संक्रमणकालीन बिहे

सम्झना वाग्ले भट्टराई

भनिन्छ, जीवन आकस्मिकताहरूको संयोग हो । भयो त्यस्तै । झन्डै बाह्र वर्षअघि प्लस टु सकेर स्नातक तहको पढाइ सुरु भएपछि घरमा नाता/इष्टमित्रबीच मेरो बिहेको कुरो चल्न सुरु भयो । यो बिस्तारै फैलँदै अलि टाढाका आफन्त, चिनजान तथा व्यावसायिक लमीहरूसम्म पनि पुग्न थाल्यो ।

त्यसपछि विभिन्न विवाहका उम्मेदवार केटाहरूका नाम सुनिन तथा फोटाहरू आउन थाले । त्यतिखेर ‘फेसबुक’ अहिलेजस्तो झन्डै सर्वव्यापी भइसकेको थिएन । यससँगै केटाकेटी हेर्ने/देखाउने क्रम सुरु भयो । म अनिच्छाले दलिएको मेकअपमा केही अचिनारु पुरुषहरूको अगाडि नचाहेको परीक्षामा उपस्थित हुनेगर्थें, हुनैपर्थ्यो । मानिसहरू आउँथे । चिया वा जुस त्यस्तै केही लिएर म सकेसम्म सजिएको मेकअपमा उनीहरूको अघि उपस्थित हुनुपर्थ्यो । यसरी उनीहरू आउँदा सेलरोटी, अचार तरकारी आदि बन्थे । नढाँटी भन्दा घरमा पाकेका यी कुरासँग मेरो रुचि विछट्ट बढेको थियो । विकल्पहीन विकल्प ठानेर म ‘जसोजसो बाहुनबाजे उसैउसै स्वाहा’ को लयमा चल्ने गर्थें ।


यो त्यसैताकाको कुरा हो । एक साँझ घरमा दुई पुरुष पाहुना आए । एक जना चिनारु नै थिए, गाउँमा चालु रहेको खानेपानी परियोजनाका ‘ओभरसियर’ । अर्का अचिनारु, पिठो दलेजस्तो सेतो अनुहार, दुब्लो शरीर, अस्वाभाविक लाग्ने उचाइ, लामो अस्तव्यस्त कपाल । मैले त्यो साँझ यति नै ठम्याउन सकेँ । त्यो रात उनीहरू घरमा नै बसे । खाना खुवाउने बेलामा मेरो कुनै भूमिका नरहे पनि तरकारी केलाउनेदेखि अचार बनाउनेसम्ममा मैले अतिरिक्त मिहिनेत गरेँ रुचिसाथ । भोलिपल्ट बिहान मलाई विशेष तयारी गराइयो । मेकअप नगर्नु सायद कार्यक्रमकै ‘अनादर’ हुन्थ्यो कि, मैले आमाले भनेअनुसारकै तयारी गरेँ । चिया लिएर जाने अनि छोटो कुराकानी गर्ने भनेर मलाई भनिएको थियो । त्यसैअनुसार चिया लिएर गएँ ।


चिया पुर्‍याउनेबित्तिकै बुबा र ती ओभरसियर आ–आफ्नो चियाको कप लिएर एक छिन बस्दै गर है भन्दै बाहिर निस्किए । अब हामी दुई जना मात्र रह्यौँ कोठामा । अप्ठ्यारो लागेको थियो । सायद मेरो त्यो अप्ठ्यारो बुझेर हो कि, उसले भन्यो, ‘खोइ त तपाईंलाई चिया ?’
‘म कहिल्यै पनि चिया खान्नँ,’ मैले झूट बोलें ।

