१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हिउँमा हराउँदा...

चकमन्न अन्धकारमा यात्रा गर्नुपर्ने कल्पना थिएन । कसैसित टर्च पनि थिएन । मोबाइलमा नेटवर्क गायब । त्यसकै लाइटको सहारामा लड्दैपड्दै पोस्टतिर लाग्यौं ।
दीपेन्द्र बडुवाल

झम्के साँझ कट्यो  । वरपर डाँडा हिउँले ढाकिएका थिए  । चन्द्रमाको ज्योतिले हिउँ टल्किन्थ्यो । कसैले टर्च बालेको भान हुन्थ्यो । मुगुको ताल्च विमानस्थल जाने सडक दायाँ छुट्यो । हामी बायाँ लाग्यौं । गाढा अँध्यारोले सडक बायाँपट्टिको भीर देखिन्नथ्यो । दायाँ पहरो थियो ।

हिउँमा हराउँदा...

‘दुई–तीन किलोमिटर यात्रापछि रारा ताल जाने नाका आउँछ,’ गाडीचालक मणि अधिकारीले आश्वस्त तुल्याए, ‘अब त पुगियो ।’ सडकअघिको भन्दा साँघुरो थियो । बीच–बीचमा ढिस्को बनेका थिए । गाडी उक्लिँदा पल्टिएझैं लाग्थ्यो । आँखा चिम्म गर्थ्यौं ।


नाकामा नेपाली सेनाको सल्यानी पोस्ट छ । हिलोका कारण गाडी त्यहाँ पुग्न सकेन । एक सय मिटर वर रोकेर पैदलयात्रा गर्‍यौं । बाटोको जानकारी भएका गाडी चालकले त्यहीँबाट बिदा गरे । सुरक्षा पोस्टबाट रारा ताल पुग्न कम्तीमा दुई घण्टा पैदल हिँड्नुपर्ने जानकारी गराइयो । समूहमा १७ जना सञ्चारकर्मी थियौं । सबैको रारा यात्रा पहिलो । चकमन्न अन्धकारमा यात्रा गर्नुपर्ने कल्पना थिएन । कसैसित टर्च पनि थिएन । मोबाइलमा नेटवर्क गायब । त्यसकै लाइटको सहारामा लड्दैपड्दै पोस्टतिर लाग्यौं । बाटोमा तीन–चार घर थिए । एउटा पसलमा केहीले आगो तापिरहेका थिए । त्यतै उक्लियौं । ‘रारा जाने बाटो कुन हो ?’ हत्केला सेकाइरहेका स्थानीयसित सोध्यौं, ‘अलि तलबाट जानुस् । मोटरबाटो नछोड्नुस् ।’ ५० मिटर ओरालो झर्‍यौं । मोटरबाटो हुँदै केही अगाडि बढेपछि सुरक्षा पोस्ट आयो । हावामा मोबाइल उचालेर आफूहरू आइरहेको जानकारी दियौं । माथि रहेको घरबाट टर्च बल्यो । हिउँ छल्ने पहिरनमा एक सैनिक आए ।


‘यतिबेला कता ?’ उनले सोधे ।
‘रारा ताल पुग्ने हो,’ जानकारी गरायौं । टर्चको उज्यालोले नाडी घडी हेरेपछि उनले भने, ‘यति बेला तपाईंहरू पुग्नुहुन्न, बरु यतै बास बस्नुस् ।’ त्यतिबेला साढे ८ बजेको थियो । जिद्दी गरेका होइनौं । हाम्रो खाना र बासको व्यवस्था रारा तालमै तय भइसकेको थियो । बाटोको अवस्था थाहा थिएन । त्यसैले पुग्नैपर्ने बतायौं ।
‘बाटो देखाउन मिल्छ भने एक जना गइदिनुस्
न !’ मैले अनुरोध गरें । ‘हामी मिल्दैन । त्यहाँ निकुञ्जको अफिस छ, जानुस् त कसैले सहयोग गर्नुहुन्छ कि !’ ती सैनिकले भने ।
नेटवर्क नभएकाले कसैसित सम्पर्क भएन । निकुञ्जको शाखा कार्यालयमा गयौं । कर्मचारी कोठाभित्रै थिए । बाटोबाट सोलार बत्तीको उज्यालो देखिन्थ्यो । केही बेर बोलाएपछि कर्मचारी निस्किएर कार्यालयतिरै डाके । एक जनाको हातमा टिकटको ठेली थियो । टर्च मुखमा च्यापेर उनले भने, ‘टिकट लिएर जानुहोला सर ।’ भुलभुलेको पोस्टमा टिकट काटिसकेको जानकारी गराएपछि उनले भने, ‘ए ल ल सर ।’ रारा पुग्नैपर्ने बताएपछि कर्मचारीले सल्लाह दिए, ‘यति बेला तपाईंहरू पुग्नुहुन्न, बरु यतै बास बस्नुस् ।’


