मसम्मानको लडाइँ । अन्तमा यति भन्न चाहें, कविको शब्दप्रति पागलपन र आक्रमणलाई चिन्नको निम्ति पनि एकपल्ट पढ्नैपर्छ मदन रेग्मीलाई ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?