‘खासमा मलाई पनि चिया मन पर्दैन । तर पाहुना हुन आएको ठाउँमा कसरी नाइँ भन्नु भनेर मात्र हो,’ ऊ ।
कुराकानी टुंगियो । कतिपयले त यस्ता भेटघाटमा नाम, उमेर, पढाइ र रुचिजस्ता कुरा मात्र होइन, कसैसँग प्रेम सम्बन्ध भए नभएको र यौनसम्बन्धबारे पनि सोध्न भ्याउँथे । उसले यी केही पनि सोधेन । मलाई अनौठो लाग्यो । अन्तर्वार्ता शैलीमा प्रश्न–उत्तर प्रक्रियाबाट गुज्रिनु नपर्दा वातावरण हलुंगो लागेको थियो ।
आमाले पन्ध्र मिनेट समय तोकिदिनुभएको थियो । झन्डै दस मिनेट यत्तिकै बित्यो । म हतारिएँ । ‘तपाईंको केही सोध्नु छ भने सोध्नुस् है नत्र म जान्छु,’ मैले नै कुराकानी सुरु गरें ।
उसले चकित भएर हेर्‍यो र भन्यो, ‘ए साँचै म... तपाईंको नाम सोधौं ?’
मैले के बोल्ने थाहा पाइनँ । उसले के सोध्यो ? मैले कताकता अपहेलित महसुस गरें । सिधै भनें, ‘बरु हुन्न भने आजै हुन्न भनेर जानुस्, कुरै खत्तम हुन्छ’ ।
‘के हुन्छ, के हुन्न भन्नुभएको ? मैले कुरो बुझिनँ,’ ऊ ।
‘गाउँठाउँमा केटा हेर्न आएपछि, सबैलाई थाहा भइहाल्छ । त्यसै त छिमेकी कान थाप्दै हिँडेका छन् । जोरीपारी कसको हुँदैन र ? मन परेन भने आजै भन्दिनुस्, भोलिपर्सि भनेर नअल्झाउनुस्,’ मेरो बिन्ती– मेरो आँखामा आँसु टल्पल भइसकेको थियो । हुन पनि पछि निधो दिउँला भनेर गएकाहरूको उत्तर पर्खंदा–पर्खंदा परिवारका सबैलाई सास्ती हुन्थ्यो । त्यसको मानसिक मूल्य मैले बेहिसाब चुकाइसकेकी थिएँ । त्यसैले म स्पष्ट उत्तर चाहन्थें, त्यो पनि तत्कालै ।
आफ्ना दुवै हातले टाउको समाउँदै उसले गम्भीर भएर भन्यो, “मलाई भिनाजुले फँसाए । मेरो साइटतिर घुम्न जाऊँ भने, म आएँ । यो केटी हेर्ने/देखाउने कार्यक्रमबारे मलाई केही थाहा थिएन । खासमा मेरो अहिले बिहे गर्ने कुनै सोच, योजना, केही पनि छैन । मेरो उपस्थितिले तपाईंलाई परेको अप्ठ्यारोप्रति मलाई खेद छ । तर के गर्ने ? म त भिनाजुसँग गाउँतिर घुम्न मात्र आएको । म के गरौं ? मैले भन्न सक्ने भनेको यत्ति हो– ‘आई एम एक्स्ट्रिम्ली सरी’ ।” यसो भन्दै गर्दा उसको अनुहारमा भारी विशाद देखिएको थियो ।
‘ठीकै छ नि, थाहै नभएपछि त के गर्ने ? बरु मैले पो तपाईंको चित्त दुखाएँ,’ मैले फेरि थपें, ‘यो न तपाईंको दोष हो, न मेरो । यो त हाम्रो विवाह परम्पराको खोट हो ।’
उसको अनुहार केही उज्यालियो । सायद केही राहत महसुस गर्‍यो कि । त्यसपछि किनकिन मेरो मन पनि हलुंगो भयो । केही अनौपचारिक कुरा भए । अब भने आमाले छुट्टाइदिनुभएको समय अलि छोटो लाग्यो । उसका लागि लगेको दूध चिया म आफैंले स्वाट्टै पारेर बाहिर निस्किएँ ।
उनीहरू फर्कंदै गर्दा मैले झ्यालबाट सुटुक्क चियाएको थिएँ ।