हामी भूगोलबारे अनभिज्ञ थियौं । बाटो देखाउन एक जना कर्मचारी पठाइदिन अनुरोध गर्‍यौं । उनले निकुञ्जको मुख्यालयमा सम्पर्क गर्ने कोसिस गरे । सम्भव भएन । उनीहरूले बाटोबारे बताए । ‘केही बेर उकालो कटेपछि चौर आउँछ, हिउँ पछ्याएर चौरको किनारमा पुग्नुहोला । त्यसपछि ओरालो आउँछ । ओरालो सकिएपछि २/३ वटा साँघु तरिन्छ । रारा तालको किनारैकिनार तपाईंहरू बास बस्ने स्थानमा पुग्नुहुन्छ,’ एक कर्मचारीले भने, ‘बाटोभरि हिउँ छ, ख्याल गर्नुहोला ।’ उनले भने, ‘समूहमा हिँड्नुहोला, भालुको डर हुन्छ ।’ अगाडिको खतरा नदेखेसम्म डर नलाग्दो रहेछ । टोली अघि बढ्यो । आधा घण्टाको उकालो थियो । बाटोमा हिउँ पग्लेर हिलाम्य थियो । समूहमा हिँड्नुपर्ने सुझाव कसैले पछ्याएनन् । सबै आफ्नै सुरमा थिए ।


तितरबितर यात्रा गरिरहेका थियौं । पछाडिबाट ‘दीपेन्द्रजी...’ भनेको सुनियो । म अडिएँ । लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईं, कान्तिपुर सहकर्मी माधव ढुंगाना र यात्रा संयोजक सम्झना शर्मा अन्तिममा थिए । दीपेशले दाउरा बोकेका थिए । ‘उक्लिन सजिलो हुन्छ भनेर दाउरा बोकेको हो ?’ मैले सोधें । ‘हैन भालु भगाउन हो,’ दीपेशको जवाफ थियो । चौरमा पुगेका साथीहरू प्रतीक्षामा थिए । हामी पुगेपछि अगाडिको यात्रा तय गर्‍यौं । तर, मत मिलेन । चौरमा गाडीका चक्काले बनाएको डोब हेर्दै अघि बढ्यौं । दाहिने मोडिँदै गयौं । मोबाइल बालेका कारण समूह तारामण्डलजस्तो बन्यो ।


चौरमा हिउँ थियो, पग्लेको स्थानमा हिलो । दाहिने बढ्दाबढ्दै हामी घना बोटबिरुवा भएको स्थानमा पुग्यौं । एक ठाउँमा झुलुक्क फोनमा नेकवर्ट आयो । त्यही मौका छोपेर मोहम्मद हबिबले गुगल म्याप अन गरे । त्यसबाट रारा तालभन्दा हामी टाढै रहेको जानकारी मिल्यो । नेटवर्क गायब भएपछि नक्साले काम गरेन । ‘हामी हरायौं,’ करिब एक घण्टा हिउँले भरिएको चौरमा रुमल्लिएपछि मैले भनें, ‘सुरुकै स्थानमा फर्किऔं ।’ फेरि फोनमा नेटवर्क आयो । मैले वार्डेन लालबहादुर भण्डारीलाई फोन गरें, ‘सर हामी हरायौं,’ मलिन स्वरमा भनें । ‘सरहरू कहाँ जानुभयो, धेरै दाहिने नजानुस्, तालमा पुगिन्छ,’ उनले भने । हराएको स्थानबारे उनी अनभिज्ञ थिए । साथीहरूले कसैलाई लिन बोलाउनुपर्‍यो भनिरहेका थिए । चौर कट्नेबित्तिकै होटल आउँछ भन्ने सोच थियो । वास्तविक दूरी जानकारी थिएन । मोबाइलको उज्यालोले थेग्न छाड्यो । के गर्ने ? मुखामुख गर्‍यौं । कान्तिपुर टेलिभिजनका सहकर्मी भुवन पाण्डेले उपाय फुराए । क्यामेराको लाइट रहेछ । त्यो बालेपछि झलमल्ल भयो । अघि बढ्ने–नबढ्ने अन्योल थियो । मेरो मोबाइलको घण्टी बज्यो ।