काठमाडौंमा मेरो डेरा र उसको घर नजिकनजिकै । क्याम्पस जाने आउने गर्दा सँगैजसो हुन्थ्यौं । हल्का कालो वर्णको ऊ हँसिलो थियो । हाई, हेल्लो टाइपको कुरा हुन्थ्यो । एक दिन अचानक पानी पर्‍यो, कलेजबाट घर फर्कंदै गर्दा । मसँग छाता थियो । ‘किन रुझ्दै हिँड्ने त ?’ मैले नै प्रस्ताव राखें । ऊ आयो, मैले छाता अलि अग्लो पारें । ऊ झनै अग्लो रहेछ । अब छाता उसको हातमा थियो । म निर्धक्क उसले समातेको मेरो छातामुनि हिँडिरहें । सँगै हिँड्दा शरीरहरू ठोक्किए । खासै नमीठो लागेन । बरु अलि अनौठो ।
भोलिपल्ट क्याम्पस जाँदै गर्दा ऊ हौसियो, ‘आज छाता छैन ?’
‘...तर आज पानी परेन,’ मैले आगोमा थोरै घिउ थपें ।
त्यसपछि भेटघाट र कुराकानी बाक्लियो । कलेज लाइब्रेरीमा बिताउने समय लम्बियो । यताउताका कुराकानीलाई पनि ‘कम्बाइन स्टडी’ को आवरण ओढाइयो । कहिलेकाहीं निद्रामा रोमाञ्चक सपनाहरू देख्थें, साथमा ऊ हुन्थ्यो । कलेजबाहिरको भेटघाटका लागि चःमति, नयाँबजार आसपासका एकान्त बाटाहरू हुन्थे । खुब रमाइलो हुन्थ्यो । साँझ नसकिए पनि हुनेजस्तो लाग्ने । क्याम्पसबाट डेरासम्मको दूरी अझै लम्बिए हुन्थ्योजस्तो लाग्ने ।
एक दिन, चःमतिका साँघुरो बाटोमा हिँड्दै गर्दा उसले एकाएक भन्यो, ‘छ्या कस्तो ठाउँमा ल्याएको ?’
‘किन र ? के भयो ?’ मैले केही बुझिनँ ।
‘कस्तो नराम्रो गन्ध,’ उसले नाक खुम्चाइरह्यो । तर अहं मैले कुनै अप्रिय गन्धको आभास पाइनँ । कस्तो अनौठो ?
‘छ्या हेर त,’ उसले औंल्यायो । नजिकै गाई पालिएको रहेछ । छेउमा गोबरको भकारो । गन्ध त्यसैको रहेछ । हामी फर्कियौं । फर्किंदै गर्दा फेरि पानी पर्‍यो । मैले छाता निकालें, उसले छाता समायो । सँगै हिँड्दै गर्दा उसको पाखुराले छातीतिर छोइँदा कताकता असजिलो लाग्यो । म अलि सचेत भएर हिँडें ।
त्यो रात खासै निद्रा परेन । मैले गाउँ सम्झिएँ, घर सम्झिएँ । घरसँगै जोडिएका गोठहरू । गोठका गोरु, भैंसीहरू । मैले भविष्यको कुनै परिदृश्य परिकल्पना गरें, ‘घरछेउमै भएको भकारोबाट आएको गन्ध सहन नसकी मुख बिगार्दै बसेको ससुराली गएको ज्वाइँ,’ म अँध्यारोमै खिसिक्क हासें ।
भोलिपल्टबाट क्याम्पस जाँदा मैले छाता लैजान छाडें । लाइब्रेरी र ‘कम्बाइन स्टडी’ का अभिनय कक्षाहरू त्यसै तुहिए । उसले मौका मिल्नेबित्तिकै कारणको खोजी गरिरह्यो । म चुपचाप तर्किरहें । र मैले यसरी टुसाउँदै गरेको प्रेमको हत्या गरें ।

उपसंहार एक
झन्डै तीन वर्षअघि प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडिको पुस्तक पसलमा केही किताबहरू छानिरहेकी थिएँ । पिठो दलेजस्तो सेतो अनुहार, कैयौं दिनदेखि नकाटेको दारी, फुकीढल दुब्लो शरीर, लामो अस्तव्यस्त कपाल र अस्वाभाविक लाग्ने उचाइ भएको मानिस मेरै अगाडिबाट गुज्रँदै थियो । लगभग नौ वर्षअघिको त्यो स्मृति मेरो मनमा बिजुली चम्केझैं आयो । मैले आफूलाई रोक्नै सकिनँ ।
‘मलाई चिन्नुभयो ?’ म उसको बाटो छेकेर उभिएँ ।
‘सरी’ यसो भन्दै गर्दा उसका आँखा भने अनौठोसँग चम्किएका थिए । मैले हातै समाएर उसलाई छेवैको चियापसलमा लगें र दुईवटा ‘हट लेमन हनी’ अर्डर गरिदिएँ, नसोधीकनै । मेरो ‘फेबरेट’ दूध चिया उसैका लागि ‘सेक्रिफाइस’ गरिदिएँ ।
यतिखेर कुराकानीले कुनै औपचारिकताको माग गरेन । मैले छोराको कुरा गरें । छोराको बाबाबारे उसले पनि सोधेन । ‘म पहिलेजस्तै अविवाहित र बेरोजगार,’ उसले आफ्नो स्टाटस अपडेट गर्‍यो । ऊ पहिलेभन्दा दुब्लाएछ । गालाको हड्डी उठेको हो वा गाला अझै भासिएको मैले भेउ पाउन सकिनँ । फोन नम्बर आदानप्रदानसँगै अन्य केही कुरा भए । अन्त्यमा, उसको ओभरसियर भिनाजुसँग उसको पातलिएको बोलचाल र त्यसमा खासै गुनासो नरहेको कुरा सुनायो । मैले उसलाई आफ्नोमा खाना खान निम्ता दिन सकिनँ तर सँगै खाना खानुपर्छ है भन्न भने छुटाइनँ ।
त्यस भेटघाटको झन्डै एक महिनापछि सुरु भएको एक अध्ययनको फिल्ड सर्भेमा म ऊसँगै सिन्धुपाल्चोकका गाउँहरू डुलिरहेकी थिएँ । त्यो समय जीवनकै उल्लासमयमध्येको एक थियो ।

उपसंहार दुई
अफिसको कामको सिलसिलामा त्यो दिन अनायासै सागर (नाम परिवर्तन) सँग भेट भयो । उही हँसिलो सागर जोसँग छाता ओढ्ने/ओढाउने क्रममा टुसाएको प्रेमलाई म आफैंले टुंग्याएकी थिएँ । कुराकानी भयो । ऊ नाम चलेको बैंकमा राम्रै पोस्टमा काम गर्ने रहेछ । उसले गरिरहेको कामसँग खासै सन्तुष्ट नरहेको बतायो । सधै जागिरे भएर के गर्ने ? उसले विकल्प सोचेको बतायो । कतै गाउँतिर गएर व्यावसायिक रूपमा नै गाईपालन गर्ने योजना उसको रहेछ, गोरखातिर गएर सम्भावित ठाउँ पनि हेरिसकेको कुरा सुनायो ।
बाह्र वर्षअघि गाईको गोबरको गन्धसँग तर्सिएको देखेर मेरो गाउँले मन ऊसँग भड्किएको थियो । उही अहिले गाई पाल्ने योजना सुनाउँदै थियो । मैले आफूलाई रोक्नै सकिनँ र कलेजका ती दिनहरूमा किन म ऊसँग टाढिएँ भनेर सबै बताइदिएँ ।
उसले मेरो पाखुरा दह्रोसँग समाएर भन्यो, ‘एक पटक त मसँग भन्नुपर्थ्यो यार । तिमी कस्तो मान्छे ?’
बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्थे, सायद हो रहेछ कि वा सही समयमा एउटा प्रश्न गर्न नसक्दा म पछुताइरहेको त छैन ? मलाई कलेज लाइफ र झरी परेका ती दिनहरूको चर्को माया लागेर आयो ।