‘सरहरू कहाँ आइपुग्नुभयो,’ डाँफे होटलबाट बलिराज शाहीले फोन गरेका रहेछन् । ‘हामी त हरायौं, यार,’ मैले निरासा व्यक्त गरें । ‘चौरको छेउमा पहेंलो खम्बामा ‘वे टु रारा’ लेखेको छ, त्यही पछ्याएर आउनुस्,’ शाहीले भने । मैले उनलाई बाटो नदेखेर सुरुआतमै हराएको जानकारी गराएँ ।
‘आजसम्म यसरी कोही हराएको थिएन, तपाईंहरू पहिलो हो,’ उनले भने । गाडी र घोडा हिँडेको बाटो पछ्याउँदै जाँदा हिउँ पग्लेर सानो खोला बनेको भेटियो । खोला पुगेपछि बाटै हरायो । पहिलो प्रयासमा त्यहीँबाट धेरै दाहिने गएका रहेछौं । दोस्रो पटक हिउँखोला तर्ने निधो गरेर म अघि बढें । साना ढुंगामा टेक्दै पानी छड्किएँ । अधिकांशले एउटा खुट्टा हिलो र अर्को पाखोमा टेक्दै खोला तरे ।


गाडी, घोडा र मान्छे ओहोरदोहोर गरेको बाटो फेला पर्‍यो । प्राण भरिन थाल्यो । हराएको तनाव नसकिँदै हिउँको कष्ट सुरु भयो । तराईंका रैथाने धेरैले पहिलो पटक हिउँ टेकेका थियौं । हिउँमै हिँड्नुपर्दा डर र रोमाञ्च थियो । मोबाइलको उज्यालोले हिउँ टल्किन थाल्यो । चौरको अन्तिममा घुँडामाथिसम्म हिउँ थियो । त्यहाँ पुगेपछि ‘वे टु रारा’ लेखेको साइनबोर्ड भेटियो । सही बाटो पत्ता लगाएपछि खुसी मिल्यो । हामी बिनातयारी गएका थियौं । धेरैले चिसो लागेपछि जुम्लामा न्याना कपडा किनेका थिए । बिहान दुई जोर मोजा र त्यसबाहिर पोलिथिनको झोला लगाएका थियौं । त्यसले जुत्ताभित्र हिउँबाट रोक्यो । ओरालो आधा नहुँदै हाम्रा गिटी नभएका जुत्ताले थेग्न छाडे । धुपी सल्लाको वनमा छपक्क हिउँ । हिउँको बीचमा चल्तीको बाटो । हिउँ पग्लेर पानी जमेकाले उत्तिकै चिप्लो । ओरालो आधा हुने बेला म चिप्लिएँ । दायाँ–बायाँ समात्ने कुरा थिएन । हिउँ नै हिउँ । उठ्न खोज्दा झोलाले तानेजस्तो लाग्ने । घाँटीमा झुन्ड्याएको क्यामेरा भारी हुन थाल्यो । गोल्डस्टार लगाएर हिँउमा पुगेका हामी सबैजसो चिप्लिँदै हिँडिरह्यौं ।


चौरमा पुगेपछि बास बस्ने होटल, निकुञ्ज कार्यालय र सेनाको ब्यारेकमा बत्ती बलेको देखियो । त्यही पछ्याउँदै अघि बढ्यौं । दिउँसोसम्म केही बेर यात्रा गरेपछि साथीहरू चिया/खाजा खान रोकिन्थे । हिउँमा हिँड्दा भने भोक–प्यास भुलेको पत्तै भएन ।
‘सर दुई जना मान्छे लिन आएका छन्, बाटोमा भेट्नुभयो,’ होटलबाट बलिराजले फोन गरेर सोधे ।
‘मान्छे भेटेका छैनौं तर सही बाटो आइरहेका छौं,’ मैले भनें । उनले अझै दुई घण्टा लाग्ने बताए । ११ बज्न लागेको रहेछ । पटक–पटक फोन गरेर बलिराजले हौसला दिइरहेका थिए । मोबाइलको उज्यालो देखेपछि वार्डेन भण्डारीले फोन गरेर आरामले आउन भने । हामी हिँडिरह्यौं । केही बेरमा हामीलाई लिन पुगेका २ जना पनि भेटिए । अब हराउने डर मेटियो । एक जना अगाडि लागे र सिंहबहादुर विक पछाडि । उनीसित मधुरो टर्च थियो । दुई घण्टा हिँडेर लिन आएका रहेछन् । सिंहबहादुरले मलाई डोर्‍याउने भए । उनले कमिजमाथि कोट र ढाकाटोपी लगाएका थिए ।
सिंहबहादुरले क्यामेरा बोकेपछि हलुको महसुस भयो । जति हिँड्यो, त्यति हिउँ । अघिसम्म देखिने होटलको उज्यालो ओझेल पर्‍यो । साथीहरू होटल पुग्न आतुर थिए ।