अन्तिम उपसंहार
बिहे गरेको पनि दस वर्ष भयो । छोरा नै झन्डै ९ वर्ष पुग्न लाग्यो । सम्बन्ध लगभग औपचारिक बनेको छ, रुटिनबद्ध । अस्ति मात्र दसवर्षे वैवाहिक जीवनको समीक्षा भनेर केही कुराकानी गर्‍यौं । मेरो लेखाइको खुब प्रशंसा गर्ने र लेखिरहन प्रेरित गरिरहने छोराको बाबाले अचानक भन्यो, ‘तिमीले लेखेर नि के हुँदोरहेछ र ? लेखेर समाज बदलिन्न क्यारे ?’
मैले धेरै सोच्न सकिनँ । संक्रमणकालका बिहे र सम्बन्धका आयु सायद यस्तै हुने रहेछन् कि । मैले आफूलाई रोक्नै सकिनँ र यो आत्मपरक कथा लेखिदिएँ । छापिएको दिन छोराको बाबाको प्रतिक्रिया पर्खिरहेछु ।
wagle.samjhana@gmail.com

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्व पुनरावृत्तिको संकेत

सम्झना वाग्ले भट्टराई

काठमाडौँ — त्योदिन छोराको विद्यालयको फेसबुक पेजमा ‘टार्न नसकिने’ कारणले विद्यालय बन्द गरिएको सूचना राखिएको थियो । घरमा एक्लै छाड्न नमिल्ने भएपछि कामकाजी अभिभावकका लागि बालबालिकाको आकस्मिक बिदा अप्ठ्यारो बन्ने गर्छ । हाम्रामा पनि आमाबाबुमध्ये एक जनाले बिदा लिनैपर्ने भयो । दैनिकी खलबलियो ।

फेरि सुरु भएको बन्दको शृंखलाले आम कामकाजी परिवार प्रभावित भए । यसरी नचाहँदा–नचाहँदै राजनीतिले आम मानिसको जीवनप्रभावित हुँदोरहेछ । यो उनीहरूको चासोभन्दा बाहिर नरहने रहेछ ।

सकियो ठानिएको द्वन्द्वको आगो फेरि सल्किन लागेजस्तो छ । संघीय राजधानीलगायत ठाउँमा बम विस्फोट भयो, निर्दोष मारिए । उद्योगी–व्यवसायीहरू मात्र होइन, स्थानीय सरकारका जनप्रतिनिधि पनि चन्दा दिनुपर्ने दबाबबाट पीडित भएका समाचार आइरहेका छन् । सम्भावित द्वन्द्वको त्रास बढ्दो छ । सायद यसै त्रासबाट आम मानिसलाईराहत दिन सरकारले चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगायो ।

प्रतिबन्धपछि आम जनताको त्रास भने झनै बढेको छ । सशस्त्र द्वन्द्वको भुमरीबाट बल्ल उम्किन पाइयो भन्ठानेका बेला हिंसाको नयाँ चरण सुरु भएको हो ? छनक त्यस्तै छ । एक दशकभन्दा अघिसम्म सशस्त्र संघर्षको नेतृत्व गरेका सत्तारूढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले अर्को माओवादी जन्मन र झन् ठूलो लडाइँ हुन सक्ने बताएको केही दिनमै द्वन्द्वका संकेत देखिनुले परिस्थिति गम्भीर भएको अनुमान लगाउन सकिन्छ । नेपालमा हरेक १०–१५ वर्षको अन्तरालमा राजनीतिक संघर्ष दोहोरिने गरेको छ ।

सात सालपछि सत्र साल, अट्ठाइस साल, छत्तीस साल, छयालीस साल, त्यसपछिको दसवर्षे सशस्त्र संघर्ष, त्रिसट्ठी साल र अहिले फेरि त्यस्तै संकेत । हुन त पछिल्लो घटना हाम्रा लागि ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भनेजस्तै हुन पनि सक्छ तापनि कताकता फेरि द्वन्द्व सुरु हुन लागेको अनुभव भने हुन थालेको छ ।

जीवन्त समाजमा द्वन्द्व स्वाभाविक हुन्छन् । नेपालमा किन पटक–पटक दोहोरिन्छन्, हिंसात्मक द्वन्द्व ? यसपछाडिका अर्थ–सामाजिक कारण के हुन सक्छन् ? सामान्यतः चरम गरिबी, असमानता, कमजोर सरकारी कार्यसम्पादन (भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी), जातीय, क्षेक्रीय, धार्मिक तथा कसैको व्यत्तिगत चरम महत्त्वाकांक्षा द्वन्द्व र विद्रोहका आधार मानिन्छन् । विद्रोहलाई मलजल गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व व्यापारीहरू त जहाँ पनि हुने नै भए । यिनैको आलोकमा हेर्दा कस्तो देखिन्छ, नेपालको अवस्था ?

गरिबी
आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार जनसंख्याको २१.६ प्रतिशत अर्थात् ६० लाखभन्दा बढी नेपाली गरिबीको रेखामुनि छन् । बहुआयामिक गरिबीको अवस्था अझ भयावह छ । राष्ट्रिय योजना आयोगले सन् २०१८ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जनसंख्याको २८.६ प्रतिशत बहुआयामिक गरिबीमा छन् । तिनमा ७ प्रतिशत सहर र ३३ प्रतिशत गाउँका मानिस छन् ।

प्रदेशगत रूपमा हेर्दा प्रदेश २ र कर्णाली प्रदेशमा ५० प्रतिशत हाराहारीमा गरिबी छ । प्रदेश ५ र ७ मा लगभग ३० प्रतिशत गरिबी छ । प्रदेश १ मा झन्डै २० प्रतिशत, प्रदेश ४ मा १४ प्रतिशत र प्रदेश ३ मा १२ प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

असमानता
अक्सफामलगायत संस्थाले सन् २०१९ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदन ‘फाइटिङ इन–इक्वालिटी इन नेपाल’ अनुसार १० प्रतिशत धनीको सम्पत्ति गरिब ४० प्रतिशतको भन्दा २६ गुणा बढी छ । धनी १० प्रतिशतको आय गरिब ४० प्रतिशतको भन्दा तीन गुणा बढी छ । यी तथ्यांकले नेपालमा आर्थिक असमानता उच्च देखाउँछ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको ‘करप्सन पर्सेप्सन इन्डेक्स’ मा नेपाल गत वर्षभन्दा दुई स्थान पछाडि १२४ औं स्थानमा पुग्नुले जनतामा असन्तुष्टि बढाएको छ । यसमा टेवा पुर्‍याउनझैं भ्रष्टाचारका ठूलठूला काण्ड भए । विविध भ्रष्टाचारका घटनाको अनुसन्धान गर्न बनेका समितिले कामै सुरु नगरी म्याद गुजारे । स्थानीय तहमा जनताकेन्द्रित कामभन्दा नेताहरूको सुविधाका विषय समाचार बनिरहे । भ्रष्टाचार नियन्त्रणका लागि स्थापना भएका संस्थाका व्यक्तित्वका विवादास्पद काण्डले जनतामा अविश्वास बढाए ।

जातीय तथा क्षेत्रीय असन्तुष्टिलाई सम्बोधन गर्ने दिशातिर संघीयता बढिरहेको छ । धार्मिक सहिष्णुता पनि कायमै छ । द्वन्द्वका व्यापारीहरू अनुकूलतामा जुर्मुराउने हुन् । यस पृष्ठभूमिमा नेपालमा फेरि सशस्त्र संघर्ष सम्भव होला ?

नेपालको ऐतिहासिकतामा हेर्ने हो भने त्यो सम्भावना छ । अधिकांश राजनीतिक दलको प्रारम्भमा शक्तिको आधार हिंसात्मक राजनीति नै रह्यो । नेपाली कांग्रेस सशस्त्र संघर्षकै बलमा स्थापित पार्टी हो । सत्तारूढ नेकपाको एउटा हाँगो एमालेसँग पनि झापा विद्रोहको आधार छ । माओवादी राजनीतिको आधार दसवर्षे सशस्त्र संघर्ष भैहाल्यो । यी सबैको पृष्ठभूमिमा महत्त्वाकांक्षी युवाहरूको समूह विद्रोही राजनीतिमा लाग्न अझै प्रेरित हुन सक्छ । गरिबी, असमानता, बेरोजगारीजस्ता समस्या पनि विद्यमान छन् ।
यति हुँदाहुँदै विद्रोह केका लागि भन्ने प्रश्न भने निरुक्तर रहन्छ । चन्द समूहले विगत ‘जनयुद्ध’ को आधारमा एकीकृत जनत्रान्ति भनेको छ । यस सन्दर्भमा पछिल्लो सशस्क्र विद्रोहको आधार तत्कालीन संयुत्त जनमोर्चाले २०५२ सालमा राखेका ४० मागहरूमध्ये जनतन्त्रसँग सम्बन्धित भनिएका १७ मध्ये लगभग सबै माग पूरा भइसकेका छन् ।