‘दाइ अब कति बाँकी छ,’ कमल रायमाझीले सोधे । ‘त्यही दुई घण्टा लाग्ला,’ सिंहबहादुरले भने, ‘नआत्तिनुस् सर, अब पुगिहाल्छौं ।’ उनले ठ्याक्कै बताउन सकेनन् । तर, आस जगाइरहेका थिए । उनका अनुसार रारामा ०४५/४६ सालपछि पहिलो पटक धेरै हिमपात भएको हो । तीन सन्तानका पिता ३० वर्षीय सिंहबहादुर दिनहुँ स्थानीय होटलका लागि दाउरा बटुल्दा रहेछन् । घर सल्यान । दाउरा बटुलेबापत दैनिक ६ सय रुपैयाँ मिल्दो रहेछ । त्यसैले परिवारको लालनपालन गर्छन् । सन्तान पढ्छन् ।


साढे १२ बजेपछि सिंहबहादुरले हिउँ सकिएको जानकारी दिए । त्यसपछि हामी सल्लाका पातमा थचक्क बस्यौं । एकछिन सुस्ताएपछि फेरि गन्तव्यतर्फ लाग्यौं । त्यतिन्जेल अगाडिका साथीहरू होटल पुगिसकेका थिए । करिब १ बजे हामी पनि होटल पुग्यौं । खाना पकाएर पर्खिरहेका बलिराज ठूलो अँगेनाछेउ सुस्ताएका थिए । पहिले पुगेका साथीहरूले आगोमा खुट्टा सेकाइरहेका थिए । आगोको रापले सेक्न थाल्यो । हिउँमा चिप्लिएर मेरो बायाँ खुट्टा मर्केको रहेछ । शरीर दुख्न थाल्यो । सबैको अवस्था उस्तै थियो । मध्यरातसम्म प्रतीक्षामा रहेका वार्डेन भण्डारी बिहान भेट्ने भन्दै सुत्न गइसकेका थिए ।

सूर्योदयसँगै होटलबाहिर निस्किँदा मचान र बेन्चमा हिउँ जमेको थियो । रारा नीलो थियो, आसपास टाकुरा भने हिउँको टोपी लगाएजस्ता । निकुञ्जको हलमा प्रमुख भण्डारी र सेनाका गुल्मपति रवि केसीले रारा र यो क्षेत्रबारे हामीलाई बताए । २ हजार ९ सय ९० मिटर उचाइमा रहेको तालमा विश्वमा अन्यत्र नपाइने तीन प्रजातिका माछा र एक प्रजातिको भ्यागुता पाइन्छ । आसपास लोठ सल्ला र जडीबुटी प्रशस्त छन् रारा घुम्नेको संख्या बढिरहेको छ । निकुञ्जका अनुसार ०७५ वैशाखदेखि असोजसम्म ५० हजार जनाले रारा घुमे । ‘असोजयता मात्र १० हजार आए,’ भण्डारीले भने, ‘पर्यटक बढिरहेका छन् तर पूर्वाधार छैन ।’ अहिले निकुञ्जभित्र २ वटा होटल छन् । तालमा २ वटा रबरका डुंगा छन् । मुर्मा गाउँमा होमस्टे छन् । ताल वरिपरि साइकल लेन बनाउन लागिएको छ ।सम्झनास्वरूप लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईं र मैले निकुञ्ज परिसरमा स्याउको बिरुवा रोप्यौं । साथीहरूले ताली बजाए । ‘आफूले रोपेका बिरुवा सम्झेर फेरि आउनु होला,’ भण्डारीले भने, ‘५/६ वर्षमा यो बोटमा स्याउ फल्नेछ ।’

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?