जनजीविकासँग सम्बन्धित भनिएका १४ माग पूरा गर्न सशस्त्र संघर्षको आवश्यकता छैन । त्यस्तो संघर्षले गरिबी र असमानताको भुमरीमा रहेका आम मानिसको जीवन झनै दुश्चक्रमा फस्नेछ । राष्ट्रियतासँग सम्बन्धित नौ मागका लागि यो संघर्षको स्वरूप सफल हुँदैन भनी राजनीति नबुझ्नेले पनि सहजै बुझ्न सक्छन् भने सशस्त्र संघर्ष केका लागि ?

यसका पछाडि बलियो तर्क यो हुन सक्छ– पञ्चायती व्यवस्थामा पञ्चहरूको जीवनस्तरमा उल्लेख्य सुधार भयो । २०४६ सालपछि कांग्रेस तथा तत्कालीन एमालेका नेता तथा केही टाठाबाठा कार्यकर्ताको जीवनस्तरमा गुणात्मक वृद्धि भयो । २०६२–६३ पछि माओवादीका टाठाबाठानेता–कार्याकर्ता थपिए ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा बहुराष्ट्रिय कम्पनीका जागिरेको भन्दा आकर्षक देखिन्छ, सत्तापक्षीय नेता–कार्यकर्ताको जीवनशैली । संसार बदल्ने उद्घोष गरेकाहरू आफ्नै जीवनस्तर बदल्न सीमित भएको वर्तमान साक्षी छ । यस परिदृश्यमा अर्को राजनीतिको व्यापार सुरु नै नहोला भन्न सकिन्न ।

केही विश्लेषक विद्रोहको सम्भावनालाई नकार्दै यो २०५२ साल होइन, २०७५ साल हो भन्ने गर्छन् । राजनीतिक लाभहानिसँग निरपेक्ष जनतामा बाउन्न वा पचहत्तरले खासै फरक नपार्ने रहेछ । ५० को दशकमा बन्दको हल्लाको भरमा जीवन अस्तव्यस्त हुन्थ्यो भने अहिले पनि त्यस्तै छैन र ?

द्वन्द्वको सम्भावनालाई राज्यले नियन्त्रणमा राख्ने र निस्तेज पार्ने सम्भावना बलियो छ । दुईतिहाइ समर्थनसहितको बलियो सरकार छ । सरकारले समृद्धिका विभिन्न सपना र योजना ल्याएको छ । योजना कार्यान्वयनमा बाह्यभन्दा आन्तरिक कारण बढी जिम्मेवार छ । सुशासनमा सुधार गर्दै योजना कार्यान्वयनले गति लिएमा विद्रोहको सम्भावना आफैं क्षीण हुन्छ । अर्कातर्फ लोकतान्त्रिक राजनीतिमा असहमति स्वाभाविक हो ।

भनिन्छ, राजनीति अनन्त सम्भावनासहितको खेल हो । इतिहासले देखाएको पनि छ । सत्ताको भाषामा कुनै समयका ‘अराष्ट्रिय तत्त्व’ हरू पछि सत्ता सञ्चालक बने । कुनै समयका सत्ताका ‘आतंककारी’ हरू नयाँ नेपालका सारथि बने । त्यसरी नै आजका ‘लुटेरा समूह’ पनि भोलिका सम्भावित सत्ता साझेदार हुन सक्छन् । आम जनताको भय चाहिँ कसरी कम गर्ने ?

प्रकाशित : चैत्र १७, २०७५ ०७:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×